म हाइकुमा डिग्री लिएको वा नेपाली साहित्यमा डिग्री प्राप्त ब्यक्ति हैन । म हाइकुमा मात्र लागेको पनि छैन । मेरो विचार मेरो निजी अध्ययन र अभ्यासमा मात्र सीमित छ । अत: म आजको नेपालमा लाटाको देशमा गान्डे तन्नेरी भने जस्तै सामान्य जानकारी राख्ने मान्छे हुँ । मेरो हैसियत भनेको सन १९९३ देखि २०२३ वर्ष बीचको अध्ययन, अनुभव र यससँगको निकटता र साधना केही हदमा अनि सिर्जनाको अभ्यास मात्र हो । लगभग ३० वर्षको अन्तरालमा आफूसँग गाँसिएका हाइकुका विविध कार्य र कार्यक्रम एवं सिर्जना र सम्झना केलाउँदा र निफन्दा बाँकी भएका केही रुपरेखात्मक विवरण मात्र यहाँ राख्ने धृष्टता गर्दछु । यो अपूर्ण छ । यस क्षेत्रका समालोचक एवं स्रस्टाहरुबाट सुझाव र रचनात्मक सहयोग पाएपछि परिमार्जन हुने नै छ । अहिलेसम्म आइपुग्दाका एकसरो परिचयात्मक विवरण आत्म केन्द्रित गर्दै संक्षेपमा राख्न चाहन्छु :
– मैले हाइकु सन १९९३ सालमा जापानमा बालसाहित्यको अनुसन्धान गर्न जाँदा माइनिची सिम्बूनको अंग्रेजी हाइकु पढेर प्रभावित भएको हुँ । जापान दशौं पटक पुगेको र धेरै ठाउँ हेरेको हुँ । जापानबारे अध्ययन अनुसन्धानका केही पुस्तकहरु पनि प्रकाशित छन् । मलाई नेपालपछि जापान दोस्रो र नर्वे तेस्रो घर भन्न मनपर्छ । जापानसम्बन्धी किताप ४–५ वटा लेखेको छु अंग्रेजीमा । हाइकुका पनि आधा दर्जन बेसी पुस्तक प्रकाशित भएका छन् ।
– पहिलो पटक अंग्रेजीमा लेखेर जापानी संस्कृतिका प्राध्यापकले भूमिका लेखेका र यो सन २००९ मा ‘रेडकुईन’ अंग्रेजीमा नेपालको प्रथम पुस्तक प्रकाशन भएको थियो ।
– फागुनी फूलहरु नेपालीमा २०५८ सालमा पहिलो पटक साप्ताहिक विमर्शमा छापियो र धेरैले यस्लाई पढेर हाइकु पढे जस्तो भनी मन पराइ दिनेमा माधवलाल कर्माचार्य प्राज्ञ हुन् ।
– २०६१ साल असारको मिर्मिरे पत्रिकामा चेतनाथ धमलाले मलाई सय वटा प्रश्नमा आधाजसो अन्तर्वार्ताका रुपमा छापेर हाइकुलाई प्रस्ट पार्न खोजेका छन् ।
– प्रथम हाइकु गोष्ठी सन २००३ मा आयोजना गर्ने सौभाग्य प्राप्त भयो र यसैबेला नेपाली हाइकु चेतनाथ धमला र साथीहरुको सहयोगमा प्रधान सम्पादक भएर प्रकाशन भयो । यसको अङ्क आजसम्ममा एक दर्जन नाघिसकेको छ । यो समसामयिक पत्रिकाका रुपमा प्रकाशित छ ।
– प्रथम राष्ट्रिय हाइकु सम्मेलन सन् २००४ मा आयोजना गर्ने सौभाग्य मिल्यो ।
– हाइकु यात्राको आरम्भ आफ्नै घर आँगनमा कविहरुलाई आमन्त्रण गरी प्रकाश पौडेलको पनि साथ सहयोगमा सन् २००३ मा डेढ दर्जन कविहरुको भेलामा सिर्जन, लेखन, वाचन गरेर यस्को प्रकाशन ‘अन्ध गल्छी’ २००५ मा भएको थियो ।
