कवितामा आफ्नै सचेतना व्यक्त गर्न सफल कवि अनिल श्रेष्ठले आफ्नो साहित्यिक यात्रा मार्फत आफूलाई राष्ट्रमा चिनाउन सफल छन् । निःस्वार्थता मनमा भरेर कुदिरहनेहरूले यात्रामा सिद्धि प्राप्त गर्दछन्; यस्तो भन्ने गर्छन् । यस्तै शुद्ध मन बोकेर साहित्य–पथमा यिनी अर्थात् अनिल लागिरहेको देखिन्छ । आँबुखैरेनी मुग्लिङबाट केही पर गोरखा जाने बाटोमा आफ्नो नयाँ स्फूर्ति देखाएर आफूलाई चिनाउन खोजिरहेको भूगोल हो । त्यही भूगोलमा साहित्य र वाङ्मयका अक्षर र वाणीलाई सम्प्रेषण गर्नका लागि इमानदारिता देखाइरहेका एउटा सुशील मान्छेको नाम हो अनिल श्रेष्ठ । जनमतको यात्रामा यिनले मलाई भरपर्दो सहयोग पुर्याइदिएर ‘जनमत’ को साहित्यिक मुहारमा हिस्सी थपिदिने सुन्दर कार्य गरिरहेका छन् । निरन्तर लागिरहेर साहित्यमा आफ्नो पहिचान देखाउँदै आएका यिनले यही २०८१ साल जेठ २५ र २६ गते आँबुखैरेनीमा आउन आमन्त्रण गरे । आँबुखैरेनी स्रष्टा समाजको नामबाट पत्रमा यिनले अनुरोध गरे — “जेठ २६ गते शनिवार विविध साहित्यिक कार्यक्रमहरू सहित सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता ग्रहण गरिदिन निमन्त्रणा गर्दछौँ ।” अनिलजीलाई वचन दिएँ; गर्मीको परवाह नगरी आँबुखैरेनी जाने भयौँ ।
काभ्रेका साहित्यिक मित्रहरू राम सुन्दर देउजा र हरिप्रसाद चौलागाईंसँग भएर आँबुखैरेनीमा जाने भयौँ । एउटा गाडी रु.९,५००।– सम्ममा गयौँ । ठाउँ–ठाउँमा बाटो विस्तार गर्दै रहेकोले धुलोको फुर्ती हेर्दै, जेठको घामको अचाक्ली तातो भोग्दै हामीहरू गुडिरह्यौँ । राजाराम गुरुजीले मुग्लिङमा चिया खाने हाम्रो इच्छालाई साकार पारी दिन मोटर रोके । कतै जाममा पर्नुपरेन, प्रकृतिको प्रकोप पनि भोग्नु परेन, कुनै किसिमका अप्ठ्यारा देख्नु परेन । ठिक २ः१५ तिर आँबुखैरेनी चोकमा गाडी रोकिदिए । गाडी फकाई दियौँ र हामी आँबुखैरेनीको नयाँ बजारको पेटीमा अनिललाई पर्खिँदै ग¥यौं । उहाँले टेम्पु मिलाई दिए र उक्त टेम्पुमा बसेर हामीहरू .‘माई छिम्केस्वरी पार्टी प्यालेस’ मा पुग्यौँ । एकान्त रमाइलो देखिने गरी बनाइएको उक्त पार्टी प्यालेसभित्रको परिसरमा सभा–कक्ष, बस्नका लागि ठुलो घर, पोखरी, बगैँचा, पार्किङ, किचेन हललगायत सबै थोकको व्यवस्था मिलाइएको एकान्तको सुन्दर घर बसौँ–बसौं जस्तो लाग्दो घरको परिसरमा पुग्यौँ ।
हामीभन्दा पहिले न नै पुगि सक्न भएका डा. जीवन जीवन्त, डा. शान्तिमाया गिरी, डा. अशोक थापा र डा. अम्बिका अर्यालसँग भेटघाट भयो र परिचय ग¥यौँ । सबैको हात–हातमा २०८१ वैशाखको जनमत थम्याई दियौं । डा. शान्तिमाया गिरी जनमतका आजीवन ग्राहक पुरानो चिनजान भइसकेका साहित्यकार हुनुहुन्छ । तीन जना विविध विषय र क्षेत्रका डाक्टर साहेबहरूसँग नयाँ सम्पर्क भयो, नाम र फोन नम्बर टिप्यौँ । जनमतसँग कोही अनभिज्ञ रहेनछन् । डा. अशोक थापाले त खुसी भएर ‘२०५८’ सालतिर नै मेरो लेख जनमतमा छाप्न पाएकोले मेरो रचना छाप्दाको इतिहासमा लेख्दा मेरो पहिलो रचना प्रकाशित भएको पत्रिका ‘जनमत’ हो भन्नुभयो । आजै ५ः०० बजे जीवन जीवन्तको उपन्यास कृति ‘चरैवति’ मा पुस्तक विमर्श कार्यक्रमको तयारीका लागि उहाँहरू अलिक चाँडै आउनुभएको रहेछ । मलाई पनि खुसी लाग्यो — नयाँ मित्रहरू बनाउन पाइयो ।
