साहित्य संवेदना, समवेदना र सञ्चेतनाको उच्च मानवीय भाषिक कला हो । यो शब्दसङ्गति, शब्दचयन र शब्दसंयोजनको विशिष्ट भाषिक खेल हो भने अभिव्यक्तिसामथ्र्य प्रस्तुत गर्नेहरूका लागि सर्वश्रेष्ठ युद्धभूमि पनि हो । साहित्यको महानता जीवनजगत्को यथार्थ, आदर्श, कल्पना र स्रष्टाको साधना तथा जीवनदर्शनको कुशल संयोजनमा रहेको हुन्छ । साहित्य पढ्दा, सुन्दा वा लेख्दा भावक वा ग्रहीतामा त्यसबाट कुनै न कुनै सार्थक प्रभाव पर्छ भने मात्र त्यसको महत्ता हुन्छ तर प्रभाव तब मात्र पर्छ जब ग्रहीतामा सृजनाको सम्प्रेषण हुन्छ । सम्प्रेषणहीन साहित्यको महानता हुँदैन, यस्तो कल्पना गर्नु पनि निरर्थक हुन्छ । साहित्यको लक्ष्य मान्छे नै हो । साहित्यको मूल सम्बन्ध पनि मान्छेसितै छ । त्यसैले साहित्यको प्रमुख विषय पनि मान्छे नै हो । विश्वक्यालेन्डरमा एक्काइसौँ शताब्दी सुरु भएको छ तर नेपाली जनजीवन त्यसबाट कोसौँ टाढा छ । एक्काइसौँ शताब्दी लाग्नासाथ नेपाली साहित्यमा कुनै अनौठो वा अप्रत्याशित विकास हुन्छ भनेर ठान्नु अस्वाभाविक परिकल्पना मात्र हुने छ । एक्काइसौँ शताब्दीको नेपाली साहित्य कस्तो होला ? यसबारे अनुमान र कल्पनाका आधारमा मात्र प्राक्कल्पना गर्न सकिन्छ तर ठोकुवा गर्न सकिन्न तर यसरी गरिने अनुमान वा प्राक्कल्पना पनि पूर्वसाक्ष्यहरूका आधारमा गर्नु बढी वस्तुपरक हुन्छ । त्यसैले एक्काइसौँ शताब्दीको नेपाली साहित्यको प्राक्कल्पना गर्दा बीसौँ शताब्दीको नेपाली साहित्यको यात्रा, त्यसका प्राप्ति–अप्राप्तिलाई साक्षी राख्दै हेर्नुपर्छ भने आगामी विश्वमा हुने सम्भावित राजनीति, आर्थिक विकास, सञ्चारमाध्यमको प्रगति र भूमिका अनि विश्वसाहित्यमा हुन सक्ने सम्भावित प्रयोग र तिनको प्रभावजस्ता कुराहरूमाथि पनि सामान्य पूर्वानुमान गर्नुपर्ने हुन्छ ।
एक्काइसौँ शताब्दीको विश्वस्थितिबारे सामान्य अनुमान गर्दा सो युगमा राजनैतिक तथा आर्थिक क्षेत्रको चरम विकास हुने अभिलक्षणहरू देखा पर्दै छन् भने सञ्चार र विज्ञानक्षेत्रको अभूतपूर्व विकास हुने कुरा लगभग निश्चित देखिन्छ । राजनैतिक क्षेत्रलाई हेर्ने हो भने चीन र भारत विश्वशक्तिका रूपमा विकसित हुने सम्भावना बढेको छ । अहिले विश्वराजनीतिमा अमेरिकाको एकलौटी साम्राज्यवाद रहेकोमा एक्काइसौँ शताब्दीमा अमेरिकी साम्राज्यवादमाथि एसियाली मुलुकहरूबाट चुनौती बढ्न सक्नेछ । त्यसले गर्दा अमेरिकी एकलौटी साम्राज्यवादमाथि धक्का पुग्नेछ । यता चिनियाँ र भारतीय प्रभुत्व बढ्नाले एसियाली साहित्यको प्रभाव पनि विश्वसाहित्यमा फैलन सक्ने सम्भावना छ, जसमा जापानी साहित्यको भूमिका पनि महŒवपूर्ण हुने देखिन्छ । निश्चय नै नेपाली साहित्यमा यस पक्षको प्रभाव पर्ने नै छ ।
