लेखक गुरुङ रामप्रकाश समथिङको न्वारानमा पुरेतले जुराइ दिएको नाम चेतप्रसाद, पछाडि आमा बाबुले राखिदिएको नाम रामबहादुर र लेखनमा लागपछिको नाम गुरुङ रामप्रकाश समथिङ । उनको जन्म २०२६ साल माघ २९ गते बुधवार भएता पनि नागरिकताको अभिलेख अनुसार २०२८ साल वैशाख २९ गते बुधवार । बाजे स्व. चन्द्रवीर र बजू स्व. मनमाया अनि आमा स्व. जसमाया र बाबु स्व. असल बहादुर गुरुङका सत्र सन्तानमध्येका तेस्रो सन्तानको रूपमा पाँचथर जिल्लाको साबिक नाङ्गिन ०२ हाल फिदिम नगरपालिका वार्ड न. १२ जरिंङगे फुलबारी भन्ने गाउँमा जन्मेका हुन उनी । गरिब परिवारमा जन्म भएका समथिङले आफ्नो जीवनको बाल्य अवस्थामा अत्यन्तै दुःख र कष्ट व्यहोर्नु परेका कुरा उनका प्रकाशित कृति समथिङका बितेका क्षणहरू संस्मरणबाट स्पष्ट हुन्छ । समथिङको लगभग ०८ वर्षको उमेरमा मात्र बोली फुटेको कुरा उनको उक्त प्रकाशित कृतिबाट थाहा पाइन्छ । समथिङ साह्रै रुन्थे रे – उनको बाबुले आठ वर्षको हुँदासम्म छोराको बोली नआउँदा ‘यो सोकोटालाई सिंदुर दलेर तल दोबाटोमा लगेर मन्साइदे’ भन्दाखेरि । उक्त कुरा उनको आमाले पछि समथिङको बोली आएपछि ‘तेरो बाबुले तँलाई यसो भन्थ्यो’ भनेर भनेको कुरा उनी सम्झन्छन् ।
शिक्षा
समथिङ लगभग १० वर्षको उमेरदेखि मात्र घर नजिकैको पुलभञ्ज्याङ प्राथमिक विद्यालयमा (हाल नाङ्गिन माध्यमिक विद्यालय) कक्षा १ मा अध्ययन गर्न शुरु गरेको कुरा उनका समथिङका बितेका क्षणहरू–संस्मरण कृतिमार्फत थाहा हुन्छ ।
उनले त्यस विद्यालयमा ३ कक्षासम्म अध्ययन गरे । त्यसपछि उनी कक्षा ४ मा पढ्नको लागि श्री सिद्ध देवी माध्यमिक विद्यालय नाङ्गिन पिपल बोटेमा नाम लेखाइ पढाइलाई अगाडि बढाउन लागेका थिए । त्यति बेला सानै कक्षादेखि थोरै भए पनि मासिक शुल्क तिर्नु पर्दथ्यो तर दुर्भाग्यवश समथिङले आफ्ना आमा बाबुको आर्थिक स्थिति कमजोरीका कारण कक्षा ४ को मासिक शुल्क बुझाउन नसकेर अर्धवार्षिक परीक्षा दिन नपाई स्कुलबाट रुँदै–रुँदै घर फिर्नु परेको थियो । त्यसपश्चात् उनी केही वर्ष घरमा नै बसेर घरमा पालिएका गाई, गोरु, भैँसी र भेडा बाख्राहरु चराउने र खेतीको काम सघाउँदै आफ्नो दिनहरू बिताएको देखिन्छ ।
समथिङको यस्तो आर्थिक अभाव थियो कि उनको आङमा एकसरो लुगासम्म राम्रो हुँदैनथ्यो । भएको पुरानो लुगा पनि टालटुल गरेर लाउनु पर्ने समथिङको जिन्दगीको बाध्यता थियो । इजारवाला कट्टुमा यति जुम्रा पर्थ्यो की त्यो जुम्रा दुवै हातका बुढी औँलाको नङले मारेको समथिङ कहिल्यै भुल्दैनन् । समथिङको जीवनमा धेरै उतारचढाव आएको उनको समथिङको बितेका क्षणहरू संस्मरण कृतिबाट प्रष्ट हुन्छ । उनलाई जेठा दाजुले मासुको निहुँमा बन्चरोले र छोरासँग झगडा ग¥यो भनेर कान्छा काकाले खुकुरीले काट्ने प्रयास गरेकै हो तर संयोगवश शरीरमा चोट भने लाग्न पाएन । दुई पटक चोट नलागेता पनि तेस्रो पटक भने चोट लागेरै छाड्यो उनलाई । २०४४ सालमा लाहुरे भिड्न जाँदा सिपिएम र गोरखाल्याण्डको आन्दोलनमा परेर दार्जिलिङमा कुटाइ खानु¥यो । जसको कारणले गर्दा उनको पछाडि ढाडमा आठ टाँका गर्नुपरेको थियो ।
