–१९९० सालको महाभूकम्प आउँदा बाजेले परेवा समातेको हो कि भनेर आश्चर्य मान्दै आकाशतिर हेरेका आठवर्षका बालक ।
–यसैताका नै फलफूल टाउकोमा राखेर नाङ्गै खुट्टाले जाडोमा नारायणहिटी जंगल ढोकाबाट पूजाकोठामा पु¥याउनुपर्ने जिम्मा लिएका र आँप, केरा, सुन्तला टोकरीभरि राखेर हिँड्ने एकजना अनौठा खालका बालक ।
–राणा शासनकालको एकदिन रातको १ बजेतिर नाटक हेरेर घर फर्किरहँदा रमनले लखेट्दा आत्तिएर सुरुवालमै दिसा गर्न पुगेर ‘ए पुलिसदाइ ! सुरुवालभरि गुहु छ’ भनी पक्राउबाट छुटकारा पाउने एकजना चलाख बालक ।
–कविवर सिद्धिचरण श्रेष्ठलाई तमाखु भरिदिने एकजना सेवक ।
–२००७ सालको फागुन ५ गते श्री ५ त्रिभुवनको स्वागतार्थ विमानस्थलमा जम्मा हुँदा धकेलाधकेलमा परेर श्री ३ मोहनशमसेरलाई धक्का लाग्दा मोहन शमसेरले कस्तो मान्छे ? भन्दा यस्तै मान्छे हुँ ! अब आफूलाई के ठानेको ? भनी प्रतिप्रश्न गरेका साहसी युवक ।
–गाई पनि जीव, म पनि जीव । गाई घाँस खाएर बाँच्छ भने म किन बाँच्न सक्दिनँ ? भनी एकमुठी दुबो उखेली चपाउने बहादुर ।
माथि उल्लेख गरिएका अनौठो चालचलनका धनी व्यक्ति हुन् वासुपासा । कहिले राजनीति, कहिले समाजसेवा, कहिले प्रशासनिक कार्य व्यस्ततामा आफूलाई कुदाएका वासुपासाले साहित्यिक क्षेत्रमा र साहित्य सिर्जनामा बाँचुञ्जेल सधैंजसो आफूलाई समर्पित तुल्याइरहे । खरो, स्पष्ट बोलिहाल्ने, मरमोलाहिजा पटक्कै नगर्ने, कडा मिजासको जस्तो बोली र व्यवहार देखिने वासुपासाले आफू प्रशासक छँदा चित्त नबुझ्दो कुरा गर्ने मान्छेहरुलाई हातै छोडिहाल्ने गर्दछन् । हेर्दैमा पहलमानजस्तो देखिने ढम्मरढुस शरीरका धनी वासुपासालाई पनि पेटको क्यान्सरले एकपटक निकै दुःख दियो । साढे तीन किलोको ट्युमर पेटबाट निकालेका, केमोथेरापीकै सहारामा आत्मबलले आफूलाई दह्रो तुल्याएर बाँचेका वासुपासाले क्यान्सरलाई समेत पछार्दै लामो समयसम्म जीवन बाँचेर गएको देखिन्छ ।
आत्मविश्वासकै पर्याय नामजस्तै बनेको छ – वासुपासा । साहसकै अभिव्यक्तिजस्तो ठिङ्ग बाँचेको छ–वासुपासा । नेपाली मध्यमासम्म उत्तीर्ण गरेका पासाले मौरीपालनमा पनि तालिम प्राप्त गरेका थिए । जीवनमा थुप्रै किसिमको अनुभव बटुल्दै, दुःख कष्टसँग कुस्ती खेल्दै जीवनक्रमहरु गुजारेका यिनले वि.सं. २००८ साल असार २ गते नेहरुको काठमाडौं आगमनमा कालोझण्डा प्रदर्शन गर्न सक्रियता देखाएका थिए । आफूलाई सही कार्यजस्तो लागेको क्षेत्रमा हाम फालिहाल्ने स्वभावका धनी व्यक्तित्वका रुपमा चीर परिचित वासुपासाले जातपात, छुवाछुतको भावना सिर्फ ढोङ हो भनी विद्रोह गरे ।
