सुनेको र पढेको
मुस्ताङको र मुस्ताङतिरको निकै चर्चा सुनेको र पढेको थिएँ ।
भाग्यमानी रहेछौ भने कालीगण्डकीको किनारमा शालिग्राम पाउँछौ ।
मुक्तिनाथ क्षेत्र अत्यन्त ठूलो तीर्थस्थल हो, बौद्ध धर्मावलम्बी र हिन्दू धर्मावलम्बी दुवैको । त्यहाँ चौबिसै घन्टा पृथ्वीबाट निस्केको हावाबाट ज्योति फिँजिन्छ । त्यस्तै दामोदर कुण्ड भन्ने प्रसिद्ध तीर्थस्थल पनि छ ।
जापानबाट आएका एकाइ कावागुचीले महिनौं त्यहाँ बसेर नेपालबारे आफ्नो मन्तव्य बनाए ।
थाकखोलाको छेउका पुरातन समयका बासिन्दा थकालीले आफ्नो पहिचान र सभ्यता फैलाए ।
मुस्ताङी राजा जिग्मे पर्वल विष्टको पूर्खाहरुले हिमालपारिको त्यो भूभागमा बसेर तिब्बतका शासक र नेपालका शासकबीच सयौं वर्षदेखि सन्तुलन एवं आफ्नो अस्तित्व र वर्चस्व कायम गर्न सके ।
तिब्बतलाई चीनले लिएपछि तिब्बतबाट दलाई लामा भारतमा शरण लिन पुगे र लामा धर्मावलम्बीहरु खम्पा भई त्यतैबाट भित्र पसे । अनि बी.पी. कोइराला र नेपालका शासकको सुझबुझबाट आन्दोलन हल भएको मार्फा क्षेत्र मुस्ताङमै पर्छ । त्यस भेगका गुफामा सभ्यताका धरोहर बोकेका धर्मगुरुहरु बसेका हुन्थे । कोही–कोही त अहिलेसम्मै बसेका छन् । आफ्नो चिन्तन र सभ्यतालाई बचाइराखेका बौद्ध गुम्बा र गुफाहरु अझै आफ्ना गाथाहरु प्रवाहित गरिरहेका छन् । वनौषधिमा आधारित आम्ची उपचारविधि र थुप्रै जुडिबुटी अहिलेसम्म पनि प्रयोग गर्ने लामाहरु त्यतै बसेका हुन् ।
चोला फेरेपछि मानिसहरुको पुनर्जीवन हुन्छ भन्ने विश्वास गरी अन्तिम संस्कार कसरी गर्दा पुनर्जीवन सार्थक हुन्छ भन्ने कुरामा धर्मगुरु लामाको वचनलाई मानेर शवलाई अग्निदाह गर्ने, पृथ्वीमा नै गाड्ने, देहलाई टुक्रा–टुक्रा पारी नदीमा बगाउने, पशुपन्छीहरुलाई खान दिने र आमाको पेटमा अर्को बच्चा नपसुन्जेल मृतक बच्चाहरुलाई ढुङ्ग्रोमा सुरक्षित गर्ने जस्ता परापूर्वकालदेखिका विश्वासहरुलाई अहिलेसम्म राख्तै आएका मानिसहरु त्यतै छन् ।
हिन्दू धर्मावलम्बीले महाभारत युद्धताका द्वापरयुगमा पाँचभाइ पाण्डवकी साझा पत्नी भई बसेको गाथालाई जीवित राख्तै अहिलेसम्म त्यस भेगमा बहुपतिप्रथा रहेको छ ।
पछिल्लो समयमा शाहवंशीय राजा महेन्द्र र वीरेन्द्रले त्यस भेगको विशेष महत्व र परिचयलाई जोगाउन सकिन्छ भनेर मार्फामा आधुनिक कृषि फार्म बनाउने, त्यस क्षेत्रको संरक्षणका लागि संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्ज बनाएर त्यस क्षेत्रलाई छुट्टै लोक बनाउने अठोट गरे । संसारभरिकै उच्चतम भूभागमा अवस्थित तिलिचो ताल त्यतै छ, दामोदर कुण्डजस्तो तीर्थस्थल र बुद्धधर्मले मानेको छराङ गिलिङ क्षेत्रको संरक्षणमा विशेष रुचि लिइएको छ ।
यी सबै कुराले गर्दा राजा वीरेन्द्रले त्यस क्षेत्रलाई माया मात्रै गरेनन्, अत्यन्त आदर गरे, अभिभावकत्व प्रदान गरे । त्यस भेगमा बस्नेको मन जिते । त्यो कुरा जोसुकैले पनि प्रष्ट देखेका थिए ।
म वनौषधिमा अध्ययन र अनुसन्धान गर्ने पिपासु, प्रकृतिको सौन्दर्यप्रति मोहित, आफ्नो संस्कृतिप्रति गर्वसाथ गाँसिरहन इच्छुक व्यक्तिलाई एकपटक पोखराको सवारी शिविरमा राजा वीरेन्द्रले २०३५ सालमा अभिप्रेरित गरेका थिए —“सुरेश ! हेर, नेपाल ज्यादै राम्रो छ । अरुले भनेकोमा मात्र पत्यार गर्ने होइन, आफ्नै आँखाले सकेसम्म धेरै हेर । मुस्ताङ कति राम्रो छ, त्यहाँको संस्कृति कति मौलिक छ, त्यो आफैंले हेर !”
