अचानक गोदामको टिन जस्ताको ठूलो छानामा चराहरुको झगडा सुरु भयो । मलाई अचम्म लाग्यो । तिनीहरुको झगडा अति नै बढ्दै गयो । ‘भेन्टिलेटर’मा जाली नभई दिएको भए तिनीहरु झगडा गर्दै गोदामभित्रसम्म पुग्ने थिए होला । जालीमा झुन्डिएर पनि एकले दोस्रोलाई झम्टेर टोक्दै थिए । कत्रो लडाई ? एकाएक छानामा कौवा हो वा अरु कुनै ठूला चराहरु हुन् तिनीहरुले धमाधम ‘लायन्ड’ गर्दै गरेको ठूलोठूलो आवाज एकपछि अर्को आउँदै ग¥यो । तिनीहरुमा पनि ठूलै झगडा गरेका र कराएका स्वर त कौवाकै थियो । ठूलो पञ्जाको खुट्टाले टेकेको पद्चापले कौवाहरु रिसाउनसम्म रिसाएका जस्तो मलाई लागेको थियो । टिनको छाना नै प्वाल पार्न खोजेको जस्तो चुच्चोले बेस्करी ट्वाङ्गट्वाङ्ग हानिरहेका थिए । छानामा निकै कोलाहल मच्चिरहेको थियो । भँगेरा र कौवा तथा अन्य चराहरुका आतङ्कित आवाजहरुले गोदाम पनि काम्न थालेको थियो ।
अचानक मैले झ्वास्स के सभ्झेँ भने नित्य बिहानको भात पाक्ने बित्तिकै सबैभन्दा पहिले कौवाहरुलाई खुवाउने गरेकी थिएँ । शुक्रबारदेखि तिनीहरुले भात खान पाएनन् । अवश्य पनि कहाँ गई भनेर मेरो खोजी गरेका थिए होलान् । छाउनी ब्यारेकमा भएको थाहा पाएर हमला गर्न आएका हुन् कि ? अनि बन्द गोदामभित्र छिर्न नसकी टिनको छाना नै प्वाल पारेर भित्र पस्न चाहेका हुन् कि ? कौवाहरु सारै ‘सेन्सेटिभ’ हुन्छन् । करिब १७÷१८ वर्षपहिले घटेको एउटा घटना सम्झेँ –
रेडियो नेपालमा कार्यरत एउटी महिला कर्मचारी बिदा लिएर घरमा बसी एस.एल.सी.को परीक्षा दिन खुब मिहेनतका साथ अध्ययन गरिरहेकी थिइन् । एक दिन साँझ नपर्दै कोठामा कुचो लगाई झ्यालबाट सतरन्जमा भएको धूलो झार्दा अगाडिको नासपातीको बोटमा अल्झेकाले अलि बल गरी तान्दा त्यसमा भएका भर्खर फूलबाट निस्केका कौवाको बच्चा रुखबाट खसेर मरेपछि सयौँ कौवाहरु जम्मा भई उनको घरमा घेर्न आए । बाहिर निस्कनै दिएनन् । एस.एल.सी.को परीक्षा सुरु हुन चार दिन मात्र बाँकी थियो । कसरी परीक्षा दिन जाने ? ठूलो समस्या खडा भएकोले मामाको घरबाट परीक्षा दिन जान मामाको घर हल्चोकमा बस्न गइन् बिहान चार नबज्दै कौवाहरु नउठ्दै । त्यहीँ बसी उनले अध्ययन गरिन् । परीक्षाको दिन आयो । उनलाई घरैबाट निस्किन दिएनन् । हजारौं कौवाहरुले झम्टिन आएकाले उनले परीक्षा नै दिन नपाई एक वर्षपछि मात्र दिएकी थिइन् । करिब १÷२ महिनासम्म त घरबाट निस्कन दिएनन् उनलाई कौवाहरुले । त्यत्रो दादागिरीका छन्, कौवाहरु ।
मैले सम्झेँ । पशुहरुमा त्यत्रो सङ्गठन । शत्रुलाई हमला गरी बदला लिनुमा त्यत्रो एकता ? तर मानिस ? प्राणीमात्रमा सर्वश्रेष्ठ मानिएका मानिस एकले दोस्रोमाथि गरिने अन्याय र अत्याचारले पशुभन्दा धेरै गुणा तलको प्राणी सिद्ध भएन र मानिस ?
कौवाका बारेमा सोच्दा सोच्दा मेरो ध्यान अचानक सहरतिर गयो । त्यहाँ ठूलै सङ्घर्ष भइरहेको सङ्केत हवाइजहाज, हेलिकप्टर, एम्बुलेन्स र मोटरको आवाजहरुले दिइरहेका थिए । यस्तो आतङ्कित र भयभीत वातावरणको सृजना भएको थियो कि लडाईंको मैदानबीच हामी युद्धबन्दीहरु बङ्करभित्र थियौँ । र कुनै पनि बेला हामीमाथि बम बर्सिने छन् । अनि हाम्रो क्षतविक्षत लासका टुक्राहरु ती रक्तपिपासु सेनाहरुका लासका टुक्राहरुसित मिसिई कुन सेना, कुन जनता छुट्याउन नसकिने छ्यासमिसे स्थितिमा बिलिन हुनेछन् ।
आखिर युद्ध त युद्धै हो । युद्धको अनेकौं आकर्षित नाम भए पनि यसको उद्देश्य त मान्छेले मान्छेलाई शत्रु भनेर मान्छेले नै मान्छेलाई मार्नु न हो । न युद्धको कान हुन्छ, न आँखा ? आँखा भए पनि जताततै शत्रु मात्र देख्ने । कान भए पनि अन्तिम चित्कार र आर्तनाद मात्र सुन्ने न हो । आफूलाई देख्ने आँखा र सुन्ने कान कहाँ हुन्छन् र ? आँखाभित्रका अन्धकार माथि अन्धकार थपिँदै गयो । छानामाथि भइरहेको चराहरुको लडाइँ सकिएको थिएन । हेलिपाड, एम्बुलेन्सको आवाजसँगै ब्यारेकभित्र र बाहिर गरिरहेको जिपको अप्रिय आवाजले सिङ्गो नेपालको नक्सा मेरो अन्धकार आँखामा फैलिइएको थियो । कहाँ गयो सुन्दर, शान्त र विशाल नेपाल ?!
