“खोया आयो । अब यसले अलमल्याउने भो । भेटेपछि छाड्दै छाड्दैन । उसको कुरा नसुनौं पनि भएन, तथानाम फलाकेर हिँडिदिन्छ । हेर्नुस् न, हामीकहाँ त खोयाहरुकै कुरो ठूलो हुन्छ । जताततै खोयाको बिगबिगी छ । तपाईं धेरै वर्षपछि आउनुभएको हुँदा यहाँको कुरो थाहै छैन ।”
बाटोमा सँगै हिँडेका साथी दुर्गा दाहालको कुरो सुनेर म एकछिन अलमलिएँ । वास्तवमा मलाई त्यहाँको कुरा के थाहा हुने र ? त्यहाँ भनेको प्रसङ्ग ताप्लेजुङ जिल्ला सदरमुकाम अमिनी छेउको हो । म केही समयअघि अर्थात् २०५५।१।१५ मा ताप्लेजुङ पुगेको थिएँ ।
“हलो, उहाँ ….. हुनुहुुन्छ ….. उहाँ ।” खुट्टा राम्ररी नटेकिएका एकजनासँग परिचय आदानप्रदान गराए दाहालजीले । केहीबेर आगन्तुकले तमोर कावेली नै सुकाउने गरी हाँक्यो । उसले मेरो हात मर्किएला झैं पारेर समाएको थियो । बल्लतल्ल छुटकारा लिएपछि केही पर पुगेर मैले दाहाललाई सोधेँ –“तपाईंले खोया आयो भन्नुहुन्थ्यो, के भनेको त्यो !
“ओ हो भट्टराईजी, तपाईंलाई त्यति पनि थाहा छैन । कस्तो कुरा गर्नुभएको । यत्रो देश विदेश सारा घुमेको, बुझेको मान्छेले, ‘खोया’ नचिन्नु चाहिँ अलि मिल्दो कुरा भएन नि । साँच्चै नबुझेको हो अथवा मलाई बताउन खोजेको मात्रै त होइन ….. ।
खोयाबिर्के सेवन गर्नेलाई खोया भनिन्छ । खोया अर्थात् खोयाबिर्के पदार्थ सेवनकर्ता — व्यक्ति । तपार्इंलाई एउटा नयाँ शब्द मिल्यो । भाषा केलाउने मानिसलाई एउटा थप कुरा भयो ।”
“खोयाबिर्के” जाँड रक्सी राखिने बोतलको ‘बिर्को’का आधारमा बनेको शब्द रहेछ । बियर र अन्य कम्पनीहरुबाट उत्पादित रक्सी प्रयोग भइसकेपछि त्यस्ता बोतलका बिर्का पुनः प्रयोगमा आउँदैनन् । बोतलहरु भने गाउँक्षेत्रका, घरेलु, छ्याङ, जाँड र तीनपाने, रक्सी राख्न प्रयोग गरिन्छ । त्यसो त तोरीतेल मट्टितेल राख्न पनि यस्ता बोतल प्रयोग गरिन्छ । बोतल प्रयोग गर्दा बिर्को चाहियो र अति भरपर्दो, कसिलो बिर्को बन्दोरहेछ मकैको खोयाबाट ।
प्रायः ग्रामीण क्षेत्रमा औंसी, पूर्णे, संक्रान्ति र बारका आधारमा लाग्ने हाट बजारमा यस्ता खोयाबिर्के मालको ठूलो बजार लाग्ने गर्छ । सस्ताखाले होटल भट्टीहरुमा पनि खोया बिर्केकै प्रचलन हुने गर्छ । पाँच दस बीसमै त्रिलोक र चौध भुवन देखाउने — ऊर्जाशक्ति दिन सक्ने क्षमता यी खोयाबिर्केमा हुनेरहेछ ।
नेपाली जनजीवनमा संस्कृतिकै अभिन्न अंग बनेर बसेको जाँड र रक्सीबारे थाहा नपाउने, नजान्ने भन्ने त सवालै भएन । म अलमलिएको थिएँ— खोया भन्ने सम्बोधनबाट । जसले यस्तो पदार्थ अर्थात् खोयाबिर्के खान्छ र होहल्ला गर्दै हिँड्छ त्यस्तो व्यक्ति खोया कहलाउने रहेछ ।
खोया र खोयाबिर्के शब्दको प्रचलन पनि पुरानै हुन लागेको भए पनि म अनभिज्ञ रहेछु । नेपालमा खोयाबिर्के र खोया नभएको ठाउँ नै छैन । मेची—महाकाली सर्वत्र खोयाबिर्के र खोयाको जगजगी छ । नेपालको राष्ट्रिय मूल पहिचान नै हो यो खोयाबिर्के ।
