नेपाली साहित्यलाई शिखरमा पुर्याएर पारिजात यो संसारबाट बिदा भएकी छिन् । हजारौं–हजारौं पाठकको स्नेह बोकेर पारिजातले यसरी बिदा लिए पनि नेपाली साहित्यमा उनी अमर बनेकी छिन् । गत वैशाख ५ गते विहान ४ बजे वीर अस्पतालमा उनको निधन भएको थियो । लामो समयदेखि दम, उच्च रक्तचाप, वाथ, फोक्सोको इन्फेक्सन आदि रोगबाट उनी ग्रस्त थिइन् । प्यारालाइसिसले दुवै खुट्टा चल्न नसक्ने अवस्थाबाट धेरै वर्षदेखि पीडित पारिजातको कलम भने कहिल्यै प्यारालाइसिसबाट ग्रस्त भएन । उनको लेखनमा जति सक्रियता थियो त्यतिकै गहनता पनि । यद्मपि पछिल्ला दिनहरूमा पारिजातका लेखनमा राजनैतिक प्रतिवद्धताले बढी स्थान लिएको थियो तर उनी जुन सैद्धान्तिक अडानमा बसिन् त्यसलाई किंचित सम्झौता वा समर्पण नगरी स्वाभिमानपूर्वक आफूलाई समर्पित गरेर गइन् ।
पारिजातको खास नाम विष्णुदेवी वाइवा हो । वि.सं. १९९४ मा दार्जीलिङ्गमा जन्मेकी विष्णुदेवी वाइवा पारिजातको नामले केवल चर्चित मात्र भइनन् प्रतिष्ठित र सम्मानित समेत भएर रहेकी छिन् । नेपाली साहित्यमा नारी साहित्यकारहरूमा सबैभन्दा बढी चर्चित, सम्मानित र प्रशंसित कोही छिन् भने केवल पारिजात नै एउटा मात्र नाम हो ।
पारिजातले सानै उमेरदेखि कलम चलाउन थालेकी हुन् । विशेषगरी कथा र उपन्यासमा उनको विशिष्ट योगदान रहेको छ । शिरीषको फूल, महत्ताहीन, तोरीवारी बाटा र सपनाहरू, बैंशको मान्छे, परिभाषित आ“खाहरू, बोनी, अन्तर्मुखी, अनिंदो पहाडस“गै, पर्खालभित्र र पर्खालबाहिर, उसले रोजेको बाटो, सडक र प्रतिभा, आदिम देश, साल्गीको बलात्कृत आ“खा, आकांक्षा, पारिजातका कविता, धुपी सल्ला, लालीगुरा“सका फेदमा र आधी आकास आदि झण्डै दुई दर्जन पुस्तक प्रकाशित भइसकेका छन् ।
कथा, कविता, उपन्यास, विचार, लेख, निबन्ध प्राय साहित्यका सबै विधाहरूमा उनले हात चलाए पनि उपन्यासकारका रूपमा उनको योगदानलाई समालोचकहरू अविस्मरणीय मान्दछन् । उपन्यास लेखनमा उनको शिल्पकारिता र दर्शन मुख्य विशेषता मानिन्छ । शैली र प्रस्तुतीकरण अत्यन्त प्रभावकारी हुनु उनको ठूलो गुण हो । समालोचकहरू उनको लेखनलाई उच्च कलात्मक गुण भएको मान्दछन् । शिरीषको फूल, महत्ताहीन र बैंशको मान्छे उनको सबैभन्दा बढी चर्चित उपन्यास हुन् । शिरीषको फूल (२०२२) प्रकाशित भएपछि यो उपन्यास यति चर्चित भयो, यति धेरै चर्चित हुने सौभाग्य धेरै कम पुस्तकले मात्र पाउने गर्छ । यो उपन्यासमा रहेको कलात्मक गुण र दर्शनले असंख्य पाठकको मन जित्न सफल भएको थियो । यद्यपि पारिजत स्वयम्ले भने यस उपन्यासलाई पछि आएर आफ्नो प्रारम्भिक लेखन र त्यस बेलाको सोचाई मात्र रहेको मानेकी थिइन् ।
उनको प्रगतिशील विचारधाराप्रतिको प्रतिवद्धतापछि उनले शिरीषको फूललाई आफ्नो मान्यताभित्र नरहेको बताएर यस उपन्यासलाई पन्छाउन खोजिन् तर पारिजात सर्वाधिक चर्चित हुनुमा शिरीषको फूलको जति देन छ अरू कृतिको कमै छ । शिरीषको फूल यति धेरै चर्चित हुनुको कारण उनको कलात्मक लेखन मात्र नभएर नारी अस्तित्व, नारी मनोविश्लेषण र नारी चरित्रको यथार्थ चित्रण भएर पनि हो । समीक्षकहरू यस उपन्यासलाई अस्तित्ववादी उपन्यासका रूपमा