नेपाली कलासाहित्य डट कम प्रतिष्ठान ले विशिष्ट साहित्य साधक मनबहादुर मुखियालाई नगद १,०१,००० रुपैयाँसहित अमूल्य राष्ट्रिय कलाश्री सम्मान–२०८२ प्रदान गरेको छ। प्रतिष्ठानले विगत १६ वर्षदेखि भाषा, साहित्य, कला, संस्कृति र संगीतका साधकहरूलाई प्रत्येक वर्ष सम्मान गर्दै आएको छ।

यसै अवसरमा अन्य पाँच सर्जकलाई पनि विभिन्न विधागत पुरस्कार समर्पण गरिएको छ—
साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई नगद १,००,००० रुपैयाँसहित राष्ट्रिय कलाश्री पुरस्कार–२०८२
शब्दशिल्पी निमेष निखिललाई नगद ७५,००० रुपैयाँसहित स–सिद्धि राष्ट्रिय कलाश्री पुरस्कार–२०८२
मिथिला चित्रकारिताका साधक एससी सुमनलाई नगद ६०,००० रुपैयाँसहित थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार–२०८२
साहित्यिक पत्रकार तथा स्रष्टा राजेश खनाललाई नगद ५०,००० रुपैयाँसहित बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार–२०८२
लोकसंगीत क्षेत्रका सर्जक झुमा लिम्बूलाई नगद ५०,००० रुपैयाँसहित पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार–२०८२
प्रतिष्ठानका अध्यक्ष मोमिलाको सभापतित्वमा आयोजित समारोह नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा विशिष्ट चित्रकार किरण मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि मानन्धर, अध्यक्ष मोमिला, सम्मानित मुखिया, श्रीओम श्रेष्ठ, निमेष निखिल र प्रतिष्ठानका उपाध्यक्ष राजेश्वर कार्कीले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
सम्मानित सर्जकहरूको परिचय समालोचक महेश पौडेलले गराएका थिए भने कार्यक्रमको सहजीकरण कवि मणि लोहनीले गरेका थिए।

अघिल्ला वर्षका सम्मानित व्यक्तित्व
प्रतिष्ठानले यसअघि राष्ट्रिय कलाश्री सम्मान अन्तर्गत जगदीश घिमिरे, मदनमणि दीक्षित, सत्यमोहन जोशी, शशी शाह, फत्तेमान राजभण्डारी, मनुजबाबु मिश्र, तुलसी दिवस, दुर्गा बराल (वात्स्यायान), दुर्गालाल श्रेष्ठ, डा. वासुदेव त्रिपाठी, वैरागी काइँला, प्रेमध्वज प्रधान, रामेश, परशु प्रधान, किरण मानन्धर, यादव खरेल र वीणा पौडेललाई सम्मानित गरिसकेको छ।
त्यस्तै राष्ट्रिय कलाश्री पुरस्कार अन्तर्गत इन्द्रबहादुर राई, सुकर्म साङ्गीतिक समूह, डा. गोविन्दराज भट्टराई, गीता केशरी, डा. राजेन्द्र बिमल, डा. ध्रुवचन्द्र गौतम, वानीरा गिरि, ठाकुर गुरागाईं, हरिहर शर्मा तथा शकुन्तला शर्मा, माया ठकुरी, सरुभक्त श्रेष्ठ, गणेश रसिक, अशेष मल्ल, मञ्जु काँचुली, प्रा. डा. लक्ष्मण गौतम, भागीरथी श्रेष्ठ र विश्वविमोहन श्रेष्ठ सम्मानित भइसकेका छन्।
स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार विप्लव ढकालबाट सुरु भई श्रवण मुकारुङ, युवराज नयाँघरे, रमेश श्रेष्ठ, भीष्म उप्रेती, मनुमञ्जिल, मणि लोहनी, सुमन पोखरेल, सरस्वती प्रतीक्षा, ठाकुर बेलवासे, केशव सिग्देल, भूपिन, कृसु क्षत्री र चन्द्र गुरुङसम्म प्रदान गरिएको छ।
बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार जयदेव भट्टराई, फूलमान बल, शशी लुमुम्बू, मोहन दुवाल, नगेन्द्रराज शर्मा, रोचक घिमिरे, लक्ष्मी उप्रेती, धीरेन्द्र प्रेमर्षि, डा. टङ्क उप्रेती, अश्विनी कोइराला र वसन्त बस्नेतले प्राप्त गरिसकेका छन्।
थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०७५ देखि २०८१ सम्म एरिना ताम्राकार, विक्रमश्री, विधाता के.सी., ओम के.सी., जगदीश तिवारी, सम्झना राजभण्डारी र सुनील सिग्देललाई प्रदान गरिएको छ।
त्यसैगरी पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार शिशिर योगी, मिलन नेवार, शिव परियार, मेलिना राई, सन्तोष श्रेष्ठ र कमलीकान्त भेटवाललाई प्रदान गरिएको थियो।
संस्थाको उद्देश्य
राष्ट्रको साझा सवाल र गौरवका विषय—नेपाली कला, साहित्य, संगीत, संस्कृति, दर्शन र इतिहास—को प्रवर्द्धन गर्दै सम्मान तथा पुरस्कार स्थापना, अध्ययन–अनुसन्धान, प्रकाशन, सम्मेलन, भ्रमण र विमर्शमार्फत उत्कृष्ट नेपाली सर्जनालाई विश्वपरिवेशमा परिचित गराउने लक्ष्यसहित प्रतिष्ठान क्रियाशील रहेको जनाएको छ।