नदी तर्दा मुखभरि फिज ः
कुरा त्यस बेलाको हो, जब राष्ट्रिय शिक्षा समिति शिक्षाक्षेत्रको नीति निर्माण गर्ने सर्वोच्च निकाय थियो र त्यस समितिको पूर्णकालीन रुपमा काम गर्ने सदस्य–सचिव भएर म काम गर्दै थिएँ । त्यसअघि त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विभागमा म प्राध्यापन गर्थें । त्यस बेला इतिहास र बुद्धदर्शनमा विशेष दख्खल राख्ने खड्गमान श्रेष्ठले पद्मकन्या कलेजमा प्राध्यापन गर्दागर्दै परीक्षा नियन्त्रकको जिम्मेवारी बोक्नुभएको थियो । उहाँ मैले काम गर्ने राष्ट्रिय शिक्षा समितिमा करिब १ वर्ष उपसचिव तहमा काम गरी पश्चिमाञ्चल विकासक्षेत्रको शिक्षा निर्देशनालयमा का.मु. निर्देशक भई काम गरिरहेका अधिकृत हुनुहुन्थ्यो । उहाँलाई पश्चिमाञ्चल क्षेत्रका पहाडी जिल्लाहरुमा मलाई पनि पु¥याउने इच्छा आएछ, मलाई मुक्तिनाथ दर्शन गराउँदै धवलागिरी अञ्चलका चारवटै जिल्ला देखाउने रहर भएछ । मलाई पनि त्यो भेग, त्यताको संस्कृति, त्यताको प्राकृतिक सौन्दर्य, दुर्गम भेगका कठिनाइ, दुर्गम भेगमा पाइने वनौषधिहरुबारे प्रत्यक्ष हुने धोको र अवसर गुमाउन मन लागेन । त्यसमा पनि राजाले ‘नेपाल, त्यसमा पनि मुस्ताङ त बिछट्टै राम्रो छ’ भनेर भनिसकेका थिए ।
त्यता जान २०३६ सालको दसैँ र तिहारको बीचको समयमा जु¥यो र श्रीमती उर्मिलालाई लिई पोखरा पुगेँ । खड्गमानजीको छोरीसहित बिहानको समयमा आरएनएसीको जहाजबाट जोमसोममा ओर्लियौँ । ओर्लिनेबित्तिकै ओम्स लजमा सामान राख्यौं । तत्कालै जिल्ला शिक्षा समितिको बैठक बस्यो । जिल्ला पञ्चायत सभापति, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, भीमलाल गुरुङ र शिक्षा निर्देशक खड्गमान श्रेष्ठसमेतको उपस्थितिमा बसेको बैठक राम्रो रह्यो ।
माथिल्लो मुस्ताङमा धेरै गुरुङको बस्ती र निकै पिछडिएको । तल्लो मुस्ताङमा थकालीहरु बढी बस्ने र उनीहरु व्यापारमा पनि टाठाबाठा भएकाले कागबेनीमाथि र तल गरी मुस्ताङ झन्डै दुई भाग भएर प्रस्ट छुट्टिएको रहेछ । माथिल्लो भेगमा मुस्ताङी राजा जिग्मे पर्वल विष्टको बढी बोलवाला र रवाफ भएको थाहा भयो ।
एकछिनपछि दक्षिणतिरबाट निकै स्याँठ आउन थालेकाले ‘हिँड्न सकिँदैन’ भनी ३–४ वटा फुर्तिला मुस्ताङी घोडा भीमलालजीले बन्दोबस्त गर्नुभयो । घोडामा चढेर कागबेनी वा एक्लेपाटीमा गएर बास बस्ने विचारले ११ बजेतिर बाटो लाग्यौं । बतास त साँच्चै नै बिछट्टै जोडले चलेको थियो । झन्डै ढुङ्गाका टुक्राहरु उडाइरहेको थियो । २ घन्टाजति कालीगण्डकी तर्न लाग्यौं । खड्गमानजीकी छोरी जोडसित बगिरहेको गण्डकीको पानी हेर्दा निकै आत्तिइछन् र मुखभरि फिँज आए झन्डै मूच्र्छा पर्न लागिछन् । त्यस घोडाका दुवै साइडमा अरु दुईवटा घोडा लैजाऊ भनेर सइसलाई अह«ाएर छोरीलाई आँखा बन्द गर्न लगाएँ । त्यो उपायले काम दियो । पारि त¥यौं । १०–१५ मिनेटमा एक्लेपाटी पुगिहाल्यौं ।
सइसहरुले मलाई नै ठूलो मान्छे सम्झेर सोधिहाले — “साहेब ! आज माथि मुक्तिनाथ नै जाने कि यहीँ बस्ने वा कागबेनी जाने ?”
