सम्पादकको कलमवाट

जनमतका सन्दर्भमा केही कुराहरु 

प्रधान सम्पादक: मोहन दुवाल

जनमतको आफ्नै खालको यात्रा र गन्तव्य छ । साहित्यिक क्षेत्रमा यस जनमतमार्फत् धेरै खालकाकामहरु भएका छन् । जनमत मासिक पत्रिकाको माध्यमबाट २०४५ माघ महिना देखि निरन्तर समर्पित भई साहित्यिक अभियानमा र साहित्यिक सम्प्रेषण गर्ने अभियानमा सकृय रुपले लाग्न पाएका आफ्नो इतिहास र पहिचान छ । यस जनमत मासिकमा साहित्यकारहरुको विशेष अङ्क, विशेषहरु प्रकाशितहुनाका साथै थुप्रै जिल्लाका साहित्यिक अङ्कहरु, अमेरिका र सिक्किमका विशेष अङ्कहरु पनि प्रकाशित भएका छन् । निकट भविष्यमा नै ३०० अङ्कको विशेष अङ्क प्रकाशन गर्ने योजना रहेको र उक्त अङ्कमा जनमतबाट सम्मानित भइसकेका वाङ्मयसेवीहरुका साथै जनमतका विशिष्ट मित्रहरुका लेख–रचनाहरु प्रकाशित हुने छन् । 

जनमत प्रकाशन बाट हाल सम्म १५० वटा पुस्तक÷ग्रन्थहरु प्रकाशितभएका छन् । थुप्रै पुस्तकहरु प्रकाशनको क्रममा छ । हाल सम्म १७६ जना वाङ्मय सेवीहरुको सम्मान जनमतबाट भइसकेको छ । यति मात्र नभई देश÷विदेशका साहित्यिक सङ्घ–संस्थाहरु र साहित्यकारहरुको जनमतको सक्रियतामा बनेपामा सम्मान भएका छन् । लेखकीय पुस्तकालयको परिकल्पना भए अनुसार पुस्तक संकलन गर्ने कार्य भइरहेको छ । साहित्यकै सङ्ग्रहालय जस्तो गरी यस पुस्तकालयलाई रुपान्तरण गर्ने र सोध अन्वेषण गर्नेहरुको लागि यस पुस्तकालय आश्रम घरका रुपमा संचालन गर्ने हाम्रो योजना छ । साहित्यलाई लिङ्ग, जाति, क्षेत्र पार्टीगत झण्डाको आधारमा विभाजित तुल्याउने हाम्रो सोच नभएकोले जनमत साहित्यको साझा चौतारीका रुपमा उभिने र उभिन चाहनेहरुलाई टेको दिने दृष्टिकोण नै जनमतको आफ्नो मौलिक पहिचान हो । यस उद्देश्यलाई साथ दिंदै आएका देश–विदेशका मित्रहरु प्रति हामी आभार व्यक्त गर्दछौं । हामी यस खालको उद्देश्य बोकेर निरन्तर यात्रामा रमाइरहने छौं । 

जनमतले आफ्नो नाम, क्षेत्र बनाउँदै राष्ट्र र अन्तर्राष्ट्रिय स्तर सम्म पुग्ने र प्रभावित तुल्याउने जुन साहसिक अभियान हुन पाएको छ त्यसका लागि जनमत परिवार खुसी र प्रफुल्लित छौं ।संसार विराट बन्दै गएको छ । सम्पर्कका माध्यमहरु प्नि थुप्रै बन्दै र थपिंदै छन् । यस अर्थमा जनमतलाई पनि उसले पु¥याएको योगदानको कदर गर्दै अनलाइनमार्फत् जनमतको साहित्यिक भावना विस्तार गर्ने योजना अनुसार जनमत साहित्यको अनलाइन स्थापना गर्न लागेका छौं । यसका लागि सबै शुभेच्छुक मित्रहरुलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं । जनमतलाई अनलाइन मार्फत् संसारमा व्याप्त गराउने अभियानमा जनमतका सम्पादक सिर्जना दुवालले आफूलाई समर्पित तुल्याउने साहस गरेकोमा जनमत परिवारको तर्फबाट विशेष धन्यवाद दिन चाहन्छु । रचनात्मक सुझावका लागि सबैमा हार्दिक अनुरोध गर्दछु । 

