१. पृष्ठभूमि :
कवि अर्जुन पराजुली जीवनभोगाइले घनीभूत भएर, अनुभूतिले परिपक्व भएर बनेका स्रष्टा हुन् । कुनै वाद वा सिद्धान्त पढेर, त्यसबाट प्रभावित भएर वा त्यसप्रतिको प्रतिबद्धता र अभिप्रेरणाले नभई आफ्नै जीवनसङ्घर्षको सम्प्रेषणले बनेका कविका रूपमा उनलाई लिनुपर्छ । आर्थिक रूपमा विपन्न परिवारमा जन्मेका अर्जुन पराजुली अन्धविश्वास, अज्ञानता र कुरीतिहरूको आदर्श बोकेको पछौटे समाजमा जन्मी, कुटोकोदालो, घाँस, वनजंगल, दाउरा, मेलापातको ग्रामीण परिवेशमा, धार्मिक आडम्बर बोकेको आध्यात्मिक परिवेशमा, दुई छाक खानका निम्ति कल्पिनुपर्ने अवस्थामा बाल्यकाल बिताएर हुर्केका व्यक्ति हुन् । यिनै दु:ख, दर्द, अभाव, अपमान र जीवन पीडाले उनलाई सानैदेखि भावुक, दयालु र मानवीय बनाएका हुन् । यिनले २०२८–०२९ सालतिरका लोकलयमा कविता र गीत लेख्न सुरु गरेका हुन् । त्यतिखेरका यिनका कविता वा गीत आध्यात्मिक चेतनाको प्रबल प्रभावमा र ग्रामीण दु:खको कारुणिक प्रेरणामा रचिएका देखिन्छन् । उनको पहिलो कविता थियो – खसीबोकाको बिलौना । पशुमाथिको हिंसा देखेर उनीभित्र करुणाभाव पलाएपछि तयार पारिएको यस कवितामा उनीभित्रको दयाभाव र करुणा प्रकट भएको छ । २०३७–०३८ तिर यिनले करुणरसको नदी बगाउँदै शोकपुकार नामको काव्य तयार पारे । पाण्डुलिपिमा आज पनि सुरक्षित यो करुणाकाव्य उनले एसएलसीको अध्ययन गर्दागर्दै तयार पारेका हुन् । १३७पृष्ठमा लोकलयमा तयार पारिएको यो काव्य दु:खान्तक छ । पछि लोकसेवा आयोगको लिखित परीक्षा पास गरेर अन्तर्वार्ता दिन जाँदा यिनले प्रसङ्गात् यही काव्यका केही अंश पढ्न पाए । अन्तर्वार्ताकारले सम्बन्धित विषयमा प्रश्न नसोधी काव्य सुनेकै भरमा यिनलाई विदा गरे र एक नम्बरमै यिनको नाम निस्कियो । यस घटनाले कवि पराजुलीभित्रको सम्प्रेषक कवित्वशक्तिको प्रारम्भिक अवस्थालाई सङ्केत गर्छ । पछि २०४६ को आन्दोलनमा भाग लिए । घुस्याहा कर्मचारीतन्त्रबाट वाक्क भई स्थायी जागिर छाडे र २०४८ देखि नियमित कवितायात्रा सुरु गरे । यो नै यिनको कवितायात्राको एउटा खास पृष्ठभूमि हो ।
२. विषयप्रवेश :
२०६३ सालको महान् जनआन्दोलनले उठाएका वा यस महान् जनआन्दोलनलाई उठाउन जोखिम मोलेर समर्पित भएका नेपाली साहित्यकारहरूको नाम लिनुपर्दा कवि अर्जुन पराजुलीको नाम एक, दुई, तीन नम्बरमै लिनुपर्ने हुन्छ । देशका अनेक भागमा गई जनचेतना जागृत गर्न र विशाल जनसमूहलाई नागरिक अधिकारको सङ्घर्षका निम्ति आह्वान गर्न कवि अर्जुनले निर्वाह गरेको भूमिका अविस्मरणीय छ । यतिखेर नेपाली साहित्यका आन्दोलित स्रष्टाहरूमा खगेन्द्र संग्रौलापछि सर्वाधिक चर्चामा रहेका कवि अर्जुन मूलत: हास्यव्यङ्ग्य कवि हुन् । उनको मूल पहिचान यसैबाट बनेको हो र यसैबाट उनको व्यक्तित्व उठेको पनि हो ।
धेरै नेपालीहरू जो शिक्षित छन् र जागिरको खोजीमा छन् तिनीहरू बढीभन्दा बढी घुस खान पाइने र बढीभन्दा बढी भ्रष्टाचार गर्न पाइने सरकारी जागिरको खोजीमा भएभरको शक्ति लगाएर लागिपरेका देखिन्छन् । अरू घुस खान पाइन्छ भनेर सरकारी जागिर खान्छन् भने अर्जुन पराजुली घुस खानुपर्ने भयो, भ्रष्टाचार गर्नुपर्ने भयो भनेर पाएको सरकारी जागिर पनि छाड्छन् । नेपालमा यस्तो चेतना र सामथ्र्य भएका व्यक्ति कति छन् ? कवि अर्जुनका कवितालाई मार्मिक बनाउन र व्यङ्ग्यचेत दिन उनको जीवनदृष्टिको यो पक्ष प्रबल रूपमा सहायक बनेको देखिन्छ ।
कवि अर्जुन पराजुलीका कविता सुनेर ताली बजाइरहेका स्रोताहरूका बीच उनलाई सतही र कवित्वहीन कवि भन्ने व्यक्तिहरू पनि भेटिने गर्छन् । २०६२–६३ को जनआन्दोलनताका जब उनी हजारौंलाखौं जनताबीच ज्यान खतरामा पारेर जागृति र व्यङ्ग्यका कविता सुनाइरहेका थिए । त्यसैबेला उनलाई चटके, जोक्कर र गाईजात्रे तथा सतही कविको रूपमा व्याख्या गरी उनलाई आन्दोलनका मञ्चहरूमा ठाउँ दिनु ठूलो गल्ती भएको भन्दै पत्रिकामा लेखै लेखेर विरोध जनाउने काम गोविन्द वर्तमानले गरे । प्रत्यक्ष विरोध गर्नेमा गोविन्द वर्तमान देखिए पनि यसप्रकारको धारणा राख्ने एउटा जमात नै काठमाडौंका आन्तरिक गल्लीहरूमा छन् । साहित्यकार खगेन्द्र संग्रौलासमेत कवि पराजुलीका कवितामा कवित्व देख्दैनन् भन्ने कुरा समय नामको पत्रिकामा आन्विका गिरीद्वारा लिखित वान्स मोर … शीर्षकको लेखबाट थाहा पाइन्छ जहाँ अर्जुन पराजुलीको एकल कवितावाचनमा स्रोताहरूको अद्भूत चाख र आकर्षणबारे चर्चा गरिएको छ । त्यसमा कार्यक्रमका वक्ता खगेन्द्र संग्रौलाको भनाइलाई उद्धृत गर्दै यस्तो लेखिएको छ – पराजुलीले आन्दोलनभन्दा माथि उठेर कविता लेख्नुपर्ने सुझाएका संग्रौलाले श्रवण मुकारुङका जस्ता कविताले भने जहिले पनि स्रोता भेट्ने टिप्पणी गरे । कवि श्रवण मुकारुङको उच्च मूल्याङ्कन गर्ने लोभमा कवि अर्जुन पराजुलीको अवमूल्यन गर्ने काम उक्त टिप्पणीबाट भएको छ । यो टिप्पणीबाट के कुरा स्पष्ट बुझ्न सकिन्छ भने कवि श्रवणमा कवित्व छ । तर अर्जुन पराजुलीमा कवित्व छैन, त्यसैले श्रवण मुकारुङ युगौं बाँच्नेछन् तर कवि पराजुली तत्कालमा मात्र । यसै कुराको परीक्षण भविष्यमा हुने नै छ तर कवि पराजुलीका पछिल्लो समयका कविताहरूले उक्त टिप्पणीलाई गलत सावित गर्नेछन् भन्ने अभिलक्षणहरू देखा परेका छन् । खगेन्द्र संग्रौला र गोविन्द वर्तमानकै धारणालाई नजानिँदो पारामा तर दृढ समर्थन गर्ने किसिमले बल पुर्याउँदै कवि पराजुलीको कवित्वमाथि आक्रमण गर्ने कार्य कवि विवश बस्तीले पनि गरेको पाइन्छ । २०६२ भदौ ४ गतेको बुधबार साप्ताहिकमा बस्तीले समयको भरपर्दो स्क्यानिङ शीर्षकको लेख लेखेका छन् । लेखको अन्तिम अनुच्छेदमा उनी लेख्छन् – हुन त पराजुलीका कवितामा साहित्यिक कलात्मकताको अभाव देखिने र सपाटबयानी अधिक हुने समस्या नदेखिने होइन । यस्ता टिप्पणीले एकातिर कवि अर्जुन पराजुलीलाई हाँक दिइरहेका छन् भने अर्कातिर हजारौं लाखौं स्रोता र पाठकमा कवि पराजुलीका कविताको लोकप्रियताले उक्त टिप्पणीहरूलाई नै हाँक दिइरहेका छन । यस द्वन्द्वको छिनोफानो पनि आउँदो समयमा नै हुनेछ तर यहाँ त्यो सन्दर्भ उल्लेख्य छ जसमा उक्त टिप्पणीमाथि स्वयं कवि अर्जुनको जवाफ पाइन्छ ।
२०६२ असोज ३ गते सोमबारका दिन जनएकता साप्ताहिकमा कवि अर्जुन पराजुलीको अन्तर्वार्ता छापिएको छ । युवा समालोचक भोगीराज चाम्मिङद्वारा लिइएको त्यस अन्तर्वार्तामा एउटा प्रश्नको जवाफ दिँदै कवि पराजुली भन्छन् – मैले आफूलाई कवि हु“ भनेर कहिल्यै भनेको छैन । त“ कवि होस् भनेर आम नागरिकहरूले नै भनिदिनुभएको हो । लाखौं नागरिकले त“ कवि होस् भन्दाभन्दै होइन भनेर म एक्लैले प्रतिकार कसरी गरु“ ? दुईचारजना मेरा मित्रहरूले त त“ कवि होइनस् भनेर मेरो विचारमा सहमति जनाउनुभएकै हो तर लाखौं नागरिकका अगाडि हामी दुईचारजना पीडित नागरिकको आवाज कसले सुन्ने ?यस जवाफमा दुईचारजना पीडित नागरिक शब्दभित्र आफूलाई कवि मान्न वा आफ्ना कवितामा कवित्व छ भनी मान्न नसक्नेहरूप्रति तीक्ष्ण र कलात्मक व्यङ्ग्य छ र घुसघुसे हास्य पनि छ । यसबाट कवि पराजुली आफूमाथि लाग्ने गरेका आक्षेपप्रति सचेत छन् भन्ने पनि देखिन्छ ।
पक्षमा होस् वा विपक्षमा, कवि अर्जुन पराजुलीको चर्चा भइरहेछ । ढुङ्गा हान्नेले पनि फल लागेकै हाँगामा हान्ने हो । कवि पराजुलीरूपी वृक्षमा फल लाग्न सुरु भएकैले ढुङ्गा हान्न थालिएको कुरा सजिलै बुझ्न सकिन्छ नत्र त्यत्रा घागदान घागदान कवि, पत्रकार र साहित्यकारले उद्वेलित भईभई यस्ता टिप्पणी गर्नुपर्ने खास कारण देखिन्न ।
