समकालीन प्रगतिशील नेपाली साहित्यमा कथा, कविता तथा निबन्ध साहित्यमा अनिल श्रेष्ठ अपरिचित नाम होइन । ‘प्रजातन्त्र र पागल’ (कथासङ्ग्रह,२०५०), ‘राष्ट्रले शोक धुन बजाएको छ’ (कविता सङ्ग्रह,२०५१), ‘मृत्यु पर्व होइन मेरो देश’(कविता सङ्ग्रह, २०५५), ‘आरु फुलेको साँझ’ (कविता सङ्ग्रह, २०६३), ‘फेरि पनि छिम्का लेकमा गुन्जिरहन्छ यी गीतहरू’ (संस्मरणात्मक अनुभूति र कविता, २०६६), ‘मफलर युद्ध’(कविता सङ्ग्रह, २०६९), ‘टाइगर हिलकी पुनम’ (निबन्ध सङ्ग्रह, २०७१), ‘अनिल श्रेष्ठका प्रतिनिधि कविता’ (कविता सङ्ग्रह, २०७३), ‘मध्यरातमा मुर्कट्टा’ (कविता सङ्ग्रह, २०७८) पुस्तकाकार कृति प्रकाशित भएका छन् । अनिल श्रेष्ठले ‘ऐरोमा एसेन्स साहित्य सम्मान’–२०५९, ‘जनमत सहयात्री सम्मान’–२०७१, ‘इच्छुक स्मृति पुरस्कार’–२०७४, देशभक्त गणतान्त्रिक सम्मान–२०७४, आँबुखैरेनी महिला सञ्जाल सम्मान– २०७४, शक्ति पुरस्कार–२०७८, सुक्ला प्रतिभा पुरस्कार–२०७८ आदिबाट सम्मानित तथा पुरस्कृत भइसकेका छन् । उनी लेख्नमा जति सक्रिय छन्, अरू लेखकका पुस्तक पढ्नमा पनि उतिकै जागरीला छन् । आफूले जति अध्ययन गर्यो आफ्नो लेखाइमा उतिकै निखार आउने सोच राख्ने अनिल श्रेष्ठसङ यस पटकको जनमत पुस्तक वार्ता ।
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
जाँस्टिन गार्डरको ‘सोफीका संसार’ (क्यउजष्भʹक ध्यचमि को हिन्दी अनुवाद)
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपालीमा पारिजातको ‘शिरीषको फूल’ र हिन्दीमा प्रेम चन्दको ‘निर्मला’ । अङ्ग्रेजीमा पढ्नका लागि भने कमजोर छु ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
पढ्नका लागि यही समय भनेर तालिका बनाउँदिन । फुर्सद भयो भने पढिहाल्छु ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईँलाई के लाग्छ ?
कविता । मेरो सबैभन्दा बढी पढिने विधा पनि कविता हो ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
हिन्दी कमिक्स धेरै पढियो । कमिक्सले हिन्दी भाषा सिकायो । हिन्दी बुझ्ने भएपछि हिन्दी उपन्यासहरू पढ्न थालेँ ।
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
स्कुल पढ्दाताका उपन्यासहरू धेरै पढेँ । प्रकाश कोविद र युधिर थापाका रोमान्टिक उपन्यासहरू निकै पढिन्थ्यो । रानु, सुरज, गुलसन नन्दाका हिन्दी उपन्यासहरू सधैँ साथमा रहन्थ्यो । मलाई अन्तर्मुखी बनाउनु र साहित्यप्रतिको अभिरुचिमा यी लेखकहरूलाई बिर्सन सक्दिनँ ।
तपाईँ कुन उमेर समूहमा बढी पढ्नु भयो ?
मैले २०४४ सालदेखि नै साहित्यको अध्ययन सुरु गरेको हुँ । आजसम्म पनि मेरो साहित्यको अध्ययनको अभिरुचि निरन्तर छ । किताबसँग मेरो अचम्मलाग्दो मोह छ । किताब मेरो जीवन हो ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
पारिजातको ‘धूपी, सल्ला र लालीगुराँसको फेदमा’ र ‘शिरीषको फूल, प्रेम चन्दको ‘निर्मला’, हर्मन हेस्सेको ‘सिद्धार्थ’, म्याक्सिम गोर्कीको ‘आमा’, निकोलाई आस्त्रोभस्कीको ‘अग्निदिक्षा’, दौलतविक्रम बिस्टको ‘भोक र भित्ताहरू’, गोविन्दराज भट्टराईको ‘मुगलान’ ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
यी किताबहरूमा देश, काल र परिवेशको सुन्दर चित्रण छ । पात्रहरू जीवन्त छन् । नवीन शैली छ । पात्रहरूको सामाजिक जीवन र उनीहरूको मनोविज्ञानलाई उत्कृष्ट किसिमले प्रस्तुत गरिएको छ ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
पात्रहरूको सामाजिक जीवन, उनीहरूको सङ्घर्ष र मनोविज्ञान
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
राम्रो किताब पढिरहँदा पाठकले म यो किताब पढिरहेको छु भन्ने भानबाट मुक्त हुन्छ र ऊ स्वयम् पात्रमा रूपान्तरित हुन्छ । यस्तो बेला लेखक र पाठक दुवै अब्सेन्स हुन्छ । र, कतिखेर पाठकले किताब पढिसक्छ थाहा हुन्न । जब किताब पढ्दा पाठकले लेखकको उपस्थितिको महसुस गर्छ त्यस बेला पात्रको उपस्थिति हराउँछ । पात्रसँग पाठक एकाकार हुन सक्दैन र पढ्न नसकेर किताब बोझिलो लाग्छ । धेरै किताबहरू पढ्दा मैले यस्तो महसुस गरेको छु ।
तपाईँको विचारमा पढ्नु केका लागि हो ?
