जीवन भोग्नेहरू जो कोहीले पनि आफू सुहाउँदा जीवन संगीहरू खोज्दा रहेछन् । मैले पनि जीवन भोगेँ – यात्राका अनगिन्ती आयामहरू नापेँ त्यसैले त मैले पनि जीवन–सँगिनी खोज्ने धुनमा लागेँ । युवावस्थामा अलिक आफू संकोची, लजालु स्वभावको भएकै कारणले आफैले जीवन संगिनी खोज्ने क्रम मिलाउन जानिएन । मनमनमा राखेँ सुलोचना, पदमा, यमुना यस्तै–यस्तै थुप्रै नामहरू । यी नामहरू मनको मनभित्रै रह्यो । जीवन संगिनी बनाउने मेरा सोच भित्रका यी नामहरू कल्पनामा मात्र सीमित भयो मान्छेको जिजीविषा कस्तो हुनुपर्छ ? मान्छेको यात्रा कस्तो बनाउने ? म आफू कस्तो हुने ? यी आदि सोचहरू पूर्ति गर्न सबैले आफू मिल्दो सोचका सङ्गिनीहरूको खोज गर्नुपर्छ । अन्यथा यात्राहरू रमणीय हुँदैन । सामाजिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्नका लागि, सृजनशील कार्यक्रममा निरन्तर लागिरहन सक्नको लागि, मानव सम्बन्धमा रोचकता थप्नका लागि जीवन सङ्गिनीहरूको भूमिका घरका लागि उल्लेख्य मापक हुन् ।
म आफू पनि यस्तै खालका सोच बोकेर जीवन सङ्गिनीको खोजमा भौतारिंदा भौतारिंदै धेरै खालका बिम्बहरू मनमा कल्पेँ । विद्यालयमा पढ्दा एक खालको बिम्बले चिमोटिरह्यो । क्याम्पसतिर अध्ययनरत छदा अर्कै ढङ्गका प्रतिबिम्बले चिमोटी दियो । राजनीति, समाजसेवा र साहित्यमा मन दिन पाउँदा एक खालको बिम्ब बन्यो कल्पना र धारणाको । धेरै किसिमको कोणमार्फत जीवनलाई नियाल्न पाएकै कारणले धेरै खालका सँगिनी बिम्बहरू सजिन आए । कल्पनामा बिम्ब जन्मिन्छन् । कल्पनामा नै ‘बिम्ब’को मृत्यु भएको अनेकौँ उदाहरणहरू छन् । यस्तै–यस्तै कल्पनाभित्रका अनेकौँ हाँगाबिँगाहरू नै त हुन् – मान्छ भित्रका जिजीविषाका पट–दृश्यहरू । मभित्रका यस्तै खालका कल्पनाले मलाई मान्छे बनाउने दुस्साहस गरे ।
म मान्छे बन्न प्रयत्नरत छु । जीवनमा अनेकौँ घाम–पानी, असिना–बर्षाद , भू–कम्प, मन–कम्पका धड्कनहरू, स्पर्शहरू, तरङ्गहरू भोग्दै आज म यस खालको आकारमा आएको छु । जीवन भनेको नै यस्तै भोगाई का स्पन्दनहरू हुन । म पनि जीवन भोग्दै छु । हिजो पनि जीवन भोग्दै आए, आज पनि जीवन भोगिरहेछु । भोग्नुको नाम नै हो – जीवन । भोग्न नसक्नेहरू हार खान्छन्, भोग्न सक्नेहरूले नै जीवनको सार्थकता पाउँछन् । जीवन आफैले बनाउने हो, जीवनका रेखाहरू खिच्ने आफैले हो – कुन बाटो र कहाँ पुग्ने यात्रा तय आफैले गर्ने हो । भोग्दै, सिक्दै, गर्दै बढ्नु हो – जीवन । जीवनसँग आत्मसात् गर्ने भनेकै यस्तै–यस्तै अर्थमा कुँड्ने हो ।
