१९९३ साल वि.सं.मा दार्जिलिङमा जन्मेकी पारिजातको प्रमाणपत्रको नाम विष्णुकुमारी वाइवा हो । दार्जिलिङको परिवेशमा जन्मी, हुर्की, पढी, गरेकी विष्णुकुमारी लेखन क्षेत्रमा पारिजात नामबाट चर्चित छन् । २०१८ साल पछि लेखन क्षेत्रमा प्रवेश गरेकी पारिजात २०२२ सालमा शिरीषको फूलमा मदन पुरस्कार प्राप्त गर्ने प्रतिभाका रूपमा परिचित हुन्छिन् । यो पहिलो कृति हो – शिरीषको फूल उपन्यास । स्नातक तहसम्मको अध्ययनपछि नेपाल पसेर अस्तित्ववादी उपन्यास क्षेत्रमा दह्रो खुट्टो टेक्ने पारिजात २०२४ सालदेखि २०३० सालसम्म राल्फा समूहसँग सम्वद्ध हुन पुग्छिन् । २०३० पछिका वर्षहरूमा प्रगतिवादी चिन्तन धारासँग आवद्ध भई लेखन र संघ–संस्थाका गतिविधिसँग संलग्न हुँदै आएकी पारिजातको लेखन २०४५ देखि यथार्थबाट केही विचलित हुने अवस्थामा देखिएको छ । अस्तित्ववादी चिन्तन पद्धतिबाट आरम्भ भएको पारिजातको लेखन प्रगतिवाद हुँदै पुन: पुरानै ढर्रातिर ढल्न लागेको तथ्य उनका रचनाले पुष्टि गर्न लागेको देखिन्छ ।
जीवनका सम्पूर्ण इतिहास सिर्जनामै बिताउने पारिजात आफ्नै जीवन सुश्री पारिजातकै रूपमा भोगिरहेकी छन् । पक्षघातको रोगबाट ग्रसित पारिजात काठमाडौंको उत्तरतिर बालाजुको नजिकै एउटा सानो निवासमा रहेर साधनारत जीवन बिताइरहेकी छिन् । दोस्रो विश्वयुद्धको बादल मडारिरहेको बेला आफ्नो जीवन विदेशी भूमिमा गुमाएका र आफ्ना अंगहरू मात्र गुमाएर फर्केका नेपालीहरूको अस्तित्व छाम्ने क्रममा पारिजातमा उपन्यासको जन्म हुन्छ । यसरी उपन्यासका क्षेत्रमा प्रवेश गरेकी पारिजातमा पहिले अस्तित्ववादी पछि प्रगतिवादी दार्शनिक प्रवृत्ति विकास भएको देख्न पाइन्छ ।
कथा क्षेत्रमा सुरुतिर यौन मनोविज्ञानलाई पछि सामाजिक यथार्थलाई प्राथमिकता दिने पारिजातका सडक र प्रतिभा र आदिम देश अनि साल्गीको बलात्कृत आ“शु समेत तीनवटा सङ्ग्रह प्रकाशित भएका छन् । कविताहरू पनि पारिजातका कविता शीर्षकमा संकलित भएका छन् । त्यस्तै निवन्ध क्षेत्रमा उनी धुपी सल्ला र लालीगुरा“सको फेदमा र एउटा चित्रमय सुरुवातनामक सङ्ग्रहका माध्यमबाट परिचित छन् । संख्यात्मक दृष्टिले उनी नौ/दश वटा उपन्यासकी धनी भैसकेकी छिन् । २०२२ सालको मदन पुरस्कारबाट पुरस्कृत शिरीषको फूल उपन्यासबाट देखापरेको उनको उपन्यासकार महत्ताहीन, बैंशको मान्छे, पर्खालभित्र पर्खालबाहिर, तोरीबारी, बाटा र सपनाहरू, अन्तर्मुखी, उसले रोजेको बाटो, अनिंदो पहाडस“गै, परिभाषित