भाषासाहित्यका फाँटमा लेखक, अनुवादक, सम्पादक र प्रकाशक, अन्वेषक र प्रचारक तथा प्रसारकका रूपमा बहुआयामिक भूमिका समाल्दै आउनुभएका शान्तदास मानन्धर अविरल साधना र निष्ठाका प्रतीक हुनुहुन्छ । वैयक्तिक उन्नयनभन्दा सदैव सामाजिक उन्नयनमा समर्पित हुने साहित्यकार शान्तदासको जन्म वि.सं. १९९१ साल जेठ महिनामा भएको थियो । वि.सं. २००४ सालमा नै कविता लेखेर भाषासाहित्यका क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले सृजनाका क्षेत्रमा पनि एकाकी प्रयासलाई भन्दा सामूहिक सहभागिता र साधनालाई औधि प्रश्रय दिने गर्नुहुन्छ । उहाँको विचारमा हाम्रो समाज, देश र विश्वको विकासमा आजभोलिका बालसमुदायको नै बढी योगदान रहने हुँदा उहाँ समस्त बालबालिकामा भावातिरेकका साथ माया, ममता र सम्मान व्यक्त गर्नुहुन्छ र त्यसैको परिणतिस्वरूप बालसमुदायको हितकारी र सम्मानदायी सेवानुरत हुनुहुन्छ । यसक्रममा उहाँले आपैmँ नै सम्पादनमा क्रियाशील भई अन्य मित्रहरूलाई स्रष्टा बनाउने उदारता र उत्पे्ररणा पनि प्रदान गर्नुभयो । यिनै र यस्तै विविध कल्याणकारी कार्यसम्पादनका फलस्वरूप उहाँ बहु–आयामिक व्यक्तित्वका धनी बन्नुभएको छ र नेपाली साहित्य र बालसाहित्यको सृजन र विकासमा उल्लेखनीय योगदान दिंदै अग्रगामी पाइला चाल्न सक्षम हुनुभएको छ । यस परिप्रेक्ष्यमा उहाँको साहित्य र बालसाहित्य–सृजनामा थुप्रै कृतिहरू प्रकाशित भएका छन् तीमध्ये नेपाली साहित्य र बालसाहित्यसित सम्बन्धित प्रमुख पुस्तकाकार कृतिहरू यस प्रकार छन् : १. मरुभूमिमा एक राज्य (कथासङ्ग्रह, २०२०), २. बसिबिया“लो (निबन्धसङ्ग्रह, २०३७), ३. कथाकोसेली–१ (बालकथासङ्ग्रह, २०४९), ४. पानीको कथा (सचित्र निबन्ध, २०५८), ५. हाम्रा बालबालिकाहरू र बालसाहित्य (प्रबन्ध, २०५९), ६. चार डाला नाक (सचित्र बालकथा, बेमिति २०४१ तिर), ७. साहित्यमा लू–सुनका विचारहरू (अनूदित निबन्धसङ्ग्रह, २०२२), ८. कथाकोसेली–२ (अनूदित बालकथासङ्ग्रह, २०५०), ९. गुलिभरको लिलिपुट यात्रा (अनूदित बालउपन्यास, २०५२), १०. कथाकोसेली–३ (अनूदित बालकथासङ्ग्रह, २०५३), ११. कथाकोसेली–४ (अनूदित बालकथासङ्ग्रह, २०५६), १२. कथाकोसेली–४ (अनूदित कथासङ्ग्रह, २०५७), १३. कथाकोसेली–५ (लोकबालकथासङ्ग्रह, २०५७) १४. कथाकोसेली–६ (अनुदित बालकथासङ्ग्रह, २०५ ), १५. हिउ“की रानी (अनूदित परिकथासङ्ग्रह, २०५८), १६. म के बन्नुपर्ला ?(२०६१), १७. सचित्र शब्दपुस्तक (बेमिति, २०५८ तिर) । माथि उल्लिखित उहाँका यी प्रमुख कृतिहरूमध्ये क्रमसङ्ख्या (६) सम्मका मौलिक कृति हुन् भने शेष अनुवादित र सङ्कलित हुन् । यीबाहेक पत्रपत्रिकामा छरिएर रहेका अनेकौँ लेखरचनाहरू उहाँका पाइन्छन् ।
यसरी दसकौँ अघिदेखि उहाँले भाषा र साहित्यका विविध फाँटमा सृजनाका मुहानहरू अविरल रूपमा प्रवाहित गर्दै आउनुभएको छ र हाम्रो समाजमा विकृति, बेथिति र विषमताविरुद्ध सङ्घर्ष गर्दै अघि बढ्नुभएको छ । उहाँले उपर्युक्त साहित्यिक कृतिहरूको माध्यमबाट सशक्त रूपमा एकातिर जर्जर सामन्तवादी व्यवस्थाको आडमा भइरहेको शोषण, दमन र उत्पीडनको तीव्र विरोध गर्नुभएको छ भने अर्कातिर हाम्रो समाज, मुलुक र विश्वको नै महान् अभियन्ता बालसमुदायमा अपार माया र विश्वास, असीम श्रद्धा र भरोसा व्यक्त गर्दै उनीहरूको हक–अधिकारको संरक्षण तथा सुरक्षणका निम्ति उत्कट आवाज निकाल्नुभएको छ । समग्रत: उहाका समस्त साधना र समर्पणलाई दृष्टिगत गर्दा के स्पष्ट हुन्छ भने उहाँ बालजगत्का उत्कृष्ट सेवक र बालसाहित्यका परम उपासक ठहरिनुहुन्छ । उहाँको यस क्षेत्रमा भएको निरन्तर योगदानको कदर गर्दै उहाँलाई नेपाली बालसाहित्यसेवी भनेर चिनाइएको र वि.सं. २०४९ सालमा नेबासास पुरस्कार, २०५४ सालमा कविताराम बालसाहित्य प्रबद्र्धन सम्मान, २०५७ सालमा हृदयचन्द्र स्मृतिसम्मानपत्र र २०६० सालमा अभियान पुरस्कार प्रदान गरिएको पाइन्छ ।