हरेक सङ्घर्षमा जीवन चलाइरहेको भएता पनि समथिङलाई पढ्ने रहर भने आफ्नो मनबाट हराएको थिएन । त्यसैले केही वर्ष पश्चात् उनले फेरि आफ्नो घरमा आमा बाबुलाई केवल विद्यालय जाने र विद्यालयमा लाग्ने मासिक शुल्क, किताब, कापी, कलम र पोसाक सबै आफै व्यवस्था गर्ने गरी समय मागे । उनका आमा बाबुले पनि ‘ठिकै छ आफै व्यवस्था गरेर पढ्छस् भने हुन्छ’ भने । त्यस पश्चात् उनले एकै चोटि कक्षा चारबाट कक्षा सातमा नाम लेखाएर पढ्न थाले । विद्यालयमा पढ्दा लाग्ने खर्चको लागि उनले विद्यालय बिदाको दिनमा गाउँमा खेताला गएर कुखुराको चल्ला मागी त्यसैलाई ठुलो बनाएर बेच्ने र आफ्नो खर्च चलाउने काम गर्न थाले । यसरी कुखुराको चल्ला किन्दै र बेच्दै गर्दा त पछि–पछि उनी यति प्रख्यात भए की नाङ्गिनमा मात्रै होइन छिमेकी गाउँका मानिसहरू माझ कुखुरे साइँला भनेर चिनिन थाले । यसरी उनले आफ्नो विद्यार्थी जीवनमा धेरै ठुलो सङ्घर्ष गरेर आफ्नो पढाइलाई विद्यालय स्तरमा अगाडि बढाउने काम गरेका थिए । उनले कक्षा सातदेखि कक्षा दशको प्रवेशिका परीक्षा दिँदासम्म बिहानको खाना नखाई एकै चोटि बिहानको भातलाई बेलुकाको खाजाको रूपमा खान्थे ।
उनी सम्झन्छन् – कक्षा ९ को किताब र कापी किन्नको लागि फिदिम बजारको चौतारे डाँडामा लागेको युवा मेलामा उनकी कान्छी सानिमाको होटेल थियो । उनलाई कक्षा ९ को किताब र कापी किनिदिने भनी मेलाभरि एक हप्तासम्म होटेलमा पानी बोक्ने र भाडा माझ्ने सर्तमा उनले काम गर्न सघाए । फिदिमको चौतारे डाँडामा लागेको मेलामा पुसको जाडोमा चप्पल लाएर उनले गैरी धाराबाट उकालो पानी बोके अनि बिहान, दिउँसो र राती नभनी अरूले खाएको थाल, भाँडा र गिलासहरू माझे । अनि मेला उठेपछि किताब र कापी किन्ने पैसा बोकेर उनी घर फर्के । पढ्नको लागि यतिसम्म गरे समथिङले घरमा फलेको डल्ले खोर्सानी चोरेर लगेर घर नजिकै रहेको खनाल बाजेसँग नासपती साटेर त्यो नासपतीले साथीहरूसँग एक दानाको एक पेज (दुई पन्ना) कापीको पन्ना साट्थे । त्यो साटेको कापीको पन्नाहरूलाई भेला गरेर सियो धागोले सिलाएर ठुलो कापी बनाएर लेख्ने गर्थे ।
उनले २०४६ सालमा सेन्ट अप पास गरी फिदिम आएर दशरथ कँडेलको घरमा डेरा गरी एस.एल.सी. दिए । डेरा बसेको भाडा तिर्न नसकेर उनले परीक्षा सकेपछि एक हप्ता गहुँ छर्नको लागि खेतमा गोरु जोतेर भाडा तिरेर गएका थिए । उनको एस.एल.सी.को परीक्षा सफल भएन । अङ्ग्रेजी र गणितमा अनुत्तीर्ण भए । पुनः त्यही कँडेलको घरमा बसेर पूरक परीक्षा दिए २०४७ सालमा । २०४८ सालमा नतिजा आउँदा दुवै विषय पास गरेकोले बल्ल उनले एस.एल.सी. पास गरेको सिद्ध देवी माध्यमिक विद्यालय नाङ्गिन पिपल बोटेबाट प्रमाण–पत्र पाए ।
पहिलो पटक एस.एल.सी. दिएपछि २०४६ सालको जनआन्दोलन सँग–सँगै उनले नाङ्गिनको बाबुको घर छाडे । फिदिम आएर सानीमाको घरमा बसेर फिदिम बजारको रुद्र नेम्बाङ, माथिल्लो गाउँको ओनाहाङ नेम्बाङको खेत अधिया र ठेक्कामा कमाउन थाले । एस.एल.सी. पास त गरे पनि उनीसँग क्याम्पस पढ्ने पैसा थिएन । त्यसैले उनले नाङ्गिन र फिदिम बिचको फेमेखोला र प्राङबुङ र सिदिनको बगाले गाउँको पुछार हिवाखोलामा फलामे पुल बनाउने काममा महिनौँ दिन खोला किनारमा बसेर काम गरे । राँकेदेखि रविसम्मको बाटोको नाली खन्ने काम गरे । फिदिम बजारको खेतबारीहरू जोते । यसरी नै क्याम्पस पढ्ने खर्च बनाएर पाँचथर बहुमुखी क्याम्पसमा आइ.कम.मा नाम लेखाएर प्राइभेट जस्तो पढ्न थाले । थोरै मात्रै क्याम्पस जाने र धेरै जसो काम गर्न जानुपर्ने उनको बाध्यता थियो ।
