गत तीन दशकदेखि यता भारत र नेपाल दुवै राष्ट्रको साहित्यिक फाँटमा देखापरेकी दार्जीलिङकी स्थापित नारी हस्ताक्षर, कथाकार, उपन्यासकार तथा कवयित्री श्रीमती विन्द्या सुब्बाको परिचय पाठकसमक्ष राख्नु त्यति अनिवार्य छैन तथापि यिनका लेखनयात्रालाई सार रूपमा राख्दै यहाँ दुईवटै सङ्ग्रहका कथाकारिताबारे सामान्य रूपले प्रकाशित पारिनेछ ।
श्रीमती विन्द्या सुब्बाका मूल लेखनविधा हो आख्यान । तर यिनको कलम कवितात्मक भावाभिव्यक्तिमा पनि निकै तिखारिएको बोध हुन्छ । साहित्यिक यात्राको थालनी सागरमा छापिएका जीवनफूल (सन् १९६८) नामक कविताविधाबाट गरेकी सुब्बाको कविताप्रतिको मोह र चाह कहिलेकाहीँ विभिन्न पत्रपत्रिकामा प्रकाशित एवम् विभिन्न ठाउँमा साहित्यिक भेलामा पठन गरिएका उत्कृष्ट कविताहरूबाट थाहा लाग्दछ । उक्त पहिलो प्रकाशनको तीन वर्षपछि मात्र यिनको पहिलो कथा जलन (सन् १९७१) शीर्षकमा काठमाडौंबाट प्रकाशित हुने दर्पणमा छापिएको पाइन्छ । सत्तरीको दशकबाट आरम्भ गरिएको यिनको कथालेखनयात्रा आजपर्यन्त कहीँ कतै नबिसाई, नअल्मिलिई निरन्तरतालाई पक्रिएर सक्रिय रूपले अघि बढिरहेको छ ।
मानवजीवन नै कथा हो । हाम्रो जीवन कथा लिएर सुरु हुन्छ र कथा दिएर टुङ्गिन्छ । कथामा जीवनको एउटा महत्वपूर्ण क्षण वा कथाकारको आफ्नै दृष्टिकोण युगीन धारणा, अनुभूति र आवेगको प्रस्तुति हुन्छ । यसलाई कथाको गतिशील स्वरूप मानिन्छ । यही गतिशीलतासित कथाकारको सिर्जनाशक्ति साथै नयाँ स्वरूपमा बाँचेको हुन्छ ।
विन्द्या सुब्बाको कथालेखनयात्रालाई मात्र दृष्टिगत गर्दा २१ वटा कथाहरूको पहिलो सङ्कलन कथाक्रम सन् १९८४ भन्दा १८ वटा कथाहरू गाभिएको दोस्रो सङ्ग्रह हस्पिस (सन् २००३) सङ्ख्यात्मक दृष्टिले कम भए तापनि गुणात्मक आधारमा यो धेरै उच्चकोटिको हुन गएको छ । त्यसो हुनुका कारण यी दुईवटा कथासङ्ग्रहको प्रकाशनमा झन्डै १९ वर्षको फरक परेको छ । निश्चय नै विज्ञ पाठकसमूहले यिनको अध्ययन, चिन्तन, मनन तथा परिपक्व अनुभवबाट उत्कृष्ट कृतिसिर्जनाको नै अपेक्षा साँच्दै आइरहेको छ भन्न सकिन्छ ।
हुन त पहिलो सङ्ग्रहको दाँजोमा यसचोटि कथाकारले केही कथाहरूलाई छाडेर केही कथाहरूमा पात्र चयन र विषयचयनमा नौलो स्वाद दिन चेष्टा गरेकी छन् । ती कथाहरू हुन् हस्पिस, क्याथार्सिस, अन्ना, कृष्णचूडा र पलाश फुल्ने देशबाट र एक जोर सेता परेवा । यही केही कथाहरूमा पनि यिनको व्यक्तिवादी स्वर गुन्जिएको छ । कथाकार स्वयंले पनि यस आभासलाई आत्मनिवेदन शीर्षक दिएर नै यसरी व्यक्त गरेकी छन् –“एक चौथाइ कथाहरू नितान्त व्यक्तिगत, आत्मनिवेदन जस्ता पनि छन् । पूर्ण निर्वैयक्तिक विषयमा कथाहरू लेख्ने मेरो प्रतिबद्धता यस सङ्कलनमा पनि केही–केही खण्डित भएको छ ।” कथाकारको उक्त भनाइमा इमानदारी छ । आफ्ना कमीकमजोरीहरू यसरी स्वयंले औंल्याउन ठूलो मन र आँट दुवै चाहिन्छ । ती विशेष गुणहरू कथाकार सुब्बामा विद्यमान देखिन्छन् तर अघिबाटै यति सचेत हुँदाहुँदै यिनी यसचोटि पनि आफ्ना कोमल भावना र कलम दुवैलाई लगाम लगाउनदेखि चुक्नु बडो दुःखलाग्दो कुरो हो । हेरौं यो उदाहरण – दुई दिनको बिदा मिल्दा म यस समुद्र किनारमा आएकी छु, केही साथीहरू पनि छन् तर अब मलाई श्रीमान्जी तिमी नभए कतै राम्रो नलाग्ने भएछ । थाहा छैन मानसिक रूपले कहिलेदेखि यसरी पराश्रयी भएँ ।कृष्णचूडा र पलाश फुल्ने देशबाट, पृष्ठ ४९ । यस्तै अर्को कथा बोनसाई भएर तिमी गमलामा फुलमा पनि यिनका आफ्ना व्यक्तिगत जीवनको झलक तथा श्रीमान्सम्बन्धी प्रसङ्गहरू प्रत्यक्षतः भित्रिएका छन् जो पाठकवर्गलाई सहजै थाहा लाग्दछ ।
