नेपाली साहित्यकी मूर्धन्य लेखिका सुश्री पारिजातको निधनले लेखक साहित्यकारहरूलाई मात्रै होइन, साहित्यानुरागी उहाँका पाठकलाई मात्रै होइन, कवि साहित्यकार, लेखक, समालोचक, विद्यार्थी, शिक्षक, किसान मजदूर, राजनीतिक कार्यकर्ता सबैलाई दु:खित तुल्याएको छ । वि.सं. १९९४ मा दार्जिलिङमा जन्मिएर आफ्नो किशोरावस्थामा नेपाल प्रवेश गरी लेखन कार्यमा संलग्न पारिजात नेपाली साहित्यको त्यस्तो प्रतिभा हुनुहुन्थ्यो जसले कथा, कविता, उपन्यास, संस्मरण जस्ता महत्वपूर्ण क्षेत्रमा कलम चलाउनु भयो । सुरुमा अस्तित्ववादी चिन्तनबाट ‘शिरीषको फूल’ उपन्यास सिर्जेर मदन पुरस्कारबाट सम्मानित भएकी पारिजातले लेखनको क्रमसँगै–सँगै वैचारिक स्पष्टता र राजनीतिक चिन्तनको मार्ग खोज्दै जाँदा जब उहाँले मानव जगतको सर्वोत्कृष्ट दर्शनको रूपमा माक्र्सवादलाई पाउनुभयो त्यसअनुसार उहाँका रचनाहरूमा प्रगतिवादी चिन्तन र जीवनोन्मुख व्याख्या उहाँले त्यही समाजमा उभिएर सामाजिक परिवर्तनको दिशामा आफ्नो साहित्यिक यात्रा अगाडि बढाउनुभयो ।
महाकवि देवकोटाले आफ्नो कृतिको मूल्याङ्कन गर्दै मुनामदन बाहेक अरू कृतिहरू जलाइदिए हुन्छ भन्नुभएको थियो । यसको अर्थ उहाँका अरू कृतिहरूको महत्व नभएको भन्ने होइन । ठीकत्यसै गरी पारिजातलाई पनि पूर्णतामा चिन्न र लेखनको विकासक्रमको वैचारिक पक्षमा आएको परिवर्तन प्रष्ट्याउन पनि ‘शिरीषको फूल’ ले सहयोग नै गर्छ । ‘शिरीषको फूल’मा जीवनको अर्थ बाँच्नुमा खोज्नु र व्यर्थमा बाँच्नु भनेको आत्महत्या हो भन्ने सन्देश दिने पारिजातले महत्ताहीन उपन्यासमा बाँच्नुको अर्थ सङ्घर्ष बताउनु भएको छ यथास्थितिको विरुद्ध परिवर्तनको लागि विद्रोह गर्ने सन्देश दिनुभएको छ । वर्गीय समाजमा साहित्य पनि वर्ग विभाजित हुन्छ ।
पछिल्लो चरण (लेखनको लामो अवधि) मा उहाँले शोषित पीडित वर्गको साहित्य लेख्नुभयो । वर्गप्रति प्रतिवद्ध लेखकको रूपमा आफ्नो परिचय छाडेर जानुभयो । त्यसैलाई उहाँले सार्थक जीवनको अभिव्यक्ति भन्नुभयो । शोषित पीडित वर्गको साहित्यकार हुनुमा उहाँले गौरव गर्नुभयो र त भन्न सक्नुभयो, ‘शिरीषको फूल’ च्यातिदिए हुन्छ ।
यतिबेला पारिजात हाम्रो सामु हुनुहुन्न । तर उहाँले हामीलाई अमर रचनाहरू दिएर जानुभएको छ । नेपाली साहित्य भण्डारलाई सम्बद्ध बनाउनुभएको छ । एकाथरि साहित्यकार, समालोचकहरू उहाँलाई ‘शिरीषको फूल’को वरिपरि मात्रै खोज्ने प्रयास गरिरहेका छन् (जसलाई उहाँले निरर्थक रचना भन्नुहुन्थ्यो) निरर्थक रचनाभित्र सार्थक जीवनको खोजी संभव हुँदैन । उनीहरू उहाँको वास्तविक छविलाई धमिल्याउन, उहाँलाई आफ्नो स्वार्थ अनुकूल प्रस्तुत गर्न र उहाँलाई अपमानित गर्नका लागि यो कसरत गरिरहेका छन् । अर्कोतर्फ प्रगतिवादी साहित्यकार, लेखक, कलाकार, राजनैतिक पार्टीका नेता कार्यकर्ताहरूले पनि उहाँलाई अशक्त शारीरिक अवस्था र कष्टकर जीवनबीच सशक्त साहित्य सिर्जनाको लागि प्रेरित गर्यो त्यो शोषित पीडित वर्गप्रतिको प्रतिबद्धता हो । यही प्रतिबद्धताको परिधिभित्र रचिएका रचनाले उहाँलाई स्थापित गरेको हो । प्रथमत उहाँ प्रगतिवादी साहित्यको प्रतिबद्ध लेखक हुनुहुन्छ त्यस पछि मात्रै उहाँको राष्ट्रिय व्यक्तित्व झल्कन सक्छ । यसो नभए पहिले उहाँलाई निर्विवाद राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित गर्न र पछि मात्रै वैचारिक प्रतिवद्धताको आधारमा मूल्याङ्कन गर्न थालियो भने कसरी उहाँको सम्मान हुन सक्छ ?