यस्तै उहाँको अर्को क्षेत्र पत्रिका–सम्पादन र प्रकाशन हो । यसमा पनि उहाँले साहित्य–साधनामा भैmँ परम तत्परता र तन्मयता संस्थापित गर्नुभएको छ । वि.सं. २०३६ सालदेखि उहाँले नवआलोक र बालपोष नामक पत्रिका प्रकाशित गर्नुभयो भने तिनको निरन्तरतामा अवरोध सृजना भएपछि २०३९ सालदेखि बालकोसेली र २०५१ सालदेखि नेवार भाषामा मयाक्यब प्रकाशन गर्न लाग्नुभयो । यस क्रममा उहाँले नेपाली बालबालिका र बालसाहित्यको आजीवन सेवा गर्ने उद्देश्यले बालकोसेली प्रकाशन संस्था सञ्चालन गर्नुभएको छ । नेपाली बालबालिका र बालसाहित्यको सन्दर्भमा उहाँका यी प्रतिष्ठापूर्ण कार्यले अत्यन्त गौरवमय स्थान अधिगत गर्न सफलता प्राप्त गरेका छन् । यसरी दृष्टिगत गर्दा के छर्लङग हुन्छ भने भाषा र साहित्यका सम्यक् साधक शान्तदास मानन्धर नेपाली बालजगत् र बालसाहित्यका परम परिपोषक हुनुहुन्छ ।
नेपाली बालसाहित्यमा शान्तदासको प्रवेश :
नेपाली बालसाहित्यको सृजना, अनुवादन, समीक्षण, सम्पादन, संयोजन, व्यवस्थापन, अन्वेषण, प्रकाशन र प्रसारणका विविध कार्यक्षेत्रमा स्वतन्त्रतापूर्वक समर्पित भई नेपाली बालसाहित्य जगत्लाई उल्लेखनीय योगदान दिने अग्रणी साहित्यकार शान्तदास नेपाली बालसाहित्य संसारका तेजस्वी नक्षत्र हुनुहुन्छ । उहाँले २००४ सालमा नै कविता लेखेर नेपाली साहित्यतर्पm अभिसार गर्नुभएको हो । परन्तु जहाँसम्म उहाँको सेवाको प्रसङ्ग छ, त्यो उहाँको नेपाली समस्त बालबालिकाप्रति सहज रूपमा समुद्भव भएको अपार माया, ममता, श्रद्धा र विश्वास हो । साहित्यकार शान्तदासका विचारमा वर्तमान र भविष्यका बालबालिकाहरू नै यो समाज, मुलुक र विश्वलाई आजका वयस्कभन्दा बढी समयसम्म इमान्दारी र बफादारीसाथ विकास र सभ्यताको सिँढीमा उकास्ने अग्रपङ्क्तिका उन्नायक र सुधारक हुन् र उनका हितमा नै समस्त साहित्यकारका साहित्यिक कृति प्रथमत: अभिमुख हुनुपर्छ । यिनै विचारको परिणामस्वरूप उहाँले २०२० सालतिर आपूm बालसेवा विद्यालयमा कार्यरत हुँदा उक्त विद्यालयमा बालबालिकाहरूलाई लक्ष्य गरेर ‘भित्ते पत्रिका’ निकाली त्यसमा विविध कथाहरू हस्तलिखित रूपमा प्रकाशित गर्न थाल्नुभयो । अत: नेपाली बालसाहित्यको प्राङ्गणमा उहाँको प्रवेश अमुद्रित रूपमा २०२० सालमा बालकथा लेखेर हुन्छ भने मुद्रित रूपमा वा छापामा चाहिँ २०३६ सालमा उहाँको आफ्नै प्रेसबाट बालपोष पत्रिका प्रकाशन गरेर हुन्छ । यसरी नेपाली बालसाहित्यमा प्रवेशार्थ उहाँलाई केही विलम्ब बेहोर्नुपरे तापनि उहाँको यस साहित्यिक धरातलमा प्रवेशपछि यहाँ उहाँका बालसाहित्यिक सृजनाहरू धमाधम प्रकाशित भए । यस क्रममा प्रथमत: उहाँका मौलिक बालसाहित्यका गुच्छहरू दृष्टिगत हुन्छन् भने त्यसपछि अनुवाद र सङ्कलनका गुच्छहरू देखापर्न थाल्छन् । उहाँका पहिलो वर्गका बालसाहित्यिक पुस्तकाकार कृतिमा बालकोसेली–१ (२०४९) नामक बालकथासङ्ग्रह पहिलो हो । त्यसपछि पानीको कथा (२०५८), हाम्रा बालबालिकाहरू र बालसाहित्य (२०५९), चार डाला नाक (मिति नखुलेको) प्रकाशित हुन्छन् । अर्काे वर्गमा अनूदित र सङ्कलित बालसाहित्यिक कृतिहरू पर्दछन् । तिनमा कथाकोसेली–२,३,४,५,६ जस्ता विभिन्न शृङ्खलाका बालकथासङ्ग्रहहरू र गुलिभरको लिलिपुट यात्रा (२०५२), हिउ“की रानी (२०५८), म के बन्नुपर्ला ?(२०६१) र सचित्र शब्दपुस्तक (बेमिति) आदि छन् ।
यसरी पर्यवेक्षण गर्दा बालसाहित्यसेवी शान्तदासको बालसमुदाय, बालजगत् र बालसाहित्यका विविध गतिविधिमा संलग्नता र अभिरुचि नेपालमा प्रजातान्त्रिक जागरण र प्रजातन्त्रको प्रादुर्भावसँगै विकास भएको पाइन्छ भने उक्त कार्यमा उहाँको प्रत्यक्ष र सक्रिय सहभागिता भने उहाँको आफ्नै प्रेसबाट २०३६ सालमा बालपोष पत्रिकाको प्रकाशन भएबाट निरन्तर गतिशील हुन थालेको स्पष्ट हुन्छ ।
बालसाहित्यकार शान्तदास र बालसाहित्यिक कृति :