घन्टीमा दिनको पाँच हान्यो । मेरो ध्यान गोदामभित्र फर्कियो । अघिदेखि जागेको चियाको तलतल घाँटीमा नै मरिसकेको थियो । सेलाएको ओछ््यानमा लम्पसार परिरहेकी थिएँ म । एक मुट्ठी घामको आवश्यकता थियो मलाई । सम्झेँ, करोडौँ कोसको छाती चिरी पृथ्वीमा प्रत्येक दिन आइपुग्ने अतुलनीय शक्तिको भण्डार सूर्यको किरण कति कमजोर रहेछ । साधारण सिमेन्टको जोडाइले बनेको पुरानो गोदामका भित्ता चिरी भित्र पस्न सकेन । कत्रो बाध्यता ।
ढोकाको साँचो फेरि खोलियो । खापा उघ्रिनासाथ, त्यहीँ परिचित खानाको नमीठो गन्धले मेरो नाक समातिहाल्यो । विभिन्न पद्चापहरुका साथमा थालहरु पनि घिसारेको आङ्गै सिरिङ्ग हुने स्वर सुनेर थाहा पाएँ, भात खुवाउन ल्यायो । खानाको हरकले नै खाना खाने मेरो इच्छा भएन । मलाई उठ्नै मन लागेन । सलले नाकसम्म छोपेर म पल्टि नै रहेकी थिएँ ।
“दिदी ! उठ्नुस् । भात खानुस् ।”
रातीको भात दिउँसो पाँच बजे नै खानुपर्ने कस्तो बाध्यता ? जेठ महिनाको दोस्रो हप्ताको दिन कति लामो र कति उराठलाग्दो हुन्छ ? मैले नकाबमाथि सारेँ । भेन्टिलेटरमा आँखा पुग्यो । त्यहाँबाट छिरेको घामको रिफ्लेक्सले गोदाम उज्यालो भएको थियो । घाममा मधुरोपन आएको थिएन । मतलब गोदामबाहिर टन्टलापुर घाम थियो । पेटमा भोक भएकाले बाध्य भई म बिस्तारै बसेँ । भात भएका थाल झुलभित्र ल्याएँ । बिहानको बचेको भात नै ल्याएको जस्तो चिसो र ससानो ढिक्का परेको थियो । भातको बीचमा मासको दालको अलिकति पानी थियो । त्यही बिहानको जस्तो बाक्लो (क्वाटी) तरकारी । एकै गाँस मुखमा राखी, थाल झुलको बाहिर राखिदिएँ । गनधारी तन्नेरी सेनाले भने –
“अहिले पनि तपाईंले भात खान सक्नुभएन । के गरुँ ? दिदी ! यहाँको खाना यस्तै हो । यसरी कति दिन भोकै बस्नुहुन्छ तपाईं ? अलि बल गरी खानुस् दिदी ।”
“माफ गर्नुस् । मैले खान सकिनँ । पेटमा भोक लागेको छ । तैपनि खान सकिनँ ।”
गनधारी सेना यसो फर्किने बित्तिकै कमिज र कट्टु लगाएको एउटा केटा आएर पर्दाभित्र मुन्टो छिराएर सोधिहाल्यो –“दिदी तपाईं पुरानो बानेश्वरबाट ल्याएको शान्ता श्रेष्ठ हो ?”
“हो, किन भाइ ?”
“तपाईंको नाम पत्रिकामा निस्केको छ ।”
केमा निस्केको छ ? सोध्न नपाउँदै केटो लम्केर गइहाल्यो । ओसार्दै गरेका जुठा थालहरुमा भात त्यसै रहेको देखेँ । मनमा नराम्रो लाग्यो । अन्नको नाश । खान नै दिएपछि खानसकिने त दिनु पथ्र्यो । अलि तातो मात्र भएको भए पनि २÷४ गाँस खान्थे होलान् । भातको थाल त राख्न ल्याउने जस्तो मात्र भयो । जुठो थाल उठेपछि कसैले पानी खान मागे कसैले ट्वाइलेट जान । मलाई भने चियाको तलतलले फेरि समात्न थालेको थियो ।
टिनको छानामा चराहरुको लडाईं सकिएको थिएन । छानामा एकपछि अर्को शायद कौवा होला बज्रिन आएको ठूल्ठूलो आवाजले गोदामभित्रको कालो वातावरणमा अरु अशान्ति थपिरहेको थियो । मैले भने दक्षिण फर्केको भेन्टिलेटरबाट चियाइरहेको उज्यालोलाई ताकिरहेकी थिएँ । हेर्दा हेर्दै त्यसमा टाँसेको सूर्यको किरण, बत्ती निभेको जत्तिकै झ्याम्म अँध्यारो भइहाल्यो । एकाएक पानी दर्किहाल्यो । ठूला ठूला पानीको थोप्ला टिनको छानामा यस्तरी बजेको थियो कि मानौँ पानीका थोप्ला नभई ती छर्रा नै बर्सेका थिए । दुवै हातले कान थुन्नु परेको थियो । प्रलय नै हुन लागेको सङ्केतले गोदामघर थररर कामिरहेको थियो । यति ठूलो पानी परेको त मलाई थाहा नै थिएन । सायद, टिनको छानामुनि बसेकाले त्यस्तो लागेको हो कि ?
अचानक बानेश्वरको पुरानो मेरो घर मेरा अगाडि उभिन आयो, सर्वाङ्ग रुझेर । मन ढक्क फुल्यो । मेरो घरसँगै उत्तरपट्टि जोडिएको घर भत्काइराखेकोले मेरो घर अपाङ्ग भई पाँच तलासम्म अबिरल वर्षामा रुझ्नसम्म रुझेर काँचो इँटाको अस्थिपन्जरले ढल्न हल्लिरहेको दृश्यले मलाई सारै नै चिन्तित पारेको थियो । मेरो सम्पत्तिको नाममा त्यही पाँच पैसाको जमिनमा बनेको सानो कच्ची घर । त्यसमा पनि दोहोरो मोही छ । म जोताहा मोहीको नाताले भत्किन लागेको घर बनाउन पाऊँ भनेर पशुपति विकास क्षेत्रमा निवेदन दिएको पनि पूरा ३ वर्ष भइसक्यो । तर ज्यान गए पनि घर बनाउने अनुमति दिएन । घर भत्कोस् र घरले चर्केको पाँच पैसाको जमिनमा आधा मिचेर लिन, ढल्न लागेको जनावरलाई अग्लो रुखमा बसेर ताकिरहेको गिद्धले जत्तिकै दर्तावाल मोहीले ताकिरहेको छ । कसले दिनसक्छ मलाई न्याय ? २०३४ सालमा श्री ५ को सरकारको रजिस्ट्रेशन अफिसमा तोकेको दस्तुर तिरेर रजिस्ट्रेशन पास गरेर किनेकी हुँ । यसमा मेरो के गल्ती छ ? मैले त्यसरी किनेको घर भत्किन लागेको प्रमाणित भएर पनि मलाई घर बनाउन अनुमति नदिनुको कारण ? पैसामा बिकेका नियम, ऐन कानुन त हुन् ।