कवि अर्जुन पराजुली कविता र गीत लेखिरहने तर तिनलाई पुस्तकाकार कृतिका रूपमा ल्याउन नहतारिने व्यक्ति हुन् । उनलाई प्रकाशनको समस्या पटक्कै छैन किनभने सयौंको संख्यामा पुस्तकहरू प्रकाशित गरिरहेको प्रकाशन संस्था (भु“डीपुराण) उनकै हो । आफ्नो कविता छपाइहाल्न हतार गर्ने प्रकृति पनि उनमा छैन । कसैले मागेपछि मात्र आफ्नो कविता प्रकाशनार्थ दिने बानी उनमा छ । सायद यसै कारणले होला, करीब तीन वटा पुस्तकाकार कृतिलाई पुग्ने कविता र गीतहरू रचेर पनि उनले तिनको प्रकाशन गराएका छैनन् । सङ्कलित रूपमा उनको एउटामात्र पुस्तकाकार कृति प्रकाशित छ – आन्द्रालोक (कवितासङ्ग्रह २०५४) । यसमा उनले २०५४ सालभन्दा अगाडि लेखेका कविताहरू प्रस्तुत गरेका छन् । त्यस समयसम्म उनको हास्यव्यङ्ग्य सृजनचेतना राम्ररी विकसित भइसकेको थिएन । प्रारम्भिक हास्यव्यङ्ग्य चेतको मात्र प्रतिनिधित्व त्यस समयका कविताले गर्छन् तर तिनमा पनि ३, ४ वटा कविता यस्ता छन् जसले उनीभित्र हास्यव्यङ्ग्य कवित्व क्षमता छ भन्ने कुरा प्रमाणित गर्छन् र आगामी दिनमा उनको यात्रा सबल र उच्च देखिने छ भन्ने पूर्वसंकेत गर्छन् ।
आजभोलि कवि अर्जुन पराजुलीको मूल्याङ्कन साहसी, जुझारु, इमान्दार, समर्पित, गणतन्त्रवादी र आन्दोलनकविका रूपमा गरिँदै छ । समयको आवश्यकताअनुरूप र स्रोताको मनोरचना, रुचि र क्षमताअनुरूपका कविताहरूको छुट्टै महत्व हुन्छ भने विधागत मौलिकता र कलागत उच्चताको समन्वयका रूपमा रचिने कविताहरूको छुट्टै र दीर्घकालीन महत्व हुन्छ । कवि पराजुलीका कवितामा पाइने हास्यशैली र व्यङ्ग्यचेतनाको अभिव्यक्तिलाई उक्त दुवै कोणबाट मूल्याङ्कन गर्नुपर्ने हुन्छ । यस लेखमा उनका कवितामा पाइने हास्यव्यङ्ग्य कवितायात्रालाई दुई चरणमा वर्गीकरण गरी मूल्याङ्कन गर्ने प्रयास गरिएको छ ।
३. हास्यव्यङ्ग्यकवितातर्फको पहिलो यात्रा : आन्द्रालोक(२०५४)
खासगरी २०४६ सालको जनआन्दोलनपछि हास्यव्यङ्ग्यकवितातर्फ रुचि बढाएका र २०४८ सालदेखि नियमित यात्रा गरेका पराजुलीले २०५४ सालसम्म करीब २ दर्जन कविता र केही गीतहरू लेखेको पाइन्छ । तीमध्ये १८ वटा कविता र २ वटा भूमिकामय कविता गरी २० वटा कविताहरूको सङ्ग्रहका रूपमा आन्द्रालोक (२०५४) प्रकाशित भएको छ । यसमा प्रकाशित कविताहरू नै उनको प्रथम चरणको हास्यव्यङ्ग्य कवित्वको मूल्याङ्कन गर्ने प्रमुख आधार हुन् । यी कविताहरू राजनीतिक विसङ्गति, प्रशासनिक भ्रष्टाचार, नैतिक भ्रष्टता, शैक्षिक विकृति तथा साहित्यिक अवसरवादलगायतका विभिन्न बेथिति र असङ्गतिहरूलाई विषयवस्तु बनाएर लेखिएका छन् । कविको युगबोधका रूपमा पनि यिनलाई हेर्न सकिन्छ । भावपक्षमा भन्दा शैलीपक्षमा चर्को मोह राखेर तयार पारिएका यी कविताहरू अनुप्रासमोहले ओतप्रोत छन् । यीमध्ये लौआ बूढी बोर्डिङ खोलौं र मेरो कपुरी क कविताहरूद्वारा शैक्षिक विकृतिमाथि व्यङ्ग्य गरिएको छ भने लक्ष्मीप्रसाद को ? र कठै विचरा प्रज्ञा प्रतिष्ठान शीर्षकका कविताहरूद्वारा साहित्यिक विकृतिमाथि व्यङ्ग्य गरिएको छ । पास भो, पास भो, आन्द्रालोक, वाह क्या हाइसन्च, थुकदानी, त“लाई उठी उठी पाउ“छु शीर्षकका कविताहरूमा राजनीतिक विकृतिमाथि व्यङ्ग्य छ भने दे दे लडा, क्या हो काठमाण्डू ?, खसाइदिऊ“, कोही छ घरज्वाइ“ बस्ने ?, भु“डी करायो जस्ता शीर्षकका कविताहरूले सामाजिक, सांस्कृतिक विकृतिमाथि व्यङ्ग्य गरेका छन् ।
शैक्षिक विकृति प्रस्तुत गर्ने कविताहरूमध्ये मेरो कपुरी क हास्यभन्दा व्यङ्ग्य बढी भएको कविता हो । यसमा मूलत: शैक्षिक क्षेत्रमा योग्य व्यक्तिको योग्यता र उसको प्रतिभासम्पन्न सर्टिफिकेटभन्दा चोरीचकारीका सर्टिफिकेट, चाप्लुसबाजको चाकरीजस्ता कुराहरूको बोलवाला भएकोमा असन्तुष्ट कविको व्यङ्ग्य व्यक्त छ । कविले यस कविताका माध्यमबाट स्वाभिमान र आत्मसम्मानका पक्षमा चेतना छर्न व्यङ्ग्यको सहारा लिएका छन् । शिक्षाक्षेत्रमा निजी क्षेत्रबाट दिइने शैक्षिक योगदानको नाममा भइरहेका बदमासी र ती बदमासीमाथि राष्ट्रले आँखा चिम्लिएको स्थितिले उत्पन्न विकृति र व्यभिचारलाई राम्ररी प्रस्तुत गर्ने कविता हो – लौ आ बूढी बोर्डिङ खोलौं । यो कविता आन्द्रोलोकभित्रका राम्रा कवितामध्येको एक हो । यसमा तुलनात्मक रूपमा हास्य तथा व्यङ्ग्य दुवैको सन्तुलन पाइन्छ । पैसा हुने जोसुकैले निजी क्षेत्रमा बोर्डिङ स्कुलहरू खोल्न पाउने अवस्थाले गर्दा शिक्षा क्षेत्रमा दख्खल भएका व्यक्तिले मात्र नभई यस क्षेत्रको केही ज्ञान र अनुभव नै नभएका तर पैसा भएका व्यक्तिले पनि यस क्षेत्रमा हात हाल्ने अवसर पाए । यसै मौकाको आडमा तस्कर, भ्रष्टाचारी, धूर्त व्यापारीजस्ता व्यक्तिहरू पनि यस क्षेत्रमा पसे भने पैसाको शक्तिको आड लिई यिनीहरूले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय मूल्य मान्यतादेखि लिएर योग्यता क्षमताजस्ता कुराहरूलाई वेवास्ता गर्दै अंग्रेजी शिक्षाका नाममा अनेक प्रकारका शैक्षिक विकृतिहरू फैलाउन थाले । गल्लीगल्लीमा च्याउझैं उम्रिदै गरेका बोर्डिङ स्कुलहरू व्यापारीकरणका केन्द्र बन्न थालेकोमा र संस्थापकका स्वास्नी, छोराछोरी, भाइभतिजाको जागिर खाने थलो बनेकामा कविले गतिलो घोचपेचसहितको व्यङ्ग्य यसमा गरेको पाइन्छ । आधुनिक शिक्षाको नाममा भिœयाइएको उच्छृंखलता, अश्लीलता, विदेशी भाषामोह, आडम्बर र ठगी लगायतका असङ्गतिमाथि कविको चर्को आक्रमण यस व्यङ्ग्यमा पाइन्छ ।
लौ आ बूढी बोर्डिङ खोलौं कवि अर्जुन पराजुलीद्वारा विभिन्न मञ्चहरूमा बारम्बार पढिएको र प्रत्येक मञ्चमा स्रोताबाट धेरै ताली खान सफल भएको कविता हो । हरेक स्रोतालाई यो वा त्यो कोणबाट प्रभावित पारिछाड्ने यस कविताका प्रत्येक अनुच्छेद यसरी बुनिएका छन् कि पाठक वा स्रोता नहाँसी रहन पनि सक्दैन र मूल भाव बुझ्दा संवेदनशील नभई रहन पनि सक्दैन । यो कविता कति असरदार बनेर स्रोतामनमा पस्छ भन्ने कुराको उदाहरण ललितपुर जिल्लाको सानेपा भन्ने ठाउँमा रहेको शुभतारा नामको निजी स्कुलमा घटेको घटना पनि हो । एउटा भव्य कार्यक्रममा कवि पराजुलीले त्यहाँ यही कविता सुनाए । स्कुलकी प्रिन्सिपल रानी गुरुङ कक्षपतिलाई त्यसले यति धेरै घोचेछ कि उनी कविले माफी माग्नुपर्नेसम्मको माग गर्न पुगिन् । त्यो कार्यक्रम सञ्चालन गर्ने यो लेखक त्यतिखेर त्यस स्कुलको शिक्षक पनि थियो । कविहरू स्कुलबाट विदा भएपछि यस लेखकसँग प्रिन्सिपलले कवि पराजुलीलाई बोलाएर माफी मगाउनुपर्ने जिद्दी गरिरहिन् । कविहरू राजा, प्रधानमन्त्रीलाई पनि व्यङ्ग्य गरेर लेख्छन्, फेरि यो कविता पहिल्यै छापिसकेको छ, यसले विकृति फैलाउने स्कुल र तिनका सञ्चालकलाई मात्र व्यङ्ग्य गरेको हो, तपाईं र तपाईंको विद्यालयलाई व्यङ्ग्य गरेको होइन, उनीहरू स्वाभिमानी हुन्छन्, माफी माग्नु सम्भव छैन भन्ने किसिमले यस लेखकले सम्झाउने प्रयास गर्दा पनि उनको चित्त बुझाउन सकिएन । परिस्थिति यही कुरामा अल्झिँदै छ महिनासम्म अगाडि बढ्यो र अन्त्यमा लेखकले त्यो स्कुलबाट जागिरै छोडेर हिँड्नुपर्यो । हास्य र व्यङ्ग्य दुवैको संयोजन भएको यस कविताको असरदार अभिव्यक्तिको एउटा नमूना हेरौं :
यता तेरो मेरो नाम पनि भो
उता दुई नम्बरी काम पनि भो
दिनहुँ वियरसँग दुई किलो
कुखुराको फिलो हाम पनि भो
चुच्याइचुच्याई छाती देखाउन
नातिनीहरूलाई ठाम पनि भो
जागिरे नातिनीका ज्वाइँ बन्ने
उम्मेदवारहरूको लाम पनि भो
लिपिस्टिक दल बूढी, लिपिस्टिक दल
इङलिस बोलौं
लौं आ बूढी बोर्डिङ खोलौं । (पृ. १)
माथि कतै उल्लेख गरिएजस्तै कवि पराजुलीको तीक्ष्ण दृष्टि साहित्यिक क्षेत्रमा देखापरेका विकृतिमाथि पनि परेको छ । यसको प्रतिनिधित्व गर्छन् लक्ष्मीप्रसाद को ?, कठै विचरा प्रज्ञा प्रतिष्ठान कविताले । साहित्यकार हुन चाहिने प्रतिभा, समर्पण, सूक्ष्म जीवनबोध र अविरल साधनामै हराउँदै गएको र एक दुई कविता लेखिटोपल्दै आफूलाई महान् कवि ठान्ने प्रवृत्ति बढेकोमा असन्तुष्ट कविले लक्ष्मीप्रसादलाई हेपेको शैलीमा झारपाते कविताहरूमाथि कटुव्यङ्ग्य गरेका छन् । टपर्टुøयाँ कविमाथिको यो व्यङ्ग्य हास्यसहित आएको छ । यसमा एकातिर टापटिपे मौसमी कविहरू र तिनका सतही र नामका मात्र कविताप्रतिको व्यङ्ग्य छ भने अर्कातिर महाकवि देवकोटाजस्ता महान् साधक स्रष्टाहरूप्रतिको अगाध श्रद्धा पनि छ । जसले पनि कविता लेख्ने, जे जसरी लेखे पनि र जस्तोसुकै लेखे पनि कवि भनिने वा भनिइटोपल्ने साहित्यिक विकृतिमाथिको एक टुक्रा व्यङ्ग्य यस्तो छ :
मेरो छोराको ‘ब्रो’ कविता
मेरी छोरीको ‘ड्याड्’ कविता
म पतिको ‘जुडो मार्लिङ’ कविता
श्रीमतीको ‘बूढो डार्लिङ’ कविता
हामी सबै कवि भयौं
जे लेखे पनि कविता भो !
