नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १५६ औं जन्म जयन्ती आज काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । उनको नाममा प्रभातफेरि लगायत पुरस्कार वितरण र दीपावली समेत गरी जन्मजयन्ती मनाइएको हो ।
यस अवसरमा आइतबार बिहान काठमाडौंको शान्तिवाटिकास्थित अमात्यको सालिकमा माल्यार्पण गरी त्यहीँबाट प्रभातफेरि गरिएको थियो ।
महाकवि अमात्यको तस्बिरलाई बग्गीमा राखी सैनिक बाजा र परम्परागत बाँसुरी बाजाका साथ काठमाडौंमा कुमारीको रथयात्रा गरिने रुटमै पदयात्रा गरिएको थियो । पदयात्रामा विभिन्न साहित्यकार लगायत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
पदयात्रापछि काठमाडौंको मत्स्येन्द्रनाथ जनबहालस्थित डबलीमा भएको एक समारोहबीच सिद्धिदास पुरस्कार प्रदान गरिएको थियो । यो वर्ष वरिष्ठ साहित्यकार फणीन्द्ररत्न बज्राचार्यलाई सिद्धिदास सिरपाः (पुरस्कार) गरिएको थियो ।
अन्वेषक काशीनाथ तमोटलाई सिद्धिदास विद्वत्वृत्ति प्रदान गरिएको थियो भने विद्यालयका विद्यार्थीहरूबीच आयोजित सिद्धिदास सम्बन्धी लेख प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई प्रमुख अतिथि जनकवि दुर्गालाल श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए । पुरस्कारका लागि समाजसेवी एवं गायक योगेश्वर अमात्यले आर्थिक व्यवस्थापन गरेका हुन् ।