माओवादीले अन्याय र अत्याचारमा परेकालाई यसरी केही घन्टाभित्रै न्याय दिएका थिए ? मैले पत्रिकामा पढेकी छु । सर्वोच्चबाट हराइएको मुद्दा समेत जिताएको मात्र नभई मुद्दा जित्नेले सकारेको समेत पत्रिकामा प्रकाशित भएको थियो कि मैले सर्वोच्च अदालतमा घूस खुवाएर नै जितेको थिएँ भनेर नाम, थर समेत उल्लिखित थियो । मलाई पनि माओवादीले मात्र न्याय दिन सक्ने भएकाले म अधैर्यसाथ तिनीहरुको प्रतीक्षामा छु ।
पानी यस्तरी दर्किरहेको थियो कि मानौँ दशकौंदेखि निकास नपाएको आँसुले निकास पाएर शरीरमा एक थोपा पानी बाँकी नराखी आकाशको आँखाबाट बगिरहेको थियो । बाहिर पानीको दर्काइबाट उठेको धुवाँजस्तो पानीको साना थोप्लाहरु भेन्टिलेटरबाट तल झरी गोदामको भुई छुने प्रयत्नमा थियो । समय हो, यसलाई जस्तोसुकै अवस्थामा पनि बित्नु थियो र बित्दै गइरहेको थियो । उमेर नपुग्दै मारिएको मान्छे जस्तै ‘भेन्टिलेटरबाट चियाइरहेको तन्नेरी घाम पनि मरिसकेको थियो । एक घन्टाभन्दा लामो समयसम्म आकाश रोइरहेको थियो । टिनको छानामा भइराखेको चराहरुको लडाइँ पनि त्यही पानीले भगाएको थियो । अचानक आकाशका आँसु थामिँदा त गोदाम घरभित्र शून्य न शून्य, खाली न खाली भई शान्त सागरबीचको ठूलो जहाजभित्र बसेको जस्तो लागेको थियो मलाई । बाहिर अन्धकार घोप्टिइसकेको थियो । गोदामभित्र रुन्चे बत्ती बलिसकेको थियो । घन्टिले रातको नौ हान्यो । अचानक ढोकाको ताल्चा खोलेर सेनाहरु प्रवेश गरेको स्वर सुनेँ मैले । मेरा कान पद्चाप आएतिर लम्केर गए । खाना ल्याएका होलान् भन्ठानेँ । गन्ध नआएकाले होइन रहेछ भनेर मैले थाहा पाएकी थिएँ ।
“तपाईंलाई बाहिर बोलाउनुभयो । उठ्नुस् ।”
२÷३ जना सेनाहरुले कसैलाई उठाएको जस्तो स्वर सुनेर हतारले उठी मैले प्वालबाट चियाउन थालेँ । मेरो अगाडिको नाङ्गो खस्रो प्लास्टरमाथि छातीले टेकी घोप्टो परिरहेकोलाई दुई सेनाले उठाई डो¥याउँदै ढोकाबाहिर लगिरहेको देखेँ । मैले के विचार गरेकी थिएँ भने, उनलाई छोड्न बाहिर लगेका होलान् । ढोका थुनेर ताल्चा लगाइसकेको थियो । मेरो चिया खाने तृष्णा मेरै घाँटीमा थुनिएर बसिरहेको थियो । म निराश भई पल्टेँ । कम से कम आज एउटा मान्छेले त गोदामघरबाट छुट्कारा पाए भनेर, मनमनै खुसी भएँ । तर आँखा राख्ने ठाउँ मैले कतै पाइनँ । गोदामको अग्ला अग्ला भित्ता, टिनको छाना, स–सानो भेन्टिलेटर, रेनकोटको पर्दा, झुल, फोमको ओछ्याउने र कालो कपडाले छोपिराखेको डोकोजस्तो देखिएको नकाबभित्रका अपरिचित निर्दोष मानिसहरु बाहेक अरु त्यहाँ थिएनन् । अचानक मैले देखेँ झूलभित्र र बाहिर टन्न बसिरहेका लाम्खुट्टेहरु । म झस्केर उठी दुवै हातले लामखुट्टेहरु मार्न थालेँ ।
“दिदी ! नकाब लगाउनुस् छिटो लगाउनुस् ।”
मैले नकाब लगाएँ । उत्तानो पल्टेर सोच्न थालेँ । यस्तो लामखुट्टेका गोलामा बिचराहरु कसरी सुते ? हात पछाडि बाँधेकोले टोकेकोमा कन्याउन पनि सक्दैनन् । यो कस्तो सजाय हो ? मलाई मात्र किन झूल ? किन ओछ्यान, किन फोम ?? हातमा किन हत्कडी लगाइएन ??? के मेरो शरीरमा ज्यान छ ? तिनीहरुको शरीरमा ज्यानै छैन ? मेरो हात स्वतन्त्र भएकोले म लामखुट्टे धपाउन सक्छु । तर तिनीहरु सक्दैनन् । आखिर यत्रो पक्षपात किन गरियो ? सोच्दासोच्दै असन्तोष र आक्रोशले म छट्पटिन थालेँ । झूल र फोम झिकेर फाल्न मन लागेको थियो मलाई । तर मैले फालेर, तिनीहरुले पाउने होइनन् । म बडो दोधारमा परेकी थिएँ । के गर्ने हो ? मैले निर्णय गर्न सकिनँ । दुवै हातपछाडि पारी छातीले टेकी घोप्टो पर्ने प्रयत्न गरेँ । तर मैले सकिनँ । राती ती बिचराहरु कसरी सुते होलान् ? मलाई ठूलो पीर लाग्यो । म यही दुःखमा डुब्दै गएँ । डुब्दै गएँ । अचानक चिच्याएको आर्तनाद सुनेँ मैले ।
“मरेँ बा बा । मरेँ नि बा बा । म मरेँ ।”
निरन्तर प्रहार गरिरहेको आवाज बाँसको भाटाको जस्तो लाग्यो मलाई । अश्लील गाली–गलौज पनि गोदामभित्र ठोकिन आयो । म त सन्न भएँ । यस्तोविधि कसलाई कुटेका होलान् ? म त जुरुक्क उठेर बसेँ । कुटाइका साथै, कुटाइ सहन नसकी रोएका, कराएका चिच्याएका हृदयविदारक स्वरले गोदाम घर जुरुक्क उचालिएको थियो । मैले सुन्न नसकेर कानमा औंला कोचेर बसेँ । तैपनि भएन । साडीको सप्को, कानभित्र कोचेँ । तैपनि भएन । कुटाइ र रोएको–चिच्याएको स्वरले मेरो मुटु नै समातेको थियो । बरु त्यो कुटाइ मेरो शरीरमा परेको भए मलाई त्यतिको दुख्ने थिएन होला । सहन त्यतिको गाह«ो पर्ने थिएन होला, जति मलाई त्यति बेला सहन गाह«ो परेको थियो । केही नलागी मैले भगवानलाई समेत पुकारेको थिएँ — निर्दोषमाथिको प्रहार तुरुन्त रोकिदेऊ भनेर । मैले आजसम्म आफ्ना लागि भगवानसँग केही माग्न जानेकी छैन । मलाई साधारण पूजासम्म पनि गर्न र श्लोक पढ्न आउँदैन । मैले जीवनमा पहिलोपल्ट भगवान्लाई यत्तिको प्रार्थना गरेकी थिएँ कि अहिले सम्झँदा म स्वय्मलाई लाज लाग्छ । निर्मम कुटाइबाट आएको चीत्कारले मलाई त्यत्तिको कमजोर बनाएको मलाई कहिल्यै थाहा थिएन । अन्तिम पुकार भगवान्ले सुन्छन् भन्ने विश्वासमा म पनि लागेकी थिएँ त्यतिबेला । सबै बेकार । त्यही रात मैले