मैले सोधेँ ‘आज माथि नै पुगिन्छ त ?’ भनेर । ‘पुगिन्छ’ भने । ‘लौ जाऊँ त’ भनेँ । उकालो लाग्यौं । तत्कालै समस्या केही देखिएन । हिँडेका भए सास फेर्न लेकमा अक्सिजन कम भई गाह«ो हुन्थ्यो । घोडामाथि चढ्दा हामी काठमाडौंतिर बस्नेलाई कुनै महसुस भएन । मुक्तिनाथको मन्दिरनिर पुगेपछि पो मलाई डा. सीताराम अधिकारीले भनेको कुरा झल्याँस्स सम्झना भयो । ‘अल्टिच्युड सिकनेस’ कसैलाई भयो र रिँगटा लाग्ने, बमन हुने भयो भने के होला लाग्यो । ‘एक रात तलै बस्नु ठीक होला, त्यहाँ पुग्दा तातो पानी खुब खाने, लसुन बढी खाने, अदुवा खाने, ज्यादै गाह्रो भयो भने तत्कालै ओरालो लाग्ने, जबर्जस्ती कुनै काम नगर्ने’ भनेर सीतारामजीले सल्लाह दिनुभएको पनि माथि पुगेपछि मात्र सम्झेँ । खड्गमानजीहरुलाई पनि त्यति अनुभव रहेनछ । भीमलालजीहरुलाई त केही पनि हुँदैन भनेर ढुक्क रहेछ ।
तल खोला छेउछेउ हिँड्दा देखियो सेती नीलगिरीको डाँडा, कालीगण्डकीको कालोमाटो बगिरहेको कालीगण्डकी, खोलाको दुवैतिरका पाखो पूरै नाङ्गा, त्यहाँको भूगोल नै हिमालपारिको भएकाले पूरै बेग्लै ।
हामी कुरामै लट्ठिएका थियौं । बतासले भने हामीलाई निकै अत्याएको थियो । राति तातो पानी खुब पियौं । लसुन पनि चपाएको चपायै ग¥र्यौं । अलिअलि टाउको भारी भए पनि बेलुका दालभात खाई ओढ्नेभित्र घुस्रियौं । पहिलो दिन यसरी नै बित्यो ।
कपडा जमेर केकजस्तो
भोलिपल्ट बिउँझेर यसो बाहिर हेर्दा मुक्तिनाथमाथिको हिमाल, पारितिर अगाडिको हिमाल, असाध्यै राम्रा घरहरु, त्यहीँको छाना नहाली बनाएका घरहरु, सबै देखिए । हिउँ पर्ने ठाउँ भएकाले अत्यन्त चिसो थियो । ‘यस्तो चिसो ठाउँमा नुहाउँछु भनेर कस्सियौं भने कठ्याङ्ग्रिएर जम्न बेर छैन, राम्ररी मुख धोई दर्शन गर, पूजा गर, त्यही राम्रो हुन्छ’ भनेर उर्मिलालाई मनाएँ । अरुलाई पनि त्यही भनेर अघिअघि लागेँ । मन्दिरनेर उनीहरुभन्दा १०–१५ मिनेट पहिले हामी पुरुषहरु नै पुग्यौं । ‘मुक्तिनाथमा पुगेर १०८ धारामा पुग्दा पनि नुहाउन पाइएन भनेर जिन्दगीभर पछुताउने हुन् कि, मलाई नै कोस्लान् कि’ भन्ने विचार गरी हत्तपत्त लुगा फुकालेर धारामा पसेँ । तल अति चिसो थियो । प्रायः हिउँ जमेर चिप्लो भएको थियो । कुनै धारामा पानी आएको, कुनैमा पानी जमेको थियो । सबै धाराको पानी टाउकोमा परोस् भनेर छिटोछिटो हिँड्न खोजेँ । नुहाइसकियो । लुगा फेरेर अन्डरवेयर उठाउन खोजेको त पानी जमेर केकजस्तो भइसकेछ । छेउमा आगो बालेको रहेछ, त्यतै लम्किएँ । ‘लौ, सकिने रहेछ’ भनेर महिलाहरुलाई पनि ‘अब नुहाएरै दर्शन गरौं’ भनी हौस्याउन पुगेँ । सबैले राम्रैसित खुसी भएर नुहाए । अनि मुक्तिनाथको दर्शन ग¥यौं । दनदन बलिरहेको ज्वाला हे¥यौं । सबै धेरै खुसी भए । फर्केर तातो चिया र केही खानेकुरा खायौं । घाम ताप्दै गयौं । यति ठूलो तीर्थको यति राम्ररी दर्शन गर्न पाउँदा खुब खुसी लाग्यो ।