नेपाली बालसाहित्यका क्षेत्रमा बालसाहित्यसेवी शान्तदास मानन्धरको बहुमुखी भूमिका रहेको भेटिन्छ तापनि मूलत: उहाँ बालसाहित्यकसाधक र अनुवादक हुनुहुन्छ । नेपाली बालसाहित्यका फाँटमा प्रदान गर्नुभएको उहाँको योगदानलाई दृष्टिगोचर गर्दा बालसाहित्य–साधनाका क्षेत्रमा उहाँका बालसाहित्यसम्बन्धी सृजनाकार्यहरू पर्दछन् भने अनुवादका क्षेत्रमा विविध स्वदेशी तथा विदेशी बालसाहित्यिक कृतिको नेपालीमा रूपान्तरण, सङ्कलन र प्रकाशनको व्यवस्था समेटिन्छन् ।
यसरी लेखकको स्वकीय अन्तस्करणबाट पलाएका स्व:स्पूmर्त प्रेरणा, नेपाली बालसाहित्यको सामाजिक परिवेश, बालबालिकाहरूसँग हुने निरन्तरको स्नेहमय सम्पर्क, सम्मानपूर्ण व्यवहार, परस्पराश्रित प्रगाढ सम्बन्धका साथै लेखकमा रहेको बालबालिकाहरूको सर्वाङ्गीण विकास गर्ने आन्तरिक चाहना र मानवभविष्यमाथिको अनन्त आस्थाले गर्दा नेपाली बालसाहित्यका सृजना र अनुवादका क्षेत्रमा समर्पित बन्नुभएका शान्तदासको समग्रमा डेढ दर्जन पुस्तकाकार बालकृति प्रकाशनको समुज्जवल बगैँचामा मुस्कुराउँदै भित्रिसकेका भेटिन्छन् । नेपाली बालसाहित्यमा बालविनोदकर र बालप्रियङ्कर सृजनाका स«ष्टा शान्तदास यिनै विविध कृतिहरूमध्ये नेपाली बालसाहित्यको बगैँचामा राम्ररी फक्रिनसकेकाले विरलै पाइने तर बालजगत्मा अत्यन्त प्रियविधाका रूपमा अँगालिने बालविनोदमुखी चित्रकथा हो । नेपाली बालसाहित्यको नौलो परिसरमा पल्लवित भई लेखकको चित्रकारितासम्बन्धी कौशललाई समेत परिचित गराउने यस कृतिले हलुका हास्यव्यङ्ग्यका साथ आफ्ना नौजना साथीहरूको समूह परित्याग गरी एक्लैले जाने बटुकेको क्रियाकलापलाई समेटेको छ । कथामा बटुके भन्ने एउटा केटो आफ्ना साथीहरूलाई वास्तै नगरी काकाकहाँ जान्छ जहाँ उसले जीवनमा कहिल्यै नदेखेका पेयभोज्य पदार्थ ग्रहण गर्ने मौका पाउँछ । यस किसिमको उसले नचिताएको अवसर मिलेको हुँदा ऊ अहङ्कारले फुल्न थाल्छ र उसको नाक प्रतिपल बढ्न थाल्छ । फेरि फर्केर साथीहरूकहाँ पुग्दा साथीहरू उसलाई चिन्न सक्दैैनन् । उसले आफ्ना साथीहरूका माझ यी सबै कुरा बताउँछ । यी कुरा सुनेपछि साथीहरू उसको बढेको नाक तासतुस पारेर ठीकठाक पार्न थाल्छन् । यस क्रममा तासिएको नाकको बढेको भाग चार डाला हुन पुग्छ । यसपछि ऊ आफ्ना साथीहरूको समूहमा नै रहन वचनबद्ध हुन्छ र कथा सकिन्छ ।
यस प्रकार बालकहरूको मनोभावना अनुकूल थोरै संवाद र धेरै दृश्य तथा चित्रद्वारा सजिएको यस कथाले मेलमिलापको महŒव, त्यसबाट प्राप्त हुने आनन्द तथा लोभ र अहङ्कारको मनोवैैज्ञानिक प्रभावलाई कौतूहलपूर्ण आयोजनाका साथ प्रस्तुत गरेको र रित्तो घमन्डले फुल्नेहरूलाई सचेत तुल्याउन मैत्री र हार्दिकताको सन्देश दिएको छ । यसै गरी यस चित्रकथामा समाज भाँड्ने भँडुवाको अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्दै सबैलाई सामूहिकता, सामाजिकता र मित्रताको भावना सम्बद्र्धन गर्न सल्लाह दिइएको छ ।
बालसमुदायमा पारस्परिक प्रेम, सामाजिकता, सद्भाव, सम्मान र सदाशय सम्बद्र्धन गर्न बालसाहित्यको सृजना गर्नुपर्ने धारणा राख्नुहुने शान्तदास मानन्धरको अर्काे क्षेत्र हो बालकथाकारिता । रेडियो प्रसारणमार्पmत कथा सुनाउने कार्यक्रम सञ्चालनसमेत गर्नुभएका शान्तदासले बालकथाकारितामा शृङ्खला नै तयार पार्ने उद्देश्य राखी विभिन्न भागमा कथाकोसेलीहरू प्रकाशन गर्नुभएको छ । यस क्रममा अहिलेसम्म कथाकोसेली–१ देखि ६ भागसम्म प्रकाशित भइसकेका छन् । तिनमा उहाँका आफ्नै मौलिक कथाहरूको सङ्ग्रह कथाकोसेली–१ २०४९ सालमा प्रकाशित भएको हो । उहाँको बालकथासम्बन्धी धारणाका अनुकूल सामाजिक बालकथाहरू सङ्कलित यो सङ्ग्रह उहाँको पुस्तकाकार प्रथम बालकथासङ्ग्रह हो । बालकथासाहित्यमा उहाँको प्रवृत्ति र कौशललाई राम्ररी चिनाउने यो सङ्ग्रह २०४९ सालको प्रकाशनमा उत्कृष्ट ठहरिई नेबासास पुरस्कारबाट पनि पुरस्कृत भएको छ । पाँचवटा बालकथासमाहित यस सङ्ग्रहका कथाशीर्षक हुन् – ललिता स्कुल गइन्, आमा भालु र उसका बच्चाहरू, उत्तरा र उसकी पुतली, रमेश र उसकी आमा र सगुनको पिस्तोल र रकेट ।
