काठमाडौँ जिल्ला शिक्षा कार्यालयमा त्यस बेला कार्यरत एक जना सहायक जि.शि.अ. मेरो अनन्य मित्र पशुपति कर्माचार्यसँग अनायासै काठमाडौँमा भेट भयो । मेरा दुखेसाका विवरणहरू उक्त मित्रलाई सुनाएपछि उहाँकै सक्रियता र मित्रवत् व्यवहारबाट मैले काठमाडौँको एउटा तथा कथित इङ्लिस स्कुलमा काम गरेको सम्झना छ । प्रिन्सिपलकै सहयोगी र शिक्षकका रूपमा त्यस विद्यालयमा मलाई काम लगाइयो । काभ्रे जिल्लाका दुर्गम गाउँमा शिक्षक भई विद्यालय, विद्यार्थी, समाजकै लागि केही गरिरहने एक जना म गाउँले शिक्षक अनायासै कल्पना नै नगरेको इङ्लिस स्कुल, काठमाडौँमा बाध्यताले शिक्षण सेवा गरेको याद आइरहन्छ । गाउँले शोषण र सहरिया शोषणकै रङ्ग निकै अन्तर र फरक भएका स्वरूपहरू हेर्न पाइयो ।
काठमाडौँको एउटा तथाकथित अङ्ग्रेजी स्कुल । गाउँबाट सहर पुग्न बाध्य बनाइएका म एक जना बबुरो मास्टर । प्रिन्सिपल मापाकी रहिछ । चुरीफुरी हेरि नसक्नु छ । सुकिला लुगा लगाएका ओठमा लिपस्टिक दलेर आधुनिकताका बखान गर्ने उक्त प्रिन्सिपलको स्वभाव प्रत्यक्ष अनुभव गरियो । निकै रमाइला–रमाइला प्रसङ्गहरू भोगियो । साँच्ची भन्ने हो भने बोर्डिङ स्कुलका निकै मसिना–मसिना घिनलाग्दा प्रसङ्गहरू पनि बोर्डिङ स्कुलमा भोगियो सभ्यता पनि ठाउँ, परिवेशअनुसार फरक हुँदो रहेछ । सहरको सभ्यता कस्तो हुँदो रहेछ; उक्त बोर्डिङ स्कुलमा बाध्यतावश देख्न पाएको सम्झना झलझली आइरहन्छ । ठग सभ्यता, फट्याइँ र ढाँटकै एउटा रूप सहरमा शिक्षक भएर जाँदा हेर्न पाइयो अर्थात् भोग्न पाइयो ।
स्वाभिमानमा जीवन गुजारेर गाउँबाट लखेटिएको म । अनाथ गाउँले शिक्षक सहरको रङिन आव हवामा कृत्रिम सभ्यताका पर्खालभित्र थुनिएको कैदीजस्तो भई उक्त विद्यालयमा बाँच्न बाध्य भएँ । व्यवहार एउटा बोली अर्कै, बाहिर एक किसिमको रूप, भित्र अर्कै किसिमको स्वभाव र रूप हेर्दा सभ्यजस्तो तर भोग्दै जाँदा यहाँका तथाकथित स्वरूपहरूजस्तै कुरूप स्वरूप काम गर्दै जाँदा भोग्न पाएँ । प्रिन्सिपलधारी महिला व्यवहारमा भोग्दै जाँदा देखियो निकै घृणित अनुहार शोषणका डरलाग्दा प्रतिरूप । शोषणको विरोधी म । उल्टै शोषणका डरलाग्दा रूपहरू हेर्नुपर्ने, मार्क्सवादका ठेली पढ्दै गरेको म .. अनायास शोषणको माखे साग्लो देख्नुपर्ने, भाग्नुपर्ने बाध्यताले मभित्र विद्रोहका हुङ्कारहरू थाहै नपाईकन विस्फोटन हुन खोजेको स्थिति थियो । निकै दुःखले काम गरियो उक्त बोर्डिङ स्कुलमा । प्रिन्सिपल म्याडमको त म निकै सस्तो भरियाजस्तो पो बनाउन खोजेको रहेछ, पछि पो थाहा पाइयो । प्रिन्सिपलज्यूको नामबाट कविता लेखिदिने, होस्टेलमा ट्युसन पढाउने, छात्रावास कुर्ने, हिसाब राख्ने, चिठ्ठी पत्र लेख्ने आदि देखि विद्यालय र प्रिन्सिपलका लागि जे पनि गरिदिने सस्तो बहादुर सेनापति झैं म थिएँ त्यसताका ।