कथाक्रमदेखि हस्पिससम्मका यात्रालाई हेर्दा यिनले यसचोटि पाठकवर्गको साहित्यप्रतिको अवधारणा, समयअनुसार बदलिँदो रुचि र मागलाई धेरै ध्यानमा राख्दै आएकी छन् । यति हुँदाहुँदै पनि केही विषय भने अलिकति रूप फेरेर आएको छ त्यो हो रोग अर्थात् यिनका केही कथाहरू रोगमा आधारित छन् । क्षयरोग र क्यान्सरजस्ता भयानक रोगहरू कथाक्रममा हाँगाबाट खसेको फूल, सहर र त्यो बेसुर मान्छे तथा हीनताबोधमा मर्मस्पर्शी ढङ्गमा चित्रित पाइन्छ । जीवन धान्ने क्रममा नर्सिङ शिक्षण पेसामा कार्यरत विन्द्या सुब्बाले आफ्नै दैनन्दिनका भोगाइहरूमा देखिने, भेटिने, सम्बन्ध राख्नैपर्ने विभिन्न संक्रामक एवम् ज्यानमारा रोगलाई हस्पिसका हस्पिस कथामा एड्स मन, पहिलो कुना सपना पूरा गर ममा क्यान्सर तथा अन्नलाई मानसिक रोगले पीडित बनाइएको कथाव्यथा लेखेको पाइन्छ ।
विभिन्न पृष्ठभूमिलाई समातेर कथाको निर्माण गर्ने यिनी आफ्नै परिवेश, वातावरण साथीभाइसितको उठबसबाट कथासामग्री लिने गर्छिन् ।कथाक्रममा धेरैजसो कथाहरू ग्रामीण परिवेशमा हुर्किएका छन् भने हस्पिसका कथाहरू पहाड–मधेसका सहरहरू हुँदै महानगरी कोलकतासम्मका परिभ्रमणमा पुगेका छन् । दुवै सङ्ग्रहमा सामाजिक, पारिवारिक, स्थानीय, सांस्कृतिक तथा प्राकृतिक परिवेशको खुबै राम्रो झलक पाइन्छ ।
एउटा विशेष अञ्चलमा मात्र सीमित नरहने कथाकार सुब्बाले पहिलो कथाङ्ग्रहमा समाहित नगरिएको छुट्टै राष्ट्रिय पृष्ठभूमि तथा समसामयिक संवेदनशील विषय कारगिल युद्धलाई यसचोटि आत्मसात् गरी देशलाई तिम्रो एक मुठी माया भए पुग्छ देशप्रेमले युक्त कथा लेखेकी छन् ।हस्पिसमा सङ्ग्रहित यस कथामा कथाकार स्वयं पुरुष पात्रका रूपमा चित्रित भई त्यहाँ घटिरहेका हरेक वीभत्स एवम् खतरनाक क्षणहरूलाई अनुभूत गर्दै एकजना देशरक्षक सिपाहीले आफ्नो प्राण साथै घरपरिवारलाई समेत त्याग गरेर कस्तो सङ्घर्षपूर्ण जीवन बिताउन परिरहेछ त्यसको वर्णन र चित्रण गर्नमा कथाकारको कलम सक्षम भएको छ । देशसेवामा समर्पित वीर सिपाही आफ्नी धर्मपत्नीलाई आत्मविश्वाससित यी कुरा यसरी व्यक्त गर्छन् –“मेरा सहिद साथीहरू बडो सम्मानसाथ त्यहाँ दार्जीलिङ मेलवरिपरि आइपुगे । यहाँबाट पु¥याउन गएका फौजी भाइहरूले ल्याएको खबर केही केही सबैले सुन्यौँ । थाहा छैन तिमीमा कस्तो प्रतिक्रिया भयो यसको । मलाई सम्झेर साह्रै विह्वल भयौ, यति त म जसरी पनि भन्न सक्छु । तर ती वीर सहिदहरूले पाएको उच्च सम्मान र मूल्याङ्कनलाई देखेर तिमीलाई पनि सहिदकी पत्नी हुने इच्छा लागेन ?” (पृ. ४१) । यस कथामा पत्नीलाई पति सहिद भएको खण्डमा दुःख र पीडाले छाती पिटेर रुनु होइन तर त्यस कटु सत्यलाई सामना गर्न तयार बस्ने तथा सहिदपत्नी भएर सगौरव बाँच्ने मूलमन्त्र दिने काम भएको छ । यहाँ यिनको लेखन र वैचारिक स्तर आफू बाँचेको समाजदेखि धेरै माथि उठेको छ ।
