चर्चित भारतीय साहित्यकार अमृता प्रीतमका छानिएका कविताहरू नेपालीमा अनुवाद गरेकी कवि रिमा केसीको पहिलो संग्रहको रूपमा भने ‘यात्रामा अक्षर’प्रकाशित छ । रिमालाई काठमाडौं–कलिङ साहित्य महोत्सव’मा ‘अमृता प्रीतमका छानिएका कविता’पुस्तक ले अनुवाद तर्फ यशस्वी अवार्ड प्राप्त गरेकी थिइन् । कविता मनका भावहरूलाई विचार र शब्दको माध्यमबाट स्वतन्त्रतापूर्वक प्रस्फुटन गर्ने एउटा उत्कृष्ट माध्यम हो भन्न रुचाउने सँग पठन शैली र पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
साथी अमृतको भर्खरै बजारमा आएको नयाँ कृति ‘यादको कोलाज ‘ पढ्दै छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपालीमा पारिजातको ‘शिरीषको फुल’, अङ्ग्रेजीमा पर्ल एस वकको ‘The good earth’ र अमृता प्रीतमको ‘रसिदी टिकट मलाई धेरै मन पर्ने मध्येका पुस्तक हुन ।
तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ?
मेरो लागि फुर्सद र मुड अनुसारको समय हुन्छ अध्ययन गर्नको लागि । ठ्याक्कै यही समयभन्दा पनि कस्तो पुस्तक छ ? कहाँ कस्तो समय र वातावरणमा पढ्न उपयुक्त हुन्छ ? त्यही अनुसार पढ्छु । गहिरिएर अध्ययन गर्ने पुस्तकलाई त्यही अनुसार ठाउँ र समय दिन्छु । कविताहरू, कथाहरू छन् भने अफिसमै पनि फुर्सदको बेला पढी पनि हाल्छु ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
मलाई कविता नै शक्तिशाली विधा हो जस्तो लाग्छ । किनकि एउटा सानो कविताले पनि अथाह कुरा बोल्न सक्छ । कविताका शक्तिशाली बिम्ब, प्रतीक , अलङ्कार र गहिरा भावहरूले मान्छेको हृदय हल्लाउन सक्ने सामर्थ्य बोकेको हुन्छ । जस्तो गोपालप्रसाद रिमालको ‘आमाको सपना’ देवकोटाको ‘पागल’ कविता यसका उदाहरण हुन् ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
खासमा भन्दा साहित्यका पुस्तकहरू पढ्न पाइन मैले । पाठ्यक्रमका किताबहरूमा नेपाली किताबमा भएका किताब किनेर ल्याएको एकै रातमा सबै पढेर सक्थेँ । अरू अरू कक्षाको पनि खोजेर सबै कथा, कविता, जीवनी पढ्ने गर्थेँ । पाए जति सबै एकै बसाइमा सक्थेँ ।
कस्ता पुस्तकहरू पढ्न बढी मनपर्थ्याे ?
मलाई सानैदेखि कथा, कविता, जीवनी, निबन्ध, उपन्यास र इतिहासका किताबहरू पढ्न धेरै रुचि थियो । त्यस्ता किताब खोजी खोजी पढ्थेँ । म भारतमा जन्मिएर केही समय उतै पढेँ । सानैमा मैले झाँसी कि रानी कविता पढेको थिएँ । त्यस कविताले दिएको साहस र आँटको झझल्को अहिलेसम्म पनि महसुस हुन्छ ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
किताबभन्दा जिन्दगी धेरै पढिरहेको छु भन्छु म त । जीवन यस्तो सङ्घर्षमा बित्यो कि किताब किन्ने पैसासम्म पनि भएन मसँग । जब अलिक छाक कटाएर भए पनि किताब किन्न सक्ने भएँ । तबदेखि पढ्न थालेँ । 20 भन्दा पछाडिको समय हालसम्मै भनुम् ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
धेरै छन् । रुमिका कविता, शिरीषको फूल, अमृता प्रीतमका कविताहरू, बिपीको नरेन्द्र दाइ, शंकर लामिछानेको ‘एब्स्ट्याक चिन्तन प्याज’ लगायत धेरै छन् ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
कविताहरूको विषयमा भन्नू पर्दा धेरै मन परेर हो । कुनै कविताहरू यस्ता हुन्छन् कि जति पढ्यो झन् उति पढ्न मन लागिरहने । अन्य विधाका पुस्तकका बारेमा भन्नू पर्दा त्यस पुस्तक भित्रको भाव, शिल्प, शैली र त्यसको कथावस्तु अनि पात्रहरूसँग डुब्न मन लागेर । जस्तै पढ्दै गर्दा सकम्बरी म आफैँलाई ठान्छु ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
शैली, शिल्प, भाव, कथावस्तु, कविता बिम्ब, प्रतीक, चरित्र लगायतका कुराहरू पर्दछन् ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
माथि नै भनिहालेँ नि ! पुस्तक पढ्दै गर्दा जुन एउटा चित्रा कृति बनेर कल्पनाको उडानमा उडिरहेको हुन्छ मन । लेखकले लेखेकोभन्दा अझै उच्च र उत्कृष्ट खालको आकृति बनिसकेको हुन्छ जुन धेरै पछिसम्म मानसपटलमा रहिरहन्छ । कुनै पनि कृति पढिसकेर मैले लेखकलाई म्यासेज गरेर सोध्ने गर्छु । यो कुरा साँचो हो ? कसरी लेख्नु भयो ? भनेर । जब लेखकबाट उत्तर पाउँछु अनि बल्ल सन्तुष्ट हुन्छु ।
तपाईँको विचार पढ्नु केका लागि हो ?
