काभ्रेको साहित्यिक इतिहासको विवेचना गरिँदा श्यामसुन्दर सैंजूलाई छुटाउँदा के न के नपुग जस्तै हुन्छ । श्यामसुन्दर सैंजू नेपाल भाषाका चर्चित कवि हुन् । उनले थुप्रै कविताहरू नेपाल भाषामा प्रकाशित गराएका छन् । आधुनिक कविका रूपमा विशेष चर्चामा रहेका यिनी आधुनिक कविहरू कै कोटीमा ज्येष्ठ कवि हुन् । यिनका कविताहरूमा मानवीय संवेदनाका थुप्रै बिम्बहरू गाम्भीर्य तामा लुकेका देखिन्छन् । कवितामा शब्द र बिम्ब खोप्न सिपालु कवि श्यामसुन्दर सैंजूका नेपालीमा पनि कविताहरू प्रकाशित छन् । जनमत मासिकमा पनि उनका तीनता कविताहरू छापिएका छन् । जनमतमा छापिएका कविताहरूमा ‘जब सडकमा बत्ती बल्छ’, ‘घिसारिएका पाइलाहरू’ र ‘चस्काहरु घाउका’ २०४८, २०४९ र २०५२ का २२, ३० र ४७ पूर्णाङ्कमा प्रकाशित छन् । यिनका सबैजसो कविताहरूकै शीर्षकमा समेत शब्द बिम्ब मात्र होइन कविताकै अर्थ पनि खुलेको देखिन्छ ।
पनौतीका सम्भ्रान्त सैंजु परिवारमा वि.सं. १९९६ मङ्सिरमा जन्म पाएका यिनले समाजमा विविध क्षेत्रमा आफूलाई समर्पित तुल्याएर गएको देखिन्छ । यिनी आफ्नै जन्म स्थानको सबभन्दा पुरानो र चर्चित विद्यालय इन्द्रेश्वर माविका प्र अ हुनाका साथै काठमाडौँका प्रख्यात विद्यालयहरू शान्ति निकुञ्ज,कन्या मावि र प्रभात मावि आदिमा पनि शिक्षक भई सेवा गरेको देखिन्छ । आफू जन्मेको गाउँमा शिक्षण सेवामा आफूलाई समर्पित तुल्याएर गएका यिनी धेर जैसो पनौतीका प्रबुद्ध व्यक्तिहरूका पनि आदरणीय शिक्षक भई आफूलाई चिनाएर गएका व्यक्तित्व हुन् । दिलभक्त र रत्नदेवी सैंजुका ज्येष्ठ सुपुत्र भई जन्मेका श्यामसुन्दर सैंजूले विद्यालयहरूमा शिक्षण सेवा गरेर आफूलाई योग्य शिक्षकका रूपमा चिनाएर गएको देखिन्छ । यसै गरी अक्षर मनमा राखेर शब्द र वाक्यमा विचार सम्प्रेषण गरेर यिनले आफ्ना भावनाहरू कवितामा पोखेर आफूलाई कविका रुपमा पनि प्रतिष्ठित तुल्याएर गएको देखिन्छ । उनी जिउँदो छँदा मौलिक सङ्ग्रहहरू प्रकाशित नभए पनि उनी कवि भनेर सबैले चिनेका कवि व्यक्तित्व हुन् । यिनले नेपाल भाषामा धेरै कविताहरू प्रकाशित गराएका छन् । हाल सालै मात्र यिनका दुइटा नेपाल भाषाका काव्य–कृतिहरू प्रकाशित भएका छन् । भूषण प्रसाद श्रेष्ठको सम्पादनमा ‘स्याःचाः घाःया’ (नेपाल भाषा गद्य कविता सङ्ग्रह) र अमिता देवी सैंजू श्रेष्ठको सक्रियतामा ‘हाइकु किच:’ (भर्खरै २०८१ वैशाख २२) गते सार्वजनिक भएको देखिन्छ । यिनी कवि हुन्; यिनकै कृतिलाई आधार बनाएर कवितामा यिनले पोखेर गएका मर्महरू यिनका मित्र जन र परिवारजनले देखाउँदै छन् । मर्मशील छन् यिनका कविताहरू । नेपालीमा पनि ‘चस्काहरु घाउका’ गद्य कविता सङ्ग्रह निकट भविष्यमा प्रकाशन हुने तरखरमा छन् । यिनी कवि हुन्; कविता बिम्बमा सुन्दर ढङ्गले सैंजू कवि देखा पर्न सफल छन् ।
