म आफू चौध, पन्ध्र वर्षको छँदा देखि नै साहित्यमा रुचि राख्ने व्यक्ति भएको कारणले साहित्यिक पत्र–पत्रिकाहरू नटुटाई कन किनेर पढ्ने गर्थेँ । साहित्यिक पत्र–पत्रिकाहरू पढ्नु मेरो ठुलो रुचिको विषय थियो । रूपरेखा साहित्यिक मासिक पत्रिका नियमित रूपमा पढ्ने गर्थेँ । रूपरेखामा पारिजातका कविताहरू, संस्मरणहरू, कथाहरू प्रकाशित भइरहन्थे, म निकै चाख मानेर पढ्थेँ । उहाँका लेख रचनाहरूमा प्रयोग हुने कवितात्मक भाषा, शब्द प्रयोग र शैलीले मलाई त्यसताका निकै नै छुन्थ्यो । त्यसैले म अटुट रूपमा उहाँका कविताहरूलगायत अन्य विधाका लेख–रचनाहरू प्रकाशित पत्र–पत्रिकाहरू खोजी–खोजी पढ्न शुरू गरेँ । महत्ताहीन, शिरीषको फूल उपन्यासहरू नबुझे पनि शैली मीठो लागेर दोहर्याइ–तेहर्याइ पढ्ने गरेको घटना म जीवनभर बिर्सन सक्दिनँ । नढाँटी भन्ने हो भने पारिजात नामैले मलाई आकर्षित तुल्याएको थियो अनि शैली र भाषाले मलाई पारिजातले वासनादार फूलले झैँ लोभ्याउने कार्य गर्यो । यही वासनादार फूलकै सन्दर्भमा पारिजात टिप्न र मायालाग्दो ढङ्गले सुमसुम्याउने क्रममा मेरो आत्मीयता पारिजातसँग गाढा हुन गयो । टेकुतिर बस्नुहुँदा नै भेट्ने खुब रहर थियो तर त्यस ताकाको त्यो रहर – रहरमा नै सीमित रह्यो ।
२०३० सालतिर मात्र उहाँसँग मेरो परिचय हुने भाग्य जुर्यो । धुलिखेलमा केही दिन बस्ने चाँजोपाँजो मिलाएर आउनु भएको रहेछ उहाँ ……। उहाँसँग दुई जना महिला साथीहरू पनि थिए – परिचय भयो । त्यस बेला उहाँको मुहारमा लुकेको गाम्भीर्य, दृढता, स्वाभिमानी व्यक्तित्वले मलाई निकै प्रभावित तुल्यायो । सरल ढङ्गमा आफूलाई व्यक्त गर्ने उहाँको बानी र सहज व्यवहारले मलाई उहाँसँग नजिक तुल्याउन राम्रो भूमिका खेलेको थियो । उहाँकै मुखबाट कविताहरू सुनियो – निकै रमाइलो भयो, सम्झना रहिरह्यो । उसले रोजेको बाटो उपन्यास लेख्न सुरु गर्नुभएको र उक्त उपन्यासमा धुलिखेलकै पात्र रोजिएको उहाँको कुराले गौरव अनुभूति भएको थियो – आजपर्यन्त सम्झना गुन्जिरहन्छ । उसले रोजेको बाटो – धुलिखेल– पारिजात सम्बन्धको यो क्रम सधैँ रहिरह्यो । पारिजात दिदीलाई धुलिखेलबाट फिर्ता हुने समयमा १/२ दिन बनेपा राख्ने रहर मेरो मनमा जाग्यो । मनको रहर पुर्याइदिन उहाँले बचन दिनुभएअनुसार उहाँ २ जना अरू महिला साथीहरूसित मेरो घरमा आउनुभयो । २ दिनको बसाई मा उहाँको स्वभाव, व्यवहार, आदर्श, विचार मैले नजिकैबाट ग्रहण गरेँ । त्यस्तै उहाँले मेरो अध्ययन नजिकैबाट शायद ग्रहण गर्नुभयो होला – म सम्झिरहेछु !
