मेरो प्रारम्भिक शिक्षा, आजाद र मेरा सम्झनाहरु
आजाद मैले १० वर्ष बिताएको विद्यालयको नाउँ हो । म २००५ साल जेष्ठ २९ गते जन्मेको हँु; आजाद २००७ साल फूगुन २५ गते खुलेको हो । मभन्दा कान्छो रहेछ आजाद । तर मैले १० वर्षसम्म राम्ररी उनको सङ्गत गर्न पाएको हुँ । थुप्रै संस्मरण छन् आजादसँग मेरो । थुप्रै खालका तरङ्गहरूमा आजादसँग मैले मन साटासाट गर्न पाएको थिएँ । आजाद सम्झना राख्नासाथ मेरा बालमस्तिष्कमा अनेक प्रसङ्गहरू खुल्ने गर्छन् । मलाई २०१२ सालतिर मेरा साँहिलादाई हरिप्रसादले डोर्याउँदै, फकाउँदै आजादमा पुर्याइदिएको सम्झना छ । चण्डेश्वरी मन्दिरको प्राङ्गणमा रहेको पाटीमा विद्यालय टुहुरोजस्तो अवस्थामा छँदा म शिक्षा आर्जन गर्न त्यस विद्यालयमा पुगेको हुँ । मन नपराई–नपराईकन आजादको छहारीमा शिक्षा लिन पुगेको मलाई याद छ । सुकुलमा लहरै बस्नुपर्ने, पाटीमा लेख्नुपर्ने त्यसबेलाको पढाई अहिलेको सन्र्दभमा अनौठो र आश्चर्यलाग्दो छ । तर मैले त्यसरी नै ज्ञान आर्जन गरेको हुँ । मेरा त्यसताकाका धेरैजसो मित्रहरू आज बिर्सिसकें । कोही–कोही त्यसताकाका मित्रहरू मसँग पढेको कुरा सुनाउँछन् । लुकीलुकी गुच्चा खेल्दा राजेन्द्र सरले दिएको थपड मैले बिर्सन सकेको छैन । कक्षाकोठामा पढाइ हुँदाहुँदै भाषामा भक्तपुरे राग आएको प्रवचन सुनेर म हाँसिदिँदा भक्तपुरे सर अर्थात् केदारनाथ मास्के सरले पुरानो मेच भाँची मलाई लठ्ठीले हातमा चोट दिएको क्षण म झल्झली सम्झिरहन्छु । वीरेन्द्र राजा युवराज छँदा चण्डेश्वरी वनमा शिकार खेल्न आउँदा त्यहाँ हेर्न गएको थिएँ । सजायस्वरूप नेमलाल मुस्याचु सरबाट लठ्ठी हानेको पीडा अहिले पनि मनमा राखिरहेछु । पढाउँदा–पढाउँदै हामी कक्षामा अनुशासनमा नबसिदिँदा हरिकृष्ण सरले किताबले हिर्काएर गएको अनुहार आज पनि झल्झली सम्झिरहेछु । गंगाबहादुर सरले अंग्रेजी कण्ठ घोकाउँदाका क्षणहरू आज पनि म खोजिरहन्छु ।
चण्डेश्वरी पाटीमा पढ्दा नै हो विद्यालयबाट फर्किंदा घोकेचौरका खेतहरूबाट आलु चोरेर लगी शान्तिप्रकाश सैंजूको घरमा उसिनेर आलु खाएका प्रसङ्गहरू आज पनि मनमा राखिरहेछु । बालकृष्ण जस्पाउ, शिव कारंजितहरूसँग त्यसताका खेलेका राम्रा र नराम्रा पटाक्षेपहरू आज पनि नियालिरहेछु । यसैताकामा नै हुनुपर्छ शिक्षकहरू सबैजसोलाई अराष्ट्रिय तत्व भनेर श्री ५ को सरकारले अभियोग लगाई पक्रिदिँदा स्कूलमा केही क्षण पढ्न नपाएर अलारे हुनुपर्दा हाम्रो मन दुखेको क्षण आज पनि स्मरणमा राखेर गुनिरहेछु । हरिभक्त प्रधान, रामभक्त कोख श्रेष्ठ, आशाकाजी सेवक, ज्ञानकाजी मानन्धर, कृष्णप्रसाद दुवाल, विष्णुप्रसाद सेवाचार्यहरू त्यसताकाका बनेपाका शिक्षित व्यक्तिहरू सबै–सबैजसो आजादसँग सम्बन्धित छन् । अराष्ट्रिय तत्वमा दर्ता भएका क्षणहरू गुनेर आजादको अर्थ आज पनि खोजिरहन्छु । त्यसैताका नै हो स्वयंमसेवक शिक्षकहरू गिरीराज