लामो समय पत्रकारितामा बिताएका सङ्गीत मूलतः कवि र गीतकार हुन् । उनले ‘मूल्याङ्कन’ मासिक, ‘नयाँ पत्रिका’ दैनिक, ‘अन्नपूर्ण पोस्ट’ दैनिक, ‘नेपालखबर’ अनलाइन, ‘साप्ताहिक कान्तिपुर’लगायतका थुप्रै सञ्चारसंस्थामा डेढ दशकभन्दा बढी समय काम गरेका छन् । हाल स्वतन्त्र लेखन, सम्पादन र राजनीतिक–सांस्कृतिक अभियानमा क्रियाशील उनी यतिखेर ‘राजनीतिक संवाद थालनी’को संयोजक र ‘लेनिन स्मृति शतवार्षिकी’ समितिको सदस्य छन् । उनी‘सुसेला’ साङ्गीतिक ब्यान्डका परिकल्पनाकार र संस्थापक पनि हुन् ।२०५० को दशकदेखि उनका कविता, गीत, गजल पत्रपत्रिकामा प्रकाशन हुन थालेका हुन् । सङ्गीतको ‘म काठमाडौं आइपुगें(कवितासङ्ग्रह, २०६९) प्रकाशित छ । उनकै रचना, सङ्गीत र अन्जानबाबु शर्मासँग संयुक्त गायन रहेको ‘चरी लैजा समाचार’ गीत लोकप्रिय जनगीतका रुपमा स्थापित छ । यसबाहेक उनको शब्दरचना र सङ्गीतमा दुई दर्जनभन्दा बढी गीत छन् । ‘सा–रे–ग–म’ बालगीति सँगालो (पाण्डुलिपि)का लागि उनले ‘पारिजात बालसाहित्य प्रशंसापत्र’ प्राप्त गरेका छन् । केही वर्षयता वामपन्थी राजनीति र सांस्कृतिक अभियानमा समेत व्यस्त सङ्गीतसँग ‘जनमत’ले गरेको पुस्तक–वार्ता
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले म खगेन्द्र संग्रौलाको ‘जुनकिरीको सङ्गीत’ उपन्यास दोहो¥याइरहेको छु । त्यस किताबको नयाँ गोडमेल–संस्करण प्रकाशनको तयारी हुँदैछ । यही तयारीका क्रममा मैले यसको आञ्चलिक (पर्वतेली) भाषा सम्पादनको दायित्व र त्यसलाई स्वादपूर्वक पुनः पढ्ने रहर दुवै एकैसाथ पूरा गर्दैछु । सँगसँगै निकै लामो समयदेखि खोजिरहेका दुई किताब ईपी थम्सनको ‘द मेकिङ अफ द इङ्लिस वर्किङ क्लास’ र हावर्ड जिनको ‘अ पिपुल हिस्ट्री अफ द युनाइटेड स्टेट्स’ हालै प्राप्त गरेको छु । ती प्रतिष्ठाप्राप्त ग्रन्थद्वय शान्त ढङ्गले अध्ययन गर्न सुरु गर्दैछु । भर्खरै पढेर सकेको चाहिँ हिन्दी पत्रिका ‘लालतारा’को चौथो अङ्क (दस्ताबेज विशेषाङ्क) र शिवदास घोषको ‘ह्वाई एसयुसिआई…’हो । ‘के गर्ने ?’, ‘राज्य र क्रान्ति’ जस्ता समाजवादी धाराका कालजयी कृतिहरु पनि अहिले सँगसँगै पढिरहेको छु । ‘लेनिन स्मृति शतवार्षिकी’ समितिले नेपालमा एक वर्षभरि समाजवादी क्रान्तिका संस्थापक नेता भ्लादिमिर इल्यिच लेनिनको सम्झनामा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको हुनाले लेनिनका कतिपय पढिसकेका रचनामा पुनः भ्रमण गर्ने र आफूले नपढेका रचनामा परिभ्रमण गर्ने काम भइरहेको छ । पढ्ने अग्रसूचीमा राखेको नयाँ पुस्तक चाहिँ यसै वर्ष (२०२४) प्रकाशित अभिनव सिन्हारचित ‘फर अ प्रोलेटारिएन लाइन’ हो ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका मन पर्ने एक–एक वटा पुस्तकको नाम लिनुपर्दा ?