घरमा बुबा–मुमा हुनुहुन्थ्यो । शिष्टतापूर्वक परिचय गराइयो । मायालाग्दो उहाँको चेहरा, व्यवहारबाट बुबा–मुमा निकै प्रभावित हुनुभएको त्यस क्षण निकै रमाइलो भयो । एउटै परिवारका छोरीलाई जस्तै व्यवहार भयो । धर्म र जातपातको सीमाले त्यो आत्मीय वातावरणलाई धमिलो तुल्याउन सकेन ……! निकै रमाउनुभयो दिदी पनि, याद छ मलाई त्यस बेला इन्दिराजी र कान्ताजी पनि रमाउनुभयो । भात–भान्छामा सहयोग गरिदिने, दुःखसुख साटासाट गर्ने उहाँको बानीले मृत्यु पर्यन्तसम्म पनि बुबा–मुमाले सम्झिरहनुभयो …..! भोलिपल्ट मेरो बुबासँग भएको कुराकानीबाट सार खिचेर दिदीले भन्नुभयो – तपाईँको बुबा त कट्टर अध्यात्मवादी पो हुनुहुँदो रहेछ, तर्कले उहाँलाई जित्नै गाह्रो । बुबाको पुरानो राजनीतिक गतिविधि, सामाजिक क्रियाकलाप र सम्पर्कबारे दिदीलाई सविस्तार चर्चा गरिदिएँ । तर पनि बुबाको र पारिजातको सम्पर्क र सम्बन्धबारे उल्लेख गर्दा भन्नुपर्छ – पारिजात दिदीको व्यवहारपरक स्वभावले गर्दा भौतिकवादका हिमायती एक जना तामाङ्गनी महिलालाई पनि कट्टर हिन्दु बूढोले पनि मन पराउँदो रहेछ । सन्दर्भमा पारिजातबारे बुबा भन्ने गर्नुहुन्थ्यो – पारिजात गरिमामय व्यक्तित्व भएको सशक्त प्रतिभा हुन्, जसलाई हामी सबैले कदर गर्नुपर्छ । मलाई सम्झना छ, मेरो बुबालाई लर तरो मान्छेले कहिल्यै प्रभाव पार्न सकेन, अरू त अरू देशका ठुलाबडा नेताजीहरू, साहित्यकारहरू लगायत बुद्धिजीवीहरूले समेत लर तरो ढङ्गले प्रभाव पार्न सक्नुभएन तर दुई दिनको बसाई मा पारिजात दिदीले पार्नुभएको प्रभाव म जीवनभर भुल्न सक्दिनँ, बुबापारिजात म सम्झिरहन्छु – जीवनको यो सुखद क्षण मैले भुल्न सकिरहेको छैन …..!
पारिजात दिदीसँग बिताएका क्षणहरूको प्रसङ्गमा उल्लेख गर्नुपर्दा २०३५–२०३६ सालदेखि करिब ८ वर्ष प्र.ले.क. केन्द्रीय तयारी समितिमा बस्दा, रहँदा, छलफल हुँदा उहाँसँग बिताएका क्षणहरू बिर्सी नसक्नु छ । चित्त नबुझेका कुराहरू प्रस्ट राख्ने, कसैले मन पराओस् वा मन नपराओस् आफ्नो अडान नछोड्ने, कसैसँग चाकडी–चुक्ली नगर्ने आदि–इत्यादि स्वभावहरूले गर्दा कसै–कसैले घमन्डी, आलोचना खप्न नसक्ने काँतर अनेकौँ कु विशेषणले उहाँमाथि हिलो छ्याप्ने प्रयास नभएको होइन । प्र.ले.क. र प्र. ले. स. मा पनि उहाँका यस्तै स्वाभिमानीपन स्वभावहरूलाई लिएर टिका–टिप्पणी नभएका होइनन् । मलाई सम्झना छ, एकपल्ट प्र.ले.क.को आयोजनामा पूर्वाञ्चलमा प्रगतिशील लेखक–कविहरूको भेला जनकपुरमा त्यहाँका साथीहरूको सक्रियतामा हुने वाला थियो । त्यसताका त्यस सम्मेलनको उद्घाटन टङ्कप्रसाद आचार्यज्यूको हातबाट गराउने कार्यक्रम तय गरेको अनुमोदन केन्द्रले गर्नुपर्ने यी आदी सवालमा दिदीले प्रष्ट रूपमा साहित्यमा यो राजनीति किन ? भनी तिक्त विरोध गर्नुभयो र अन्तिममा सामूहिक रूपले उपस्थित साहित्यकारहरूको संयुक्त सहभागितामा उद्घाटन सम्पन्न भयो । यस्तै अडान र सबलताहरू नै वास्तवमा उहाँका विशेषताहरू हुन् ।
