पारिजातसँग मेरो भेट २०२२ सालको बीचतिर भएको हो । त्यतिखेर पारिजातले आफ्नो जीवनको अत्यन्त कष्टप्रद दिनहरू गुजारेर शिरीषको फूल उपन्यास लेखिसक्नु भएको मात्र थियो । त्यतिखेर उहाँलाई गम्भीर रूपमा बुझेर, आकर्षित भएर म उहाँकहाँ पुगेको थिइनँ । आकस्मिक रूपमा एक मित्रले मलाई उहाँकहाँ लिएर जानु भएको थियो तर अहिले आएर पारिजातको समपूर्ण जीवनलाई केलाएर ल्याउँदा मलाई लागेको कुरा हो – पारिजात अत्यन्त संवेदनशील र प्रखर आत्मवलयुक्त व्यक्ति हुनुहुन्थ्यो । उहाँ जे कुरामा लाग्नुहुन्थ्यो, त्यसमा भित्रैदेखि र पूर्णरूपमा लाग्नु हुन्थ्यो । यस अतिरिक्त, पारिजात यस्तो व्यक्ति हुनुहुन्थ्यो, जसमा केही गरेर देखाउने तीव्र महत्वाकांक्षा थियो र यस महत्वाकांक्षाले उहाँलाई ठूला ठूला विवादहरूमा पनि फसाएको छ । सानैदेखि उहाँ रहेको यो महत्वाकाङ्क्षा र पाठ्यक्रममा रहेको साहित्य प्रकृतिको अनुरागले नै उहाँलाई साहित्य क्षेत्रमा तान्यो भन्ने मलाई लाग्छ ।
पारिजातमा संस्कृति, शिष्टता, सौन्दर्यप्रति बढी नै रुची भएको मैले पाएको छु । नयाँ कुराप्रति उहाँको तीव्र आकर्षण रहेको पनि मैले देखेको छु । उहाँलाई राल्फासम्म पुर्याउने काम मूल रूपमा उहाँको यही विशेषताले गरेको हो र साहित्य सन्ध्या लगायत मार्फत नयाँ पुस्ताका मित्रहरूसँग बढी पुग्ने उहाँको लगाव पनि यसैको उपज हो ।
सानैदेखि पारिजात विरोधी प्रकृतिको व्यक्ति हुनुहुन्थ्यो । बाबुले आफूलाई डाक्टर बनोस्, साहित्यकार नबनोस् भनी राख्नु भएको चाहनाको उहाँ विरुद्ध जानु भएको लगायतका थुप्रै घटनाहरूले यसको पुष्टि गरेका छन् । साथै उहाँ कसैसँग हार नमान्ने व्यक्ति पनि हुनुहुन्थ्यो । यो स्वभावले कहिलेकाँही उहाँलाई हानी पुर्याउँथ्यो र पनि उहाँ हार मान्नु हुन्नथियो ।
पारिजातले झण्डै ३६ वर्षको अवधि साहित्य साधनामा लगाउनु भएको छ । यस अवधिमा उहाँले बीसवटा कृतिहरू दिनु भएको छ ।
कतिपय समालोचकहरूले पारिजातको मूल्याङ्कन गर्दा मोटा दुई खण्डमा विभाजित गरेर हेर्ने गरेका छन् । एक विसङ्गतिवादी अस्तित्ववादी पारिजात र दुई प्रगतिवादी पारिजातको रूपमा । म यो स्थूल समीक्षा वा विभाजनको विपक्षमा छु । कसै–कसैले संक्रमणकालीन पारिजातको रूपमा राल्फाको अवधिलाई पनि लिने गरेका छन् । यो पनि पर्याप्त छ जस्तो मलाई लाग्दैन ।