सन्दर्भ, विषय–विशेष, परिस्थिति, विधागत, कलात्मक–विशिष्टता आदि हिसाबले उत्कृष्ट किताबहरूलाई फरक–फरक श्रेणीमा विभाजन गरेर राख्न सकिन्छ। तिनीहरूमध्ये सापेक्ष ढङ्गले कुनै एक–दुईको नाम लिन पनि सकिन्छ । तर आम रूपमा भने कुनै एकलाई ‘यही हो सबैभन्दा राम्रो किताब’ भन्नु ठिक हुँदैन । सायद यो सही तरिका होइन कि ? तैपनि, आजको चरम सङ्कटपूर्ण पुँजीवादी समय र अहिलेको नेपाली समाज र राजनीतिको यथार्थलाई ध्यानमा राखेर तत्काल सान्दर्भिक (र, यति नै खेर आफ्नो चिन्तन र स्मृतिलाई झकझकाइरहेका) एक–एक किताबको नाम लिन भने म अवश्य सक्छु ।
नेपालीमा कवि विमल निभाको ‘एउटा बाहुला नभएको बुसर्ट’ । यो कविता सङ्कलनले पुँजीवादी चरणमा सङ्क्रमण भइरहेको नेपाली समाज, फोहोरी संसदीय राजनीति र विश्व साम्राज्यवादद्वारा निर्मित कुरूप यथार्थ विरुद्ध काव्यिक प्रतिवाद गर्छ । अंग्रेजीमा ‘द कम्युनिस्ट मेनिफेस्टो’कै नाम लिऊँ । अङ्ग्रेजीलगायत संसारका दुई सयभन्दा बढी भाषामा उल्था भएको र सबैभन्दा धेरै सायद अङ्ग्रेजी भाषामै पढिएको किताब हो यो । त्यसो त, सुरुमा यो जर्मन भाषामा लेखिएको थियो । पढ्न चाहने नेपाली पाठकका लागि नेपालीमै पनि यसका धेरै वटा संस्करण उपलब्ध छन् । यसबारे यहाँ थप चर्चा गर्न जरुरी छैन भन्ने लाग्छ ।हिन्दी किताबमा आलोक रंजनकृत ‘नेपाली क्रान्ति’ झट्ट सम्झेँ । यसको उपशीर्षक ‘इतिहास, वर्तमान परिस्थिति और आगे के रास्ते से जुडी कुछ बातें, कुछ विचार’ छ । नेपालमा दश वर्षसम्म सञ्चालित जनयुद्धको बैठान र विचलनबारे यस किताबमा सैद्धान्तिक–व्यवहारिक विवेचना गर्न खोजिएको छ । यो एक मात्र किताब जनयुद्धको समग्र समीक्षाका लागि पूर्ण छैन र यसका कतिपय निष्कर्षहरूमा हाम्रा आफ्ना अलग मत छन् । तर, यसले नेपाली जनयुद्धको अवसानपछि यसको पोस्टमार्टम (शव परीक्षण) नेपाली क्रान्तिका सर्जनहरूले नै गर्नुपर्छ भन्ने प्रेरणा अवश्य दिन्छ । र, धेरै हदसम्म माओवादी पार्टीभित्रको बिचार धारात्मक सङ्कट र विचलनलाई वस्तुवादी ढङ्गले मूल्याङ्कन गर्न खोज्छ । नेपालको क्रान्ति–प्रक्रिया र त्यसको विफलताबारे नेपालबाहिरबाट क्रान्तिकारी कमरेडहरूले नै गरेका थोरै अध्ययन–मूल्याङ्कनभित्र यस किताबलाई राख्न सकिन्छ ।
यी तीन किताब मैले आजकै मितिमा एक झमटमा सम्झेर नाम लिएको हुँ । आजका आफ्ना कष्टपूर्ण कार्यहरूको धर्तीमा टेकेर आकाश तिर फर्कँदा यिनै किताब सम्झनामा फुत्त ओर्लिहाले । अर्को सन्दर्भ, समाजको अर्को सङ्घर्ष–चरण र अलग समयमा मेरो सम्झनामा अचानक अरू नै नामहरू आउन सक्छन्, यदि यसरी नै तीन किताबको नाम लिनुपर्ने खण्ड फेरि आइलाग्यो भने !
तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ?
पढ्ने समय राति, लामो बस यात्रामा रहँदा र प्रतीक्षालयहरूमा कसैलाई पर्खिरहँदा । लेख्ने समय धेरैजसो राति । एकान्त अवस्थामा रहँदा दिउँसो जुनसुकै बेला पनि म लेखपढ गर्छु । घरमा या डेरामा एक्लै रहेका बखत चाहिँ दिउँसै पनि पढाइमा वा लेखाइमा प्रवृत्त हुन्छु ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईंलाई के लाग्छ ?
व्यक्तिगत रूपमा कविता, गीत र गजलले मलाई धेरै छुन्छ । साहित्यका विधाहरूलाई अलग–अलग तुलना गरेर यो शक्तिशाली र त्यो कमजोर शाली भन्नु उपयुक्त नहोला । उपन्यास, कथा, निबन्ध, संस्मरण पनि उत्तिकै शक्तिशाली र सुन्दर विधा हुन् । आफ्नो रुचिको कमजोरीले गर्दा खास खास विधा मलाई बढी प्रिय लाग्दा हुन्, सायद ! सैद्धान्तिक समालोचना, सौन्दर्य शास्त्र, सांस्कृतिक अध्ययन, दर्शन पनि मलाई प्रिय लाग्छन् र शक्तिशाली पनि !