जाँड ठर्रा र लोकल रक्सीको एउटै नाम हो खोयाबिर्के । पहिलेका जँड्याहा, रक्स्याहाको पर्याय बनेको रहेछ यो खोया । मलाई पहिलोपल्ट ज्ञान मिल्यो, खोया र खोयाबिर्के बारे । म आफ्नो जन्मक्षेत्रमा धेरै वर्ष पछि करीव साढे दुई दशकपछि पुगेको थिएँ । नयाँ शब्द र शब्दार्थ बुझ्ने मौका पाएँ । यो पनि एउटा उपलब्धि नै भयो ।
त्यसैबेला अर्का एकजना आइपुगे विश्व हाँक्दै । सबैलाई ठीक पार्ने — एक, एकलाई नछोड्ने कबोल गर्दै । दाहालजी र गुरुङजीलाई हेरेर ती हाँक्ने फलाक्ने व्यक्तिले भने सक्नेले भने— “यसपल्ट मलाई टिकट नदिने हो भने, म देखाइदिन्छु, बुझ्नु भो… म पनि फलानो हुँ । के ठान्या छ । तीस वर्षदेखि पार्टीका लागि ज्यान दिएको । कि होइन भने भन्नोस् … तपाईंहरु ।”
धर्मराउँदै ती नेता पनि केहीबेर नाचेर गाएर गए । तोक्मा बजारमा त्यस्तो प्रकारको भेटघाट भयो अरु केही जनासँग । एकप्रकार सिनेमा स्टाइलका व्यक्तिहरुसँगको भेट रमाइलै हुँदो रहेछ ।
खोयाबिर्के र खोयाको कुरा ताप्लेजुङसँग मात्र जोडेर अन्यथा गर्न खोजेको होइन । ताप्लेजुङ मेरो जन्म क्षेत्र÷पवित्र, सम्मान्य र स्मरणीय पनि छ । ताप्लेजुङ गएका बेला खोयाबिर्केको यथार्थ परिभाषा खुलेकोले मात्र यहाँ प्रसङ्ग पर्न गएको हो । ठाउँ र स्तर, तहअनुसार खोया र खोयाबिर्केका स्वरुप फरक फरक हुन सक्छन् ।
ताप्लेजुङदेखि दार्चुला र झापादेखि कन्चनपुरसम्म जहाँसुकै खोयाबिर्केको चलन छ । कतैकतै महिलाहरुको विशेष सहभागितामा खोयाबिर्के निर्मूल अभियान चलाइएको सुन्न पाएको बाहेक एउटै प्रक्रिया र एउटै धरातलमा उस्तै उस्तै गरी खोयाबिर्केले समाजमा अगुवा भएर स्थान ओगटेको छ ।
मर्दा–पर्दा, जन्मिदा, शुभ अशुभजस्ता जुनसुकै कार्यहरुमा सगुनका रुपमा परापूर्व कालदेखि नेपालका बहुजाति, बहुसंस्कृतिका कतिपय, समाजमा खोयाबिर्के नभई नचलाई हुँदैन । कतिपय जातिमा शुभ साइतको सगुनका रुपमा खोयाबिर्केले मान्यता पाएको छ ।
उहिल्यै तागाधारी र मतवाली दुइवटा छुट्टाछुट्टै वर्ग विभाजन थियो । जनै लगाउनेहरु तागाधारी अरु बाँकी मतवाली । तागाधारी समूहमा खोयाबिर्केको प्रवेश बर्जित थियो ।
तर आज तागाधारी र मतवाली दुवैमा खोयाबिर्के प्रिय पेय बनेको छ । पहिलेको समयमा खोयाबिर्के प्रयोग गर्ने तागाधारी समाजबाटै बहिष्कृत हुन्थ्यो । आज भने खोया तागाधारीलाई सामाजिक बहिष्कार पनि गरिदैन ।
ताप्लेजुङमा नै एउटा अर्को शब्दको प्रयोग पाएँ— नवकिराँती । एकजना साथीकहाँ बेलुका खाना खान जाँदा व्यागपाइपर नाम गरेको खोयाबिर्के चलेको थियो । मतिर लक्ष्य गरेर भवानी गुरुङले भन े— यो त लिने होला नि ! मैले यो पदार्थ लिने गरेको छैन भन्ने जवाफ दिएपछि उनले फेरि भने —“ओहो त्यसो भए तपाईँ त नव किराँतमा पर्नुभएन नि ।”
“ओ हो, तपाईंलाई थाहा छैन ।”