नेपाली बालकथाहरूलाई भूतप्रेत, राक्षस, जादुको जगत् र परी, पराशक्ति एवम् तिलस्मी पन्जाबाट मुक्त तथा बालसमुदायको सामाजिकता, मानसिकता र तद्गत समस्यामा आधारित बनाउने शान्तदासका उक्त सङ्ग्रहित बालकथाहरूमा उहाँले बालवृत्तका सामाजिक, मनोवैज्ञानिक, शैक्षिक समस्याहरूको सही उद्घाटन गर्दै उनीहरूसँग अभिभावक र समाजले गर्नुपर्ने व्यवहार, उनीहरूलाई दिनुपर्ने शिक्षा र शिक्षा दिने तरिका, उनीहरूमा निर्माण गर्नुपर्ने संस्कार र त्यसक्रममा राखिनुपर्ने सावधानी र सतर्कतालाई औंल्याई विषयमा समुचित खुराक प्रदान गर्नुभएको छ । अत: यो सङ्ग्रह नेपाली बालकथासङ्ग्रहको उल्लेखनीय उपलब्धि र कोसेढुङ्गा बनेको छ ।
बालसाहित्यसेवी शान्तदासको बालकोसेली प्रकाशनबाट २०५० सालमा प्रकाशित उक्त शृङ्खलाको दोस्रो भाग कथाकोसेली–२ नामक सङ्ग्रह छ वटा बालकथाको सङ्कलन हो । यसमा चीन, फ्रान्स, रुस, बुल्गेरिया र बेलायतका प्रसिद्ध बालकथाहरूको अनुवादमूलक प्रस्तुतीकरण गरिएको छ । बालबालिकाहरूले मन पराउने भ्यागुता, खरायो, जुरेली, ढुकुर, कुकुर, दुम्सी, कुखुरा आदि पात्र बनाएर मानवजातिको व्यवहार र धारणा प्रस्तुत गरिएको यस सङ्ग्रहका कथाका शीर्षक हुन् – आमा खोज्न हिडेका ससाना भ्यागुताहरू, तीनोटा खरायोको कथा, जुरेली र ढुकुर, खरायो र कुकुर, खरायो र दुम्सी, घमण्डी कुखुरा ।
बीचबीचमा कवितात्मक भनाइसमेत समाविष्ट गरी रोचक बनाइएका यी कथाहरूमा ससाना पशुपन्छीहरूले पाएका दु:खकष्ट, माया–ममता र व्यावहारिक अनुभवलाई राम्ररी प्रस्तुत गरिएका छन् । यी कथाबाट विभिन्न पशुपन्छीका स्वभावसित बालबालिकाको परिचय भई उनीहरूप्रति आकर्षण बढ्ने, तिनीहरूसित खेलेर राम्रा कुरा सिक्न सक्ने र मनमा आनन्द लिन सक्ने अपेक्षा गरिएको छ ।
उक्त शृङ्खलाको तेस्रो भाग कथाकोसेली–३ मा कोपेनहेगननिवासी हान्स एन्डर्सनका प्रसिद्ध छ वटा कथालाई अनुवाद गरेर समावेश गरिएको छ । रमाइला कथा, नाटक, उपन्यास लेख्नुहुने साहित्यकार एन्डर्सनको स्न् १८३५ मा प्रकाशित बालकथासङ्ग्रहबाट लिइएका यी कथाका शीर्षक हुन् – सक्कली राजकुमारी, बादशाहको नया“ लुगा, सलाई बेच्ने नानी, भद्दा टिउरो, टिनको दह्रो सिपाही र पूmलकुमारी ।
विश्वविख्यात बालकथा भएर पनि युवा र प्रौढ सबैलाई आकर्षित गर्ने यी कथाहरू समाजका सुख–दु:ख, अहङ्कार–अभिमान र व्यावहारिक अनुभव व्यक्त गर्दै जीवनोपयोगी सन्देश दिन सफल रहेका छन् ।
स्वदेश र विदेशका रमाइला बालकथाहरूलाई सङ्कलन गरी प्रकाशित गरिएको कथाकोसेली–४ नामक उक्त शृङ्खलाको चौथो भागमा रुसी, नेपाली, जापानी, फ्रान्सेली र स्पेनियाली गरी छ वटा चर्चित बालकथाहरू अनूदित र प्रकाशित गरिएका छन् : सानो खरायो, चल्ला र खरायो, गुरी र गरा, जिराफको निम्ति गलबन्दी, जनी जरायोको विद्रोह र मूसा र बिरालो ।
यी बालकथाहरूले बालबालिकाको कल्पनाशक्ति, जिज्ञासा र सामाजिक भावनालाई सम्यक् रूपले प्रस्तुत गर्दै उनीहरूलाई सही मार्गमा प्रवृत्त गराउन सहयोग पुर्याएका छन् ।
उक्त शृङ्खलाअन्तर्गतको कथाकोसेली – ५ नामक सङ्ग्रह लोकबालकथाहरूको सँगालो हो । यसमा स्विडेनको टोपी, बुल्गेरियाको जाती, दुलहीको खोजी, अरबको पुड्के र माछाको काँढा अनि नेपालीको मूर्ख विद्वान्, सिकर्मीको चलाख छोरी र शूरो ग्वयस्वाँ गरी छ वटा लोकबालकथाहरू समेटिएका छन् ।
बालबालिकाहरूको मनोभावनाअनुकूल सङ्कलित यस सङ्ग्रहका प्रत्येक कथाले बालकहरूलाई यथार्थवादी भएर जीवनमा अगाडि बढ्न र उनीहरूलाई मनोरञ्जन प्रदान गर्न महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । यी कथाहरूबाट नेपाली बालबालिकाले विश्वसाहित्यका बालकथाहरूको रसास्वादन गर्ने सुवर्ण मौका पाएको स्पष्ट हुन्छ ।
कथाकोसेली–६ नामक बालकथासङ्ग्रह नेपालीमा शान्तदासद्वारा अनूदित छ वटा चर्चित कथाहरूको सङ्कलन हो । यिनका मूल लेखक विश्वसाहित्यमा राम्रा कथा, नाटक, उपन्यास लेख्न खप्पिस हान्स एन्डर्सन हुनुहुन्छ । सन् १८३५ मा उहाँका बालकथाहरूको सङ्ग्रह निस्केपछि उहाँको ख्याति सर्वत्र पैmलिएको हो । उहाँ विषय र शैली दुवैमा नयाँ प्रयोग गर्ने लोकभाषा र शैलीका अग्रणी प्रतिभा हुनुहन्छ । एन्डर्सनका यहाँ सङ्कलित कथाका शीर्षक हुन् : सुखी परिवार, पानीको थोपा, उफ्रने प्रतियोगिता, पा“च गेडा केराउको कथा, माटाको खुत्रुके र प्याउली पूmल ।