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
हाम्रो गाउँमा सार्वजनिक वा निजी कुनै पनि प्रकारको पुस्तकालय थिएन । गाउँमा खाद्यान्न, औषधि, लत्ताकपडा पाउने पसलहरू त थिएनन्, पुस्तक र पत्रपत्रिकाहरू पाउने पसलहरू त झन् कहाँ पाउनु ? विद्यालयको पाठ्यक्रममा राखिएका र पाँच कक्षा सम्म निःशुल्क पाइने किताबहरु नै हामी माथि सर्वेसर्वा हाबी थिए । त्यसबाहेक गाउँमा हिउँद मासमा कसै न कसैका घरमा स्वस्थानी कथा वाचन गर्ने चलन थियो । स्वस्थानी कथा भने केटाकेटीदेखि नै सुनियो र ऐन मौकामा वाचन पनि गरियो । त्यो पनि कसैले लेखेको आख्यान रहेछ भन्ने धेरै पछि मात्रै थाहा भयो । किशोर वयमा पुगेपछि अग्रज दाइहरूले बजार पुगेर ल्याउने मनोरञ्जन पत्रिकाहरू फाट्टफुट्ट देख्न पाइन्थ्यो । एसएलसीपछि भने नवयुवा, मूल्याङ्कन, साप्ताहिक, युवा मञ्च, मधुपर्कजस्ता पत्रिकाहरू पढ्ने सुवर्ण मौका पाइयो । प्लस टुमा पुगेपछि जब राजनीतिक साथीहरूसँग सङ्गत हुन थाल्यो, त्यसपछि ‘अग्नि दीक्षा’, ‘आमा’, ‘थ्याङ्क्यू मिस्टर ग्ल्याड’, ‘ओयाङ हाइको गीत’, ‘नयाँ घर’ जस्ता उपन्यासहरू पढ्ने लतमा म परिहालेँ। मूलधारको साहित्यका ‘मुनामदन’, ‘गौरी’, ‘बसाइँ’ उपन्यास आदि पनि त्यति बेला मैले रुचाई रुचाइ पढेको हुँ ।
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
जब म किशोरवयमा वामपन्थी साहित्यको सीमित पहुँचमा सुस्तरी पुगेँ, त्यसपछि मेरो रुचि र पठनको अतृप्ततालाई क्रान्तिकारी साहित्यले गम्लङ्ग अँगालो हाल्न थाल्यो । त्यसमध्ये ‘अग्नि दीक्षा’ जस्ता आख्यानका पात्रहरूले मेरो मनको निर्वाक तलाउमा तरङ्गहरु पैदा गरिदिए । मभित्र रहेको सुन्दर भविष्यको आकांक्षालाई त्यस प्रकारका उपन्यासले सायद जगाइदिए । अनि थप त्यस्तै चिज खोज्न थालेँ ।साथीहरूले दिएको सानो फाँकले भोक मरेन, बरु थप जाग्यो । म पाच्चौर, डिम्मुवा जस्ता साना बजारमा उपलब्ध हुने पत्रिका र किताबले अघाइनँ । अनि सदरमुकाम कुस्मा बजार, बागलुङ बजारतिर हानिन्न थालेँ । त्यहाँ पुगेर पनि क्रान्तिकारी साहित्य खोजिरहेँ । त्यो समयमा पढेका केही किताब यस्ता थिए– माओत्से तुङको सानो पुस्तिका ‘नयाँ जनवादबारे’, एभ्गेनिया स्तेपानोभा लिखित ‘कार्ल मार्क्सको जीवनी’, खगेन्द्र संग्रौलाको ‘भतिज, दीपेन्द्र मलाई माफ गर’, ‘जुनकिरीको सङ्गीत’, शरद पौडेलको उपन्यास ‘लिखे’, निनु चापागाईंको निबन्ध सङ्ग्रह ‘सन्दर्भ: संस्कृति र सांस्कृतिक रूपान्तरण’, म्याक्सिम गोर्कीको ‘मैले कसरी लेख्न सिकेँ’ । दैनिक पत्रिकाहरू प्रायः म पसलमै बसेर पढ्थेँ तर केही म्यागेजिन नियमित ग्राहक बनेर पढ्थेँ– मूल्याङ्कन, नवयुवा, जनादेश, नेपाल, हिमाल आदि ।
तपाईंले कुन उमेर समूहमा बढी पुस्तक पढ्नु भयो ?
१८–२० वर्षदेखि २५–२६ वर्षसम्मको उमेरमा सबैभन्दा धेरै पढेँ कि सायद ! पढ्ने सामाग्री निकै कम थिए, तर पढ्ने भोक त्यस बेला अत्यधिकै थियो । पत्रिकाका पाना पाना सबै पढेँ, विज्ञापनहरू पढेँ, भित्तेलेखनहरु पढेँ, कोर्सका पाठहरू पढेँ । जागिर खानका लागि भनेर सामान्य ज्ञान आदि पनि खुब पढेँ । राजनीतिका बारेमा फेला परे जति सबै किताब पढेँ । सबैका किताब पढेँ । काँग्रेस, एमाले माओवादी, जनमोर्चाले निकालेका र हात परेका तिनका दस्ताबेजहरू पनि पढें । म २०६५ सालमा काठमाडौँ आएँ । काठमाडौँ आएपछि चाहिँ पुस्तकालय, पुस्तक पसल, साथी सङ्गत व्यापक भयो, उपलब्धताको दायरा विस्तारित भयो तर पढ्ने समय कम हुन थाल्यो । यता आएपछि केही समय त हाँप झाँप गरेर यो पनि पढ्ने, त्यो पनि पढ्ने गरेँ । बिस्तारै रुचि झन्झन् बढ्दै गयो, समयको व्यवस्थापन गर्न भने जानिनँ । अब फेरि आफ्नो पढ्ने रफ्तारलाई बढाउन खोजिरहेको छु ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सको संयुक्त लेखनमा रहेको विश्व प्रसिद्ध‘कम्युनिस्ट घोषणापत्र’, माओत्से तुङको ‘फाइभ एस्सेज अन फिलोसोफी’,लेनिनको ‘युवक सङ्घको कार्यभारबारे’, अवतारसिंह पाशको ‘लहु है कि तब भी गाता है’, निकोलाई अस्त्रोभ्स्कीको ‘जय जीवन’ । सायद, नयाँनयाँ रूपमा जीवन र समाजमा आइपुग्ने उल्झनहरूले मलाई धेरै पटक फर्की फर्की यी किताबका आँगनपिंढीमा पुर्याउने गरेका छन् । यसरी दोहोर्याई रहने किताबहरूको सूची अलि लामो छ, यहाँ यत्तिको मात्रै नाम लिएँ ।
दोहोर्याएर पढ्नुका कारण खासमा के हो ?