थाहा पाएकी थिएँ कि कान थुनेर पनि कानले सुन्न नछोड्ने रहेछ । मैले भगवान्लाई यतिसम्म पनि भनेँ कि “यदि तिम्रो केही मात्र अस्तित्व बाँकी छ भने, यस अत्याचारलाई किन रोक्न सक्दैनौं ?” खोइ त भगवान् ? कहाँ छन् ईश्वर ? निर्दोषमाथि दिन दुगुना रात चौगुना अत्याचार, हत्या हिंसा बढ्दै आइरहेका छन् । त्यतिबेला म अनायास हाँसेकी थिएँ, मेरो आफ्नो कमजोरी देखि मलाई रिस पनि उठेको थियो । जब मान्छे कमजोर हुन्छ र कतैबाट सहारा पाउँदैन, तब उसले भगवान्को नाम लिन्छ या भगवान्को शरणमा जान्छ । म पनि त्यत्तिको कमजोर, सहाराहीन र डरपोक भइसकेकी मलाई थाहा नै भएन । अरुलाई कुटेको स्वर मात्र सुनेर पनि म त्यत्रो बिचलित भएकी थिएँ । मलाई म आफैदेखि लाज पनि लागेको थियो ।
अचानक फेरि पानी दक्र्यो । छर्रा वर्षेजत्तिकै टिनकै छानाबाट आवाज आएकाले गोदामघर फेरि थररर कामेको थियो । दिउँसोको भन्दा कम थिएन पानी । मैले कानबाट हात हटाएँ । कुट्ने क्रम जारी नै थियो । कुटाइ सहन नसकेको चिच्याइले गोदाम थर्केको थियो । फेरि हतारले कान थुनेँ मैले । त्यत्रो पानीमा पनि कुट्न छोडेको थिएन । गोदामभित्र अर्धलासले मात्र सास फेरिरहेकाहरुमा के बितिरहेको होला ? मलाई थाहा थियो । कुटाई यातना खाने पालोले निस्सासिरहेकाले नै गोदाम मानवशून्य खालीपनको आभासले व्याप्त थियो ।
अचानक ताल्चाको साथै ढोका खुल्यो । मैले कानमाथिको हात हटाएँ । हतारले गोदामभित्र चियाएँ । ३ जना सेनाले घिसार्दै ल्याएको मानिसले विह्वल भई भने –“आमा ! मलाई मारे नि आमा ।” मेरो छाती चरक्क चिरिहाल्यो । मलाई अन्धकारले छोपिहाल्यो । सेनाहरुले भने –“चूप लाग्नुस् चूप लाग्नुस् यहाँ कराउनु हुँदैन ।”
भिजेको लुगा फालेको जस्तो भ्यात्त आवाज आयो । स्याँ स्याँ गरी बडो मुस्किलले सास फेरेको आवाज सुनेँ । सेनाहरु फर्केर ढोकामा ताल्चा मारे र म स्तब्ध भएँ । मेरो शरीरभरि तातो भुङ्ग्रो खनिए जत्तिकै म छटपटाएँ । कठै, कसका छोरा हुन् तिनी ? उनले आमालाई पुकारे । कसरी सुन्न सक्छिन् छोराको आर्तनाद ? उनले सारै कष्टले सास फेरिरहेको सुन्दा मुखबाट रगत नै छादेको जस्तो लागेर म थररर काम्न थालेँ । उनको चोटले म रोएँ । निकैबेर रोएँ । सेलभित्र झरेको त्यो मेरो पहिलो आँसु थियो । उनी पश्चिम फर्केको पूर्वको लङ्गमा राखेको र म उत्तर फर्केको दक्षिणको लङ्गमा भएकाले पर्दाले छेके पनि शरीरको केही भाग देखिएको थियो । मैले उनका कष्टको स्वर मात्र सुनिन बल्की शरीरको पीठ पनि देखेँ । करिब आधा घन्टा जति यत्तिकै स्वाँ स्वाँ गरी बडो कष्टले सास फेरिरहेका थिए उनले । उनको हात पछाडि बाँधिएका थिए । सुत्नलाई पनि न हत्कडी फुकालिन्थ्यो, न अनुहारको नकाब नै । कत्रो सजाय ? सेनाको हृदय मानवशून्य रहेछ !
रातको १२ हान्यो घन्टीमा । नकाबभित्रको मेरो आँखामा त्यही घाइतेको कष्ट बसेको थियो । पर आइमाई र लोग्नेमान्छेहरु रोएका, कराएका, चिच्याएका आवाजहरु आइरहेका थिए । त्यो आवाजसँगै म कता कता हराउन थालेँ । ब्यारेकको कम्पाउन्ड निकै ठूलोजस्तो लाग्यो । माओवादीको शङ्का उपशङ्काले समातेर ल्याए । कतिलाई यातना दिइराखेका छन् । थाहा पाउने कसरी ? कतिको लास बेपत्ता पारिसकेको थियो ? मतलब राख्ने को ? यो कस्तो अत्याचारको अन्धकार ? बिहान – त्यस्तै ३ बजेतिर मेरा आँखा लागेका थिए ।
कता हो कता ? चिप्लो रातो सिमेन्टको फ्लोरमा म बसिरहेकी थिएँ । अचानक भूकम्पले म बसेको ठाउँ बेस्करी हल्लाएकाले म त्यहीँ घोप्टो परी पल्टेको थिएँ । अरु ४÷५ जवान मान्छेहरु भूकम्पबाट बच्न भर्याङ्गबाट ओर्लेर गएपछि म झसङ्ग ब्यूँझेँ । पूरा सपना सम्झिन प्रयत्न गरेँ । तर सकिनँ । कतै केही भत्केको नदेखेकोले नराम्रो हुँदैन होला भनेर सोचेँ मैले । तैपनि मन भने खिन्न भएको थियो । त्यसरी शनिबारको रात बितेको थियो ।
सपनाबाट बिउँझेको निकै बेरपछि त्यहाँको देवस्थलको घन्टा र घन्टीहरु टाङ्गटाङ्ग र टुङ्गटुङ्ग बजेको सुनेँ । अब बिहान भयो भनेर थाहा पाएँ मैले । नकाब अलिकति माथि सारेर भेन्टिलेटरमा हेरेँ । बिहानी उठेको थिएन । बाहिर अन्धकारकै राज्य थियो । तर मलाई पानीको प्यास लागेको थियो । घरमा त्यतिबेला एक लिटर पानी र एउटा कागतीको रस पिइसक्ने झलझली सम्झेँ मैले ।
घन्टीमा बिहानको पाँच हान्यो । ढोकाको ताल्चा खुल्यो । सेनाले गोदामघरमा प्रवेश गरे । पद्चाप मतिर बढ्दै आएकाले म सतर्क र स्तब्ध भएँ । यति सबेरै मलाई कहाँ लान लिन आए ? सास नै रोकी निद्रा परेको बहानाले म पल्टिनै रहेँ । मेरो मनमा के लागेको थियो भने, बाहिर लगेर कुट्न मलाई लिन आयो । मेरो मन ढक्क फुलिहाल्यो । राती बाँसको भाटाले प्रहार गरेको दृश्यले म आहत थिएँ । रेनकोटको पर्दा यसो हटाएको स्वरसँगै मेरो शरीरमा छुने बित्तिकै मेरो आङ्ग सिरिङ्ग भइहाल्यो । एक्कासी मुटुको चाल पनि बढिहाल्यो । झस्केर मैले सोधिहालेँ –“को हँ त्यो ?”