– मोहन दुवाल
प्रधान सम्पादक
जनमत मासिक
२०७८ असार २९ 

अव डिजिटलमा

जनमतसंग मेरो बाल्यकालदेखि नै भावनात्मक सम्बन्ध छ । सानै देखि विशेष लगाव छ, मेरो यसप्रति । २०३९ साल देखि बुबा मोहन दुवालले जनमत विचार प्रधान पत्रिका निकाल्न शुरु गर्नु भयो । वुवा साहित्य अनुरागी हुनुहुन्छ । केही वर्षमै विचारप्रधान प्रकाशनलाई साहित्यिक पत्रिकामा रुपान्तरण गर्नुभयो ।

सम्पादक: सिर्जना दुवाल श्रेष्ठ

२०४५ अघि विचारप्रधान पत्रिका ‘जनमत’ त्यसपछि साहित्य मासिकको रुपमा नियमित प्रकाशित हुदैं आएको छ । तीन दशक पनि वेसी भयो, यो साहित्यिक प्रकाशन आरम्भ भएको । यसले अहिलेसम्म १ सय ४६ वटासाहित्य स्रस्टाहरुको कृति बजारमा ल्याइ सकेका छन् । जनमतले हरेक वर्ष १३ जना साहित्य÷कलाका सर्जकहरुलाई विभिन्न विधामा सम्मान पनि गर्ने गरेको छ ।

यसको छापा प्रकाशनमा अहिलेसम्म भानुभक्त आचार्य, भीमनिधि तिवारी,पारिजात,चूडामणि रेग्मी, धुस्वां साय्मि, लैनसिंह बाङ्गदेल, केवलपुरे किसान, जगदीश घिमिरे, शेषराज सिवाकोटी, ज्ञानकाजी मानन्धर, परशु प्रधान, श्रीहरि फुयाँल, मोहनविक्रम सिंह, दीनानाथ शर्मा, मोदनाथ प्रश्रित, रामप्रकाश समथि, डा. रामप्रसाद दाहाल आदि स्रस्टाहरुबारे विशेष अंक प्रकाशित गरेको छ ।

साहित्य समाजको ऐना हो । स्रस्टाका कलमहरुले समाजको कथा भनिरहेको हुन्छ । यही कथाहरुले समाजको विकास र विस्तारमा सहायक हुन्छन् । वुवाले जनमतलाई सर्जकहरुको मञ्च बनाएर प्रत्यक्ष परोक्ष समाजको विकास र विस्तारमा योगदान गर्नु भएको छ । जनमतले आज सम्म पनि निरन्तरता पाउनु वहाकै साहित्यप्रतिको लगाव, नया पुस्तालाई अघि बढ्न प्रेरणा दिने सोचको उपज हो । साहित्यिक पत्रिकाले निरन्तरता पाउन पक्कै सजिलो थिएन । तर कोरोनाकालमा पनि यसको प्रकाशन कुनै महिना पनि बन्द भएन ।

साहित्यमा जनमतको इतिहास लामै छ । जनमत लामो रेसको घोडा हुन चाहन्छ । जनमत मासिकको साहित्य बजारमा सौन्दर्य उतिकै कायम छ । त्यो सौन्दर्यलाई कायमै गरेर अहिले प्रविधिमा आएको बदलाव र विकासलाई आत्मसाथ गर्न चाहान्छौ, हामी । त्यसैले आदिकवि भानुभक्त आचार्यको स्मृति दिवसका दिन पारेर आजैदेखि हामीले जनमतको डिजिटल संस्करण ल्याएका छौ । अब जनमतका सिर्जनाहरु जनमत साहित्य डटकममा पनि पढ्न पाइन्छ । पत्रिकामा प्रकाशन भएका र डिजिटल संस्करणमा मात्रै पनि प्रकाशन गरिनेछ, सर्जकका सिर्जनाहरु ।
यो सर्जकहरुका डिजिटल मञ्च हो । दिगो भविष्यका लागि यसको निरन्तरता अपरिहार्य छ । जनमतलाई भविष्यमा पनि निरन्तरता दिनु पर्छ भन्ने सोचकै कारण बुबाको इच्छा अनुसार मैले जनमतलाई डिजिटल संस्करणको नेतृत्व लिएको छु । यसमा जनमतको पुराना अर्काइभ, इपेपरका साथै पोडकास्ट र भिडियो मार्फत साहित्यमा पनि मल्टिमिडियाको स्वाद पाठकलाई पस्कने जमर्को गरिनेछ । सबै हिसाबले यसलाई अझ परिस्कृत गर्दै लैजाने हाम्रो लक्ष्य छ । यसमा लेख, रचना, विज्ञापन, सुझाव, सल्लाह दिई साथ दिनु हुनेछ भन्ने सबै शुभचिन्कहरुबाट आशा गरेकी छु ।