कम्युनिस्ट आन्दोलनसँग म जति बेला जोडिएँ, त्यति बेला यसका दार्शनिक र सैद्धान्तिक रचनाहरू कुन कुन हुन् भन्ने मलाई खास ज्ञान थिएन । सङ्गत हुँदै जाँदा र छिटपुट पढ्दै जाँदा केही किताबको नाम ज्ञात भयो तर अध्ययन–पठनको हाम्रो साँघुरो संसारमा त्यस्ता कुनै किताब उपलब्ध थिएनन् । एकदम उत्साही ढङ्गले म जब क्रान्तिकारी कम्युनिस्ट धारामा हेलिएँ, विचार–सिद्धान्तका क्षेत्रमा र सङ्गठनात्मक व्यवहारमा खचक्क–खचक्क ठेस लागिरह्यो । कम्युनिस्ट आन्दोलनले संशोधनवादी दिशा लियो भने वा एउटा पार्टी विचलनमा जाकियो भने अर्को क्रान्तिकारी आन्दोलन उठ्छ भन्ने सुन्दै–सिक्दै उकालो चढ्दै गइयो । तर, अहिले त्यसो भन्न सिकाउने ‘क्रान्तिकारी धारा’नै पाखण्ड, ढोँग, अवसरवाद, भ्रष्टाचार आदिको रसातलमा पुग्यो । अनि यसलाई सच्याउने अर्को क्रान्तिकारी धारा खोइ त ?क्रान्तिकारी बाटो लियौँ भनेर कोही कोही गडेङ्गुडुङ् गर्दै हिँडेका पनि थिए, उनीहरू पनि फेरि हिजो आफूले ‘महापतन’ भनेको धारामै नुहाउन पालो पर्खिरहेका छन् । यस्तो किन भइरहेको हो ? हजारौँ क्रान्तिकारीहरू बलिदानको बाटोमा हिजो किन लामबद्ध थिए ? के तिनीहरूको सपना पूरा भइसक्यो ? के तिनीहरूको सपना कहिल्यै पूरा हुन नसक्ने हो ? के हामी फेरि नयाँ सपना देख्न नसक्ने भयौँ ? हिजोको आन्दोलनले पूरै हारिसकेको हो ? कि त्यसलाई हाँक्नेहरूले हार खाइसकेका हुन् ? क्रान्तिकारी धारा समात्न खोज्नेहरूले पनि किन बदलिएको समाजलाई बुझ्न नसकेका हुन् ? यी अनेक प्रश्नहरूले जब आत्म चिन्तनको थाप्लोमा घन बजार्न थाल्यो, अनि माथि नाम लिएका रचनाहरू खोज्न थालेँ, केही पहिलो पटक पढ्न थालेँ, केही दोहोर्याउन थालेँ ।
क्रान्तिकारी धाराले वर्ग सङ्घर्ष उत्कर्षमा हुँदा नेपालमा कम्युनिस्टहरूलाई वैचारिक–सांस्कृतिक रूपमा सशक्त बनाउन सकेनछ । त्यसको असफलता र अवकर्षले बल्ल आज हामीजस्ता मान्छेलाई झस्काइरहेको छ, बिउँझाइरहेको छ र गलत धाराका विरुद्ध जुध्न सिकाउँदै छ । त्यस कारण पनि ती पुस्तकहरू दोहो¥याउनुपर्ने आवश्यकता हाम्रो सामुन्नेमा उभिन आइपुग्यो ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् त ?