“म दिदी । उठ्नुस् । तपाईंलाई मैले चिया ल्याइदिएको ।” चिया ल्याइदिएको सुन्ने बित्तिकै मेरो शरीरमा पूर्ण ज्यान फर्किहालेको थियो ।
“उठ्नुस् । चिया खानुस् । यी यहाँ पर्दाभित्र राखिदिएँ । पोखिएला । चिया खाइसक्नु भएपछि गिलास त्यता नै राखिदिनुस् । म लिन आउँछु ।”
सेना बाहिर जाने बित्तिकै ढोकामा ताल्चा लागिहाल्यो । मैले गहिरो सार फेरेँ । बल्ल मेरो मन शान्त भयो । म उठेँ । पलेटी मारेर बसेँ । चियाको मग समात्न मैले नकाब माथि सारेँ । फिक्का चिया थियो । तातो मग समातेकोले मकल तापेको जस्तो ठिहिराएको हात अलिअलि तातेर आएको थियो । चिया खाइसकेपछि शरीर पनि रनक्क तातेर आएको थियो । जेठ १९ गते आइतबारको बिहानलाई चिया खाँदै स्वागत गर्न पाएँ मैले ।
गोदामभित्र अँध्यारो नै थियो । एउटा मात्र कम पावरको बिजुली बत्तीको पिलपिले प्रकाशमा मान्छेको अनुहार छुट्याउन सक्ने त कुरै भएन । खाली मग लिन आएका सेना मेरो अगाडि गन सोझ्याई, हनुमानको पोजले बसी प्रश्न गरे –“चिया खानुभो दिदी ? फिका चिया तपाईंलाई मीठो लागेन होला ? के गरुँ दिदी ? हामीलाई यस्तै चिया दिन्छ । तपाईंले खाना खान सक्नुभएन भने केटाहरुले । अनि माया लागेर चिया ल्याइदिएको ।”
मेरो भित्री मुटु अचानक सरर पग्लिहाल्यो । पग्लेको तरल आँखाबाट बग्न नदिई भित्रभित्रै त्यसै निलेँ मैले । सेनाको अनुहार हेरेँ नाकमुख छुट्याउन नसके पनि भर्खरको त्यस्तै २०÷२२ वर्षको केटा थियो । मन एकदम नमीठो भएर आयो । अमृत समानको चिया पिएको पनि एकदम खल्लो लागेर आयो । मैले प्रश्न गरेँ –“तपाईंले आफ्नो भागको चिया ल्याइदिनुभएको मलाई ?”
“के भो त ? मैले अर्को चिया पाइहाल्छु । मेसमा साथीहरु छन् ।”
“त्यसो भए मैले मात्र चिया खान पाएको त ? मैले त सम्झेकी थिएँ, यहाँ राखेका सबैले चिया खान पाए । भाइ ! मलाई सारै दुःख लाग्यो । अघि नै मैले थाहा पाएको भए, मैले चिया खाने नै थिइनँ । हिजो राती थिलथिलो पारेकालाई एक कप चिया खुवाउन पाएको भए कति हुने थियो ।”
“के गरुँ ? दिदी यहाँ चिया दिने अर्डर छैन । तपाईंलाई लुकाएर दिएको यो चिया । तपाईं बिचरा यस्तो उमेरमा पनि यसरी राख्नु परेकामा हामीलाई ठूलो दुःख लागेको छ । लौ, अब तपाईंले आराम गर्नुस् ।”
सेना फर्किने बित्तिकै ढोकामा ताल्चा लाग्यो । म हैरान भएँ । सेना गोदामभित्र पस्ने बित्तिकै ताल्चा खोल्ने, सेनाबाहिर जाने बित्तिकै फेरि ताल्चा मार्ने । कस्तो चलन हो यो ? अत्याधुनिक हतियार र बढी सेना भएको छाउनी ब्यारेकका सेनाहरु पनि त्यस्तो विधि काँतर, कायर, डरछेरुवा हुने मैले कल्पनासम्म पनि गरेकी थिइनँ । अनुहारमा नकाब भएका पछाडि हात बाँधेका ती अर्धलासहरुले के गर्लान् भनेर त्यस्तो विधि त्राहिमाम् भएका होलान् ? ती सेनाहरुको आफैमाथि पनि विश्वास रहेनछ । अविश्वासको आहालमा बसी, मात्र फूर्ति देखाइरहेका रहेछन् यिनीहरु ।
राती कुट्नसम्म कुटेर ल्याएको मानिस रातभरि ऊँ ऊँ गरी कनिरहेका थिए । बिहानपख सायद निदाएका हुन् वा बेहोस भएका, उनले कनेको सुनिएन । कठै ! मरेको कुकुर जत्तिकै फालिएका थिए । उनको परिवारको कल्पना गरी ठूलो दुःख र पीडामा म डुबिरहेकी थिएँ । घन्टीमा ट्वाङ्ग हानेको स्वरले मलाई झस्काइदियो । बिहानको छ बजेको सङ्केत दिएको थियो घन्टीले । भेन्टिलेटरबाट ध्वाँसे उज्यालो छरिसकेको थियो गोदामभित्र । सोचेँ अरु नगएको समयमा ट्वाइलेट जान पाए कमसेकम फोहर त हेर्नु पर्दैनथ्यो । उठेर मैले सल ओढेर सेनालाई बोलाएँ –
“भाइ, ए भाइ । मलाई ट्वाइलेट जानुछ ।”
“एकैछिन पख्नुस् है दिदी । ट्वाइलेटमा अहिले पानी छैन । पानी ल्याउने बित्तिकै म दिदीलाई लिन पठाउँछु ।”
ट्वाइलेटमा ल्याइपु¥याउने पानीको प्रतीक्षामा थिएँ म, मेरो नित्यकर्म त भताभुङ्ग भइसकेको थियो । मैले पानीसमेत खान पाएकी थिइनँ । त्यो फोहर मैलो जर्किनको पानी कसरी खाने ? सन्चो भएन भने अर्को आपत आइपर्ने आशङ्काले मैले पानी खाने साहसै गरिनँ ।
“सर मलाई पानी खान दिनुस् न । सर, मलाई प्यास लाग्यो अँ अँ रातीदेखि मलाई जरो आएको छ ।”
घाइतेले सकी नसकी पानी खान मागे । तर सेनाहरुले टेर्दै टेरेनन् । मैले सहनै सकिनँ र चिच्याएँ – “सुन्नुभएन ? पानी खान मागेको । उहाँले पानी खानुप¥यो भनेर सकिनसकी कराइरहनुभएको छ ? उहाँलाई पानी खान दिनुस् त ।”