श्रीमती सुब्बाको कथाकार व्यक्तित्व सामाजिक यथार्थवादी हुनाका साथै यिनका केही कथाहरूमा मनोवैज्ञानिक प्रवृत्ति पनि निहित छ । दार्जीलिङे वर्तमान समाजलाई देखेर आमाबाबुको आफ्ना अति प्रिय सन्तानप्रति उनीहरूको दुव्र्यवहारले गर्दा मोहभङ्ग भएको यथार्थमाथि आधारित कथा हो मोहभङ्ग । यसलाई एउटा सामाजिक यथार्थवादी कथा मान्न सकिन्छ । यिनका सुरुका कथाहरूमा समाजवादी आदर्शवादी स्वर गुञ्जित छ भने हालमा आएर यिनी आफ्ना कथाहरूमा बढी आत्मकेन्द्रित देखिन्छन् । पारिवारिक सम्बन्धका कुराहरू, असफल वैवाहिक जीवन, विवाहिताको एक्लोपन, पारिवारिक समस्या, यिनका दुवै सङ्ग्रहमा दोहोरिएका छन् । यस्ता कथाहरूमा टुक्रिँदो परिवारको समस्या र व्यक्तिलाई आत्मकेन्द्रित बनाइदिएको छ ।
यिनी पात्रहरू निम्नवर्गीय र मध्यमवर्गीय समाजबाट ग्रहण गर्छिन् ।कथाक्रममा अधिकतम निम्नवर्गीय समाजको चित्रण पाइन्छ, जहाँ गरिबीका कारणले उत्पन्न समस्या, भोक, अभाव, वेरोजगारीका समस्याले उत्पन्न गरेका आर्थिक सङ्कटहरू तथा भेदभावमा आधारित कथाहरू जीवन एउटा बाँच्नुपर्ने बाध्यता, विवशित साँझहरू र संस्कार आदिमा देखापर्दछन् ।हस्पिसमा तिमी, म र यो पहाड कथा मात्र निम्नवर्गीय खटिखाने, कुल्ली काम गर्नेमा आधारित छ त्यसबाहेक अन्य कथाहरू मध्यमवर्गीय परिवारसित सम्बन्धित छन् । हाम्रो आफ्नो समाजदेखि अन्य समाजबाट टिपिएका पात्रा हो मुनियाँ । यहाँ पलाँस फुल्नलाई वसन्त पर्खदैनमा मुनियाँजस्ती पीडित नारी अमानवीय व्यवहार गरिने समाजबाट छे । यहाँ पाखण्डी समाजका मानिसहरूसित मुनियाँको विवशता देखाइएको छ ।
सुब्बाका कथाहरूमा एउटा प्रमुख तत्व भएर प्रयुक्त देखिन आउँछ प्रेमप्रसङ्ग । पतिपत्नीमाझ होस्, युवक–युवतीबीच होस् यिनी प्रेमलाई मिलनमा हाँसेको, मौलाएको फस्टाएको भन्दा पनि अधिक असफल भएको देख्तछिन् ।कथाक्रमको मेला र हस्पिसको परी तथा केही कथाबाहेक सरिता र मोहनका कथामा नायिका सरिता न त प्रेमभावलाई आफूभित्रबाट बाहिर प्रस्टिन अनुमति दिन्छे, न त मोहनसित वैवाहिक बन्धनमा बाँधिन नै चाहन्छे । तर मोहन भने उसलाई जीवनभर माया गरि नै रहन्छ । एकतर्फी प्रेम भएको यस कथामा सरिताको मृत्युले मोहनको चोखो मायालाई कुनै सफल निष्कर्ष दिन सक्दैन ।संस्कारमा पनि मोहन सुरुमा प्रगतिशील विचारधाराको देखिन्छ र उसले आफ्नो परिवारको विरोधमा गएर आफूले प्रेम गरेकी शीलालाई भगाएर बिहे गर्ने साहस त गर्छ । तर ब्राह्मण परिवारको छोरो भएकोले परिस्थितिवश उसले अन्तमा गएर आमाबाबुले हेरिदिएका आफ्नै जातका कान्छी स्वास्नी बिहे गरेर प्रेम र लोग्नेस्वास्नीको पछि बन्धनलाई लत्याउने धृष्टता गर्दछ । यहाँ पनि प्रेम असफल भएको छ ।पलाँस फुल्न वसन्त पर्खदैनमा सानै उमेरमा विवाह भएकी मुनियाँको लोग्नेको मृत्यु एउटा दुर्घटनामा हुन्छ । त्यसपछि ऊ आफ्नै ससुरालीबाट परपुरुषको हातमा बेचिएको र वेश्यावृत्ति अपनाउनमा बाध्य भएको कथा छ । आफ्नैहरूबाट ठगिएकी, लुटिएकी, पतिप्रेम र वैवाहिक जीवनको सुखबाट वञ्चित मुनियाँ अधुरो प्रेमलाई नै स्वीकारेर जीवन जेजस्तो रूपमा आउँछ त्यसरी नै सम्झौता गर्दै बाँच्ने प्रयास गर्छे ।
