२०२२–२०२३ सालदेखि नै आफूलाई ‘कम्युनिस्ट’ का नाममा समाजमा चिनाउँदै आएको मलाई सम्झना छ । कम्युनिस्ट शब्दप्रतिको मोहले नै मलाई कम्युनिस्ट बनाउँदै लगे । स्वयं स्फूर्त ढङ्गले साथीहरूको माया पाएर समाजमा काम गर्दै आएको विगत इतिहासले नै बताउँछ, मैले कहिल्यै पनि आˆनो स्वाभिमान गिराइएको र तलमाथि परेको र पारेको छु जस्तो लाग्दैन । स्वयंस्फूर्तढङ्गले कम्युनिस्ट हुँदै आएको मलाई पछि नेपाल कम्युनिस्ट पार्टी चतुर्थ अधिवेशनको दस्ताबेज र मित्रहरूले प्रभावित तुल्याए ।
जहाँसम्म मलाई याद छÙ पारिजात दिदीलाई भेट्न म्हैपी जाने क्रम नियमित जस्तो थियो त्यसताका । दिल सुन्दर र सुवास श्रेष्ठ मेरा पुराना धुलिखेलका मित्रहरूसँग पारिजात दिदी कहाँ पुग्ने गर्थ्यौँ । गौरव लाग्थ्यो त्यहाँ पुग्दा । त्यहीँ निर्मल लामासँग पनि परिचय भयो । नेपाल कम्युनिस्ट पार्टी चतुर्थ महाधिवेशनका नेता निर्मल लामा हाम्रा पनि भरपर्दा नेताकै रूपमा मनमा समेटिन थाल्यौँ । म्हैपीमा उहा सँग भेट्दा र कुराकानी गर्न पाउँदा मनमा एक खालको क्रान्तिकारी तरङ्ग नै तरङ्गित भएजस्तो हुन्थ्यो । त्यहीँ पछि बुद्धिजीवी तथा साहित्यकार निनु चापागाईं सँग भेट भयो । निकै तार्किक र बौद्धिक निनु चापागाईँले पनि मेरो मन–मस्तिष्कमा एक खालको बौद्धिक तरङ्ग भर्ने काम गर्नुभयो । चौमका यी दुई सुन्दर पात्रहरू त्यसताका मेरो मनमा थपक्क बस्न सफल हुनुभएका मित्रहरू हुन् ।
२०३० तिर चौमका सक्रिय समर्थक मात्र नभई जिल्लाका नेताजस्तै भयौँ । त्यसताकाका मेरा बनेपा नगर कमिटीका मित्रहरूमा नन्दलाल कायस्थ, उत्तम शाक्य, कमला मल्ली, रामलाल मानन्धर, छत्रबहादुर मानन्धर, राजभाई डङ्गोलहरू थिए । पछि जिल्ला कमिटीमा रहेर काम गरेका मित्रहरूमा कमानसिंह लामा, नन्दकुमार थापा, श्याम श्रेष्ठ, दामोदर अधिकारी, पारस काˆले, सुवास श्रेष्ठ, दिल सुन्दर श्रेष्ठ, भरत लामिछाने, गोपीकृष्ण थपलियाहरू नै थियौँ । केदार प्रधान केही क्षण समेटिनुभएको र पछि व्यावहारिक कार्य देखाउनु भई पार्टी कमिटीबाट राजनीति गर्न छोड्नुभएको हो । म त्यसताका पार्टी कार्यमा निकै सक्रिय भएकै कारणले बनारसमा हुने पार्टीको राष्ट्रिय भेलामा मलाई जान पार्टीका तर्फबाट खटाइएको थियो । र म बनारस जाने भयौँ । त्यसताका म २६ वर्षको अव्यवहारिक युवा थियौँ । त्यसैले निर्मल लामाले मलाई खान, बस्न समेतको व्यवस्था मिलाई दिनसमेत अनुरोध गरेर पार्टीका अर्का चर्चित नेता मोहनविक्रम सिंहलाई पत्र लेखिदिनु भएको थियो । त्यही पत्रको भरोसा लिएर बताइएको बाटो र ठाउँको नक्सा बोकेर म बनारस पुगो ।
बनारसको दुध विनायकमा मोहनविक्रम सिंहको डेरा खोजेर भौंतारियौं । बनारसको गल्लीमा मोहनदाई लाई भेट्न यता–उता भौंतारिंदै–भौतारिंदै बनारसको गल्लीमा क्यारेमबोर्ड खेल्यौं, नेपाली धर्मशालामा तास खेल्दै गरेका नेपालीहरुसाग केही क्षण भुल्यौं । असार महिनामा बनारसको गर्मी बताइसक्नु थिएन । सबै नेपालीहरु धोती र पातलो कुर्था लगाएर पसिना–पसिना भएर तास खेलिरहेको समाज हेर्दा–हेर्दै म पनि एकक्षण त्यहीँ भुसुक्कै निदाएछु । पछि निंद खुलेपछि एक जना दयालु नेपाली मित्रले दुधविनायकमा रहेको मोहनदाईको डेराको बाटो देखाई दिनुभयो । बल्ल मेरो भरोसा खुल्यो ।