मेरो विचारमा अध्ययन गर्ने सबैको आआफ्नो उद्देश्य हुन्छ । कोही मनोरञ्जनको लागि पढ्लान् । कोही ज्ञानको लागि पढ्लान् । मेरो आफ्नो कुरा भन्नू पर्दा म आनन्द र खुसीको लागि पढ्छु । आत्मसन्तुष्टिको लागि पढ्छु । म जीवन, दर्शन, समाज र देश पढ्नको लागि पढ्छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
जीवनमा पुस्तकले सघाउने भन्दा पनि ऐना देखाउने काम गर्छन् । जस्तो समाजको यथार्थताको कविता, कथा र उपन्यासहरूले आवाज बोलेका हुन्छन् । केही किताबले आफू बाँचेको जीवनभन्दा पनि अझ कठिन र दर्दनाक जिन्दगी बाँच्नेहरू पनि छन् है भन्ने खालका सकारात्मक सन्देश पनि दिएका हुन्छन् ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
शिरीषको फुल
जीवन काँडा कि फूल
झोला
रुमिका कविता
अमृता प्रीतमका छानिएका कविता
आमा
The good earth
रसिदी टिकट
द्रौपदी
योगमाया
लगायत धेरै किताब छन् ।
तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
१५ सय भन्दा माथि नै होलान् कि ?
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
धेरै पुस्तक छन् । कति किन्नै बाँकी छन् । कति समय अभावले पढ्नै बाँकी छन् । समय मिलाएर पढ्दै छु ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
धेरै जना मन पर्दछन् तर रोज्नु पर्दा । नेपाली साहित्यकारहरूमा – देवकोटा, पारिजात, बिपी कोइराला, हरिभक्त कटुवाल, गोपाल प्रसाद रिमाल रोज्छु भने विदेशीहरूमा मलाई सबैभन्दा मन पर्ने मध्ये रुमि, अमृता प्रीतम, म्याक्सिम गोर्की, तस्लिमा नसरिन र माया एन्जलो आदि पर्दछन् ।
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
प्रकृतिको काखमा रमाउन, नयाँ नयाँ ठाउँ घुम्न, पुराना हिन्दी गजल, गीत सुन्न, थिएटरमा नाटक हेर्न, पानीमा रुझ्न अनि कल्पनामा डुब्दै एकान्तमा रमाउन मन लाग्छ ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
माथि भनेका पुस्तक र साहित्यकारहरूलाई नै पढ्न सिफारिस गर्छु । मलाई यस्तो लाग्छ मलाई मन पर्ने पुस्तक र साहित्यकार अरूलाई पनि मन पर्नेछन् ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
अहिले तत्कालै त्यस्तो केही योजना नै त बनाइ सकेको छैन ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ ?
स्रष्टा नभई सिर्जना हुँदैन । आमा र सन्तान जस्तै सम्बन्ध हो । आमा विना सन्तान असम्भव छ ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
रोल मोडल त जीवन कालसँगै धेरै जना आउँछन् अनि जान्छन् । सानो छँदा आमाबुवालाई बनाएँ । पछि समय र परिस्थिति अनुसार देखे, पढे र भेटे अनुसारका गुरु, साथीभाइ हुँदै धेरै जनाको अनुसरण गरेँ । अहिले भने ठ्याक्कै यही भन्ने चाहिँ छैन ।