करिब ३ घन्टामा जोमसोम आइपुग्यौं । त्यहीँ खाना खायौं । उर्मिलाहरु भोलिपल्ट जहाजबाट पोखरातिर फर्किने, हामीहरुचाहिँ अर्थात् म, खड्गमानजी र भीमलालजी मुस्ताङको तल्लो भेगका स्कुलहरु हेर्दै, प्राकृतिक रुप पनि हेर्दै, संस्कृति र जीवनशैली पनि हेर्दै मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत जिल्ला हुँदै स्याङ्जा निस्कने कार्यक्रम बनायौं । त्यो दिन पनि बतास चल्न लाग्यो । हिँड्ने कुरै भएन । बेलुका त्यहीँको माध्यमिक विद्यालयमा जोमसोमका छात्रछात्राले देखाएको सांस्कृतिक कार्यक्रम रुचिपूर्वक हे¥यौं ।
भोलिपल्ट पोखरा हुँदै फर्किनेलाई त्यता ७ बजेभन्दा अगाडि नै उडायौं र हामी तलतिर लाग्यौं । म अलि चाँडो हिँड्ने हुँदा अघिअघि हुन्थेँ र अरु आइपुगुन्जेल त्यहाँको स्कुलमा पुगी पहिले कक्षा अवलोकन गर्थें । विद्यार्थीहरुको स्तर आफैं हेर्थें र पछि प्रधानाध्यापकलाई र अरु शिक्षकलाई भेट्थें । शैक्षिक स्तर राम्रो रहेको देख्थेँ । मैल गाउँको एउटा प्राथमिक स्कुल हेरेपछि डाइरेक्टर, जि.शि.अ. र निरीक्षकहरु आइपुग्थे । मेरो परिचय पनि दिन्थे । चिया–बिस्कुट खुवाई सत्कार गर्थे ।
मार्फाका लागि राजा वीरेन्द्रको सोच
त्यहाँबाट अघि बढ्यौं । मार्फा निकै व्यवस्थित थकालीको बस्ती रहेछ । पहाडमै पेन्टिङ गरी बुद्धमूर्ति बनाएको, त्यहाँका स्थानीय गुम्बा र दुवैतिर सदियौंदेखि बनाएको पुरानो शैलीका घरहरु । ती सबै हेर्दै घोडाका बथानसँगसँगै हिँड्न थाल्यौं । त्यहाँको निम्न माध्यमिक विद्यालयको अवलोकन ग¥यौं । स्कुल घर राम्रो, अनुशासन राम्रो र पढाइ राम्रो थियो । त्यसपछि खाना त्यहीँ खायौं । मासु नभई खान अलि गाह«ो । मासु भनेको चौँरीगाईको सुकुटी । त्यो मासु त्यहाँका बासिन्दाले ढुक्कैसित खाँदा रहेछन् । हामीले त्यस्तो सुकुटी खाएनौं । हाम्रा लागिचाहिँ भेडाच्याङ्ग्राको मासु बनाइएको थियो । खाना खाएपछि कृषि अधिकृत र राजासित राम्रै परिचित पासाङ गुरुङ शेर्पासित भेट ग¥यौं । उनी त्यहाँ सक्रिय थिए । त्यहाँ स्याउ, ओखर, आरु, आरुबखडा, हाडेबदामहरुको खुबै राम्रो बगैंचा बनाइएको थियो ।
मेरो मनमा एउटा विचार आयो । तिब्बतबाट नेपाल पसेका तर भारत जाने भिसा नभएका खम्पाहरुले नेपालमा के गरेर बस्ने ? तिनलाई कसले तह लगाउने ? केही वर्ष मार्फाको खोलापाारि सानो टारजस्तो ठाउँमा केही इलम गरेर बस्ने विचारले थन्क्याइएका तर पछि कोही कार्पेट उद्योगतिर र केही मोनास्ट्रीतिर लागेर अलमलिएका खम्पाहरुका लागि खाली जग्गामा एउटा व्यावसायिक शिक्षालय खोल्ने र कृषिको कार्यक्रम मार्फासित मिलाई सञ्चालन गर्ने सम्भाव्यता