एकताका उत्साह पत्रिका प्रगतिशील साहित्यकारहरूको साझा सहमतिबाट मासिक रूपमा प्रकाशन गर्ने तय भयो । प्रगतिशील साहित्यकारहरूको संयुक्त भेलाले तय गरेअनुसार उक्त पत्रिकाको सम्पादन कार्यमा रमेश विकल, पारिजात, आनन्ददेव भट्ट, खगेन्द्र सङ्ग्रौला र म रह्यौँ । नियमित रूपले उत्साह १२ औँ अङ्क प्रकाशित भयो …..’ सामूहिक छलफल सम्पादकहरूको बिचमा हुन्थ्यो ……’ त्यस अवधिमा दिदीसँग बिताएका क्षणहरूमा भएको उठबस, छलफल र विचार आदान–प्रदानको त्यो क्रम बिर्सी नसक्नु छ ।
बिचार प्रधान पाक्षिक जनमतको प्रकाशनको सुरु अवधिमा संस्मरण लेख्न उहाँलाई घचघच्याएँ, नियमित रूपमा १ वर्षसम्म उहाँले लेख्नुभयो । पारिश्रमिकको कुरा प्रस्ट राख्नुहुन्थ्यो । नहिच्किचाइकन पारिश्रमिक पुर्याइदिन्थेँ । धूपी, सल्ला र लाली गुराँसको फेदमा उहाँको आत्म संस्मरणको पुस्तक भाग–१ मा उहाँले लेख्नुभएको छ – धेरै पाठकहरूको चाहना र आग्रहलाई शिरोपर गर्दै जनमत पाक्षिकमा आफ्ना टुक्रे संस्मरणहरू लेख्न सुरु गरेकी थिएँ । यस्तै–उस्तै सम्पर्कको क्रममा म पारिजात दिदीको म्हैपीस्थित घरमा गइरहन्थेँ । साहित्यबारे छलफल गथ्र्यौँ । मेरो आफ्नै किसिमको साहित्यिक दृष्टिकोण सुनाउँथेँ – उहाँ ध्यान दिएर मेरा दृष्टिकोणहरू सुनिदिनुहुन्थ्यो । उहाँ आफ्ना भावनाहरू मलाई सुनाउनुहुन्थ्यो– म निमग्न भएर उहाँका भावनाहरू सुनिदिन्थेँ…..!
यस्तै घटनाहरूमा रुमलिँदै १० वर्षसम्म पारिजात दिदीसँग प्र.ले.क. केन्द्रीय तयारी समितिमा ८ वर्ष, उत्साहको सम्पादन कार्यमा १ वर्ष र स्तम्भ लेखिकाको रूपमा जनमतसँग टाँसिएको सम्बन्ध १ वर्ष गरी बिताएका १० वर्षका क्षणहरू जीवनमा बिर्सी नसक्नु निकै रमाइला अवसरहरू हुन् ।
स्वाभिमानी मान्छेहरू यो देशमा बाँच्न गार्हो ! घरी–घरी मेरो मानसपटलमा गुन्जिएको यो हरफले मलाई सधैँ ‘पारिजात’ बिल्झाइदिन्छ । हो – यहाँ यो देशमा ‘दिदी’ तपाईँ जस्तो स्वाभिमानी धरोहर बाँच्न गार्हो छ । मदन पुरस्कार होस् वा कुनै पनि विद्धत–वृत्ति र विदेशमा छाइरहने नाम भएर पनि आफ्नो सिद्धान्त र दृष्टिलाई तपाईँले कहिल्यै ओझेल पर्न दिनुभएन । मोहर टक्र्याएर पुरस्कार थाप्ने कार्यलाई तपाईँले स्विकारी दिनुभएन – तर पनि तपाईँले मदन पुरस्कार प्राप्त गर्नुभयो । विद्धत–वृत्ति