अँ, त्यो लक्ष्मीप्रसाद को ? (पृ. ४)
यसै गरी कठै विचरा प्रज्ञा प्रतिष्ठान कविताले पनि साहित्यिक क्षेत्रका विकृतिमाथि व्यङ्ग्य गरेको छ । खासगरी राष्ट्रिय साहित्यिक विकासका निम्ति सरकारी सुखसुविधा र सम्पत्ति प्रयोग गर्ने प्रज्ञाप्रतिष्ठानका बूढा साहित्यकारहरूको भोगविलास र अकर्मण्यतामाथिको प्रहारका रूपमा यो व्यङ्ग्यकविता रचिएको हो । नवनव निर्माण र नवनव साहित्यिक उपलब्धि निम्ति मरिमेटेर काम गर्नुपर्नेमा प्रज्ञा प्रतिष्ठानका बूढा प्राज्ञहरू खानपान, घुमघाम, विदेशभ्रमण, उद्घाटन, विमोचन र भाटगिरीमा नै समय बिताइरहेका छन् भन्ने लागेर कविले यस्तो व्यङ्ग्य गरेको देखिन्छ । यिनीहरू इतिहासका गफ चुटेर खाने वृद्धजमात हुन थाले भन्ने आरोप कविको छ । बुढ्यौलीले उँधो लागेका अल्छे र विलासी, भोका र लोभी, चाप्लुसवाज र दम्भी तथा अशक्त बूढाहरूको जमात जम्मा गर्ने प्रतिष्ठानको परम्परामाथि नै यो प्रहार केन्द्रित छ । तलको कवितांशबाट मात्रै पनि यस व्यङ्ग्याभिव्यक्तिको आस्वादन गर्न सकिन्छ :
इनामेलले पोतेको
अलकत्राले लिपेको
वरिपरि बोतलले बारेको
फोहोरको फेदमा ठाउँ सारेको
एक जितेको एघार हारेको
दुईमा दुई थपी पाँच पारेको
फुलो परेका आँखा
जाली झरेका कान
कठै विचरा ! प्रज्ञा प्रतिष्ठान । (पृ. ९)
यो कविता वाचन गर्दा मञ्चमा प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति मदनमणि दीक्षित पनि थिए । यो कविता सुनेर उनी तिल्मिलाएको र आफूले बोल्ने पालो आएपछि ४–५ मिनेटसम्म कवि पराजुलीप्रति कटाक्षसहित आक्रमण गरेको कुराको प्रत्यक्षदर्शी यो लेखक पनि हो । कवि पराजुलीका व्यङ्ग्य निर्भिक त छन् नै, साथमा जहाँ लक्ष्य गरेर काव्यवाण भेदन गरिएको हो त्यही ठाउँमा चोट पार्न पनि सफल छन् भन्ने कुराको प्रमाण यो कविता पनि हो ।
कवि अर्जुन पराजुलीले सबैभन्दा बढी कविताहरू राजनीतिक विकृतिमाथि व्यङ्ग्य गर्दै लेखेका छन् । तीमध्ये पास भो ! पास भो !! मा भारतसित राजनेताहरूले गरेका सन्धिसम्झौता विरुद्ध आक्रोशात्मक व्यङ्ग्य गरिएको पाइन्छ भने वाह ! हाइसन्च !! मा नेपाली राजनीति र नेपाली राष्ट्रियतामाथि विदेशी राष्ट्र (खासगरी भारत र अमेरिका)हरूले गरेको हस्तक्षेप अनि त्यस्तो हस्तक्षेपलाई दासले झैं सहर्ष स्वीकार गर्ने नेपाली सरकार र पार्टीनेताहरूमाथि आक्रमण गरिएको छ । नेपालीको भाग्यको फैसला नेपालीले गर्न नपाउने स्थिति, नेपालीको भाग्य आफ्नो हातमा बोकेका पार्टी, नेता र सरकारहरू विदेशी दलालमा रूपान्तरित भएको अवस्था, बौद्धिक नेपालीमा पनि यस्तो अवस्थामाथि हस्तक्षेप गर्ने क्षमता नभएको परिस्थिति लगायतका राजनीतिक विकृतिमाथि यस कविताले राम्रै व्यङ्ग्य गरेको छ । एउटा उद्धरण हेरौं :
वाशिङ्टनमा शुक्रकीट बन्छ
नयाँ दिल्लीमा डिम्ब बन्छ
काठमाण्डूमा जन्म लिन्छ
र नेपाल उडाउने बिम्ब बन्छ
म नेपाली
वाह ! मलाई क्या हाइसन्च ।
यसैगरी धोकेबाज, कृतघ्न र विकृत राजनेताप्रतिको वितृष्णा व्यक्त गर्ने कविता हो त“लाई म उठीउठी पाउ“छु । नेताप्रतिको वितृष्णा कति चर्को छ भने आफ्नो सन्तान नेता नहुने निश्चित भएमा आमाहरू सन्तान जन्माउन अस्पताल नजाने, सुविधा नखोज्ने र हिँड्दाहिँड्दै वा जहाँ पनि उठीउठी तिनलाई जन्म दिन तयार छन् भन्ने आशय यसमा व्यक्त भएको छ । नेपाली जनता आफ्ना नेताहरूको बदमासी, व्यभिचार, भोगलिप्सा र कृतघ्नताबाट कति आजित छन् भन्ने कुराको नमूना यो कविता हो । कविता यसरी बोल्छ :
न प्रसुतिगृहमा आउँछु
न सुँढिनीलाई यहाँ बोलाउँछु
नेता हुन्न मात्रै भनेस
तँलाई म उठी उठी पाउँछु (पृ. ६२)
राजनीतिक विकृतिमाथि व्यङ्ग्य गर्ने अर्को कविता हो थुकदानी । यसमा राजनेताद्वारा जनतालाई थुकदानीको रूपमा दुरूपयोग गरिएको धारणा राख्दै जनतामाथि गरिएको यस अन्यायमाथि व्यङ्ग्यप्रहार गरिएको छ । नेपाली जनता र नेपालको सार्वभौमिकतालाई यहाँ नेताहरूले धोती लाइदिएका छन् भन्ने निष्कर्ष यस कविताको छ । जनतालाई स्वार्थपूर्तिको भाँडोमात्र बनाइएकोमा असन्तुष्ट भएका कविको विद्रोही चेतना यसरी व्यक्त भएको छ :
तँ जनता
मेरो डबकाको जाँड
मेरो बोतलको पानी
तेरो सार्वभौमिकता
मेरो थुकदानी (पृ. ३३)
राजनेतासँग मिलेर व्यापारीले एवं तस्कर व्यापारीसँग मिलेर राजनेताहरूले राष्ट्रमा रजाइँ गरिरहेको कुरालाई खसाइदिउ“m ? कविताका माध्यमबाट प्रस्तुत गरिएको छ । यसमा सामाजिक विकृति र त्यसको कारक तत्व (राजनीतिक भ्रष्टता)लाई संकेत गरिएको पाइन्छ । देशमा तास, जुवा, रण्डीबाजी, भ्रष्टाचार, व्यभिचार हल्हल्ती बढेका छन् । जनतामारा दुई नम्बरी कामहरू पनि त्यत्तिकै फैलिइरहेका छन् । व्यभिचार, विलास र भोगले बनेका भुँडेवालहरूलाई यसरी व्यङ्ग्य गरिएको छ :
मासु पनि तँ फिलोफिलो खान्छस्
बस्ने ठाउँ गिलो गिलो छान्छस्
तेरो बाउ पानीमा बगेर मर्ने
तँ खानेपानी आयात गर्ने ?
ढलेको लोटामा लात्तीले हान्छस् ?
भन्द्यूँ म ?