माथि नाम लिएका सबै पुस्तकहरूको विशेषताबारे यहाँ विस्तारमा चर्चा गर्न सम्भव छैन । तीमध्ये ‘कम्युनिस्ट घोषणापत्र’बारे विगत झन्डै दुई शताब्दीमा सयौँ विद्वान्हरूले हजारौँ पटक अनेक कोणबाट विश्लेषण गरिरहेका छन् । बाँकी लेनिन, माओका रचनाको महत्त्वबारे पनि थुप्रै मूल्याङ्कन भएका छन् । यी किताबका एक–एक विशेषता चाहिँ औँल्याउन सकिन्छ । ‘कम्युनिस्ट घोषणापत्र’ले मानव समाजमा हजारौँ वर्षदेखि कायम रहेको शोषणकारी संरचनाको समूल अन्त्य गरी न्यायपूर्ण, समतामुखी र सुगम भविष्य निर्माण गर्ने सुन्दर खाका कोरेको छ, जुन खाका तथ्यमा आधारित, वैज्ञानिक र तर्कपूर्ण छ ।माओका दार्शनिक रचनाहरूले अन्तर्विरोध, व्यवहार, विचारधारा र जनकार्यजस्ता जटिल सैद्धान्तिक र दार्शनिक विषयलाई एकदमै सरल, सुबोध र जनशैलीमा बुझाउँछन् । लेनिनको युवक सङ्घका कार्यभार सम्बन्धी सम्बोधन त्यस्तो रचना हो, जसले एउटा सही कम्युनिस्ट क्रान्तिकारी युवाको चरित्र कस्तो हुनुपर्छ भन्ने चर्चा गर्छ । अवतारसिंह पाशका कविताहरूभित्र सुन्दर ढङ्गले जीवन, क्रान्ति, श्रम र सङ्घर्षको गाथा गायन गुन्जिएको हुन्छ । निकोलाई अस्त्रोभ्स्कीका फुटकर निबन्ध,लेख, भाषण, चिठी र सम्बोधनहरूको सङ्कलन हो – ‘जय जीवन’ । यो पुस्तकमा अस्त्रोभ्स्कीले संवेदनात्मक गहिराइ सहित प्रस्तुत गरेको जीवन गाथा, सङ्घर्ष गाथा, स्वप्न गाथा, श्रम गाथा र मानव गाथा अद्वितीय छ । अहिले चलनचल्तीमा ‘मोटिभेसनल’ भनिने कतिपय सतही र सस्ता किताबहरूले बजारमा खुब चर्चा पाइरहेका हुन्छन् । तीमध्ये धेरैजसोले यथार्थलाई ढाकछोप गरेर, भावुक आदर्श छाँटेर वा झुटा सफलताका कथा सुनाएर युवा पाठकहरूलाई सम्मोहित पार्ने प्रयास गरिरहेका छन् । असलमा अस्त्रोभ्स्कीको ‘जय जीवन’ साँच्चिकैको मोटिभेसनल र कालजयी कृति हो । यस पुस्तकले आजको कुरूप र अन्यायपूर्ण संसारलाई बदल्न र न्यायपूर्ण नयाँ समाज निर्माण गर्नका लागि सङ्गठित ढङ्गले जीवन–सङ्घर्ष अघि बढाउन युवाहरूलाई उत्प्रेरित गर्छ ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याउँछ ?
प्रसिद्ध उपन्यासहरु पढ्दा त्यसमा वर्णित प्राकृतिक र सामाजिक परिवेशहरूले यसरी डो¥याउँछन्, मानौं म त्यही परिवेशमा जन्मे हुर्केको हुँ र त्यो मेरै गाउँ बस्ती, मेरै रेखो पाखो हो जस्तो लाग्छ । पात्रहरू आफ्ना साथी वा आफ्नै वैरीजस्ता लाग्छन् । कतिपय पात्र म आफै पो हुँ कि भन्ने लाग्छ ।रुसी परिवेश भए पनि गोर्की, तोल्स्तोय, चेखव, तुर्गनेभ, मिखाइल सोलोखोभ, अस्त्रोभ्स्कीका रचनाका परिवेश र पात्रहरूले मलाई (पढिरहँदा मात्रै होइन) पढिसकेको धेरै दिन–महिनासम्म पनि कल्पनाशील बनाएर त्यतै कतै हिँडाइरहेका थिए । कथा र उपन्यास पढिरहँदा लेखक भने खासै सम्झनामा आउँदैनन् । पढिसकेर जब त्यस कथा वा उपन्यासबारे घोत्लिन्छु, अनि मात्रै लेखक सम्झना हुन्छ । सैद्धान्तिक र दार्शनिक पुस्तकहरू पढ्दा भने पात्र र परिवेश आफै आउँदैनन् । त्यसमा गरिएका विवेचनाहरूको गहिराइ हुँदै विवेच्य देश कालमा पुग्न चिन्तनका ढोकाहरू पाठक आफैले खोल्नुपर्छ । अनि मात्रै तत् समयको परिवेशको अनुभूत हुन्छ । सैद्धान्तिक किताब पढ्दा ती किताबका रचनाकारहरूको निर्माण र सिर्जनात्मक विकास प्रक्रियाबारे आफैभित्र मन मन्थन हुन्छ ।
तपाईंको विचारमा पढ्नु केका लागि हो ?
