२०६० साल बैशाख २७ गतेको पारिजात स्मृति सभामा स्वागत भाषण गर्दै वरिष्ठ कलाकार एवं पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष रायनले विद्वत वर्गलाई पारिजातका कृतिहरु पढिदिन र विक्रेताहरुलाई पारिजातका विक्री भएका पुस्तकहरुको रकम चुक्ता गरिदिन आग्रह गर्नुभएको थियो । पारिजात आफ्नो समयको सशक्त नेपाली लेखकहरु मध्ये एक हुनुहुन्छ । वहाँको लेखन यौटै विधामा मात्र सीमित रहेन वहाँले उपन्यास, कथा, कविता, फुटकर लेखहरु, आत्मसंस्मरण तथा गीतहरु लेख्नुभएको छ । वहाँका थुप्रै कृतिहरु प्रकाशित छन् । वि.सं. २०५४ सालमै निर्माण प्रकाशन सिक्किमले पारिजातका सम्पूर्ण रचनाहरुलाई छ ग्रन्थमा प्रकाशित गरी उक्त संस्थाले नेपाली साहित्यलाई नै ठूलो गुन लगाएको थियो । पारिजातका रचनाहरु नेपाली भाषाका अतिरिक्त अंग्रेजी, ग्रीक, फ्रेन्च र आसामी भाषामा पनि प्रकाशित भएका छन् । यसरी विविध विधामा कलम चलाउन सफल, सशक्त लेखिका पारिजात विविध भाषीहरुको माझ पनि पुग्न सफल हुनु भएको छ र यो क्रम जारी छ । यसको अतिरिक्त आफ्नो जीवनयात्रा, लेखन र प्रतिवद्धताको कारण वहाँ नेपाली लेखकहरुमध्ये बढी चर्चित पनि हुनहुन्छ । यसले गर्दा नेपाली प्रबुद्ध वर्गले निरन्तर रुपमा पारिजातलाई पढ्न र बुझ्न जरुरी भएको छ । उल्लिखित विशेषताहरुको अतिरिक्त, पारिजातका कृतिहरु विश्वविद्यालयको पाठ्यक्रम अन्तर्गत पढाई हुने र पारिजातमाथि शोधहरु समेत गरिने हुँदा पारिजातका कृतिहरुको बजार ‘नराम्रो’ नभएको कारण प्रकाशकहरु मात्र नभएर वितरकहरु पनि पारिजातका कृतिहरुको पछि लाग्ने गरेका छन् । यति हुँदाहँदै पनि कलाकार रायनले विक्रेताहरुलाई विक्री वापतको रकम चुक्ता गरिदिन सार्वजनिक रुपमै गरेको आग्रह चाहिँ अलि मार्मिक नै थियो ।
अहिले पनि चलेका पाठ्यपुस्तकका लेखकबाहेक र केही अपवाद बाहेक चलेकै साहित्यकारका पुस्तकहरुको विक्रीबाट प्राप्त हुने रकम वा लेखकस्वको अवस्थामा खासै सुधार भएजस्तो लाग्दैन । वि.सं. २०४४ तिर वेदना साहित्यिक पत्रिकाको कार्यकारी–सम्पादक भएर काम गर्दा मैले पनि राम्ररी भोगेको समस्या थियो त्यो । पत्रिका सजिलै लिने र पत्रिकाको पैसा लिन जाँदा भने पसलमा पुरुष बसेको भए ‘दाई अहिले हुनुहुन्न’ र महिला बसेको भए ‘वहाँअहिले हुनुहुन्न’ भन्ने गरिन्थ्यो । न त नबिकेका भनेर पत्रिकाका बाँकी रहेका अंकहरु फिर्ता पाइन्थ्यो न त बिकेका पत्रिकाको पैसा नै ।