– समकालीन प्रज्ञा पत्रिकामा सुवर्ण अङ्कमा लामो लेखका कारण दिएको तीन वर्ष पछि सुवर्ण अंक ५० मा सन २००९ मा छापियो । त्यो पनि ‘हाइकु मात्र लेखेर हुँदैन यस्लाई बुझाउन पनि सक्नुपर्छ’ भन्ने हाँक आएकाले तयार गरेको थिएँ ।
– जापानबाट प्रकाशित हुने विश्व हाइकु पत्रिकामा मेरो हाइकु सन २०१० देखि प्रकाशन भएका छन् ।
– प्रथम हाइगा (चित्रमा हाइकु) रचना २०६२ र पहिलो हाइबुन (गद्य यात्रा शब्द चित्र साथ हाइकु) २०७५ मा रचना । हाइगा नेपाली हाइकु पत्रिकामा प्रकाशित भयो र पहिलो प्रदर्शन जापानमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा सन २०१८ मा भएको थियो ।
सन् २०११ मा सुनामी हाइकुमा विश्वमा प्रथम माइनिची सिम्बुन जापानी पत्रिका अन्तर्गत प्रकाशित र पुरस्कृत भएको थियो ।
– नेपाल हाइकु केन्द्रको संस्थापक अध्यक्ष सन २०१३ (२०७० साल) । यस्को शाखा पर्वत र बाँके, कोरियामा पनि खुल्दैछ ।
– आँखाको नानी मोबाइल साइजको हाइकु प्रकाशन सन २०२० यो सिरिजमा अरु तयारी हुँदैछ ।
– जापान विज्ञका रुपमा परराष्ट्रको मान्यतामा सल्लाहकारको काम सन २०१६ देखि । हीरक महोत्सवमा सरकारी समितिमा संलग्न ।
– स्वतन्त्र संचारग्राममा हाइकुमार नाममा सन २०१७ मा स्तम्भ संचालन ।
अब म विषय प्रवेश गर्दैछु ।
काव्यिक दृष्टिले हाइकु नेपाली पद्य साहित्यमा नयाँ हैन । यस्को जोडा हाम्रा पौराणिक ग्रन्थ, लोकसाहित्य र आधुनिक परम्परागत साहित्यमा पनि कुनै न कुनै रुपमा देख्न सकिन्छ ।
हाम्रो संस्कृत वाङ्मय र संस्कृतिका काव्यिक क्षेत्रमा पनि अप्रत्यक्ष छोटा कवितामा हाइकु प्रवृत्ति भेटिन्छ । परम्परागत कवितामा पनि त्यो पाइन्छ । जस्तै : शान्ताकारम् भुजगं शयनम् पद्म नाभम भनी सुरेशलाई इङ्गित गरिएको पाइन्छ ।
पश्चिम नेपालको धमारी पनि तीन हरफ र कम अक्षरमा बनेको पाइन्छ ।
मेरो पुरानो कवितामा तीन हरफमा मैले पनि व्यङ्ग्य कवितामा बीसको दशकमा केही रचना गरेको फेला पर्छ ।
खोजी पस्तै जाँदा छोटा कविता मन्त्रदेखि लोकगीत र परम्परागत कवितामा हाइकुको रुप देख्न सकिन्छ । तर हाइकुको इतिहास पुरानो छ र यो आफ्नै प्रकारले विकसित विश्व कविता भएकाले यसको मौलिकता र महत्व अतूलनीय छ ।
– फ्लडेड गर्ज २०१७ मा अंग्रेजी छ ।
– नाचु इशिले गेन्युमा न ७६ अङ्कमा अनुवाद प्रकाशन भएको छ ।
– नोटबुक साइज प्रकाशन प्रारम्भ गरी ‘री’ (प्राकृतिक बिम्बबाट बुँद थोपा अर्थको शीर्षकमा) २०१७ र ‘नी’ (सांस्कृतिक बिम्बबाट मार्ग दर्शक अर्थको शीर्षक) मा ४ जनाको प्राकृतिक र साँस्कृतिक बिम्बमा प्रकाशन छ।
– सन् २०१८ मा अन्तर्राष्ट्रिय हाइकु गोष्ठीमा टोकियोमा प्रमुख अतिथि र नेपाली टोलीको नेतृत्व गरेको
– सन २०१८ मा अन्तर्राष्ट्रिय हाइकु सम्मेलनमा टोली नेतृत्व भएको ।
– हुकिङ्ग हाइबुन २०१९ मा प्रकाशन छ ।
– २०१९ मा अंग्रेजी हाइकुको अन्तर्राष्ट्रिय आन्थोलोजीमा समावेश छ ।