आ“खाहरू र बोनी जस्ता उपन्यासहरूसम्मको यात्रा गर्दै आजको अवस्थामा आएको छ । वैचारिक दृष्टिले अस्तित्ववादी चिन्तनधाराबाट शुभारम्भ भएको पारिजातको लेखन प्रणाली जतिखेर तीव्र थियो, त्यतिखेर उनी राल्फाली समूहमा सम्वद्ध थिइन् । जर्मन दार्शनिक किर्केगार्डबाट प्रतिपादन भएको अस्तित्ववादी दर्शन फ्रान्सका लेखक अल्बर्ट क्यामु र ज्याँपल सात्र समेतका चिन्तनधारासँग प्रभावित भएर पारिजात अस्तित्ववादी उपन्यासकार बन्न पुगिन् । २०३० साल पछिका वर्षमा उनी माक्र्सवादी चिन्तन धारासँग सम्वद्ध हुँदा उनी नेपालका वामपन्थी राजनीतिक समूहहरूसँग पनि सम्वद्ध हुन पुगिन् । उनको राजनीतिक सचेतता, सामाजिक जागरणका आह्वानहरू पर्याप्त रूपमा प्रदर्शित भएका यस समयमा रचनाहरू समाजवादी यथार्थवादसँग सम्वद्ध हुन पुगेका छन् । यसो हुँदाहुँदै पनि हालसालका उनका कृतिहरू यथार्थवादी चिन्तन पद्धतिबाट पलायन हुन लागेको कुरा पाठकहरूले अनुभव गर्न थालेको पाइन्छ ।
शिरीषको फूल : उपान्यास :
मध्य र निम्न मध्यवित्त परिवारका पात्रहरूले अनुभव गरेका जीवन कथालाई उपन्यासले आफ्नो केन्द्र बनाएको छ । दोस्रो विश्वयुद्धको विभीषिकामा सैनिक जीवन भोगेर ४५ वर्षको उमेर लिएर निधारमा अलिकति चाउरी र फाटेका २/४ वटा कपडाहरू, निराशाको मोटो कुटुरो बोकेर घर आएको सुयोगवीर २२/२४ वर्ष मै टि.बी. ग्रस्त भएर अध्ययन थन्क्याएर आराम लिई बसेकी अविवाहित बरी (पूरानाम सकमबरी), फक्रेर पनि फल्न नपाई प्रौढ हुन लागेकी मजुरी (बरीकी दिदी) र दुवैकी बहिनी पढ्दै गरेकी युवती तीन जना बहिनीको अभिभावक शिवराज (सबैको दाजु) र एउटी आमा समेतको परिवार वृत्त भित्र आधारित इतिवृत्तमा आधारित छ – प्रस्तुत उपन्यास दुईचार वर्षको मात्र समय आयतन भएपनि लामो जस्तो लाग्ने यस उपन्यासकी पात्र बरी, दाजु, दिदी र आमा समेतको अभिभावकत्वमा सुयोगको परिचित र बसउठका बीचमा उपन्यासको कथा विकासित हुन्छ । आमा र दाजुको पहाड र मधेश आवतजावत गराई र आफ्नो घर रुङ्ने जिम्मेवारीकै बीचमा मुजुरा रोगाएर मर्दा सुयोग निकै पीडित हुन्छ । बरीकी सानी बहिनी पोइला जाने जस्तो घटनापछि नगन्य अनुभव हुने बरीका त्यस परिवारमा बरी र शिवराज दाजु बहिनी भएर पनि सुयोगसँगका प्रेम प्रसङ्गका वार्तालापमा सामान्य झैं भएर सहभागी बन्छन् । यौन विपरित अनुभूतिको भावनात्मक तृप्ति यस उपन्यासमा दाजु र बहिनीका बार्तामा पनि प्राप्त गर्न सकिन्छ । बरी र सुयोगका बीचमा हुन सक्ला जस्तो