वि.सं. २०५० सालमा पारिजातको निधन भएपछि पारिजात स्मृति केन्द्र स्थापना भयो । त्यसपछि पारिजातका रचनाहरुको व्यवस्थापन गर्ने अभिभारा पनि केन्द्रमा नै आइलाग्यो । पारिजातका पुस्तकहरु छाप्ने, बेच्ने र त्यसबाट प्राप्त हुने रकमले स्मृति केन्द्रका खर्चहरु धान्नु परेको थियो । वि.सं. २०५४ सालमा निर्माण प्रकाशन, सिक्किमले पारिजातका सम्पूर्ण रचनाहरुलाई छ ग्रन्थमा समावेश गरेर प्रकाशन गर्यो र त्यसका ५०० प्रतिहरु स्मृति केन्द्रलाई सहयोगस्वरुप प्रदान गर्यो । त्यसको विक्रीबाट प्राप्त हुने रकम पनि स्मृति केन्द्रलाई नै हुने भयो । पारिजातका संकलित रचनाहरु विक्रीको लागि विक्रेताहरुले लैजानु स्वाभाविकै थियो । साधारण पसलेदेखि लिएर आफुलाई पारिजातकै बाटोमा हिँडेको ठान्ने प्राध्यापकहरुकै संलग्नतामा खोलिएका पसलहरुले समेत पारिजातका संकलित रचनाहरु विक्रीका लागि लगे तर विक्री वापत दिनुपर्ने रकम दिन भने मन गरेनन् । अक्षलोक प्रकाशनका सिद्धिश्वरमान श्रेष्ठ (कोभिड–१९ को कारण दिवंगत) पनि त्यो दु:खबाट मुक्त हुनुहुँदो रहेनछ । एकदिन वहाँले भन्नुभएको थियो –‘अक्षलोकका प्रकाशनहरु बेचेर पैसा नदिनेको भीडमा ‘प्रतिष्ठित’ व्यक्तिहरुद्वारा सञ्चालित पसलहरु पनि छन् ।’ पारिजात स्मृति केन्द्रले पनि ‘प्रतिष्ठित’ पसलेहरुबाट पनि पैसा प्राप्त गर्न सकेको थिएन ।
उल्लिखित अवस्थामा अहिले पनि सुधार आएको छैन । यद्यपि ठूला प्रकाशकहरु र चल्तीका लेखकहरुको संख्या बढेको देखिन्छ । साहित्यिक कृतिहरु देशभित्र र देशबाहिरबाट पनि उल्लेखनीय संख्यामा प्रकाशित भएको जानकारी सामाजिक सञ्जालहरुबाट पाइन्छ । साहित्यप्रति चाख बढ्नु र धेरैभन्दा धेरै कृतिहरु प्रकाशनमा आउनुलाई राम्रो नै मान्नु पर्दछ । तर साहित्यिक प्रकाशनहरुको अवस्था भने केही अपवादहरुलाई छोडेर राम्रो छैन । सृजनाको विधामा कविता सबभन्दा धेरै लेखिने र छापिनेमा पर्छ होला । कवितासङ्ग्रह त किनेर पढ्ने पुस्तकमा विरलै पर्छ जस्तो लाग्छ । अहिले नियात्रासंग्रह र आत्मसंस्मरणहरु पनि प्रशस्त प्रकाशित हुन थालेको छ तर कति लेखकका कृतिहरु प्रकाशकले आग्रह गरेर छाप्छन् होला र कति लेखकले त्यस्ता कृतिहरुको विक्रीबाट सन्तोषजनक लेखकस्व पाउलान् ? भरपर्दा अध्ययनहरुको र भरपर्दा स्पष्टोक्तिहरुको खाँचो भएजस्तो लाग्छ । लेखक वा प्रकाशकले विक्रेताहरुलाई कमसेकम पसलमा प्रचारकै लागि भएपनि आफ्नो प्रकाशित कृति झुण्डाइदिनको निमित्त आग्रह गर्ने अवस्था पनि छ । त्यस्तोमा उल्टै वितरकले पुस्तक प्रदर्शन गरिदिएवापत पैसा मागेमा के हुन्छ ? थाहा छैन आखिर खुला बजार त माग र आपूर्तिको अर्थशास्त्र