कति कति धुनहरु यहाँ मैले सुनेँ
कति कति स्वरहरु यहाँ मैले सुनेँ
तर ती भन्दा ज्यादै राम्रा
हाम्रै सारङ्गीका धुनहरु भै दिन्छन्
थुप्रै ठिटाहरु सारङ्गी बोकेर वरिपरि उभिन्छन्
प्रत्येकको धुनबाट भोको पेटको कहानी बताउँछन्
प्रत्येकको धुनबाट चिसो श्वास तन्कन्छन्
कति कति खोलाहरु नाघी म शहरबाट टाढा भएँ
कति कति डाँडाहरु उकलँदै म गाउँघर आएँ
प्रत्येक स्वर सारङ्गीमा
विश्वास र विवशता पोखेको पाएँ
“राम्घीमा पुल छैन
लाएको माया म कैले भुल्दिन”
कति कति आँखाहरु देखेँ
बजाउने सारङ्गीको आँखा रोएकै पाएँ
कति कति कथाहरु सुनेँ
बजाउने सारङ्गीको कथा गुम्सिएकै पाएँ
कति कति धुनहरु सुनेँ
सारङ्गी सधैँ रोएकै पाएँ
मुटुभित्र कता कता दुखिरहने व्यथा दिए
एकनासले गुञ्जिरहेको सारङ्गीले
मेटेर नसमिने व्यथा दिए ।