लाग्ने भौतिक सम्पर्क पनि विकसित हुनुअगावै बरीलाई विमारले आक्रमण गर्दछ । मनोकामनाको मात्र पनि बासनात्मक तृप्ति गर्न नपाउँदा अधीर अनुभव गर्ने सुयोगवीर बरीको मृत्युलाई स्वीकार्ने अवस्थामा आइपर्छ । बरीका घरमा आइजाई गर्न र समाचार आदानप्रदान गर्न पनि नसक्ने अवस्थामा पुगेका सुयोगवीरलाई शिवराज भन्छ –‘बरीलाई केही भैहाल्यो भने म बाँच्न गाह्रो पर्छ ।’ यस्ता द्विविधात्मक मनस्थितिका कारणहरू पालेर बस्दा बस्दै एकदिन सुयोग बरीका घरमा पुग्छ । त्यहाँ पुग्दा बरी आजै मरी भन्ने खबर पाउँछ । उपन्यासको कथावस्तु, कथातन्तु यसै अवस्थामा पुगेर टुङ्गिन्छ ।
उपन्यासको कथ्य :
जीवन निरर्थक छ । यसको कुनै सार छैन ! सुयोगजस्तो मान्छे भएर पनि नितान्त संवेदनाहीन सैनिक र जीवनलाई केबल अस्तित्वको पहिचान मात्र ठान्ने बरीजस्ता दुई पात्रका बीचमा विपरित यौन, विपरित उमेर र विपरित जीवन दृष्टि बोकेका पात्रहरूलाई राखेर पारिजातले जीवन मूल्यको निरर्थकतालाई स्थापित गर्ने प्रयास गरेकी छिन् ।
दोस्रो विश्वयुद्धमा कमाएको सुवेदारसम्मको हैकमबाट बर्मा र मलेशियाका जङ्गलमा मान्छेका छातीमा गोली हान्दै र भुँडीमा संगीन रोप्दै हिडेको सुयोगवीर जीवन भोग गर्ने एउटा पुरुष–मेशिन मात्र देखिन्छ । अस्तित्ववादी महिलामा सामूहिक बलात्कार अथवा निर्दोष नारीहरूमा प्रेमको नाटक रोचेर एकान्त यौन तृप्ती पछि पनि सन्तुष्टि नभए पछि तिनै महिला छातिमा संगीन रोपेर सन्तुष्टि लिने निर्शस बनिसकेको देखिन्छ । १८/२० वर्षमा उमेरमा पोइला गएकी बहिनीप्रति ‘विवाह गर्नु कस्तो हतार भएको त्यस मोरीलाई’ मात्र भनेर उडाइदिने, बरीको पनि विवाह गर्ने उमेर क्रमश फुल्ने अवस्था आइपुग्दा पनि त्यस परिवारलाई चिन्ता पटक्कै छैन । दिदी मुजुरासँग झ्याम्मिनाले मेशिनबाट मान्छे हुन लागेको सुयोगवीर बरीका अघिल्तिर पुन: युद्धमा प्रयोग गरिने हतियारको अस्तित्वमा भन्दा माथि उठ्न नसकेको प्रतीत हुन्छ ।
ईश्वरीय अस्तित्वलाई शून्यतामा पहिल्याउने र चराचर सम्पूर्ण अवस्थालाई ईश्वरको रूप देख्ने पूर्वीय दर्शन र मानवताको अस्तित्वलाई निस्सारताभित्र पहिल्याउने ढङ्गको पाश्चात्य अस्तित्ववादी दर्शनले नेपाली साहित्यलाई निकै प्रबल र उत्कृष्ट चिन्तनमा उतारेको छ । यद्यपि मानव निस्सार र विसंगत विश्वविराटको परिवेश भित्र आफू हुनुको अस्तित्ववोध गर्दछ । यसैकारण नेपाली साहित्यमा पनि अस्तित्ववादको प्रबल भूमिका रहँदै गरेको पाइन्छ । मान्छेलाई यस