पारिजातको लेखनको सुरुवात कविताबाटै भएको थियो । पहिलो कवितासङ्ग्रह २०१४ सालको आकांक्षा हो । यो समय भनेको पारिजातको बीस वर्षे युवती हुँदाको अवस्था थियो । यसमा भएका कविताहरूलाई म मोटामेटी रूपमा स्वच्छन्दतावादी (रोमान्सेली) र भावुक प्रकृतिका रचनाहरू मान्दछु ।
पारिजातको साहित्य–यात्रालाई म मूलत: चारवटा अवधिहरूमा विभाजन गर्दछु र पछिल्लो अवधिमा उहाँमा केही वैचारिक विचलन भएको समेत अनुभव गर्दछु ।
मैले माथि उल्लेख गरेको कवितासङ्ग्रह आकांक्षामा अभिव्यक्त भएको रोमान्टिक प्रवृत्तिको अवधि उहाँको साहित्य यात्राको पहिलो अवधि हो । यो प्रवृत्ति ईश्वर बरालले सम्पादन गर्नुभएको पारिजातका केही कविताहरू सङ्ग्रहका केही कविताहरूमा पनि पाइन्छ । यसरी पारिजात विरामी पर्नुभन्दा अघिका उहाँका कृतिहरू यही प्रकृतिका रहेका छन् । त्यसमा भावुकता छ, प्रेम कामना छ, विरह वेदनाहरू छन् । कुनै युवकलाई संम्बोधन गरेर पोखिएका अभिव्यक्तिहरूकै सेरोफेरोमा यी कविताहरू छन् । ईश्वर बरालले यसलाई नव्य रोमान्सेली प्रवृत्ति भन्नु भएको छ । तर म यो भन्ने पक्षमा छैन । मूलत: यो स्वच्छन्दतावादी प्रवृत्ति अन्तर्गत नै पर्दछ र यसका विषय वस्तुहरू चाहिँ ज्यादा प्रेमसँग सिम्बन्धित थिए ।
पारिजातको लेखनको दोस्रो अवधि हो २०१९, २० र २१ सालको अवधि । पारिजातले आफैले यो समयलाई आफूले भोगेको सबैभन्दा कष्टप्रद दिनहरू भनी भन्नु भएको छ । यहाँ त्यतिखेर विरामी हुनुहुन्थ्यो । हुन त २०२२ पनि झण्डै झण्डै त्यस्तै अवधि हो तर २०२२ सालमा उहाँले शिरीषको फूल उपन्यास लेख्नुभयो । रोगी प्रेमिकाको पत्र, मृत्युको अँगालोमा, नरोध यो घाउ, मेरो पपलरको रुख, सँगै मरौं, उपायहीन साँझ आदि उहाँका केही चर्चित कविताहरू, जसको चर्चा नेपालमा एउटा खेमा विशेषले पटकपटक गर्ने गर्छ, पनि यसै अवधिमा लेखिएका थिए । उहाँको लेखनको यो प्रवृत्ति २०२५ सम्म पनि तानिन्छ । आदिम देश कथासङ्ग्रहका कथाहरू, महत्ताहीन उपन्यास पनि यसै प्रवृत्तिमा पर्दछन् ।
यो अघिको उहाँको लेखन प्रवृत्ति बुझ्न उहाँकै शब्दहरूले हामीलाई थप मद्दत गर्नेछन् । त्यतिखेरको आफ्नो स्थितिका बारेमा उहाँले भन्नुभएको छ –‘उपचार गर्दा गर्दा नैतिक र आर्थिक रूपले सबैतिरबाट निरूपाय भएकी म अथवा भनौं, उपचारको कुनै विकल्प नपाएको मैले जीवनलाई त्यसरी नै लिइदिएँ । … चरम पीडित क्षण ….. यातना खप्न नसकेर क्रमश: पलायन हुँदै जान्छु – निरर्थकता, अर्थहीनता र विसङ्गतितिर । मेरो निम्ति तयार थियो– एउटा जीवनहीन कालो गुफा, जहाँ मलाई कुण्ठाको गाँस छ र उड्नलाई अनास्थाका आवरणहरू । मलाई मान्छेहरूको माया लाग्न छोड्छ र आफ्नै पनि । म आफ्नो जीवनलाई अभिशाप ठान्न थाल्छु । हात र गोडाका जोर्नीहरू खुम्चिएर एक ठाउँ भएका छन्, अक कसैले उठाइदिनुपर्छ सुताइदिनुपर्छ । म सम्पूर्ण रूपमा परजीवि भइसकेको छु । …..