गायिका तारा थापा शुक्रवार आफ्ना कालजयी गीतहरुमा गुञ्जिएकी छिन् ।
शुक्रवार जमलस्थित राष्ट्रिय नाचघरमा भएको एकल गायन प्रस्तुति ‘तारा थापा : स्वर्णिम साँझ–२०८१’मा उनले आफ्ना कालजयी गीतहरु सुनाएकी थिइन् ।
लाफा रुङ्ग फाउण्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ गरिएको कार्यक्रममा उनले ‘मेरो मायाको संसार,’ ‘ किनार भेट्न,’ ‘कहाँ हो जाने,’ ‘तारी नदेउ माझीदाइ,’ ‘हजार चोटी,’ ‘सबैले दिने माया,’ ‘फूल झरेपनि काँडा झर्दैन,’ ‘सयथरी बाजा एउटै ताल’ जस्ता कालजयी गीतहरु गाएकी थिइन् । झण्डै दुई घण्टासम्म चलेको कार्यक्रममा गायिका थापालाई सम्पूर्ण सङ्गीतकर्मी र सङ्गीतकर्मीले साथ दिएका थिए ।
गीतकार वसन्त वित्यासी थापाको संयोजकत्वमा सम्पन्न कार्यक्रयमा फाउण्डेसनले गायिका थापालाई सम्मान समेत गरेको थियो । कार्यक्रममा नृत्य शिरोमणि भैरवबहादुर थापा, फाउन्डेसनकी अध्यक्ष चन्द्रज्योति आले, वरिष्ठ संगीतकार सिके रसाइली, वरिष्ठ गायिका मिरा राणा, राजु सिंह, वरिष्ठ गीतकार विश्व बल्लभ, वरिष्ठ संगीतकार दीपक जंगम लगायतको सहभागिता थियो ।
गायिका थापा विगत ५३ वर्षदेखि नेपाली गीतसङ्गीतमा निरन्तर छिन् । वि.सं. २०२८ चैत २८ गते रेडियो नेपालबाट सरोजगोपालको शब्द र सीके रसाइलीको सङ्गीतमा पूर्णसिंह नेपालीसँग संयुक्त रूपमा ‘माझी दाइ डुङ्गा तारिदेऊ’ बोलको गीत रेकर्ड गराएपछि उनको साङ्गीतिक यात्राको थालनी भएको थियो ।