हाम्रा वरिपरि जहाँ मानिस व्यस्तताको जीवन बाँचिरहेका छन् त्यस परिवेशमा व्यक्ति–व्यक्तिका बीचमा कतिको एक्लोपन निराशा, बाध्यता, विवशता, निस्सासिंदोपनको स्थिति उत्पन्न भएको छ त्यसलाई कथाकार स्वयं अनुभूत गर्छिन् । यसरी मेरो खून र पसिनाले सिंचेर बनाएको यो मेरो घर पनि कहिले लाग्दछ, प्रकाशकै विरोधाभासस्वरूप यसलाई पनि मैले खडा गरेकी हुँ । दीपक र राहुलका आफ्ना आफ्नै कोठा छन् । छेउमा बाटापट्टि मैले आफ्नो यो कोठा राखेकी हुँ, आवश्यकताका सबै थोकहरू भएर पनि कहिल्यै लाग्दछ मानौं एक दिन कोही आउँछ भनेर कोठाले पनि पर्खिरहेछ । जति नै आफूलाई सम्पूर्ण बनाए पनि जति नै दरिलो भएर बसे पनि नीमा मनको कतै एक कुनामा एउटा प्रतीक्षा र दुखाइ सधैं रहँदै आएको छ । (पृ. ११५)
पात्रहरूलाई शिक्षित मध्यमवर्गबाट टिपेर यिनले कथाक्रमबाट अनुराधा (अनु ! यो के भनेकी तिमीले) म पुरुष पात्र (सहर र त्यो बेसुर मान्छे), दिनेश (अस्तित्वको खोज) शान्ति गुरुमा (शान्ति गुरुमा) र हस्पिसबाट विजय काका (एक जोर सेता परेवा) जस्ता शिक्षण पेसामा कार्यरत आदर्शवादी चरित्रका रूपमा उभ्याएका छन् भने नर्स पेसा अर्को आदर्शवादी मानवसेवामा समर्पित र सम्बन्धित पात्रा छन् म (के म उसको एकान्त मृत्युको खबर पर्खिरहेछु) र प्रभात (हाँगाबाट खसेको फूल) आदि । कथाकारिताको साहित्यिक व्यक्तित्वले प्रश्रय पाएका कथाहरू हुन् हस्पिसबाट समुद्रका दुईचार मात्र छालहरू, बोनसाई भएर तिमी गमलामा फुल र कथाक्रमबाट मनस्थिति ।
प्रकृतिको हरियालीमा असाध्यै रम्ने, फूलहरूको सुन्दरतामा रमाउने श्रीमती सुब्बा आफ्ना अघिल्ला कथाहरूमा भन्दा पनि पछिल्ला कथाहरूमा पहाड–मधेस दुवै भेकका फूलहरूलाई लिएर कथा लेख्छिन् – पलाँस फुल्नलाई वसन्त चाहिँदैन, कृष्णचूडा र पलाँस फुल्ने देशबाट र बोनसाई भएर तिमी गमलामा फुल आदि । उक्त कथाहरूको पठनपछि मात्र सुब्बाका कथा संसारमा जीवन र प्रकृतिको अशेष सामथ्र्य र सम्बन्ध रहेको बुझिन्छ ।
यिनका कथाहरू घटनाप्रधान र चरित्रप्रधान दुवै छन् । चरित्रप्रधान कथाहरूमा प्रतिनिधिमूलक चरित्रहरूको छनोट विभिन्न क्षेत्रबाट भएका छन् । नर्स, शिक्षक, सैनिक, ड्राइभर, कुल्ली काम गर्नेदेखि लिएर विभिन्न आयुवर्गका तथा युवायुवतीहरू वर्तमान सामाजिक जीवनबाट टिपिएका यिनीहरू कोही शारीरिक रोगले ग्रसित छन्, कोही मानसिक रोगले पीडित छन् त कोही रोगी जीवनप्रति सकारात्मक धारणा राख्ने पनि छन् ।
कथाकार विन्द्या सुब्बा विशेषतः नारीप्रधान कथामा केन्द्रित छन् । भारतीय नेपाली कथासाहित्यमा यिनको लेखनप्रवृत्तिले कहीँकतै नारीवादी कथाकार हुनुको छाप पनि छोडेको छ । यसलाई यिनको कथाकारिताको एउटा महत् पक्ष मान्न सकिन्छ । नारीप्रधान कथाहरूमा केही नारीचरित्र कमजोर, विवश, असहाय, एक्लो तनाउग्रस्त, सङ्कोची रूपमा चित्रित छन्, कोही आफ्नो अस्मिता र अस्तित्वप्रति सचेत, आत्मविश्वासी, दृढ सङ्घर्षी पनि