एकापट्टिबाट भन्दा यो विशाल संसार बुझ्नु, आफूले बाँचेको समाजका नियम बुझ्नु, आफू स्वयम् बुझ्नु, अनि जीवनको महत्ता बुझ्नुमा पढ्नुको अर्थवत्ता छ । अर्को पाटोबाट भन्दा पहिले आफूलाई बुझ्दै समाजका जटिलता बुझ्नु, संसार बुझ्नु र आफ्नो जीवनसँगै आफूले बाँचेको संसारलाई बदल्ने अभियानमा सक्रिय हुनुमा नै मेरा लागि पढ्नुको सार्थकता गाँसिन्छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
धेरै किताबका नाम लिन सकिन्छ, जसले धेरै पटक जीवनमा सान्त्वना दिएका, सघाएका, सिकाएका, प्रेम गरेका, उद्वेलित पारेका, मनोरञ्जन दिएका र बाटो देखाएका छन् । त्यसमध्ये पनि निकोलाई अस्त्रोभस्कीका दुई पुस्तक‘अग्नि दीक्षा’ र ‘जय जीवन’ कठिन घडीमा जीवनमुखी सुरक्षा दिन आइहाल्छन्– म जीवनमा हतास भएका बेला, निराशाजनक अवस्थाले घेरा हालेका बेला, जीवन घाती परिवेशहरूको बाढीले बाटो छेकिरहेका बेला, निकटतमहरूबाटै धोका भोगिरहेका बेला, अनि कामरेडी भूमिकामा मिल्न आएका हातहरूले नै षडयन्त्रको धारिलो छुरा चलाइरहेका बेला ! म विचलित हुन विवश भइरहेका दुर्लभ बखतमा अस्त्रोभ्स्कीले तुरुन्तै हात समातेर आफूतिर लैजान्छन्, अनि पाभेल कर्चागिन आउँछन् र झरप्पै अँगालो हालेर सुरक्षित तवरमा प्रेमको न्यानो मझेरीमा पुर्याइहाल्छन् ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
यहाँ आफ्नो सहजताका लागि म कवितामा रुचि हुने पाठकका लागि मात्रै नेपाली भाषाका १० किताब सिफारिस गर्न चाहन्छु । भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, पारिजात सङ्कलित रचनाको पाँचौँ भाग (सबै कविताहरूको सङ्कलन), विमल निभाका ‘आगोनेर उभिएको मानिस’ र ‘एउटा बाहुला नभएको बुसर्ट’, अखिल नेपाल जन सांस्कृतिक सङ्घद्वारा प्रकाशित दुई दर्जनभन्दा बढी कविहरूको सङ्कलन ‘समकालीन नेपाली कविता’, इच्छुक रचनावलीका पहिलो र दोस्रो भाग, आहुतिको ‘गहुँगोरो अफ्रिका’, विनोदविक्रम केसीको ‘भोकको क्षेत्रफल’ र कल्पना चिलुवालको ‘चुल्ठो’। सन्दर्भ, विषय, अलग विधा र अरू भाषाका किताबबारे पछि अर्को प्रसङ्गमा चर्चा गरौँला ।
तपाईंको निजी सङ्कलनमा कति जति पुस्तकहरू छन् ?
घरमा जम्मा भएका पुस्तकहरूको गणना वा अभिलेख हामीले राखेका छैनौँ । राख्नुपर्ने चाहिँ हो । समय–व्यवस्थापन र कामको प्राथमिकताले गर्दा घरपालुवा पुस्तकहरू झन्डै लथालिङ्ग हालतमा छन् । व्यवस्थापनको अधुरो तयारीमा डाकिएको राजनीतिक भेलामा अचानक उत्पन्न हुने अराजक स्थिति जस्तै हविगतमा कोलाहल मच्चाइरहेका छन्, हाम्रो घरका किताबहरुले । वन्दना र मैले सङ्कलन गरेका किताबहरू, जर्नलहरू र म्यागेजिन–पत्रिका आदि गरेर ८–१० हजार जति सङ्ख्या पुग्ला कि भन्ने अड्कल गर्छु । एउटा कुरा चाहिँ आत्मालोचना गर्दै भनिहालूँ– हाम्रो पारिवारिक पुस्तकालयको लोकतन्त्रमा नपढिएका किताबहरूको दुई तिहाइ बहुमत छ । तिनैले एउटा सिङ्गो कोठामाथि शासन गरिरहेका छन् । पढिएका किताबहरू अल्पमतमा छन् । आधा पढिएका र पूरै पढिएका किताबहरूको गठबन्धन गर्दा पनि बहुमत नपुग्ने अवस्था छ ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक छन् ?