क्याम्पस पढ्ने भएता पनि उनले कमाएको साहुको खेतमा फलेको धान बोकेर साहुको ढुकुटीमा लगेर लाइदिनु उनको बाध्यता थियो । बिहानै साबराङदेखि फिदिम माथिल्लो गाउँको उकालोमा खाली पेट एक मुरी धान बोकेर लगेर साहुको ढुकुटीमा लाइदिनु रहर भन्दा पनि पेटको बाध्यता थियो । त्यति गर्दा पनि राम्रो वचनले खासै बोलाउँदैनथे साहुहरू । कहिलेकाहीँ मौसम बिग्रिएर ठेक्का गरेको धान नपुग्दा ‘यो वर्ष तोकिएको ठेक्का पुगेन है साहुजी’ भन्यो भने ‘लुकायौ होला अनि पुग्दैन भन्दा हुन्छ ?’ भनेर नमिठो वचन लगाएको उनी बिर्सन सक्दैनन् । उनले पढ्ने क्याम्पसमा उनले कमाउने खेतको साहुको छोरी, भतिजी र गाउँकाहरु पढ्थे । उनलाई उनीहरूले ‘राम’ हैन ‘रामे’ भनेर बोलाउन गर्थे । उनलाई उनीहरू नोकरको नजरले हेर्ने र व्यवहार गरेको उनको जीवनमा तितो अनुभव ठान्छन् उनी । उनले फिदिम बजारका बारीहरु जोतिरहँदा क्याम्पस पढ्ने साथीहरू उनलाई जिस्क्याउँथे । ‘हैन लाज लाग्दैन ?’ उनको उत्तर हुने गर्दथ्यो रे –‘काम गर्न लजाउनेले त खान पनि लजाउनु प¥यो नि ।’ उनले हरेक प्रकारले काम गरेर जुटाएको खर्चले पाँचथर बहुमुखी क्याम्पसमा आईकममा नाम लेखाइ प्राइभेट जस्तो गरी पढ्न शुरु गरे । खर्चको लागि समथिङले जस्तोसुकै काम गर्न पनि पछि परेनन् । जस्तै बाटोको नाली खन्ने र मेला बजारहरुमा होटलको भाँडा माझ्ने आदि ।
उनी सम्झन्छन् उनले २०४६ सालमा एस.एल.सी. परीक्षा दिन आउँदा कमला लावती भन्ने केटीसँग चिनजान भएको थियो । उनी घरमा पुगेर चिठी लेखिछन् । हुलाक मार्फत चिठी नाङ्गिन पुगेछ घरको ठेगानामा तर उनी फिदिम झरिसकेको थियो । कमला लावती हुनेखानेकै छोरीमा गनिन्थिन् । समथिङ राँके रवि बिचको देउराली छेउको गैरीमा साथीहरूसँग बाटोको नाली खन्दथे । सिमसिम पानी परिरहेको थियो । रवितिरबाट आउने बाटो डाँडाबाट फुत्त निस्कँदा गैरी परेको ठाउँ थियो । उनी नाली खनिरहँदा उनलाई चिठी लेख्ने कमला लावती कालो चस्मा अनि साडी र चोली लाएर फुत्त डाँडाबाट उनले नाली खन्दै गरेकोतिर पो आउँदै गरेको देखे । निक्कै बेर नियालेपछि मान्छे उनै हुन् भन्ने ठहर भयो । साथीहरूलाई यस्तो कुरा नभनी उनी साथीसँग पिसाब फेर्न निहुँ पारेर खन्न छाडेर अर्कोतिर लागे अनि कमला लावती नाली खन्दै गरेको ठाउँ पार गरेपछि मात्रै उनी काममा फिरेको पनि उनी कहिल्यै भुल्दैनन् रे ।
हरेक उतारचढाव र सङ्घर्षका साथ पाँचथर बहुमुखी क्याम्पस फिदिमबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरे । उनले आर्थिक अभाव हुँदा हुँदै पनि स्नातक तहमा नाम लेखाएर अध्ययन त गर्न थाले तर तेस्रो वर्षसम्मको परीक्षा दिएता पनि स्नातक तह पुरा गर्न नसकी बिचैमा रोकियो ।
परिवार
परिवारमा १७ सन्तान मध्ये साइँलो छोरोका रूपमा जन्मिएका समथिङका दुई दाजु दुई भाइ र बहिनीहरु पाँच जना रहेका छन् । २०५३ सालमा साबिक रानी टार–५ खान्द्रुङकी तारादेवी गुरुङसँग वैवाहिक जीवनमा बाँधिएका समथिङको दाम्पत्य जीवनबाट सुदर्शन र प्रदर्शन दुई छोराको जन्म भएका छन् ।