माथिका तरङ्गहरूमा जीवन घोल्दै मैले ४५ औँ वर्ष जीवन गुजारेको मलाई याद छ । मेरा यात्रा मेरो मनभित्रको तरङ्गकै तजबिज बन्यो । हन्डर खाएँ । अप्ठ्यारो सोचेँ । ढलमलिंदै यात्राका क्रमहरू गुजारेँ । राम्रो सोच्दासोच्दै नराम्रो गर्नुपर्दाको अनुभूति कति पीडादायक हुँदो रहेछ भन्ने कुरा जीवनमा थुप्रै पटक भोगियो । सुन्दर मान्छेको सङ्गत गर्ने परिकल्पना मनमा राख्दाराख्दै कुसङ्गत पाएर अप्ठ्यारो काममा आफू मुछिँदाका दृश्य पटहरू आँखामा झल्झल्ती आइदिन्छन् । बस् मान्छे कहिलेकाहीँ त कति निम्छरो बन्दा रहेछन् । म आफू कहिलेकाहीँ यस्तै मान्छेहरू भोगेर हैरानी गुमाएको धेरै कथाहरू छन् ।
यात्रामा जीवन संगिनीको खोज पनि यस्तै सन्दर्भलाई मनमा राखेर भएको हो । खोज्दाखोज्दै आफ्नो बिम्बभित्र कोही रम्न आएनन् । त्यसैले ४५ वर्ष अगाडि मेरा एक जना मित्रले मेरा लागि एउटी जीवन सङ्गिनी खोजी दिएको प्रसङ्ग बिर्सन गाह्रो छ । निनु/इन्दिरा भएर यात्रामा मेरो बिम्ब खोज्न र चिन्न गएको ४५ वर्ष नाघिसकेको छ । पहिलोपल्टको देखादेखमा नै मोहनी लगाइदिएको त्यो क्षण मेरो मानसपटलमा मेट्न गाह्रो भइरहेछ । शालीन ढङ्गको मुहार, सरल खालको अनुहार, साधारण लवाइभित्रकी भारतीसँग प्रथम पटक अभिवादन साटासाट भएका क्षणहरू कति मनमोहक र प्रभावकारी रह्यो त्यो क्षणको सम्झना ४५ वर्षपछि पनि बिर्सन मन मानिरहेको छैन । प्रभाव पर्नु भनेको पनि अनौठो नै हुँदो रहेछ । एक बसाई मा त्यो पनि क्षणिक समयमा नै माया बस्दा रहेछन् मान्छेको मर्म–मनमा । उनी भारती र म मोहन भएर प्रेममा गाँस्न खोजको त्यो क्षण घामजस्तै मनोरम होला भनी मैले कल्पनासम्म गरेको थिइनँ । आज मायालाई घामझै न्यानो भोगिरहेछु ।
धेरै खालका दुःखहरू झेल्दै, सिर्जना, संरचना फुलाउँदै सचेतका मर्म र कर्ममा भुल्दै पासाङ्संग–संगै इरा र इथरको पनि माया बोकेर संरचनाकी न्यूयोमी आभा पनि हामीभित्र नै समाहित भएको छ । यात्रा पथमा हामी सँगसँगै कुदिरहेका छौँ । छोरी सिर्जनाले पनि जनमत साहित्य डटकम मार्फत साथ दिएकी छिन् र सन्तोष जुवाईसाहेब र नातिनी नूरले पनि हाम्रो यात्रामा साथ पुर्याइदिएका छन् । क्षणिक खालका अन्तर्विरोधमा कहिलेकाहीँ हामी रण भूलमा पर्यौँ होला तर समझदारीमा सम्झौता गर्न जानेका कारणले नै हामी कहिले पनि लामो खालको वैमनश्यतामा अल्झ्निु परेन । दुःख, अप्ठ्याराका अनेकौँ जन्जालहरू चिर्दै हामी यात्रामा आज पर्यन्त रमिरह्यौँ । योजना बन्छन्, दुबैका परिश्रम बग्छन् । सिर्जना रोप्न सफल भयौँ । संरचनालाई हुर्काउन लागिपरिरह्यौँ । यात्रामा हामी दुवै जना सचेत रहँदा रहँदै थुप्रै पटक अचेत रूपी मारहरू पनि हामीले सही रह्यौँ । सङ्कटमा साथ दिनेहरू महान् हुन् – अचेल सुख र प्रगतिको राप मात्र ताप्न खोज्नेहरू बग्रेल्ती रहेको यस समाजमा हामी दुवैको लागि दुःख/सुख बराबर बाँडेर जीवन–क्रम गुजारी रहेका छौँ । सुखमा मात्तिने, दुःखमा आत्तिने स्वभाव नभएकै कारणले यात्रा हाम्रो रमणीय रह्यो ।