विगत १० वर्षदेखि खोजिरहेको, काठमाडौँका धेरै पसलहरूलाई अनुरोध गरेको, विदेशमा बस्ने साथीहरूलाई पनि खोजिदिन सक्नुहुन्छ कि भनेर खबर पठाएको तर आजसम्म नपाएको एउटा किताब छ– ‘द पोलिटिक्स अफ राइटिङ’ । रुटलेजले प्रकाशन गरेको यस पुस्तकका लेखक दुई जना छन्– रोमी क्लार्क र रोज इभानिक । अरू नै कामले दिल्ली र कलकत्ता जाँदा यो किताब त्यहाँका नाम चलेका पसलहरूमा पनि खोजेँ । पाइनँ ।आफूले लेख्दै गरेको एउटा गैर आख्यान पुस्तक पाँच–सात वर्षदेखि आधाआधी अवस्थामै अड्केको छ । त्यसका लागि ‘द पोलिटिक्स अफ राइटिङ’ सन्दर्भ सामाग्री थियो । यस किताबबारे हिन्दी र अङ्ग्रेजीमाकेही समीक्षाहरु पढेको थिएँ । इन्टरनेटमा यसबारेका जानाकारीहरु त पाएँ तर किताब पाएको छैन । अर्को इपी थप्सनको ‘इङ्लिस वर्किङ क्लास’ वर्षाैं देखि खोजिरहेको थिएँ । सुखद संयोग भन्नुपर्छ, तपाईंले अन्तर्वार्ताका लागि अनुरोध गर्दा त्यो किताब भेटेको थिइनँ । यसै साता मात्र त्यसले डेरा प्रवेश पाइसक्यो । जोन बेलामी फोस्टरको ‘द डाइलेक्टिक्स अफ इकोलोजी’ पढ्न खोज्दै छु । शकील सिद्दीकीले सम्पादन गरेको प्रसिद्ध उर्दू कवि फैज अहमद फैजबारे लेखिएको ‘उम्मीद–ए–सहर की बात सुनों(फैज अहमद फैज और उनकी शायरी)’ पुस्तक पनि पढ्न खोजिरहेको छु, तर नेपाली बजारमा पाइनँ ।
मन परेका ५ जना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
विदेशीमा आख्यान क्षेत्रका गोर्की, अस्त्रोभ्स्की, लु शुन र कवितामा पाश, कात्यायनी । नेपालीमा आख्यानमा पारिजात, खगेन्द्र संग्रौला अनि कवितामा विमल निभा, इच्छुक र गोविन्द वर्तमान । यसरी नाम लिनु सजिलो कामचाहिँ होइन । तर, प्रश्न गाह्रो मानेर भागेको अर्थ नलागोस् भनेर पाँच पाँच जनाको नाम लिएँ । अरू धेरै नामहरू भुरुरु उडेर मनको डालीमा बसिसकेका छन् । अर्को सन्दर्भमा ती नाम अवश्य लिनेछु ।
अध्ययन र लेखाइबाहेकका रुचिहरू के छन् ?
अध्ययन र लेखाइबाहेक होइन, त्यसभन्दा कति गुना बढी रुचि त मेरो गीत सुन्नुमा, गीत गुनगुनाउनुमा, नयाँ ठाउँमा घुम्नुमा, मान्छेहरूसँग अन्तरङ्ग कुराकानी गर्दै दिन बिताउनुमा छ । अझ हिउँदे फाँटमा गाई गोरु चराउँदै किताब पढ्नु, जङ्गली फलफूल र कन्दमूल खोज्दै साथीहरूसँग वनतिर घुम्नु, खेतबारीमा मेला गएर काम गर्नुमा म धेरै नै आनन्दानुभूति गर्छु ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
हाम्रो छोरा विश्व (जो अहिले १३ वर्षका छन् र कक्षा ९ मा पढिरहेका छन्), उनलाई दुई दिनअघि मात्रै मैले नेपालको संविधान पढ्न आग्रह गरेँ । सँगै बसेर अहिलेको संविधान बारे छलफल चलाएँ । अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल किन पदबाट मुक्त भए ?नयाँ प्रधानमन्त्री खड्गप्रसाद ओली कुन धाराको सहारा लिएर पदासीन हुँदैछन् ?किन नेपालमा घरीघरी सरकार फेरिइरहन्छन् भन्ने बुझ्नलाई संविधानमा भएको व्यवस्था थाहा पाउनै पर्छ । अघिल्लो वर्ष विश्वलाई ‘कम्युनिस्ट घोषणापत्र’ पढ्न अनुरोध गरेको थिएँ । उनले त्यो पुस्तक कति पढे, कति बुझे ? त्यसको जाँच परख गर्न छुटाएछु । केही दिनअघि कुरा गर्दा उनले त्यस किताबबारे धेरै कुरा बिर्सिसकेछन् । फेरि उनलाई त्यो दोहोर्याएर पढ र नबुझेको विषयमा हामी छलफल गरौँला भनेर अनुरोध गरेको छु । विश्वलाई ग्रिक अर्थशास्त्री यानिस भारुफाकिसले आफ्नी १३ वर्षकी छोरीलाई सम्बोधन गरेर लेखेको ‘टकिङ टु माइ डटर’ भन्ने किताब पनि पढ्न अनुरोध गरेको छु ।
यहाँ नयाँ पुस्ताको चर्चा गर्दा अमूर्त र आम विषयमा भन्दा आफ्नै परिवारमा हुर्किरहेको १३ वर्षको छोराको प्रसङ्ग किन ल्याएको हुँ भने उनी पनि नयाँ पुस्ताका किशोर हुन् । उनी अहिले मोबाइलमा फेला पर्ने गेमहरू, टिभीमा देखाइने सिरिजहरू, साथीहरूबाट सिक्ने लतहरूबाट प्रभावित हुने उमेरमा छन् । तर, उनको भविष्य आज चलिरहेको राजनीतिक–सामाजिक पर्यावरणले निर्धारण गर्नेछ । यो उमेरका किशोर किशोरीहरुका लागि अलग्गै प्रशिक्षित गर्ने हाम्रो समाजमा कुनै पनि निकाय छैन । स्कुलले औपचारिक पाठ्यक्रमका पाठहरू घोकाउने, रटाउने र जिपिए चढाउने तरिकाबाहेक अरू सिकाउँदैन । म नयाँ पुस्ताका १४–१५ वर्षदेखि २४–२५ वर्षभित्रका युवाहरूलाई अहिले माथि नाम लिएका तीन पुस्तक– ‘नेपालको संविधान’, ‘कम्युनिस्ट घोषणापत्र’ र ‘टकिङ टु माइ डटर’ पढ्न आग्रह गर्छु ।
यी किताब सुरुवातको ढोका मात्रै बनाउन सकिन्छ । यहाँबाट प्रवेश गरेर अरू दर्जनौँ किताब छिचोल्नुपर्छ । यी किताब पनि उहाँहरूले घोक्न, कण्ठस्थ पार्न वा जाँच दिन होइन, आलोचनात्मक भएर त्यसबारे आफ्ना विचार–निर्माण गर्न पढ्नुपर्छ । युवाहरूले पढ्नै पर्ने अरू धेरै किताबहरू छन्, सुरुवात यहाँबाट पनि गर्न सकिन्छ भन्ने मात्रै हो ।
तपाईंका पछिल्ला साहित्यिक योजनाहरू के–के छन् ?