लिन्छन् । यसमा नारीभित्रको यौन मनेविश्लेषणलाई अत्यन्त सूक्ष्म ढङ्गमा प्रस्तुत गरेर नारीभित्रको असन्तोष र विद्रोहलाई प्रकट गरिएको छ । यद्यपि पारिजातले यस उपन्यासलाई च्यातिदिए हुन्छ भनेकी थिइन् । उनको मूल भनाई के थियो भने उनले अँगालेको प्रगतिशीलता यस उपन्यासमा छैन । तर समीक्षकहरू शिरीषको फूललाई पारिजातको विशिष्ट कलात्मक प्रस्तुतिका रूपमा मान्ने गर्छन । उनको कवितात्मक शैलीले गर्दा यो मात्र होइन हरेक कथा र कविता बढी कलात्मक हुने गर्दछन् ।
पारिजातका कृतिहरूलाई दुई भागमा बाँड्न सकिन्छ पहिलो हो उनको स्वछन्द लेखन र अर्को हो उनको प्रगतिशील विचारको प्रतिवद्धता । प्रारम्भमा उनको उपन्यासहरू शिरीषको फूल, बैंशको मान्छे, महत्ताहीन र थुप्रै कथाहरू जस्तो कि मैले नजन्माएको छोरो आदिमा प्रगतिशील विचारधारा पाइँदैन । यस अवधिमा विशुद्ध कलात्मक मूल्यका रचनाकारका रूपमा पारिजात स्थापित थिइन् र उनको पाठकमा रहेको व्याप्ति पनि यिनै रचनाहरूले दिएका छन् । यस क्रममा उनलाई समीक्षकहरूले नारी मनका असामान्य अवस्थालाई अत्यन्त सूक्ष्मतापूर्वक प्रस्तुत गर्ने असाधारण प्रतिभाका रूपमा लिने गर्दछन् । यसै परिपे्रक्ष्यमा उनको महत्ताहीन उपन्यास उच्चस्तरका रहेको ठानिन्छ । पारिजातको अर्को पक्ष प्रगतिशीलता हो । प्रगतिशील विचारधारालाई अँगाल्न थालेपछि उनको लेखनमा ठूलो परिवर्तन आएको देखिन्छ । लेखनलाई एउटा विशेष दृष्टिकोणबाट हेर्ने उनको धारणा पछिल्लो दिनहरूमा विकसित भएर गएको छ । प्रारम्भका रचनाहरूमा यी विचारधाराको गन्धसम्म पनि पाइँदैंन तर पछिल्ला समयमा माक्र्सवादी धारणालाई पारिजातले मूल रूपमा अङ्गीकार गरेकी छिन् । यस विचारधारालाई अङ्गीकार गरेर लेखिएको उपन्यासहरू हुन् तोरीबारी बाटा र सपनाहरू, पर्खालभित्र पर्खालबाहिर, उसले रोजेको बाटो, अनिंदो पहाडस“गै, अन्तर्मुखी । उनका यी उपन्यासहरूमा कलात्मक मूल्यले भन्दा राजनैतिक प्रतिवद्धताले बढी स्थान पाएका छन् । साहित्यिक मूल्यको हिसाबले अघिल्ला तीन उपन्यासलाई समीक्षकहरू उत्कृष्ट कृतिका रूपमा मूल्याङ्कन गर्दछन् भने पछिल्ला उपन्यासहरू एउटा निश्चित राजनैतिक सिद्धान्तको सीमाभित्र रहेको ठान्दछन् । यति हुँदा–हुँदै पनि पारिजातको लेखनशैली ज्यादै मिठासपूर्ण र कलात्मक छ । कवितात्मक शैलीको रूपमा उनको लेखन रहेको पाइन्छ । विषयका दृष्टिमा भने प्रारम्भमा उनी चरित्रका केस्र्रा–केस्र्रा केलाउँथिन् भने पछिल्ला रचनामा भने चरित्रलाई भन्दा घटना र चरित्रको व्यापकतालाई वढी प्राथमिकता दिएको पाइन्छ । पारिजात एउटी लेखिका हुन् । राजनैतिक सिद्धान्तको घेराले पारिजात बाँधिन सक्तिनन् । उनको प्रतिवद्धता कम्यूनिष्ट विचारधाराप्रति थियो तर पारिजात साहित्यकारका रूपमा, भाषासेवीका रूपमा अनन्तकालसम्म जीवित रहने नाम हो । राजनैतिक विचारधारा परिवर्तन हुन सक्तछ तर साहित्य लेखनमा साश्वतता हुन्छ । पारिजात अब साश्वत हुनेछिन् । नारी मनको अचेतन स्थितिदेखि समग्र राष्ट्रको आर्थिक सोचाइसम्म फैलिएको पारिजातका रचनाहरूको अध्ययन हुन बाँकी छ । अब त्यसतिर अग्रसर हुन आवश्यक छ ।
जनमतको पारिजात विशेषाङ्कबाट