बिहे गर्दा पनि समथिङको तीतो अनुभव छ । उनको प्रेम विवाह हो । उनले बिहे गर्दा ससुराली गाउँमा ‘तेरो छोरी त तरितन्नमे अर्काको खेत कमाएर बस्नेले लगेछ । त्यो केटा त फिदिमको लिम्बूहरूको अधिया कुतमा खेत कमाएर बस्छ । फिदिमे लिम्बूको गोरु जोत्ने गोठालाले लगेछ’ भनेर सासूलाई गाउँलेले भनेको र पछि सासूले उनलाई सुनाएकी थिइन् रे ।
संलग्नता÷अनुभव
साहित्यकार एवं खोजकर्ता गुरुङ रामप्रकाश समथिङको विभिन्न सामाजिक सङ्घ संस्थाहरूमा आबद्ध भई सामाजिक क्षेत्रमा समेत उत्तिकै संलग्न रहेको छ । उनले वि.सं. २०४८ सालमा जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीमा जागिर खाए । त्यस्तै जिल्ला कृषि विकास कार्यालयमा दैनिक ४१।– रुपैयाँ पाउने गरी ३५ दिने कृषि तथ्याङ्क सङ्कलन गर्न गणकमा समेत जागिरे भएका थिए । वि.सं. २०५२ साल भदौदेखि मानव अधिकार चेतना र विकास केन्द्र (हुकोडेक) नेपाल पाँचथरमा कार्यालय सहायक, कार्यक्रम संयोजक, लेखा संयोजक, वरिष्ठ सामाजिक परिचालक, फिल्ड संयोजक हुँदै सचिव, कोषाध्यक्षसम्म, द रेयूकाई नेपाल फिदिम उपशाखाको सह–सचिव २०५३, द रेयूकाई नेपाल शान्ति त्रैमासिक पत्रिका काठमाडौँको संवाददाता २०५४, नारी विकास सङ्घ पाँचथरको लेखा संयोजक २०५५–२०५७, नेपाल रेडक्रस सोसाइटी पाँचथरको आजीवन सदस्य २०५५ देखि हालसम्म, मानव अधिकार संयुक्त संरक्षण मञ्च पाँचथर संस्थापक सचिव २०५४–२०५९, तमु छोंज धि. पाँचथरका सचिव २०५५–२०६५, सगर साहित्यिक त्रैमासिक वीरगन्जका आजीवन सदस्य २०५६ देखि हालसम्म, नेपाल पत्रकार महासङ्घ पाँचथर शाखाका सदस्य, कोषाध्यक्ष र दुई पटक केन्द्रीय पार्षद् २०५६–२०६७, बायोनिक इनर्जी प्रा.ली. पाँचथर शाखाका जिल्ला संयोजक २०५८, नेपाल वातावरण पत्रकार समूह पाँचथर शाखाका संस्थापक सचिव २०५८, मानव अधिकार तथा शान्ति समाज पाँचथर शाखाका संस्थापक सचिव÷सल्लाहकार २०५८–२०६१, क्षितिज नाट्य समूह केन्द्रीय समिति, पाँचथरका महासचिव २०५८–२०६०, नेपाल भारत मैत्री सङ्घ पाँचथर शाखाका संस्थापक सचिव÷सल्लाहकार २०६४, कञ्चनजङ्घा बचत तथा ऋण सहकारी संस्था ली. फिदिम, पाँचथरका सचिव÷उपाध्यक्ष २०६४–२०७६, पाँचथर सामुदायिक पुस्तकालय फिदिम, पाँचथरका संरक्षक सदस्य २०६६ देखि हालसम्म, सामुदायिक सेवा केन्द्र पाँचथरका आजीवन सदस्य–२०७२, जनमत साहित्यिक पत्रिका काभ्रेको आजीवन ग्राहक २०७३, समथिङ फाउन्डेसन नेपाल पाँचथरको संरक्षक २०७३, समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार कोषको संस्थापक २०७५, सामुदायिक अध्ययन केन्द्र सुभाङ पाँचथरको मानार्थ आजीवन सदस्य २०७४ र योन्तेन नोर्वुलिङ गुम्बा समिति फिदिमको मानार्थ सदस्य २०७६ जस्ता जिम्मेवारीमा रही दर्जनौँ सङ्घ संस्थामा थुप्रै कार्य तथा अनुभवहरू लेखकले बटुलेका छन् ।
लेखन
जब उनी २०४८ सालमा पाँचथर बहुमुखी क्याम्पस प्रवेश गरे त्यसपछि उनले साहित्य लेखनमा कलम चलाउन थाले । साहित्य लेखनमा उनले सबैभन्दा पहिले मुक्तकबाट सुरु गरेका थिए ।
कोही भन्छ मेरो, बोके दारी
त
कोही भन्छ, मेरो लट्टा दारी
त
कोही भन्छ, मेरो झ्यास्से दारी
तर
मेरो लागि यही हो गरी खाने बारी
अझ
मेरो मायालुहरूको लागि
त
यही हो रमाउने फूलबारी ।
(यो मुक्तक वर्ष ०१, अङ्क ०१ भाद्र २०५६ मा पाँचथरबाट प्रकाशन हुने रोशनी साहित्यिक हवाई मासिक पत्रिकामा प्रकाशित भएको थियो ।)