५ः०० बजे भनिए तापनि ठिक ६ः०० बजे कार्यक्रम सुरु भयो । सहजकर्ता अशोक थापा रहनुभएको उक्त संवाद कार्यक्रममा शान्तिमाया गिरी र अर्जुनकुमार ढकाललाई वक्ताका रूपमा राखिएको थियो । उपन्यासकार जीवन जीवन्तको उपन्यास लेखनबारे, विषयवस्तुको चयनबारे पनि आफ्नो धारणा राख्नुभएको उक्त कार्यक्रममा अशोक थापाले आफूलाई सफल प्रस्तोताका रूपमा प्रस्तुत गर्नुभयो । शान्तिमाया र अर्जुनकुमारले आफ्नो बौद्धिकता देखाउन सफल हुनुभयो । ठिक समयमा सुरु भएर ठिक समयमा कार्यक्रम सम्पन्न भएको उक्त संवाद ध्यानपूर्वक मन दिएर सुन्न पायौँ । पटक्कै दिक्क लागेन । संवाद कार्यक्रम मपछि केही जेष्ठ देखिँदा कविहरू कविता वाचनमा देखा परे । सबैजसोले आधुनिक प्रविधि अँगालेर मोवाइलमार्फत् कविता वाचन गर्न खोज्दा–खोज्दै अकमकिने र समय त्यसै–त्यसै खेर जाने खालको दृश्य देख्दा लेखन परम्परालाई जबरजस्ती तोड्न नहुने मेरो विचार यहाँ लाद्न मन गरेँ । जागरण देखियो — आँबुखैरेनीको आजको कार्यक्रममा सर्वसाधारण देखि साहित्यकारहरु सहित गाउँपालिकाका अध्यक्ष शुक्र चुमान पनि इच्छा साहित्यमा खन्याउनुभई पछिसम्म कार्यक्रममा रहनुभएको देखियो । पहिलो दिनको उपन्यास संवाद र केही कविहरूको कविता वाचनले आँबुखैरेनीको साहित्यिक अनुहारमा ऊर्जा थपिएको देखियो ।
भोलिपल्ट ‘ऐना परिसर’ को नाममा बन्दै गरेको सृजनात्मक थलो हेर्न जाने टुङ्गो लगाइए अनुसार ठाउँ–ठाउँका साहित्यिक मित्रहरू सँगसँगै भएर हिँड्न थाल्यौँ । ८ः३० बजिसकेर घामले आफ्नो कडापन देखाउन सुरु गर्न थालेकोले र खुट्टाको कमजोर स्थिति मनमा राखेर उकालो नचढ्ने भएँ । चितवनका साहित्यिक मित्र रमेश प्रभात पनि खुट्टाको कमजोरीले डाँडो नचढ्ने हुनुभयो । रमेशजी र मलाई केही क्षण भए पनि मन साटासाट गर्ने मौका मिल्यो । भूइँकटहर देख्यौँ र काट्न लगाई एक–एक प्लेट चाख्यौँ । एक जना मित्रले हाम्रो परिचय खोज्नुभयो र हामी परिचित भयौँ । उहाँ हुनुहुन्छ मनाङका साहित्यिक मित्र नवीन लामिछाने (अंकुर) । जनमतको यात्रा बतायौँ र सम्भव भए ‘मनाङ साहित्य विशेष’ को तयारी गर्न अनुरोध ग¥यौँ । हामी एक–अर्कामा परिचय साटासाट गर्दा–गर्दै माथि ‘ऐना परिसर’ उक्लिनेहरू सबै तल झर्न थाले । हामी पनि फर्कने सुरमा लाग्यौँ । हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व शिव हरी नेपाल (वैरागी) को गाडीबाट फर्किने माणिक रत्न शाक्यले अनुरोध भएअनुसार त्यही गाडीबाट फर्किने भयौँ । कलाकृति समेत समेटिएर बनाउन लागेको उक्त परिसर भोलिका लागि आँबुखैरेनीकै मुहारजस्तो देखिने हुन्छ भन्ने कुरा मनमा राखेर हामी गाडीबाट फक्र्यौं ।