थाप्नुभयो – तर तपाईँले तोरी बारी बाटा र सपनाहरू देखाउन छोड्नु भएन । शिरीषको फूल लाई पछि थुप्रै भाषाहरूमा उल्था गर्न विदेशी साहित्यकारहरूले रुचाउनु भयो तर तपाईँको नैतिकता जुन स्वाभिमानमा फुलिरहेछ त्यसले त्यो प्रशस्ति र प्रसिद्धिलाई तपाईँले स्विकारी दिनुभएन – तर पनि अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयमा अमेरिकीहरू पारिजात छामिरहेछन् । प्रजातन्त्र प्राप्ति पछि ने.रा.प्र.प्र.मा नझुल्केको प्रजातन्त्रको प्राप्तिको लागि तपाईँ जुध्नुभयो तर तपाईँका कैयौँ सहयोद्धाहरू झुक्नुभयो तर तपाईँ मरणोपरान्त पनि प्रतिष्ठानलाई बहिस्कार गरेर जानुभयो । त्यसैले भन्नुपर्छ हामीले तपाईँलाई – पारिजात साँच्चिकै स्वाभिमानको धरोहर पो रहेछ !
मैले पारिजातलाई नजिकबाट देखेको छु – मैले पारिजातलाई साँच्चिकै साहित्यकारको रूपमा उहाँका कृतिहरूमा छामेको छु, त्यसैले मैले जनमत साहित्यिक मासिकको एउटा अङ्कको रूपमा उहाँ जिउँदो छँदा निकालेर श्रद्धा व्यक्त गरेको छु । विशेष अङ्क प्रकाशन पछि बनेपामा अभिनन्दन गर्न उहाँलाई जनमत प्रकाशनको तर्फबाट चाँजोपाँजो मिलाउँदा साधारण रूपमा मात्र गर्न अनुरोध गर्नुभयो – विशेष अङ्क हस्तान्तरण गर्ने सर्तमा उहाँलाई डाक्ने काम भयो । उक्त समारोहमा थुप्रै साहित्यकारको उपस्थिति थियो जसमा निनु चापागाईँ, डा. तुल्सीप्रसाद भट्टराई, आनन्ददेव भट्ट, श्यामप्रसाद शर्मा, केदारमान व्यथितहरूले सम्मानका शब्दहरू त्यस कार्यक्रममा अभिव्यक्त गर्नुभयो – उहाँबाट त्यस अवसरमा शालीनताले भरिएका साहित्यिक अभिव्यक्तिहरू सुनाउनुभयो । त्यो क्षण साँच्चिकै भन्ने हो भने बेनेपालीहरूको लागि गौरवको क्षण हो – इतिहासमा त्यो गौरवका क्षणहरू बेनेपालीहरूका तर्फबाट मैले पनि नबिर्सीकन सम्झिरहेछु ।
त्यसैले, पारिजातलाई म सम्झिरहेछु – भोलि पनि सम्झिरहनेछु, मेरो मानसपटलमा सधैँ–सधैँ फुलिरहने वासनादार फूल झैँ अवश्य ‘पारिजात’ फुलिरहने छ – म गर्वसाथ सुगन्धित फूलको मर्मलाई सुमसुम्याइरहनेछु ।
विष्णुकुमारी वाइबा अर्थात् पारिजातको अवसान वि.सं. २०५० वैशाख ५ गते हुँदा मैले उहाँको भौतिक शरीरलाई केही क्षण भए पनि बोकेको हुँ । उहाँको निधनपश्चात् पनि उहाँबारे थुप्रैले विभिन्न पत्रपत्रिकामा पोख्नुभएका उद्गारहरू समेटेर पारिजात स्मृति अङ्कका रूपमा जनमतले प्रकाशन गरेको जनमत स्मृति ग्रन्थमा राखेर मैले पारिजातलाई नियालेको छु । वि.सं. १९९४ भदौमा जन्मनुभएकी पारिजात मभन्दा १२ वर्षले उमेरमा पाको हुनुहुन्छ; साहित्यिक–यात्रामा मैले सधैँ–सधैँ सम्झिनुपर्ने नाम भइदिनुभएको छ । लिङ्गिया चिया कमान, दार्जीलिङ्गमा जन्मिनुभएकी उहाँ वि.