– सन् २०१८ मा अन्तर्राष्ट्रिय हाइकु संस्था जापानको मानार्थ सदस्य ।
मैले १०–१५, ००० नेपाली हाइकु लेखेँ र अंग्रेजीमा २५०० भन्दा बढी नै । मेरा हाइकु मधुपर्क, कविता, गरिमा, अभिव्यक्ति, कौशिकी, समकालीन, कामदा आदि पत्रिकामा छापिए । हाइकुको तालिम पनि सञ्चालन छ ।
मैले तीन दर्जन बढी हाइकुका पुस्तकहरुमा भूमिका लेखेँ हाइकुबारे समेत चर्चा गरेर । सम्मेलनमा कार्यपत्रहरु, हाइकु पुस्तक विमोचन, कार्यक्रमको प्रमुख अतिथि र सम्मेलनहरुमा भाग लिएको छु । नयाँ सहशताब्दीदेखि हाइकुलाई पुनरजागरण गर्दै आज नेपालमा हाइकुले एउटा उच्चता लिएको जस्तो लाग्छ ।
हाइकुमा विशिष्ट योगदानकर्तामा प्रारम्भ गर्ने शंकर लामिछाने (०१९–०२७ साल) देखिए ।
२०१९ मा रुपरेखामा शंकर लामिछानेले ‘सूर्योदय’ हाइकु रचना प्रकाशन गरेको देखिन्छ ।
माकुरा जाल
झोल्लिएको ओसले
तकिंदै गयो ।
उनले २०२२ मा पारिजातको शिरीषको फूलमा उपन्यासको सार नै खिचे हाइकुमा :
शिरीष फूल
भ्रमर चुम्बनमै
ओइली झर्छ ।
शंकरले सैद्धान्तिक लेख २०२७ असोजको रुपरेखामा प्रकाशित गरे । शंकर हाइजिन, उल्थाकार र समालोचकका रुपमा छन् । उनका थोरै कृति हाइकुमा भए पनि पहिलो प्रयासका रुपमा पूर्ण र उल्लेख्य छ । ०३८ सालमा प्रमोद प्रधान, २०४४ सालमा अभी सुवेदी र २०५१ सालदेखि २०६४ सालसम्म क्षेत्रप्रताप अधिकारी, २०५८ मा फागुनी फूलहरु छापेर म पहिलोपल्ट हाइकुमा देखा परेको छ । नेपाली हाइकु प्रकाशन पहिलो अङ्क २०६० पुष (पहिलो कार्यपत्र – हाइकुको मज्जा मज्जाको हाइकु) देखि मेरा लेखहरुमा हाइकुका सैद्धान्तिक विवेचना परेका छन् । पछि २०६० साल चैतदेखि २०७५ साल (हाइकु कसरी लेख्ने?) पुस्तिकासम्म विके पाल्पालीले सैद्धान्तिक पुस्तक (हाइकु साहित्य र सैद्धान्तिक अवधारणा) प्रकाशन गरेका थिए । पछि मेरो समकालीनमा हाइकुको लामो लेख जापानभित्रको हाइकु र हाइकुभित्रको जापान, समकालीन–५०, साउन–भदौ–असोज, २०६०) हाइकुबारे विस्तृत जानकारी भएको । नेपाली भाषामा यसअघि देखिएन । सिद्धान्त विकासमा बमबहादुर जितालीको जापानी छन्दमा नेपाली कविता २०६४ (सन् २००७) मा मेरो जापानी साहित्यिक सन्दर्भमा काव्यकलाको कमाल लेख परेको छ । २०६० सम्ममा प्रकाशित मेरा आधा दर्जन हाइकुबारे जानकारीमूलक लेखले पछि हाइकुका सिद्धान्तमा स्पस्ट हुँदै गएको भेटेको छु । २०६० अघि र त्यसै साल अनि सैद्धान्तिक लेखहरु प्रकाशित भइसकेपछि बी.के. पाल्पालीको नेपाली हाइकुकै पहिलो सैद्धान्तिक पुस्तकमा नेपाली हाइकु पत्रिकाको सन्दर्भ सूची रहेको छ । अझ पुस्तक प्रकाशन नगरी कौशिकीमा २०६५ सालमा प्रकाशित हाइकु बारेको रचना विस्तृत रुपमा आएको छ । नेपाल जापान सम्बन्धको स्वर्ण महोत्सव सन् २००६ को उपलक्ष्यमा तयार पारिएको पुस्तक कौशिकीले २०६५ वैशाख असारमा छापे । यसअघि सैद्धान्तिक अवधारणा कमै आएका छन् ।
