म अफिस जाँदा वा घर फर्किनु अघि पारिजात दिदीकहाँ पसेर स्वास्थ्य, औषधि, काम बारेमा सोध्ने गर्थें । जो मेरो दैनिक नियम थियो ।
पारिजात दिदी सधैं ‘राजु’ भनेर मलाई बोलाउनु हुन्थ्यो । राजु उहाँले राख्नुभएको प्रिय नाम । यो नाम रहनुमा पनि एउटा छुट्टै कथा छ । राल्फा समूह निर्माण भएको एक दुई वर्षसम्म मात्र रायन भनेर सम्बोधन गर्नुहुन्थ्यो । त्यसपछि हामीबीच कुरा हुँदा सधैं मलाई ‘राजु’ शब्द नै प्रयोग गर्नुहुन्थ्यो तर अरू मानिसहरूको अगाडि वा अरूसँग कुरा गर्दा रायन नै भन्ने गर्नुहुन्थ्यो ।
हामीहरू दुईजना भेट हुनासाथ दिनभरि भएका कामबारे कुरा गथ्र्यौं । कुनै महत्वपूर्ण विषय भए त्यसबारे हरेक पक्षबाट केलाएर आफ्नो कुरा राख्थ्यौं र अन्तमा निष्कर्ष निकाल्थ्यौं । कहिले ठट्टा गथ्र्यौं, कहिले एक अर्कालाई उडाउँथ्यौं र बीचमा सुकन दिदी आइपुग्नुहुन्थ्यो उनलाई पनि उडाउँथ्यौं । कुनै राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका समाचार, गीत, संगीत, साहित्य विषय लगायत घरायसी कुरा गर्ने हाम्रो दैनिकी नै थियो ।
पारिजात दिदीसँग चिनापर्ची पनि बडो घतलाग्दो किसिमसँग भएको थियो । त्यतिबेला हाम्रो भेट एक प्रकारले ऐतिहासिक नै भयो । हाम्रो भेट भएको अठ्ठाइस वर्ष भएछ । त्यसबेला उहाँ ख्यातिप्राप्त लेखिका बनिसक्नु भएको थियो । चर्चाको शिखरमा हुनुहुन्थ्यो । म पहाडमा बस्दादेखि नै उहाँलाई मन पराउँथे । त्यसैले उहाँका रचनाहरू खोजी–खोजी पढ्थेँ । काठमाडौंबाट झिकाएर पढ्थेँ । त्यही पढ्ने क्रममा पारिजातलाई पनि पढेँ र मन पनि पराएँ । त्यसबेला पारिजात केटी मान्छे हो भनेर मैले सोचेको पनि थिइनँ । किनभने त्यसताका महिला लेखिकाहरूको संख्या अत्यन्त कम थियो । थोरै लेख्नेहरूले स्पष्ट रूपमा महिला हो भनेर बुझिने नाममा नै लेख्दथे । त्यतिबेला उपनाम राखेर लेख्ने चलन धेरै चलेको थियो । त्यसैले ‘पारिजात’ उपनामबाट लेख्ने कुनै लोग्ने मानिस होला भन्ने मलाई लागेको थियो ।
वि.संं २०२० सालमा म र रामेश काठमाडौं शहर पस्यौं । गाउँले केटाहरूले शहरमा भोगिने विभिन्न किसिमका हण्डरहरू भोग्दै काठमाडौंमा जीउन सङ्घर्ष गर्दै थियौं । त्यतिबेला रेडियो नेपालले एउटा गीत गाएको दश रूपैया दिन्थ्यो । रेडियोमा गाउन ज्यादै मुश्किल थियो । त्यसमा हामीले ओखलढुंगाबाट सगरमाथा अञ्चलको प्रतिनिधित्व गरेर भाग लिएका थियौं । सम्मेलनमा हामीले अत्यन्त राम्रोसँग कला प्रस्तुत गर्यौं, जसले गर्दा निर्णायकहरूमा समस्या परेको थियो । डाइरेक्टर वा त्यस्तै कोही पावरवालाले ‘फलानालाई’ भनेपछि – निर्णायक त्यही अनुसार हुन्थ्यो । हामीले पुरस्कार त पाएनौं । तर फुच्छे केटाहरू राम्रा रहेछन् भनेर चाहिं हल्ला प्रशस्त भयो । यही कारणले हामीलाई रेडियोमा गाउन चाहिं सजिलो भएको थियो । हामीले रेडियोमा गाएको गीत सुनेर पारिजात दिदीले हामीलाई भेट्न खोजिराख्नु भएको रहेछ । कोठामा आउने जाने व्यक्तिहरूलाई नौलो भाकामा गाउने ती कलाकारहरूलाई नभेटी भएन, असाध्य भेट्ने मन छ, कसरी भेट्ने होला ? भनेर कुरा गरिरहनु हुँदोरहेछ । यस्तैमा हामीसँग चिनापर्ची भएको साथी ज्ञान उदासलाई पनि भन्नुभएछ । उसले यी केटाहरू मेरा साथी हुन् । दिदीलाई म भेटाइदिन्छु भनेछ । ए केटा हो बुझिस् । तिमीहरूलाई पारिजातले भेट्न खोजेको ल हिंड म परिचय गराइदिन्छु । त्यसबेला हाम्रो अवस्था बडो दयनीय थियो । राम्रो लगाउने एकजोर कपडा थिएन । त्यसैले पछि जाने कुरा गर्यौं । उसले कर गर्दै भन्यो – पारिजात जस्तो मान्छेले भेट्न खोज्दा पनि नजाने भनेर कर गर्यो । यस्तै अर्को एकजना मित्र सिंहबहादुर मोक्तान (जो पारिजात दिदीले दाइ भन्नुहुन्थ्यो) ले पनि पारिजातले हामीलाई भेट्न खोजेको कुरा बताउनुभयो । उहाँसँग नेशनल कलेज (हालको शंकरदेव क्याम्पस) मा भेट भएको थियो ।
पारिजात जस्तो ख्यातिप्राप्त लेखिकाले हामीलाई भेट्न खोजेको कुराले हामीलाई एकातिर रोमाञ्चित तुल्याएको थियो भने अर्कोतिर हाम्रो दयनीय अवस्थाले गर्दा हच्की पनि रहेका थियौं । एकदिन ज्ञान उलाससँग भेट्न गयौं । दिदी पुतलीसडकको सडकमै छेउको सानो घरमा बस्नुहुन्थ्यो । एकतल्ला माथि उहाँको कोठा थियो । घर मान्दै कोठा भित्र पस्यौं । ‘लौ, तपाईंले भेट्न खोज्नुभएको कलाकार यिनीहरूनै हुन्” भनेर हामीलाई परिचय गराइदियो । नमस्तेको आदानप्रदान भयो । दिदीले भन्नुभयो – तपाईंहरूलाई भेट्न धेरै दिनदेखि खोजिरहेको थिएँ । आज भेट भयो । तपाईंहरूको गीत मलाई नौलो भाकाको भएकोले होला असाध्य मन पर्यो । भेट भो खुशी लाग्यो । अब कहिलेकाहिं यसो भेटघाट भइरहोस् भनेर खुशी प्रकट गर्नुभयो । उहाँ हँसिली, फस्र्याइली, कपाल काटेकी उज्यालो अनुहारकी २८ वर्षीय सुन्दरी हुनुहुन्थ्यो । उहाँले व्यक्त गर्नुभएको इच्छा भावहरूले मलाई साह्रै गाह्रो परिरहेको थियो । उहाँले प्रशंसा गरिरहँदा निधारमा पसिना आइरहेको थियो । हात कता राखुँ, खुट्टा कता फ्याकुँ भइरहेको थियो । मेरो कल्पनाको पारिजात र साक्षात्कारमा आकाश जमीनको फरक थियो । उहाँको घर बाहिर निक्लेपछि रोमाञ्चित मनका खुशीहरू झन्काउँदै नसा–नसामा कुद्न थाल्यो । उत्साहले पखेटा हाल्यो । अब मिहेनत गर्ने मनले उर्जा पायो ।