सं. २०११ मा नै कलिलो बैँसमा काठमाडौँमा आउनुभएर अङ्ग्रेजी भाषामा स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको देखिन्छ । माता अमृत मोक्तान र पिता डा. के. एस. वाइबाका सुपुत्री पारिजातले आफ्नी बहिनी सुकन्याको रेखदेख, सहयोगमा काठमाडौंको परिवेशमा जीवन सङ्घर्षमा राख्नुभएर निकै कठिनतापूर्वक जीवन–क्रमहरू गुजार्नुभएको थियो ।
वि.सं. २०१२ मा धरती पत्रिकामा पहिलो चोटि कविता छाप्नुभएर साहित्यिक यात्रामा रमाउनुभएकी पारिजातले स्वतन्त्र अध्ययनबाट नै लेख्न प्रेरणा प्राप्त गर्नुभएको देखिन्छ । उहाँका प्रकाशित पुस्तकहरूमा उपन्यास विधामा १. शिरीषको फूल (२०२२), २. महत्ताहीन (२०२५), ३. बैँसको मान्छे (२०३४) ४. तोरी बारी, बाटा र सपनाहरू (२०३३), ५. अन्तर्मुखी (२०३३), ६. उसले रोजेको बाटो (२०३४) ७. अनिदो पहाडसँग (२०३९), ८. पर्खालभित्र र बाहिर (२०३४), ९. परिभाषित आँखाहरू (२०४६), १०. Blue Mimosa (अङ्ग्रेजी), कथासङ्ग्रहमा १. आदिम देश (२०२५) २. सडक र प्रतिभा (२०३२) ३. साल्गीको बलात्कृत आँसु (२०४३), ४. बोनी (२०४८) ५. वधशाला जाँदा–आउँदा (२०४९) कविता सङ्ग्रहमा १. आकांक्षा (२०१४), २. पारिजातका कविताहरू (२०४४) ३. बैंसालु वर्तमान (२०५०) निबन्ध/संस्मरणमा १. धूपी, सल्ला र लालीगुराँसको फेदमा (२०४३) २. एउटा चित्रमय सुरुवात (२०४५), ३. आधी आकाश (२०४८) ४. अध्ययन र सङ्घर्ष (२०५०), ५. पारिजातका फुटकर लेखहरू (२०५४) र ६. अन्तर्घातहरू (२०५४) प्रकाशित छन् । उत्साह प्रगतिशील मासिकका सम्पादक समेत भई साहित्यमा योगदान पुर्याउनुहुने उहाँलाई मदन पुरस्कार (२०२२), त्रिविविबाट र जनमत साहित्यिक मासिकका तर्फबाट अभिनन्दन (२०४९) मा उहाँ जिउँदो छँदा नै भएको हो ।
शिक्षण सेवामा समेत जीवनका केही क्षणहरू गुजारेर जानुभएकी पारिजातले सामाजिक कार्य र राजनैतिक प्रतिबद्धता वामपन्थी व्यक्तित्वका रूपमा आफूलाई उभ्याएर जानुभयो । उहाँले योगदान पुर्याउनु भएको सङ्घ संस्थाहरूमा नेपाल मानव अधिकार सङ्गठन केन्द्रीय समितिका उपाध्यक्ष, अखिल नेपाल महिला मञ्च केन्द्रीय समितिका अध्यक्ष, प्रगतिशील लेखक–कलाकार सङ्घको सदस्य, प्रगतिशील लेखक सङ्घका राष्ट्रिय परिषद्का सदस्य, बन्दी सहायता नियोगका अध्यक्ष, इन्द्रेणी सांस्कृतिक समाजका मानार्थ अध्यक्ष, Society of Women Geographers (अमेरिका) International Women’s Tribune Center , (लन्डन) Out Write आदि राष्ट्रिय–अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा संलग्न रहनुभएर सेवा पुर्याएर जानुभएकी साहित्यकार