राजनीतिक कार्यकर्ता छँदा उनीसङ आफ्नै पार्टीको सम्झेर विवाह भएको हो । विवाह गर्ने कर्म जुरेपछि तुरुन्तातुरुन्ती मिति मिलाएर विवाह गरेको भर्खरको घटना जस्तो लाग्छ । ४५ वर्ष बितेको यादै भएन । तिसौँ वर्षको समय गुजारेको थाहा पत्तो नै भएन । अनेकौँ खालका खराब प्रवृत्ति जुझेर मलाई सुन्दर मान्छे बनाउने अभियानमा उनी लागेको हिजोजस्तै लाग्यो । मैले गरेका अप्ठ्यारा कामहरूलाई उनले सच्याइदिए – मैले ‘खराब’ सोच बनाएर ‘खराब’ गर्न खोज्दा उनले खराबलाई खराब भन्दै ममा रहेको खराब मेट्न दिलोज्यानले आफूलाई लगाए । धेरै खालका घटनाक्रमहरू बिताइयो यिनीसँग । ‘भारती’ मेरा लागि ‘भार ती’ (भार राख) भन्दै मेरो भार बोक्न आएकी जीवन सँगिनीजस्तै लाग्यो मलाई । खराबलाई असल नभन्ने, असललाई सधैँ आत्मसात् गर्ने उनको बानी ब्यहोरा अत्यन्तै सरल र मनमोहक छन् ।
तृष्णा कहिले गरेनन् यिनले । लोभ मनमा झुन्ड्याएको थाहा छैन । आपत् दुःखसँग यिनी लत्रेनन् । धन, सुनको माया मोहमा यिनी फसेनन् । मलाई कवि बनाउन यिनले नै हो आफ्नो सुनको सिक्री दिएको । मैले त्यही सुनको सिक्री बेचेर कविताको किताब छापेको मलाई याद आइरहन्छ । कहिले फिर्ता मागेनन् यिनले आफ्नो सुनको सिक्री । कहिले आफूलाई यो चाहियो, त्यो चाहियो भनेनन् यिनले । काममा खटिरहन्छन् । परिवारको सुखमा यिनी हाँस्न रुचाउँछिन्, दुःखमा अक्कल खोप्छिन् । यस्तै–यस्तै थुप्रै विशेषताहरू नै यिनका आभूषणहरू हुन् ।
घरलाई स्वर्ग वा नरक बनाउने श्रीमतीहरूकै भूमिका प्रमुख र महत्त्वपूर्ण हुँदो रहेछन् । यिनले आफ्नो सक्रियतामा मेरो घर मात्र सुन्दर बनाइ दिएनन्, मलाई र छोरा छोरीहरूलाई पनि सार्थक बनाउन यिनले महत्त्वपूर्ण भूमिका खेलिरह्यो ।
भारतीले मेरो राजनीतिक जीवनमा पनि साथ दिएकै हुन । कहालीलाग्दो सङ्घर्षका बेला मलाई बचाउन र सबल बनाउन समर्थन गरेकै हुन् । मेरो सामाजिक क्रियाशीलतामा यिनले मुक्तकण्ठले तारिफ गरेकै हुन् । मेरा असल मित्रहरूका गुणहरू यिनले मनमा राखिदिएकै हुन् । साहित्यिक यात्रामा यिनले सकेको आफू दुःख पाएर पनि साथ दिएकै हुन् । जीवनमा भोग्दै आएका मेरा मर्मभित्रका परिच्छेदभित्रका उनी मेरा सुन्दर अनुकृत हुन् । मैले गर्दै आएका थुप्रै सुन्दर कार्यहरूमा मलाई बल थपिदिने यी कर्म मूर्तिलाई मैले मेरो यात्रामा अभिवादन गर्न नसक्दा म जत्तिको नीच मान्छे अरू हुने छैन जस्तो लागेर यी हरफहरू उनैलाई सम्झेर लेखिरहेछु ।