यतातिरका क्षेत्री बाहुन तागाधारीहरु नवकिराँती भनेर चिनिन थालेका छन् । अब त पुराना असली किराँतीलाई आजको नवकिँरातीले उछिनिसकेको छ ।
साथी गुरुङको भनाइ थियो — खोयाबिर्केबाट मुक्त कोही पनि छैन । जात, धर्म, सम्प्रदाय, पार्टी, समूह, सबैतिर एकछत्र समान रुपमा वर्चस्व राख्न सक्ने समर्थवान् तत्व ‘खोयाबिर्के’ मात्रै हो ।
बनेको काम बिगार्न होस्, नबनेको काम सपार्न होस्, कसैमाथि जाइलाग्ने क्षमता बढाउन होस्, पीर व्यथा भुलाउन होस्, मित्रता गाँस्न होस्, सभा समारोह होस्, उत्सव भोज भतेर जुनसुकै बेला यस खोयाबिर्केको आवश्यकता पर्न थालेको छ ।
यस खोयाबिर्केमा जात, धर्म, संस्कृति, पार्टी वर्ग, वर्ण, लिङ्ग छुवाछुतजस्ता भेदभाव छैन । आज साँच्चैको समाजवादको अर्थ र परिभाषा यस खोयाबिर्केले ग्रहण गरेको छ ।
मात्रा, स्तर र प्रयोगमा फरक भए पनि ताप्लेजुङको तोक्मामा प्रयोग गरिने खोयाबिर्के र काठमाडौंमा पाँचतारेको पार्टीमा चल्ने खोयाबिर्केको लक्ष्य र उद्देश्य अनि परिणाम उस्तै उस्तै हो । काठमाडौंमा कतिपय वनभोजहरुमा मित्रता र सौहार्द बढाउन भेला भएकाहरु खोयाबिर्केकै कारण ग्याङफाइट भएर एकले अर्कोलाई नछाड्ने धम्की बोकेर अथवा घाइते भएर घर फर्किने गरेका उदाहरण प्रशस्तै भेटिन्छन् ।
होटलभित्र पनि यस्ता घटना हुन्छन् । राम्रोमा अति राम्रो काम गर्न र नराम्रोमा राक्षसी, पिशाची कर्म गर्नमा समेत उत्प्रेरित पार्ने शक्ति हुन्छ — खोयाबिर्केमा । हो यस्ता सबै कर्महरुमा खोयाबिर्केकै करामत रहन्छ ।
विश्वमा नै चलिआएको र नेपालजस्ता अविकसित मुलुकहरुमा चाहिँ विकासको मूल फुट्ने गरी स्थान ओगट्ने गरेको खोयाबिर्केका बारेमा कुनै नराम्रो धारणा बोकेर चर्चा गर्न खोजेको चाहिँ पटक्कै होइन । आजको सभ्य, शिष्ट समाजमा खोयाबिर्केले पूरै अधिकार जमाइसकेको छ । खोयाबिर्केको प्रयोग नगर्ने र खोया नबन्ने व्यक्ति बरु असभ्य ठहर्न सक्छ आजको मंगलग्रहे युगमा पनि ।एउटा निश्चित ठाउँमा घर, परिवारभित्र, अरुलाई कुनै असर नपार्ने गरी निश्चित समय र सीमाचित्र रहेर खोयाबिर्केको प्रयोग गर्नु निश्चय पनि राम्रो अथवा राम्रो हुनसक्ला, तर खुकुरी लठ्ठी बोक्न र अर्कामाथि जाइलाग्न जोश दिने गरी, समाजभित्र रहेर समाजसँगै मिल्न नसक्ने हुने गरी प्रयोग गर्नुचाहिँ अवश्य पनि सभ्यताभित्र पर्दैन होला ।
आज समाजमा कस्तो छ भने जो परम्परागत रुपमा खोयाबिर्केको चलन धान्दै आएका छन् — उनीहरुमा सीमा र मर्यादा रहेको देखिन्छ तर नवकिराँतले भने बढी सीमा नाघ्ने गरेका उदाहरण छन् । खोयाबिर्केप्रति हार्दिक सद्भाव राख्दै केवल सीमा ननाघी यसरी प्रयोगको कुरो गर्नु राम्रो हो । खोयाबिर्केको प्रयोगलाई नराम्रो भनेको चाहिँ होइन ।