बेलुका सुत्न तँ कहाँ जान्छस् ? (पृ. ५४)
आन्द्रालोक कवितासङ्ग्रहभित्रका केही कविताहरूले राष्ट्रमा व्याप्त सामाजिक सांस्कृतिक, विकृतिका केही पक्षहरूलाई विषयवस्तु बनाएको पाइन्छ । नेपालमा आफ्नै गलत सामाजिक परम्परा, अन्धविश्वास, सामन्ती न्यायव्यवस्था, शोषणका अनेक असङ्गतिहरू छन् । त्यसमाथि एनजीओ, आईएनजीओ जस्ता गैरसरकारी संस्थाहरूले पनि उत्तिकै विकृति फैलाएका छन् । त्यस्तै विदेशी छाडा संस्कृतिलाई भिœयाएर अश्लीलतालाई बढावा दिइएको स्थिति छ भने कानुनी व्यवस्थामा पद, पैसा र पावरको चरम दुरूपयोग भइरहेको छ । पारिवारिक समस्याहरू एकातिर छन् भने पुरानो पुस्ता र नयाँ पुस्ताका बीचमा मूल्यमान्यता र रुचिअरूचिको द्वन्द्व अर्कातिर छ । यिनै र यस्तै सामाजिक विकृति, असङ्गतिहरूलाई व्यङ्ग्यशैलीमा प्रस्तुत गर्ने काम यस खालका कवितामा भएको छ । दे दे लडा, क्या हो काठमाण्डू ?, वकिल गन्हाउ“दा पो, यो मेरो प्रमाणपत्र हो, कोही छ घरज्वाइ“ बस्ने ?र भु“डी करायो जस्ता कविताहरूले यसप्रकारका प्रवृत्तिको प्रतिनिधित्व गर्छन् ।
आत्मसम्मानलाई तिलाञ्जलि दिई हरियो डलरका पछाडि ज्यान फालेर लागिरहेकाहरू, समाजसेवाको नाम लिई आफ्नै सेवा गरिरहेकाहरू, महिलामुक्तिका नाममा महिलामाथि व्यभिचार गरिरहेकाहरू र जनसेवाका नाममा जनतामाथि नै शोषण गरिरहेकाहरूमाथि दे दे लडा कविताले व्यङ्ग्य गर्छ । यो कविता मूलत: एनजीओ र आईएनजीओहरूले गरेका बेइमानी भ्रष्टाचार, व्यभिचार, दलाली र तिनले भिœयाएका अपसंस्कृतिहरूमाथिको व्यङ्ग्य हो । क्या हो काठमाण्डू ?शीर्षकको कवितामा छाडासंस्कृति र व्यभिचारमाथिको व्यङ्ग्य पाइन्छ । राजधानी सुखसुविधाको केन्द्रमात्रै नभई विकृति सहरिया संस्कृतिको पनि केन्द्र बन्दै गएको छ । स्कुल कलेजहरू केटाकेटीहरू छिल्लिने स्थान बन्दै गएका छन् । अविवाहित युवतीहरू कुमारी आमा बन्दै बच्चा मिल्काउँदै छन् । घरमा खान छैन तर बाहिर देखाउनुपर्ने आडम्बरी संस्कृति र प्रवृत्ति विकसित भइरहेका छन् । यसरी लवाइ, खवाइ, गराइ, व्यवहार आदिमा बढ्दै गएको अपसंस्कृति, छाडापन, नाङ्गोपन लगायतका सामाजिक विकृतिविरुद्ध यो कविता प्रस्तुत भएको छ । यसैगरी पैसाबाहेक कुनै कुरालाई महत्व नदिने तथा अन्यायका पक्षमा वकालत गर्ने भ्रष्ट र दुष्ट वकिलहरूका दुष्कर्मप्रति व्यङ्ग्य गर्छ वकिल गन्हाउ“दा पो शीर्षकको कविताले । झुटोलाई साँचो र साँचोलाई झुटो सावित गरेर आफ्नो खल्ती भर्ने गन्हाएका वकिलप्रतिको वितृष्णालाई तिनीहरूको चारित्रिक विशिष्टतासाथ उद्घाटन गर्ने काम यस कवितामार्फत् गरिएको छ । वकिललाई केन्द्रमा राखिएको भए पनि प्रसङ्गात् अन्य पक्षहरूका विकृतिको उद्घाटन पनि यसमा गरिएको छ । सामाजिक विकृतिको उद्घाटन गर्दैै व्यङ्य गर्ने काम यो मेरो प्रमाणपत्र हो शीर्षकको कवितामा पनि गरिएको छ भने भुँडी करायोले धर्म, जात, लिङ्गादिका नाममा भएका शोषण, भेदभाव, द्वन्द्व, हिंसा, भ्रष्टता, अन्याय आदिमाथि व्यङ्ग्य गरेको छ । मान्छेले पेटकै निम्ति गर्ने तिगडमबाजी, पेटकै निम्ति हुने झैंझगडा आदिको संकेत पनि यस कवितामा पाइन्छ ।
सामाजिक विकृतिमाथि व्यङ्ग्य गर्ने कविताहरूमध्ये कला र अन्तर्वस्तु एवं हास्य र व्यङ्ग्यको सन्तुलन भएको तुलनात्मक रूपमा बढी प्रभावकारी कविता हो – कोही छ घरज्वाइ“ बस्ने ?बाइफाले आधुनिक संस्कृतिले गर्दा विकृत र वीभत्स बनेको सहरी सभ्यता र उत्ताउलोपनलाई यस कविताले उजागर गरेको छ भने त्यसले श्रीमान् श्रीमतीबीचको तनावलाई पनि केही संकेत गरेको छ । संरचनागत विशिष्टता यस कविताको थप उल्लेख्य पक्ष हो भने हास्य र व्यङ्ग्य दुवैको चाखलाग्दो समन्वय यस कविताको विशेष प्राप्ति हो । यसमा कविले नितान्त निजी लयविधान गरेका छन् र मौलिक लयविधानको कालिगढीद्वारा कथ्यलाई सम्प्रेषणीय र रोचक तुल्याएका छन् । यौनगत रुझान र आत्मसम्मानको राम्रो अभिव्यञ्जनाका रूपमा पनि यसलाई लिन सकिन्छ । गति, यति, लय, ताल, आरोह–अवरोह, शब्दालङ्कार र व्यङ्ग्याभिव्यक्तिले सशक्त बनेको यस कविताले पारिवारिक विकृति र द्वन्द्वलाई पनि प्रस्तुत गर्छ । तलको उदाहरणबाट यस कुराको पुष्टि हुन्छ :
हाम्रो दिनहुँ झगडा पर्छ
कहिले मुक्कामुक्की हुन्छ
कहिले फास्सफुस्समै टर्छ
म डल्लो लोहोरो उचाल्छु
बूढी चेप्टो सिलौटो उचाल्छे
म तातो रोटी उचाल्छु
बूढी रातो तावा उचाल्छे
कहिले बूढीले पन्यौ खान्छे
कहिले मैले कसौंडी खान्छु
भुइँभरि भातको सिता हुन्छ
भान्सामा सधैं यसरी नै रमिता हुन्छ
एउटी छोरी छे –
पाखुरा सुक्र्याउँदै–सुक्र्याउँदै
हामी दुईको हुलमा पस्ने
कोही छ घरज्वाइँ बस्ने ? (पृ. ५७)
माथि उल्लेख गरिएका सबैजसो प्रवृत्ति र क्षेत्रलाई कुनै न कुनै रूपमा सङ्केत गरी राष्ट्रिय विकृति, असङ्गतिलाई अभिव्यञ्जित गर्दै व्यङ्ग्य गर्ने कविता हो आन्द्रालोक । कवितासङ्ग्रहको नाम पनि आन्द्रालोक राखिएको छ । आफ्ना कवितामध्ये यसैलाई सर्वोत्कृष्ट ठानेर नै कवितासङ्ग्रहको नाम यसै कविताका नामबाट राखिएको अनुभव गर्न सकिन्छ । यसलाई कवि अर्जुन पराजुलीको पहिलो चरणको मुख्य युगबोध गर्ने प्रतिनिधि कविता भन्न सकिन्छ । आन्द्रालोकका आन्द्राहरू विभिन्न आकारका, गजल्टिएका र तन्द्राङतुन्द्रुङ (जटिल) भएजस्तै नेपाली समाजका समस्या र अवस्था पनि जेलिएका र अनेक प्रकारका भएको तथ्यलाई यसको शीर्षकले नै सङ्केत गर्छ भने अलिकति हास्य र अलिकति व्यङ्ग्य दुवैलाई यस शीर्षकमा भेट्न सकिन्छ । आन्द्राहरू भुँडीमा हुने, भुँडी नै जीवनको केन्द्र हुने तथा भुँडीकै केन्द्रीय सत्ताले अन्य अधिकांश मानवीय सत्तालाई निर्देशित गर्ने तथ्यतर्फ पनि शीर्षकले सङ्केत गर्छ ।
आन्द्रालोक कविताका माध्यमबाट कवि अर्जुन पराजुलीले नेपाली जनजीवन, सामाजिकता र राजनीतिका अनेक पक्षमाथि एकसाथ व्यङ्ग्य गरेका छन् । यसमा चेलीबेटीको बेचविखन (सामाजिक समस्या), नदीनालाको सम्झौता (राजनीतिक समस्या), मूर्तिचोरी (तस्करीको समस्या), शक्तिको पूजा र दमनको प्रशासन (प्रशासनिक तथा राजनीतिक समस्या), इन्साफको अभाव (न्यायको समस्या), वेश्यावृत्ति (नैतिक समस्या) लगायतका अनेक समस्याहरूको साङ्केतिक उद्घाटन पाइन्छ । यी सबै विकृतिका पछाडि राजनेताहरूको साँठगाँठ र षड्यन्त्र रहेको छ भन्ने धारणा पनि कविको छ । बालहित, नारीअधिकार, मानवाधिकार, स्वतन्त्रताजस्ता बहानामा डलरको खेती गर्न पल्केकाहरूदेखि शक्ति, शासन र सम्पत्तिको आडमा हत्या, बलात्कार र व्यभिचारमा संलग्न व्यक्तिहरूसम्मको उछित्तो काढ्ने काम कविले गरेका छन् । निम्नलिखित उद्धरणबाट यस कुराको पुष्टि हुन्छ :
एक गाँस पाको सेकुवा
एक गाँस काँचो मान्छे
……
बान्की परेका क्या गोलगोल
भन्सार छलेका सुनका नोल
पुलका खम्बा, बिजुलीका पोल
………………
सक्छस् डलरमा बोल्
सक्दैनस् रूपैयाँ में बोल्
ए बोल ! बोल !