लगभग ६ महिना जति त्यस तथाकथित बोर्डिङ स्कुलमा काम गर्दा निकै कष्टप्रद क्षणहरू भोगियो । निकै काला कर्तुतहरू देखियो । डरलाग्दा स्वभावहरू भोगियो र ममा थाहै नपाईकन प्रिन्सिपलका विरोधमा विद्रोहका भावनाहरू मानसपटलमा हुर्कियो । मेरो पनि स्वभाव बदलियो प्रिन्सिपलप्रतिको हेराइमा । त्यसै गरी प्रिन्सिपलज्यूको रवैया पनि परिवर्तन हुँदै गएको देखियो । एक दिन म विद्यालयको अफिसमा बसेर राइजिङ्ग नेपाल पढ्दै थिएँ, प्रिन्सिपल महोदय काली मुखमा पीडा र छटपटी बोकेर हुर्रिएर कार्यालय कोठाभित्र पस्नु भयो र आफ्नो कुर्सीमा विराजमान हुनुभयो तर मसँग बोल्नु भएन । मनमनमा घृणालाई एक ठाउँमा राखेर मैले पनि प्रिन्सिपललाई वास्ता गरिनँ । उत्निखेर नै सहायक प्रिन्सिपल मिसले इशाराको आधारमा मलाई एउटा पुर्जी बुझ्न लगाइयो । पुर्जीमा लेखेको रहेछ तपाईँको सेवा आवश्यक नरहेको भनेर ! पुर्जी बुझिसकेपछि शोषण र मनपरितन्त्रको विरोधमा आक्रोशको पीडादायी अभिव्यक्तिहरू ओकलेँ । शोषणका विरोधमा बोल्दा, न्यायका निम्ति कराउँदा यस्तै नियति भोग्नुपर्दो रहेछ; मैले पनि त जीवनमा भोगेँ । उक्त भलाद्मी स्कुलबाट पराजित भएर म जीवनका कठिन बाटाहरू पार गर्दै जान दिवास्वप्न बोकेर यात्रा क्रममा निस्केँ । ममाथि भएको अन्याय र अत्याचारको विरोधमा ठाउँ–ठाउँमा न्यायका लागि भिख माग्दै हिँडेँ । तर न्याय कसले दिने खोइ ? अन्धा र अपाङ्गजस्तै बनाएका लुरे÷लुत्ते न्यायमूर्तिहरू हेरेर हामी न्यायकै लागि चिच्याइरहनु पर्ने यहाँको वास्तविकता हेरेर छक्क परिरहनु पर्छ । जिल्ला शिक्षा अधिकारीको कार्यालय धाइयो, क्षेत्रीय निर्देशनालयमा सुनुवाइका लागि गइयो । बिन्ती लागेन– धम्कीपूर्ण गुनासाहरू पोखेपछि बल्ल अर्को बोर्डिङ स्कुल पठाउने आश्वासन प्राप्त भयो र केही दिनपछि काठमाडौँको अर्को एउटा बोर्डिङ स्कुलमा नियुक्ति दियो । शोषणका रुपहरु मात्र फरक हुँदा रहेछन् । अन्याय र कर्तुतका छापहरू भिन्नाभिन्नै खालका हुँदा रहेछन्, तर जहीँतहीँ त्यस्तै रितहरू सञ्चालित रहेछन्; बिस्तारै बल्ल बुझ्न थालेँ । नक्साल, पानी पोखरी, चपली, थानकोट, जहाँ पनि त मान्छेहरू नै बस्दा रहेछन् । त्यसैले त मान्छेका स्वभावहरू देख्नु र भोग्नुपर्ने बाध्यता हामीले भोगिरहनु पर्छ । यहाँ पनि भोगियो । प्रिन्सिपलका मन परेका शिक्षक÷शिक्षिकाहरू प्रति र अन्य शिक्षकहरू प्रतिको व्यवहारमा धेरै कुरामा सहुलियत र व्यवहारमा फरक पर्दै गएको कारणले यहाँ पनि गुट–गुटमा शिक्षकहरु विभाजित भयो; म पनि प्रिन्सिपल विरुद्धको न्याय खातिरको खोजीमा लाग्ने समूहमा सामेल भयौँ । केही महिनापछि जि सिअकै सक्रियतामा हामी प्रिन्सिपलका विरोधी शिक्षकहरूलाई तितरबितर गर्ने काम भयो । मलाई त्यहाँबाट चपली हात्तिगौंडा तर्फ लखेटियो ।
उक्त विद्यालयका प्रिन्सिपल पञ्चका दलाल शिक्षक रहेकै कारणले त्यहाँ पनि मलाई शान्तिले बस्न दिएनन् । स्पष्ट आफ्नो कुरा राखिहाल्ने, चाकडी गर्ने स्वभावै नभएको, शक्तिसँग सम्झौता र झुक्न नजानेको कारणले मलाई खाँटी कम्युनिस्ट सम्झिदिँदा रहेछन् तथाकथित पञ्चका दलालहरू । भए÷नभएको फतुर लगाएर मलाई कम्युनिस्टका नेताका रूपमा चित्रण गरेर उजुरी हालेको बुझियो । र उक्त उजुरीको विरुद्धमा हामी शिक्षहरुले आवाज उठाउँदा त्यहाँबाट मलाई थानकोटतर्फ लखेटियो । सङ्घर्ष र लखेटालखेटमा पर्दै गयौँ । काभ्रेमा जस्तै काठमाडौँमा पनि शिक्षण सेवामा पनि शान्तिले बस्न दिएनन् । स्वाभिमानी रहेरै