श्रेष्ठ, लक्ष्मणनरसिंह वादे श्रेष्ठ, रामभक्तश्रेष्ठ, भक्तपुरका मामा आई पढाएका क्षणहरू आज पनि म आँखाहरूमा राखेर सम्झिरहन्छु । गिरीराजसर दाजूको साथी पनि हुन् । गिरीसर माया त गर्नुुहुन्छ तर मायामा कालो धब्बा परेको कारणले आजसम्म पनि खराब बानी सिक्दाका कटु अनुभवहरूमा पीडा राखेर उनलाई नियालिरहेछु । बालकृष्ण जस्पाउ, लम्बोदर कायस्थहरूसँग म पनि मिसिदिएर गिरीराज सरलाई टिफिनमा रक्सी खान साथ दिनुपर्ने र हामीले पनि पिइदिनुपर्ने कटु अनुभवहरूको दुखेको घाउ आजसम्म पनि बिर्सिनसक्नु भइरहेछ । शिक्षकसँग खराब बानी सिकेको यही प्रसङ्गले शिक्षकहरू पनि खराब हुँदारहेछन् भनेर आज पनि मन दुखाइरहेछु । चण्डेश्वरीमा आजादछँदा यस्ता–यस्ता थुप्रै अनुभवहरू बटुलेको छु । आजाद चण्डेश्वरी पाटीमा राखेर आज पनि म आजाद सम्झनामा राखिरहेछु ।
त्यसताका विद्यालयको आफ्नै भवन नहँुदा मुसाले दुलो सारेजस्तै आजाद पनि आफ्नो दुलो सारिरहन्छ । यसै क्रममा भोलखाटोलस्थित कृष्णभक्त कायस्थकोे घरमा विद्यालयछँदा दु:ख–कष्टका कहरहरू काटेको क्षणहरूमा मन राखेर आजाद सम्झिरहेछु । रूद्रनाथ शर्मा, जगन्नाथ गुरूहरूबाट हुने संस्कृतको घोकाइमा राम रामौ रामा: प्रथमा सम्झिरहन्छु । भरत शमशेर, मृगेन्द्र शमशेरहरू बनेपा आउँदा र उनीहरूले झींगु छें सुपौ छें को उद्घोष गराउँदै बनेपामा चुनाव प्रचार गराउन आउँदा यी सोझा बूढा गुरूहरूलाई मेचबाट लडाउँदै राणाहरू हेर्न कक्षाकोठाबाट भाग्दाका क्षणहरू आज पनि म गुनिरहन्छु । । पियनभुईंचा गाठाका सेवाका कुराहरू, राजेन्द्र सरका अनुशासनका प्रसङ्गहरू, पूर्णमान सरका मर्महरू, आइ.एस्सी सरका चड्कनहरू, दामोदर सरका चिमोट्याइहरू आजसम्म पनि भुल्न गार्हो परेका प्रसङ्गहरू मनमा राखिरहेछु ।
आजाद बहिटोलमा पनि केही क्षण सरेको सम्झना छ, त्यहाँ पनि पढेको हुँ । पछि आजाद पुन: चण्डेश्वरीमा सर्यो । सर्दै–सर्दै गरेर आजादले पछि ठाउँ मिलायो । हाल संचालित रहेको विद्यालयमा आजादको भवन बन्ने भयो । हामी विद्यार्थीहरूदेखि सबै–सबै खुशीले रमाएका क्षणहरू बिर्सिनसक्नु छ । यसै क्रममा समाजसेवी हंसराज श्रेष्ठको सम्झना आउँछ । उनले त्यसताका विद्यार्थीहरूमाझ हुटिट्याउँले समुद्र सुकाएको कथा भनेर हामीलाई ईंट ओसार्न लगाएको क्षण मनमा आइरहन्छ । हामी रमाइ–रमाइ ईंट ओसार्ने गथ्र्यौं । बालीसरह चन्दा दिएर आजाद बनाउन बनेपालीहरूले निस्वार्थढङ्गले सेवा पुर्याइदिएका क्षण उल्लेखयोग्य छन् । सबैको सहयोगबाट नै आजादको आफ्नै बासस्थान भएको हो । यस्तै–यस्तै खालका कथा–प्रसङ्गहरूमा समेटिंदै आजादले आफ्नो स्वरूप बनाएको हो । यहाँ कक्षा १० सम्म पढ्न पाइयो । थुप्रै खालका घटनाहरूमात्र घटेनन् यहाँ थुप्रै खालका मित्रहरूसँग पनि मेरो सरसङ्गत भयो । त्यसताका म रमाइ–रमाइ साथीहरूलाई कविताहरू सुनाउँथें । विद्यालयमा हुने कवि–गोष्ठीहरूमा कवितावाचन