पत्रकार जगत्मा पनि यिनले आफूलाई सक्षम पत्रकारका रूपमा देखाएर गएका छन् । पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण गरेका यिनले तिब्बतीय लिपिका द्वैमासिक पत्रिका ‘हिमालयन ङाव्रा’को सम्पादन गर्नुका साथै गोरखापत्र दैनिक, मधुपर्क साहित्यिक मासिक र ‘मुना’बाल मासिकको सम्पादन गरेका छन् । वि.सं. २०२४ सालमा नै गोरखापत्र दैनिकमा सेवा पु¥याइ सकेका यिनी २०४२ देखि २०४८ सह सम्पादक रहेको देखिन्छ । वि.सं. २०४८ देखि २०५२ सम्म कार्यकारी सम्पादक रहेका यिनी २०५२ साल देखि केही वर्ष सम्म प्रधान सम्पादक रही सेवा गरेको देखिन्छ । ‘कर्मापा पेपर्स’ लाई नेपाली भाषामा अनुवाद गरेर ‘कर्मापा कागजात’ २०४५ तिर प्रकाशन गरेको देखिन्छ । आफूले सम्पादन गरेका पत्र–पत्रिकाहरूको कुशल सम्पादन गर्ने भएकैले यिनी कुशल सम्पादकका रूपमा आफूलाई चिनाएर गएका छन् । त्यसैले भन्न सकिन्छ — “श्यामसुन्दर सैंजू एक जना सफल सम्पादक पनि हुन् । ”
अङ्ग्रेजी र हिन्दी भाषामा विशेष दक्खल भएकै कारणले यिनले आफूलाई विशेष अध्ययनशील कवि र पत्रकारका रूपमा देखाउन सक्षम भए । यति मात्र नभईकन यिनले आफूलाई सफल अनुवादकका रूपमा पनि देखाउन सफल भएका छन् । यसै क्रममा यिनले ‘गीताञ्जली’को अनुवाद गरे । भारतका महाकवि रवीन्द्रनाथ टैगोरका विश्वविख्यात नोबेल पुरस्कार प्राप्त कृति ‘गीताञ्जली’को यिनले नेपालीमा अनुवाद गरेर गएका छन् ।‘गीताञ्जली’को ११ औँ शृङ्खला २०४६, असोज देखि २०४९ कार्तिक सम्मको अङ्कमा जनमत मासिकमा प्रकाशित भएको देखिन्छ । यिनले अनुवाद गरेका गीताञ्जलीका केही हरफहरू यहाँ प्रस्तुत गरिएको छ —
गीत यहाँ जुन गाउन आएँ
गाएको छैन अहिले
सोधी रहेछु सुर मात्र म
केवल इच्छा छ गाउने ।
००
त्यो सुर गाउन सक्दिनँ म
शब्द पनि झङ्कृत हुन्न
व्याकुल हुन्छ प्राण मेरो यो
गीत मधुर त्यो गाउन ।
००
यिनको अनुवाद–कलामा पनि माधुर्यता छचल्किएको देखिन्छ । त्यसैले त यिनले ‘गीताञ्जली’अनुवाद गर्न सक्यो । यसै सन्दर्भमा यिनका कविता पङ्क्तिहरूलाई पनि कवितामा रहेको कला–बिम्ब, शैली र भाव–विचारका दृष्टिले कविताहरू कति शक्तिशाली छन् सो प्रमाणित गर्न केही हरफहरू यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु —
“जब सडकमा बत्ती बल्छ, मृत्यु त्यहाँ
स्पष्ट हुन्छ, तिम्रो छायाजस्तै
कहिले काहीँ त्यो तिम्रो अघि पर्छ
