होश हुँदो हो त आकाशलाई
कहालीलाग्दो हो आफ्नै फैलावट देख्दा
मन हुँदो हो त बतासलाई
सम्हालिनु पर्दाे हो आफ्नै गतिहरु देख्दा
बादललाई के थाहा
ठेगाना कस्तो हुन्छ ।
बाटो बाटोमा परिचय सहितका ठेगानाहरु छन्
तर हराएको मान्छे भेटिने सम्भावना भने कतै छैन
आशाहरु त्यान्द्रा त्यान्द्रा अल्झिएर निराशा बुन्दै जान्छन्
सत्य त्यो पनि हो, सत्य यो पनि
सबै अस्तित्वका उपस्थिति,
अनि सबै उपस्थितिका अस्तित्वहरु ।
विना परिभाषाका विषयवस्तु
न आकाश हुन सक्छ, न बतास सुहाउन सक्छ
तर तिनका अस्तित्वसँग
कहीँ जीवन साटिन सक्छ,
कहीँ मान्छे बाँडिन सक्छ,
हरेक बदलिँदा उपस्थितिहरुमा
आफ्नो अस्तित्व पढ्न, बादललाई सोध्नुपर्छ
बादललाई के थाहा, ठेगाना कस्तो हुन्छ ।
हुस्सुसँगै हराउने मन
शीतसँग पनि बिलाउँछु भन्छ
यसपटक घामै पो नलाग्ने हो कि कसो ?
शब्दहरु व्यङ्ग्य बोल्छन्
कचमचिएको रेखाचित्र नटाङ्गिदा पनि थोत्रिन्छ
आधार चाहिन्छ अडिनलाई
चिप्लदों अडानमा गर्व सुहाएन
जीवनभित्र सत्य रमाएन
सत्य त्यो पनि हो, सत्य यो पनि
हरेक बदलिंदा उपस्थितिमा
आफ्नो अस्तित्व पढ्न, बादललाई सोध्नुपर्छ
बादललाई के थाहा, ठेगाना कस्तो हुन्छ ।
( बादललाई के थाहा ) कविता संग्रहवाट