त्यसपछि हाम्रो भेटघाटको क्रम विस्तारै हुँदै गयो । दिदीकहाँ समकालीन लेखकहरूको जमघट भइरहन्थ्यो । त्यसबेला उहाँ ओछ्यान परिसक्नु भएको थियो । हाम्रो फुर्सद भयो कि दिदीकहाँ जान्थ्यौं । दिदीले स्नेह, माया र आत्मीयताले नयाँ प्रतिभाहरूलाई केही गरेर देखाऊँ भन्ने उत्साह र उर्जा मिल्दथ्यो । दिदीको प्रोत्साहन दिने गुण विशिष्ट गुण हो भन्ने लाग्छ ।
त्यसताकाको राजनैतिक अवस्था निकै कडा थियो । मानिसहरू कांग्रेस र कम्युनिष्ट शब्द मुखमा ल्याउन पनि डराउँथे । पञ्चायतको दमन तीब्र थियो । नेपाली जनता कुहिराका काग जस्ता थिए । यस्तो अवस्थामा स्वाभिमानी लेखक, कवि, साहित्यकार, बुद्धिजीवीहरूको आफ्नो मनको भावलाई नढाँटी लेख्न कठिन थियो । त्यसैबेला स्वाभिमानी लेखकहरूले आफूलाई जोगाउन धेरै मुश्किल थियो । लेख्नलाई नयाँ बाटो खोज्नुपथ्र्यो या त लेख्न छोड्नुपथ्र्यो । स्वाभिमानी नभएका अवसरवादीहरूले सत्ता र व्यवस्थाको प्रशस्ती लेख्ने र भाट संस्कृतिको विकासमा लाग्थे । स्वाभिमानी लेखक, कवि, कलाकारहरूले विस्तारै विस्तारै प्रतीकात्मक रूपले लेख्न र गाउन सुरु गर्न थाले । अन्याय, अत्याचारको विरुद्धमा स्वरहरू विस्तारै चोटा–कोठाभित्रबाट सल्बलाउन थाले । पारिजात दिदीमा पनि विद्रोहको आवाज सल्बलाउन थालेको थियो । यस्तैमा एकदिन रेडियो नेपालमा गाइएको गीतको पारिश्रमिक वापत हाम्रो नामको बैंक चेक अरूबाट साटिएको कुरा मञ्जुलबाट थाहा पायौं । त्यसबेला मञ्जुल राष्ट्र बैंकमा काम गथ्र्यो । त्यो चेक साटिएको थाहा पाएपछि हामी हाम्रो नामको चेक रेडियोमा लिन गयौं । तर भोलि र भोलि भन्दै धेरै महिना बिताइदिए । मञ्जुलको सहायताबाट अरू चेक पनि साटिएको थाहा पायौं । खोज्दै जाँदा रेडियोभित्र चेक साट्ने एउटा ग्याङ नै फेला पर्यो । तिनीहरू अरूको रगत पसिनालाई पुतली सडकको भट्टी पसलहरूमा जाफत गर्दथे । हाम्रो युवा जोश र खान नपाएको झोकमा विशेष प्रहरीमा निवेदन हाल्यौं । विशेष प्रहरीले रेडियो नेपालमा छापा मार्यो । हामीमाथि अनेक किसिमका डर, धम्कीका साथै गुण्डा लगाएर चुट्ने, पिट्ने र मार्नेसम्म धम्की आउन थाल्यो । हामी साँझ विहान होटेलमा खाना खान जान पनि डराएर हिड्नुपथ्र्यो । खाना खान हुल बाँधेर जान थाल्यौं । त्यसताका गीति कार्यक्रमहरू सडक र हलहरूमा हुने चलन थिएन । भदौ महिनामा नेवारी चलन अनुसार हुने हिले जात्रामा मात्र डक डबलीमा कार्यक्रम हुन्थ्यो ।