यी कथाहरूले एकातिर प्रकृतिको सुन्दरता बखान गर्दै त्यसबाट मानव लाभान्वित हुनुपर्ने सन्देश दिएका छन् भने अर्कातिर सामाजिक विषमता र विसङ्गतिप्रति तीखो व्यङ्ग्य प्रहार गरेका छन् ।
बालसाहित्यकार शान्तदासले कथाकोसेली शृङ्खलामा विश्वप्रसिद्ध बालकथाहरू अनुवाद गर्नुभएको छ । त्यसरी नै विश्वविख्यात बाल–उपन्यासको पनि अनुवाद प्रस्तुत गर्नुभएको छ जसको शीर्षक हो– गुलिभरको लिलिपुट यात्रा (२०५२) । यस उपन्यासका मूल लेखक विश्व प्रसिद्ध व्यङ्ग्यकार जोनाथन स्विफ्ट हुनुहुन्छ । यसमा बेलायतको ब्रिस्तौलबाट सन् १६९९ मे चारका दिन यात्राका लागि निस्केका गुलिभरको विभिन्न समुद्री आँधीमा परेर लिलिपुट र ब्लेफुस्कु राज्यमा पुगी त्यहाँ र त्यस यात्राप्रकरणमा भोगेका अनौठा अनुभव र घटनाहरूलाई प्रस्तुत गरिएको छ । अत: यो कृति रोमाञ्चक मनोविनोदकारी र व्यङग्यमिश्रित भएकाले बालबालिकाहरूका लागि अतीव रुचिकर र आनन्ददायक बनेको छ ।
बालसाहित्यिक आख्यानहरूको अनुवादकार्यमा ज्यादै प्रसिद्धि अधिगत गर्नुभएका शान्तदासको अनूदित बालप्रिय उपन्यास हिउ“की रानी (२०५८) हो । हान्स एन्डर्सनद्वारा सन् १८४४ मा लेखिएको यस बालउपन्यासलाई सात खण्डमा विभाजित गरी परीकथाका रूपमा नेपालीमा अनुवाद गर्नुभएको छ । यसमा आफ्नो रहर पूरा गर्न, संसारलाई बिटुल्याउन खोज्ने राक्षसीपनको विरोध गर्दै सानी बालिकाले ठूलो दु:ख–कष्टबाट काइ नाम गरेको केटालाई फर्काएर आफ्नी हजुरआमाकहाँँ ल्याउँछे र खुसीपूर्वक आनन्दले जीवन बिताउँछन् । सात खण्डमा विभाजित कथाका रूपमा रहेको यसको पहिलो खण्डमा एउटा अनौठो ऐना फुटेर धूलोका रूपमा संसारभरि उड्छ र नराम्रा कुराहरू सिर्जना गर्छ । फुटेको टुक्राबाट पृथ्वीका जति पनि राम्रा कुराहरू छन् तिनीहरू नराम्रा कुरामा परिणत भएजस्तै देखिन्छन् । त्यसबाट काइ नामको केटो पनि नराम्रो हुँदै जान्छ र अरूले भनेको नमानी दुष्टात्माले बनाएको ऐनाको प्रभावमा परी दुष्ट हुँदै जान्छ । सहरबाट टाढा गएर जादुगर्नी आइमाईको बगैँचा र नदीका किनारहरूमा दु:ख पाउँदै गएकी गर्रा नामकी केटीले काइ नामको केटोलाई आफ्नै संसारमा फर्काएर ल्याउन सफल हुन्छे । यस क्रममा जादुगर्नीले, कागले, सबैले उसको सहयोग गरेका हुन्छन् । एकपटक पढ्न सुरु गरेपछि सिध्याएर मात्र छोड्न मन लाग्ने यो बालोपयोगी परीकथामा हिउँकी रानी नै परीका रूपमा रहेर असम्भव कामहरूलाई पनि सम्भव गराएकी हुनाले गर्रालाई नै यहाँ हिउँकी रानीका रूपमा लिइएको हो ।
नेपाली बालबालिकाहरूलाई निबन्धात्मक पारामा वैज्ञानिक अवधारणाको जानकारी दिने शान्तदासले पानीको कथा (२०५८) नामक जानकारीमूलक कृतिको प्रकाशन २०५८ सालमा गर्नुभएको छ । ससाना बालबालिकाहरूले आफ्नो देश चिनून्, विश्वका केही महत्वपूर्ण कुराबाट उनीहरू परिचित होऊन् भन्ने उद्देश्यले लेखिएको यो कृति वैज्ञानिक यथार्थमा आधारित छ । बालबालिकाको उपयोगका लागि तयार गरिने जुनसुकै कुरा पनि यथार्थ र वैज्ञानिक हुनुपर्छ भन्ने अवधारणा राख्ने लेखक शान्तदासले यस कृतिमा पानीको विभिन्न किसिमले परिचय दिनुभएको छ । यस प्रसङ्गमा पानीको उत्पत्ति, विस्तार तथा क्षेत्रफल, महŒव र आवश्यकताहरू सरल र सुन्दर भाषाशैलीमा प्रस्तुत गरिएको छ । यस धरतीको हरियाली, जीवनको सृष्टि र अस्तित्व यसै पानीमा निर्भर रहेको कुरा बालबालिकालाई सजिलै बुझाउन यो लेखिएको तथ्य पनि यस कृतिको अध्ययनबाट स्पष्ट हुन्छ । हामीलाई रोगबाट बच्न पानी चाहिन्छ, विविध किसिमका सरसफाइका लागि पानी चाहिन्छ, देशमा विद्युतीकरणका लागि पानी चाहिन्छ र पर्यटनको विकासका लागि पनि पानी चहिन्छ । पानीसम्बन्धी यिनै रोचक प्रस्तुतिलाई यस कृतिमा अभिव्यक्त गरिएको छ । शुद्ध, सरल तथा सहजबोध्य भाषा र शैली भएको यो कृति बालबालिकाका लागि मात्र होइन, ठूला व्यक्तिहरूका लागि पनि सूचनामूलक, ज्ञानवद्र्धक र मननयोग्य रहेको छ । अत: यो निबन्धात्मक कृति नेपाली बालसंसारकै लागि महŒवपूर्ण खुराक बनेको छ ।
