म मात्र , म होइन!!
देखिएको कुरा मात्र सत्य छैन !
नदेखिएको कुरा असत्य कदापि होइन !!
” भन , तिमी के हेर्न चाहन्छौ म भित्र ?”२
म भित्र विराटता लुकेको छ !
म भित्र ज्ञान छ , विज्ञान छ , दर्शन छ!
म भित्र अर्थ छ,अर्थशास्त्र छ ।
म भित्र समाज छ,समाजशास्त्र छ !
म भित्र सङ्गीत छ,सुर छ ,सौन्दर्य छ !
म भित्र ब्रह्माण्डको रहस्य छ !!२
म भित्र अनहदको त्यो झङ्कार छ ,झरना छ !!
म भित्र अनन्त ऊर्जा छ ,उत्साह छ,उमङ्ग छ !!
म भित्र आँखाले हेर्न नसक्ने परम प्रकाश छ !
म भित्र त्यो आनन्द छ ,सन्तुष्टि छ , शान्ति छ !
म भित्र सफलता छ ,सहयोग छ ,स्वाभिमान छ!२
म भित्र कहिल्यै नसकिने कुबेरको खजाना छ !
म भित्र सम्पन्नता छ ,सद्भाव छ ,शृङ्गार छ,
म भित्र कला छ ,एउटा राम्रो कलाकार छ !
म भित्र राम छ , कृष्ण छ , हनुमान छ!
म भित्र गीता छ,कुरान छ , बाइबल छ!!२
म भित्र सहनशीलता छ ,सरलता छ ,शीतलता छ !
म भित्र दया छ, माया छ ,क्षमा छ !
म भित्र धर्म छ ,ध्यान छ ,शब्द ब्रम्ह्को त्यो नाद छ !!
म भित्र स्थिरता छ ,पीडा खप्न सक्ने त्यो साहस छ!
म भित्र जीवन दिने विशेष विशेषता छ , २
म भित्र अज्ञान पनि छ !!२
अशान्ति छ,अहङ्कार छ !
म भित्र मेरो कयौँ जन्मको रहस्य छ !
म भित्र पिडा छ ,वेदना छ ,आँधि हुरी छ ,आँसु छ म भित्र उकुसमुकुस छ, छटपटी छ,आक्रोश छ!!
म भित्र कयौँ चिहान छ ! भत्किएको आत्माको !
म भित्रको म! ताण्डव गर्छ,नर मुण्ड लगाएर !!२
म भित्र दबिएको डरलाग्दो आवाज छ ।
म भित्र कालो बादल छ, भुमरी छ ,भूकम्प छ !!
म भित्र प्रहार छ , प्रलय छ ,प्रकोप छ !!
म भित्र प्रचण्ड गर्मी छ ! महाकालीको त्यो रूप छ !
म भित्र कठोरता छ, उद्दण्डता छ ,उग्रता छ !
म भित्र उदेकलाग्दो हाँसो छ ,बेढङ्गको चाल छ !!
म शान्त हुँदा शीत खसाल्छु ,पानी बर्साउँछु !!
म पृथ्वी भएर सबै पीडा सहिदिन्छु !!
मेरो सहनशीलतालाई बिथोलेर त हेर । २
म चट्याङ बनेर आगो खसाल्छु!२
ज्वालामुखी बनेर ज्वाला फैल्याउँछु !!
सुनामी भएर तिमीलाई छोप्छु !
तिम्रो हातमा भर पर्छ ::::::!! २
मलाई कस्तो साँचोमा ढाल्न चाहन्छौ ?
तिम्रो आँखामा भर पर्छ :::::!!
मलाई कुन रूपमा हेर्न चाहन्छौ !!