पछि कुनै कुनै पुस्तकमा हाइजिनहरुले आफ्नो विचार प्रस्तुत गरेका छन् । मेरो डेढ दर्जन जति हाइकुबारे लेखहरु छापिएका छन् । सैद्धान्तिक विवेचना सहित मेरो भूमिका तीन दर्जन भन्दा बढी हाइकुका पुस्तकहरुमा परेका छन् । अंग्रेजीमा पनि थोरै छापिएका छन् । पछिल्लो पटक हजार हाइकुमा मेरो र प्रकाश पौडेलको जुन सिद्धान्त चर्चा, इतिहास र सिर्जना प्रस्तुत छ त्यस्ले केही हदमा हाइकुलाई मद्दत गर्न सक्छ ।
नेपाल निप्पन रिसर्च सेन्टर (म महासचिब) बाट हाइकु साहित्य समिति खडा गरी प्रथम हाइकु कवि गोष्ठी पुष ५, २०६० मा भएको र नेपाली हाइकु पत्रिका सञ्चालनमा आफु प्रधान सम्पादक रही कार्यकारी सम्पादकमा ज्ञानेन्द्र विवश र कृशु छेत्री, सम्पादक प्रबन्धकमा चेतनाथ धमला, सह सम्पादकमा ईश्वरीमैंया श्रेष्ठ र दया खड्गी बेचैन, सम्पादक सहयोगीमा प्रतिरोध कार्की देखियो । यसले यसको दुई अङ्क निकाल्यो र पछि तेस्रोमा प्रकाश पौडेललाई सम्पादक संयोजक, चौथोमा डा. दुवसुलाई अतिथि सम्पादक गर्दै पछि अङ्कमा जिम्मेवारी फेरिंदै लगिएको र नेपाल हाइकु केन्द्रले जिम्मेवारी चयन गरी अङ्कहरु प्रकाशन गर्दैछन् ।
यी सबै कुरा किन गरेको भने म एउटा व्यक्तिले त ३० वर्षभित्र खासै ध्यान नदिएर फाट्टफुट्ट मात्र गर्दा त यति धेरै वर्ष लाग्छ भने नेपालमा हाइकुबारे धेरैले लेखिसकेका छन् ती छरिएर रहेकाले त्यति बाहिर आउन सकेका छैनन् । मलाई लाग्छ थोरै समयमा नै हाइकु प्रकाशन अन्यका तुलनामा धेरै भएका छन् । अब हाइकु कसरी लेख्ने भन्नुको अर्थ हाइकुमा ध्यान नदिएको वा सामग्री उपलब्धताको कमी र सर्वसुलभ हुन नसकेकोले नै हो भन्नुपर्छ ।
आजको नेपालमा हाइकु कविताबारे धेरैले प्रकाश पारिसकेका छन् । अब फाट्टफुट्ट राम्रा हाइकु पनि आउन थालिसकेको छ । अब संख्यात्मक भन्दा गुणात्मकतातिर जानुपर्ने अवस्था छ । यसको शास्त्रीय पक्षतिर पनि घोत्लिने बेला छ । यस सन्दर्भमा केही बुँदाहरु यहाँ पेश गरेको छु ।
अब हाइकुको बारे
हाइकु मात्रात्मक र गेयात्मक लयबद्ध सूक्ष्म बिम्बात्मक प्रकृतिजन्य विशिष्ट १७ अक्षरे लघु विश्व काव्यधारा हो ।
यो मूलत: तीन हरफमा सिर्जना हुन्छ ।
यस्को मात्रा तीन हरफमा क्रमश ५–७–५ वर्ण भित्र रही रचना हुन्छ । यस्को प्रयोग अत्यधिक छ ।
प्रकृतिजन्य बिम्ब जस्ले मौसम समेत अँगाल्छ । ऋतुगत प्रस्तुती रहन्छ । नेपालमा ६ ऋतु छ ।
वसन्त (चैत–वैशाख), ग्रीष्म (जेठ–असार), वर्षा (साउन–भदौ), शरद (असोज–कार्तिक), हेमन्त (मङ्सिर), शिशिर (माघ–फागुन) ।
