त्यो गाउँ त्यति चलहपहलको नभएपनि त्यही बाटो भई स्कुल आउनजान छोटो पर्ने हुँदा विद्यार्थी केटाकेटीहरू त्यतैतिरबाट हिँडिरहेका देखिन्छन् । धेरैजसो स्कुलबाट फर्कंदा हुल बाँधेर यही बाटो भई गाउँ लाग्छन् ।
जंगल पस्ने मुख र खोलाको समतल प्रभाव यहीँबाट सुरू हुनाले दाउराको छेस्का ल्याउनेहरू र चरनबाट वस्तु फर्काई घर लैजानेहरू पनि बेलुकीतिर यही बाटो भई हिँड्छन् ।
गोरेटोको केही माथिल्लो भागमा त्यहाँ ढिस्काहरू छन्, जहाँ भेडा गाईहरू उकालो चढ्दै रमाइरहेका देखिन्छन् । एकदिन विनोद पनि घुम्दै जाँदा त्यहीँ पुग्छ । रमणीय लाग्छ त्यो ठाउँ उसलाई पनि । साँझ पनि लागेको बेला त्यहाँ उसले यस्तो दृश्य देख्छ कि त्यसले उसको चाललाई रोकी नै दिन्छ ।
त्यहाँ एउटी वृद्ध नारी लगातार दत्तचित्त भई जमिन खनिरहेकी थिइन् । खाल्टो फराकिलो र गहिरो हुँदै थियो । विनोदलाई त्यसबेला एक्लै त्यो वृद्धाले खाल्डो खनिरहेकी देखेर दया लाग्छ र सहयोग गर्ने सोचाइ राख्दै त्यसरी खन्नुको अर्थ सोध्न अगाडि बढेको मात्र के हुन्छ एकहूल विद्यार्थीहरू आइपुग्छन् र उनलाई सोध्छन् –‘ए आमा, यसबेला के गरेको यस्तो ? खाल्डो खनेर के गर्ने विचार छ ?’
केटाकेटीहरूको प्रश्नतर्फ ध्यान नदिएर उनी खन्ने काम जारी नै राख्छिन् । तिनीहरू पनि आफ्नो प्रश्नको वेवास्ता गरेको देखेर त्यही प्रश्न अलि चर्को स्वरमा जिस्काउने पाराले दोहोर्याउँछन् ।
झोक चल्छ उनलाई पनि र जवाफ दिन्छिन् –‘देख्दैनस्, यहाँ म मान्छे खोजिरहेकी छु, मान्छे ।’
हाँस्छन् ती उरन्ठ्याउला केटाहरू र जिस्काउँदै भन्छन् – ‘मान्छे खोज्ने जमिन खोतलेर हो त ? सहर गाउँ पो जानुपर्छ । यहाँ हेर्नोेस्, हामी पनि मान्छे हौं, रगरग हिँडिरहेका छौं, बोलिरहेका छौं । हिंड्नोस्, हामी मान्छेसँग ।’
‘होइनौ, तिमीहरू मान्छे होइनौ । सहर गाउँमा अहिले कहाँ मान्छे छ ? मेरै आँखाले देखेकी छु, मान्छे रोपेको । असल, राम्रो मान्छे उमार्ने रे, बुझिस् अब ।’
यो सुनेर फेरि ती हाँस्छन् र हाँस्दै भन्छन् –‘बौलाहीको कुरो के सुन्ने, हिंड अबेर भइसक्यो ।’
अर्को केटाले भन्छ –‘यसले त मान्छेलाई तरूल पिंडालु सम्झिन्छे जमिनमुनि खोतलेर पाइने ? गजबका हुन्छन् बौलाहाहरू र यिनका कुराहरू ।’
ती केटाहरू आफ्नो बाटो लागेपछि विनोद उनको नजिक पुग्छ । थाहा त भयो उसलाई त्यो वृद्धा बौलाही हो भन्ने । फेरि पनि मनमा उनीप्रति सहानुभूति छचल्किन्छ र उनलाई गाउँमा लगिदिने आश्चर्यले ऊ आमा भनेर सम्बोधन गर्दै अगाडि बढ्छ उनलाई सम्झाउन । तर उनी, आफूतर्फ आइरहेको विनोदलाई देखेर डरलाग्दो अनुहार लगाएर कराउँछिन् –‘तँ मेरो नजिक नआइज । यो उम्रन लागेको मान्छेको मुना तैंले खाइदिन्छस् । जा …. अहिले नै गइहाल ।’