एक्काइसौँ शताब्दीको विश्व यही नै रहे पनि त्यस युगको जीवन भने फरक हुने छ । नवीन चेतना र नवीन सभ्यताको विकासका कारण मानवीय जीवनपद्धतिमा फरक पर्नु स्वाभाविक नै हो । विज्ञान, प्रविधि र सूचनासञ्चारका क्षेत्रमा बीसौँ शताब्दीमा नै अभूतपूर्व आविष्कार र आश्चर्यजनक प्राप्तिहरू भएका छन् । यस विकासले एक्काइसौँ शताब्दीमा अझ गुणात्मक फड्काहरू मार्नेछ र अभैm अनौठा र अझै अभूतपूर्व तथा अझै चमत्कारपूर्ण वैज्ञानिक उपलब्धिहरू देखा पर्नेछन् भने प्रत्येक महिनाजसो हुने नयाँ–नयाँ खोज र नयाँ नयाँ अनुसन्धानबाट हुने आविष्कारहरूले नयाँ विश्वमा मान्छेलाई भौतिक रूपमा अझ सबल तुल्याउनेछन् । विज्ञानका त्यस्ता अद्भुत प्राप्तिअन्तर्गत मान्छेले वर्तमान समयमा प्रारम्भ गरिसकेको अन्य ग्रहसम्बन्धी अध्ययन–अनुसन्धानले अझ तीव्रतासाथ गति लिनेछ र मङ्गलग्रहको अनुसन्धानक्रमले ठोस जानकारी प्राप्त गर्नेछ तथा बाहिरी ब्रह्माण्डका अन्य ढोकाहरू उघ्रने क्रम प िन बढ्नेछ ।
अहिले विश्वमा सूचना–साम्राज्यवाद व्याप्त छ र भूमण्डलीकरणका कुराहरू उठेका छन् । आजको भूमण्डलीकरणमा सूचनासाम्राज्यका कारण सूचनाको प्रचार–प्रसारले सबैभन्दा ठूलो भूमिका खेलेको छ भने यातायातको विकासले पनि उत्तिकै महŒवपूर्ण फड्को मारिरहेको देखिन्छ तर भूमण्डलीकरणको कुरा आफैँमा सङ्कटग्रस्त देखिन्छ किनभने अहिले देखा परेको भूमण्डलीकरणको प्रकृति समानता, न्याय र विश्वमानवका मनोभावनामा आधारित छैन । यसले अमेरिकी साम्राज्यवाद र उसका समर्थक राष्ट्रहरूको स्वार्थअनुकूल यात्रा गरिरहेको देखिन्छ । सूचना–प्रविधि, सञ्चार–प्रविधि र पैसाको बलमा विभिन्न सामाजिक सङ्घ–संस्थाका माध्यमबाट यतिखेर क्रिस्चियन धार्मिक साम्राज्यवादले विश्वभरि नै र त्यसमा पनि नेपालजस्ता गरिब राष्ट्रहरूमाथि डरलाग्दो पन्जा गाड्दै छ । त्यसको र त्यस्तै अन्य प्रयासहरूको प्रतिकारस्वरूप मानवसमुदाय पनि साम्प्रदायिक, धार्मिक तथा जाति–उपजातिका साँघुरा गुट–उपगुटहरूमा विभाजित हुने क्रम भूमण्डलीकरणकै अनुपातमा विकसित भइरहेका छन् । जोसँग सूचना–प्रविधि बढी छ, जोसँग पैसा र सैन्यबल बढी बढी छ, जो शक्तिशाली छ, जोसँग प्रचारको क्षमता बढी छ, त्यसैको भाषा र संस्कृति अन्य भाषा र संस्कृतिमाथि लाद्ने प्रयासहरू बढेकाले पनि भूमण्डलीकरणको वर्तमान अवधारणा सफल नहुने लक्षणहरू देखिँदै छन् । यसरी एकातिर भूमण्डलीकरणका कुरा र अर्कातिर क्षेत्रीय, जातीय र धार्मिक–सांस्कृतिक विखण्डनका कुरा सँगसँगै यात्रारत रहेकाले एक्काइसौँ शताब्दीमा पनि विश्वराजनीति उत्तिकै सङ्घर्षपूर्ण हुने देखिन्छ ।