पढ्नु भनेको ज्ञानको अनुभूतिको विस्तार हो । स्रष्टासँग जगतलाई हेर्ने र बुझ्ने एउटा विशिष्ट अनुभव र अनुभूति हुन्छ । हामी उनीहरूका अभिव्यक्तिहरूबाट समाज र समयलाई बुझ्ने र उनीहरूका कलाबाट आफू मनोरञ्जन पनि गरिरहेका हुन्छौं । पढ्नु मनोरञ्जनको कार्य पनि हो ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
पारिजातका आत्मपरक निबन्धहरू र चिनिया बाल साहित्यका सङ्घर्षपूर्ण कथाहरू । किताबहरू मेरा दुःखका क्षणका साथीहरू हुन् । आमाको वात्सल्य गुमाएका मेरा बाल्यकालका दिनहरू किताबहरूसँग बिते । किताबले सङ्घर्ष गर्न सिकायो । किताबहरू मेरो जीवनका एण्टीडोट्स हुन् । त्यसैले मेरो घर नै अहिले पुस्तकालय बनेको छ । म किताबलाई प्रेम गर्छु ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
यो चैं गारो काम हो । मसँग सबै उत्तिकै राम्रा किताबहरू छन् । सङ्ख्यामा उन्न सकिन्न । फेरि पनि केही पढ्नै पर्ने किताब पारिजातको ‘अनिदो पहाडसँगै’, म्याक्सिम गोर्कीको ‘आमा’ हर्मन हेस्सेको ‘सिद्धार्थ’ ‘महाभारत’, ‘चाणक्य’ ‘गौतम बुद्ध’ कृष्ण सेन इच्छुकको ‘बन्दी र चन्द्रागिरि’ विमल निभाको ‘आगोनेर उभिएको मानिस’, मनुजबाबु मिश्रको ‘एकलानुभूति’ र गिरीश गिरिको ‘सत्यमोहन’ ।
तपाईँसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
पन्ध्र सयभन्दा बढी
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
अंग्रजी साहित्यलाई पढ्न नसक्दा कहिलेकाहीँ केही छुटेझैं लाग्छ । त्यस्ता किताबहरूको हिन्दी वा नेपाली अनुवादहरू सकेसम्म खोजेर पढ्छु ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
पारिजात, शङ्कर लामिछाने, भूपी शेरचन, विमल निभा, इच्छुक, नारायण ढकाल, म्याक्सिम गोर्की, अन्तोन चेखव, लुसुन, प्रेमचन्द, अरुन्धती राय
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
समाजसेवा । आँबुखैरेनीमा रहेका विभिन्न सामाजिक सङ्घसंस्थाहरूमा रहेर आँबुखैरेनीलाई एउटा व्यवस्थित सहरको रूपमा विकास गर्नुपर्छ भनेर क्रियाशील छु ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
सबैको रुचि र अध्ययनका विषयहरू फरक फरक हुन सक्छन् । तर पनि सबैले एक चोटि महाभारत र चाणक्य पढ्नु पर्छ भन्ने लाग्छ । महाभारतमा जीवन र जगतको बुहत आयाम छ । चाणक्यमा राजनीति, अर्थशास्त्र, कूटनीति, राज्य सञ्चालनका नीति र विधि छ । चाणक्य कुशल विचारक हुन् ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
आँबुखैरेनीमा जनस्तरको सहभागितामा एक साहित्यिक संस्था ‘आँबुखैरेनी स्रष्टा समाज’ को स्थापना गरेका छौँ । २०७० सालदेखि हरेक वर्ष यस संस्थाले साहित्य र हास्यव्यङ्ग्य विधाको क्षेत्रमा योगदान दिनुहुने एक एक जना विशिष्ट राष्ट्रिय व्यक्तित्वहरूलाई सम्मान र पुरस्कार दिँदै आइरहेको छ । संस्थाको यो कार्यलाई निरन्तरता दिँदै अघि बढाउनु छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईँ कसरी हेर्नुहुन्छ?
एउटा लेखक स्रष्टा मात्र होइन द्रष्टा पनि बन्नुपर्छ । एउटा लेखकको सिर्जना पढिरहँदा पाठक र समाजले लेखकको कर्म र व्यवहारको तादात्म्ययतालाई पनि नियालिरहेको हुन्छ । लेख्नु ठुलो कुरा होइन । जीवन बदल्नु मुख्य कुरा हो । एउटा लेखकले समाज बदल्ने जिम्मेवारी लिनै पर्छ । समाज बदल्नु सजिलो छैन । र, लेखकले समाज बदल्न आत्म सङ्घर्षबाट गुज्रिनुपर्छ ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
म स्वयं नायक हुँ । मलाई एउटा लेखक स्वयं नै उसको लेखनको नायक हुनुपर्छ भन्ने लाग्छ । जब हामी अरूलाई नायक देख्छौँ हामीले अरूको कार्यको पुनरावृत्ति मात्र गरिरहन्छौँ । कहिलेकाहीँ जीवनको निराश क्षणहरूमा म आफूसँग आत्म सङ्घर्ष गरिरहँदा धेरै लेखकका जीवनी र उनीहरूका किताबहरूबाट आफूलाई सकारात्मक भएर सोच्ने प्रेरणा भने मिलेको छ । ती किताबहरूले मेरो जीवनशैलीलाई परिवर्तन गरेको छ ।