२०४८ सालबाट दाह्री शीर्षकमा मुक्तक लेखेर साहित्य लेखनमा सुरु गरेको र २०४९ साल साउन १५ गते अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन पाँचथर बहुमुखी क्याम्पस पाँचथरबाट प्रकाशित विद्यार्थी सन्देश मासिक (हस्तलिखित) साहित्यिक पत्रिका वर्ष १ अङ्क १ मा विद्यार्थी नामक प्रकाशित कविताबाट प्रारम्भ भएको साहित्यिक यात्रा २०६५ सालदेखि अझै उर्वर भएर गएको देखिन्छ । लेखक गुरुङ रामप्रकाश समथिङ लेख्न थालेको २८ वर्ष र प्रकाशन गर्न थालेको (२०६५ देखि २०७६ सम्म) ११ वर्षमा साहित्यिक ३३ र खोजमूलक १८ गरी ५१ वटा कृतिहरू प्रकाशित गरिसकेका छन् ।
०१ छ सय एक सभाषद र नेपाल २०६५
०२ पाँचथरका आदिवासी जनजातिहरू २०६६
०३ पाँचथर शिक्षा दर्पण २०६६
०४ प्रारम्भिक सहकारी शिक्षा २०६६
०५ लभ लेटरको लागि अचार (मुक्तक संग्रह) २०६६
०६ दलित जातीय लेख संग्रह (लेख निबन्ध) २०६६
०७ पाँचथरका माझी जाति २०६६
०८ सेक्स, लेख र समथिङ (लेख निबन्ध) २०६७
०९ विद्यार्थीहरूका आँखामा राम्रा शिक्षक २०६७
१० पाँचथर, पाँचथरका स्रष्टा र उहाँहरूका प्रकाशित कृतिहरू २०६७
११ समथिङ (कविता संग्रह) २०६७
१२ गैरसरकारी संस्था, दर्ता र सञ्चालन २०६७
१३ दलित जातिसम्बन्धी सामान्य जानकारी २०६७
१४ समथिङका बितेका क्षणहरू (संस्मरण) २०६७
१५ हाम्रो सामाजिक परिचालन २०६८
१६ मान्छेको पीडा (कथासङ्ग्रह) २०६९
१७ तथ्याङ्कमा पाँचथर २०७०
१८ सहकारीमा बचतको महत्त्व २०७०
१९ समाज रूपान्तरणका लागि सामाजिक परिचालन २०७०
२० समथिङको मेची महाकाली यात्रा (यात्रा संस्मरण) २०७०
२१ दोस्रो संविधानसभा निर्वाचन २०७०
२२ ओ माई गड सेक्स (लेख–निबन्ध) २०७१
२३ आइ लभ सेक्स (लेख–निबन्ध) २०७२
२४ याक्साभित्रका कथाहरू २०७३
२५ दुर्दशा (उपन्यास) २०७४
२६ बेसहारा (उपन्यास) २०७४
२७ यातना (उपन्यास) २०७४
२८ जवानीको ज्वालामुखी (उपन्यास) २०७४
२९ जँड्याहाकी स्वास्नी (उपन्यास) २०७४
३० जनयुद्धको उपहार (उपन्यास) २०७४
३१ साहित्यकार (उपन्यास) २०७४
३२ मृत्यु (उपन्यास) २०७४
३३ साउदी रियल (उपन्यास) २०७४
३४ सौतेनी आमा (उपन्यास) २०७४
३५ धनबहादुर सर (उपन्यास) २०७४
३६ खेल जवानीको (उपन्यास) २०७४
३७ धनी रामको दसैँ (उपन्यास) २०७४
३८ टुटेको सपना (उपन्यास) २०७४
३९ सेन्थेरेम (उपन्यास) २०७४
४० माया (उपन्यास) २०७४
४१ बिचरा ! जङे कमरेड (उपन्यास) २०७४
४२ जित्या (उपन्यास) २०७४
४३ महलदेखि सडकसम्म (उपन्यास) २०७४
४४ कमरेड चट्टानको सपना (उपन्यास) २०७४
४५ भ्रष्टाचारको कमाल (उपन्यास) २०७४
४६ साहसी आमा (उपन्यास) २०७४
४७ पाँचथरको स्थानीय नेतृत्व २०७४
४८ नेपालको स्थानीय नेतृत्व २०७४
४९ नेपालमा हाम्रो नेतृत्व २०७४
५० पाँचथर जिल्लाको निर्वाचन झलक (२०१५–२०७४) २०७५
५१ कथा जिन्दगीका (कथासङ्ग्रह) २०७६
सामाजिक कामको संयोजनकर्ता