यहाँनेर बिर्सन नहुने कुरा के हो भने उहाँमा जसरी पनि चर्चित साहित्यकार बन्ने र राष्ट्रिय व्यक्तित्व बनाउने महत्वाकाङ्क्षा भएको भए प्रतिक्रियावादी साहित्यकारहरूले ‘शिरीषको फूल’मा उहाँलाई दिएको सम्मान र पुरस्कार अनि प्रशंसालाई कायमै राखेर त्यही बाटोमा जानुहुन्थ्यो होला त्यो बाटोमा गएको भए न त उहाँले जीवनको अन्तिम अवस्थामा प्राज्ञिक संघर्षको नेतृत्व गर्नुपर्दथ्यो न त अभाव र कष्टकर जिन्दगी जीउनु नै पर्दथ्यो । उहाँले त्यो चाहनुभएन त्यो बाटोमा हिंडेको भए पनि उहाँ ठूलै साहित्यकार र प्रज्ञा प्रतिष्ठानको सदस्य पनि बन्न सक्नुहुन्थ्यो । तर उहाँलाई जीवनभरि त्यो बाटो ग्राह्य भएन । बरु शोषित पीडित वर्गको प्रतिबद्धता र कष्टकर जीवन स्वीकार गर्नुभयो र वर्ग प्रतिवद्ध लेखको रूपमा स्थापित हुनुभयो । यसको हर्थ उहाँ राष्ट्रियस्तरको साहित्यकार हुनुहुन्न भन्न खोजेको होइन । भन्न खोजेको के मात्र हो भने पहिले उहाँ जनप्रतिवद्ध प्रगतिवादी साहित्यकार हुनुहुन्छ र त्यसपछि त्यसैको आलोकमा उहाँको राष्ट्रिय व्यक्तित्व झल्किन्छ । हाम्रा लेखक साहित्यकार समालोचक र राजनैतिक आन्दोलनका नेता कार्यकर्ताहरूले उहाँलाई यो रूपमा प्रस्तुत गर्न नसक्नुमा या त उनीहरू नेपाली साहित्यका प्रगतिवादी साहित्यकार राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित हुन सक्दैनन् भने लघुताभाषका शिकार बनेका छन् या त वर्ग विभाजित हुँदा शोषित पीडित वर्गपट्टि परेको साहित्यकारको नाम हो भन्ने कुरा बिर्सिरहेका छन् ।
अलिकति गहिरिएर विचार गर्ने हो भने पारिजात निर्विवाद र अविभाज्य साझा साहित्यकारको रूपमा उभिएको हामी पाउँदैनौं । वर्ग–वर्ग बीचको विभाजन र वर्गसङ्घर्षको यथार्थता बोकेको वर्तमान समाजमा वर्गप्रतिबद्ध साहित्यकार पारिजात निर्विवाद हुनै सक्नुहुन्न न त सर्वग्राह्य व्यक्तित्वको रूपमा उहाँले परिचय नै दिन सक्नुहुन्छ । तर के कुरा सत्य हो भने प्रगतिवादी साहित्यकारले राष्ट्रिय व्यक्तित्व बनाउन सक्दैन । त्यसैले कसैलाई सम्मानित गर्ने हो भने पहिले राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित गरिसकेपछि वैचारिक प्रतिवद्धता खोजी गर्नुपर्दछ भन्ने सोचाइलाई उहाँले गलत सावित गरिदिनु भएको छ । शोषितपीडित वर्गप्रतिको प्रतिबद्धता र वैचारिक दृढताबाट पहिले उहाँले प्रगतिवादी साहित्यकारको रूपमा व्यक्तित्व निर्माण गर्नु भएको छ र त्यसैमा उहाँको राष्ट्रिय व्यक्तित्व झल्केको छ । उहाँको व्यक्तित्व समग्र नेपाली साहित्य भण्डारमा निर्विवाद अविभाज्य र साझा होइन । यसरी उहाँलाई मुल्याङ्कन गर्दा पहिले निर्विवाद राष्ट्रिय व्यक्तित्व बनाएर वैचारिक प्रतिबद्धताको आधारमा त्यसबाट अंश लिने होइन कि एक वर्ग प्रतिबद्ध लेखको रूपमा स्थापित गरेर राष्ट्रिय व्यक्तित्वको रूपमा सम्मानित गर्नुपर्छ यो ने उहाँको वास्तविक सम्मान हो ।
जनमतको पारिजात विशेषाङ्कबाट