प्रयोग गर्नुपर्छ । समय, युग अनुसार, साथीभाइ, समाज, परम्परा धान्नु वा मान्नुपर्छ । यहाँ यति मात्र भन्न खोजेको हो — खोयाबिर्के प्रयोग गरे पनि खोया विशेषण पाउने गरी बाटो नाप्तै, सडकमा सुत्तै, घरपरिवार साथीभाइलाई थर्काउँदै पत्नी, छोराछोरी कुट्तै अर्थात् नकारात्मकतातिर लाग्ने गरी प्रयोग नगरियोस् भन्ने आशय हो ।
खोया त्यस्तो व्यक्तिलाई मात्र भनिँदोरहेछ — जो चौबिसै घण्टा मातेर हिँड्छ । तथानाम, जथाभावी गाली गर्दै बोल्दै हिँड्छ । सडकमा बाटो छेउमा लड्छ अथवा विनाकारण अरुमाथि जाइलाग्ने बनाउँछ । घर परिवार, सम्पत्ति नै ध्वस्त पार्छ — त्यस्तालाई खोया भनिन्छ । हाम्रो समाजमा कतिपय उच्च बुद्धिजीवी, पार्टीका कार्यकर्ता, लेखक, कविहरुमा समेत खोयाका लक्षणहरु पनि आएको देख्न पाइन्छ ।
सर्वसाधारण व्यक्ति खोया भएकोमा त्यति वास्ता हुँदैन । यस्तै हो, कराउँछ, हिँड्छ, सडक, गल्ली पनि बाटोहरुमा लड्छ स्वास्नी, छोराछोरी कुट्छ, रुवाबासी मच्चाउँछ । गाउँ समाजमा त्यस्तो व्यक्ति — एकप्रकार पचिसकेको हुन्छ । सबैले यस प्रवृत्तिलाई पचाउन आफूलाई अभ्यस्त बनाएका हुन्छन् ।
तर समाजमा, जनजीवनमा नेतृत्व गर्ने जिम्मेवारी पाएका, लिएका व्यक्तिहरु नै खोया बनिदिएँ भने समाजमा कस्तो प्रभाव पर्ला । राजनीतिक दलका कार्यकर्ता, अथवा आफूलाई समाजसेवी भन्न रुचाउनेमध्ये कतिपय खोयाबिर्केसँग चौबिसै घण्टा टाँसिएर खोया बन्नेहरु प्रसस्तै छन् ।
राजनीतिक कार्यकर्ताले यदि सही नेतृत्व दिने हो र समाजमा आदर्श निर्माण गर्ने हो भने खोयाबिर्केबाट टाढा रहन सक्नुपर्छ । पुराना, दुःख पाएका, इमान्दार र पार्टीप्रति समर्पित कतिपय कार्यकर्ताले खोया विशेषण पाइसकेका कारण पार्टीबाट अलग हुनु परेका उदाहरण छन् ।
पार्टीका ठूलाबडा भए पनि यदि खोया भयो भने समाजले पचाउन सक्दैन । त्यसकारण प्रजातन्त्रको संरक्षण, सम्बद्र्धन गर्न सचेष्ट रहने पार्टीले नेतृत्व पंक्तिले आफ्ना कार्यकर्तालाई खोयाबिर्केबाट टाढा राख्न नसके पनि खोया बनिहाल्ने अवस्थाबाट चाहिँ जोगाउनै पर्छ । बौद्धिक वर्गभित्र पनि खोयाबिर्केको अत्यधिक प्रयोग नसुहाउँदो हुन जान्छ । सीमाभित्र रहेर प्रयोग गर्नु मात्रै उचित देखिन्छ ।
नेपालको एउटा मूल आयस्रोत र जनजीवनको जीविका साधनसमेत बन्न सफल ‘खोयाबिर्के’ नेपाली परम्परा र संस्कृतिको एउटा अंग पनि बनिसकेको छ । नेपालमा खोयाबिर्के सस्तो र सुलभ छ भन्ने कुरा विदेशमा समेत प्रचार भइसकेको छ ।
ठीकै छ — पार्टी, समारोह, आफ्नो रीति–परम्परा र प्रचलनलाई धान्न खोयाबिर्केलाई हाम्रो समाजले मान्यता दिएकै छ, दिनुपर्छ । मान्यता र सीमा बुझेर खोयाबिर्के प्रयोग गर्नु स्वाभाविक भए पनि व्यक्ति स्वयं खोया बन्नु अस्वाभाविक हुनेछ । राजनीति दल, समुदाय र समाजका प्रत्येक वर्गले यदि व्यक्ति विशेषलाई खोया विशेषण जोड्नलायक बन्नबाट जोगाइदिने हो भने नेपालको प्रजातान्त्रिक भविष्य उज्वल हुनेछ । र देशको उन्नति प्रगति पनि छिटै हुनेछ ।