देखिन्छन् । यिनी एकजना आत्मविश्वासी र मनोबलले पूर्ण भएकी नारी पात्राको चित्रण यसरी गर्छिन् –“तिमीहरू नसुर्ताउनु, केही दिनको कुरा हो, म सधैंभरि तिमीहरूमाथि आश्रित हुन आएकी छैन, आत्मनिर्भर भएर बाँच्नुलाई नै मैले यो पाइला उठाएकी हुँ ।” (एक जोर सेता परेवा, पृ. ८७) । यसरी नारी कथाकारले नारी सोचाइ र अनुभवका हरेक भोगाइलाई यथार्थ व्याख्या गर्ने प्रयास गर्नुलाई नारीवादी दृष्टिकोण मान्न सकिन्छ । यसै कथामा चित्रित १३ वर्षकी छोरी प्रियामा पनि आत्मविश्वासको भाव उत्तिकै प्रखर रहेको प्रमाण यस भनाइले दिँदै छ –“अहिले तपाईं मात्र जानुहोस् आमा म पढ्दैछु, यहीँ पढ्छु र पछि फेरि तपाईंकै लागि काम लाग्नेछु । मामाकहाँ त बस्नुहुन्छ, म आइहाल्छु बेलाबेला” (पृ. ८८) । यसरी जीवनमा पढेर केही गर्ने अठोट तथा जन्म दिने सङ्घर्षरत आमाको ठूलो सहारा बन्ने आशावादी र जीवनवादी विचारले यस छोरीलाई कथाकार सुब्बाले पाठकवर्गअघि महान् देखाएकी छन् ।
सामाजिक, नैतिक बन्धन तथा संस्कारगत परिवेशको प्रभावले पनि केही नारीहरू जति नै शिक्षित भए तापनि आफ्नो मनका कुराहरू खोलेर अरूसमक्ष भन्न नसक्ने खालका पनि हुन्छन् अर्थात् यस्तो स्थिति पनि हाम्रो समाजमा विद्यमान रहेको छर्लङ्ग चित्रण यिनका कथामा पाइन्छ ।अनु ! यो के भनेकी तिमीले ? कथाकी अनुमा विशेषत त्यो सङ्कोची भाव चित्रित देखिन्छ ।
नारीलाई सफल स्वास्नी तथा आमाका भूमिकामा चित्रण गरिएको एउटा सफल र बेजोड पारिवारिक कथा हो परी । यस कथामा पत्नी नैनाबारे पनि सोच्छन् –“स्वाभाविक हो नैनालाई रिस पनि उठ्नु । फेरि पोखाउने ठाउँ नै कहाँ छ र ? अलिक कचकचे भए पनि आमा बाँचुन्जेल धेरै आड थियो उसलाई । कुनै–कुनै बर्खामा त बिधा टिप्न पनि गई । कसरी यत्रो चेत र उत्साह छ ऊसँग ? के आमा हुनुको उच्चताले छुन सकेकी ती ज्ञानहरू ? यसपटक नैनाको पत्रमा ऊ थाकेकी छ रिसाएकी पनि छ । तर नयाँ आशाहरू साँच्न बिर्सेकी छैन । त्यसैले जसोतसो यसरी विदा लिएर गइरहेको छ ।” (पृ. ५७, ७९) । यहाँ एकजना पतिले आफ्नी पत्नीप्रति नारी आत्मसम्मानका कुराहरू सोचेका र विचारेका छन् । यस दृष्टिले पनि कथाकार सुब्बालाई नारीवादी लेखिकाका रूपमा स्वीकार्न सकिन्छ ।
नारीपात्रहरूमा कथाक्रमका शान्ति गुरुमा (शान्ति गुरुमा), स्वावलम्बी, स्वाभिमानी, सिद्धान्तवादी देखिन्छे अर्की पात्रा सुधा (मेला) स्वाभिमानी र दृढ छे भने म पात्रा (मृत्युको प्रतीक्षा) ठीक विपरीत स्वभावकी छे जो आफू नारी हुनुको विवशता र असहायपन यसरी प्रदर्शित गर्छे –“यस जन्ममा एउटी निर्बल, शक्तिहीन, कमजोर स्वास्नीमान्छे भएर जन्मेँ । धोका, कुण्ठा र निराशाबाहेक अरू केही बटुल्न सकिनँ यस जन्ममा”(पृ.