राष्ट्रले भर्खरै दुईवटा सुपुत्रीहरु गुमायो, सुश्री पारिजात र श्रीमती पासाङ शेर्पा । पारिजातबारे हामी लामो समयदेखि जान्दछौँ । तर पासाङ शेर्पाबारे भर्खरै उनको सगरमाथामा सफल आरोहण तथा त्योभन्दा बढी असफल प्रत्यारोहणपछि नै देशव्यापी रुपमा उनका बारेमा बढी जानकारी प्राप्त भएको छ । दुवैका जीवनका क्षेत्रहरु बेग्लाबेग्लै रहेका छन् । जीवनका उद्देश्य पनि बेग्लाबेग्लै रहेका छन् । पारिजात एउटी लेखिका, शहरमा जन्मेकी, शहरमा हुर्केकी र त्योभन्दा बढी आफ्नो शारीरिक अवस्थाले गर्दा जीवनको ठूलो भाग विस्तरामा र कोठामा बिताउन बाध्य भएकी अविवाहित महिला, जब कि पासाङ पहाडमा जन्मेकी, हुर्केकी र जीवनभरि नै पहाडको गाउँ र हिमालयका काखमा खेल्दै आएकी शारीरिक शक्ति र स्वास्थ्यले ओतप्रोत विवाहित र तीन बच्चाकी आमा । तर यी भिन्नताका बाबजुद दुवैले हिमालयको उच्चतालाई छुने प्रयत्न गरे – आ–आफ्ना क्षेत्रमा ।
नेपाली साहित्य संसारमा पारिजातको महत्वपूर्ण स्थान छ । शिरीषको फूलले उनलाई प्रकाशमा ल्यायो । शिरीषको फूल पछिल्लो पारिजातको चिन्तन र विकासको स्वरुपले हाम्रो लागि अत्यन्त ठूलो महत्व राख्दछ । पारिजातले त्यो कृतिलाई स्वयं आफूलाई अलग गरिन् र नयाँको रचना गर्न थालिन् । नयाँ रचना उनको माक्र्सवादी–लेनिनवादी चिन्तनद्वारा प्रभावित थियो । कलाका दृष्टिले उनका रचनाहरु कति सफल भए ? त्यो कुरा साहित्यका पारखी र आलोचकले नै बताउन सक्ने कुरा हो मैले यहाँ उनको चिन्तनको पक्ष र त्यसका पक्षमा उनले देखाएको दृढता, निरन्तरता र सङ्घर्षशीलता र त्यसका दौरानमा देखापरेको उनको व्यक्तित्वको उच्चारणबारे नै केही प्रकाश पार्न चाहन्छु ।
पारिजातद्वारा माक्र्सवादी–लेनिनवादी चिन्तनको ग्रहणले उनको जीवनप्रतिको विश्वास र दृष्टिकोणमा एउटा मोड आयो । त्यसको असर उहाँका साहित्यिक रचनामा पनि पर्योत । तर उनको माक्र्सवादी लेनिनवादी चिन्तनमा जति स्पष्टता आउनु पर्दथ्यो, त्यो आउन सकेन । त्यसकारण माक्र्सवादी लेनिनवादी सिद्धान्तप्रतिको उनको आस्था र विश्वासका बाबजुद विश्वब्यापी र स्वयं नेपालमा पनि कम्युनिष्ट आन्दोलनमा र साहित्य तथा संस्कृतिमा हावी भएको अवसरवादी चिन्तनबाट आफूलाई पूर्ण रुपले मुक्त गरेर आफ्नो चिन्तनलाई पूरा क्रान्तिकारी दिशा र रुप दिन उनका लागि सम्भव भएन । उनका रचनाहरुमा पनि त्यो कमजोरी व्यक्त भयो । तर यहाँ म अहिले त्यो पक्षको चर्चापट्टि लाग्दिन ।
