अग्रज चित्रकार हरिप्रसाद शर्माका तैल र पानी रङबाट निर्मित चित्रहरूको विशेष प्रदर्शनी ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ नेपाल आर्ट काउन्सिल, बबरमहलमा जारी छ ।
८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो । उमेरजन्य कारणले गर्दा चित्रकार शर्मा कुनै कुनै बेला मात्र प्रदर्शनी स्थलमा आउने गर्छन् ।
गत जेठ ९ गतेदेखि सुरु भएको उक्त प्रदर्शनीमा चित्रकार शर्माका ६० वटा चित्र प्रदर्शित छन् । जसले नेपालको इतिहास, संस्कृति र जनजीवनलाई समेटेको छ ।
चित्रकार शर्माका चित्रहरूमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन् । उनका चित्रहरू यथार्थवादी त लाग्छन् नै, त्यसमा ऐतिहासिकता पनि प्रष्टसँग समेटिएको भेटिन्छ ।
चित्रकार शर्माका विभिन्न चित्रहरू समेटिएर एउटा पुस्तक प्रकाशित भएको छ ‘नेपाल डाउन द एजेज’ (युगौँदेखिको नेपाल : नेपाली इतिहास, संस्कृति र जीवनका झलकहरू) । यसभित्र प्रस्तुत इतिहास, संस्कृति र जनजीवन सम्बद्ध चित्रहरूको अंग्रेजी, नेपाली र नेपाल भाषामा व्याख्या गरिएको छ ।
जेठ १७ गते शनिबारसम्म प्रदर्शन हुने ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’लाई नेपाल सम्पदा संघले आयोजन गरेको हो ।
प्रदर्शनीमा चित्रहरूसँगै उनले काम गर्ने क्यानभास, रङहरू, र अन्य सामग्रीहरू पनि प्रदर्शनमा राखिएको छ, जसले दर्शकलाई कलाकारको सिर्जनात्मक प्रक्रिया बुझ्न थप सहज बनाउँछ।
यो प्रदर्शनी केवल एक कलाप्रेमीको लागि हैन, एक इतिहास–सरोकारवालाको लागि पनि अनमोल अवसर हो—नेपाललाई चित्रमार्फत बुझ्ने अद्भुत यात्रा।