रात भने तन्द्रा अवस्थामा बित्छ, सुत्नुको भान नै हुँदैन मलाई । सोच्छु यस्तै त हो नि जीवन । आशा, सङ्घर्र्ष र विश्वास जस्तो मानवीय मूल्यहरू एक गर्दै मेरो अघि मर्न थाल्दछन् । (आत्मसंस्मरणसङ्ग्रह एउटा चित्रमय सुरुवातबाट)
माथि उल्लेख गरिएका शिरीषको फूल लगायतका रचनाहरूमा पारिजातले यिनै मानसिकताहरूलाई भित्रैदेखि अभिव्यक्ति दिनु भएको छ ।
मानव मूल्य र जीवनमूल्यसँग म पलायन भएको हुँ भनी पारिजात आफैले भन्नुभई पछि नकार्नु नै उहाँले त्यस उपन्यासमा स्थापित गर्नु भएको छ । यसकारण नै हो पछि गएर उहाँले भन्नु भयो शिरीषको फूललाई च्यातिदिए हुन्छ, यो निस्सार र घोर परपीडक उपन्यास हो ।
हो एक थरिहरू पारिजातको बारेमा उहाँको यही लेखन प्रवृत्तिलाई मात्र सम्पूर्णको रूपमा व्याख्या गरी जोडतोडले प्रचार प्रसार गर्दैछन् ।
म यसबारे भन्न चाहन्छु – यो पारिजातको अवमूल्यन गर्ने काम हो ।
पारिजात आफैले भन्नुभएको छ –‘जीवनीक्रममा आइलाग्ने अर्थहीनता निराशा, कुण्ठाभ्रम तथा मानसिक तनावहरूदेखि मुक्त भई त्यस्तै परिस्थितिदेखि उब्जिएका विद्रोह र
आकाक्षालाई सही धारामा लगाई जीवनको सही मूल्य र सही बाटो पहिल्याउने क्रममा म प्रगतिशील लेखनतर्फ अग्रसर भएकी हुँ’ (साल्गीको बलात्कृत आ“सुको भूमिकामा उध्दृत)
पारिजातको जीवनको सही मूल्य र सही बाटो पहिल्याउने यही क्रममा उहाँले जुन चीजहरू दिनु भयो, तिनीहरूलाई ढाकछोप गर्नको निम्ति नै एकतर्फी बढाई–चढाई प्रचार गर्ने यो प्रयत्न भइरहेको छ भन्ने मलाई लाग्छ ।
पारिजातको शिरीषको फूल उपन्यास वा आदिम देशका केही कथाहरू – जस्तै, मैले नजन्माएको छोरा, बीसौं शताब्दी एउटा गल्लीमा आदि) लाई मात्र बढाई–चढाई अगाडि ल्याउनुको पछाडि पारिजातले देखाउन खोज्नु भएको जीवन मूल्य र सामाजिक मूल्यहरूलाई छोपछोप पार्ने यही उद्देश्यका साथै साहित्य–कलाको सामाजिक उपादेयतालाई महत्व नदिने सोच पनि रहेको छ । समाजको परिस्कार र परिवर्तनका लागि साहित्यको भुमिका हुन्छ भन्ने कुरालाई लुकाउन खोज्ने र सारांशमा भन्ने हो भने, यथास्थितिलाई जोगाइराख्न खोज्ने राजनीतिको एउटा अभिन्न अङ्ग हो यो ।
