मेरो आङ्ग सिरिङ्ग भयो । राती कुटेको दृश्य मेरो नकाबभित्रको आँखामा साकार भयो । मैले उनको स्थानमा आफूलाई देखेर भित्रैदेखि नै काप्न थालेँ । मुखको थुक सरर सुकेर गयो । घाँटी अप्ठ्यारो भएर आयो । शरीरमा बेग्लै खालका काँढाहरु तिखारिन थाले । त्यसो त मैले बारम्बार लाठीचार्ज नखपेकी होइन । ठूलाठूला मरणासन्न चोट खपिसकेको शरीर हो यो । २००७ साल मंसिर २२ गते गौचर एअरपोर्टमा डेनिङ्ग कमिसन आउँदा १०४ वर्षको हुकुमी राणा शासनको अन्तिम क्रोध खपेको शरीर हो यो । २००९ सालतिर भूगोलपार्क काण्डमा गरिएको सल्लाहकार सभाको विरोध प्रदर्शनमा दमकलको पानीको फोहराको साथमा निर्मम लाठी खाई, थुनुवामा परेको शरीर हो यो । त्यति बेलाको शरीरको घाउ निको पार्न निकै समय लागेको थियो । त्यसरी पटकपटक लाठीचार्ज यातना र कुटाइ झेलेको शरीर हो यो । फरक केवल यति मात्र हो कि त्यतिबेला म किशोरी थिएँ । सजिलैसित घाउ र चोट खप्न सक्ने क्षमता थियो मेरो । तर अहिले ? अहिले मेरो उमेर ७० वर्ष पार गर्न लागेको ढल्दो समयको कमजोरीले कोट्याइरहेको छ । तर आत्मबलको सामना कुनै पनि हतियारले गर्न नसक्ने चेतनाले म त्यतिबेला पनि पुलकित भएकी थिएँ । गौरवको हौसलाले मेरो ढल्दो उमेरलाई चढ्दो उमेरमा बदलिदिएको थियो ।
अचानक झ्वास्स सम्झेँ भाइ कृष्णसेन ‘इच्छुक’लाई । चरमसीमा नाघेको यातनाले पनि उनको मुख खोलाउन नसकेको । उनले ज्यानै दिन तयार भए तर उनलाई हार खुवाउन सकेनन् । नेपाली जनताको हक, हित र अधिकारको निम्ति यातना खपेर नै सहादत प्राप्त गर्न मञ्जुर गरे । तर उनले आफ.नो शिर झुकाएनन् । यातना, हतियार र गोलीले पनि झुकाउन सकेनन् । यातना खाँदाखाँदै प्राण त्याग्ने उनको निर्णयको सम्झना मात्रले पनि मेरो द्रवित छाती चट्टानजतिकै ठोस र साह«ो भएर आएको थियो । मेरो मुटुभित्र बलिरहेको पिलपिले बत्ती एकएक मसालमा परिणत भएको आभासले मुस्काएकी थिएँ म । उनले आफ्नी अर्धाङ्गिनी, नाबालक छोरी, परिवार आफ्नो ज्यानको परवाह नगरी, यातना खाइरहे भने मैले किन नसक्ने ?
“तपाईं यसरी मौन बस्न पाउनुहुन्न । हामीलाई बाध्य नपार्नुस् ।”
“मैले तपाईंहरुलाई बाध्य पारेकी छैन । तपाईंहरुको इच्छाअनुसारको यातना मलाई दिन सक्नुहुन्छ । मैले मेरो जीवनको अन्तिम यात्रा यहीँ यस स्थानमा अन्त्य गर्ने निर्णय गरिसकेकी छु । तपाईंहरुको जस्तोसुकै अमानवीय यातनाले पनि मलाई फरक पार्न सक्नुहुन्न ।”
“हेर्नुस् । हामीलाई नउक्साउनुस् है । तपाईंले मनु हुमागाईंलाई ३ महिना आफ्नो घरमा राख्नुभएकै हो ।”
“फेरि त्यही कुरा इनफ इज इनफ ।”
“ठीक छ । तपाईंले यहाँ लामो समय बस्न चाहनुभएको रहेछ हामीले तपाईंलाई आजै छोड्ने विचार गरेका थियौं ।”
“यत्रो सम्मानले बस्न पाएपछि कसले छाडेर जान चाहन्छ ? यो तपाईंहरुले ठीक गरिरहनुभएको छैन ।”
“के ठीक ? के बेठीक ? हामीलाई तपाईंले सिकाउनु पर्दैन । हामीलाई मतलब छैन ठीक र बेठीकको । हामीलार्ई मतलब छ, अर्डरको, बुझ्नुभो ? योभन्दा बढी हामीलाई केही थाहा पाउनु छैन ।”
“अर्डरअनुसारको काम गर्नु छ भने, एउटै प्रश्न किन ? मलाई किन ह्यारेस गर्नुहुन्छ ? गर्नुस् अर्डरको काम । कसले रोकेको छ तपाईंहरुलाई ?”