रेडियोबाट हाम्रो गीत बज्न छाडेपछि हामी छटपटी सुरु हुन थाल्यो । हाम्रो छटपटीलाई दिदीको कोठामा लगेर पोखाउने गर्न थाल्यौं । त्यही गीत, संगीत सुनाउने र गाउने पनि गर्न थाल्यौं । त्यही कोठामा कविता, कथा, लेख सुनाउने, छलफल गर्ने, एउटा नियमित दैनिकी नै बन्न थाल्यो । यसरी हुँदाहुँदा एउटा समूहमै बाँधिने कुरा चल्न थाल्यो । हामी पनि किन समूहमा नाम नदिने ? भनेर नाम खोज्न थाल्यौं । जुन नाम नयाँ होस् र हाम्रो भावना अनुरूपका होस् । यसरी नाम खोज्ने क्रममा “राल्फा” समूहको नाम राख्यौं । त्यसपछि हामी राल्फा भनेर घोषणा गर्न थाल्यौं । यसरी आफ्नो नामको पछाडि राल्फा जोडेर लैजान सुरु गर्यौं । गीति कार्यक्रम लिएर सडकमा ओर्लन सुरु गर्यौं । स्कुल, क्याम्पस जताततै कार्यक्रम दिन थाल्यौं । रेडियोबाट गाउन नपाएको झोकलाई सडकमा पनि उठाउन सकिन्छ भनेर मेहनत गर्न थाल्यौं । राल्फा विचारक, लेखक, कवि, गायक, संगीतकार, चित्रकार आदि विधाका व्यक्तिहरूको एउटा गतिलो समूह बन्न पुगेकोले समूह छिट्टै नै चर्चित भयो । त्यसबेला भएका हलहरू, राष्ट्रिय नाचघर र पुलिस क्लबमा पनि कार्यक्रम दिन थाल्यौं । हाम्रो विद्रोहका स्वरहरू गीत, संगीत र लेखनको माध्यमबाट आउन थाल्यो । हस्तलिखित पत्रिका निलो जुन, सेता वन, आकाशका नि:श्वासहरू र बगरमाथिको जनावर मृत्युबाट राल्फाका मान्यताहरू बाहिर आए । राल्फाको तरङ्गले चारैतिर ढाक्दै गयो । यस किसिमको समूह नेपालमा पहिलो भएको र संगीत फाँटको नवीन प्रस्तुतिले गर्दा र पारिजात दिदीले गर्दा नै राल्फालाई चर्चित बनाएको थियो । पारिजात दिदीले शिरीषको फूलमा मदन पुरस्कार प्राप्त गर्नु भएकोले उहाँ त्यसै पनि चर्चाको शिखरमा हुनुहुन्थ्यो । त्यसैले उहाँजस्तो व्यक्ति नै राल्फा बनेर हिंड्नु भएपछि राल्फा चर्चाको शिखरमा नपुग्ने प्रश्नै थिएन ।
हामी नयाँ जोश, जाँगर र उमंगले भरिएका युवाहरू थियौं र दिदीको भरलाग्दो छाहारी पाएर हाम्रो उत्साह दशगुणा बृद्धि भएको थियो । दिदीले पनि भरलाग्दो दरिलो गोडा, हात, पखेटा भेटेर आफू ढुक्क हुनुभएको थियो । आफ्नो अशक्त शरीरको कारण खुम्चिदै, पिल्सिदै गएको मनलाई खुसीमा बदल्न पाएकोमा दङ्ग हुनुहुन्थ्यो । जनताको घर दैलोमा पुग्ने क्रममा पारिजात दिदी अशक्त भएर पनि गाउँ–गाउँ र विदेशको विभिन्न ठाउँ पुग्न अलिकति पनि अल्छीपन देखाउन हुन्थेन । सधैं उत्साहसाथ यात्राका निम्ति तयार हुनुहुन्थ्यो । त्यसबेला हाम्रा गीतहरू विद्रोहका, दु:ख, पीरका र प्रेमका हुन्थे । हामीले कार्यक्रम गर्दा उठेको रकमबाट बाटो खर्च मात्र लिएर बाँकी रकम रेडक्रस, स्कुल जस्ता सामाजिक संस्थाहरूलाई दिने गथ्यौं । यसरी घुम्ने क्रममा विभिन्न प्रश्नहरू ओइरिन्थे । हामी आफ्नै तालको जवाफ दिदै हिड्थ्यौं । तर पनि प्रश्नले हामीलाई सोच्न बाध्य बनायो हामी आखिर के हौं ? के चाहन्छौं ?