म उनीसङ मिलेर जनमतकै यात्रामा रम्न पाएको छु । ४० सौं वर्ष भयो उनकै सक्रिय सहयोगमा जनमतलाई राष्ट्रमा पुर्याउन पाएको । जनमत बोकेर यात्रामा निस्कँदा उनले पुर्याई दिएको सहयोगकै कारणले म जनमत मार्फत राष्ट्रमा चिनाउन पाइरहेछु । जनमतको उन्नति र प्रगतिमा उनले पुर्याएको योगदान नदेखिँदो तर महत्त्वपूर्ण छ । २०३९ सालमा विचार प्रधानका रूपमा प्रकाशित जनमतमा मात्र नभई जनमत साहित्यिक मासिकमा पनि हालसम्म उनले लिइदिएको चिन्ता, चासो, समर्पणको बखान गरेर साध्य छैन । जसले राम्रो गर्न आफूलाई समर्पण गर्छन् उनको प्रशंसा गर्न म कहिल्यै कन्जुस्याइँ गर्दिन । यिनको सदाशयतापूर्ण धारणा मप्रति नरहेको भए, मेरो सिर्जना अनुभूतिलाई यिनले मन नपराइदिएको भए मेरो यात्रा अवश्य धरमर–धरमर हुने थियो । म यात्रामा धरमर–धरमर हुनु परेन ।
श्रीमती अर्थात् जीवन संगिनीका साथ नपाउनेहरू आर्थिक रूपले सम्पन्न भएर पनि दुःखी छन्, बौद्धिक रूपले प्रख्यात रहेर पनि बदनाम छन् । अर्थात् धेरै थोक आफूसँग रहेर पनि अशान्तिमा मन बेचैन गरेर बाँच्छन् । आफूभित्र कलह भएपछि अर्थात् आफू सँगसँगै रमेर जीवन गुजार्नुपर्ने श्रीमान्/श्रीमतीबिचमा बेमेल बढेपछि जीवन अवश्य खल्लो–खल्लो महसुस हुन्छ । अभिनयमा मात्र बाच्नु पर्नेहरू साचो जीवनमा असफल हुन्छन् । म यात्रामा छु – जीवनका प्रसङ्गहरूमा माथि उल्लेख भएका कष्ट साध्य क्षणहरू मैले बोक्नु परेन । यस खालको मेरो भाग्य जुराइदिने कार्य मेरै जीवन संगिनीले गरिन् । म यस अर्थमा भाग्यमानी छु ।
४५ वर्ष पछि मेरो जीवनका प्रसङ्गभित्र एउटा अमूल्य क्षण प्राप्त भएको छ । उक्त क्षण जुराइदिने कार्यक्रम गरे सयपत्री प्रतिष्ठानले । सयपत्रीको माला पहिरेर जीवनसँगिनीसँग सम्मान हुने अवसर प्राप्त भएको यस सुखद क्षण मेरा निम्ति अविस्मरणीय अवसर भयो । मेरो कार्यक्षमतामा सक्रियता थपिदिएर मलाई बलशाली तुल्याइदिने मेरा अनन्य जीवन सँगिनी भारतीसँग स्वयंवर जस्तो कार्यक्रम गरेर हामी दुवै जनाको जुन सम्मान गर्यो, सयपत्री प्रतिष्ठानले । उक्त सुखद क्षण भुल्न गाह्रो भइरहेछ । सयपत्री प्रतिष्ठानको भित्री आँखाबाट भएको यो मूल्याङ्कन मेरो निम्ति ऐतिहासिक रह्यो । र साथै सिन्धुली वाङ्मय प्रतिष्ठान, सिन्धुली, गुगुल्डी वाङ्मय प्रतिष्ठान, महेन्द्रनगरमा पनि हामीलाई सँगसँगै सम्मान गरे । काठमाडौँमा पनि वासुदेव लुइँटेल पुरस्कार गुठी र अक्षलोक–सिद्धिश्वरमान स्मृति प्रतिष्ठानले हामी दुवैको सम्मान सँगसँगै गरेर जुन हौसला थपिदिनुभयो – यस्तै, यस्तै हौसलामा म गौरवपूर्ण ढङ्गले आफ्नो यात्रामा लागिरहेको छु ।