चेलीबेटीका चाना खान्छस् कि
शहीदको झोल ? (पृ. १९)
कवि अर्जुन पराजुलीको कवितायात्राको पहिलो चरणका यी कविताहरू हेर्दा हास्य केही र व्यङ्ग्य बढी भएका अभिव्यक्ति देखिन्छन् । विकृतिको चमत्कारपूर्ण उद्घाटन गर्ने प्रयत्न एवं अनुप्रास र लययोजनाको प्रयासमा हास्य उत्पादन गर्ने योजना भेटिन्छ भने विकृति र असङ्गतिमाथिको प्रहारनिम्ति व्यङ्ग्ययोजना भेटिन्छ । हास्यको मुहान विकृति नै हो व्यङ्ग्यको आधार पनि विकृति नै हो । त्यसैले हास्यव्यङ्ग्यको केन्द्रमा विभिन्न क्षेत्रका विकृतिहरू (सामाजिक, राजनीतिक, शैक्षिक, साहित्यिक, प्रशासनिक विकृतिहरू) रहेका हुन्छन् । कवि पराजुलीले तिनैलाई कथ्य र लक्ष्य बनाएको पाइन्छ । यी कविताका माध्यमबाट राष्ट्रका विभिन्न क्षेत्र तथा विभिन्न व्यक्तिमा देखिएका नकारात्मक पक्षहरूको उद्घाटन गर्नु, तिनमाथि प्रहार गर्दै व्यङ्ग्य गर्नु, तिनको सुधारका निम्ति लाक्षणिक र ध्वन्यात्मक सन्देश दिनु र सामाजिक सुधार, चारित्रिक सुधार, न्यायपूर्ण समाजव्यवस्था र सुखी जीवनको कामना गर्नु नै यी कवितामा कवि पराजुलीको उद्देश्य हो भन्न सकिन्छ । यस क्रममा कविभित्रको विद्रोही असन्तुष्ट चेतना, राष्ट्रप्रतिको अनुराग एवं शोषित जनताप्रतिको संवेदनशीलता अभिव्यञ्जित भएको छ । यिनै कुराहरू प्रथम चरणका कवि अर्जुन पराजुलीका प्राप्ति हुन् । तर सबै कविता उच्च हुन सकेका छैनन् । धेरैजसो कविताहरू अनुप्रासमोहका कारण शब्दभण्डार मात्र बनेका छन् । यो शैलीनिर्माणतर्फको सकारात्मक प्रयास त हो तर शैलीमा बढी जोड दिँदा भाषामा नै अलमलिने समस्याबाट कवि बढी नै ग्रस्त बन्न पुगेका छन् । प्रथम चरणका राम्रा कविताको नाम लिनुपर्दा लौ आ बूढी बोर्डिङ खोलौं, आन्द्रालोक, कोही छ घरज्वाइ“ बस्ने ?, थुकदानी, वाह ! क्या हाइसन्च ! अगाडि आउँछन् । यस चरणको हास्यव्यङ्ग्यकवित्व सम्भावनाशील कवि पराजुलीको प्रारम्भिक अभिलक्षण हो भन्न सकिन्छ ।
४. हास्यव्यङ्ग्यकवितातर्फको दोस्रो यात्रा : आन्दोलनकविता
२०५५ सालदेखि यता लेखिएका कविताहरू कवि अर्जुन पराजुलीको हास्यव्यङ्ग्यकवित्वका आशालाग्दा अभिव्यक्ति बनेर आएका छन् । गाउँ र जङ्गलतिर माओवादीहरू सक्रिय भएर र सहरी क्षेत्रमा बहुदलवादी पार्टीका नेता तथा धूर्त र तस्कर व्यापारीहरूको चपहपहल चर्को रूपमा बढेको स्थितिमा पराजुलीका कविताहरू आउँदै गरे । यस क्रममा अनेक छाडा संस्कृतिदेखि लिएर राजनीतिक विकृति र अपराधिकरणका अनेक वितन्डाहरू मच्चिन थाले । चुनाव जित्नका लागि गाउँघरमा गाइटोपल्ने एवं तथाकथित राजनीतिक आदर्शका खोक्रा नाराहरू बडो आदर्शवादी, त्यागी र समर्पित नेता बनेर व्यक्त गर्ने तर चुनाव जितेपछि गाउँ नफर्कने धोकेबाज बिलासी नेताहरूले देश र जनताको शोषण गर्नुसम्म गरे भने सुन्दरी प्रतियोगिताका नाममा भित्रिएको पूँजीवादी अपसंस्कृतिले पनि देश र जनताको आत्मसम्मानलाई ध्वस्त पार्नुसम्म पार्न थाल्यो । यसै क्रममा राजा वीरेन्द्रको हत्या भयो । वंशविनाशकै रूपमा भएको यो हत्याप्रकरण विश्वकै राजनीतिक इतिहासमा भयङ्कर र आश्चर्यलाग्दो थियो । त्यसपछि राजगद्दीमा वसेका राजा ज्ञानेन्द्रले जनतामाथि दमनको जुन उत्पात मचाए र त्यो अति हलचलपूर्ण रह्यो । त्यत्तिकै मात्रामा राजा ज्ञानेन्द्रका आधुनिक गुलाम बनेर राजालाई दाम राख्दै ढोग्न जाने पार्टीनेताहरूका लोभी र कायर क्रियाकलापहरू पनि यस देशका लागि अभिशाप बन्दै गए । यसपछि बहुदलीय व्यवस्थामाथि सैनिक बलमा भएको प्रतिगमन, प्रतिगमनको सशक्त प्रतिरोध गर्न छाडेर गुलामी गर्नमै सुरक्षित ठान्ने पार्टी र तिनको अदूरदर्शी कायर नेतृत्व, यसै मौकालाई सदुपयोग गर्दै गाउँगाउँबाट सामन्तहरू धपाउन सफल माओवादी विद्रोह र त्यसको फैलदो प्रभाव, प्रतिगमनविरुद्ध जागृत जनचेतना र आन्दोलित नागरिक समाजद्वारा जनआन्दोलन गर्न पार्टीहरूलाई दवाव दिई आम जनतामा जागरण ल्याउने प्रयास र प्रतिगमन विरुद्ध नलाग्दा आफ्नो अस्तित्व नै समाप्त हुने पार्टीहरूको बोध, कवि कलाकारहरूद्वारा लगातार प्रतिगमनविरोधी अभियान सञ्चालन जस्ता कुराहरू भए । परिस्थितिले बाध्य पारेपछि नेपालका प्रमुख राजनीतिक दलहरूले विधिवत् आन्दोलन प्रारम्भ गरे । त्यस आन्दोलनलाई नियमित र सशक्त रूपमा सघाउने काम जागृत चेतना बोकेका प्रजातान्त्रिक तथा प्रगतिशील स्रष्टाहरूले गरिरहे । यस कार्यमा जिम्मेवारीबोधसहित लाग्नेहरूमा कवि अर्जुन पराजुली पनि एक हुन् । पछि नागरिक आन्दोलन र माओवादी पार्टी पनि शान्तिपूर्ण जनआन्दोलनमा निर्णायक शक्ति र निर्णायक भूमिकासाथ सडकमा ओर्लिए । माओवादीसित सात राजनीतिक दलहरूको सम्झौता नै २०६२–२०६३ सालको महान् जनआन्दोलनका लागि एकमात्र आधार बन्यो । त्यसपछि भएको १९ दिने महाजनआन्दोलनले प्रतिगमनकारी राजतन्त्र विरुद्ध निर्णायक प्रहार गर्न सक्यो र आज राज्यको पुनर्संरचनाका लागि व्यापक प्रयत्न हुँदैछ । तर केही प्रमुख राजनीतिक पार्टीहरू पुन: जनद्रोही काममा षड्यन्त्रपूर्वक लागेका देखिन्छन् र सेरेमोनियल किङको नाममा यथास्थितिवादलाई जोगाइराख्न देशी गद्दार र विदेशी साम्राज्यवादका दलाल बनेर सक्रिय बनिरहेका छन् । यिनै प्रमुख राजनीतिक गतिविधिको सेरोफेरोमा यिनै राष्ट्रिय समस्या र सामाजिक तथा राजनीतिक विकृतिलाई विषय बनाएर कवि अर्जुन पराजुलीले २०५५ सालपछि हास्यव्यङ्ग्य कविताहरू लेखेको देखिन्छ । त्यसैले उनको दोस्रो चरणको हास्यव्यङ्ग्यकवित्वलाई यसै सापेक्षतामा बुझ्न जरुरी छ ।
२०५५ देखि हालसम्म कवि पराजुलीले करीब एक सयभन्दा बढी कविताहरू लेखिसकेका छन् । २०५५ देखि २०५७ सम्मका उनका कविताहरूमा बहुदलीय व्यवस्थामा देखापरेका विकृति, सामाजिक अराजकता र अपसंस्कृति, बेरोजगारी र विकृति शैक्षिक क्षेत्र, नेतृत्वका गलत प्रवृत्ति र राजनेताको चरित्र नै कविताका मुख्य विषयवस्तु बनेको पाइन्छ भने २०५७ पछिका उनका कविताहरू बढीमात्रामा राजनीतिकेन्द्रीत छन् । २०५९ पछिका उनका अधिकांश कविताहरू प्रतिगमनविरुद्धमा र राष्ट्रिय अस्तित्व र जनाधिकारका पक्षमा लेखिएका देखिन्छन् । यस क्रममा उनका कविताहरूमध्ये गोरुगधा संवाद, स्वास्नी कसकी राम्री, सुन्दरी प्रतियोगिता, गाउ“, त“ मल के मल ? जस्ता कविताहरू २०५५ देखि २०५८ बीचमा बढी चर्चित रहे भने राजा ज्ञानेन्द्रद्वारा गरिएको प्रतिगमनपछि पेसा राम्रो प्रतिगमन, आयो विद्यार्थी ठिटो आयो, जड्डबहादुरस“ग पुनर्मिलन, सत्र साल भाग दुई, हामी, मेरो सहरमा, बूढो नेता, राजाहरू विक्रीमा छन्, बालाई चिठ्ठी जस्ता कविताहरू धेरै नै चर्चामा रहे । यसबाहेक शीर्षक नराखिएका तर चोटिलो व्यङ्ग्य भएका केही टुक्रे कविताहरू पनि धेरै नै चर्चामा आए । कवि पराजुलीको दोस्रो चरणको हास्यव्यङ्ग्य कवितायात्रालाई यिनै कविताहरूको साक्ष्यमा मूल्याङ्कन गर्न सकिन्छ ।
२०५५ देखि २०५७ का कविताहरूमा कवि पराजुलीको ध्यान राजनीतिक विकृति एवं सामाजिक विकृति दुवैतर्फ गएको छ । चुनावका बेला गाउँका घरघरमा पसेर चर्को विनम्रता र अविश्वसनीय आश्वासन बाँड्दै हिँड्ने नेताहरू चुनावपछि सहरमै थच्चिएर भोगविलास र स्वार्थी राजनीतिको लुछाचुँडीमै व्यस्त रहे । उनीहरूको यस्तै प्रवृत्तिलाई केन्द्रमा राखी उनले केही राजनीति विषयकै कविता लेखेका छन् । तिनमा गाउ“, गोरुगधा संवाद र त“ मल के मल ? शीर्षकका कविता बढी चर्चामा रहेको पाइन्छ । धेरै मञ्चहरूमा कवि पराजुलीले तिनको वाचन पनि गरे । उनले सहरमा भित्रिएको छाडा संस्कृति, अश्लीलता, बेरोजगारी, तस्करी लगायतका विषयमा पनि रचना गरे । जसमध्ये स्वास्नी कसकी राम्री र सुन्दरी प्रतियोगिता बढी चर्चामा रहे भने यी कविता पनि उनले ठाउँठाउँमा धेरैपटक वाचन गरे ।
गाउ“ शीर्षकको कवितामा भौतिक तथा आर्थिक दृष्टिले मात्र नभई शैक्षिक तथा राजनीतिक दृष्टिले समेत पछौटे हुन बाध्य भएको र बाध्य पारिएको गाउँ र त्यहाँका जनताका पीडाहरूलाई व्यक्त गर्दै धोखेबाज र अवसरवादी राजनेताहरूप्रति व्यङ्ग्य गरिएको छ । हास्यभन्दा करुणा प्रबल रहेको यस कवितामा चुनाव जित्नुपूर्व गाउँघरका जनताबीच आश्वासनका पोकाहरू बाँड्दै हिँड्ने नेताले चुनाव जितिसकेपछि एकपटक पनि गाउँमा नफर्केकोमा आपत्ति जनाउँदै दैवी विपत्ति परेको बेला अर्को चुनावलाई सम्झेर साखुल्ले बन्दै हेलिकप्टरबाट गाउँमा पुग्ने र देखावटी सहानुभूति प्रकट गरी साखुल्ले हुन खोज्ने नेताको दुष्प्रवृत्तिमाथि चोटिलो व्यङ्ग्य गरिएको छ । तलको उद्धरणले यसै कुराको पुष्टि गर्छ :
दूध दाङमा तताए पनि
तर लाग्ने काठमान्डूमा नै हो
काठमान्डूमा बसी–बसी
घुँडा धसेर तर मार्न पाएपछि
गाउँमा के मार्न जानु ?
गाउँमा जानैपर्छ भने
पहिले त्यै पहिरो जाओस्
पहिरोलाई उछिनेर हामी जान मिल्दैन
कसरी जानु त ?