विनोद, नहटेर उनलाई हेरिरहन्छ । उनी चिच्याउन छोडेर रून थाल्छिन् । असमञ्जसमा पर्छ विनोद ।केहीबेर रोएपछि उनैले भन्छिन् –‘देख्दैनस् तँ मैले कति आँसु हालेर यसलाई भिजाइरहेकी छु, मान्छे उमार्न । मेरो बूढा, छोरा र नातिलाई फर्काइदिने, मान्छे । तँ यहाँ मलाई बिथोल्न नआइज । जा … गइहाल ।’
विनोद त त्यहाँ उनैलाई सहयोग गर्न गएको थियो । तर त्यसरी गाली गर्दै जा … भनेर कराएको सुनेर उसलाई आश्चर्यमात्र होइन, उनको बौलाहा हुनुको अर्थ बुझ्न मन लाग्छ र नम्र भएर भन्छ –‘आमा म निमोठ्दिन तपाईको उम्रन लागेको मान्छेलाई । म त चाहन्छु तपाईको बूढा, छोरा, नाति सबै फर्किऊन् । तपाई खुसी भएर उनीहरूसँग बस्न पाउनुहोस् । कहाँ गए तपाईंका ती परिवार, भन्नोस् आमा म उनीहरूको खोजी गर्छु ।’ ‘आज हैन तँलाई, कहाँ गए ती भनेर मसँग सोध्छस् ? तैले लगिस् तैले, जा गइहाल नत्र तँलाई …’ भन्दै झम्टिन पुग्छिन् ।
विनोद उसको मनस्थिति र परिवार फर्काई दिनसक्ने त्यस व्यक्तिको उनको खोजलाई विश्लेषण गर्दै तौलिन्छ त्यस वृद्धाको मनमा कुर्लिरहेको पारिवारिक मायालाई । अनि अड्कल गर्छ यस्तै वेदनामा निघरबार भई भौँतारिदै हिँड्दा उनी बौलाही भनिन थालिएकी हुनुपर्छ । न भोक, न प्यास न त सफासुग्घर लवाइ लगातार एउटै खोजमा भड्किरहेकी उनलाई आफ्नै मनले पनि बौलाही भनेर स्वीकारिसकेको छ अहिले त । निराश भएर असम्भवमा सम्भवको आश लगाएर जिउने आधार खोज्दै हिँड्दा उनलाई अब कसैको पनि वास्ता छैन, स्वयं आफ्नै पनि ।
सक्दैन, विनोदले उनलाई त्यहाँ त्यसै छोड्न । झम्टाइ उनको सहेर पनि उसले तिनलाई गाउँमा पुर्याउँछ । गाउँको प्रथम घरमा नै उनी स्वात्त घुस्छिन् । विनोद पनि साथै पस्छ उनलाई गाउँलेको जिम्मा लगाइदिन । त्यहाँका परिवार विनोदलाई उनको साथमा आएको देखेर छक्क पर्छन् । कुरा चल्छ । विनोदले बुझ्दै जान थाल्छ त्यो वृद्धाको जीवनको रहस्य । जब उनीहरूले सहानुभूतिपूर्वक यसरी विस्तार गर्न थाल्छन् ।
उनीहरूको भनाइ थियो, जमिन खोतल्ने मात्र होइन, यिनले खोलाभित्र पस्छु त्यहाँ मेरो बूढा छ, छोरा छ, नाति छ भन्छिन् । जताततै तिनीहरूलाई मात्र खोजिरहेकी हुन्छिन् । हुन पनि उनको जीवन फर्केर हेर्दै आउने हो भने यो अवस्थामा अहिले उनी पुग्नु कुनै अनौठो लाग्दैन ।
गाउँलेहरू सुनाउँदै जान्छन् । विनोद एकादेशको कथा सुनिरहेको जस्तो भई सुनिरहन्छ । सुन्दा–सुन्दै कहिले ऊ वाचकको अनुहार हेर्छ भने कहिले त्यही वृद्धालाई जो एक कुनामा बसिरहेकी छिन् । बेवास्ताले मकै चपाइरहेकी छन्, रातको खाना उनको त्यही थियो ।
