मेरो पनि उमेर थियो
उमेरसँगै सपनाहरू थिए
जस्तै—बाबा आमाको आँखा छल्दै
बीच सडकमा खेलेर हिँड्ने
बिहानै आमाले लगाइदिनु भएको
सफा युनिफर्म लगाएर स्कूलमा पढ्न जाने
खेल्दा खेल्दै धुलाम्य भएर फर्कने
अलिकति उपद्रो गर्ने
साथीसँग जिस्की हिँड्ने
मिठो चकलेट खाने
बाँसको बोक्रामा बसेर
घाँसे भिरालोमा चिप्लेटी खेल्ने
तर ती वर्जित सपनाहरू सपनै रहे ।
जसरी खस्रा हातका औँलाहरूले
टिप्छन् कलिला चियाका मुनाहरू
त्यसरी नै टिपेर त्यही र त्यस्तै सपनाहरू
चुँडेर मेरो जस्तै कलिला बालापनहरू
राखिदिनु पर्नेरहेछ डोकोमा
र कुहाइदिनु पर्नेरहेछ यस माटोमा
पेलेर हाम्रो बैँस
बगान मालिकको मेसिनमा
प्रत्येक ढुकढुकीलाई
प्याक गरेर पठाइदिनुपर्ने रहेछ
सुन्दर बट्टाहरूमा
मिठो र सुगन्धयुक्त चियापत्ती बनाएर
कि मानिसहरू सजिलै
सस्तोमा किन्न सकून्, पिउन सकून् ।
मेरो पनि उमेर थियो
उमेरसँगै सपनाहरू थिए
आफैसँग लाज लाग्ने
साथीसँग बात मार्ने
त्यसैत्यसै हाँस्न मन लाग्ने
बिनाकारण जिस्किन मन लाग्ने
हतार–हतार कलेज जाने
आमालाई थर्काउने बाबासँग लाडिने
रङ्गीन उमेरलाई
चियाबोटको काँडाले क्षतविक्षत पारेर
रक्ताम्य बनाएको छु
कोचेर जुटका बोराहरूमा सपनाहरू
गुन्दु्रक बनाएको छु
र
पठाइदिएको छु
कलकत्ताको लिलामीमा कि
मेरो बगान मालिकले राम्रो कमाइ गर्न सकून् ।
यो सयौँ बर्ष लामो
हरियो पहाडको कालो इतिहास भोगेपछि
उमेर र सपनाहरू पारि डाँडामा ढल्किसकेपछि
अहिले लाग्दैछ – यो
चिया बगान हो कि मेरो चेतनाको चिहान ?
यो हरियो पहाड हो कि
बालापनको तिहाड ?
मैले बुझ्नु छ
किन गर्भमै मर्छ मेरो सपना
किन झुकेर झर्छ
कञ्चनजंघा मेरा आँखामा
र, निस्कनु छ अलग लामो यात्रामा
अर्थात्
आजै हिँड्नुछ
चिया बगान सङ्ग्राममा ।