अनेसास जापानको आयोजनमा २०९ औँ भानु जयन्ती तथा संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर टोकियोमा साहित्यिक समारोह सम्पन्न भएको छ।
अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता तथा टोकियोस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अम्बिका जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लामो समयदेखि जापानमा रहेर कर्म गरिरहनुभएका तीन स्रष्टाका छुट्टाछुट्टै विधाका तीन पुस्तक विमोचन तथा पुस्तकमाथि विमर्श गरिएको थियो।
शरद पोख्रेलको कवितासङ्ग्रह ‘मरुभूमिमा डुङ्गा’ माथि अमृत ढकालले टिप्पणी राख्नुभएको थियो भने प्रदीप थापाकृत ‘अक्षरारम्भ’ माथि वेद काफ्लेको टिप्पणी रहेको थियो। त्यस्तै गरी हरिश कल्पितको कथासङ्ग्रह ‘ग्याब्रिएले’ माथि गृष्मा पौड्यालले आफ्नो विचार राख्नुभएको थियो।
कार्यक्रममा अनेसास केन्द्रले गर्ने वालतारा कार्यक्रमकि विजेता जेनिसा थापालाई नगद पुरस्कार र प्रमाणपत्र तथा विमोचित पुस्तकका लेखक तथा समीक्षकहरूलाई प्रशंसापत्र तथा मायाको चिनो अर्पण गरिएको थियो।
संस्थाका सचिवद्वय अनिल कुमार निर्दोष र राजेन्द्र पैडेलले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका सदस्य केबी पारखीले आमन्त्रित पाहुनाहरूका लागि स्वागत मन्तव्य राख्नुभएको थियो भने संस्थाका अध्यक्ष रविन शर्माबाट कार्यक्रममा उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दै विमोचित भएका पुस्तकहरूको सफलताको शुभकामना व्यक्त गर्दै कार्यक्रमको समापन। गरिएको थियो।