व्यवस्थित योजना निर्माण गर्ने र त्यसलाई कार्य तालिकामा ढालेर लैजाने गरी साहित्यिक काममा म एकाग्र हुन सकेको छैन । ‘राजनीतिक संवाद थालनी’ नामक एक राजनीतिक मञ्चको संयोजक छु, त्यसअन्तर्गत केही वैचारिक काम र प्रकाशनका योजना हामीले बनाएका छौँ । ‘प्रतिरोध जनअधिकार आन्दोलन’ नामको अभियान छ, त्यसले प्रकाशन गर्ने राजनीतिक पत्रिका ‘प्रतिरोध’का लागि राजनीतिक तथा सांस्कृतिक निबन्धहरू लेख्ने र अरू सामाग्री तयार गर्ने काममा छु ।
हामीले केही वर्षदेखि सञ्चालन गर्दै आएको ‘सुसेला’ नामको प्रगतिशील साङ्गीतिक ब्यान्ड छ, त्यसको परिकल्पना, स्थापना र परिचालनमा सुरुदेखि नै नीति–निर्देशन तहमा भूमिका निर्वाह गर्ने जिम्मेवारीमा छु ।‘सुसेला’को पहलमा ललितपुरमा ‘हुरी धुन शाला’ नामको रेकर्डिङ स्टुडियो स्थापना गरेका छौँ । आउँदो फागुन १ गते काठमाडौँमा ‘सुसेला–सङ्गीतोत्सव’ (कन्सर्ट) गर्ने तयारीमा पनि छौँ । ‘सुसेला’बाटै ‘चरी लैजा समाचार’ गीति–सङ्कलन, म्युजिक भिडियो र मासिक रूपमा ‘सुसेला–काव्य शाला’ कार्यक्रम सञ्चालन गर्ने योजना छ । आजभोलि धेरै समय यही सांस्कृतिक अभियान र गीत–सङ्गीत सिर्जनामा बितिरहेको छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ?
आम रूपमा भन्दा सिर्जना खास देश काल र परिस्थितिको कलात्मक अभिव्यक्ति हो । त्यस्तो अभिव्यक्ति स्रष्टामार्फत प्रकट हुन्छ । भन्नुको अर्थ के हो भने सामाजिक सम्बन्ध, राज्य संरचना र उत्पादनको विशिष्ट युगले त्यस समयको सिर्जनाका विशेषताहरू निर्माण गर्छ । अनि ती सिर्जनाले समाजलाई पनि प्रभाव पार्छन् । स्रष्टा स्वयम् पनि इतिहास, समाज, राजनीति, सांस्कृतिक परिवेश आदि बहु आयामको निर्मित हो । तसर्थ, स्रष्टा उभिएको यथार्थ, देश काल, पक्षधरता बुझ्न सक्यो भने सिर्जना झन् प्रभावकारी ढङ्गले बुझ्न सकिन्छ । एकजना अङ्ग्रेजी इतिहासकार ईएच कारको प्रख्यात भनाइ छ, ‘इतिहासका तथ्यहरु अध्ययन गर्न थाल्नुअघि तपाईं इतिहासकारका बारेमा अध्ययन गर्नुस् !’ यो विख्यात उद्धरण इतिहास र इतिहासकारका बारेमा मात्रै नभई सिर्जना र स्रष्टाका हकमा पनि उत्तिकै महत्त्वपूर्ण छ ।
तपाईंको जीवनमा सानैदेखि कोही ‘रोल मोडेल’ छ, जसले जीवनयात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
हाम्रो बाल्यकाल त्यति फराकिलो चेतना, सूचना र ज्ञानले सम्पन्न थिएन, जसले संसारका प्रसिद्ध व्यक्तित्वहरूलाई आदर्श व्यक्ति (रोल मोडल) मानोस् । रेडियोमा सुनेका केही नाम र विद्यालयका किताबमा पढेका केही नामबाहेक अरू थाहा थिएन । त्यस कारण बाल्यकालदेखि पछिसम्म निरन्तरतामा एउटै कोही व्यक्ति मेरो रोल मोडेल भएन ।