दृष्टिले अन्तरमुखी र निरपेक्ष जीवन भोग्ने वस्तुका रूपमा स्थापित गरिदिन्छ । अस्तित्व वस्तुको भावनात्मक स्वीकृति हो । नहुनु भित्र पनि वस्तुको हुनुले अस्तित्व वोध गराउँछ । वस्तुको अस्तित्व भौतिक रूपमा छाम्न सकिन्छ । तर त्यसको प्रभाव र परिणति वस्तु मात्र होइन, भावना पनि हो । त्यही भावनाको वोध भएपछि मान्छेले अस्तित्वको अर्को पाटीमा विसङ्गति पाउँछ । विसंगत परिणति वोध गर्नेले श्रृष्टि वा विनाशको पनि विसंगत अनुभव गर्छ । यस्तो अवस्थामा भाव सत्य स्वीकार्नेहरू अध्यात्मवादी बन्दछन् । तर वस्तुको वस्तु सत्य मात्र स्वीकार्ने विसङ्गतिवादी बन्दछन् । यसकारण जहाँ पुग्दा विसङ्गति भित्र संगति खोज्ने प्रयास गरिन्छ, त्यही अस्तित्वको मूर्ततावोध हुन्छ, त्यहीबाट विसङ्गति सुरु हुन्छ । यस विसङ्गतिभित्र जीवनका भावनागत सत्य, शान्ति, सुख, सौहार्दता, आस्था, विश्वास र जीवन वोधका तीव्र तिर्खाहरू अदृश्य र अदृश्य हुँदाहुँदै पनि वस्तु जतिकै स्पष्ट र कटुबोध भइदिन्छन् । यिनको अस्तित्व छास्ने, देखिने र समेट्न सकिने वस्तु सत्य भावना, सत्य जत्तिकै अर्मूत र निस्सारवोध भइदिन्छ । मानवको मन अन्तरमुखी छ भने अस्तित्व वोधा पीडाले बढी पोल्छ । जस्तो यस उपन्यासमा बरीलाई बढी डामेको छ । बरीको तुलनामा सुयोगवीर बहिर्मुखी भएकाले उसका अन्तरवेदनालाई अस्तित्ववोधका अर्मूत काँडाहरूले कमै मात्र घोचेका छन् ।
अन्तरसम्वेदना र भावनात्मक उतारचढावलाई थान्को लगाएर जीवनको निस्सरतावोध स्वीकारी सकेकी बरीमा अब कटु, ठोस् र नाङ्गो अनुभूतिका छिर्काहरू मात्र बाँकी छन् । तिनलाई संवेदना, आवेग र शारीरिक अवस्थाका सिमारेखामा लगेर अनुभव गर्ने सुयोगवीर निरपेक्ष बन्न सक्ने कुरै देखिदैन । जसरी मान्छे जडमा पनि सर्वज्ञताको आरोप गरेर ईश्वरीय अस्तित्वको अनुभूति भोग्छ, त्यसरी नै मान्छे त्यसै जडमा निरपेक्षता र निस्पक्षता, समदर्शी र समधर्मी ठानेर निस्सारतावोध पनि गर्दछ । अघिल्लो दृष्टिमा सुयोगवीर अडेको छ भने पछिल्लो दृष्टिमा बरी अडेकी छे । जहाँ–जहाँ सुयोगका आवेगहरू जाग्छन्, त्यहाँ–त्यहाँ बरी पूरै निन्द्रित हुन्छे ।