गुरुङ रामप्रकाश समथिङ लेखक मात्रै हैन पाँचथर जिल्लामा सामाजिक कामको संयोजन गर्नमा पनि उत्तिकै नाम अगाडि आउने गर्दछ । पाँचथर जिल्लाको सदरमुकाम फिदिम नगरपालिका–४ स्थित गढी मा.वि.मा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरू प्रशंसा सम्बाहाम्फे (कक्षा १), सिर्जना योक्पाङदेन (कक्षा १), इङघङ चेम्जोङ (कक्षा ४), धनबहादुर खत्री (कक्षा ४), हिमा मिश्र (कक्षा ४), विनोद मगर (कक्षा ६), मनीषा आङदेम्बे (कक्षा ६), भीम मिफोक (कक्षा ६), भीम आङदेम्बे (कक्षा ६), राजेन्द्र शर्मा (कक्षा ८), मनकुमार राई (कक्षा ८), पञ्च मिला मिफोक (कक्षा ८), सुजता राई (कक्षा ९), जोर्डन चेम्जोङ (कक्षा ९), उत्तम लावती (कक्षा ९) प्रकाश लावती (कक्षा १०) र प्रकाश लम्जेल (कक्षा १०) गरी १७ जना र फिदिम उच्च मा.वि.मा अध्ययनरत झुमा मिश्र, प्रदीप लिङदेन, प्रकृति सम्बाहाम्फे र भीमा केरुङ गरी २१ जनालाई स्कुल र कलेजको पोसाकदेखि लाग्ने शुल्कसम्म तिरी दिएर सहयोगको थालनी गरेका समथिङले हालसम्म गढी मा.वि.मा १६ जना, पाँचथर बहुमुखी क्याम्पसमा ४ जना र फिदिम उच्च. मा.वि.मा ५ जना गरी २५ जना दृष्टिविहीन विद्यार्थीहरूलाई २०७१ सालदेखि आफै र अरूबाट पोसाक लगायत अन्य शैक्षिक सामाग्रीको लागि १ लाख ९९ हजार ८ सय ६५ रुपैयाँ बराबरको संयोजन गर्ने काम गर्दै आएका छन् ।
पाँचथर जिल्लाको इम्बुङ गाउँ विकास समिति वार्ड नं. ७ कोलबुङका हर्कवीर र धनमाया तामाङका ९ जना सन्तानमध्ये जेठा खडबहादुर (पूर्ण अपाङ्ग) काई ला महेन्द्र (अर्ध अपाङ्ग) कान्छा बद्री (अर्ध अपाङ्ग) साइली सिरीमाया (पूर्ण अपाङ्ग) र कान्छी तारादेवी (अर्ध अपाङ्ग) ५ जनालाई फिदिमवासीहरूको पूर्ण सहयोगमा नयाँ घर निर्माण, अपाङ्गमैत्री शौचालय कुर्सी, ट्वाइलेट पेन, वैशाखी, टिभी, डिसहोम, सोलार सेट, ह्विलचियर देखि व्यापारसम्मको थालनी गरी रु २ लाख ६४ हजार ३ सय २५ रुपैयाँ बराबरको सहयोग गर्नेमा संयोजन गरेका थिए । जसमा मंगल बेघा, भवानी तावा र नरेश आङबोले पूर्ण सहयोग गरेका थिए । अहिले उनीहरू व्यापार गरेर जीविकोपार्जन गरिरहेका छन् ।
२०७३ साल वैशाख ०२ गते बिहीबारका दिन पहिलेको चोकमागु ०९ हाल फिदिम नगरपालिका–०६ मा आगलागी भयो । जसमा देवी भण्डारी, सन्तोष राई, लक्ष्मी अधिकारी, जयनारायण अधिकारी, हरिलाल घिमिरे र तिलोचन नेपालको घर जले । त्यसमध्ये पनि तिलोचन नेपालको घर पूर्ण क्षति भएकोले फिदिमको व्यवसायीहरूको सहयोगमा घर निर्माणदेखि च्यादर लाउने सम्मको काममा संयोजन गर्ने काम उनैले गरेका थिए ।
फिदिम बजारमा लामो समयदेखि श्रमिकको रूपमा काम गर्दै आएका धनकुटे नामले चिनिने चुम बहादुर मगर पेटको बिरामी भएकोले उनलाई उपचारको लागि २४ हजार ५ सय ८५ रुपैयाँ र जिते भनेर चिनिने जितबहादुर तावा प्यारालाइसिस भएर बिरामी भएकोले उनको पुरानो घर नाङ्गिन ०९ छापेमा नयाँ घर समेत निर्माण गरी सोलार बत्ती समेतको व्यवस्था गरेर उनलाई त्यहाँ राख्ने सम्मको काम गर्दा ३९ हजार ७ सय १५ रुपैयाँ खर्च भएको थियो । जसको संयोजन गुरुङ रामप्रकाश समथिङको अगुवाइमा मंगल बेघा, भवानी तावा र नरेश आङबोले सहयोग गरेका थिए ।
फिदिममा २०४५ सालदेखि भोजपुरबाट आइ फिदिममा बसोबास गरी बसेका कविराज राई बिरामी भएकोले उपचार गर्न पैसा अभावको कारणले उनलाई बचाउनको लागि समथिङको अगुवाइमा फिदिमेहरुको तर्फबाट ७१ हजार सङ्कलन गरी घोपा क्याम्पमा उपचार गरिएको थियो । त्यस्तै साहित्यकार थाम्सुहाङ पुष्प सुब्बालाई २७ हजार ५ सय ५ सङ्कलन गरी उपचारमा सहयोग गर्न संयोजन समेत गरेका थिए ।
समथिङ अरूको मृत्युको अन्त्येष्टिमा सहभागी