गर्थें । त्यही बेलादेखि नै मलाई सबै साथीहरूले कवि भनेर सम्वोधन गर्थे । म कविको विशेषणमा मख्ख परेर कविता खोजिरहन्थें । चुलिजा:गु स्वां (नेपालभाषाका कवितासङ्ग्रह) २०२३ सालतिर प्रकाशित भएको हो । कक्षा ९ मा पढ्दै गर्दा प्रकाशित उक्त पुस्तकले मलाई आजादमा कवि भनेर चिनाइदियो । कक्षा ९ मा पुग्दा पहिलेजस्तो पढन सकिएन । यसैताका साथीहरूको लहलहैमा मैले कसैको प्रेमपत्र लेखिदिँदा उक्त पत्र लखेकै कारणले विद्यालयबाट कारवाही भएको घटना भुल्न मलाई गार्हो भइरहेछ । प्रायश्चितको भावना र बदला लिने चाहनाकै कारणले मलाई नराम्ररी अँध्यारोमा हुत्याइदियो । अनि पढ्ने धुन हरायो । यस्तै खालका कारणले म १ वर्ष कक्षा १० मा थन्किन पुगें । हिसाबमा कमजोर भएर फेल भएको मलाई सम्झना छ । प्र.अ. रामभक्त कोख श्रेष्ठले विषय परिवर्तन नगर्न अनुरोध गर्दागर्दै ऐन स्रेस्ता विषयमा फर्म भरेको मलाई स्मृति छ । त्यसपछिमात्र मलाई अलिकति विषयगत सजिलो भयो र म टेष्ट परीक्षामा उत्तीर्ण भएँ र आजादसँगको मित्रता टुट्यो । २०२३ सालमा मैले प्रवेश परीक्षा उत्तीर्ण गरेँ ।
म सम्झना गरिरहन्छु – भरतसरले आफ्नै ढङ्गले व्याख्या गरिदिने नागरिकशास्त्रको परिचय, ज्ञानकाजी मानन्धरसरले रमाई–रमाई सिकाइदिएको अंग्रेजीभाषाका कक्षाहरू भुलीनसक्नु छ । बिलियम वर्डसवर्थका लुसी ग्रे र सोल्टरी रिपर लगायतका कविताहरु व्याख्या परिचय गरिदिने प्रभावकारी शैली आजपर्यन्तसम्म पनि झल्झली सम्झना आइरहेछ । आफ्नै काहिँलो दाइ कृष्णप्रसाद दुवालसँग कविता–गोष्ठीमा विचार–द्वन्द्व हुँदाका क्षणहरु भुल्न गाह्रो भइरहेछ । पूर्णमानसिंह बस्नेतको शालीनता, हरिभक्त प्रधानको निश्चलता, हरिकृष्ण श्रेष्ठको कञ्चनता, रामभक्त कोख सरको भद्रता, भरतसरको सोझोपन, राजेन्द्रसरको सक्रियता मैले बिर्सन नसकेका उत्सर्गहरू हुन् । हसना, सुमती, इन्दिरा, उदयका संसर्गहरू, ध्रुव, केशचन्द्र, के.जी.पलाञ्चोके, नाती, शान्ति, राधा, शिव, चन्द्र, बालकृष्णका मनोरम व्यवहारहरू अहिले पनि मनभरि सम्झना आइरहन्छ । म आज आजादलाई सम्झेर मेरो विगतलाई कोट्याइरहेछु ।आजाद मेरो जीवनका १० औं वर्षका क्षणहरू बिताएका प्रारम्भिक शिक्षाका छहारी हुन् । जहाँ मैले रमेर जीवन बिताएको हुँ, शिक्षाका उत्सर्गहरू भेटाएको हुँ ।
आजादले धेरै दु:ख पाएको हो, दु:ख कष्ट झेल्दै आज पनि आजाद आफूलाई जीवन्त देखाउन कम्मर कसेर फूूर्तिले बढ्न खोजिरहेछन् । बनेपाको सबभन्दा पुरानो ‘प्रजातन्त्र’को उदयसँगसँगै शिक्षा क्षेत्रमा देखा पर्दै आएको आजाद आज आफूूलाई उच्च माविसम्मको हैसियत देखाएर बाँचिरहेछन् । धन्य आजाद, तिमीले कष्ट गरेर हामीजस्ता विद्यार्थीहरुलाई शिक्षा प्रदान गरेकै हो । म आज पनि आजादलाई मनमा राखेर सम्झिरहेछु ।
आजादको मर्म–मर्ममा भुलेर
म आजाद सम्झिरहेछु
आजादको कर्म–कर्ममा छामेर
म आजाद खोजिरहेछु ।
०००
क्रमश :