निमावि शिक्षकमा स्थायी शिक्षकका रूपमा गर्दा–गर्दै स्कुल सेवामा वितृष्णा बढ्यो । निमावि स्थायी शिक्षकका रूपमा २०३४ असारमा थानकोटमा शिक्षक भई गएको मलाई सम्झना छ । तर त्यहाँ प्र आफैँ फर्जी भएर चेक फर्जी गरेर रकम निकालेर हामी शिक्षकहरूलाई फर्जीमा पार्न षड्यन्त्र गरेको घटनाले आफैँ शिक्षकहरू मिलेर प्रधानाध्यापकलाई लखेट्दै लगेको र थानकोट चौकीमा शरण लिन गएकोमा हाम्रो कुरा सुनेर प्रअलाई थुनुवामा राख्न दिएको घटना झलझली सम्झना आइरहन्छ । यस घटनापछि २०३५ असोजमा उक्त विद्यालयमा निमित्त प्र भई सेवा गरेको स्मरण आइरहन्छ । काभ्रेबाट लखेटिएर गएको मलाई काठमाडौँमा पनि सुखले बस्न दिएनन् ।
जीवनमा कुनै अर्को क्षेत्रमा काम गर्ने वा जागिर खाने इच्छा भएन । किनभने मैले ठम्याएअनुसार शिक्षण पेसा साँच्चीकै स्वतन्त्र र स्वाभिमान पेसाकै रूपमा मैले स्वीकारेको थिएँ तर सोचे अनुसारको भएन । यस क्षेत्रमा पनि शोषणका अनगिन्ती रूपहरू रहेछन्, यस क्षेत्रमा पनि ज्यादतीका अनेकौँ स्वरूपहरू छन् । लगभग ५ वर्ष जति काठमाडौँको विभिन्न विद्यालयहरूमा काम गरेँ तर मैले त्यस्तै नियति र अवस्थाकै विरुद्धमा लड्नु प¥यो । स्वाभिमानको लडाइँमा सबै खालका सामन्ती शोषकहरूले लखेटेको लखेट्यै ग¥यो ।
काठमाडौँमा ५ वर्षको मेरो शिक्षण सेवामा निकै अप्ठ्यारा व्यवहारहरू भोग्नु प¥यो । कामको सक्रियता र खटनलाई हेरेर पुग्दो तलब दिने आश्वासन पाएको तर कामअनुसार दाम नपाएको, अनावश्यक रूपमा प्रशासकहरूको दबाब र हेपाइ खप्नुपर्ने बाध्यता सिर्जना गरेका प्रसङ्गहरू बिर्सि नसक्नु छ । तर आफूले असन्तोषमा कुकृत्य विरुद्ध धावा बोल्दा जाली प्रधानाध्यापकहरुले जालमा फसाउन खोजेको, पञ्चहरूको राजनीतिको आधारमा विद्यालय चलाउन खोज्ने प्रधानाध्यापकले अनावश्यक निहुँ थापी कम्युनिस्ट भनी लखेट्न जालझेल रचेको आदि व्यवहारहरू काठमाडौँमा शिक्षण सेवा गर्दा भोगिएका भोगाइहरू हुन् । यस्ता खालका थुप्रै भोगाइहरू र कष्टप्रद क्षणहरू शिक्षक छँदा भोगेको हुँ । मेरा जीवनका प्रसङ्गहरू क्रमशः राख्दै जाने छु ।
शिक्षण सेवा हो; पछि पेसाजस्तै बन्दै गएको हो । पहिले–पहिले शिक्षा अन्तर्गतका विद्यालयका शिक्षक हुनु भनेको घाटामा जीवनलाई रम्न दिनु हो जस्तै थियो । शिक्षकहरूले राष्ट्रिय रुपमा उठाएको आफ्नो आन्दोलनले कर्मचारीसरह आफूहरूले पनि सहुलियत लिन सफल भए । तर शिक्षण सेवाका भावना मेटिँदै गयो र शिक्षणलाई पनि पेसाकै रूपमा व्यवसायजस्तो मानिने परम्पराको सुरुवात भयो । शिक्षक पीडित वर्ग हो, शिक्षण सेवामा रम्नु भनेको घाटामा जीवन व्यहोर्नु हो भन्ने मान्यतामा रहँदा–रहँदै पनि धेरै शिक्षकहरू शिक्षण गर्दागर्दै राजनीतिमा ओर्लन सफल मात्र भएनन् – धेरैजसो राजनीतिमा संलग्न शिक्षकहरू सांसद, जिविस सदस्य भई आफूलाई सफल राजनीतिज्ञको रूपमा पनि देखाइदिएका थुप्रै उदाहरणहरू छन् । त्यस्तै खालका कर्ममा हुर्किँदै आएका शिक्षकहरू आज पनि पेसा गर्दागर्दै राजनीति गर्न सफल भएका मात्र होइन धेरैजसो राजनीतिक पार्टीका आँखा पनि यिनीहरूमा नै व्याप्त छन् । त्यसैले शिक्षण कार्यमा राजनीति हुने गर्दछ ।