पारिजातको वैचारिक ती सीमा र कमजोरीका बाबजुद उनको जीवनको एउटा उज्ज्वल पक्ष पनि छ । पञ्चायती तानाशाही कालमा आफूलाई वामपन्थी बताउने थुप्रै साहित्यकारहरुले क्षुद्र भौतिक लाभ वा प्रशासनको आतङ्क वा डरले आत्मसमर्पण र पलायनको बाटो समाते । आफ्नो सिद्धान्त छाडे । विचार बदले । पैसा र पदमा बिके । तर पारिजात आफ्ना विचार र आस्थाहरुमा अडिग रहिन् । उनले सरकारका सबै प्रलोभनलाई अस्वीकार गर्दै आफ्नो अस्तित्वलाई बचाउने प्रयत्न गरिन् र त्यसमा काफी हदसम्म सफल पनि भइन् । जुन बेला वामपन्थी साहित्यकारहरुमा पतनको दिशामा होड चलिरहेको थियो, त्यो कालमा उनले वैचारिक र साहित्यिक दृष्टिले आफूलाई उच्च धरातलमा स्थापित गर्न प्रयत्न गरिरहेकी थिइन् । बताइरहनु पर्ने आवश्यकता छैन कि माक्र्सवादी–लेनिनवादी सिद्धान्तप्रतिको उनको आस्था र आफ्नो आस्थाका लागि त्याग र सङ्घर्षको भावनाले नै उनलाई त्यस प्रकारको शक्ति प्रदान गरेको थियो ।
पारिजातभन्दा बेग्लै पासाङ शेर्पाको अर्को प्रकारको चित्र हाम्रो अगाडि आउँछ । पारिजातको जीवनबारे थाहा भएको कुरा हो त्यसकारण उनका बारेमा बढी चर्चाको आवश्यकता छैन । पासाङ पारिजात जस्तै कुनै बुद्धिजीवी महिला थिइनन् । तैपनि आफ्नो उद्देश्य प्राप्तिको उनको दृढ सङ्कल्पले उनलाई नेपाली महिलाहरु मात्र होइन, नेपाली मात्रका लागि गौरवकी प्रतीक बन्न पुगिन् । ३ छोरा छोरीकी आमा, ३२ वर्ष पुगेकी महिलाले सामान्य घर गृहस्थीको सीमा नाघेर सगरमाथाको शिखरमा पुग्ने जस्तो खतरनाक उद्देश्य लिनु र बारम्बारको असफलताका बाबजुद खतराहरुसित जुद्धै लगातार आफ्नो उद्देश्य पूरा गर्न प्रयत्न गरिरहनु कम महत्वपूर्ण कुरा होइन । तर यसले उनको अत्यन्त उच्चस्तरको नैतिक चरित्र र आत्मबललाई बताउँछ । त्यस प्रकारको आदर्श चरित्रबाट हामी सबैले मुख्यत: महिलाहरुले प्रेरणा लिनुपर्ने आवश्यकता छ । पासाङको जीवन र उनको बलिदानबाट सबै नारीहरुले यो शिक्षा लिनुपर्ने आवश्यकता छ कि उनीहरुले आफूलाई चुल्हो चौको र घरगृहस्थीको सीमाभित्र नथुनेर सामाजिक आदर्श र उद्देश्यका लागि खतराहरुसित जुध्ने र त्यसरी सगरमाथाको उच्चतालाई छुने प्रयत्न गर्नुपर्दछ ।
पारिजात र पासाङको सन्दर्भमा नेपालको आजको राजनीतिक व्यवस्था र नोकरशाहीको एउटा नाङ्गो चित्र पनि हाम्रो अगाडि आएको छ । पारिजात लामो समयदेखि अस्वस्थ र रुग्ण थिइन् । तर सरकारले उनको उपचारको लागि उचित व्यवस्था मिलाउने वा त्यसको लागि विदेश पठाउने कुरामा ध्यान दिएन । तर आखिर त्यसो किन गरिएन ? किनभने पहिले उनले सीमित भौतिक लाभका लागि पञ्चायती तानाशाही व्यवस्थाको अन्तर्गत पनि आफ्नो स्वतन्त्र चिन्तन र अहिले बहुदलीय व्यवस्था अन्तर्गत पनि आफ्नो स्वतन्त्र चिन्तन सङ्घर्षलाई कायम राखिन् । अझ वास्तविकता त त्यो हो कि उनले माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि विश्वास राख्दथिन् । त्यसैले उनी त्यस प्रकारको उपेक्षाको शिकार हुनुपर्यो । उनी जनमभरि विस्तरामा पल्टेर मृत्युसित जुध्न तयार भइन् तर सिद्धान्त र विचारलाई बदलेर आत्मसमर्पण गर्न तयार भइनन् ।
