नारायणगोपालदेखि स्वरसम्राट् नारायणगोपालसम्मका यात्राका विविध पक्षलाई समेटेर तयार पारिएको पुस्तक ‘स्वरसम्राट् नारायणगोपाल’ सार्वजनिक भएको छ ।
चलचित्र निर्देशक, निर्माता र लेखकका रूपमा परिचित प्रकाश सायमीले नारायगोपालका जीवनका आरोह-अवरोहदेखि लेखेको उक्त पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकको विमोचन प्राध्यापक केदारभक्त माथेमा, संगीतकार कर्म योञ्जन, गीतकार कालीप्रसाद रिजाल, संगीतकार सिके रसाइली, कलाकारहरू नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, वसुन्धरा भुषाललगायतले गरेका थिए ।
पुस्तकका लेखक प्रकाश सायमीले नारायणगोपालको स्वरारोहण, सफलता, असफलता, दोस्ती–दुश्मनी सँगै अग्रकथनीय रूपमा प्रस्तुत गरिएको जीवनकथा अहिले पश्चिमी साहित्यमा लेखिने कोलोडोरियन कन्सेप्टमा लेखिएको बताए । उनले गायक नारायणगोपालदेखि स्वरसम्राट नारायणगोपालको अवसानसम्मको विवृत्ति एक सजीव तस्बिरका रूपमा प्रस्तुत गरिएको दाबी गरे । नारायणगोपालबारे चर्चा गर्दै लेखक सायमीले भने, ‘नेपाली सङ्गीतको समग्र विकासक्रममा नेपाली स्वर्णीम युगको अतुलनीय योगदान
छ, यही युगमा गायक नारायणगोपाल गायक–सङ्गीतकारका रूपमा प्रवेश गरे । उनले नेपाली सङ्गीतजगतको वायुमण्डल खल्बल्याइदिए – उनको गायकी, स्वर र शब्द छनौटले नेपाली समाज तरङ्गित भयो ।’ पुस्तक काठमाण्डु पब्लिकेसनले प्रकाशित गरेको हो ।