छोरीले पापा मागी
उसले हातमा नुनको ढिको राखिदियो
आमाले ओखती मागिन्
उसले हातमा नुनको ढिको राखिदियो
छोराले भोक लाग्यो भन्यो
उसले पानीमा नुन घोलेर दियो
यसरी सबैलाई नुन बाँडदा बाँड्दै
एक दिन ऊ आफैँ नुन भयो ।
आकाशको निधारमा पिलपिल गर्ने
आकाश दीपजस्ता उसका मधुर आँखाबाट
चाहे तप्प तप्प खसोस् जून
त्यो पनि नुन बन्छ ।
सधैँ मुटुमा नुनको रिदम बोकेर हिँडिरहेछ ऊ
तर कति अलिनो छ यहाँको वातावरण !
उसले नुन दिन सकेन भने
बदलामा दिनुपर्छ
नुनिलो आँसु या पसिना
अब त पुरानो भइसक्यो
आँसु र पसिनाको स्वाद पनि
कसरी थाहा भयो बहुराष्ट्रिय कम्पनी,
मेनपावर र चोकमा भर्खर खुलेको
डिपार्टमेन्टल स्टोरसम्मलाई कि
उसको मासु पनि नुनिलो छ !
र लाग्छ उसलाई
उसको शरीरमा गुजुल्टिएका नसाजस्तै
बाङ्गाटिङ्गा स्टक एक्सचेन्जका रेखा पनि
उसैको भान्छाको नुनले कोरिएका हुन् ।
संसारका नयाँ वैज्ञानिकहरु थापिरहेका छन् पाशो
व्याधा जस्तो राजनीति छेकिरहेछ गौँडा
बजारशास्त्रले गरिरहेछ तर्क –
कि एउटा मानिसबाट कसरी उत्सर्जन गराउन सकिन्छ
बढी भन्दा बढी सोडियम क्लोराइड ?
उसका लागि त संविधान र कानुनभन्दा पनि
बहुमूल्य हो नुन त्यसैले
संसारभरि छरिएको नुनलाई
मुछेर एउटै डल्लोमा
ऊ बनाउन चाहन्छ नयाँ ग्लोब र
गरिबको आँटोमा मिसिन चाहन्छ
यो देशका शासकलाई भने
नुनको एउटा मात्रै उपयोगिता थाहा छ
तिनीहरुका लागि नुन भनेको
गरिबको घाउमा छर्ने साधन मात्रै हो
तर तिनलाई थाहा छैन कि
जनताको घाउ पनि नुन हो
र ओखती पनि नुनै …. ।