बमोजिम नै चल्ने त होला नि ? समाजवाद उन्मुख राजनैतिक पार्र्टीले दुईतिहाई बहुमत सहितको सरकार चलाउँदा पनि नेपालको बजार प्रणालीले कुनै फरक महसुस गरे जस्तो लाग्दैन । कम्युनिष्ट पार्टीहरु देखिने गरी सत्ता र शक्तिको वरिपरि रहेको अवस्थामा समेत प्रगतिशील लेखक कलाकारहरुका सृजनाहरुले र प्रगतिशील खेमाका साहित्यिक पत्रपत्रिकाहरुलेसमेत पुस्तक वा पत्रिका छापेको खर्च उठाउन सक्ने अवस्था बन्न सकेको छैन । यो दु:खलाग्दो कुरा भएतापनि वास्तविकता यहि हो । साहित्यिक रचना प्रकाशित गरेवापत गोरखापत्र संस्थान जस्ता केही संस्था बाहेक अन्यबाट पारिश्रमिक पाउने अवस्था नबनेको मात्र होइन त्यस्तो अवस्था बन्ला भन्नेतर्फ सोच्ने आधार पनि देखिँदैन । आफ्ना रचना प्रकाशित गरिदिएवापत उल्टै धन्यवाद दिनुपर्ने अवस्था छ ।
सिद्धान्त र विचारको आधारमा चल्ने प्रगतिशील (अझै प्रगतिवादी) खेमालाई प्रतिनिधित्व गर्ने साहित्यिक पत्रिकाहरुको विक्री पनि खुला बजार अर्थप्रणाली अर्थात् माग र आपूर्तिको अवस्थाले नै निर्देशित गरिरहेको छ । प्रश्न गम्भीर हुन सक्छ, जिम्मेवार भएर सोच्ने हो भने के प्रगतिशील पत्रिका पढ्ने एक हजार नेपाली साहित्यकार साँस्कृतिक कर्मीहरु पनि नभएको हो ? फेरि साहित्य र संस्कृतिलाई प्रतिनिधित्व गर्ने प्रगतिवादी क्षेत्रका ठूला आकारका थुप्रै साहित्यिक साँस्कृतिक संघसंस्थाहरु राजनैतिक पार्टीका भातृ संस्थाको रुपमा अस्तित्वमा रहेकै छन् । त्यस बाहेक ‘बुद्धिजीवी’ संघसंस्थाहरुका चहल पहल पनि देखिएकै छ । तर, पुस्तक र पत्रपत्रिकाहरु विक्रीवितरणको यस्तो हालत किन ?
कुरा पहिलेकै हो, वेदना नाम चलेको र प्रतिष्ठित पत्रिका थियो र पढ्न चाहनेहरुको संख्या देशभरि नै थियो तर वेदनाको एक हजार प्रति वितरण गर्न पनि सधैं मुस्किल पथ्र्यो । वितरकहरु (पसले)लाई दिँदा खुशी साथ लिने तर विक्री नभएको पत्रिका फिर्ता पनि नगर्ने र बिक्री भएको भनेर पैसा पनि नदिने । धेरै गाह्रोसँग, कहिलेकाहीँ चाहिँ अलिकति पाइन्थ्यो । त्यसरी साहित्यिक पत्रिका निकाल्न ज्यादै कठिन भइरहेकोले राजनैतिक पार्टीका एक जिम्मेवार नेतासँग यो कुरा राखेपछि, पार्टी संयन्त्रले सात सयप्रति वेदना वितरण गर्न सहजीकरण गर्ने र त्यसरी विक्री गरेको रकम सोही संयन्त्रबाटै पाउने व्यवस्था गर्ने सहमति भयो । त्यसो गर्दा पढ्नुपर्ने पाठकसम्म पत्रिका पनि पुग्ने र त्यसको विक्रीको पैसा पनि भरपर्दो तरिकाबाट पत्रिकासम्म आउने । त्यसले पत्रिकाको नियमित प्रकाशनलाई समेत सहज बनाउने