यद्यपि विज्ञान–प्रविधिमा एक्काइसौँ शताब्दीको मान्छे एक–अर्कासँग प्रशस्त नजिक हुनेछ तर मान्छेभित्रको अहम् र बेफुर्सदी तथा उसको महŒवाकाङ्क्षाका कारण एक–अर्काको नजिक रहेर पनि मान्छे एकअर्कासँग टाढा नै हुने छ । नेतृत्ववर्गका आकाङ्क्षा र अहङ्कार, राष्ट्र–राष्ट्रका स्वार्थ अनि वर्गीय–विभेदका कारण त्यस शताब्दीमा पनि मानव–मानवबीच जबरजस्त टक्कर नहोला भन्न सकिन्न । साना राष्ट्रहरू, हेपिएका जनजातिहरू र धर्मभीरुहरू आफ्नो अस्तित्वरक्षाका लागि कठिन सङ्घर्षमा लागिरहने सम्भावनाई पनि अस्वीकार गर्न सकिन्न ।
यहीँनिर एउटा अनुमान के लगाउन सकिन्छ भने नयाँ युग विज्ञान, प्रविधि, इलेक्ट्रोनिक सञ्चार आदिबाट विकसित हुँदै छ र क्रमश: विश्वका सबैजसो राष्ट्र र त्यहाँका नागरिकहरू आर्थिक दृष्टिले सबल हुँदै छन् । त्यसैले आगामी विश्वको मूल बीसौँ शताब्दीको मुख्य मुद्दा गाँस, बास र कपासको भएझैँ त्यति मात्रको हुनेछैन, बरु विलासी साधन र उच्च जीविकोपार्जनको प्राप्तिका लागि खिचातानी हुनेछ । बीसौँ शताब्दीको अत्यधिक अवधि गरिबीबाट मुक्तिका लागि भएका सङ्घर्षहरूमा बित्यो । सङ्घर्षको केन्द्रबिन्दुमा मजदुरवर्ग र किसानवर्गका श्रमिकहरूको भूमिका रह्यो भने सङ्घर्षको नेतृत्वमा मूलत: मध्यमवर्गबाट आएका व्यक्तिहरू नै रहे । बीसौँ शताब्दीको भौतिक विकासमा मजदुर र किसान श्रमिकहरूको ठूलो लगानी रहेकाले पनि सङ्घर्षको स्वरूप त्यस्तो हुन पुगेको हो तर एक्काइसौँ शताब्दीको सङ्घर्ष अशिक्षित, अपठित र शारीरिक श्रम गर्ने वर्गहरूबाट सञ्चालित हुनेछैन । त्यस युगमा रोबोट तथा यन्त्रसाधनहरूको चरम विकास हुने हुँदा उत्पादनको केन्द्रमा ती कुराका सञ्चालक तथा प्रयोगकर्ता रहने सम्भावना छ । अझ सूचनासाम्राज्यको चरम विकासका कारण अन्य उद्योगधन्दा भन्दा पनि बढी सूचनासाम्राज्यका उद्योगधन्दा फस्टाउन सक्ने सम्भावना छ । त्यस्तो भयो भने कडा शारीरिक श्रम गर्ने मजदुरको श्रमबाट भन्दा वैज्ञानिक साधन चलाउने र सञ्चारमाध्यमको उपयोग गर्न खप्पिस भएका बौद्धिक श्रमिकहरूको श्रमबाट नयाँ सभ्यताको निर्माण हुनेछ । यस्तो स्थितिमा एक्काइस शताब्दी मजदुर र किसानहरूको नभई शिक्षित, पठित, बौद्धिक बुद्धिविलासीहरू तथा प्राविधिकहरूको हात हुनेछ अर्थात् त्यस समयका श्रमिकहरू भनेका बौद्धिक श्रमिक हुनेछन् किनकि विश्व नै साक्षर र पठित हुने सम्भावना छ । यो कुरा नेपालका सन्दर्भमा समेत धेरै माात्रामा लागू हुने निश्चित छ ।