हिमाल, पहाड र तराई मात्र हैन यिनका पनि भूगोलमा तीन तीन प्रकारका प्रदेशहरु छन् । अझ उचाइको भूगोलले प्रकृतिलाई भौगोलिक र जैविक विविधता दिएको छ । यहाँका सयभन्दा बढी जनजातिका आ–आफ्नै समाज र संस्कृतिमा विविधता छ । यसबाट नेपालमा हाइकुको ब्याप्ती अनन्त देखिन्छ । अझ संस्कृत भाषा र स्थानीय भाषाको दृष्टि भिन्नता र लोक परम्परा, वार्ता र सम्पदा अनेक छन् । बिम्ब क्षेत्र विशाल छ ।
हाइकुमा केही विषयहरु ऋतुगत रुपमा ख्याल गरिन्छ । जस्तै खगोल (सौर्य मण्डल र व्यवस्था), भूगोल (पृथ्वी), वनस्पती, जीवजन्तु, ऋतुगत परिवर्तन र मूड, मानव संसार (मानव कृयाकलाप, परम्परा, वातावरण)
ऋतुगत परिवर्तन र मूड, सौर्य मण्डल र ब्यवस्था, पृथ्वी, मानव संसार, परम्परा, जीवजन्तु, वनस्पती ।
ऋरतुका विषय राखेर बिम्बको सूची बनाउनु जाती हुन्छ । जस्तै वसन्तका फूलहरु, चराहरु, आकाश, बोटबिरुवाहरु आदि ।
यसका केही प्राविधिक पक्षमा पहेँली, हास्य आदि अँगाल्न सकिन्छ ।
हाइकुका ख्याल गर्नुपर्ने कुराहरुमा वाबी(सरलता, सामान्य कुराको सुन्दरता आदि), साबी (एकांकीपन, वृद्धावस्था आदि) लाई विचार गरी रचना गर्दा प्रभावशाली हुन्छ ।
किगो: ऋतु सम्बद्ध शब्द, किरेजी च्वाट्ट कटान, झडका आदि, सासी जीवन र यथार्थताको रेखा खिचाइ आदि, युगेन रहस्य, अज्ञात गहिराइ, जस्तै माछापुछ्रेको टाउको जङ्गलमुनी, आवेर मनछुने, स्पर्श गर्ने आदि । बिम्ब बेगर बिशुद्ध हाइकु हुन सक्तैन ।
अन्य ब्यङ्ग्यप्रधान हाइकु एउटै संरचना भए पनि त्यसलाई सेन्युमा राखिन्छ ।
अंग्रेजी हाइकुमा अक्षर गन्ती हैन, उच्चारण र स्वतन्त्र रुपमा कसिलो र सटिक शब्द चयन भएको पाइन्छ ।
जापानका हाइकु महारथी थुप्रै स्थापित छन् । बासोको थुप्रै यात्रा हाइकु भए पनि उनको भ्यागुते पोखरी हाइकु विश्वप्रसिद्ध छन् । त्यहाँ हाइकु लेख्ने हाइजिनलाई समाजमा उच्च प्रतिष्ठा प्राप्त छ ।
जीर्ण पोखरी
भ्यागुताको छलाङ
पानीको स्वर ।
हाम्रो स्थिति
नेपालमा हाइकु शंकर लामिछानेले प्रारम्भमै विशुद्ध बलियो दुईवटा लेखे पनि पछि लेख्नेहरुले विविध मार्काका लेख्दै हाइकुलाई हलुकासँग लिएको देखिन्छ ।
हालसम्म आइ पुग्दा विशुद्ध हाइकु अत्यन्त कम र बढी सेन्यु रचना भएको पाइन्छ । तेस्रो दर्जाको हाइकु सपाट प्रकारका छन् ती कविताका टुक्रा जस्ता वाक्य भाँचेर बनाए जस्तो लाग्छ ।
चौथो प्रकारका कामै नलाग्ने चाहिँ बग्रेल्ती आएका छन् ।
नेपाली हाइकुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिले एक रुप दिनका लागि यो विश्व कविताको नेपाली मानक निर्धारणमा नेपालका प्रथम हाइकु स्रस्टा र नेपाल हाइकु केन्द्रले स्थापित गरेको मापदण्डका आधारमा निम्नअनुसार हाइकु सिर्जनाका लागि मानक निर्धारण भएको छ ।
मानक