मेरो मनमा आएको थियो । खड्गमानजीसित आफ्नो विचार बाँडेँ पनि । बागलुङमा हर्टिकल्चर क्याम्पस खोल्ने, त्यहाँ खेती पनि गर्ने, अनुसन्धान पनि गर्ने र त्यस काममा उच्च पहाडी मुस्ताङतिरको भेगमा मार्फा फार्म खोली स्याउ, ओखर, एप्रिकट, पिच र केही वनौषधि लगाउने, त्यहाँबाट २–३ हजार फिट तल दाना, तातोपानीतिरको उपत्यकामा सुन्तला, निबुवा, कागतीजस्ता सिट्रस फ्रुटस लगाउने, अझै दुई हजार फिटजति तल बागलुङको फाँटमा गर्मी मौसम भएको ठाउँमा आँप, कटहर, मेवा, उखु, कोभी, भान्टा, काँक्रो, फर्सी लगाउने, तीनै भेगमा आलु, तरुल लगाउने सोच राजाको थियो । त्यस्तो बागवानी कलेज बनाउने इच्छा राजाले हामीलाई बताएका थिए । त्यही बमोजिम तयारी गर्न निर्देशन पनि दिएपछि अघिल्लो वर्ष राजाले नै उपलब्ध गराएको हेलिकोप्टरमा म, पशुपतिशमशेर, जगत्मोहन अधिकारी, कृषि सङ्कायका डिन नेत्रबहादुरजी बागलुङ र दानामा पुगेका थियौं । ढोरपाटनतिर पनि त्यस्तै आर्थिक क्रियाकलाप गर्ने सोचाइ राजामा रहेको पनि बुझेको थिएँ ।
यस्तै कुरा सोच्तासोच्तै अगाडि बढ्यौं । डेढ घन्टाजति तल आएपछि धवलागिरीको पर्वतशृङ्खला, माथिपट्टि पारिपट्टि अन्नपूर्णका शृङ्खला, त्यतैतिर नीलगिरी पर्वतहरुबाट लगातार झरिरहेका झरना, तल बगिरहेकी कालीगण्डकी, अलि माथि बाढीबाट बारी जोगाउन सुन्दर ढङ्गसित लहरै लगाइएका लहरेपीपलका पोथ्राहरु हेर्दै थकालीको नामुद बस्ती टुकुचे आइपुग्यौं । त्यहीँ एकाइ कावागुची केही वर्षपहिले महिनौं बसेका थिए । भूपी शेरचन जस्ता कवि, योगेन्द्रमान शेरचन जस्ता युवा नेता, अनङ्गमान शेरचन जस्ता व्यापारी जन्मिएको थलो त्यो रमणीय स्थानमा अडियौं । एउटा निम्न माध्यमिक स्कुलको अवलोकन ग¥यौं ।
जिउदो गाईको रगत खाने ठाउ“मा
हामीले त्यहीँ अलिअलि नास्ता लियौं र ओरालो लाग्यौं । हिमालयको साँच्चैको काख भनेर हामीले भारतीय सिनेमा हेरेको जस्तो मनमोहक स्थल आयो । अब भने बिस्तारै धुपीका रुखहरु भएको हरियो जङ्गल पनि देखा पर्न थाल्यो । हिमालदेखि उत्तरको भेगबाट हिमालको काखकै भेगमा आएको जस्तो लाग्न थाल्यो ।
केही तल पुग्दा थाकखोला भेटियो, जसको नामबाट थकाली जाति चिनिएको थियो । त्यो खोलामा १०–१२ किलोमिटरमाथिबाट धवलागिरी पर्वतमा जमेर पग्लँदै आएको हिउँ मिसिएको पानी बग्दै थियो । खोला तर्न थाल्यौं । असाध्यै चिसो र ठिहि¥याउने पानी भएकाले त्यस खोलालाई कोही कोही बोक्सी खोला पनि भन्दा रहेछन् ।
खोला तरेपछि अरु आधा घन्टा या एक घन्टाजति हिँड्यौं । अलि माथि राम्रै बस्ती थियो । सुन्यौं त्यहाँ वर्षमा ठूलो मेला लाग्छ रे, त्यस मेलामा चरिरहेको चौँरीगाईको नसा काटी त्यसबाट बगेको रगत मानाका माना खाए शरीर धेरै स्वस्थ हुन्छ भनेर स्थानीय मान्छे सबैजसोले पिउँछन् रे !