मलाई लाग्छ यो तेस्रो चरण पाँच वर्षको अवधिको चरण हो । मोटामोटी रूपमा २०२२ देखि २०२९ सम्मको समय खण्ड । यो राल्फाकालीन अवधि हो । यसलाई संक्रमणकालीन अवधि पनि भन्न सकिन्छ । यो अवधिमा पारिजात यथार्थप्रति केही मात्रामा उन्मुख हुनु भएको छ । तीव्र आक्रोश छ, तीव्र विद्रोह छ तर त्यो विद्रोह र आक्रोश व्यक्तिगत छ । विद्रोह र आक्रोशले कुन दिशा लिने भन्ने सचेतता छैन । इतिहास, सामाजिक मूल्य र परम्परामाथि अराजक किसिमको आक्रमण छ, प्रहार छ ।
हो, यहाँ हाम्रो इतिहास झूठमा आधारित भएर लेखिएको छ, हाम्रो परम्परा भनेर सामन्ती परम्परालाई स्थापित गर्न खोजिएको छ र स्थापित गर्न खोजिएका सामाजिक मूल्य र मान्यता भनेका पनि सामन्ती मूल्य र मान्यता नै हुन् । त्यसैले पारिजातमा यिनीहरूप्रति विरोध र विद्रोह जन्मनु सानदर्भिक नै थियो । तर ती सामाजिक मूल्य –मान्यता र परम्पराका राम्रा पक्षहरू र नराम्रा पक्षहरू केलाउनु पथ्र्यो । नकेलाइकन गरिएको विरोध हुनाले त्यो बेठीक थियो ।
पारिजातको यो अवधिको सबैभन्दा राम्रो अभिव्यक्ति दिने कृति बैंसको मान्छे (२०२९) उपन्यास नै हो । यसमा भन्नु पर्ने थप कुरा के छ भने – यसमा विद्रोह त छ तर अस्तित्ववादी चिन्तनको तुस पनि निख्रिइसकेको भने छैन । यसमा निम्न वर्गप्रति सहानुभूति पनि छ तर सामाजिक संरचनामा आमूल परिवर्तन ल्याउन संगठित जनशक्तिको आवश्यकताबोध भने छैन । व्यक्तिगत विद्रोह, आक्रोश एवं व्यक्तिगत व्यक्तिहत्याको उग्रता पनि यसमा छ ।
यही अवधिका उहाँका केही कथाहरू पनि छन् । सडक र प्रतिभा कथासङ्ग्रह (२०३२) का कथाहरूले पारिजातको संक्रमण कालको यो झलकलाई अरू राम्ररी प्रस्तुत गर्दछन् । यसमा केही विसङ्गतिवादी मोडका कथाहरू पनि छन् र सिटिहलको बूढो ज्यामीसित, वर्क शपभित्र, संघारनेर जस्ता उहाँको प्रगतिशील आन्दोलनभित्र प्रवेश गर्ने ताकाका सुरुका कथाहरू पनि छन् । यसैबाट नै पारिजातको प्रवेश प्रगतिशील आन्दोलनभित्र हुन्छ । उहाँ स्वयंले राल्फाकालीन अवधिलाई आफूलाई प्रगतिशील लेखनतर्फ उन्मुख गराउने वस्तुगत र आत्मगत स्थिति सृजना गरिएको एउटा महत्वपूर्ण मोड मान्नु भएको छ ।
यो मोडमा उहाँ आइपुग्नको निम्ति उहाँभित्रको व्यक्तिगत द्वन्दले पनि काम गरेको छ । उहाँ थला पर्नेगरी विरामी हुनुभयो, निस्सारता र निराशको चरम सीमामा पुग्नुभयो पनि । तर उहाँले बुझ्न थाल्नुभयो – निराशा त जीवनको अन्त होइन रहेछ । यथार्थप्रति उहाँ भन्दा बढी समर्पित साथीहरूको सम्पर्क, उनीहरूमा भएको नयाँपन र उहाँले आफैभिबाट सिकेको द्वन्दको पाठ, यिनै कुराहरूले उहाँलाई प्रगतिशील लेखनतर्फ उन्मुख गराएको हो भन्ने मलाई लाग्छ ।