हाइकु तीन हरफमा पहिलो र तेस्रो ५ वर्ण र दोस्रो बीचको ७ वर्णमा लेखिनु पर्छ ।
प्रत्येक हाइकुमा एक वा बढी प्राकृतिक बिम्ब हुनुपर्छ । प्रकृतिका ऋतु र ऋतु साथ आउने सांस्कृतिक बिम्ब यसमा रहनु बाञ्छित छ ।
बिम्बविनाका व्यङ्ग्य प्रकारका हाइकुकै संरचनामा रचिएमा त्यो सेन्यु हुनेछ ।
हाइकुमा जोडेमोडेको अक्षरलाई एउटै मानिएको छ र हलन्तलाई सग्लो अक्षर मानिन्न ।
हाइकुका अन्य मान्यता जापानमा प्रचलन भए अनुसार मानिनेछ ।
हाइकुका नाममा हुने विभिन्न प्रयोग र मान्यता विपरितका अरु कवितालाई तीन हरफे वा छोटा कविता मानिनेछ र हाइकुको स्तरमा तिनलाई प्रविष्ट गराइने छैन । यी सबैलाई विचार गरी हाइकुका नाममा छाडा रुपका सिर्जनालाई व्यवस्थित र स्तरीय बनाउँदै जापानी कविता परम्परालाई नेपालीमा विचलन हुन नदिई नेपाली भाषाको संरचना अनुरुप नेपाली हाइकु मौलिक रुपमा विकास गरिनु उपयुक्त देखिन्छ ।
जापानीहरुले मन पराएका यहाँ मेरो अनुभवका केही हाइकुको उद्धरण राख्दैछु :
अंग्रेजी नेपाली उल्था
O God हे भगवान
Are you fine? तिमीलाई आराम (सञ्चै छ)?
Man is dying. मान्छे मर्दै छ ।
अथवा
हे भगवान !
मान्छे मरिरहेछ
तिमी सन्चै छौ ?
In a small string सानो तारमा
sparrow dances भङ्गेरा नाचिरैछ
the galaxy opens. ब्रह्माण्ड खुल्छ ।
Each Friday प्रत्येक शुक्र
A tower falls एक धरारा ढल्छ
To fill up empty ocean. समुद्र भर्छ ।
playing flute
playing ball
menu of life.
diamond hills
dimond lake
dimond trap.
मैले अक्षर गन्तिमा अंग्रेजीमा ५–७–५ मा पनि प्रयोग गरेको थिएँ । यसअघि ५–७–५ शब्दले अंग्रेजी हाइकु बनाएँ जुन रेड क्विनमा छ र पछि केही प्रयोग अक्षर गिन्तीमा नै पनि बनाएको थिएँ । अक्षर गन्ती:
Horse
tops in
oasis
Sunny
new road
a girl.
शब्द गन्ती
rising neck of a swan
looking to the cresent moon of honey
welcomes to the melting candle
स्वतन्त्र अभिब्यक्ति
the peach
holding in the lips
beauty opens.
नेपालीमा मेरा केही हाइकु
शंख फुकेर
मैदानमा ओर्लिए
ब्रह्मा सृष्टिमा
सेन्यु
स्याल करायो
सिंहदरबारमा
मान्छे हरायो ।
रगत चुस्यौ
करङ्ग बाँकी भयो
भरेङ्ग चढ ।
नेपाली हाइजिनहरुले कतिपय सुन्दर हाइकु सिर्जना गरेका छन्
सुतेको सेती
उठेको माछापुच्छ्रे
पोख्रेली स्पर्श ।
गैरी खेतमा
छुपु छुपु रोपाइ
मायाको बिउ । (क्षेत्रप्रताप अधिकारी)
हाइकुमा विभिन्न प्रयोग पनि हुन सक्छ । हाइकु गजल, हाइकु मुक्तक, हाइकु सुसेली (गीत, भजन, अनुप्रास, लयबद्ध) बनाउन सकिन्छ । हाइकु कथा र हाइकु यात्रामा प्रयोग हुनसक्छ । हाइकुको सामान्य ज्ञान हुनैपर्छ हाइकु लेख्न । वातावरण, हास्य विषय, दैनिक अवस्था पत्रपत्रिकाका कुरा, किगो रितु ।
साथै मात्रात्मक ढाँचा तीन छोटा हरफ,