पारिजातले आफ्नो साहित्यिक यात्राको शुरूकाल तिर राल्फा साहित्यिक अभियानमा सशक्त हस्तीका रूपमा पनि पहिचान स्थापित गर्नुभएको थियो । उहाँको देहावसानपछि निर्माण प्रकाशन, सिक्किमले उहाँका सङ्कलित रचनाहरू प्रकाशन गरेर धेरै राम्रो कार्य गर्नुभएको छ, जसको सम्झना सधैँ गरिदिनुपर्छ । यस कार्यले पारिजातको जीवन्ततामा थप योगदान पुर्याइदिनुभएको छ ।
उपन्यास, कथा, कविता, निबन्ध र संस्मरण लेखनमा सुन्दर शैली र भाषा प्रयोग गर्नुभएर आफ्नै छुट्टै पहिचान बनाउन सफल लेखिका पारिजातका लागि मन पर्ने विदेशी साहित्यकारहरूमा गोर्की, लू स्यून, चेखब, महाश्वेतादेवी, अन्नपूर्णादेवी, विमल मित्र हुन् । अन्तिम समयसम्म चुरोट सेवन छोड्न गाह्रो मान्नुहुने उहाँले आफ्नो भविष्यको इच्छामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा लास नलगियोस् / मेरो शबमाथि लेनिनको फोटो राखियोस् / स्वयम्भूमा लागि अन्तिम दाहसंस्कार गरियोस् / शवलाई हरियो रङ्गको साडी लगाएर रातो रङ्गको पछ्यौरा ओढाइयोस् भनेर लेखेर जानुभएको हो । उहाँकै इच्छाअनुसार मृत्युपश्चात् उहाँको दाहसंस्कार स्वयम्भूमा भएको हो ।
वस्तुगत जगत्को मानव मस्तिष्कमा पर्ने प्रतिबिम्बको अभिव्यक्ति नै साहित्य हो भन्न रुचाउनुहुने उहाँले आफ्नो जीवनप्रतिको दृष्टिमा उमेर र अनुभूतिहरूसँगै हेलिँदै, परिवर्तन हुँदै, विकसित हुँदै जाने एउटा निश्चित अवधिको नाउँ हो जीवन । जीवन सधैँ गतिशील छ, जीवनमा विभिन्न अनुभव हुन्छन् – माया, प्रेम, घृणा, भोक, शोक, यौन, सङ्गति, विसङ्गति, सहअस्तित्व, आशा, निराशाका परिस्थितिहरूसँग जुझ्दै बाँच्न चाहने एउटा प्रबल जिजीविषा हुन् भनेर लेखेर जानुभएको थियो । नेपाली भाषा–साहित्यका फाँटहरूमा सुन्दर सिर्जनाहरू छाड्न सफल अविस्मरणीय साहित्यकार पारिजात महाकवि लक्ष्मीप्रसाद देवकोटा पछि आफ्नै अस्मिता र गरिमाका आयामहरू छोडेर जान सफल साहित्यकारका रूपमा स्मरण गर्न लायक पात्र हुनुहुन्छ । सुन्दर, सौन्दर्यमुखी, मग्मगाउँदो वासनादार फूलझैं पारिजात नेपाली साहित्यको इतिहासमा सधैँ छाइरहनुहुनेछ । उहाँ श्रमिक जनताको मुक्तिप्रति विश्वस्त हुनुहुन्छ । त्यसैले उहाँ यस्तो खालको आन्दोलनका हिमायती हुनुहुन्छ –
होस् गर्नुपर्छ यतिखेर
निर्धाका मुटु निचोर्नेहरूले
शक्तिशालीका मुटु निचोर्ने हातहरू
यता पनि तयार छन्
एकपछि अर्को लस्कर लागेर ।
पारिजातले देख्नुभएको र उहाँले कवितामा नै अभिव्यक्त पोख्नुभएको आन्दोलन पछि मात्र नेपालको सुन्दर मुहार देख्न सकिन्छ, उहाँको इच्छा साकार अवश्य हुनेछ उहाँलाई सम्झेर आन्दोलन मनमा सम्प्रेषण गरिरहेछु ।