२७) । एकातिर यिनीभित्र जीवनदेखिको वितृष्णा, आफूसित लोग्नेको साथ नहुनुको पीडा गुञ्जित पाइन्छ । अर्कातिर हस्पिसमा म पात्रा (एक जोर सेता परेवा) शान्ति गुरुमा र सुधाझैं स्वावलम्बी र आत्मविश्वासी प्रवृत्तिकी देखिन्छे जोसित लोग्नेको साथ नभएर पनि ऊ त्यस कटु क्षणलाई पहाडजस्तै अटल भई यसरी सामना गर्छिन् –“तर यसैलाई मेरो कमजोरी सम्झिदियो र झन् फाइदा उठाउन थाल्यो ममाथि । तर जब मैले शिर उठाएर विरोध गर्न थालेँ घरमा अशान्ति भयो र त्यो अशान्तिको दावी मात्र । यतिबिघ्न रातका एकएक पलहरू सोचेर पनि परिकल्पनाहरू ठीक तय गर्न सकिएन । तर आत्मनिर्भर भई शिर ठाडो गरेर हिँड्ने बाटो खोज्ने नै छु म ।” (पृ. ८८, ८९) अर्की एउटी नारी पात्र पुरुषप्रति विरोध भाव राख्दै आफू नारी हुनुमा मर्यादित र प्रतिष्ठित ठान्छिन् यसरी (के थाहा ऊ आउने हो वा होइन) “जीवनप्रति त्यस बेला सम्पूर्ण कोणबाट म एकैचोटि निराश भएँ, आफैसँग पनि एक प्रकारको वितृष्णा भयो मलाई । तर मभित्रकी स्वास्नीमान्छे प्रथमचोटि विद्रोह र विरोधका निम्ति बेग्लै प्रकारले सचेत भइउठी, जब मैले सुनेँ प्रकाश अर्कै एउटीसँग बिहे गरेर बसेको छ । म चाहन्थेँ प्रकाश फर्के पनि नफर्के पनि थाहाचाहिँ पाओस् कि स्वास्नीमान्छे भनेको उसले सम्झेको कमजोर निरीह जीव मात्र होइन, आवश्यकता र स्थितिअनुसार प्रेम, सौहार्द, सङ्घर्ष र विद्र्रोह जे पनि गर्न सक्ने एउटा सशक्त मान्छे नै हो ।”(पृ. ११३) । यस कथामा नारी र पुरुषमा समानताको भावना देखाइएको छ । पुरुषप्रधान समाजमा नारीले भोगिरहेको पीडा, स्वास्नीले पाउनुपर्ने अधिकार र माया आदिको अभिव्यक्ति नारीवादी लेखनमा हुने गर्दछ । यस दृष्टिले उक्त नारी पात्रले यहाँ यस्तो भेदभावबाट पूर्ण रूपले मुक्तिको चाहना तथा आग्रह राखेको स्पष्ट हुन्छ ।
यिनका दुवै सङ्ग्रहका नारी पात्रमा आमाको भूमिका कहीँ प्रधान रूपमा चित्रित छ कहीँ गौण रूपमा ।शान्ति गुरुमा, लक्ष्यबोध, उज्यालो हुनुभन्दा अघि, विवशित साँझहरू, हीनताबोध, आमा, हस्पिस तथा अन्ना आदि कथाहरूमा आमाको भूमिका प्रमुख रहेको पाइन्छ । तर बाबु चरित्रलाई श्रीमती विन्द्या सुब्बाले उति उल्लेखनीय भूमिकामा राखेकी छैनन् । कथामा बाबुप्रति श्रद्धाभाव र प्रेमभावको चित्रण सायदै यिनीबाट भएको हुनुपर्दछ । हुन त नारीवादी दृष्टिकोणको आधारमा भन्नुपर्दा नारीवादी वास्तविक रूप एकाधिकारवादी पितृसत्तात्मक मानसिकताबाट नारीले मुक्तिको आग्रह राखेको बुझिन्छ र कथाकार सुब्बा पनि यस मानसिकताबाट केही हदसम्म प्रभावित रहेकी छन् भन्न सकिन्छ ।शान्ति गुरुमामा दिनभर मातेर बस्ने कान्छा बाबु, जसलाई शान्ति गुरुमा एक आँखाले हेर्न रुचाउँदिन, उसको कान्छा बाबुसित कुनै सरोकार सामन्जस्य नरहेको कुरा कथाले प्रमाणित गराउँदछ । ऊ उसलाई आफ्नी आमाको कान्छा पतिका रूपमा मात्र हेर्छ । यतिमै बाउछोरीको सम्बन्ध सीमित पाइन्छ ।क्याथार्सिसमा बाबुको मृत्यु अगावै भएको छ ।जीवन एउटा बाँच्नुपर्ने बाध्यतामा सधैं मदमा डुब्ने एकजना कर्तव्यहीन तथा मर्यादाहीन बाबुप्रति छोरी उमाको दृष्टि त्यस्तै नकारात्मक छ ।अन्नामा अन्नाको मृत्युको कारण नै उसको बाबु देखाइएको छ । उक्त कथाहरूमा छोरीको बाबुप्रति विरक्त र आमाप्रति अनुरुक्त भाव रहेको पाइन्छ । यी कथामा पात्राहरू पितृद्रोही र मातृभक्त छन् । तर किन हो कथाकार सुब्बा आफ्ना कथाहरूमा मृत्युलाई बढी आत्मसात् गर्दै त्यसैमा जीवनको अर्थ खोज्न पुग्छिन् । जीवनदेखि हारेका, एक्लोपनको दुखाइले विरक्तिएका, लोग्नेसित छुट्टिएर बसेकादेखि लिएर रोगले पीडित सबै पात्राहरूको मृत्यु भएको छ सरिताको मृत्यु (सरिता र मोहनको कथा), वीणा र केशरको मृत्यु (हाँगाबाट खसेको फूल), मधुको मृत्यु (हीनताबोध), स्वास्नीको मृत्यु (क्याथार्सिस), अन्नाको मृत्यु (अन्ना), पत्नीको मृत्यु (भन पहिले तिम्रो कुन सपना पूरा गरूँ म), बडीको मृत्यु (कथा) आदि ।