साँझ–साँझ हुन लाग्यो । त्यहाँको कोवाङ भन्ने ठूलै बस्तीमा पुगेछौं । त्यहाँ भर्खर खुलेको माध्यमिक स्कुलको अवलोकन ग¥यौं । त्यो स्कुल मुस्ताङ जिल्लाका दुईमध्ये एउटा स्कुल रहेछ । जिल्ला पञ्चायतका प्रभावशाली नेता, सायद जिल्ला पञ्चायत सभापति रुद्रमान शेरचन त्यहीँका थिए । त्यताका भद्रभलादमीहरु हामी आएको सुनेपछि जम्मा भए । विकासका प्रयास र प्रयासअनुसार फल पाएका उदाहरणहरु देखिए । मूल थकालीले बोलेपछि त्यहाँ कसैले काट्न नसक्ने, उसको बोली नै अकाट्य हुने परम्परा त्यहाँ रहेछ । ती सबै कुरा बुझ्यौं । कावागुचीकै समयदेखि सम्पर्क भएर जापानका बासिन्दासित त्यहाँको मितेरी सम्बन्ध जोडिएको कुरा पनि हामीलाई सुनाइयो ।
अर्को रोचक कुरा के देखियो भने पाहुनालाई पहिलो छाक आफैंले विनापैसा खुवाउने, राति बस्न दिने, ओढ्ने–ओछ्याउने पनि दिने, त्यसको भोलिपल्टदेखि भने पैसा लिने गर्दा रहेछन् । पोखरातिरदेखि बोकेर ल्याएका वस्तुहरु च्याङ्ग्रा–खच्चडमा बोकाई ल्याउँदा महँगा थिए । आउने मान्छे दुईजना भए उनीहरुका लागि सानो साइजका, ५–७ जना भए अर्कै साइजका र अझ धेरैजना भए अर्कै साइजका कसौंडी, कराई, डाडू, पन्यू र भाँडाहरु टलक्क टल्काई लोभ्याउने ढङ्गबाट प्रायः सबै पसलमा सजाएर राखिएका थिए । बेलुका बस्नेलाई स्नेहपूर्वक थकाल्नी महिलाले रक्सी खुवाउँदा रहेछन् । थकालीहरुमा घरव्यवहार महिलाको नेतृत्वमा चल्दो रहेछ । पुरुषहरु बाहिर खेत जोत्ने, तलतिरबाट सामान ओसारपसार गर्ने, ऊनीका वस्तु कात्ने, ध्यान गर्ने काम गर्दा रहेछन् ।
बेलुका सबै कुरा बुझ्यौं । हाम्रा लागि पेट्रोमेक्स बालिएको थियो । जोमसोमपछिको यो पहिलो बास थियो ।
शिक्षालय खोल्ने धार्मिक प्रेरणा
भोलिपल्ट उठ्यौं । मुख र हातखुट्टा राम्ररी धोई बिहानको चिया पियौं र त्यहाँका हँसिला–रसिला महिला–पुरुषसित बिदा भई तलतिर लाग्यौँ । एक–डेढ घन्टामा लेते कालापानीको सानो उपत्यकामा पुग्यौं । त्यहाँबाट पनि ती पर्वत–शृङ्खला जतातिर हेरे पनि उभिइरहेका देखिन्थे । झरनाहरु झरिरहेका थिए । हेर्दाहेर्दै बाक्लो हरियो वन भएको ठाउँमा पुग्यौं । वसन्त गौचन र रोमी गौचनहरुले चलाएको लजमा पुगेछौं । सत्कार एकदम राम्रो थियो । उनीहरुझैँ त्यहाँका अरु युवाहरु पनि उत्साहले भरिभराउ थिए ।
एउटा पर्यटकीय महत्वको शिक्षालय सगरमाथा राष्ट्रिय निकुञ्ज वा अन्नपूर्ण क्षेत्रमा बनाउने सोच मैले बनाएको थिएँ । पर्वतारोहण, त्यताका वस्तुहरु, जैविक मलबाट उब्जाइएका कृषि पैदावारका स्वादिष्ट खानेकुरा, त्यतैका मानिसले रमाउँदै जीवित राखेका नाचगान आदिलाई गाँसेर त्यहीँका युवालाई वैदेशिक व्यापार सिकाउने धोको थियो । त्यसैले ‘तिमीले खुमजुङमा स्थापना गरेको हिमालयन ट्रस्टबाट त्यस्तो शिक्षालय बनाउन सघाइदेऊ न’ भनेर एडमन्ड हिलारीलाई भनेको पनि थिएँ । सगरमाथा चढेको २५ वर्षको उत्सव मनाउन तेन्जिङ सेर्पा र हिलारी आएको बेला उनीहरुले राजासित भेट्ने दिन मैले पनि राजासितै भेट्ने समय पााएकोले ती आरोहीहरुसँग राजालाई पर्खेर बसेको बेला मैले त्यो कुरा गरेको थिएँ । हिलारीले कुरा सुनेका थिए, वचन दिएका थिएनन् ।