बल्ल ताल्चा खुल्यो । सेनाको प्रवेश गरी उनी भएतिर गएको पदचाप सनेँ । भुनभुन कुरा गरेको सेनाको स्वर पनि सुनेँ तर के भनेका हुन् ? मैले बुझ्न सकिनँ । सेना बाहिर गई ढोकामा ताल्चा मारिहाल्यो । एकै छिनमा फेरि ताल्चा खुल्यो । सेनाको प्रवेश भयो ।
“दिदी पानी ल्याइ पु¥यायो । तपाईं ट्वाइलेट जाने भन्नुभएको होइन, उठ्नुस् । म तपाईंलाई लगिदिन्छु ।”
सेनाले मलाई ट्वाइलेटको ढोकासम्म पु¥याई दियो । घिउ हो वा तेलको टिन र अरु प्लास्टिकको अलि ठूलो कन्टेनरमा भरी पानी थियो । तर पानी एकदमै धमिलो भएकाले मैले कुल्ला गरिनँ । हात र गोडा मात्र पखालेर म बाहिर निस्केँ । सेनाले समातेर लैजाँदै गर्दा घामले मेरो सेलाएको शरीरमा मीठो स्पर्श गरेको थियो । गोदामभित्र पुग्ने बित्तिकै मलाई चिसो ओसले छोपिहाल्यो । मेरो आँखाका ज्योति एकसरो नकाबबाट छिरी घाइतेको शरीरमा खनियो । उनको अवस्थाले मेरो मुटु निचोरियो । खैरो पाइन्टमाथि कालो पेटी थियो । कम्मरभन्दा माथिको नाङ्गो शरीरमा बसेका लठ्ठीको डामहरुबाट रगत बग्न मात्र बाँकी थियो । टाउकोभरि धूलै धूलो थियो । दायाँ कुमले टेकी, कोल्टो परेको सुनिएको शरीर, अनुहार, खाने मुखको वरिपरि कट्कटिएको रगत देखेँ मैले । म अन्यौलको अन्धकारले ढलमलिइहालेँ । सेनाले समातेर मलाई झूलभित्रसम्म पु¥याइदिए । घाइतेको दुखाइ र एक्लोपन अवस्थाको घाउले म पल्टेँ । नकाब अलि माथि सारी भेन्टिलेटरबाट छिरेको उज्यालोसित आत्मसात् गरी त्यसैमा हराउन थालेँ म ।
घन्टीमा आइतबार बिहानको दस हान्यो । ताल्चा खोली ढोका उघार्ने बित्तिकै त्यही चिरपरिचित नमीठो गन्धले मेरो नाक समातिहाल्यो । शनिबार बिहानकै दृश्य दोहोरियो । उही मेसको मान्छे उही, थाल उही, भात उही अनि गन्ध पनि उही ।
शनिबार बिहानजस्तै दुई गाँस खाई थाल झुलबाहिर राखिदिएँ । सेनाले भनिहाले –“तपाईंले भात खान सक्नुभएन ।”
“खोई ? मीठो खाने मेरो बानी त छैन । तर खान सकिने खाना त चाहियो । यो भात त भाँडामा खुर्केर ल्याएको जस्तै छ ।”
“त्यो कसो भएको होला भने, हामीलाई बिहान नौ बजे नै भात दिन्छ । यहाँ दस बजे । अनि भात त सेलाउने भइहाल्यो । दिदी मेसको भात यस्तै हो । फरक के भने हामीले तातोतातो खान पाउँछौं । तपाईंहरुले पाउनुहुन्न । हामीले खाएर बचेको सेलाइ चपरी परेको भात फुटालेर ल्याएको हो ।”
“तपाईं सेनालाई खुवाउने यस्तो भातले कसरी कडा परिश्रम गरिरहनुभएको छ ? सागपात खान दिँदैन ?”
“अहँ दिंदैन ।”
“फुल पनि दिँदैन ?”
“अहँ दिंदैन ।”
“काँक्रो, अम्बा, नासपाती पनि खान दिंदैन ?”
“अहँ दिंदैन दिदी, दिंदैन ।”
म त तीन छक्क परेँ । मेरा आँखाअगाडि जर्नेलको घरमा काम गर्ने अर्दलीहरुलाई ल्याएको रासनका भारीहरु फैलिए । दाल, चामल कस्तो राम्रो ?! घिउ, तेल, हप्ताको दुई छाक मासु (खसीको) र अन्य सामानहरु पनि कति राम्रो ? बिचरा ज्यानको बाजी ठोकी युद्धको मैदानमा जाने, जानुपर्ने सेनाहरुको पेट यसरी काट्ने गरेको पत्र–पत्रिकामा पढेकी थिएँ । तर आँखाले भने देखेकी थिइनँ । अहिले आँखाले देख्दा मलाई के लाग्यो भने, सेनाका अधिकृतहरु सेनाकै पक्षमा नरहेको स्पष्ट भएको थियो । आफ्नो घरका पाल्तु कुकुरभन्दा पनि तल्लो स्तरका मानेका थिए । यो तथ्य गहन यथार्थ सेनालाई पनि थाहा नभएको होइन । तर बोल्न नसक्ने जनावर जत्तिकै बाध्य पाएँ मैले । विद्रोह जति आफ्नो पेटमा हुर्कन दिई मुखबाट धुँवा ओकलिरहेको मैले देखेँ ।
“दिदी ! तपाईं भोकै पर्नुभो । तपाईंलाई के मनपर्छ, तपाईं बाहिर बयान दिन जाने बेलामा भन्नुस् न । तपाईंले आफ्नो उमेर अनुसारको खाना त पाउनुप¥यो । यसरी भोक–भोकै बस्नुभयो भने तपाईं बिरामी पर्नुहुन्छ ।”
हुन पनि म बिरामी भएँ भने ठूलो समस्यामा पर्नेछु, त्यसैले चिया र पाउरोटीको माग गर्नुपर्ला भनेर सोचेँ मैले । तर म एक्लैले कसरी खाने ? मलाई भन्दा पहिले ल्याइएका, अर्धलासले मेरा अगाडि राखेका केटाहरुले पनि भात खान सकेनन् । तिनीहरु भोकभोकै राखेर मैले मात्र पाउरोटी र चिया खाने ? यो त सारै नै भएन । मेरो मुटु नै दुख्ने गरी राती कुटाइ खाएको, जरोले सताएका घाइते मेरो छातीमा अचानक बस्न आए । कठै, तातो पानी मात्र खुवाउन पाए पनि कति हुन्थ्यो ।
मैले उत्तानो पल्टेर टिनको छानामा क्वारक्वार्ती हेरिरहेकी थिएँ । बाहिरको टन्टलापुर घामको उज्यालो भेन्टिलेटरबाट गोदामभित्र चियाइरहेको थियो । बरु टाउको र शरीरको अन्य भाग सेलाएको म सहन सक्छु तर गोडा सेलाएको सहन सक्दिँन । सेलाएर हिउँ समान भएको गोडा कसरी तताउने ? मेरो ध्यान त्यसमा गयो ?