वासुदेव वैद्य कीर्तिपुरका प्रसिद्ध तान्त्रिक वैद्य नाटककार सिद्धमान वैद्यका नाति हुन् । यिनै वासुदेव वैद्य पछि मावलीघरमा रहँदा बस्दा मामाघरको थर श्रेष्ठ झुन्ड्याई वासुदेव श्रेष्ठ बनेका र पछि लेख रचना लेख्दै, छाप्दै गर्दा वासुपासा नाम जुराएको आफ्नो अनुभव सुनाउँछन् । धेरै दुःख पाएका, हन्डर कष्टबाट नै इस्पातजस्तो मुटु बनाउन जानेका वासुपासाले भोगेका जीवनका प्रसंगहरु कहिले उनी सुस्त भई निदाउन खोजेका छन्, कहिले जागीरकै धुनमा अलमल गर्दै सुस्ताउन खोजेका छन् त कहिले निष्कलंक भई अगाडि बढ्न खोजेका छन् । यिनले आफ्नो जीवनक्रममा राजनीतिका गहु्रँगो झन्डा पनि बोकेका छन् । किसानहरुकै हितमा भनी अखिल नेपाल किसान संगठनमा रही सेवा पु¥याएका छन् । हक्की र निडर स्वभावका वासुपासाले भूमि सुधारमा, अञ्चल प्रशासनमा र सहअञ्चलाधीशसम्म भएर सेवा गर्ने मौका प्राप्त गरेका छन् । प्रशासनमा रहँदा पनि आफ्नो अहम् प्रदर्शन गर्न नथाक्ने वासुपासाले आफ्नो प्रशासकीय कार्यकालमा थुप्रै किसिमका हन्डर र मार पनि खाएको देखिन्छ । भूमिसुधार अधिकारी छँदा जमिन्दार र सामन्तहरुले निकै सताएका वासुपासा जीवनक्षेत्रमा कहिल्यै थाकेनन् । त्यही स्वाभिमानको विशेषण हो वासुपासा ।
जीवनलाई थाक्न नदिने, हारसँग सम्झौता नगर्ने स्वभावका व्यक्तित्व वासुपासाले धेरै क्षेत्रमा आफूलाई समर्पित तुल्याए तापनि उनको साहित्यिक क्रियाशीलता सुरुदेखि जीवनपर्यन्त जारी रहेको देखिन्छ । प्रेमचन्दको गौदान उपन्यास कविवर सिद्धिचरण श्रेष्ठबाट प्राप्त गरी साहित्यिक लेखनमा लागेका साहित्यकार वासुपासाका प्रकाशित कृतिहरुमा लेखक कस्तो हुनुपर्छ, किसान(नाटक), समाज (नाटक), कोक्ल्याँटो (कविता), श्रद्धा (नाटक), कीर्तिलक्ष्मी(उपन्यास) आदि छन् ।
अन्य विधाहरुमा भन्दा इतिहास विधामा आफ्नै ढङ्गका डोबहरु छोड्न सफल वासुपासाका इतिहासमा किंवदन्ती मात्र छैनन् कथ्य र तथ्यहरु पनि छन् । यिनको इतिहासमा बुढापाकाहरुका भनाई लोककथाका मर्म लगायत किंवदन्तीका आधार छन् । यसबारे वासुपासा यसो भन्छन् –“इतिहास भनेको राजा–महाराजाको मात्र लेख्ने होइन, सर्वसाधारण जनताको खोजी गरेर पनि लेख्नुपर्छ ।”
सुनकोसी साहित्य प्रतिष्ठानद्वारासाधक सम्मान र बालचन्द्र पुरस्कार पाइसकेका पासा जीवनलाई उठाउने, गरीबको पीडा पोख्ने र बाटो देखाउने मीठो भाषा साहित्यमा पोख्नुपर्दछ भनी साहित्यको परिभाषा दिने गर्छन् । भूलको भुल होइन फूल भई फुलिदिने, जीवनको दृष्टि बताउने वासुपासा राजनीतिभन्दा साहित्य माथि हुन्छ भन्दछन् ।
इतिहासकै एउटा शृंखलाजस्तो देखिने एकजना व्यक्ति हुन् – वासुपासा। सबैको जय होस् भन्न रुचाउने एकजना लेखककै नाम हो – वासुपासा । जमुनादेवीकै बाहुपासमा माया साटासाट गरी जीवन्तता व्यक्त गरिरहने एकजना स्वाभिमानी मान्छेकै प्रतिबिम्ब हुन् – वासुपासा । हाँसको फुल खान पाएपछि मख्ख पर्ने यिनलाई मनपर्ने रंगमा सेतो भन्दछन् । आफूलाई साधारण मान्छे सम्झने यिनले थुप्रै कार्यहरु गरेर देखाइदिएका छन् । वि.संं २००४÷०५ तिर नै परोपकार डिपो, चिकंमुंगलका प्रधान सेवक भई सेवा पु¥याएका यिनले जागिरदार संघको नाममा पर्चा बनाई सिद्धिचरण श्रेष्ठ र गोविन्दबहादुर मल्ल गोठालेको प्रेरणामा पर्चा बाँडेर चेतना फुकेका छन् । २००७ साल चैत ३० गते गोर्खा दलले विपीमाथि हमला गर्दा जनताको तर्फबाट भरतशमसेरलाई पक्रेर सरकारलाई बुझाइदिन सक्रिय भूमिका खेलेका युवाका रुपमा परिचित यिनी २०११ सालमा सल्लाहकार सभाका सदस्य पनि बनेका थिए । यतिमात्र होइन, यिनले प्रस्ताव पेश गरी आफ्नो मातृभाषाप्रतिको अनुराग देखाएका छन् । राणाशासनको विरोधमा निर्भीकता देखाएका व्यक्तिका रुपमा धेरैले चिनेका यिनले राणाकालमा र २००७ सालको प्रजातन्त्रपछि पनि गोर्खादलको षड्यन्त्र र राणाहरुको कर्तुतकै विरोधमा आफूलाई निर्भिक भएर उभ्याएका छन् ।