पासाङको सन्दर्भमा सरकारको नीति झन् नाङ्गो रुपमा अगाडि आएको छ । सरकारले पासाङको सगरमाथा आरोहणप्रति अत्यन्त उपेक्षा देखाएको कुरा अब प्रकाशमा आएको छ । त्यस सन्दर्भमा सबैभन्दा मुख्य रुपले हिमाल चढ्नका लागि लिनुपर्ने रु. ५ लाख रोयल्टी मिनाहा गर्न सरकारले अस्वीकार गरेको कुरा उल्लेखनीय छ । त्यो रोयल्टीमा १० प्रतिशत मात्र छुट दिइयो, जबकी एउटा नेपाल–भारत संयुक्त आरोहण दललाई सरकारले सम्पूर्ण रोयल्टी मिनाहा दिएको थियो । आरोहणका लागि अनुमति दिने र अन्य औपचारिकता पूरा गर्ने सन्दर्भमा पनि नोकरशाहीद्वारा उनीप्रति अत्यन्त अपमानपूर्ण व्यवहार गरियो । एउटा राष्ट्रिय आरोहण दललाई त्यसमा पनि महिलाहरुले देखाएको त्यस प्रकारको प्रयत्नलाई विशेष प्रोत्साहित गर्नुको सट्टा त्यसप्रति सरकारको भेदभावपूर्ण उपेक्षा नीतिको जति भत्र्सना गरे पनि कम हुनेछ ।
त्यो आरोहणका लागि स्वीकृति र छुटहरु प्राप्त गर्ने क्रममा प्रशासन र सरकारका गलत तौर तरिकाले पासाङले गरेको उनको चरित्रको अर्को उज्ज्वल पक्षलाई अगाडि ल्याउँछ । यस सिलसिलामा ३ वटा कुराहरु उल्लेखनीय छन् : प्रथम, सरकारले आरोहणको रोयल्टी मिनाहा दिन अस्वीकार गरेपछि १० प्रतिशत छुट लिन अस्वीकार गरिन् र पूरै ५ लाख रोयल्टी दिइनन् । द्वितीय, संयुक्त नेपाल–भारत आरोहण दलमा उनलाई सह नेतृत्व दिने कुरा अस्वीकार गरेपछि उनले आफ्नो नेतृत्वमा बेग्लै आरोहण गरेकी थिइन् । उनले अपमानपूर्वक संयुक्त भारत नेपाल आरोहण टोलीमा सामेल हुन अस्वीकार गरेकाले सरकारले उनीप्रति उपेक्षा र उपेक्षापूर्ण व्यवहार गरिएको थियो । तर उनले त्यस प्रकारको दबाबका अगाडि झुक्न अस्वीकार गरेकी थिइन् ।
तृतीय, मङ्गलादेवीले सगरमाथा शिखरमा नेपाल महिला सङ्घको झण्डालाई गाड्ने प्रस्तावनालाई उनले दृढतापूर्वक अस्वीकार गरेकी थिइन् । सरकारी दवाव र अपमानपूर्ण व्यवहारमा विरुद्ध उनले देखाएको दृढता र प्रतिरोधले उनको उच्च मानवअधिकार र अस्तित्वलाई बताउँछ र त्यसले हाम्रो उनीप्रतिको आदर कैयौं गुणा बढेर जान्छ । उनको व्यक्तित्वको यो उज्ज्वल र उच्च पक्षले उनलाई पारिजातका समकक्ष खडा गर्दछ, जो जन्मभरि आफ्नो आस्था र विचारहरुमा दृढ रहिन्, तर कुनै प्रतिक्रियावादी वा सरकारी दबाबका अगाडि झुकिनन् ।
(जनमत साहित्यिक मासिक, २०४९–२०५० चैत्र–असारमा प्रकाशित)