समथिङ ‘जन्ती जान निम्तो हुन्छ तर मलामी जान निम्तो हुँदैन’ त्यसैले मान्छेको मृत्यु हुँदा चिनिराख्नु पर्दैन भन्ने मान्यता राख्छन् । मान्छेको मृत्युमा सहभागी भएरै होला नयाँ पत्रिका राष्ट्रिय दैनिकले वर्ष १० अङ्क १३४ बुधवार ८ गते भदौ २०७३ मा पाँचथर जिल्लाको सदरमुकाम फिदिम बजारमा मलामी जान खबरै गर्नु पर्दैन जसमा सबैले खोज्ने समथिङ शीर्षकमा सरोज शर्माले लेखेको समाचार नै प्रकाशित भएको थियो । समथिङले अरूको मृत्युको अन्त्येष्टिमा सहभागी भएको अभिलेख २०५३ साल वैशाख ०१ गते शनिवारका दिनदेखि जब उनले दैनिक लेख्न थाले त्यसै दिनदेखि राख्न सुरु गरे । त्यो भन्दा अगाडि पनि उनी सहभागी नभएको हैन । जस्तै २०५० साल वैशाख १७ गते बुधवारका दिन पाँचथर जिल्लाको लुङरुपा गाउँ विकास समिति–९ टिमुरेमा कुवेर दुलालको एकै परिवारका ५ जनालाई मारे । त्यसमा पनि उनी अन्त्येष्टिमा सहभागी भए । तर उनीसँग कुनै अभिलेख छैन । उनी २०५३ सालमा ६ जना, २०५४ सालमा १ जना, २०५५ सालमा १ जना, २०५६ सालमा २ जना, २०५७ सालमा ० जना, २०५८ सालमा १ जना, २०५९ सालमा १ जना, २०६० सालमा ३ जना, २०६१ सालमा ४ जना, २०६२ सालमा ६ जना, २०६३ सालमा १२ जना, २०६४ सालमा ७ जना, २०६५ सालमा ६ जना, २०६६ सालमा ७ जना, २०६७ सालमा १० जना, २०६८ सालमा ७ जना, २०६९ सालमा १९ जना, २०७० सालमा १० जना, २०७१ सालमा १२ जना, २०७२ सालमा ४३ जना, २०७३ सालमा ४९ जना, २०७४ सालमा ४२ जना, २०७५ सालमा ५७ जना, २०७६ सालमा ७२ जना गरी महिला १५९ र पुरुष २१९ गरी ३७८ जनाको मृत्युको अन्त्येष्टिमा सहभागी भइसकेका छन् । सायद उनले जस्तो यसरी अभिलेख राख्ने नेपालमा कोही पनि छैनन् होला ।
पुरस्कार कोषको स्थापना
‘जे गर्नु छ बाँच्दा नै गर्नुपर्छ’ भन्न रुचाउने लेखक गुरुङ रामप्रकाश समथिङले हरेक दुई–दुई वर्षको फरकमा वितरण गर्ने गरी नेपालभरिका नेपाल सरकारले सूचीकृत गरेका ५९ जनजाति, क्षेत्री बाहुन र दलित गरी ६१ जातिका लेखक तथा साहित्यकारहरूमध्ये ‘पुरस्कार प्रतिस्पर्धाको आधारमा हैन योगदानको आधारमा’ भन्ने मूल नाराका साथ एक जनालाई समथिङ साहित्यिक राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गर्ने र एक जनालाई समथिङ साहित्यिक राष्ट्रिय सम्मानबाट सम्मानित गर्नको लागि कोषको स्थापना गरेका छन् २०७५ सालमा । पहिलो पटक समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार २०७६ बाट पाँचथर जिल्लाको तुम्बेवा गाउँपालिका ०१ आङनाको कवि राज माङलाक (लिम्बू समुदायबाट) लाई नगद रु. ५५,५८०। र सम्मान पत्र थान एक, झर्के थाल थान एक, झर्के बटुका (दाल खाने एक, तरकारी खाने एक) थान दुई, प्लेट (अचार खाने) थान एक, चम्ची थान एक, करुवा लोटा (पानी खाने) थान एक, जग (सिल्बरको) (पानी चलाउने) थान एक, चिया खाने मग थान एक, खाना राख्ने भाडा थान एक, दुबोको माला थान एक, मायाको चिनो (पुरस्कार कोषको संस्थापकको फोटो) थान एक, नाङ्लो थान एक, डायरी र पेन एक÷एक गरी दुई थान गरी जम्मा १५ थान र समथिङ साहित्यिक राष्ट्रिय सम्मान २०७६ बाट हिलिहाङ गाउँपालिका–५ सुभाङकी अग्रज साहित्यकार विद्या ओझा ‘निर्दोषी’लाई नगद रु. ५,५८०। र सम्मान पत्र थान एक, झर्के थाल थान एक, झर्के बटुका (दाल खाने एक, तरकारी खाने एक) थान दुई, प्लेट (अचार खाने) थान