यी मृत्युहरूमा अन्नाको मृत्युको कारण मनावैज्ञानिक छ । मनोविश्लेषणवाद, जहाँ मातृरति र पितृरति ग्रन्थीको कुरा आउँछ, श्रीमती सुब्बाका नारी पात्रहरूको आफ्नो बाबुप्रति पितृरति बोध हुन्छ –“मेरी आमाको त्यो सुन्दर अनुहार बाबु बेलाबखत मातेर घरमा आउँथे, डंकले कराउँथे आमालाई, केश तानिदिन्थे र कहिले अनुहारै सुन्निने गरी घुस्सी दिन्थे । एक दिन त जलिरहेको सिग्रेट आमाको निधारमा मारिदिए । दाजुमा के प्रतिक्रिया हुन्थ्यो ठीकसँग भन्न सक्दिनँ अहिले, तर म बाबु र साँझसँग असाध्य डराउँथेँ ।”(पृ. ३४) अन्ना कथामा आफ्नो कथामा आफ्नो बाबुले आमाप्रति गरेको शारीरिक अत्याचार र दुव्र्यवहारले ऊ बाबुलाई प्रेम होइन घृणा गर्छे । त्यही घृणित बाबुको मन नपर्दो अनुहार आफूले जन्म दिएको छोरासँग मिल्दोजुल्दो पाउन थाल्छे र विस्तारै अन्नाभित्र मनोविकारको विकास हुँदै जान्छ । उसलाई यो जीवन निस्सार र शून्यताले भरिएको लाग्छ, ऊ आफूलाई नितान्त एक्लो र असुरक्षित अनुभव गर्छे र यीबाटै नै ऊ मरणोन्मुख बन्दै जान्छे । अन्तमा ऊ आत्महत्या गरेर आफ्नो सुखी र रमाइलो परिवारसँग बिदा लिन बाध्य हुन्छे । फ्रायडले मान्छेको मनलाई मूल दुई प्रवृत्तिहरूमा बाँडेका छन् जीवनोन्मुख र मरणोन्मुख प्रवृत्ति । अन्नाले दोस्रो प्रवृत्तिलाई आत्मसात गर्छिन् । यहाँ अन्नाको व्यक्तित्व अन्तर्मुखी छ । उसले आफूभित्रको अटुट पीडा कसैअघि यतिसम्म कि आफ्नै जीवनसाथीसमक्ष पनि खोलेर भन्न सक्दिन । तसर्थ ऊभित्र दिनप्रतिदिन विकसित हुँदै गइरहेको घृणित भावलाई आफै स्वपीडित तथा ध्वंसात्मक हुँदै जान्छे । आफ्ना पीडा र दुखाइबाट मुक्ति पाउन उसले आत्महत्याबाहेक अन्य कुनै विकल्प पाउँदिन ।
चरित्रप्रधान पटकथाहरूका अतिरिक्त घटनाप्रधान कथाहरूमा श्रीमती सुब्बाले ससाना विषयलाई पनि अति मर्मस्पर्शी ढङ्गबाट टिप्न सकेकी छन् । यी कथाहरूमा कथाकारको इमानदारीता स्पष्ट झल्किएको छ ।अनु ! यो के भनेकी तिमीले कथामा सामान्य कुरालाई पनि खुबै सुन्दर रूपले प्रस्तुत गरिएको छ ।आँखाभरि अर्को कथा र यो शाश्वत छ सामान्य वर्गका कथाअन्तर्गत पर्छन् ।
कथाहरूमा आन्तरिक दृष्टिविन्दुको प्रयोग अधिकतर रूपले भएको छ । कथाकार कहीँकहीँ पुरुष पात्रका रूपमा पनि देखिन्छिन् ।क्याथार्सिस, मोहभङ्ग, तिमी मरे यो पहाड, भन पहिले तिम्र्रो कुन सपना पूरा गरूँ म ?तथा समुद्रका दुईचार मात्र छालहरू आदि कथाहरू बढी आत्मविश्लेषित पनि भएका छन् । बाह्य दृष्टिकोणद्वारा लिखित कथाहरू छन् अन्ना, प्रतीक्षा, सरिता र मोहनको कथा उज्यालो हुनुभन्दा अघि, मेला र जीवन एउटा बाँच्नुपर्ने बाध्यता ।उल्लिेखित कथाहरू प्रायः गम्भीर संरचनाभित्र पर्छन् ।