एक अर्काका सुकोमल भावना, मानसिक पीडा र अन्तरसंवेदनाहरू मानवीय स्वभाव हुन् । यस्ता स्वभावको मात्रा सबै मान्छेमा समान हुनुपर्छ भन्ने वाध्यता छैन । जसरी मान्छे आत्मपरितृप्तिका निम्ति भावनामा पालेका इच्छित तत्वलाई, मठ–मूर्ति, हिमाल–नदी, जल–वायु आदि प्रकृतिका कुनै न कुनै तत्वमा आरोप गरेर मानसिक सन्तुष्टि लिन्छ । ढुङ्गामा ईश्वरको आरोप गरेर सापेक्षित आनन्द लिने सुयोगवीर यस उपन्यासमा आस्तिक मूल्यको स्थापना गर्छ भने ‘ढुङ्गो यस मानेमा ईश्वर हो, किनभने कुनै हालतमा पनि गोप्यता खोल्दैन र ढुङ्गो यस मानेमा ईश्वर होइन, किनभने भक्तलाई आपत्ति परेको बेला पनि सहयोगको हात बढाउँदैन ।’ त्यसका ईश्वरको निरपेक्ष स्वीकृति भन्दा ठूलो कुनै अस्तित्व छैन । त्यसकारण ईश्वरको निरपेक्षित आनन्द लिने बरी यस उपन्यासमा अस्तित्वगत मूल्यको स्थापना गर्दछे । यसप्रकार चिन्तनमा अनुशासन, वस्तुमा ईश्वरको आरोपन, जडमा चेतनाको स्वीकृति जस्ता अन्तरमुखी तत्वलाई सुयोगवीरका चरित्रले व्यक्त गरेको छ । यिनै असंगत र अत्यन्त भावगत कुरालाई बरीले निर्धक्कसँग व्यङ्ग्य गर्दै विस्फोटन गरेकी छे ।
शिवराज, आमा र बहिनी समेत चारजना महिलामात्र भएका घरको एक मात्र पुरुष अभिभावक हो । फ्रायडका दृष्टिमा विपरित यौनको भावनात्मक परितृप्तिको एक मात्र साधन, विहाको उमेर बितिसकेका महिलाहरू मध्ये बरीको फोटो नोटबुकमा बोकेर हिड्ने शिवराजको मनोग्रन्थी पित्रृरति प्रणय ग्रन्थी (Elactra Complex) को शिकार बनेको छ । यो कुरा बरीको अनुपस्थितिमा दाजु शिवराजले खल्लो वोध गर्नु, बरीलाई केही भईदियो भने आफ्नो बाँच्ने सहाराकै अभावको वोध गर्नु यस उपन्यासमा पाइने दमित यौन तृप्तिको मानसिक उद्घाटन हो । त्यसरी नै सुयोगवीर बरीसँग बिहाका निम्ति स्वयं प्रस्तावित भएपनि मुजुराका लागि मात्र आफू योग्य हुनसक्ने अवस्थाको वोध गर्नु यस उपन्यासको यौन ग्रन्थीको बहिर्मुखी दशाको उद्घाटन हो, बर्माका जङ्गलमा भेटिएका महिलाको उपभोग बलात्कारबाट गर्ने र आदिवासी युवतिसँग ‘म तिमीलाई विहा गरेर सुखसँग जीवन बिताउन सहधर्मिणीका रूपमा स्वीकार गर्छु’ भनेर आफूलाई योग्य पतिका रूपमा प्रस्तावित गर्ने सुयोगवीर जति असफल प्रमिकाको रूपमा आफू तड्पिन्छ त्यसको ठीक विपरित बरी आफूलाई र आफ्ना छिमेकमा रहेकी टि.वी. ले खाएसकेकी आइमाईलाई पुरुष तड्पाउने साधनका रूपमा स्वीकार्छे । टि.वी.ले खाएकी महिलासँग सहवास गर्ने ठिटाका लागि त्यो रोगी महिला र आफूस्ँग जीवन साथी बन्न चाहने सुयोगवीरका लागि बरी जीवनघाती बनस्पति (Insect Kiler) झैं अलिअलि गरेर मार्नमा व्यस्त तत्वका रूपमा देखिन्छिन् । त्यस महिलामा र बरीमा जीवनको अस्तित्ववोध बारेमा खास अन्तर छैन । जीवन समष्टिमा मृत्युको उपत्यका हो । यस उपन्यासका भञ्ज्याङहरू मृत्युका पाइलाले मात्र पार गर्न सकिन्छ । प्रत्येक मान्छे नचाहिकन जन्मेको हुन्छ र मृत्यु पनि नचाहिकन वरण गर्छ । वास्तवमा विसङ्गतिको अनेकौं खातभित्र यो जीवनको अस्तित्वमा छामिन्छ र अस्तित्वको यस पहिचान भित्र जीवनका अनेकौं विसङ्गतिहरू छरिएका हुन्छन् । यसै अस्पष्टताभित्र जीवन छरिएको हुन्छ ।