पुराना जापानी हाइकु ५–७, ५–१० ८–९, ९–८ विभिन्न प्रयोग भए पनि ५–७–५ र ऋतु शब्दलाई महत्वका दृष्टिले राखेको हुन्छ ।
कटान प्रविधिमा कटानले दुई भागमा बाँड्छ, यो नसोचेको रुपमा ट्वाक्क पारेर भनिएको हुन्छ ।
ऋतुगत बिम्बमा ऋतु शब्द साकुरा वसन्त बोधक, सबै ऋतुमा ७ विषयमा जान सकिन्छ ।
प्रविधि अनेक छन् ।
जापानी गुरुमा रियोकानको घटना यी भिक्षुको घरमा राती चोर पसेर सबै खोतलेर छरेछ । भिक्षु फर्कदा चोरी भएको बुझे र खुला झ्यालबाट बाहिर हेरेर पूर्णेको चन्द्र हेर्दै उनले हाइकु लेखे । त्यो हाइकुको अर्थ थियो तैले मेरो सबभन्दा प्रिया पूर्ण चन्द्र चोर्न सकिनस् ।
चोरले छाड्यो
झ्याल बाहिरको त्यो
पूर्ण चन्द्रमा
त्जभ तजष्भा भिात ष्त दभजष्लमम तजभ mययल
बत तजभ धष्लमयध।
अथवा
छाड्यो चोरले
पछाडि पूर्ण चन्द्र
झ्यालमाथि नै ।
हाइकु पढेपछि केही सोच्न, केही सम्झन र केही बुझ्न झक्झकाएको हुन्छ । सफल हाइकुले केही दर्शन दिन्छ । यसैले एउटा हाइकु महाकाव्य समान हुन्छ भन्ने गरिन्छ । वास्तवमा साहित्यिक र बौद्धिक स्तर, कल्पना र वस्तुप्रति हेर्ने दृष्टि, जीवन र प्रकृतिलाई बुझ्ने गहिरो भाव हाइकुमा पाइन्छ । नेपाली हाइकुमा आफ्नै विशेषता तुक बन्दीदेखि शब्दको चमत्कार पनि पढ्न पाइन्छ । हाइकुको प्रयोग केही न केही रुपमा भएको देखिन्छ । नेपालमा पनि अक्षर गन्ती र तुकबन्दीमा केही प्रयोग भेटिन्छ । कविहरु निर्बन्ध हुन्छन् । प्रयोगमा स्वतन्त्र हुन्छन् । तर हाइकुलाई जुन मात्रामा रचिन्छ त्यस्लाई अघि बढाउनु नै जाती होला । कफिलाई कफी जस्तै बनाउनु पर्छ अनुपाम मिलाएर । चियामा जुन प्रयोग र रुची भिन्नता छ हाइकुमा पनि त्यो हुन सक्छ । तर पूर्ण कफीका लागि जुन अनुपाम मिलाइन्छ त्यस्को स्वाद विशिष्ट बन्छ जस्तो लाग्छ । मिसोट र घटिबढी गर्नु प्रयोग हो भने स्तरीय कफी पूर्ण अनुपामको विशिष्ट बन्छ भने जस्तै हाइकुको स्थापित मानदण्ड अर्थात् मानकमा रचना हुँदा यस्को मौलिकस्वादको मिठास सुगन्धित नै बन्न जान्छ । मेरा केही हाइकु :
पानीको प्यास
आगोले मेट्दै छ
पानी भएर ।
चुत्थो मान्छे म
बुद्ध हुन सकिन
न त चरा नै ।
असारे फूल
पानीमा भिजे जस्तो
तिम्रो संसार ।
आनन्द होला
पहाड चढेपछि
समुद्र झर्दा ।
टौदहभित्र
दरवार रहेछ
नाग राजाको ।
सानो पुतली
हाङ्गाबिनाको रुख
बस्न खोज्दै छ ।
बिम्ब: पानी, टौदह, समुद्र, असारे फूल, रुख, पुतली, बुद्ध, आदिले पृथ्वी, रुख बिरुवा, जीवजन्तु र मनव संसार समेटेको छ ।
नेपाली हाइकुको अपरेशन गर्ने बेला हुँदैछ । अत रचनाको चाहना राख्ने हाइजीनहरुले अलि ज्ञान ध्यान र साधना साथ सिर्जना गर्दै सुन्दर हाइकुले नेपाली साहित्यलाई समृद्ध पार्दै अघि बढ्ने अपेक्षा गर्दछु ।