बालसाहित्यको गद्यविधालाई अनुवाद गर्न रुचाउने शान्तदासले अन्तर्राष्ट्रिय स्तरका बालकविताको पनि नेपालीमा अनुवाद गर्न थाल्नुभएको पाइन्छ । यस किसिमको अनुवादको क्रममा उहाँले रुसी साहित्यकार मायाकोब्स्कीको कवितालाई म के बन्नुपर्ला ?(बालकविता, २०६१) शीर्षक दिएर नेपालीमा अनुवाद गरी नौलो क्षितिजको उद्घाटन गर्नुभएको छ । यस कृतिमा उहाँले कवितात्मक लयमा सिकर्मी, डाक्टर, डकर्मी, मजदुर, ड्राइभर, पाइलटहरूका कामहरूको गरिमा र महिमा गाउँदै आखिरमा गएर ‘काम कुनै पनि हुन्न नराम्रो’ भन्ने सन्देश दिनुभएको छ । प्रस्तुत कृतिले समस्त काम र श्रमको उत्तिकै महŒव दर्शाउँदै अनुवादकको सरल भाषाशैली र रोचक प्रस्तुतिक्षमतालाई पनि खुलस्त पार्न उल्लेखनीय सफलता हासिल गरेको छ । यसै प्रसङ्गमा नेपाली बालसाहित्यकार शान्तदासको बालसाहित्यका विविध आयाममा विचार व्यक्त गरिएको हाम्रा बालबालिका र बालसाहित्य (२०५९) नामक कृतिको पनि चर्चा गर्न सकिन्छ । प्रस्तुत कृतिको अध्ययनबाट स्पष्ट हुन्छ, यो कृति बालसाहित्य होइन किन्तु बालसाहित्यका विविध पक्षमा प्रकाश पारिएको प्रौढ र गहन अभिव्यक्ति समाहित कृति हो । यसमा निबन्ध, अन्तर्वार्ता, कार्यपत्र र लेखहरूका माध्यमबाट बालबालिका र बालसाहित्यप्रति गम्भीर चिन्तन प्रस्तुत गरिएको छ । अत: यो बालसाहित्यमाथि यथार्थपरक र सारगर्भित विचार व्यक्त गरिएको महत्तम कृति हो ।
यस्तै अर्काे बालबालिकाका निम्ति उपयोगी तर बालसाहित्यभन्दा फरक कृति हो – सचित्र शब्दपुस्तक । यसमा नेपाली, नेवारी र अङ्ग्रेजी श
ब्दको सचित्र प्रवृष्टि दिइएको छ । यसले बालबालिकाहरूमा कुनै शब्दको चित्रात्मक स्पष्ट विम्ब प्रदान गर्न सहयोग गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
समष्टिमा भन्दा बालसाहित्यकार शान्तदासका उपर्युक्त बालसाहित्यिक कृतिहरू नेपाली बालसाहित्यका अमूल्य निधि हुन् । यिनले नेपाली बालबालिका र बालसाहित्यजगत्मा उल्लेखनीय योगदान गरेका छन् ।
कथाकार शान्तदास र कथाकोसेली–१ कथासङ्ग्रह :
नेपाली भाषा र साहित्यका साथै नेपाली बालसाहित्यको प्रणयन सम्पादन, अनुवादन, प्रकाशन तथा प्रसारण अनि समीक्षण र गवेषणका विविध आयामलाई सम्पन्न र समुज्ज्वल पार्न सतत सङ्कल्पशील बालसाहित्यसेवी शान्तदासको बालसाहित्यिक कृति कथा, सचित्र कथा, उपन्यास, निबन्धजस्ता विभिन्न विधामा विस्तीर्ण रहे तापनि उहाँको नाभिकीय विधा भने बालकथा रहेको विदित हुन्छ । यही बालबालिकाको प्रियतम कथाविधामा नेपाली बालबालिकाहरूको पहुँच पुर्याउन एकातिर रेडियोका माध्यमबाट कथावाचन र प्रसारण गरी कथाश्रवणमा सहयोग पुर्याउनुभएको छ भने अर्कातिर मौलिक र अनूदित फाँटमा रोचक तथा जीवन्त कथाहरूको प्रकाशन गरी नेपाली बालसाहित्यलाई असाध्यै मलिलो माटो उपलब्ध गराउनुभएको छ । उहाँको यस किसिमको दशकौंदेखिको नेपाली बालसाहित्यको सेवाको पृष्ठभूमिमा बालसाहित्यिक अवधारणा, सृजना र साधनाको सम्यक् अनुशीलन गर्न उहाँका समस्त बालकृतिको प्रतिनिधि र प्रथम मौलिक पुस्तकाकार कृति बालकोसेली–१ नामक बालकथासङ्ग्रहको सम्यक् समीक्षा गर्नु नितान्त समीचीन प्रतीत हुन्छ ।