“हामीले तपाईंलाई ह्यारेस गरेका छैनौं । तपाईंसित आदरले व्यवहार गरेका छौं । तपार्ईंलाई ओछ्याउन फोम र झुलसमेत दिएका छौं । त्यस्तो बुझ पचाएर कुरा नगर्नुस् । तपाईंले सरासर झुट बोलिरहनुभएको छ ।”
“झुट मैले बोलेँ या तपाईंले ? मैले किन झुट बोल्नु ? के मैले प्रमोशन पाउनु छ ? या तक्मा पाउनु छ ? मन्त्री–प्रधानमन्त्री बन्नु छ ? घूस या कमिसन खानु छ ?”
“स्वर ठूलो नपार्नुस् । तपाईंको हिजोको र आजको बयानमा पचहत्तर प्रतिशत फरक खाइसक्यो, बुझ्नुभो ?”
“पचहत्तर प्रतिशत फरक खाइसक्यो रे । एक प्रतिशत मात्र फरक देखाउनुस् त म मेरो जिब्रो काटेर फ्याँकिदिन्छु । बुझ्नुभो ? हिजोको बयान टेप गर्नुभएको होला । रिवाइन गरी हेर्नुस् ।”
“तपाईं हामीलाई सिकाउने ? हामीलाई अह«ाउने ? के तपाईंले हामीलाई तलब खुवाएर राख्नुभएको छ ? तपाईंलाई के थाहा टेप र टेपरेकर्डरको बारेमा ?”
“मलाई भन्नुभएको ? टेप र टेपरेकर्डरको बारेमा के थाहा छ भनेर ? म ३५ वर्षसम्म रेडियो नेपालको प्रसारण सेवाको माइक फुकेको व्यक्ति हुँ । सन् १९६२ सालमा त इजारायल रेडियो स्टेशनको माइक फुकेकी थिएँ । १९७२/७३ मा पूरा एक वर्ष बीबीसी प्रसारण सेवाको माइक फुकेकी थिएँ । सन् १९८२ मा मलेसियाको माइक फुकेकी थिएँ । बुझ्नुभो ? अरु राष्ट्रहरुको पनि नाम लिऊँ ? तीसौं वर्ष टेप र टेपरेकर्डरसित खेलेकी मान्छे हुँ म । तपाईंजस्तालाई वर्षौंसम्म सिकाउन सक्छु । हिजोको बयान रिवाइन गरी हेर्नुस् भनेर मैले के बिराएँ ? भन्नुस्, मैले के बिराएँ ? मलाई टेपको बारेमा के थाहा छ भन्ने ?”
म रिसले चूर भएँ । मुखमा थुक पनि सुक्यो । सास फुलेकोले अरु बोल्न सकिनँ मैले । त्यतिबेला तिनीहरुका अनुहार कस्ता देखिए कुन्नि ? एकदम शून्य सुसाएको थियो । तिनीहरुले मसित कुरा गर्ने ? मलाई कायल गर्न खोज्ने ? छ तागत ? एक प्रकारको घमन्डले मेरो छाती त आकाश जत्रो भएर आएको थियो ।
“दिदी ! तपाईं त खूब रिसाउनुभो नि ।”
“रिस उठ्ने कुरा गरेपछि रिस उठ्दैन त ?”
“कामको कुरा गरौं । त्यसो भए तपाईंले मनु हुमागाईंलाई चिन्नुभएको छैन ?”
“मैले चिनेकी भए यति लामो कुरा गर्नुपर्ने नै थिएन । यदि तपाईंहरुसित मनु हुमागाईंको फोटो छ भने मलाई देखाउनुस् न । मैले चिनेकी मनदेवी शर्मा र मनु हुमागाईं एउटै हुन् कि ?”
“हामी तपाईंको अह«ोटमा चल्दैनौं । तपाईंले भने भनेको काम गर्न सक्दिनँ । हामी त सेना हौं सेना । बुझ्नुभो ?”
“छ्या बोल्नै नहुने । सिलसिलाबद्ध कुरै नगर्ने । कस्ता कच्चा मान्छेहरु !”
म त रिसले बमबम भइहालेँ । पूरा शरीर नै जिरिङ्ग फुलेर आइहाल्यो । आक्रोशले फुँफुँ गरी मैले भनेँ—
“त्यस्ता मेरा नाति पनि भन्न नसुहाउनेहरुसित म कुरा गर्दिनँ यदि मसित कुरा गर्नुछ भने मेरै स्तरका मान्छेसित मात्र म कुरा गर्छु । बोल्नै नहुने ए । अब त एक शब्द पनि बोल्दिनँ । मलाई गोदामभित्र पठाइदिनुस् । यति भनेर म बसेको स्थानबाट जुरुक्क उठिहालेँ । मेरो मुड सारै नै बिग्रेको थियो । एक घन्टाभन्दा बढी लामो प्रश्न र वादविवाद पछि बल्ल मलाई गोदामभित्र पुर्याइदिएको थियो । झुलभित्र बसेर म आफै फत्फताउन थालेँ । तिनीहरुका पञ्जाबाट छुट्न नसक्ने निर्णयले म अन्यौलले चिसो फोममा पल्टेँ । अन्धकार भविष्य केलाउँदै गएँ म ।”