पहिरो नगई हेलिकप्टर लान मिल्दैन ।
अर्को कविता गोरुगधा संवादमा भने गुण्डागर्दी र लुच्याइँका भरमा चुनाव जितेर संसद्मा पुगेका केही लठुवा सांसदप्रतिको चर्को वितृष्णा रमाइलो हास्य तीखो व्यङ्ग्यसाथ व्यक्त गरिएको छ । अयोग्य व्यक्तिहरू अन्यत्र असफल भएपछि राजनीतिमा लाग्ने र त्यस्ता अयोग्य व्यक्तिले राजनीतिक नेतृत्व गर्दा राष्ट्र पछि पर्ने तथा जनताले दु:ख पाउने कुरालाई आत्मसात गरेर यो कविता लेखिएको छ । हास्य र व्यङ्ग्य दुवैको राम्रो संयोजन देखिने यस कवितालाई हेरौं :
गोरुले गधालाई सोध्यो –
भाइ ! चुनाव त जितिछस्
मान्छेले तँलाई मत कसरी दिए नि ?
गधाले भन्यो –
चुनाव जित्नुअघि त
म पनि मान्छे नै थिएँ नि !
सहरमा बढ्दो छाडापन, अपसंस्कृति र यौन विकृतिलाई विषय बनाएर लेखिएका कविताहरूमा खासगरी नारीलाई यौनविकृतिको खुलामञ्च बनाई गरिएका क्रियाकलापहरूमाथि प्रहार गरिएको उपहासपूर्ण व्यङ्ग्य चोटिलो छ । खासगरी रूपपक्षमा, नाङ्गोपनमा र बाह्याडम्बरमा सौन्दर्य खोज्ने अनि सुन्दरी प्रतियोगिताका नाममा पूँजीवादी छाडा संस्कृतिलाई भिœयाई त्यसमै आधुनिकताको दम्भ भर्ने प्रवृत्तिमाथि गरिएको उपहासपूर्ण व्यङ्ग्य प्रभावकारी बनेको छ । यो कविता सुनेर केही तथाकथित आधुनिक महिलाहरू मञ्चमै तिल्मिलाएको देखिएको छ । त्यसैले जानकारीका लागि पनि यहाँ यसको उद्धरण गर्न उचित हुनेछ :
मैले सोधेँ – ओई बूढी !
मलाई घाँस खुवाऊँ खुवाऊँ भयो
मेरो भैंसी कहाँ गयो ?
गोठको किलोमा दाम्लो खाली भएको छ !
बूढीले भनिन् –
खै बूढा !
अब तिम्रो घाँस पनि खेरै जाने भएको छ
तिम्रो भैंसी त
टोलभरिका भैंसीहरू बटुलेर
सुन्दरी प्रतियोगितामा
भाग लिन गएको छ ।
कवि अर्जुन पराजुलीको चेतना र कवि हुनुको दायित्वबोध वास्तवमा राजा ज्ञानेन्द्रद्वारा नेपाली जनतामाथि लादिएको प्रतिगमनपछि खुलेर देखापरेको छ । अर्जुन पराजुली सशक्त हास्यव्यङ्ग्य कविका रूपमा यसपछि नै स्थापित भए भने यसपछि नै हजारौं हजार जनसमूहमा उनी असल नागरिक र विशिष्ट आन्दोलनकविका रूपमा लोकप्रिय बने । २०५९ सालदेखि २०६३ सम्मका उनका कविताहरू आन्दोलन कविता हुन् । हास्यव्यङ्ग्यशैलीमा लेखिएका नेपाली कविताहरू लाखौं जनतालाई सुनाउन पाएका भाग्यशाली कवि र ज्यान जोखिममा राखेर तानाशाहीविरुद्ध खुल्लमखुल्ला सडकसङ्घर्षमा होमिएका महान् आन्दोलनकविका रूपमा यस समयका कवि अर्जुन पराजुलीको उच्च मूल्याङ्कन गर्नुपर्छ । यस अवधिमा माथि उल्लेख गरिएका र नगरिएका गरी उनका धेरै कविताहरू लोकप्रिय भएका छन् । गुरुकुलद्वारा २०६२ साल भदौमा आयोजना गरिएको एकल कवितावाचन कार्यक्रममा अर्जुन पराजुलीले २९ वटा कविताहरू वाचन गरेका थिए । सत्र साल भाग दुई नामको सो कार्यक्रममा वाचित सबै कविताहरूले स्रोतालाई प्रभावित तुल्याएका थिए । त्यसपछि पनि उनका दर्जनौं कविताहरू आए र तीमध्ये अधिकांश कविताहरू राम्रा मानिएका छन् । यहाँ त्यस्ता चर्चित कवितामध्ये केही प्रतिनिधिकविताको चर्चा गर्नु उनको हास्यव्यङ्ग्य कवित्वको मूल्याङ्कनका लागि आवश्यक छ ।
राजा ज्ञानेन्द्रले प्रतिगमनद्वारा तानाशाही शासन लादेपछिको केही समय असमञ्जस, भय, आतंक र शून्यताको समय बन्यो । राजनीतिक पार्टीहरू किंकर्तव्यविमूढ देखिए र केही अवधिपछि आफ्नो अस्तित्व गुम्न लागेको अनुभव गरेर तथा युवा, कार्यकर्ता र विद्यार्थीहरूको विश्वास गुम्छ कि भन्ने भयले तिनीहरूले प्रतिगमन विरुद्ध आन्दोलन सुरु गरे तर उनीहरू विगतका क्रियाकलापले बदनाम भएका हुँदा जनताले तिनलाई पत्याएनन् । फलस्वरूप आन्दोलनले गति लिन सकेन । त्यसबेला आन्दोलनलाई गति दिने काम विद्यार्थीहरूले गरे । अल्छे नेता र जुम्सा पार्टीहरूलाई घिच्याउँदै सडकमा निस्कन बाध्य पार्ने काम यिनै विद्यार्थीहरूले गरेका हुन् । यी भर्खरका विद्यार्थीको जागृत चेतना र साहसी कर्मलाई सलाम गर्दै र तिनमा थप उर्जा भर्दै कवि पराजुलीले आयो विद्यार्थी ठिटो शीर्षकको कविता लेखे र धेरै ठाउँमा सुनाए । यस चरणको एउटा चर्चित कविता यो पनि बन्यो । यसका केही पंक्तिहरू यसप्रकार छन् :
बायाँ कुममा हँसिया–हथौडा
दायाँमा चारतारा लायो
लाठा खायो टाउको फुटायो
रातो रगतको धारा लायो
भित्ताको पनि बोली फुटायो
गणतन्त्रको नारा लायो
आयो विद्यार्थी ठिटो आयो ।
तानाशाही प्रतिगमन उन्मादको उत्कर्षमा रहेको बेला, कविकलाकारहरू जेलमा पारिँदै गएका बेला, जनुसुकै व्यक्ति जुनसुकै निहुँमा मारिँदै गएको बेलामा जीवनकै माया मारेर पनि क्रान्तिचेतना फैलाउन साहस गर्ने कवि पराजुलीले चरम साहस र दृढ आस्था देखाउँदै प्रतिगमनविरुद्ध जाइलागेको कविता हो सत्र साल भाग दुई । २०१७ सालमा राजा महेन्द्रले प्रतिगमनद्वारा प्रजातन्त्रमाथि तानाशाही लादेका थिए भने षड्यन्त्रकारी बाबुको सिको गर्दै छोरा ज्ञानेन्द्रले पनि प्रजातन्त्रमाथि तानाशाही लादेका थिए । त्यसैले ज्ञानेन्द्रको प्रतिगमन नेपाली राजनीतिमा पहिलेदेखि हुँदै आएको प्रतिगमनकै निरन्तरता हो भन्नेमा कवि पराजुली स्पष्ट छन् । यो कविता त्यही स्पष्टताको प्रमाण हो । कला र अन्र्तवस्तुको राम्रो मेल भएको यो कविता चर्को रूपमा व्यङ्ग्यात्मक छ । चर्को व्यङ्ग्यले पनि हास्य उत्पन्न गर्ने भएकोले उत्तिकै हास्यास्पद पनि छ । यसको निम्नलिखित उद्धरणले प्रतिमगनविरोधी साहसी कविको परिचय दिन्छ :
पर्दा बेग्लै झ्याल उही
खोपडी बेग्लै ख्याल उही
जिब्रो बेग्लै र्याल उही
छाला बेग्लै स्याल उही
सत्र साल भाग दुई !
घण्टाघरले घण्टी बजाए हुन्थ्यो
धरहरा प्रमुख अतिथि बनेर आए हुन्थ्यो
सहिदगेटले माइक समाए हुन्थ्यो
लोकतन्त्रको भित्तोले स्वागत गीत गाए हुन्थ्यो
सत्र साल भाग दुई !
स्वागतगीत गाउनुभन्दा पहिले
तिम्रो नाउँमा एक मिनेट
मौनधारण गर्न पाए हुन्थ्यो !
