वर्षौं भयो मैले कवि गीता कार्कीलाई चिनेको । उनका कविताहरु पढेको । हल्ला र भीडभन्दा अलि पर बसेर एकनास कवितामा साधनारत गीतासँगै एउटै अफिसमा काम गरेको अनुभव पनि छ मसँग । त्यसो त नेपाली कवितामा गीता र म एउटै समयमा छौं । हामीले कविता लेखेको समय एउटै हो । हामी दुईले बाँचिरहेको भूगोल र भोगिरहेको पृष्ठभूमी एउटै छ । काठमाडौं खाल्डोमा आयोजना हुने कार्यक्रमहरुमा अक्सर हामी ठोक्किन्छौ ।
साथीका रुपमा गीतासँग जति अनौपचारिक भएपनि उनको कविता साधनालाई म सधै सम्मान गर्छु । सजिला शब्दहरुको माध्यमबाट उनी जीवनको गहिराईलाई समाउछिन् कवितामा । नपत्याउँदो किसिमले कविताका भावसँग जीवनका गाम्भिर्यतालाई व्यक्त गर्ने उनको क्षमता मलाई निकै मन पर्छ । अझ कविता कर्मका लागि उनले जीवनका महत्वपूर्ण कालखण्ड व्यतित गरेकी छिन् — जसको छुट्टै विश्लेषण र विवेचना हुने नै छ ।
आजको सन्दर्भ हो कवि गीता कार्कीको कविता सँग्रह — आमा किरणहरुको छालमा । कितावको नाम नै कति काव्यात्मक । त्यसो त सामाजिक सञ्जालमा आज कविता राखेर केहीबेरमा नै भाइरल हुनेहरुको भीडमा गीता हराउन सक्छिन् । उनको यो काव्यात्मक शीर्षकको चर्चा र चासो नहुन सक्छ । काव्यको चरम गहिराई र अनुभूतिको दिव्य रापले धपक्क बलेका उनका कविता असल पारखीका लागि हुन् । जो सञ्जालको पानीफोके चर्चा भन्दा पर मन्थिङ्गल हल्लाउने खालका छन् । जसले आजका लागि होइनन निकै लामो समयका लागि मनमा राज गर्छन् ।
दैनिक जीवनमा निकै सरल र सहयोगी गीता कवितामा पनि दृढ र निकै आत्मविश्वासी छिन् । उनलाई आफ्नो शब्दप्रति भरोसा छ । कविताको शक्ति र सामथ्र्यमाथि उनलाई घमण्ड छ । यो घमण्ड शासकलाई सेनासँगको घमण्डजस्तो होइन । यो घमण्ड युवतीलाई आफ्नो रुपसँगको जस्तो घमण्ड पनि होइन । गीताको कवितासँगको घमण्ड चरालाई पखेटासँगको जस्तो हो । रुखलाई जरासँगको जस्तो हो । र आमा किरणहरुको छालमा पढिरहँदा नेपाली कविताको पछिल्लो उपलब्धिले हरकोहीलाई आनन्द दिन्छ ।
माथि पहाडको टाकुराबाट
फेदीमा हाम फालेर
उठेको म मान्छे
मलाई किन बगेको रंग देख्यौ ?
किन देखेनौ ?
नदीमा तारा टल्किएको आकाश ।
(चाहना वनफूल — पेजनं. ११५)
(र म कविताको यही आनन्दमा आमा किरणहरुको छालमा माथिको पाठकीय अभिमत राखिरहेछु ।)
गीता कवितामा मौनताको साधना गर्छिन् । जहाँ बहुल बोलीहरु सुनिन्छन् — शान्त र अनुशासित गीताका कवितामा मौनताको आवाजले मनलाई तरंगित बनाउँछ । मस्तिष्कलाई हल्लाउँछ । एउटा तपश्वीको साधनारत आयाम हो गीताको कविता कर्म । हल्ला र चर्चा भन्दा पनि मनभित्र प्रवाहित हुने उनका कविताले समयको गतिलो स्वर बोल्छ — मौन साधनामा लीन मानिसको जब्बर उपस्थिति जस्तो । हो, गीता गहिरा कविताहरुका माध्यमले नेपाली कविताको आजको समयमा अंकित छिन् । उनको कविताको आजको स्वस्थ्य उपस्थितिले नेपाली साहित्यमा उनको दीर्घायूको संभावनालाई प्रष्ट पारेको छ ।
यात्रामा छोड्दै छोड्दै आएका
खोलाजस्तै
यात्रामा तर्दै तर्दै आएका
जङ्घारजस्तै
कोही छोडिन्छन् र कतै भेटिन्छ किनार
(अक्षरहरुको सलाम — पेजनं. ३७)
नयाँ विम्ब र प्रतिकहरुले गीताका कविता उचालिएका छन् । उनले कतै कुनै कवितामा लेखेकी छिन् — ‘तिम्रो छुटेको जिन्दगीका पत्र पत्र मेरा बन्द ओठ हुन् ।’ पढेर म निकैबेर रन्थनिएँ । कति शक्तिशाली हुन् शब्दहरु । यी शब्दले बोक्ने भावको गहिराई के कुनै पाठकले शान्त भावमा स्वीकार्न सक्ला ? के मजस्तो हैरान नभई उ गीताका कविताले शान्त रहन सक्ला ? मलाई के लाग्छ भने, गीताका यी बहुल बोली भएका मौन कविता एक्लै पढ्ने कविता हुन् । गोष्ठीहरुमा गीताका शब्दहरुमाथि न्याय नहुन सक्छ । भीडहरुमा गीताका कविता नसुनिन सक्छ । किनभने उनका कविताले गंभीरता माग्छ । एकान्त र एकाग्रता खोज्छ । यी पढ्ने कविता हुन् । भीडमा सुन्ने कविता होइनन् । यी तुक्का होइनन् । यी मन्त्र हुन् ।
मलाई घात गर्ने मानिस पनि
यतैकतै
मुस्कान पोको पारेर खाममा
प्रेयसीलाई आफन्तलाई
सौगात पठाउँदो हो
(नयाँ वर्षमा बाघ, जुनकिरी र चरा — पेजनं. ६८)
गीताका कवितामा जीवनका आरोहअवरोह प्रवाहित छन् । मध्यम वर्गीय मानिसका सपना र रहरहरुका बीचमा उभिएर उनका कविताले आजको स्केच कोरिरहेको छ । यो यस्तो स्केच हो जसका प्रत्येक रेखामा यो समयको दु:खदायी अनुहार छ । यो समयको क्रुरता र असन्तुष्टीहरुलाई क्यानभाष बनाएर उनले यो समयको चित्र बनाएकी छिन् — शब्दहरुले । बहुल बोलीको मौनतामा यी चित्रहरु बाचाल छन् । उस्तै परे कति ठाउँमा पाठकसँग सम्वाद गर्न आइपुग्छन् ।
४४ वटा कविताले भरिएको आमा किरणहरुको छालमा राम्रो र पठनीय कृति हो । यस कृतिले नेपाली कविताको निकै फराकिलो आकाश देखाएको छ । मेरो शुभकामना छ, गीताको भोलिको यात्रा यहि गतिमा अघि बढोस् । म मेरो प्रिय कवि साथीलाई समयको अनुहार बोकेका यी कविताहरुका लागि बधाइ दिन्छु ।
आमा किरणहरुको छालमा
विधा : कविता
कवि : गीता कार्की
प्रकाशक : नारी साहित्य प्रतिष्ठान, काठमाठौं
मूल्य : २५० /—
पेज नं. : १५६