प्रकाशनको हिसाबले भन्नुपर्दा यसको अभिव्यक्ति तोरीबारी, बाटा र सपनाहरू (उपन्यास २०३२) ले दिन्छ । तर यो भन्दा अगाडि पर्खालभित्र र पर्खाल बाहिर लेखिएको थियो भन्ने मलाई लाग्छ, यद्यपि त्यो प्रकाशित भएको थियो २०३५ सालमा ।
प्रकाशनको हिसाबले नै कुरा गर्ने हो भने पनि तोरीबारी बाटा र सपनाहरूलाई प्रगतिवादी चेतले अभिप्रेरित रचना भनेर मैले किन मानेको हुँ भने त्यसमा मानव सभ्यता र संस्कृतिको विकासको एक मात्र स्रोत श्रमजीवी जनता हो, र यो वर्ग नै संस्कृति र सभ्यताको अगुवा र मालिक हुनुपर्छ भन्ने नयाँ बोध छ निम्न वर्गप्रति प्रेम र सहानुभूति छ । त्यसमा यथार्थलाई प्राथमिक रूपमा राखेर जीवनका समस्याहरूलाई खोतल्ने प्रयास गरिएको छ । जातिभेद र यसका कारक तत्व धर्मको पनि त्यसमा विरोध छ । नारी समस्याको समाधान वर्गीय समस्याको समाधान नभै हुन सक्दैन भन्ने चेत त्यसमा छ । साथै त्यसमा सबै समस्याको समाधानार्थ समाजमा आमूल परिवर्तनको आवश्यकता बोध पनि छ । सामाजिक यथार्थलाई जति बढी गहन रूपमा राखेर पुष्टि गर्नुपथ्र्यो, त्यति नभए पनि यो रचना एउटा राम्रो रचना हो । शैली शैली शैली भनेर माग गर्ने एक थरीहरूले शिरीषको फूलमै मात्र राम्रो शैली रहेको दावी गर्दछन् । तर यथार्थ के हो भने शिरीषको फूलको शैली भन्दा तोरीबारी बाटा र सपनाहरूको शैली कम स्तरको छैन । यात्रा क्रममा पात्रहरू आउने जाने उपन्यासको ढाँचा र भाषिक मिठास एवं गम्भीर कुराहरूलाई पनि रोचक शब्द संयोजनबाट व्यक्त गर्ने शैली यसका प्रमुख विशेषता हुन् ।
त्यसैले शिरीषको फूललाई मात्र शैलीको दृष्टिकोणले उत्कृष्ट भन्नेहरूले पारिजातलाई समग्रमा पढ्दै नपढी पूर्वाग्रहको आधारमा धारणा बनाएका छन् र प्रचार प्रसार गरेका छन् भन्ने मलाई लाग्दछ । पर्खालभित्र र पर्खालबाहिर पारिजातको आफ्नै ढर्रा र नेपाली साहित्यकै ढर्राको हिसाबले पनि एउटा नवीनतम उपन्यास हो । यथार्थसँग जोडिदां जोडिदै पनि पात्रमुखी भई नेपालमा देखा परेको वामआन्दोलनका दुई धाराहरूलाई प्रतिबिम्बित गर्ने यस उपन्यासले उग्रवाद र क्रान्तिकारी चरित्रको द्वन्दलाई राम्ररी प्रस्तुत गरेको छ–केही कमी कमजोरी रहँदा रहँदै पनि ।