नेपाली बालबालिकाहरूको सर्वाङ्गीण विकासमा सहयोगार्थ बालकल्याणकारी साहित्यसृजन नै सर्वाेपरि ठान्ने शान्तदासको बालकोसेली–१ उहाँको बालप्रिय कथाहरूको सङ्कलन हो । बालकोसेली प्रकाशनबाट २०४९ सालमा प्रकाशित यो सङ्ग्रह सोही सालको उत्कृष्ट रचना ठहरिई नेबासास पुरस्कार जित्न सफल भएको छ । सामाजिक र मनोवैज्ञानिक क्षेत्रका कथावस्तु भएका पाँच कथाहरूको सङ्कलन रहेको यस सङ्ग्रहमा बालप्रतिनिधि पात्रको चयन पनि राम्ररी गरिएकाले यो बालपृष्ठभूमि अनुकूल रहेको छ । यसमा नेपाली बालसमाजको धरातलमा रचिएका पाँच कथाका शीर्षक हुन् – ललिता स्कुल गइन्, आमा भालु र उसका बच्चाहरू, उत्तरा र उसकी पुतली, रमेश र उसकी आमा र सगुनको पिस्तोल र रकेट । यस सङ्ग्रहको पहिलो कथा ललिता स्कुल गइन् हो । यस कथामा ललिता नामकी छ वर्षकी केटीको उत्साह र विषादको घटनालाई प्रस्तुत गरिएको छ । कथाअनुसार स्कुलको नौलो वातावरण र त्यहाँ हुने एकदम नौलोपनप्रति बढी सचेत हुनुपर्ने सोचमा निमग्न भई हतारिएर स्कुल जाँदा ललिताले दिदीको झोला लैजान्छिन् र त्यहाँ पुगेर उनले यस्तो गल्ती कहिल्यै नगर्ने अठोट गर्छिन् । यसवाट बालमनोविज्ञान र बालचरित्रको गहन पक्ष उद्घाटित भएको पाइन्छ ।
दोस्रो कथाको शीर्षक हो– आमा भालु र उसका बच्चाहरू । मानवेतर प्राणीलाई पात्र बनाई मानवीय बालचरित्रको उद्घाटन गर्ने यस कथामा दुइटा भालुका बच्चाहरू स्कुलमा राम्ररी पढ्ने भए पनि खाँदा–पिउँदा निकै झगडा गर्ने खालका हुन्छन् । उनीहरूले दूध खाँदावर्दा रिसारिस गरी दूध घोप्टाएको र आमालाई समेत नटेर्र्दा दु:ख पाएको घटना यसमा वर्णित छ । यसबाट परेर वास्तविक रूपमा सिकिन्छ भन्ने शिक्षा दिन खोजिएको छ ।
यस सङ्ग्रहको तेस्रो कथा उत्तरा र उसकी पुतली हो । आमाले उत्तरा भन्ने छोरीलाई माया गरेर पुतली ल्याइदिँदा छोरी आपैmँ पुतलीजस्तै बन्नपुगेर खान–बोल्न नै छाडी परावलम्बी हुन थाल्छे । यसबाट जसको माया र तारिफ गरिन्छ, बालकहरू त्यस्तै बन्न चाहन्छन् अत: सोचेर–बुझेर व्यवहार गर्नुपर्छ भन्ने सन्देश व्यक्त गरिएको छ ।
रमेश र उसकी आमा यस सङ्ग्रहको चौथो कथा हो । यसमा खेल्न हुरुक्क हुने रमेश केटोलाई उसकी आमाले अरूका अगाडि गाली गर्दा ऊ घरबाट हराउँछ । आमाले रोएर गल्ती स्वीकारेको सुनेपछि ऊ लुकेको शौचालयबाट बाहिर निस्कन्छ । यसले केटाकेटीलाई उसका साथीहरूमाझ इज्जत नराखिदिँदा हुन सक्ने दुष्परिणामलाई आँैल्याएको देखिन्छ ।
यस्तै यस सङ्ग्रहको अन्तिम कथा सगुनको पिस्तोल र रकेट हो । यसमा मनोरञ्जनका लागि खेलौना–रकेटमा आगो लगाउँदा त्यसले छिमेकी काकाको घर नै ध्वस्त पार्न अाँटेकाले त्यसबाट नराम्रोसँग अत्तालिएको निरीह बालकको कथा प्रस्तुत गरिएको छ । कौतूहल, उत्साह, उत्तेजना र आकस्मिकताको सुन्दर मिश्रण भएको यस कथाले सम्प्रेषणीयता र रोमाञ्चकताका साथै खेलौनाको दुरूपयोग हुँदा हुने डरलाग्दो परिणामलाई आँैल्याउन सफलता हासिल गरेको छ ।
यस प्रकार यी बालकथाहरूलाई दृष्टिगत गर्दा यिनमा कथाकार शान्तदास मानन्धरले नेपाली बालसमुदायको सामाजिक, मनोवैज्ञानिक र बौद्धिक धरातललाई स्पर्श गर्दै नेपाली बालबालिकाहरूलाई तद्नुकूल अग्रगामी सन्देश प्रदान गर्नुभएको पाइन्छ । यस क्रममा उक्त कथाहरूको मनन गर्दा यिनमा उहाँले बालकहरू जिज्ञासाबाट प्रेरित हुन्छन्, उनीहरूलाई स्नेह र मायाले सुधार्न सकिन्छ, उनीहरू पढेरभन्दा परेर वा भोगेर राम्ररी सिक्छन्, उनीहरूमा आत्मसम्मानको भावना हुने हुनाले अरूका सामु तथा आफ्नो बेइज्जती सहन सत्तैmनन् अनि उनीहरू सरल र निर्मल मनका हुन्छन् भन्ने जस्ता विविध सन्देशहरू निहित भेटिन्छन् । अत: सन्देशका दृष्टिले पनि यी कथाहरू समसामयिक बालस्वभावानुकूल र बालग्राह्य रहेका छन् ।
यस सन्दर्भमा चित्राङ्कनका दृष्टिले प्रस्तुत बालकथासङ्ग्रहलाई पर्यवेक्षण गर्दा यसमा सङ्कलित सबै कथाहरू सम्बन्धित विषयमा आधारित विविध चित्रबाट सुसज्जित देखिन्छन् । कथाकार स्वयम् चित्रकारितामा कुशल रहनुभए पनि बालचित्ताकर्षक चित्राङ्कनमा दक्षता के.के. कमाचार्यको भएकाले त्यसको उपयोग यसमा भएको पाइन्छ । यस सङ्ग्रहको अन्तिम कथाको अन्तिम चित्रको प्रतिकृति रङ्गीन रूपमा आवरण पृष्ठमा भए पनि शेष चित्रहरू श्यामश्वेत नै छन् तैपनि सन्तुलन र सार्थकताका आधारमा विचार गर्ने हो भने यसका प्रत्येक कथामा आवश्यकतानुसार एकभन्दा बढी नै चित्र सजिएको पाइएकाले विषयवस्तुलाई आकर्षक, रोचक र रमणीय बनाउन चित्रहरू निकै सफल भएका छन् । यसरी कथाको प्रसङ्गानुसार मिल्दा चित्रहरू समावेश भएकाले यस सङ्ग्रहको रोचकता र आकर्षणमा अझै उच्चता थपिएको पाइन्छ ।