जीवनका पक्ष–पक्षान्तर केलाउनु यस उपन्यासको उद्देश्य होइन । शिरीषको कोमलताभित्र जीवनको कोमलताले कत्तिको सामञ्जस्य राख्छ त्यसलाई मात्र संकेत गर्ने ढङ्गले बरी र सुयोगका दुवै निरश जीटनलाई लिएर जीवनका अस्तित्वादी चिन्तनलाई पाठकका सामु राखिदिनु मात्र यसको आसय रहेको छ । मुजुरा फक्रेर पनि धेरै दिन नओइलाएको शिरीषको फूलको प्रतीक, बरी फुल्दाफुल्दै अस्तित्व पहिल्याउन क्रममा फक्रिन बिर्सेर ओइलाउन लागेको शिरीषको फूलको प्रतीक र बहिनी फुल्ने मौसम आउनु अगावै फक्रेर ओइलाइसकेको शिरीषको फूलको प्रतीक उपन्यास उपन्यासले पाठकसामु राखेको छ । शिवराज आफैले हुर्काएका फूलहरू बेमौसममा ओइलाएर झर्न लागेको हेर्न विवश भएको माली झैं छ भने सुयोगवीर फूलको सुवास र रस चुस्ने मोहमा अल्मलिएरको भमरो (Insect) झैं उपन्यासको शिरीषबारी भरी अल्मलिएका छन् । यिनै प्रतीकात्मक कथनभित्र उपन्यासले आफ्नो चिन्तन पक्षलाई अल्मल्याएको छ ।
अन्तमा के भन्न सकिन्छ भने चिन्तन र तर्कशील भाषा, अन्तरमुखी र निरपेक्ष भावनावादी विचार, जीवनबाट वितृष्णा जगाउने निष्कर्ष, थोरै पात्र, घर, डेरा, होटल आदिमा सीमित सानो परिवेश र सम्पर्क भित्र कथाको सिमितीकरण, छोटो समयको आयातनमा विगतलाई प्रकाशमा ल्याएर विस्तार गरिने कथा प्रस्तुतिको शील्प, आफ्नै जीवन्त अनुभूतिको प्रस्तुति, प्रथम पुरुष कथयीताको स्थापना आदिले उपन्यासलाई आफ्नो ठाउँमा जीवन्त बनाएका छन् । समष्टिमा यस उपन्यासले नारीको स्वभावित अस्तित्ववोध भन्दा पुरुषको अस्तित्ववोधलाई पाखण्डीका रूपमा अघि सारेको छ । युगौंदेखि पुरुषको अवस्थामा प्रबल, नारीको अवस्थामा दुर्बल स्वीकारिदै आएका यस समाजमा सुयोगवीर मार्टिन चिलाई जस्तै बरीलाई पनि भोको पात्र मात्र ठान्दा ठान्दै बरीको तार्किक प्रहार र जीवन वाधेको खप्की खाएर हदप्रद हुन्छ । यसबाट पुरुषको नारीभोगको पर्दा खुलेको छ । यसरी उपन्यास अलिकति पुरुषप्रधानताप्रति व्यङ्ग्य गरेर पन्छिएको छ । अरू यस उपन्यासले समाजका यथार्थलाई टिप्ने झिना स्वरहरू पनि सुसेल्न सकेको छैन ।
जनमतको पारिजात विशेषमा प्रकाशित रचना