उहाँका रचनाहरू उसले रोजेको बाटो, अन्तर्मुखी, अनिंदो पहाडस“गै, साल्गीको बलात्कृत आ“सु, परिभाषित आ“खाहरू, बोनी र बधशाला जा“दा आउ“दा र स्मरणहरू एवं आधी आकाश आदिले पारिजातको यो चौथो चरणको प्रतिनिधित्व गर्दछन्, जसमध्ये म परिभाषित आ“खाहरू र बोनी उपन्यासलाई भने यही स्तरमा राख्न सक्दिनँ ।
यस चरणको प्रतिनिधि रचना र पारिजातका समग्र कृतिहरूमध्ये मै पनि उत्कृष्ट रचनाको रूपमा म अनिंदो पहाडस“गैलाई मान्दछु । पारिजातका कृतिहरूमा कमजोरीहरू छैनन् भनेर म मान्दिन, तथापि उहाँका कृतिहरू मध्ये उत्कृष्ट रचना यही नै हो ।
अनिंदो पहाडस“गै उपन्यास के कारणले पनि उत्कृष्ट छ भने, यो व्यक्तिवादी आक्रोश र विद्रोहभन्दा माथि उठेको छ । सामाजिक वर्गहरू र तिनीहरू बीचका द्वन्द्वहरूलाई बढी राम्ररी प्रस्तुत गरिएको र श्रमजीवी वर्गको विजयमाथि आशावादिता र पूर्ण विश्वास राखिएको यस रचनामा नेपालका हाड, तराई र उपत्यकाको जन जीवनका मर्म र पीडाहरूलाई सामाजिक सन्दर्भहरूसँग गाासेर हेर्ने प्रयत्न गरिएको छ ।
यो उपन्यास एउटा ऐतिहासिक अभिलेख पनि भएकोले यो अरू महत्वपूर्ण छ । २०३५/३६ को आन्दोलनलाई यसले समग्रमा ओगटेको छ । नेपालको त्यतिखेरको विद्यार्थी आन्दोलन र यसले लिएको राजनैतिक स्वरूप, ठाउँ ठाउँका जनसङ्घर्षहरू, जनमत सङ्ग्रह, पञ्चायतको विजयको घोषणा र त्यस पछिका दमनहरू आदिको चित्र सहित यसमा तात्कालीना राजनीतिक कार्यदिशा सिंगै आएको छ । पारिजातका उपन्यासहरू मध्येमा यस उपन्यासले नै सबैभन्दा बढी सामाजिक परिवेशलाई समेटेको छ । मलाई लाग्छ पारिजातको लेखन यात्रामा मात्र हैन नेपालको प्रगतिवादी आन्दोलनकै पनि उत्कृष्ट पात्रहरूको सृजना यस उपन्यासमा भएको छ । पात्रहरूमध्ये पनि नायिका सुवानी नेपाली प्रगतिशील आन्दोलनकै उत्कृष्ट पात्र हो भन्ने मलाई लाग्छ ।
यसपछिको उहाँको उत्कृष्ट रचना साल्गीको बलात्कृत आ“शु कथासङ्ग्रह हो । २०३१ देखि २०४२ /४३ सम्मका कथाहरूलाई संगेटेर सङ्ग्रहित यस कृतिमा रहेका १५ वटा कथाहरूमा उहाँले नेपाली जनजीवनका विविध सन्दर्भहरूलाई संगेटेर मर्मस्पशी रूपमा अभिव्यक्ति दिनुभएको छ । वर्तमान सामाजिक व्यवस्था ठीक छैन, यसबाट मुक्त नभै सुन्दर भविष्यको सृजना गर्न सकिन्न भन्ने कुराको छाप छोड्ने यी कथाहरू पारिाजतका यस अघि र पछि दुवै समयावधिका कथाहरू भन्दा उत्कृष्ट छन् । यिनलाई पारिजातका प्रतिनिध कथा भन्न सकिन्छ ।