भनाइ छ, उनी एक सम्पन्न परिवारकी सदस्य हुन् । बूढाको साथमा दुई छोरा, एक बुहारी र एक नाति थिए । खान लगाउन र कहिलेकाहिँ केही खर्च गर्न उनीहरूलाई दु:ख थिएन । यिनको बूढामाथि गाउँलेहरूको श्रद्धा र भरोसा थियो । उनी थिए पनि त्यस्तै व्यक्ति । कसैको दु:ख पाएको देख्न सक्दैन थिए । अन्न हुन्छ या धान दिइहाल्थे र भन्थे सापटमा होइन, यो मैले दिएको । यो मेरो सहयोग हो । यसैले अहिलेको गर्जो टार र भोलिको लागि सोच भनेर सबैलाई दु:ख मुक्त गर्ने प्रयासमा लागिरहन्थे ।
छोराहरू भने समय र परिस्थितिले हो या के ले भनूँ धेरै महत्वाकांक्षी भएर निस्कन थाले । रङ्गीचङ्गी सपना देख्दै गाउँ त्याग गर्न थाले । जेठो छोराको एउटा नाति पनि थियो । छोरा र स्वास्नीको मोहले रोकेन जेठालाई । ऊ सहर पस्यो र त्यही नै बेपत्ता भयो । न खबर न त भेटघाट उसकी स्वास्नीले पनि छोरा बाजेबजैलाई जिम्मा लगाएर अर्को गाउँको केटासँग विवाह गरेर गई । कान्छो छोराको रट पनि सहरमा नै पसी जागिर खाने त्यही बसोबास गर्ने दिन प्रतिदिन तीव्र हुँदै जाँदा जा, तँ जे सुकै गर् भनेर लगारिदिए । केही वर्षलाई शान्त भयो यिनीहरूको घर । नाति हुर्कंदै बढ्दै जान थाल्यो भने कान्छो छोराले पुलिसमा भर्ना भई आफ्नो प्रगतिका कुराहरू लेखेर पठाइरहन्थ्यो । छुट्टीमा गाउँ आउँदा बूढाबूढी खुसीले यसै फुरफुर हुन्थे । नाति जवान भयो हामीलाई यसैको अब भर छ भन्न थालेका ती बूढाबूढी छाँगोबाट खसेसरह भए जब नातिले पनि विदेशमा जाने प्रस्ताव ल्यायो । घरमा रडाको मच्चियो र लाचार भए यी र आफ्नो केही जमिन बेचेर नातिको इच्छा पूरा गर्न विदेश पठाए । परिवारबाट यसरी एक्लिए यी दुई र पनि गाउँमा सबैसँग झ्याम्मिएर बस्दै थिए । एकदिन उनीहरूले ज्यादै मार्मिक खबर सुन्नुपर्यो, कान्छा छोराको मृत्युको खबर । ऊ देशको सुरक्षा गर्दागर्दै वीरगति प्राप्त गर्यो रे भन्ने खबरले बूढालाई मुर्छै पार्यो । मनलाई एनकेन सम्हाल्दै जिउने कोसिसमा लाग्दै जाँदा बूढीको स्वास्थ्य खस्कँदै जान थाल्यो । हरेस खाए बूढाले र भन्न थालेका थिए – यो पनि गई भने मैले के गरी निर्वाह गरूँ ?
घरसल्लाह मिलेछ क्यार आफ्नो भएको सबै जेथा बेचेर सहरमा गई वृद्धाश्रममा दुवै बसी बाँकी जीवन बिताउने निश्चय गरेछन् र साथमा केही रकम लिएर बाटो लागेका थिए ।
विनोदले बीचमै कुरा काटेर सोध्छन् –‘अनि त्यो विदेशमा पसेको नातिले बाजे बजैलाई सम्झेनछ ? के गरी बसे होलान् भनेर हेर्नसम्म पनि आएन कि कसो ?’