भयो । त्यस सहमतिपछि छापिएको वेदनाको सात सय प्रति पत्रिका पार्टीको संयन्त्रमा बुझाइयो तर त्यसको बिक्री वापतको रकम भने कुनै संयन्त्रबाट आएन । वेदनाका पछिल्ला अंकहरु निकाल्नै हम्मे हम्मे परेको थियो । सिद्धान्त र विचारको आधारमा चलेको अनुशासित पार्टीहरुको नजिक रहेर प्रकाशित हुने प्रगतिवादी खेमाका पत्रपत्रिकाहरुको अवस्था समेत सहज थिएन र अहिले पनि छ जस्तो लाग्दैन । यस्तोमा अन्य साहित्यिक पत्रपत्रिकाहरु नियमित रुपमा प्रकाशित गरिरहेका प्रकाशक सम्पादकहरुलाई नेपाली साहित्यलाई माया गर्ने जोकोहीले पनि नमन गर्नै पर्छ ।
दायित्व वाङ्मय प्रतिष्ठानको २३ औं वार्षिकोत्सव (२४ बैशाख २०७९) मा दायित्व वाङ्मय सम्मान २०७९ ग्रहण गरेपश्चात् आफ्नो मन्तव्य राख्ने क्रममा साहित्यकार युवराज मैनालीले अहिलेको नेपाली साहित्यले आफ्नो कुनै प्रभाव छोड्न र कुनै उल्लेखनीय स्थान बनाउन नसकेको कुरा उठाउनु भयो । ‘लेखक मात्र जन्मिएका छन् अहिले – खै त पाठक ?’ भन्ने प्रश्न गर्दै वहाँले ‘पाठकलाई पो सम्मान गर्ने हो कि ?’ भन्दै ‘पाठकलाई नै सम्मान गरौं, पाठकलाई नै पुरस्कृत गरौं’ समेत भन्नु भयो । यस्तो दु:खेसो पोख्नुपर्ने अवस्थामा छन् आजका लेखकहरु । पाठक नभएको समयमा प्रकाशक र वितरकहरुले कसलाई कसरी बेच्छन् पुस्तकहरु ? लेखकहरुले पनि सोच्नुपर्ने देखिन्छ – के लेखिरहेका छौं ? र कस्का लागि लेखिरहेका छौं ? प्रगतिवादी लेखन, प्रकाशन र बजार प्रणाली त केही फरक देखिनुपर्ने हो तर त्यसो हुनसकेको छैन । पूँजीवादी प्रकाशन र बजार प्रणालीभित्रै रुमल्लिएको पाइन्छ । पार्टीको छायाँमा पर्न नसकेका लेखक–कलाकारहरु पहिचान गुमाउने अवस्थामा छन् । लेखक छन्, पाठक र बजार छैनन् । अवस्था उत्साहजनक देखिदैन ।
२०६० सालको पारिजात स्मृति सभामा कलाकार रायनले विक्रेताहरुलाई पैसा भुक्तानी गरिदिन आग्रह गरे लगत्तै म भृकुटीमण्डपभित्र चलिरहेको सातौं नेपाल शैक्षिक एवं पुस्तक मेलामा गएको थिएँ । त्यहाँका पुस्तकका स्टलहरु हेर्दै जाँदा यौटा स्टलमा गएर मेरो आँखा टक्क अडियो । त्यो स्टलमा पारिजातका संकलित रचनाहरु पनि विक्री गरिरहेको देखियो । बर्षौदेखि पारिजातका कृतिहरु बेच्दै आएका तर भुक्तानी दिन कहिल्यै ‘आज’ नहुने ‘भोलि’ भन्दै आएका विक्रेताहरु देखेर एकाएक मेरो मनमा प्रश्न उठ्यो यसरी पुस्तक बेच्ने अधिकार पनि विक्रेताहरुलाई हुन्छ र ? के साहित्य र संस्कृतिको बारेमा ब्याख्यान दिन पनि नचुक्ने शालिन प्रकाशक विक्रेताहरुलाई नैतिकता र लाजले पिरोल्दैन ?