मैले संभवत: वेदनामा कतै लेखी पनि सकेको हुँ कि २०४३ पछाडि केही समय यता पारिजातमा केही विचलन आउँदैछ भनेर । के का आधारमा यसो भनिएको हो भनी मित्रहरूले चर्चा पनि चलाउनु भयो । यसबारे मलाई लागेको मूलभूत कुरो के हो भने उहाँको कमाउ–पुत्र–पुस्तकहरूप्रति एवं सम्पति–सम्बन्धप्रतिको मोह, अनि आफ्ना पुराना कृतिहरूको पुनर्मूल्याङ्कन गरिनु पर्छ भन्ने प्रवल र तीव्र इच्छा एवं आन्दोलनबाट अलिकति पर भागिसकेपछि रचनाहरूमा खालि कस्तो छ ? मा बेशी सीमित राख्ने, तर कस्तो हुनुपर्छ ? भन्ने कुरामा त्यति ध्यान नदिने प्रवृत्ति आदिलाई देखेर यसो भन्नु परेको हो । समाजमा व्याप्त हुँदै गएको अमानवीयकरणललाई उल्लेख गर्नुभन्दा अमानवीकरणतिर नै प्रगतिशील पात्रहरूलाई लैजाने प्रवृत्ति, जो खासगरी परिभाषित आ“खाहरूमा देखिन्छ, त्यसकारणले पनि उहाँमा केही विचलन आएको छ र त्यो केही खस्केको छ भन्ने मलाई लागेको हो ।
बोनीमा त पारिजात आफै फस्नुभयो भन्ने मलाई लाग्छ । समाजमा माथिल्लो वर्गमा रहेको भ्रष्टताले किशोर किशोरीहरूमा पार्ने गलत प्रभावका विरुद्ध र त्यस प्रभावबाट नायिका बोनीलाई बाहिर उतार्न उहाँ सुरुमा यस उपन्यासमा अभिमुख हुनु भएको छ तर पछि गएपछि नायिकालाई उहाँले अगाडि ल्याउन पनि सक्नु भएन र आफै अन्योलमा फस्न पुग्नुभयो । यसमा अरू असङ्गतिहरू पनि छन् ।
परिभाषित आ“खाहरूकी पात्र बिज्जीलाई जुन रूप प्रस्तुत गरियो र त्यसको अन्तको जुन रूप रह्यो, त्यो ठीक ढङ्गले भएको मलाई लाग्दैन । यो कुरा पारिजात स्वयंले पनि स्वीकार्नु भयो कि भन्ने चाहिँ मलाई लाग्छ ।
यस उपन्यासबारे जनमत पत्रिकामा दिएको अन्तवार्तामा उहाँले प्रस्तुति राम्रो भएन भन्ने त समालोचकहरूको आ–आफ्नो दृष्टिकोण हो तर पात्र, घटना, समसामयिक समझलाई हेर्दा मैले धेरै अशोभनीय चीज लेखें जस्तो लाग्दैन ।
समग्रमा हेर्ने हो भने पारिजात नेपाली साहित्यको अनुपम प्रतिभा हुनुहुन्थ्यो र प्रगतिशील साहित्यिक आन्दोलनको २०३० पछिको उहाँ एउटा अग्रणी र मूर्धन्य हस्ताक्षर हुनुहुन्थ्यो । उहाँकै सेरोफेरोभित्र अरू साहित्यकारहरूले हुर्कने मौका पाए, खास गरी २०३६ पछाडि ।
पारिजातको बारेमा मैले भन्नुपर्ने जरुरी एउटा कुरा छ, त्यो हो जतिखेर उहाँले कम्युनिष्ट पार्टीको सदस्यता ग्रहण गर्नुभयो र महिला मुक्ति आन्दोलनको उहाँ अग्रपङ्क्तिमा आउनुभयो, त्यसैगरी जन–जीवनसँग भिज्ने कामहरू बढी भए, त्यतिखेर नै पारिजातमा उर्जा ज्यादा आएको मलाई लाग्छ ।
पारिजातमा केही कमी कमजोरीहरू छन् तर तिनीहरू उहाँको देनको तुलनामा नगण्य छन् ।
जनमतको पारिजातको विशेषाङ्कबाट