सपनाजस्तै यसरी जान बिपनामा किन आयो ?
दुःख र दर्द यसरी छोड्न किन त्यो आश बँधायौ ?
फेरि शिशिर, फेरि उराठ ल्याउन फूल फुलायौ
अन्धकार नै जीवन पार्न आशा-दीप जलायो ।
आज जता पनि काँढे काँढा उही नमिल्ने दुनियाँ
आज शान्तिको नाममात्र छ, शान्ति भयो त सपना ।
सपनामै बरु जीवन किन यो बाँच्न सकेन सारा ?
सपनामै किन ब्यूझन सकिन, ब्यूझदा किन भो विपना?
कारण-सारण जथाभावीको यही हो हाम्रो दुनियाँ ?
इच्छा आशा उप्जिरहन्छन्, पागलपन हो कि विपना ?
किन दिल सारा पत्थर हुन्नन्, किन हो आँसु बहन्छ ?
किन हो मानिस पशु बन्दैन, सम्झी कल्पिरहन्छ ?
सुख र शान्ति खाक छ जगमा, किन धीरज लेऊ भन्छ ?
किन ठाडै मानिस मर्दैन हो त्यस्सै बाँचिरहन्छ ?