सत्र साल भाग दुईभन्दा पनि चर्को र खतरनाक कविता हो जड्डबहादुरस“ग पुनर्मिलन । शक्तिसम्पन्न तानाशाह बनेको उन्मत्त राजा ज्ञानेन्द्रलाई हतियारविहीन कविले खुलामञ्चमा उभिएर राजाकै भरौटे सैनिकहरूसामु दिएको यो थप्पड ऐतिहासिक महत्वको छ । जनआन्दोलनलाई ऊर्जा थप्ने कविताहरूमा यो पनि अग्रणी रह्यो । हजारौंका भीडमा बारम्बार सुनाइएको यो कविता कविका निम्ति जोखिमपूर्ण थियो । उनी मारिन सक्थे, आक्रमणमा पर्न सक्थे, जेलमा सडाइन सक्थे, उनीमाथि राजद्रोहको मुद्दा लाग्न सक्थ्यो तर कुनै कुराको पर्वाह नगरी उनले जङ्गबहादुरको आधुनिक भूत राजा ज्ञानेन्द्रको बिम्ब सार्वजनिक रूपमा उतारिछाडे । यसमा जङ्गबहादुरमात्र होइन, सत्र सालका महेन्द्र र तुलसी गिरी पनि प्रतिबिम्बित छन् भने ज्ञानेन्द्रको हनुमान तुलसी गिरीलाई ज्ञानी र आज्ञापालक कुकुरको बिम्बमा जीवन्त पारी प्रस्तुत गरिएको छ ।
यसरी नै राजा ज्ञानेन्द्रलाई केन्द्र बनाएर लेखिएको तानाशाहको रोचक चित्रण गरिएको कविता हो बालाई चिठ्ठी–२ यसमा पनि कविले ठूलो जोखिम मोलेका छन् । राजा ज्ञानेन्द्र साँच्चैमा कसको सन्तान हुन् ? भन्ने अनौठो प्रश्न यसमा उठाइएको छ । राजदरबारका व्यभिचार र त्यसको परिणामस्वरूप जन्मेका अवैध सन्तानबाट समेत देश र जनताले खेप्नुपरेको शोषण दमनलाई यस कविताले सङ्केत गर्छ । आफ्नो सत्ता टिकाउन तानाशाही राजतन्त्रले गरेका तमाम तिगडम, षड्यन्त्र, धोकाधडी, बद्मासी, हत्या, लुटपाट र आतंकलाई सङ्केत गर्दै त्यहाँका व्यभिचारको भण्डाफोर यसले गर्छ भने तस्करीमा राजसंस्थाको योगदानलाई पनि सङ्केत गर्छ । युवाशक्तिलाई दिशाहीन तुल्याई युगौंयुग तानाशाही राज्यव्यवस्था चलाउने राजसंस्थाको विरोधका माध्यमले कवि सामन्ती राज्यसत्ताविरुद्ध खनिएका छन् । साथमा प्रजातन्त्रप्रेमी अदमित आन्दोलनकारीबाट भित्रभित्रै तर्सिरहेका सामन्ती मानसिकताको उद्घाटन पनि यसमा गरिएको पाइन्छ । राज्यमा फैलिएको तस्करी र त्यसमा संलग्न राजसंस्था वा तिनका भरौटेलाई व्यङ्ग्य गर्दै लेखिएको अर्को कविता हो – हामी र तिनीहरू । यसमा नेपालका राष्ट्रिय सम्पदाहरूको तस्करीसत्ता र शक्तिका रहेका वर्गले नै गरेको ठहर गर्दै यस्तो अभिव्यक्ति दिइएको छ :
हामी मन्दिर जान्छौं आस्था जगाउन
तिनीहरू मन्दिर जान्छन् मूर्तिको मोल पत्ता लगाउन
मन्दिर गएर हामी दर्शन मूर्तिको गर्छौं
मूर्तिले दर्शन तिनीहरूको गर्छ
हामी मूर्तिमा लीन हुन्छौं र केही छिनका लागि हराउँछौं
मूर्ति तिनीहरूमा लीन हुन्छ र सदाका लागि हराउँछ
हामी त्यसपछि पनि त्यही मन्दिरमा जान्छौं
तिनीहरू त्यसपछि अर्कै मन्दिरमा जान्छन् ।
यसैगरी पेसा राम्रो प्रतिगमन शीर्षकको कविताले पनि चर्को रूपमा हास्यव्यङ्ग्य प्रस्तुत गरेको छ । यसै आन्दोलन कविताको अवधिमा तिहारपख कवि पराजुलीले द्यौसीगीत रचना गरे । सिस्नुपानी नेपाल नामको संस्थाका तर्फबाट यो द्यौसीगीत ठाउँठाउँमा प्रस्तुत गरियो । नेपालकै इतिहासमा यो द्यौसी नितान्त नयाँ थियो । यसमा एकातिर लोकतन्त्रका पक्षमा बुलन्द आवाज थियो भने अर्कातर्फ राजनीतिक विकृति र अपराधीकरणविरुद्ध चर्को घृणा र प्रहार थियो । साथमा सामाजिक असङ्गति, सांस्कृतिक कुसंस्कार, भ्रष्ट कर्मचारीतन्त्र र दोहोरो बन्दुकको मारमा परेका जनताको पीडा व्यक्त थियो । बोकासरह किनिने सांसद, सुत्केरीभत्ता खाने पुरुषसांसद्, शान्तिविरोधी शासक, कमिसनखोर प्रशासक, तस्कर व्यापारी, उन्मत्त गुन्डागर्दी, चोर पुलिसप्रशासन लगायतका विसङ्गतिको उद्घाटन गर्न सफल यस द्यौसीगीतमा नेपालको राजनीति दिल्लीबाट सञ्चालन भइरहेको धारणा पनि प्रस्तुत गरेको पाइन्छ । त्यसैगरी पार्टीस्वार्थबाट कहिल्यै माथि उठ्न नसक्ने हरिलठ्ठक नेताहरूको झाँको झार्ने काम पनि यसले गरेको छ । यसरी व्यापक युगबोध गरी तयार पारिएको यस हास्यव्यङ्ग्य गीतले राजनीति, समाज र व्यक्तिचरित्रको सुधारमा जोड दिँदै क्रान्तिकारी रूपान्तरणका पक्षमा सन्देश दिएको देखिन्छ ।
२०६२–६३ सालको १९ दिने महाजनआन्दोलन माओवादी र सात दलको संयुक्त आन्दोलन र नागरिक समाजको महान् सहभागिताबाट सम्पन्न भयो । देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गरी नयाँ नेपालको निर्माण गर्ने साझा सहमतिमा आन्दोलन टुङ्गियो । जनताको एकमात्र चाहना राजाविहीन र राजतन्त्रविहीन लोकतन्त्र थियो । आफू सत्तामा पुग्न सात दलले त्यही जनादेश बोकेर प्रतिबद्धता देखाए तर सत्तामा पुग्नासाथ दलमध्येका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले माओवादी हतियारको निहुँ थापेर सकेसम्म यथास्थिति कायम गर्ने भित्री षड्यन्त्रमा लागेको आभास भइरहेछ । तिनमा पनि नेपाली कांग्रेस खुलेरै राजतन्त्रका पक्षमा देखा परेको छ । सेरेमोनियल किङ राख्नुपर्नेमा नेपाली कांग्रेसका सभापति, महामन्त्रीदेखि तलसम्मका केही कार्यकर्ताहरू लागेको तथा माओवादीलाई वार्ताको नाममा अल्मल्याई रहने र मौका मिल्नासाथ पूर्ण रूपमा सत्ता हत्याउने योजनामा नेपाली कांग्रेसले भारत र अमेरिकी निर्देशनमा काम गरिरहेको आभास जनतालाई हुन थालेको छ । अहिलेको यस्तो स्थिति देखेर चिन्तित बनेका कवि अर्जुन पराजुली पुन: नागरिक आन्दोलनका सबैजसो सभाहरूमा पुगी कांग्र्रेसको यो षड्यन्त्रविरुद्धमा र लोकतान्त्रिक गणतन्त्रका पक्षमा हास्यव्यङ्ग्यशैलीका खबरदारी कविताहरू सुनाउँदै हिँडेका छन् । साथमा राजतन्त्र नै नेपाली जनताको मुख्य शत्रु हो र त्यो रहेसम्म नेपाली जनता न त स्वतन्त्र हुन सक्दछ न सुखी नै हुन सक्छन् भन्ने विचार सम्प्रेषण गरिरहेका छन् । यस क्रममा उनले सुनाएका कवितामध्ये राजाहरू विक्रीमा छन्, बूढो नेता, हामी, थाहा पाइराख, मेरो शहरमा शीर्षकका कविताहरू चर्चित छन् । यीमध्ये कलामूल्य र व्यङ्ग्यचेतनाको उत्कृष्ट कविता हो बूढो नेता । यसले हालको राजनीतिमा सत्तापक्षको बागडोर सम्हालेर जनतालाई छक्याई राजा राख्ने षड्यन्त्रमा लागेका बूढा नेता गिरिजाप्रसाद कोइरालालाई मुख्य केन्द्र बनाई त्यस प्रवृत्तिमाथि व्यङ्ग्य गरेको छ । कांग्रेस यथास्थितिमा नै मुलुकलाई अल्मल्याउन चाहन्छ । त्यसको नेताका गतिविधिले यसै कुराको पुष्टि गरिरहेछन् । यस बूढो नेतामा अझै तानाशाही प्रवृत्ति छ भने यसका पाटपूर्जाहरू खिया लागेर थोत्रा भइसकेका छन् । यो नेता त्यस्तो बूढो गाडी हो जसको इन्जिन धेरै पुरानो छ र जुनसुकै बेला यो बूढो गाडी दुर्घटनाग्रस्त हुन सक्छ । नेपाली जनतारूपी यात्री कांग्रेसको बूढो नेताको ड्राइभिङमा यात्रा गर्दा हरपल खतरामा पर्छ । यस्तो सडेगलेको र पुरानो इन्जिन लिएर हिँड्ने बूढो ड्राइभरले जुनसुकै बेला नेपाली जनतालाई दुर्घटनामा पार्न सक्ने भएकोले देशको लगाम नयाँ, जोशिला, जाँगरिला र इमान भएका ड्राइभरलाई दिनुपर्छ भन्ने कविको धारणा छ । नेपाली राजनीतिलाई नयाँ पुस्तामा हस्तान्तरण नगरेसम्म देशमा भनेजस्तो लोकतन्त्रको स्थापना हुन सक्दैन भन्ने सार यस कविताबाट निस्कन्छ । सम्पूर्ण कविता बिम्बप्रतीकमा व्यक्त छ । सात राजनीतिक दललाई जिम्मेवार नागरिक कविका तर्फबाट सतर्क गराइएको यो कविता उत्कृष्ट छ ।
जनआन्दोलनको ठूलो सफलतापश्चात् यसलाई सार्थक उपलब्धिमा पुर्याउन जनतालाई निरन्तर जागृत पारिरहनु आवश्यक हुन्छ । त्यसका निम्ति जनाधिकारका प्रमुख बाधाहरू र ती बाधाका कारण उत्पन्न हुने समस्याहरूबारे सबैलाई सचेत गराइरहनु आवश्यक हुन्छ । कवि अर्जुन पराजुलीले हामी, राजाहरू विक्रीमा छन् जस्ता अनेक कविताहरू लेख्दै सुनाउँदै गरेर त्यो दायित्वसमेत निर्वाह गरिरहेको पाइन्छ । कविता लेखेर के हुन्छ ? कविताले के गर्न सक्छ ? भनी कविताको शक्तिलाई होच्याउने र कविताको उपहास गर्नेहरूलाई जवाफ बनेर पनि कवि पराजुलीका कविता व्यक्त भएका छन् । १९ दिनको जनआन्दोलनपछि जब टुँडिखेलमा लाखौंको विशाल विजयी जनसभाको आयोजना गरियो, त्यसमा गिरिजाप्रसाद कोइराला विरामी भई सम्बोधन गर्न नआउने सूचना दिइयो । जनसमूह त्यो सुनेर यति आक्रोशित भयो कि मञ्चतिर इँटा, ढुंगा र बोतलहरूले प्रहार हुन थाल्यो । त्यो विशाल भीडलाई शान्त पार्न राजनीतिक दलका नेताहरूले प्रयास गरे तर सकेनन् र अन्त्यमा कवि अर्जुन पराजुलीलाई मञ्चमा पुर्याइयो । अर्जुन पराजुलीका कविता सुन्न थालेपछि जनसमूह शान्त हुँदै गयो । इतिहास र हामी धेरै स्रष्टा त्यसका साक्षी छौं । कवितामा कति शक्ति हुन्छ भन्ने कुराको जीवन्त नमूना त्यो कविता र घटना थिए । त्यहाँ विशाल जनमानसको मन छोएर तिनकै मनका कुरा व्यक्त गरेका थिए कवि पराजुलीले । राजाहरू विक्रीमा छन्शीर्षकको त्यस कविताको एउटा अंश यस्तो छ :
हाम्रो पसलको प्रत्येक राजा
कामचोर छ तर कमजोर छैन
नापतौल तलमाथि होला
गुणस्तरमा धेरथोर छैन
उसले अरूलाई बिगार्ने ग्यारेन्टी छ
ग्यारेन्टी अर्को पनि छ
ऊ आफूलाई कहिल्यै पनि बिगिँ्रदैन
बिग्रिहाले पनि हामी छौं
हरेस नखानोस्
पुरानु राजा ल्याउनोस्
नयाँ राजा लैजानोस् ।
यसपछिका दिनहरूमा कवि अर्जुन पराजुलीेले लगातार यस्तै सचेतता र सतर्कताका जागृति कविताहरू सुनाइरहेका छन् । स्रोतालाई पेच पारेर हुन्छ कि, उत्साह दिएर हुन्छ कि, व्यङ्ग्य गरेर हुन्छ कि हँसाएर हुन्छ कि लगातार उनको यो प्रयत्न जारी छ । थाहा पाई राखमा उनी लेख्छन् :
थाहा नभए थाहा पाई राख
नेपाल आमाका छोरा हो !