दुई दिनपहिले मात्र विष्णु भगवान्को तीर्थस्थल मुक्तिनाथको दर्शन गरेको भएर हो कि कालीगण्डकीको तीरैतीर हिँडेर संसारका उच्चतम दसवटा शिखरभित्र पर्ने हिमालको चुचुरोको बीचमा पुगेको बेला यति राम्रो संसार सृजना गर्ने भगवान्को भूमिमा एउटा प्राविधिक स्कुल स्थापना गर्न पाए भगवान्को चरणमा कति सार्थक सेवा हुन सक्ने थियो होला भनी धार्मिक प्रेरणा जाग्न पुग्यो । मनमनै संकल्प गरेँ यो काम मैले गर्नुपर्छ भनेर । साथी सीतारामजीले पनि अति राम्रो स्थल र उपत्यका हो भन्ने सुझाव दिनुभएको थियो ।
यस्तै कल्पना गुत्थै ओरालो लाग्यौैं । पछाडि फर्किन्थ्यौं, स्वर्गजस्तो भूमि देख्थ्यौं । त्यहीँ खाना खाएका पनि थियौं । साढे दुई घन्टाजति हिँड्यौं र घासा भन्ने ठाउँमा पुग्यौं । त्यो पनि बेँसीजस्तै ठाउँ, तर अर्कै किसिमको राम्रो । पहिले स्कुल हे¥यौं । त्यहाँका शिक्षक, विद्यार्थी र स्थानीय उत्साही जनसमुदायसित भेट ग¥यौं । त्यहाँको वनौषधिका बारे खासै कुरा भएन । धर्मगुरुहरुसित पनि भेट भएन ।
करिब २५ हजार जनसङ्ख्या भएको मुस्ताङ जिल्लाको त्यस ठाउँलाई पछि छाड्दै अगाडि बढ्यौं । साँझ–साँझ हुन थालेको बेला पोहोर हेलिकोप्टरबाट आएको दाना भन्ने ठाउँमा पुग्यौं र एउटा लजमा बास बस्यौं । त्यस दिनका थुप्रै अनुभवहरु थिए शिक्षाका, पर्यटनका, प्राकृतिक सौन्दर्यका र थकाली संस्कृतिका । थकाइ पनि लागेको थियो । स्थानीय जनतासित केही जिज्ञासाहरु बाँड्यौं र सुत्यौं ।
अन्त्यमा,
काठमाडौं फर्किने क्रममा गाडी चढेपछि धवलागिरी अञ्चलको रोचक, शिक्षाप्रद र सार्थक एक साताव्यापी यात्रा पूरा गरेको र वर्षमा यसरी नै एकपटक हिँडेरै देशका थुप्रै ठाउँमा जान आँट जगाएको कुरा मनमा आयो । ती क्षेत्र, विशेष गरी अन्नपूर्ण क्षेत्रको संरक्षण गर्ने कुरामा राजपरिवारको रुचि र देन प्रभावकारी रहेको, प्राकृतिक सम्पदा, संस्कृति र अर्काको संस्कृतिप्रति आदर रहेको, पहिलेका गुम्बा र लामाहरुप्रति पनि राम्रो आदर रहेको राम्ररी नै अनुभव गरेको थिएँ । त्यस क्षेत्रको विशेषताले क्रमशः विदेशी पर्यटकहरुलाई आकर्षण गर्दै गएको मैले स्पष्ट देखेको थिएँ ।
बहुपतिप्रथा, पुनर्जीवन, लामागुरुलाई सोधेर गरिने अन्त्येष्टि आदिबारे यस भ्रमणमा धेरै थाहा पाउन सकियो । शिक्षाको अवस्थामा केन्द्रित हुनुपरेकाले त्यस्ता विषयहरुलाई विस्तृत रुपमा हेर्न नसक्नुचाहिँ स्वाभाविकै हो ।
त्यो यात्रापछि काठमाडौं फर्किंदा मेरा मनमा हामी नेपाली जातिका केही विशेषताहरु आए ः