त्यही त उनीहरूको मनभित्र लागेको ठूलो चोट थियो । गएको केही महिनासम्म चिठी पठायो रे । त्यसपछि अत्तोपत्तो नै रहेन त्यसको । चिठीमा लेख्थ्यो रे, के के न पाउँला के के न हुँला भनेर आएँ । यहाँ आएपछि देखेँ मान्छे पैसामा मेशिन बनेको । मेरो हृदय र दिमाग दुवै गाउँमा छुटेको छ तपाईहरूसँग । यहाँ म घुमिरहेको छु रातोदिन पानी घट्टजस्तो । फर्केर आऊँ भने पनि पाउँदिन । यिनले छाड्दैन वा छोड्दैनन् ।
यस गाउँबाट ऊ पछि पनि धेरै केटाहरू काम खोज्दै विदेशिए तर कसैले पनि उसलाई कहीँ भेट्टाएको खबर आएन । यसले उनीहरूको निराशामा अरू थप निराशा थपिदिएको थियो ।
विनोदले गाउँघर छोड्नाको कारण त थाहा पाए तर उनको बूढालाई के भयो र यिनी यसरी नितान्त एक्ली भइन्, त्यो जान्ने जिज्ञासा राख्दै प्रश्न उठाउँछन् ।
तिनीहरूको अनुहारमा उसको प्रश्नले दु:खको छाया देखापर्छ । शान्त हुन्छन् उनीहरू । विनोदको भने प्रश्नवाचक आँखा जवाफको प्रतीक्षामा उनीहरूकै अनुहारमा स्थिर भइ रहन्छ । तीमध्ये एकले बिस्तारै दु:खपूर्ण स्वरमा सुनाउँछ – पैसा बोकेर सहर जान लागेको ती बूढालाई बाटैमा केही डाँकाहरूले समातेर, धन पनि लुटेछन् र उनलाई पनि कुटीकुटी रगत छदाएर मारेछन् ।’
पैसा खोसेपछि पनि किन मार्नु परेको होला तिनलाई ? कठैबरा ! विनोदलाई पनि त्यस वृद्धको मृत्युबारे सुन्दा दु:ख लाग्छ ।
उनीहरू सुस्त स्वरमा भन्दै जान्छन् –‘बूढा निकै जोसिला थिए । पहिले तिमीहरूलाई यो पैसा दिन्न, जा के गर्न सक्छस् गर भनेछन् र त्यसपछि लगत्तै जोडेछन् – के ठानेका छौ मलाई, म तिमीहरूकोबारे उजुर गरिदिन्छु । अनि त तिनीहरूसँग उनको के लाग्थ्यो । यसलाई छोड्न हुँदैन भन्दै भकुरे रे ।’
‘यी आमा, तिनीहरूको पञ्जाबाट कसरी उम्कनु भएछ त ?’
विनोदको दोस्रो प्रश्न यस्तो हुन्छ भने जवाफमा उनीहरू भन्छन् – अचम्मलाग्दो यही त छ । तिनैले उनलाई गाउँ नजिक ल्याएर छोडिदिँदै भने रे हाम्रोबारे कसैलाई बताइस् भने तँलाई पनि तेरो लोग्नेलाई जस्तैगरी सिध्याइदिन्छौं, कुरा बुझिस् भनेर धम्क्याएर गए रे । तिनीहरू आपसमा के के कुरा गर्थे त्यो उनले बुझिनछन् । नेपाली बोलेको पनि बेग्लै सुनिन्थ्यो भन्छिन् । जोगीको भेषमा थिए रे ती र साथै सहयात्री भएर हिँडे रे । केही पर पुगे पछि एक्कासी फर्की आफ्नो चिम्टा उठाएर हान्ने प्रयास गर्दैै पैसा निकाल् भनेका थिए रे ती निठुरीहरूले ।
त्यस्तो बाटो, दुई बूढाबूढी मात्र हिंड्न नहुने नि, के भएको उनको बूढालाई पनि भनेर विनोदले अर्को जिज्ञासा राख्दा गाउँलेहरूले भन्छन् –‘बूढा भएर के गर्नु मान्छे त अति सूरो पो हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो – अंग्रेजको फौजलाई त तर्साएर आएको म अहिले नै के म आफ्नो र यो एक बूढीलाई समेत सुरक्षा दिन नसक्ने भइसकेको ठान्नुहुन्छ ? ए …. एक दुई मै हुँ भन्नेलाई पछार्न सक्छु भन्ने हिम्मत अझै छ ममा । यो पाखुरा थाकेको छैन ।
अर्को एक बुज्रुकले कुरा थप्दै भन्छन् –‘सीमाना जोडिएको ठाउँमा रहेका हामीले सधैं डाँकाहरूसँग त्रसित भइरहनुपर्छ । एकदुई यस्तो घटना नसुनेको वर्ष नै हुँदैन ।
हामी कुरा गरिरहेका थियौं उनैको बारे उनैको परिवारबारे तर उनलाई यसतर्फ मतलब नै छैन । होस हवास उनको उडिसकेको थियो । गाउँलेहरूले उनलाई माया गरेर खान, बस्न, लगाउन दिन्छन् । जसको घरमा उनी छिर्थिन् त्यही उनको बास त्यस दिनलाई हुन्थ्यो ।
उनको बौलठ्ठीपनमा उनकै वेदना र खाँचो विक्षिप्त भएका छन् । जब–जब गाउँमा रोपाइँ सुरु हुन्छ उनी त्यहाँ पुग्छिन् र मरिमरि हाँस्दै भन्छिन् रे –‘ए खेताला हो, त्यो के रोपेको तिमीहरूले ? माया रोप, दया रोप, अनि असल राम्रो मान्छे उमार । अनिकाल परेको छ यहाँ मान्छेको, सज्जन मान्छेको । सुन्यौ तिमीहरूले ?
