हिमालयन आर्ट फेस्टिभलको छैंठो संस्करण २०२३ नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । ई–आर्ट्स नेपालले आयोजना गर्ने सो प्रदर्शनी सन् २०१७ देखि निरन्तर रूपमा हरेक वर्ष आयोजना गर्दै आइरहेको छ ।
नेपाली वरिष्ठ कलाकारहरू देखि वर्तमानका पुस्ताका कलाकारहरूको कामलाई प्रदर्शनीमा राखिएको छ । कलाकारहरू कृष्ण मानन्धर, किरण मानन्धर, शशिकला तिवारी, उमा शङ्कर शाह, सीमा शाह, गोपाल कला प्रेमी श्रेष्ठ, आशा डङ्गोल, एरिना ताम्राकार, भाइराज महर्जन, प्रदीप बज्राचार्य, प्रमीला बज्राचार्य, विनोद प्रधान, जुपिटर प्रधान, विधाता के.सी, मनिष श्रेष्ठ, रागिनी उपाध्याय, सँगी श्रेष्ठ, मिना कायस्थ, राजन काफ्ले, सागर मानन्धर, उजय बज्राचार्य, सरिता डङ्गोल, नूरा श्रेष्ठ, रवीन्द्र श्रेष्ठ, नरेश सैंजू, सौर गङ्गा दर्शनधारी, रोशन प्रधान , पृथ्वी श्रेष्ठ, मुकेश श्रेष्ठ, ईशान परियार, सविता डङ्गोल, जश्मिन राजभण्डारी, सम्झना राजभण्डारी, कुन्ती श्री थापा मगर, मुना भडेल लगायत कलाकारहरूको कलाकृति एउटै थलोमा हेर्न सकिन्छ । चित्रकलाका साथै मूर्तिकला, इन्स्टलेसन आर्ट, इचिङ्ग , प्रिन्ट मेकिङ्ग तथा परम्परागत पौभा कला आदि समावेश सो महोत्सवमा ८० जना कलाकारहरूका कलाकृति एकै थलोमा अवलोकन गर्न सकिन्छ ।
प्रदर्शनीमा अर्को विशेषता भनेको अग्रजलाई दिइने विशेष स्थान हो । हरेक वर्ष एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई प्रदर्शनी गरिन्छ । जहाँ सो कलाकारको बायोग्राफी देखि उनको पुराना, नयाँ कलाहरुको एकै पटक अवलोकन गर्ने सकिन्छ । जुन सन् २०१९ देखि गर्दै आइरहेका छ । यस पटक वरिष्ठ कलाकार तथा मूर्तिकार प्राध्यापक गोविन्दनारायण ज्यापुका कलाकृतिलाई विशेष स्थान दिएको छ र साथै उद्घाटनकै दिन ‘ज्यापु’ लाई कला व्यक्तिको रूपमा सम्मान गरिएको छ ।
हिमाल, पहाड, तराईका कलाकारहरूको सहभागिता यस प्रदर्शनीमा रहेको छ । महिला कलाकारहरुको समेत उल्लेख्य सहभागिता रहेको कुरा यस प्रदर्शनीमा सहभागी अर्की कलाकार तथा ई–आर्ट्स नेपालका सह—संस्थापक एरिना ताम्राकारले बताए ।
यस पटक विभिन्न कला संस्थाहरू र कलाका सबैजसो विधाहरू महोत्सवमा समेटिएका छन् । कला महोत्सवले कला र कलाकारहरूमा उत्साह र जाँगर जगाउने बताउँदै अग्रज कलाकार हरिप्रसाद शर्माले यस्ता गतिविधिहरू भइरहनुपर्ने बताए ।