हामी बसेकै होटेल परिसर भित्र नै सबै थोकको व्यवस्थापन रहेकोले हामीलाई केही पनि गा¥हो भएन । ठिक समयमा खाना खाएर ११ः३० बजेतिर सभा कक्षभित्र पुग्यौँ । मञ्चमा कोही नराख्ने । प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू सबै मेचहरूमा स्तर टाँसिएकोले आ–आफ्नो स्तर अनुसार मेच खोज्दै बस्ने व्यवस्था मिलाइएको परिपाटी नयाँ लागेको मात्र होइन अनुकरण गर्नलायकको देखियो । अतिथिहरू सबै आ–आफ्नो सिटमा बसे । र ठिक १२ः०० बजे कार्यक्रम सुरु भयो । संस्थाका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा म, विशिष्ट अतिथिमा आँबुखैरेनी गाउँपालिकाका प्रमुख शुक्र चुमान, हास्यव्यङ्ग्यकार तथा फिट्कौलीका सम्पादक नरनाथ लुइँटेल, डा. अम्बिका अर्याल रहनुभएको कार्यक्रममा अतिथिहरूमा डा. जीवन जीवन्त, डा. शान्तिमाया गिरी, डा. अशोक थापा, नरेन्द्र थापा, रमेश प्रभात, भीम रानाभाट, हरिप्रसाद चौलगाईं, राम सुन्दर देउजा, जनार्दन दाहाल, आकाश अधिकारी, दिवाकर भट्टराई, मोदनाथ मरहट्ठालगायत सत्तरीभन्दा बढी साहित्यकार, पत्रकार, शिक्षक, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।
सम्मानित हुनेहरूमा साहित्यिक पुरस्कार अन्तर्गत ‘आँबुखैरेनी वाङ्मय पुरस्कार’ कवि गौरी दाहाल (देवकोटा), ‘इन्द्रासन हास्यव्यङ्ग्य पुरस्कार’ शिवहरि नेपाल (वैरागी), समाजसेवा सम्मान‘कृष्णदास चेतकुमारी पुरस्कार’ डोलबहादुर थापालाई प्रदान गरिएको थियो । उत्कृष्ट विद्यार्थीका रूपमा यस माया थापा, मेलिना भट्ट, ओममाया थापा मगर, उषा थापा मगर सबै सम्मानितहरूलाई प्रमुख अतिथिका हैसियतले सम्मान पत्र दिन लगाए, खुसी साथ दिन पाएँ । कार्यक्रममा अनिल श्रेष्ठलगायत समाजका मित्रहरूले देखाइएको जाँगरलाई प्रणाम गर्दै साहित्य सेवा गर्नु भनेको जाँगर र सङ्कल्पले गर्ने सेवा हो । साहित्यकारहरू विभाजित हुनुहुँदैन, राजनीति गोटी चालमा परेर कसैको झोले बन्नुहुँदैन । साहित्य सिर्जना गर्नु भनेको त्याग, तपस्या र भावनाले हो । कसैले देला र कसैसँग लिउँला को आस गरेर साहित्यिक अभियान चलाउनु हुँदैन । देश, बहुसङ्ख्यक जनता र समाजकै प्रगतिका लागि साहित्य सिर्जना गर्नु हो … आदि÷आदि मनभित्रका कुराहरू पोख्यौँ । कार्यक्रम अबेरसम्म सुरु भयो ।
आँबुखैरेनीमा पुगेर जनमतको स्पर्श बाँड्न पायौँ । सबै साहित्यकारहरूको हात–हातमा जनमत राख्न पायौँ । आँबुखैरेनीले साहित्यिक जागरणमा, साहित्यिक अभियानमा र साहित्यिक सिर्जनामा आफ्नोपन देखाउन सुरु कसेको छ । अनिल श्रेष्ठको नेतृत्वमा जाँगरका स्फूर्तिहरू छन्, आँबुखैरेनीको भूमि सिर्जना र साहित्यका लागि उर्वर–भूमि देखिँदा छन् । यस वर्षमा भएका उपन्यास–संवाद, सम्मान र कविता पढ्ने जाँगरले बताइरहेको छ आँबुखैरेनीमा पनि साहित्यिक तृष्णा छ, जुन तृष्णा राष्ट्रकै लागि पनि आवश्यक छ । कवि अनिल श्रेष्ठ र गाउँपालिका प्रमुख शुक्र चुमान होष्टेहैंसे गर्दै वाङ्मयमा रमाइरहन सकुन् । खुल्ला दिलले भएको सहयोग सदुपयोग होस् — मलाई भन्न मन लाग्यो आँबुखैरेनी साहित्यिक अभियानमा निरन्तर लागिरहन सकोस् ।