यसरी उनी मान्छेको खोजीमा छिन् । केही महिनादेखि उनी जमिन खोस्रिन थालेकी छिन् । कसैले के गरेको भनेर सोधेमा भनी दिन्छिन् –‘किन मान्छे अझै उम्रिएन भनेर खोजेको ।’
हामी कसैलाई पनि उनी मान्छे मान्दिनन् । भन्छिन् – ‘तिमीहरूको मुटु चोरी भइसकेको छ । एकदिन कताबाट मरेको जनावरको हाड ल्याइछन् र त्यही हाडसँग कुरा गरिरहेकी – मान्छे अझै उम्रिएन अब म तँलाई मान्छे बनाउँछु । के तैंले चोरेर लगेको मुटु फिर्ता ल्याउन सक्छस् ? सक्छस् भने त्यही जोडेर तँलाई मान्छे बनाइदिन्छु । गधा थिइस् भने पनि एकफेर मान्छे भएर बिउँझी । दया माया गरेर बाँच्न कति रमाइलो हुन्छ ? हाड भएर मिल्किने हो ?
यिनको यो अवस्था आउला भनेर कसले सोचेको थियो र । कति राम्री थिइन् उनी । उनको रूप र हस्तकलाको बयान नगर्ने कोही थिएन । बाहिरकै राम्रो, बाहिरकै मीठो मान्दै नयाँ सपनामा भौतारिन छोरा नाति लागेपछि त्यो शान्त सुसम्पन्न घर परिवारको यो गति भयो ।
उनीहरूको कुरा सुन्दै उनको सौन्दर्यको छनक अझै केही बाँकी छ कि भनेर त्यस वृद्धाको अनुहारमा हेर्छ विनोद । फुस्स्रो, कान्तिहीन छ त्यो चेहरा । तर्सिएकी झैं भई कुक्रुक्क परेकी छिन् र हाडछाला मात्रको शरीरले मनुष्यको अस्तित्वबोध गराइरहेछ । जीवन गुजारा उनको अरूको घर–घर पसेर भइरहेछ । आफ्नो भन्ने सबै विलीन भएकोले उनले आफूलाई नै फ्याँकिदिएकी छिन् । उनको यो गतिले बौलाहीको नाम पाएको छ । मनको भावना पोख्ने कोही नपाएकोले एक्लै कुरा गरिरहन्छिन्, अनौठो कुरा जसको तुक मिल्न खोजे पनि व्यवहारमा विचित्रपन झल्किने हुँदा यिनी अलग छिन् अरूबाट । त्यसैले उनी सिल्लड मानिएकी छिन् ।
त्यस वृद्धालाई हेर्दाहेर्दै विनोदलाई के सोच आएछ कुन्नि, ऊ भन्न थाल्छ –‘निश्चय नै तपाई हाम्रो जननी हुनुहुन्छ । आफ्नो सन्तान, सुख, श्री, सौन्दर्य गुमाई तपाईंजस्तै अस्वस्थ अवस्थामा पुग्न गएको छ, हाम्रो देश पनि । हामी सबै मनुष्य हृदयको खोजीमा छौं । तपाईंजस्तै, आशा लिएका छौं, फर्कन्छ कि भनी ?’
शान्ति ! विकासको लागि पूर्वाधार ।