दुधविनायक गल्लीभित्र रहेको एउटा घरको ढोका घचघच्याएपछि माथिबाट को हा’ भनी शब्द खुल्यो । एक जना मित्रले ढोका खोल्न आउनुभयो र त्यही घरमै मोहनविक्रमदाई बस्नुभएको रहेछ । २०३१ असार १५ गते मैले बनारसमा मोहनविक्रम सिंहलाई भेटाएँ । लामाजीको चिठ्ठी पढिसक्नु भएपछि मोहनदाईले भरोसालाग्दो स्वरमा – “तपाईँ मसँगै बस्ने र यतै खाने व्यवस्था गर्छु” भन्नुभयो । निकै सक्रिय, निकै बौद्धिक, त्यसताका निकै चर्चित कम्युनिस्ट पार्टी चतुर्थ महाधिवेशनका प्रख्यात नेता मोहनविक्रम सिंहसँग केही दिन सागै बस्न पाउने भएकाले मन ‘चहचह’ भयो । घरमा केही काम नसिकेको, मध्यम वर्गीय साहुका कान्छा छोरा पुलपुल्याइमा नै हुर्केको, कुरा जानेका तर काम नजानेका अल्लारे युवा व्यावहारिक, खट्टेल कम्युनिस्ट नेताकहाँ पुग्दाका मेरो अवस्था के भयो होला म आफैँले कल्पना गरेर लेख्न सकिएन ।
मोहनदाइ खाने, बस्ने टुङ्गो लाग्यो । बनारसमा ७ दिन बस्नुपर्ने, कक्षामा सामेल हुनुपर्ने, थुप्रै जिल्लाका कामरेडहरुसंगै कक्षामा बस्नुपर्ने भयो । गर्मी बयान गरेर साध्य छैन । त्यसताका मोहनदाईको व्यस्तता पनि बताई नसक्नु थियो । खाना पकाउने, कक्षा लिने, मसालको प्रकाशन गर्ने र सम्पादन गर्ने, देशको स्थितिबारे प्रतिक्रिया दिइरहने, भूमिगतकामा पनि निकै सक्रिय रहेर देश र बहुसङ्ख्यक जनताको चिन्तन गरिरहन सक्ने खुबीका प्रभावशाली त्यसताकाका कम्युनिस्ट नेतासँग बसेर, संग संगै कक्षा लिएर, संग संगै खाएर बनारस बस्न पाउँदाका क्षणहरूले मेरा सबै दुःखका कहरहरू बिर्साइदियो ।
जिल्ला–जिल्लाका चौम पार्टीसँग सम्बन्धित कामरेडहरु संग संगै परिचय गर्न पाइयो । सिन्धुलीबाट आउनुभएका सिपी गजुरेलसँग नजिकले सम्पर्क गरेको सम्झना छ । बनारसमा ७ दिनसम्म बस्दा पुष्पलाल श्रेष्ठको कोठामा पुगेर उहाँलाई भेट्न पाउँदा र उहाँका केही शब्दहरू सुन्न पाउँदाका क्षणहरू बिर्सि नसक्नु छ । उहाँले त्यसताका मलाई भन्नुभएको कुरा सम्झना आइरहन्छ, उहाँले भन्नुभएको थियो– “कम्युनिस्ट र काँग्रेस मिलेर आन्दोलन नगरेसम्म राजालाई धपाउन गाह्रो हुन्छ ।” मलाई त्यस भनाइले पुष्पलालको प्रभाव प्रत्यक्ष र अप्रत्यक्ष परिरहयो। यसै क्रममा चौमको अधिवेशनमा पुगेको र जिल्ला–जिल्लाका मित्रहरूको पार्टी–कक्षमा बस्न पाएका क्षणहरू भुली पठाउन गार्हो छ । बनारसको गल्लीभित्रको गुचुमुचु परेको घरभित्र कोचाकोच ‘कामरेडहरु’ ले भरिएको कोठामा मोहनदाईको प्रवचन हुन्थ्यो । गर्मीले उकुसमुकुस भएको स्थितिमा मोहनदाईको छिटोछिटो हुने प्रवचन बुझ्नै गार्हो हुने जस्ले गर्दा कक्षामा रहनेहरू झल्याकझुलुक निदाउने गर्छन्, म पनि बरोबर निदाउने गर्थे । ढिला गर्नै नसक्ने, छिटो–छिटो बोल्ने उहाँको बानीले गर्दा हामीलाई निंदले छोप्ने गर्थ्यो । ७ दिनसम्म नै यस्तै गरेर दिनहरु गुजारियो ।
७ दिनसम्म बनारस रहँदा केही अप्ठ्यारो भएन । जीवनमा नसिकेका धेरै खालका कामहरू सिक्न पाइयो । धैर्य, अनुशासन र त्याग के हो देख्न पाउँदा गौरव लाग्यो । पहिलो चोटी समूहमा रहेर व्यावहारिक ज्ञान, सिद्धान्त सिक्न पाउँदा खुसी लाग्यो । बनारसमा रहेका नेपालीहरु संगै रम्न पायौँ । बनारसका धेरै ठाउहरु घुम्न पायौँ । सबभन्दा ठुलो कुरो मैले जीवनमा भुल्न नहुने नेपालका विशिष्ट कम्युनिस्ट नेता निर्मल लामाको पत्रले मलाई बनारस घुमाइ दिएको घटना र उक्त पत्रले मोहनविक्रम सिंहजस्तो चर्चित त्यसताकाका कम्युनिस्ट नेतासँग बस्न जुराइदिएको मौका र कम्युनिस्ट सिद्धान्तले परिपक्व बनाइदिएको घटना बिर्सिपठाउन गाह्रो छ । यो घटना पनि जीवनको एउटा ठुलो घटना भएको र मनमा सधैँ स्मरण रहिरहने घटना भएकोले आत्मवृत्तान्तमा समेटिएको छु ।
०००