एक, चम्ची थान एक, करुवा लोटा (पानी खाने) थान एक, जग (सिल्बरको) (पानी चलाउने) थान एक, चिया खाने मग थान एक, खाना राख्ने भाँडा थान एक, दुबोको माला थान एक, मायाको चिनो (पुरस्कार कोषको संस्थापकको फोटो) थान एक, नाङ्लो थान एक, डायरी र पेन (डायरी एक र पेन एक) थान दुई गरी जम्मा १५ थान लेखकको जन्म दिन २०७६ साल माघ २९ गते बुधवारका दिन फिदिममा साहित्यिक कार्यक्रम गरी समथिङ फाउन्डेसन नेपालले वितरण गरेका थिए ।
व्यक्ति एक प्रतिभा अनेक
समथिङको प्रतिभा देखेर धेरै मान्छेहरू लोभिने गर्दछन् । व्यक्ति एक तर उनको प्रतिभा अनेक छन् । घरको काम गर्न पनि भ्याएकै छन् । आफू आवद्ध भएको हुकोडेक नेपालको कोषाध्यक्ष, कञ्चनजङ्घा सहकारीको सचिव अनि समथिङ फाउन्डेसन नेपालको संरक्षक हँुदै सामाजिक कामको सहयोगीको रूपमा पनि काम गरिरहेकै छन् । पाँचथर जिल्लाबाट प्रकाशित हुने समाचारमूलक होस् या साहित्यिक होस् सबै पत्रिकाहरूमा लेख र साहित्यिक रचनाहरू अनिवार्य जसो नै लेखिराखेका हुन्छन् । कहाँ त्यति मात्रै हो र ? गैरसरकारी संस्था दर्ता गर्नको लागि विधान, कार्यक्रम पेस गर्ने प्रस्तावना पत्रदेखि लिएर सहकारी संस्थाको विनियम बनाउनेमा पनि जिल्लामा अगाडि नै नाम आउने गर्दछ ।
साहित्य क्षेत्रको कुरा गर्दा प्रकाशन गर्न थालेको २०६५ देखि २०७६ साल सम्ममा साहित्यिक ३३ र खोजमूलक १८ वटा गरी उनको ५१ वटा कृति प्रकाशित भइसकेका छन् । उनी जन्मेको २९ गते माघ २०२६ साल हो तर नागरिकताको अभिलेख अनुसार २०२८ साल वैशाख २९ गते । अच् म त यो छ की लेखकले २०७६ साल माघ २९ गतेदेखि ५० वर्षमा लाग्दा उनको कृति सङ्ख्या ५१ पुगेको छ । उनको कृतिले उमेरलाई जितिसक्यो । ११ वर्षमा कृति प्रकाशन गरेर जीवनमा रेकर्ड राख्ने प्रयासमा लागेका छन् । सायद यसरी निरन्तर लेखनमा लाग्नेहरू अपवादमा मात्रै यस्तो हुन सक्ला ।
सायद समथिङसँग अनेक प्रतिभा भएर नै होला । नेपाली समाजमा दुःखमा होस् वा सुखमा होस सबै जातिले प्रयोग गर्ने नौमती बाजा कुनै समय दलित जातिभित्रको दमाई ले मात्रै बजाउने गर्दथे । त्यो बाजा अहिले लोप हुने अवस्थामा पुगेको छ । शिक्षा र वैदेशिक रोजगारीका कारणले दमाईं जातिकाहरुले नौमती बाजा बजाउन छाडे । तर पाँचथर जिल्लामा समथिङको संयोजनमा पहिलो पटक नौमती बाजाहरू सनै, नरसिङ्गा, ढोलक, झ्याम्टा, ट्याम्को, नगरा र दमा किने अनि साथीहरू भेला गरेर बजाउन थाले । जसले गर्दा आज पाँचथर जिल्लामा गैर दलित जातिका व्यक्तिहरू व्यावसायिक रूप लिएको छ । उनी जुन टोलीको नेतृत्व गर्छन् । उनी भाका फेर्ने सहनै बाहेक सबै बाजाहरू बजाउन खप्पिस छन् । लोप भएको लोकबाजा संरक्षण गर्न कै लागि गुरुङ रामप्रकाश समथिङ लागि परेका छन् ।
अन्त्यमा,
व्यक्ति एक प्रतिभा अनेक । बहु प्रतिभाका धनी लेखक गुरुङ रामप्रकाश समथिङ मोफसलमा बसेर नेपाली साहित्यमा योगदान दिने अग्रणी व्यक्ति । ‘जन्ती जान निम्तो हुन्छ तर मलामी जान निम्तो हुँदैन, त्यसैले मलामी जानलाई मान्छे चिनिरहनु पर्दैन’ भन्ने मान्यता राख्ने समथिङ सामाजिक काम र समाजमा लोप हुदै गइरहेको लोक बाजाहरूको संरक्षणमा पनि उत्तिकै सक्रिय छन् । त्यसैले यस्ता बहुमुखी प्रतिभाका धनी व्यक्तिलाई सबैले सम्मान र कदर गर्नुपर्दछ ।