१) विचौलिया
कथाकार पुष्पज्वालाले न्यायाधीशले नजराना लिएर तस्कर र भ्रष्टाचारीहरूलाई मुद्दा जिताई दियो भन्ने भावको एउटा कथा फेसबुकमा पोस्ट गर्यो । धेरैले पढे त्यो कथा । भाइरल हुँदै जाँदा न्यायधीश वकिल तथा प्रहरीले पनि त्यो कथा पढे । वकिल ले मुद्दा हाल्यो ।
तपाईले मुद्दा हार्नु भो भने कथाकार ज्यू ! अदालतबाट सिधै जेल जानु पर्ने हुन्छ । जेल जानु भनेको तपाईको ईज्जतको मलामी जानु हो । कालो कोट कालै चश्मा धारी बिचौलियाले पेश्की सल्लाह दियो ।
अनि मैले के गर्नु पर्यो त बिचौलिया ज्यू ! कथाकार पुष्पज्वालाले आइस्क्रीम जस्तै चिसो स्वरमा सोध्यो ।
तपाई ईज्जतको धनी ब्यक्तित्व । तपाई को ईज्जत भन्दा पैसा ठुलो कुरो होईन । आफ्नो ईज्जत हेरेर केही नजराना दिनुस् , तपाई ले मुद्दा जित्नु हुनेछ ।
साहित्यकार भनेको सरश्र्वती वरद् पुत्र । ऊ सँग ईज्जत र स्वाभिमान हुन्छ तर पैसा हुँदैन बुझ्नु भो बिचौलिया ज्य ू! म जेल जान तयार छु । हेरौँ न ईज्जत कहाँबाट कसरि जाँदो रै’ छ । हामी जस्तै त होनि जेल जाने भनेको । मेरो लागि जेल जीवन वरदान हुनेछ । अँ…. बरू न्यायधिशको सम्पत्ति छानविन गर्ने निकाय हुन्छ कि हुन्न होला ? विचौलिया महोदय !
२) अनुभव
मौसम लागे पछि धोबिनी चरीले एउटा रूखको गुँडमा दुई वटा फुलहरू पारी । कालान्तरमा ती फुलहरूबाट चल्ला निस्के । धोबिनी चरी र धोबि चराले खोजी बिनी गरेर ल्याएका चारा ती चल्लाहरूलाई ख्वाऊँथे । समय बित्दै गएसँगै चल्लाहरूको प्वाँख पलायो । एक दिन चरीले चल्लाहरूलाई भनी “बाबु नानी हो ! तिमीहरू ठुला भयौ अब तिनीहरू हामी जस्तै उड़्न सिक्नु पर्छ । ल आऊ अब उड । चल्लाहरूले भने “आमा ! म त उड्न सक्दिन ।” आमा चरीले फकाउँदै फुल्याऊँदै चल्लाहरूलाई गुँडको छेऊसम्म ल्याईन् तर चल्लाहरू उड्न मानेनन् र आमा चरीले भनिन् “ठिकै छ तिमीहरू उड्न मान्दैनौ भने तिमीहरूलाई उडाउने तरिका मलाई थाहा छ । भोकले धेरै कुरा गर्न सिकाउँछ भनेर गइन् । केही बेर पछि चारा खोजेर ल्याईन् र चल्लाहरूलाई देखाउँदै चारा गुँडबाट तल खसालि दिइन् । चारा टिप्ने लोभमा चल्लाहरू पनि हामफाले । हामफाल्दा पखेटाहरू फटफटाउन थाले र पछि उडे । उड़ान भर्न जाने पछि ती चल्लाहरू बाबु आमाको गुँडमा फर्केर आएनन् । चल्लाहरू उडेर गएको धेरै समयसम्म फर्केर नआउँदा धोबिनी चरी रून थालिन् । चरी रोएको देखेर चराले सम्झाउँदै भन्यो “हेर बुढी ! हामी पनि कुनै दिन हाम्रा बाबा आमाको गुँड छोडेर आएका हौँ । हामीले जे गर्छौ हाम्रा भुराहरूले त्यही गर्छन् त्यसैले रूनु बेकार हो, नरोऊ । तिमी मेरो लागि म तिम्रो लागि ।
३) हैसीयत
मौसम लागे पछि एउटा बोटमा फूल फुल्यो । फूलबाट फलमा रूपांतरण हुँदै गयो । आफ्नो भरिपूणर् बैंस चढेको उन्मादमा एक दिन फल र फूलले गफ हाँक्यो ।
हेर फल ! हामीलाई देखेर प्राणीहरू खुशी भई नाच्छन् गाउँछन् । हामी नै बोट बिरूवाको पहिचान हौँ । हामीलाई सबैले सम्मान गर्छन् ।
फूलले मस्किदै भन्यो । पातले सही थाप्यो ।
हो त हकि फूल ! हामी नहुने हो भने हाँगा काण्ड र जरालाई कसले चिन्छ र । अनि बंश बृद्धि गर्ने पनि हामी नै हौं । त्यही भएर हामी सबै भन्दा माथी छौँ । ………….. फलले पनि मच्चिदै धक्कु लगायो ।
पात अनि फल र फूलको यो चुरिफुरि सुनिरहेको हाँगा अनि काण्डलाई झोक चल्यो र जरालाई खुसुक्क भन्यो …… “सुनि बक्श्यो जरा महोदय! हजुरको महानता चटक्कै बिर्सेका यिनीहरूलाई यिनको हैसियत चिनाई दिनु पर्यो । हाम्रै बुई चढेर शिखरमा पुग्ने अनि हामीलाई नै हैसियत नभएको भन्ने । हजुरको हैसियत के हो भन्ने सबक सिकाई दिनु पर्यो ।“
तिमीहरू उत्तेजित नहोऊ ! यी टुप्पोबाट पलाएकाहरूको गफ यस्तै उत्ताउलो हुने गर्छ । एक दिन यिनीहरूले आफै सबक सिक्ने छन् । तिमीहरू संयमित बन ।……… जराले शालिनता पुर्बक हाँगा र काण्डलाई थुम्थम्यायो । नभन्दै हुरीबताससँगै पानी दर्केर पर्यो ।
फल फूल र पातहरू रून्चे अनुहार लिएर भुईंमा पसारो परेका थिए ।