आज आँखा खुल्दा
एउटा नयाँ स्पर्शको
मलाई अनुभव भयो
धेरै बेरसम्म
त्यसै पल्टिएर
आफ्नै मनसित
संवाद गरिरहें
ठीक छ
समस्याहरू छन्
असफलता र असन्तुष्टिहरू छन्
तर किन विचलित हुने?
माथि पुग्न सकिएन त के भयो?
मभन्दा तल पनि त धेरै छन्
केही राम्रो गर्न सकिएन त के भयो?
नराम्रो पनि त केही गरिएन
जेभयो त्यो दुःखद थियो
तर त्यो भन्दा खराब
पनि त हुनसक्थ्यो
जिन्दगीको दौडमा
पुरस्कृत नभएर के
भाग लिनु पनि त ठूलो कुरा हो !
जीवनको संग्राममा
विजय हासिल नगरेर के
हार नखानु पनि त ठूलो कुरा हो
यो के कम छ
बाँच्ने कुनै आधार नहुँदा पनि
चारैतिरबाट दुःख संकटले घेर्दा पनि
मैले आफूलाई बचाइ राखेँ
जस्तै विपरित परिस्थितिमा पनि
भित्रको दियोलाई निभ्न दिइँन
कि यति धेरै आँधी झन्झावात्लाई पार गरेर
यहाँसम्म आइपुगेँ
कि यति धेरै बाधा व्यवधानको
सामना गरेर
यहाँसम्म पुग्न सकेँ
र आज नयाँ वर्षको पहिलो घामको
मैले स्पर्श गर्न पाएँ !
र आज नयाँ वर्षको
यो स्निग्ध हावामा
मैले सास फेर्न पाएँ !
त्यसैले म भन्छु
किन आज कुण्ठाको
निराशाको मात्र कुरा गर्ने?
किन आँखा चिम्लेर
खालि अँध्यारो मात्र सोच्ने?
के थाहा यो वर्ष
आज सुरू भएको यो वर्ष
हामी नेपालीले
वर्षौवर्षौदेखि प्रतीक्षा गरेको
त्यही सुनौलो
त्यही ऐतिहासिक
नयाँ वर्ष पनि त
हुनसक्छ !!