त्यसताका, चेग्वेग्वारा, होचिमिन्ह चर्चामा थिए । जे पढियो माओ पढियो, माक्र्स पढियो र यही पढ्ने क्रममा हामीले खोजेको बाटो माक्र्सवादभित्र फेला पार्दै गइरहेका थियौं । हामी जुन ढङ्ग र व्यवहारले हिडिरहेका थियौं त्यो त प्रगतिशील विचारको नजिक थियो । त्यो बेला राल्फा समूहको अन्त्यको समय थियो । यसरी राल्फाको वि.संं २०३० सालमा अन्त्य भयो ।
राल्फाको अन्त्यपछि लेख्नेहरू मध्येबाट दिदी र संगीत टोलीबाट म एक्लिएँ । मसँगै गाउने रामेश, अरिम र मञ्जुल रेडियो नेपालभित्र पसे । अरू लेख्नेहरू आ–आफै हिंड्न थाले । त्यो अवस्था हाम्रो निम्ति संकटपूर्ण थियो । मलाई लागेको थियो – पारिजात दिदी अब भत्किनु हुन्छ । आफूले लिएको आस्थाबाट टुक्रिनु हुन्छ । त्यसैले म उहाँलाई ढाडस दिन्थेँ, सम्झाउँथेँ । बाटोमा हिड्दै गर्दा घुम्तीमा भेट भएका साथीहरूसँग घुम्तीसँगै हिड्यौं, बस् उनीहरू हारे, थाके र आफ्नो बाटो लागे । के भो त ? यात्रा जारी राख्नुपर्छ । फेरि यो भन्दा राम्रो साथीहरू भेटिन्छन् । केही छैन । लक्ष्यसम्म पुग्न हिड्नै पर्छ भनेर दिदी हाँस्दै उल्टो मलाई सम्झाउनु हुन्थ्यो । ‘तिमी एक्लो पर्यौ, राजु तिम्रो निम्ति समूह आवश्यक छ । गाउन बाजागाजा सबै चाहिन्छ । त्यसको निम्ति साथदिने कोही भएन तर धन्दा नमान । हिड्दै जाउ जरुर साथदिने भेटिन्छन् । मलाई त त्यस्तो केही छैन । कलम चलाउने हुँ कलम चलाउँछु । तिमीलाई केही अप्ठेरो छ । हेर ! कालो गए गोरो आउँछ’ भनेर मलाई सम्झाउनु हुन्थ्यो । उहाँको अर्को गुण के थियो भने जस्तोसुकै अवस्थामा पनि नआत्तिने, सम्हालिएर काम गर्ने, हिम्मत नहार्ने । उहाँको शारीरिक अवस्था हेरेर भन्ने हो भने उहाँले जे लेख्नुभयो, काम गर्नुभयो त्यो आश्चर्यलाग्दो छ । एउटा अशक्त शरीर, त्यसमाथि महिला भएर पनि आफ्नो स्वाभिमानलाई अलिकति पनि गिर्न नदिई जीवन बाँच्नुभयो । उहाँ साहित्य, जनता र देशको निम्ति बाँच्नुभयो । त्यसको निम्ति उहाँलाई महान सङ्घर्र्षशील योद्धा मान्नुपर्दछ । साहित्य, शोषित जनता र देशको निम्ति शरीरको थोपा–थोपा रगत निचोरेर अन्तिम घडीसम्म पनि उहाँले दिएरै जानुभयो । त्यस्तो लेखिका महान नेपाली साहित्यकारमा जन्मने छैन ।
कहाँ जन्मिएकी पारिजात कहाँ जन्मिएको म । संजोगले भेट भयो । जुन दिनदेखि उहाँको र मेरो भेट भयो त्यो दिनदेखि उहाँको मृत्युपर्यन्त सँगसँगै हिड्यौं । हाम्रो यस्तो मिल्ती देखेरै होला पापी काल यसरी आइदियो जसले हामी दुईलाई सदासदाको लागि छुट्याइदियो । अठ्ठाइस वर्षसम्म अविरल रूपमा सँगै हिडेको पाइला छुट्याइदियो । हाम्रो हाँसो टुक्रयाइदियो र मन भाँचिदियो ।
दिदीसँग यसरी अकस्मात छुट्टिनु पर्दा छातिभित्र निकै ठूलो शून्यता छाएको छ । त्यो शून्यतालाई भर्न भाँचिएको मनले सम्झनाको दहभित्र बल्छी हालेर हेर्छु । त्यो बल्छीमा २८ वर्ष अघिदेखिका सम्झनाहरू बल्झिएर तँछाड मछाड गरेर आइरहेछन् । पारिजात दिदीले भेट्न नखोजेको भए हाम्रा भेट उहाँसँग हुने थिएन । राल्फा नबनेको भए जनताको घरदैलोमा पुगिने थिएन । जनताको घर दैलोमा नपुगेको भए नेपाली जनताको दु:ख, पीडा, मर्म बुझिने थिएन र देश, जनता र राष्ट्रियताको निम्ति लाग्नु मानिसको पहिलो मुख्य कर्तव्य हो भन्ने बुझिने थिएन ।
जनमत पारीजात स्मृती अंकमा प्रकाशित लेख