“दिदी ! तपाईं उठ्नुहोस् । तपाईंलाई बाहिर बोलाउनुभयो ।”
अचानक एउटा आशाको झिल्का मेरो मनमा चम्कियो । हिजो भनेका थिए – तपाईंलाई भोलि छाड्ने हाम्रो विचार छ । त्यस वाक्यले मेरो काटिएको बाहिरी संसारलाई अचानक जोडिदिएको थियो । अनायास मनको चरी स्वच्छ आकाशमा उड्न पाउने आशाले फर्फराइहाल्यो । छातीभित्र दुख्ने गरी बसिरहेको अन्धकार बिस्तारै हट्दै गएको आभासले शरीर रनक्क तातेर आएको थियो । म हौसलाको बैशाखी टेकेर उठेँ । अनुहारमा नकाब राम्ररी मिलाएँ । सल (ओढ्नी) ओढेँ । दायाँ हात झुलबाहिर पु¥याएँ । सेनाले मेरो हात समातेर मलाई जुत्ता लगाउन दिए । छुट्ने आशाको उज्यालोमा टेक्दै सेनाको सहाराले पहिलो ढोका नाघ्न नपाउँदै अचानक मेरो अनुहारमा पाँचै औंलाको छाप ढ्याप्प मार्ने बित्तिकै झसङ्ग भई म मिर्मिराइ हालेँ । मेरो मुटु त भरर पर्सीहाल्यो, मैले त बोल्न पनि सकिनँ । ढलमलिई लड्न लागेको मेरो शरीर सेनाले थामिदिएका थिए । को हो त्यो मान्छे ? किन मुखबाट एक शब्द ननिकाली मेरो अनुहारमा ढ्याप्प हानेको ? मैले केही पनि बुझ्न सकिनँ । कम से कम मलाई समातिरहेका सेनाले त बोल्नुपर्ने थियो । मेरो गोडा लगलग कामिरहेका थिए । मेरो नाक एकदमै दुखेकाले अनायास नाकमा पुगेको मेरो दायाँ हात ट्याप्प समातेर बडो नमीठो स्वरले हकारिहाल्यो –“तपाईंले नकाब नछुनुस् ।”
त्यस मान्छेले मेरो अनुहारमाथिको नकाब यस्तरी कसिदियो कि मलाई सास फेर्न गाह«ो भएकोले मैले भनेँ –“निकै कसियो । मैले सास फेर्न सकिनँ । अलि खुकुलो पारिदिनुस् ।”
“नकराउनुस् तपाईं । कस्या नकस्या हामीलाई थाहा छ । सयौंका अनुहारमा नकाब कसेको हात हो यो । बुझ्नु भो ? यहाँ तपाईंको मर्जी चल्दैन ।”
म त हर्लङ्ग भइ हालेँ । छुट्ने आशाले मनमा बलेको पिलपिले बत्ती झ्याप्प निभिहाल्यो । अचानक मसित त्यस्तो क्रोधी, अत्यन्तै रुखो जङ्गली व्यवहार किन गरियो ? नाक नै दुख्ने गरी अचानक मेरो अनुहारमा त्यस्तरी किन हानेको होला ? प्रश्नै प्रश्नको भुमरीमा फँसेर म छटपटिन थालेँ । मलाई नछोड्ने निर्णयको तीखो तीखो काँढाले ममाथि प्रहार गर्न थाले ।
“दिदी ! पाइला चाल्नुस् । दैलो नाघ्नुस् त । हो, अब बाँयापट्टि मोड्नुस् । अब सीधा हिँड्नुस् । पख्नुस् यहाँ अर्को ढोका छ नाघ्नुपर्ने ।”
दोस्रो दैलो नाघ्ने बित्तिकै म लड्न लागेँ । त्यहाँका इँटाहरु मिलेका थिएनन् । मैले टेक्ने बित्तिकै इँटा पल्टिहालेको थियो ।
“ए राम्ररी समात न । दिदी लड्न लाग्नुभो ।”
त्यही स्वर ! जुन स्वर पहिलोपल्ट मेरो कोठामा गुञ्जेको थियो । मेरो मुटुको चाल सामान्य भएको थिएन । त्यस सेनाको कैलो आँखा मेरो निधारमा बल्यो । मेरा पाखुरामा समात्नेहरु अरु फलामको जस्तै साह«ो हात पनि पुगेको थियो । निस्पट्ट अन्धकारले मेरा आँखा तिर्मिराएका थिए । मलाई कुन दिशामा लैजाँदै छन् ? थाहा पाउन नसके पनि खुला ठाउँको बासना भने आइरहेको थियो । मलाई कुर्सीमा बसाइदिए । घामको स्पर्शले शरीरमा मीठो न्यानो फैलिँदै गएकोले मनमा एक प्रकारको आनन्द लागेको थियो । भित्र उठिरहेको कम्पन पनि बिस्तारै सुत्न थालेको थियो ।
“दिदीलाई जाडो लाग्यो क्यारे । कुर्सीलाई दक्षिण फर्काइ देऊ त ।”
दक्षिण फर्केर बसेपछि, आगोको नजिकै बसेको जस्तो शरीर तातेर आएर पनि पानीलो गोडा भने तातेको थिएन । चिसोले जन्माएको शरीरभरिका तीखातीखा काँढाहरु भने मर्दै गइरहेका थिए । चर्को घामले पनि मेरो सेलाएको मुटुलाई तताउन सकेको थिएन ।
“शान्ता दिदी ! तपाईंलाई कस्तो छ ? ठीक छ हैन ?”