चाडबाड परिवारका सदस्यले सधैं उस्तै गरी मनाउँछन् । धर्मभीरु भएका कारणले हो कि ? परिवारका अन्य सदस्यले चाडबाडमा सामेल नहुँदा ज्यादै नरमाइलो मान्ने गरेको हो कि ? भ्रमणलाई अनावश्यक मानेर त्यसमा खर्च गर्ने औचित्य नदेखेर वा हैसियत नभएर हो कि ? काममा व्यस्त हुँदाहुँदा बल्लबल्ल पाएको छुट्टी घरैमा जम्मा भएर मनाउनमा नै बानी परेर हो कि ? मौसमका दृष्टिकोणले दसैं–तिहारमा जम्मा हुनैपर्ने, वर्षातमा खोलानाला बढेर गार्हो हुने, हिउँदमा निकै जाडो हुने, जाडोबाट बच्न खोज्दा महँगो पर्ने, राम्रो ठाउँ विकट र उच्च पहाडी भागमा नै पर्ने, मिल्ने साथी पनि प्रायः नपाइने जस्ता समस्याले आन्तरिक पर्यटन बढिरहेको रहेनछ ।
केही दिनका लागि पैदल यात्रामा जाँदा बस्ने ठाउँ, खाने ठाउँ, ओढ्ने–ओछ्याउने कुरा प्रायः सफा राख्न नसकिने, खर्च बाँड्ने तरिका खोज्नै नचाहने भएर पनि भ्रमण नगरिएको हुन सक्छ । नेपालीहरुको जीवनशैली नै यस्तो छ कि अत्यावश्यक कुरा नै जुटाउन हम्मेहम्मे पर्छ । काम न काजसित एकातिर हिँड्नु भनेको जिम्मेवारी बहन गर्न नखोज्नु हो भन्ने प्रवृत्ति देखिन्छ ।
त्यसरी हिँड्दा अचानक बिरामी पर्ने, दुर्घटनामा पर्ने अवस्था पनि आउन सक्छ भनेर डराउने गरेको पनि हुन सक्छ ।
मेरो बालककालमा हप्ता–हप्ता घर छाडी हिँड्न अभिभावक पटक्कै नरुचाउने । साथी भेट्न उस्तै गाहो । स्लिपिङ ब्याग र न्यानो कपडा चाहिने, खानै नपाई सुत्नुपर्ने अवस्था पनि आउन सक्ने, भन्नेबित्तिकै भरिया नपाइने, पाइए पनि महँगो हुने अर्थात् शुल्क तिर्न नसकिने स्थिति थियो । पछि सरकारी सेवा गर्दा सरकारले टीएडीए दियो भने जान सकिने तर टीएडीए दिन सुहाउने काम पनि हुनुपर्ने, अफिसमा बजेट हुनुपर्ने, आफूमाथिका हाकिमले कामको औचित्य देख्नुपर्ने, पैदल हिँड्दा हिँडेको पैसा पनि पाइने, राति बसेको ठाउँमा पैसा प्रायः तिर्नु नपर्ने तर सरकारले १०–२० रुपियाँ दिने प्रावधानले अलिकति लोभ्याउन सक्ने । अफिसको हाकिम आफैं भए पनि अलि सजिलो पर्ने । त्यस्तो स्थिति मलाई नोकरी सुरुको गरेको १०–१२ वर्षपछि मात्र जुर्न थाल्यो । कतिपटक त अरुको सत्कारले गर्दा आफूलाई भार घट्ने पनि हुने भयो ।
अझ पछि त बानी नै पर्न थाल्यो । नौला–नौला ठाउँ हेर्ने इच्छा पनि जाग्न थाल्यो । भरिया आदि खोज्नु नपर्ने, बस्ने–खाने ठाउँ पनि सजिलै पाउने भएपछि यो लत बढ्न थालेको जस्तो लाग्छ ।
आफ्नै जीवनका विभिन्न अवस्थामा भिन्नाभिन्नै रुपमा अवसरहरु आउन थालेको भएर पनि भ्रमणमा रुचि बढेको हुन सक्छ ।
जे होस्, मुस्ताङको यात्रा गरिसकेपछि दुर्गम जिल्लाका लागि बनाइएका सरकारका विशेष नीति र विदेशी सहयोगको प्रभावकारिताबारे जानकारी प्राप्त गर्ने र यथार्थ रुप हेर्ने उद्देश्यले हुम्ला–जुम्लाको भ्रमण गर्न पनि म उत्साहित भएको थिएँ ।
(स्वर्गमा पैदलबाट)