भाषाप्रयोगका दृष्टिले श्रीमती विन्द्या सुब्बा एकजना दक्ष एवं कुशल शिल्पी देखिन्छिन् । आफ्ना पात्राहरूलाई वर्गअनुरूप भाषा बोल्न लगाउँछिन् ठूल्ठूला दर्शन, सिद्धान्त तथा उपदेशका कुराहरू छाँट्न कर लगाउँदिनन् । स्वाभाविक भाषा प्रयोग छ, क्लिष्टता कहीँ छैन । यिनका कथाकारितामा देखापर्ने एउटा प्रमुख गुण नै हो भाषासंवादको प्रस्तुतीकरण । काव्यमय भाषामा कथात्मक प्रस्तुतीकरणले गर्दा आज विन्द्या सुब्बा अन्य नारी कथाकारहरूभन्दा नितान्त मौलिक तथा भिन्न देखिन सक्षम छिन् । पात्रको मनका कुराहरूको विश्लेषण पनि यिनी काव्यमय ढङ्गमा यसरी गर्छिन् हेरौं हस्पिस कथाबाट एउटा उदाहरण –“दिनका रमिता र उज्यालाहरू बाँच्न नपाई यो साँझ छ, आज सित्थै निसारता तथा आत्महीनताका यो अँध्यारो छ । म छु र मजस्तै एक्लै उभिएको यो मधुवन छ । दुखाइहरूलाई आराम दिने, खान रुचाउने र निद्रा लगाइदिने औषधिहरूले भरिएको यो एउटा कोठा छ । जिन्दगी आज जेजस्तो छ सबै यहीँनेर सीमित छ । जतिजति दिनहरू बित्नेछन् रोगहरूको चक्रव्यूहमा म फस्दै जानेछु र अस्त्रविना म त्यसै परास्त हुनेछु । थाहा छैन आज कसरी स्वीकार गर्न सक्दैछु म यो पराजयलाई ? यो नियतिलाई ?”(पृ. १५)
दार्जीलिङको वर्तमान स्थितिबोध यिनी सजिलो र गम्य भाषामा यसरी गर्छिन् –“त्यो पहाड एक पाखादेखि बिस्तारै भत्किँदै गएको अहिले मैले अनुभव गरेँ ।”(तिमी, म र यो पहाड, पृ. १००)
पत्रात्मक शैलीमा बद्ध कथा छन् देशलाई तिम्रो एक मुठी मात्र भए पुग्छ र के थाहा ऊ आउने हो वा होइन ?पूर्वदीप्ति शैलीको प्रयोग पाइने कथाहरू हुन् एक जोर सेता परेवा, पलाँस फुल्नलाई वसन्त पर्खदैन र समुद्रका दुईचार मात्र छालहरू ।
मिलन र सुखमय भावमा अन्त गरिएका कथाहरू छन् मेला, परी तथा सहर र त्यो बेसुर मान्छे ।
यिनका धेरैजसो कथाहरू समाजको दुखाइ र मानिसको सङ्घर्षसित जोडिएका छन् । यिनी भावुक तथा संवेदनशील कथाकार भएकी हुनाले स्वयंलाई माध्यम बनाएर आफ्नो समयको कथा पाठकसामु राख्न चाहन्छिन् । भनिन्छ आजका कथाकारहरू कथा लेख्ने तथा सुनाउने पक्षमा भन्दा स्वयंले त्यस विशेष क्षण र अनुभवलाई बाँध्ने प्रयास गर्छन्, यसैको समर्थक कथाकार सुब्बा पनि देखिन्छिन् ।
आजसम्म समर्पित, क्रियाशील तथा जागरुक कथाशिल्पी श्रीमती विन्द्या सुब्बाले आफ्ना दुवै कथासङ्ग्रहका यात्राक्रममा धेरै घटनाहरू, पात्रपात्रा, चरित्रहरू, भोगाइहरू, सामाजिक यथार्थ, आदर्शवादका कुराहरू देखिसकेकी र लेखिसकेकी छन् ।हस्पिसका कथाहरू पढेर अहिलेघरि यिनमा नारीवादी लेखन तथा मनोवैज्ञानिक प्रवृत्तिले प्रश्रय पाएको थाहा लाग्दछ ।
आख्यान साहित्यसाधक श्रीमती सुब्बाले आज यस क्षेत्रमा आफ्ना गहन अध्ययन, चिन्तन तथा मननका कारणले एउटा छुट्टै गरिमामय स्थान बनाउन र प्रसिद्धि कमाउन निश्चय नै सफल भएकी छन् । यिनको नितान्त आफ्नो परिश्रम र प्रतिभाले निर्मित त्यस स्थानले सदैव नेपाली आख्यान साहित्यमा उच्चताको त्यो शिखर छुन सकोस् अनि त्यसै स्तरअनुरूप सिर्जनाको अटुट धारामा हामी पाठकवर्ग निरन्तर नुहाउन र रमाउन पाऊँ, यिनका उत्कृष्ट कथाहरू नेपाली साहित्यका गहकिला र अनुकरणीय उदाहरण बन्न सकून् ।
अक्षर बिम्बमा लेखिकाहरू (खण्ड–१) २०७६ कृतिवाट साभार