“मलाई कस्तो छ भनूँ म ? तपाईंको अगाडि बसिरहेकी छु । तपाईंले नै भन्नुस् – मलाई कस्तो देख्नुभएको छ ?”
“तपाईंले भातै खानु भएन रे । तपाईंलाई भात मीठो लागेन ?”
“भात मीठो नमीठोको सवाल होइन । खान सक्ने हुनुप¥यो ।”
That’s not our problem हामीले तपाईंलाई दाल, भात र तरकारी खान दिएका छौं । बुझ्नुभो ?”
यो कसको स्वर ? किन त्यस्तो रुखो पचाउन नसक्ने बोली ? को हो यो मान्छे भर्खर मात्र अनुहारमा ढ्याप्प हानेको सम्झेँ मैले । अनि नेमप्लेट घाँटीमा झुन्ड्याई खिचेको फोटोले मेरो मुटु नै समातेको थियो । मैले पचाउन नै नसकी जवाफमा भने मैले – ूत्जबतुक लयत यगच उचयदझि। ल्यत थयगचक। तपाईं मेरो उमेरमा पुगेपछि थाहा पाउनुहुनेछ यहाँको खाना, मलाई खान दिएको खाना कसको समस्या हो ? बुझ्नु भो ?”
“हामी तपाईंको उमेर जति बाँच्दै बाँच्दैनौं ।”
“तपाईं अहिले कहाँ बाँच्नुभएको छ । दिनको दसपल्ट मरिरहनुभएको छ । कताबाट आएर माओवादीले मार्ने हो ? परिवारलाई मारिसक्यो कि ? न अपहरण गरेर लगिसक्यो कि ? भन्ने डरले बारम्बार तपाईं मरिरहनुभएको छैन ?”
त्यतिबेला मेरो छातीमा दुख्ने गरी गएको राती कुटाइ खाई घाइते भएका, जरोले थला परेका अपरिचित तन्नेरी बस्न आएका थिए । प्रहार खप्न नसकी उनी रोएका चिच्याएका आमालाई पुकारेका आर्तनादले घाँटी नै समातेको थियो ।
“मैले के बिराएको थिएँ ? मलाई केही थाहा छैन । मलाई किन यातना दिनुभएको ? मरे नि आमा । मलाई बचाउनुस् आमा । मलाई मारे नि बा बा । हे आमा ।”
यही आर्तनाद गुन्जेको मेरो छाती ढुक्क फुलेर मेरो सास बढेको थियो । चुपचाप आक्रोशलाई दबाउने प्रयत्नमा थिएँ म ।
“शान्ता दिदी ! तपाईंसित सोधपुछ गर्नुपर्ने भएकोले तपाईंलाई लिन पठाएको हुँ । हेर्नुस् है । तपाईंले साँचो साँचो कुरा बताउनुभएन भने, तपाईंमाथि के बित्ने हो ? त्यसको जिम्मेवारी तपाईंले नै लिनुपर्ने छ ।”
मेरो मनमा चिसो पसिहाल्यो । कुन नयाँ कुरामा मलाई फसाउन लागे ? मसित सोध्नुपर्ने बाँकी प्रश्न केही पनि छैन । चिनेका मकहाँ आउने जाने गरेका कुनै भाइ या बहिनीलाई समातेर ल्याएको छ कि ? यातना खप्न नसकेर मलाई पोले कि ? मैले चिनेका जति एक–एकको अनुहार केलाउँदै गएँ ।
“भन्नुस् दिदी ! मनु हुमागाईं कहाँ छ ? तपाईंले उसको कन्ट्याक्ट प्वाइन्ट मात्र भनिदिनुस् ।”
रनक्क रिस उठिहाल्यो मलाई । मैले रन्थनिएर प्रश्न गरिहालेँ –“के म माओवादी हुँ ?”
“हामी माओवादी भनेर तपाईंलाई ल्याएका होइनौं । तपाईंलाई माओवादी भनेका पनि छैनौं ।”
अनि माओवादीको कन्ट्याक्ट प्वाइन्ट मसित किन सोध्नुभो त ? के तिनीहरुले मलाई कन्ट्याक्ट प्वाइन्ट दिएर राखेका छन् ? तपाईं सेनाहरुका हातमा साम दाम, दण्ड भेद आदि प्रयोग गरेर पनि समात्न नसकेको मनु हुमागाईंजस्ता ठूला माओवादीको कन्ट्याक्ट प्वाइन्ट मसित हुन्छ भनेर तपाईंहरुले कसरी ठोकुवा गर्नुभो ? गजब छ बा ! अलिकति त दिमाग लगाउनुस् ? लाजमर्दो सवाल ।”
“हामीलाई थाहा छ, तपाईंले ढाँटिरहनुभएको छ । तपाईंको जिद्दीले तपाईंले छुटकारा पाउन सक्नुहुन्न बुझ्नुभो ? तपाईं झन् फस्नुभएको छ । उसको बारेमा तपाईंलाई सबै थाहा छ । अझै पनि समय छ, भन्नुस् मनु हुमागाईं कहाँ छ ?”
म त आक्रोशको अग्निमा जलेर भष्म हुन मात्र बाँकी थिएँ । त्यति म असह्य भएकी थिएँ । के बोल्नु त्यस्ता एकोहोरो जङ्गलीहरुसित ? त्यसैले पत्थरको मूर्तिले बसिरहेकी थिएँ म ।
“तपाईं यसरी चुप लागेर बस्न पाउनुहुन्न । जवाफ दिनुस् ।”
“हेर्नुस् मलाई बढ्ता नजिस्क्याउनुस् । म मान्छे हुँ । जनावर होइन । मैले बारम्बार भनिसकेकी छु कि मनु हुमागाईंलाई म चिन्दिनँ । मैले चिनेकी आइमाईको नाम हो मनदेवी शर्मा ।”
“फेरि त्यही कुरा । मनदेवी शर्मा होइन । मनु हुमागाईं । मनु हुमागाईं ।”
“हेर्नुस् भाइ । अब अति भयो । मेरो शरीर तपाईं सेनाको कब्जामा छ । जे सजाय दिने इच्छा छ दिनुस् । योभन्दा बढी न मलाई एक शब्द बोल्नु छ न एक शब्द सुन्नु छ । बुझ्नुभो ?”
“हेर्नुस् दिदी ! मान्यवर भनेर तपाईंसित आदरपूर्वक व्यवहार गर्नाको मतलब यो होइन कि तपाईंले जे भन्नु भए पनि हामीले सकार्नु । तपाईंले हाम्रो प्रश्नको चित्तबुझ्दो जवाफ दिनुभएन भने, कसरी तपाईंलाई बकाउने हो ? त्यो तरिका हामीसित नभएको होइन । हद नाघेको अमानवीय तरिका जुन तरिका तपाईंले कल्पनासम्म पनि गर्न सक्नुहुन्न । त्यो तरिका अपनाउन तपाईंले हामीलाई बाध्य नपार्नुस् ।”