म युवक छँदा काभ्रे जिल्लामा भूमिसुधार अधिकारी भई आएका वासु पासालाई जसले जुनसुकै विशेषण दिए तापनि उनी त्यसताका नै किसानका मित्रका रुपमा मेरो मानसपटलमा कुँदिएका व्यक्तित्व थिए । किसानका पक्षमा साथ दिन्छन् यिनले भनेर मलगायत मेरा साथीहरु यिनको कार्यालयमा पुगेको स्मरण ताजै छ । अनि यिनले गरेको व्यवहार र सहयोग हालसम्म पनि मनमा राखिरहेछु । त्यसताका नै भूमिसुधार अधिकारी छँदा जग्गाधनीहरु जो माथिको फोर्स देखाउँछन्, तिनीहरुलाई त वासुपासा चड्कनै दिन्थे ।
यिनै वासुपासासँग साहित्यिक अभियानका क्रममा भेटघाट भइरह्यो । नलत्रिने स्वभाव, क्षुद्रजस्तो देखिने तर स्पष्ट व्यवहार गर्न रुचाउने वासुपासा साहित्यिक क्षेत्रमा राजनीतिको दुर्गन्धी हुनुहुन्न, यदि प्रभावित भयो भने स्थिति नराम्रो हुने धारणा राख्छन् । एक्लै भए पनि डटिरहन सक्ने वासुपासाको साहित्यिक सिर्जनामा पनि आफ्नै ढङ्गको रेखाङ्कन छ ।
नेपालभाषामा यिनले लेखेका गीतहरु बालबालिकाहरु लगायत युवायुवतीहरुले कण्ठ गरेर गुनगुनाउँछन् । निकै चल्तीमा आएका थिए वासु पासाले त्यसैबेला लेखेका गीतहरु । झुण्ड–झुण्ड मिलेर गाउँथे, अरुलाई सुनाउँथे । त्यस्तै जनजीवनका मर्महरु उल्लेख गरेर यिनले नाटकहरु लेखेका छन्, बेथिति र कुरुपताकै विरुद्धमा नाटक मञ्चन गराएका छन् । आफै गायक भएर, नृत्यमा भाग लिएर समाजमा चेतना दिन कम्मर कसेर लागेका यिनले निबन्ध÷प्रबन्धकै शैलीमा आफ्नो भावना र विचारहरु व्यक्त गरेका छन् । कीर्तिपुर, कान्तिपुर, भादगाउँ र ललितपुरका इतिहासका पुस्तकहरु लेखेर इतिहासकारका रुपमा पनि प्रसिद्धी कमाएका यिनको इतिहास लेखन सम्बन्धमा कोही कसैले ‘दन्त्यकथाजस्तो पनि इतिहास हुनसक्छ र ?’ भनी नाक चेप्य्राएका पनि छन् । तर यिनी दन्त्यकथाजस्तै इतिहास लेख्छन् ।
कीर्तिपुरको नेवार परिवारमा जन्मेर पनि नेपाली भाषा साहित्यको सेवा पु¥याउन क्रियाशील साहित्यिक सेवकका रुपमा ग्रहण गर्न सकिने वासुपासाले मध्यमासम्म मात्र उत्तीर्ण गरेर पनि नेपाली भाषामा इतिहासका महत्वपूर्ण पुस्तकहरु लेखेर आफूलाई सफल इतिहासकारका रुपमा देखाएर गएको प्रतीत हुन्छ । राजनीतिको चहलपहलमा हुर्किदै आएका एकजना कार्यकर्ता जो पछि राजनीतिबाट अलग रही साहित्यस्रष्टा बनेका थिए । यिनै सन्दर्भका नायक वासुपासाले देशको सन्दर्भमा बोलेका र लेखेका छन् ः
त्याग र तपस्याको पूजा जुन देशमा हुन्छ
त्यो देश
जहिले पनि
संसारको अगाडि
शिर ठाडो गरी
उभिएको हुन्छ ।
वासु पासाले अभिव्यक्ति पोखेजस्तै त्याग र तपस्याको पूजा कहिले हुन्छ र खोइ यो देशमा – परिवेश ह्वास्स गन्हाएको छ । यिनको अवसान २०६१ सालतिर भएको देखिन्छ ।