राष्ट्रिय बाल दिवस–२०७८ का अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (लोकवार्ता र बालसाहित्य) विभागको आयोजनामा भर्चुअल प्रविधिबाट ‘प्रज्ञा बालकविता महोत्सव–२०७८’ गरिएको छ। मुलुकभरका करिब ३५ बालबालिकाका कविता वाचन, कार्यपत्र प्रस्तुति तथा मन्तव्यसहित महोत्सव सम्पन्न भएको हो।
कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बालसाहित्यको प्रवद्र्धनका निमित्त बालकविता महोत्सव आयोजना गरिएको जनाउँदै बालबालिका नयाँ शिल्प र सिर्जनशीलताका साथ अगाडि आइरहेको बताए।
प्रतिष्ठानका (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले बालसाहित्यको प्रवर्द्धनका लागि यो महोत्सव आयोजना गरिएको बताए। देशभरिबाट ४० बालबालिका छनोट गरिएको र त्यसमध्ये ३५ बालबालिका जोडिएर कविता प्रस्तुत गरेको उनले जानकारी दिए।
नेपाल बाल संगठनका अध्यक्ष विद्या न्यौपानेले बालदिवसको परम्परामा पुनरावलोकन गर्नुपर्ने बताइन्। साहित्यकार प्रमोद प्रधानले ‘नेपाली बालसाहित्यको वर्तमान अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गर्दै बालसाहित्यको इतिहास, नेपाली भाषामा बालसाहित्य, लोकसाहित्य, लिखित बालसाहित्य, नेपाली बालसाहित्यको विधागत स्थिति, बालसाहित्य कृतिमा गुणवत्ताको प्रश्न, उमेरअनुसारका रचना, बालसाहित्य सम्पादन, चित्राङ्कन, लेआउट, डिजाइन, मुद्रण प्रविधि, अन्य राष्ट्रिय भाषामा बालसाहित्य, बालपुस्तक बिक्रीको स्थिति, प्रज्ञा–प्रतिष्ठान र नेपाली बालसाहित्यजस्ता विषयवस्तुमा प्रकाश पारे।