मैले पनि जीवनमा २७ वर्ष करिब शिक्षण कार्य गरेँ । शिक्षक के हो ? यसको जिम्मेवारी के हो ? यसबारे आफ्नै ढङ्गका व्यवहारहरूमा रमाउँदै म शिक्षक बनिरहेँ । प्रा.वि. तहको शिक्षकदेखि मा.वि. तहको प्रधानाध्यापक भई मैले शिक्षण सेवाको उत्सर्गहरूमा २०२२/५/१ देखि २०४९ सम्म जम्मा २७ वर्ष शिक्षण सेवामा रम्न पाएको हुँ । तर पनि सेवाको भावनामा संलग्न रही शिक्षण सेवा पुर्याउँदाताका शिक्षण पेसा गर्दा/भोग्दाका आर्थिक कहरहरू तल सम्प्रेषित कविताहरूमा व्यक्त भएका छन् । उक्त कविता शिक्षकहरूलाई राज्यबाट केही सुविधा नहुँदाको ‘शिक्षक’ सम्झिएर लेखिएको हो । उक्त कविता शिक्षक भएर अभावमा जिन्दगी गुजार्दाताका लेखिएको हो । सन्दर्भ मिलेर यहाँ प्रस्तुत गरिएको छ :–
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु
चक, डस्टर, ब्ल्याक बोर्डमा आफूलाई सीमित राख्दै
केटाहरूको कचकच र फटफटमा आफूलाई हराउँदै
हस्याङफस्याङ र स्वाँ–फ्वाँमा आफूलाई चलाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
घण्टीको भरमा सधैँ आफूभित्रको स्वत्वलाई गुमाउँदै
कागजमा कोरिएको रुटिन–बोर्डमा आफूलाई नचाउँदै
केवल आफूभित्रको मान्छेलाई सकी–नसकी सम्हाल्दै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
घडी–घडीमा मनभित्रको कुरो मनमा राखेर सल्किरहेछु
तातो चियाको बाफले सकी–नसकी आफैँ सेकिइरहेछु
सुकेको ओठ भोकाएको पेट थम्थम्याउँदै बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
म स्कुलको मास्टर हुँ सरस्वती खोज्दै बाँचिरहेछु
शिक्षा दिनु धर्मको नाममा आफूलाई सुकाइरहेछु
तर साथी के गर्ने खोइ यहाँ पनि मत्स्य–न्याय भोगिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
दुई छाक उसिना भातको भरमा ठुलो स्वरले चिच्याउँदै
जे गरे पनि यहाँ फटाहाहरूको अगाडि आफू बेवकुफ बन्दै
सकी–नसकी आफूलाई आफैँ सम्हाल्दै उठाउँदै
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
बजारको भाउले हुतीहारा मास्टर भन्दै गिज्याएको भोगिरहेछु
यस्तै छ साथी, उकुस–मुकुस भित्र जीवन साँच्दै हाँसिरहेछु
गधाले पनि सकेको मात्र भारी बोक्छ, हीन जीवन बाँचिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
सर–सफाइ गर्नु स्वस्थ रहनु हो कक्षमा आफू बकिरहेछु
तर आफूभित्र म मास्टरलाई साबुनले व्यङ्ग्य गरेको देखिरहेछु
सन्तुलित आहाराको पाठ पढाउँदै कर्कलाको झोलमा डुबिरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
नक्कल गर्नु नेपालीहरूको स्वभाव हो त्यसैले नक्कल हुन्छ
यहाँ बिरालोलाई ‘क्याट’ भन्नुपर्छ, ‘बिराला’ भन्ने मूर्ख बन्नुपर्छ
म नेपालको मास्टर हुँ– विदेशी भई नेपालीलाई बन्धक राख्नुपर्छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
फाटेको जुत्ता मलाई चियाइरहन्छ, म उसलाई थमथम्याइदिन्छु
मेरा कोटका प्वालले जिस्काइरहन्छन् चुपचाप चुपचाप हेरिरहेछु
यस्तै हो म नेपालको मास्टर जिन्दगी सकी नसकी डोर्याइरहेछु
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
सहनुको पनि सीमा हुन्छ, अन्यायभित्रबाटै न्यायको घण्टी बज्छ
अब मभित्रको मास्टर ज्वालामुखीझैँ फुट्न–फुट्न मात्र बाँकी छ
अब मजस्तै असङ्ख्य निमुखा मास्टरहरू उठ्न मात्र बाँकी छ
म सस्तो दाममा मास्टर भएर आफूलाई बेचिरहेछु ।
०००