अस्ट्रियन कलाकारद्वय मारिआना डे मेओ र रोमन मारिया मुल्लरले ललितपुरको पाटन दरबार स्वाक्यरमा ‘प्यान्टोमाइम’ प्रदर्शन गरेका छन् ।प्यान्टोमाइम रंगमञ्चीय प्रस्तुति हो । यसमा कलाकारको अनुहारको भाव र शारीरिक हाउभाउमार्फत कथा प्रस्तुत गर्छन् ।
पाटन दरबार स्क्वायरस्थित पाटन म्युजियममा कार्यक्रम आयोजना गरिएको हो । कला र संस्कृतिको माध्यमबाट नेपाल र अस्ट्रियाबीचको आपसी समझदारीलाई बलियो बनाउने उद्देश्यले नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावासले उक्त कार्यक्रम आयोजना गरेको हो ।
यस्ता कार्यक्रमले एकअर्काको साँस्कृतिक पहिचानबारे ज्ञान बढाउन महत्वपूर्ण भूमिका खेल्ने र नेपालसँगको मित्रताप्रति मित्रराष्ट्र अस्ट्रियाको प्रतिबद्धता झल्काउने नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठले बताए । मनकामना केबलकार र नेपालकालागि अस्ट्रियाको अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठको सहयोग रहेको कार्यक्रममा नयाँ दिल्लीस्थित अस्ट्रियन राजदूतावास अन्तर्गतको अस्ट्रियन कल्चरल फोरमका डाइरेक्टर माइकल पल र उनकी श्रीमती इरेना पल पनि सहभागी थिए ।