भाषाशैलीका दृष्टिले यस कथासङ्ग्रहलाई समीक्षण गर्दा यस सङ्ग्रहमा सङ्कलित कथा दस वर्षको उमेरसमूहलाई लक्षित प्रतीत हुन्छन् । त्यस धरातललाई हेर्दा यसमा समाहित कथाहरू तद्नुकूल भाषा र शैलीबाट समन्वित पार्न कथाकार समर्थ देखिनुहुन्छ । यसका कथाहरू छोटा वाक्य, सजिला शब्द र निपात एवं वाक्यपद्धतिमा आबद्ध छन् त्यसैले ती सरल, सरस र सुबोध भाषाशैलीबाट स्वभावत: सिँगारिएका प्रतीत हुन्छन् । यिनै कुरालाई पुष्टि गर्न यसको भाषाशैलीको सानो नमुना हेरौँ :–
झोला त रीता दिदीकोे परेछ ! उनलाई कस्तोकस्तो सारै असजिलो लाग्यो । उनको मुख रातो भयो । (ललिता स्कुल गइन्, पृ. २)
हो माइजू, बेइज्जती नै हो । साना नानीहरू अलिकति पनि बेइज्जती खप्न सत्तैmनन् । तिनीहरूको कलिलो मनमा त्यतिले नै पनि ठूलो चोट पार्न सक्छ । (रमेश र उसकी आमा, पृ. १६)
यसबाट स्पष्ट हुन्छ भाषा शैलीका दृष्टिले यो सङ्ग्रह लक्षित समूहमा सुहाउँदो मात्र होइन, स्वादिलो, रसिलो र बान्किलो पनि छ ।
यसरी नेपाली बालसाहित्यका विविध विधा र विशेषत: कथाविधामा बहुमूल्य योगदान गर्नुहुने शान्तदास मानन्धरको प्रथम मौलिक कथासङ्ग्रह र कथाकोसेली शृङ्खलाको आधा सङ्कलन कथाकोसेली – १ मा सङ्ग्रहित बालकथाहरूलाई परिक्रमा गर्दा यी कथाहरू नेपाली बालसमुदायका सामाजिक, मानसिक र बौद्धिक पृष्ठभूमिमा आधारित रोचक, ज्ञानबद्र्धक र मनोरञ्जनकारी रहेकाले यी यथेष्ट बालकल्याणकारी प्रतीत हुन्छन् । यिनमा नेपाली बालबालिकाहरूको आनीबानी र चालचलनलाई विषयवस्तु बनाएर लेखिएका र पात्रपात्राहरू पनि बालबालिकाहरू नै हुनाले कथाहरू स्वभावत: बालरुचिअनुकूल छन् । दस वर्षको उमेरसमूहका लागि विशेषत: लक्षित देखिने यी कथाहरूले स्नेह र मायाले नै केटाकेटीहरूलाई राम्ररी सुधार्न सकिन्छ, पढेरभन्दा परेर वा अनुभव गरेर सिकेका कुराहरू चिरस्थायी हुन्छन् भन्नेजस्ता व्यावहारिक सन्देशहरू बढी मुखरित भएका छन् । यसरी बालबालिकाको बानी–व्यवहार, मनोवैज्ञानिक प्रवृत्ति र सामाजिक एवं साँस्कृतिक पृष्ठभूमिलाई विषयवस्तु बनाएर बालसमुदायका पात्रहरूलाई प्रश्रय दिई उनीहरूको चरित्रनिर्माण र व्यक्तित्वविकासमा जोड दिने कथाहरू समाहित गरिएकाले यो सङ्कलन नेपाली बालसाहित्यको अनन्यतम उत्कृष्ट बालकथासङ्ग्रह हो ।
नेपाली सामाजिक, भाषिक, शैक्षिक, साहित्यिक क्षेत्रमा सतत सेवापरायण शान्तदास मानन्धर आफ्ना निष्ठापूर्ण कार्यले उक्त क्षेत्रहरूमा सहजतया परिचित र प्रसिद्ध बन्नुभएको छ भने नेपाली बालसाहित्यका क्षेत्रमा आफ्ना मौलिक तथा अनूदित पुस्तकाकार कृति र तिनमा प्रतिबिम्बित उहाँको सृजनात्मक सामथ्र्य, संलग्नता र समर्पणले गर्दा अझ सशक्त रूपमा सुविदित र सुविख्यात हुनुभएको छ । अत: नेपाली बालसाहित्यको आख्यान, चित्रकथा, निबन्ध, प्रबन्ध आदि विविध विधाका क्षेत्रमा उहाँका गतिविधि र योगदानको बहुसाधना क्षेत्र बालकथाको प्रथम पुस्तकाकार मौलिक कृति बालकोसेली–१ को पर्यवेक्षण गरी त्यसमा अधिगत विशिष्ट उपलब्धिहरूको सम्यक् समीक्षण गर्ने प्रयास गर्नु वाञ्छनीय छ । त्यस सन्दर्भमा उक्त बालकथासङ्ग्रहका पाँचवटा कथाहरूको समीक्षा गर्दा के स्पष्ट हुन्छ भने यी बालकथाहरूमा नेपाली बालसाहित्यकार शान्तदास मानन्धरले सामाजिक कथावस्तु, मनोवैज्ञानिक पृष्ठमूमि, रोचक घटना, मधुर शैली र आकर्षक चित्राङ्कनहरूको सन्निधानसहित बालमनोविज्ञानका परिप्रेक्ष्यमा नेपाली बालजीवनको यथार्थ चित्रण प्रस्तुत गर्नुभएको छ र यिनमा नेपाली बालबालिकासँग अभिभावक र समाजले गर्नुपर्ने व्यवहार, उनीहरूमा विकास गर्नुपर्ने संस्कार र भावना आदिका सम्बन्धमा पनि महŒवपूर्ण सन्देश र दिशानिर्देश प्रदान गर्नुभएको छ । यसबाट स्पष्ट हुन्छ, बालसाहित्यसेवी शान्तदास नेपाली बालसाहित्यका समर्पित स्रष्टा ठहरिनुहुन्छ र उहाँको कृति बालकोसेली–१ नेपाली बालसाहित्यको नमुना सृजना ठहरिन्छ ।
तस्बिरहरु : शान्तदास मानन्धरको फेसबुकवाट