समयका श्यामश्वेत पानामा
कोरेर समयकै अथक कथागाथा
मान्छेका उज्याला अनुहार खोज्न
धेरै भौतारिएको हो ऊ एकताका
त्यै छेकोमा कसोकसो
समयले उसलाई ‘कवि’को पगरी गुथाइ दिएकै हो
मलाई राम्रै थाहा छ ।
समयको त्यो उज्यालो चहकमा
कविको गह्रौँ उपाधि पाउँदा
कसैले थाहा नपाउने गरी
एउटा दर्विलो गौरवको ससानो थुम्को पनि
सगरमाथा जस्तै भएर उभिएकै हो
उसको छातीमा ।
ज्यानमा तागत र पाखुरामा उत्साह भएका बेला
पाइलामा गन्तव्य र मनमा उमङ्ग भएका बेला
उसले पनि साँचेकै हो –
बेथितिका काला चट्टानहरुमा भीम–मुड्की बजारेर
सङ्गतिका आँकुरा उमार्ने सपना आँखा भरिभरि ।
हातैले उचालेर समस्याको सिङ्गो आकाश
विश्वासले फर्काएर नदीको वेग
आस्थाले उभ्याएर परिश्रमको पर्वत
उसले खोजेकै हो यो धरती सिँगार्न
सुन्दर सपनाहरुको खेती गर्न
मान्छे मनहरुको आशा रोप्न ।
देख्नेहरुलाई राम्रै थाहा छ –
विसङ्गतिको प्रतिपक्षमा ऊ कसरी उभियो ?
कसरी भत्कायो निराशा र कुण्ठाका पर्खाल ?
मान्छेका चेतनाहरुबाट
कसरी जुध्यो बेथितिका बतासहरु सँग ?
अडिग चट्टान भएर
इतिहास पल्टाए सहजै थाहा भैहाल्छ ।
हत्केलामा बग्ने पसिनाको रङ्गहीन नदी
र, त्यसैका किनारमा जीवनका त्यान्द्रा बटुल्ने ऊ
समयका विपरीत पाङ्ग्रामा पनि
हरदम जिन्दगीका रहरहरुलाई पारि तार्ने ऊ
कर्मण्येवाधिकारस्ते … राग अलाप्दै
निष्काम कर्मयोगको गीत गाउने ऊ
बेलगाम समयलाई झुक्याएर भए पनि
कर्तव्यको बहिखाता दुरुस्त राख्ने ऊ
र, कविताभरि कोरेर मान्छेका महागाथा
मान्छेकै गीत गाइ हिँड्ने ऊ
आज एकाएक हराएको छ ।
भेट्नुहुने महानुभावहरुले
उसलाई नजिकको कुनै प्रहरी कार्यालयमा नबुझाइ दिनुहोला
वा, कुनै नम्बरमा फोन गरेर जानकारी पनि नदिनुहोला
प्रबल सम्भावना यो छ–
उसमाथि ‘आतङ्ककारी’ बात लाग्न सक्छ
र उसले बोक्नुपर्ने हुनसक्छ –
फेरि एउटा अर्को बौलाहाको उपाधि ।