कहिले काहीँ त्यो तिम्रो पछि पर्छ ।”
यसै गरी ‘घिसारिएका पाइलाहरू’कवितामा यिनी आफ्नो वेदना पोख्दै लेख्छन् —
“चन्द्रागिरिको पहाडमा
र जो जो विपरीत दिशामा मोडिएका छन्
ती सबै पाइलाहरू घिसारिएका छन् यहाँ
एउटै दिशामा एउटै दिशामा
चेतना शून्य समय उँघेको यो समयमा ।”
‘चस्काहरु घाउका’ नामक कवितामा उनी लेख्छन् र वास्तविक सत्य ओकल्छन् –
“जो जहाँ पनि मर्छ त्यो जनता
जसलाई पञ्चले मार्छ
काँग्रेसले मार्छ कम्युनिस्टले मार्छ,”
यसै कविताको सुरुमा उनी लेख्छन् –
“खै जो जति देखेँ मैले
शहीदका आमाहरू
रोएकै देखेँ ।”
यिनी कवितामा बिम्ब पोख्छन्, सत्य–यथार्थलाई कविता बनाउन खोज्छन् र कविको मर्म कवितामा देखाउँछन् । यसैले म उनलाई राम्रो कविमा दरिन चाहन्छु । कवितामा आफ्नो मौलिकपन देखाउन सफल कवि श्याम सुन्दरले आफ्ना कविताहरूमा युग वोधी चेतना भरेर कविताहरूलाई उच्च शब्द–शैलीमा प्रस्तुत गरेको देखिन्छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटा कहाँ अङ्ग्रेजी भाषाको ट्युसन पढेका यिनी देवकोटाका प्रिय शिष्य पनि रहेको त्यसताका चर्चा गरिन्छ । साहित्यकार शङ्कर लामिछानेको हाइकु वाचन सुनेर हाइकु लेखन सुरु गरेका यिनी समालोचक तथा भाषा–विज्ञ ईश्वरानन्द श्रेष्ठाचार्यका समकालीन मित्र हुन् । नेपाल भाषा र नेपालीमा कविता लेखेर आफूलाई चिनाउन सफल कवि जर्ज लुकासका साहित्यिक चिन्तनहरु र रविन्द्रनाथ टैगोरको विश्व प्रसिद्ध काव्यकृति ‘गीताञ्जली’का अनुवाद गर्न सफल अनुवादक, बिसौं वर्ष शिक्षण सेवा पु¥याएर गएका सफल शिक्षक, पत्रकारिता जगत्मा पत्रकारका रूपमा प्रसिद्धि कमाएका पत्रकार र सामाजिक क्षेत्रका चेतनशील व्यक्तित्वका रूपमा यिनले आफूलाई चिनाएर गएका छन् ।
बहुमुखी प्रतिभाका धनी व्यक्तित्व श्यामसुन्दर सैंजू बुद्धिचाल खेल जगत्मा पनि प्रसिद्धि कमाएर गएका सफल खेलाडी हुन् । यिनले बुद्धिचाल खेललाई वैज्ञानिक ढङ्गले खेल्न यस खेलका थुप्रै नियम सम्मत धारणाहरू पनि पत्र–पत्रिकामा लिपिबद्ध गरेका छन् । यिनी काठमाडौँ इन्टरनेशनल चेस क्लब र नेपाल बुद्धिचाल सङ्घमा पनि आबद्ध थिए । यसैले भन्न सकिन्छ श्यामसुन्दर सैंजूलाई उनको कृति, कार्य र विविध क्षेत्रमा देखिएका यिनका संलग्नतालाई दृष्टिमा राखेर महत्त्व र अर्थलाई समाज र देशलाई चिनाइ दिनु पर्छ । यसैलाई आधार मानेर शब्द बिम्बमा श्याम सुन्दरलाई राख्न मैले पनि मन पराइरहेछु । उनी वि.सं. २०६५ माघ २१ गते दिवङ्गत भए पनि उनको सम्झना भइरहने विश्वास गरेको छु । किनभने स्रष्टाहरू आफ्नै कृतिमा सधैँ बाची रहनेछ ।
०००