नेपाल आमाका छोरी हो !
राजा भनेको
जनता झुन्ड्याउने डोरी हो ।
तानाशाही राजालाई चिडियाघरमा लगेर राखौं र मनोरञ्जन लिऊँ भन्दै एउटा कवितामा यस्तो लेख्छन् :
गीत हुनेले गीत थपौं
सोर हुनेले सोर थपौं
सीप हुनेले चिडियाघरमा
एउटा नयाँ खोर थपौं
नयाँ खोरमा नयाँ जन्तु थप्ने होइन
पुरानु एउटा चोर थपौं ।
यसबाहेक उनले केही कवितामा धार्मिक आडम्बरको संस्कृतिमाथि तथा अन्धविश्वासले गाँजिएको तल्लोस्तरको चेतनामाथि पनि व्यङ्ग्य गरी लेखेको पाइन्छ । बाँचुञ्जेल बूढा बाबुआमाको हेरचाह नगर्ने तर मरेपछि बडो धर्म गर्ने ढोँग गर्दै क्रियाकर्म र श्राद्धजस्ता काम गरी पिण्ड लडाउने गलत परम्पराप्रति व्यङ्ग्य गर्दै हामी कवितामा यस्ता पङ्क्ति प्रस्तुत गरिएका छन् :
आमा जब ज्यूँदै हुन्छिन्
हामी उनलाई भोकै राख्छौं र
आफूलाई खीर खुवाउँछौं
आमा जब मर्छिन्
हामी आफूलाई भोकै राख्छौं र
उनलाई खीर खुवाउँछौं ।
यसरी दोस्रो चरणमा कवि अर्जुन पराजुली उन्नत र जागृत नागरिक चेतनासाथ हास्यव्यङ्ग्यात्मक कविता लेखिरहेका देखिन्छन् । नेपाली जनजीवनमा राजनीतिक हस्तक्षेप र राजनीतिक तिगडमबाजीले निम्त्याएका राष्ट्रिय संकटहरूको उद्घाटन गर्न र त्यस्ता नकारात्मकताका विरुद्ध सचेत र जागृतिमूलक सन्देश छर्न उनका हास्यव्यङ्ग्य कविता सफल बनेका छन् । यी कवितामा समसामयिक जनआवाजको प्रतिनिधित्व भएको छ । आफ्ना वरिपरि र समग्र राष्ट्रमा जनजीवनविरुद्ध उत्रिएका ऐँजेरुहरूलाई काट्न उनको कवि उद्यत देखिन्छ । युगका विदू्रप र विकृत अनुहारहरूलाई नाङ्गेझार पार्न उनको कवि प्रयत्नशील र धेरै हदसम्म सफल छ । उनमा हास्यव्यङ्ग्यशैलीद्वारा युगीन सत्यको उद्घाटन गर्ने प्रवृत्ति झन् राम्ररी विकसित भएको छ । पहिलो चरणका तुलनामा यस चरणका कवितामा हास्य प्रच्छन्त भएर आएको छ भने व्यङ्ग्य सघन र तीव्र बनेको छ । पहिलो चरणका कवितामा अनुप्रासको मोहले कविलाई खालि शब्दभण्डार बटुल्नमा केन्द्रित पारेको देखिन्छ । त्यसैले शब्दजोडाहरू त्यहाँ प्रशस्त मिलेका छन् तर भाव र विचारको गहिराइको त्यहाँ अभाव छ तर दोस्रो चरणका कविताहरूमा हास्य र व्यङ्ग्यको सन्तुलन तुलनात्मक रूपमा बढी छ । विचारको तीक्ष्णता, भावको सघनता र शैलीको तुकबन्दीले यस चरणको कवित्वलाई विकसित र विस्तारित बनाएका छन् । अर्जुनका कविता तुकबन्दीमात्र हुन भन्नेहरूका निम्ति दोस्रो चरणका उनका कविताहरू राम्रा जवाफ बनेका छन् ।
निष्कर्ष :
हास्यव्यङ््ग्यकवि अर्जुन पराजुली वर्तमान समयका सर्वाधिक जनप्रिय र सर्वाधिक लोकप्रसिद्ध कवि हुन् । प्रारम्भतिरका यिनका कविताले सामाजिक विसङ्गतिलाई मुख्य विषयवस्तु बनाएका छन् भने पछिल्लो चरणका कविताले राजनीतिका असङ्गत र लोकतान्त्रिक गणतन्त्रको चेतनालाई मुख्य विषयवस्तु बनाएका छन् । यिनी जनविरोधीको मुटुमा ढ्याङ्ग्रो ढोक्ने गरी, जनविरोधीहरूलाई मर्माहत पार्ने गरी र आन्दोलित जनमानसका भावनाको प्रतिनिधित्व गर्नेगरी हास्यव्यङ्ग्य शैलीका कविता लेख्छन् । यिनका कविताहरू युगको मागबाट प्रेरित र निर्देशित छन् भने राष्ट्रियताप्रतिको अनुराग र मानवीय संवेदनाले सिञ्चित छन् । यिनी आत्मानुशासनमा जोड दिएर लेख्ने स्वतन्त्रताप्रेमी कवि हुन् । आफूले केही पुरस्कार वा सम्मान पाउँला भनेर नभई आत्मप्रेरित भएर तथा नागरिक कवि हुनुको दायित्वबोध गरेर लेख्ने प्रवृत्ति यिनमा छ । राजनीति र साहित्य दुवै मानव कल्याणका निम्ति हुन् भन्ने मान्यता राख्ने भएकाले यिनले साहित्य र राजनीतिलाई एकअर्कासँग अन्योन्याश्रित ठान्छन् । पछिल्लो चरणमा उनले गरेको योगदान जनतान्त्रिक राजनीतिलाई सघाउनमा ऐतिहासिक त छ नै साथमा कविताका दृष्टिले पनि विकसित छ ।
नेपाली कविताको इतिहासमा सबैभन्दा बढी स्रोताले प्रत्यक्ष देखेर सुनेको कवि कोही छ भने अर्जुन पराजुली नै छ । धेरै युवा तथा आन्दोलित नेपालीहरू अर्जुनका कवितामा आफ्नै मन र मुटु व्यक्त भएको पाउँछन् । तानाशाहीविरुद्धको उनको हुँकार जनताकै आत्माको अभिव्यक्ति बनेर व्यक्त भएको छ । झट्ट हेर्दा उनका कविता सुनेर स्रोता हाँसेको वा मनोरञ्जन गरेको देखिन्छ तर उनका कविता मनोरञ्जन दिने उद्देश्यले नभई जनताको पीडा व्यक्त गर्ने उद्देश्यले लेखिएका देखिन्छन् । सुन्दा हाँसो उठ्छ भने बुझ्दा रुन मन लाग्छ । दु:खदभन्दा दु:खद कुरा पनि हास्योत्पादनसाथ व्यक्त गरिएकाले थप आकर्षक बनेको पाइन्छ ।
नेपाली हास्यव्यङ्ग्यकविताको इतिहास धेरै लामो छ । तर प्राप्तिचाहिँ नगन्य छ भन्दा फरक पर्दैन । हास्यव्यङ्ग्य निबन्धका क्षेत्रमा सन्तोष गर्न सकिने कृतिहरू आएका छन् तर हास्यव्यङ्ग्य कवितातर्फ गौरव नै गर्न सकिने खालको एउटा कृति पनि आएको पाइन्न । यद्यपि भानुभक्त आचार्यदेखि नै हास्यव्यङ्ग्य कविताको प्रारम्भ देख्न सकिन्छ तर यो विकास फाट्टफुट्ट रूपमा मात्र भएको देखिन्छ । भानुभक्तपछि राजीवलोचन जोशी, महाकवि देवकोटा, भीमनिधि तिवारी, भैरव अर्याल, केशवराज पिँडाली, भूतको भिनाजू (वासुदेव लुइँटेल), भरतराज पन्त, श्रीधर खनाल, रमेश खकुरेलजस्ता केही प्रतिभाहरूले हास्यव्यङ्ग्य कवितामा केही प्रयास गरेका छन् । तर तिनमा हास्य न्यून र व्यङ्ग्य बढी छ । व्यङ्ग्य पनि सघन बन्न सकेको छैन । त्यस्तै २०४० सालपछाडि पनि केही प्रतिभा यस दिशामा केन्द्रित छन् । खासगरी उत्तमकृष्ण मजगैया, वसन्त सापकोटा, नवराज कार्की, बमबहादुर जिताली, रमेश खकुरेल, नरनाथ लुइँटेल आदिको नाम यस क्रममा लिन सकिन्छ । २०४६ सालको जनआन्दोलनपछि खुलेको सिस्नुपानी नेपालको नामको संस्थाले हास्यव्यङ्ग्यतर्फ नयाँ अभियान सञ्चालन गरेपछि पनि केही हास्यव्यङ्ग्य प्रतिभा देखापरेका छन् । यसमा अर्जुन पराजुली, लक्ष्मण गाम्नाङ्गे, नरनाथ लुइँटेल, कृष्णमुरारी गौतम लगायतका केही प्रतिभाहरू आशालाग्दा देखिन्छन् । यिनमा पनि बौद्धिक सचेततासाथ आएका कवि लक्ष्मण गाम्नाङ्गे र नरनाथ लुइँटेल हुन भने हास्य र व्यङ्ग्य दुवैको समन्वय गरी युगीन बेथितिको प्रभावकारी अभिव्यक्ति दिने कवि अर्जुन पराजुली नै हुन् । २०५५ पछिका उनका प्रमुख हास्यव्यङ्ग्य कविताको कृति प्रकाशित भएपछि सायद पहिलोपटक नेपाली हास्यव्यङ्ग्य कवितामा एउटा उल्लेखनीय र राम्रो कृति प्राप्त हुनेछ भन्ने आशा गर्न सकिन्छ । अर्जुन पराजुलीको हास्यव्यङ्ग्य कवित्वलाई निरन्तर विकासशील रूपमा देख्न र अनुभव गर्न पाइएकाले सम्भावना धेरै राम्रो देखिन्छ । एउटै वाक्यमा भन्दा अर्जुन पराजुली सरल, आक्रामक, विद्रोही, निष्ठावान् र स्वतन्त्रताप्रेमी हास्यव्यङ्ग्य कवि हुन् भने समाज, जनता, राष्ट्र र मानवताविद्ध काम गर्नेहरूमाथि निर्भिकतापूर्वक व्यङ्ग्य गर्नु र हास्यशैलीलाई उपयोग गर्नु उनको मूल प्रवृत्ति हो । आज उनी नेपाली हास्यव्यङ्ग्य कविताका निर्विवाद प्रतिनिधि हुन् । यसै रूपमा मूल्याङ्कन गर्दा नै उनको योगदानको सही मूल्याङ्कन हुन्छ ।
– कपन, काठमाडौं
जनमत साहित्यिक मासिकमा २०६३ साल असोज (पूर्णांक ११५) मा छापिएको छ ।