अध्ययन अध्यापनतर्फ वर्तमानमा नै इन्टरनेट, इमेल, कम्प्युटर आदिले दीर्घकालीन स्वरूपका अभिलक्षणहरू देखाइरहेका छन् । निश्चित छ, आगामी दिनहरूमा इन्टरनेट र कम्प्युटरको चरम विकास र व्यापक प्रसार हुनेछ । तब पत्रपत्रिका, साहित्यिक रचना र पुस्तकहरूको पठनका लागि यी उपकरणहरू सर्वाधिक उपयोगी बन्नेछन्, यसबाट सरलीकरण हुनेछ । त्यस्तो स्थितिमा पुस्तकाकार कृतिहरू किनेर पढ्नेहरू घट्ने सम्भावना पनि उत्तिकै छ । त्यसमाथि पनि विश्वसाहित्यका कुरा गर्दा विज्ञानसाहित्यले ठूलो विकास पाउने सम्भावना छ । त्यसलाई अनुमान गर्दा विश्वसाहित्यको विषय धर्तीबाट उठेर ब्रह्माण्ड अन्तब्र्रह्माण्डतर्फ मोडिने सम्भावनालाई नकार्न सकिन्न । त्यस्तो स्थितिमा आगामी विश्वसाहित्यमा मानवसंवेदनाका तुलनामा मानवसंचेतनाको विषय बढी हुनेछ । तब आँसुको कथाभन्दा बढी वैज्ञानिक चमत्कार, वीरता र ब्रह्माण्डभ्रमणगत कौतूहलका कथाहरू सिर्जिन सक्छन् । यी कुराहरूको पनि केही प्रभाव नेपाली साहित्यमा पर्ने नै छ ।
अहिले विश्वमा आतङ्कवाद डरलाग्दो ढङ्गले फैलिएको छ । आतङ्कवाद रोक्ने नयाँ–नयाँ प्रविधिहरू विकसित भएका छन् भने तदनुरूप नै आतङ्कवादले पिछडिएका व्यक्तिहरूलाई हतियारका रूपमा बढी नै मात्रामा उपयोग गर्ने प्रबल सम्भावना छ । विश्वशान्तिका लागि आतङ्कवाद सबैभन्दा ठूलो चुनौती हुने कुरा पनि सम्भाव्य नै छ । अर्कातिर यतिखेर अर्थात् शीतयुद्धको शान्तिपछि दर्शनको व्यावहारिक प्रयोगमा विफल बन्न पुगेका कम्युनिस्ट आन्दोलनहरू पुन: जुर्मुराइरहेछन् । नेतृत्ववर्ग अधिनायक बनेन भने कम्युनिस्टहरूको विश्वव्यापी नयाँ आन्दोलनले एक्काइसौँ शताब्दीमा पुन: शक्ति प्राप्त गर्नेछ र यसले नयाँ सिर्जनशील र सापेक्षित रूपमा स्वतन्त्रतामुखी राज्यव्यवस्थाका लागि निर्णायक लडाइँ लड्ने सम्भावना पनि उत्तिकै छ । यदि त्यस्तो क्रान्ति वा आन्दोलनले सफलता र स्वरूप प्राप्त गर्यो भने भूमण्डलीकरणको यात्रा नयाँ ढङ्गले हुनेछ र त्यसले विश्वसाहित्यमा पनि गम्भीर प्रभाव पार्नेछ ।
पुँजीवाद अहिले सङ्कटमा छ । विश्वका कुनै पनि पुँजीवादी मुलुकमा शान्ति छैन । विज्ञान–प्रविधिको विकासमा अभूतपूर्व प्रगति गर्न सफल पुँजीवाद सामाजिक न्याय गर्नमा भने पूर्णत: असफल साबित भएको छ । सामाजिक न्यायविनाको विकासले सदैव मानवबिच नै आपसी सङ्घर्षको ढोका खुला राख्दछ र सहजै अशान्ति, युद्ध, मुक्तिआन्दोलनहरू चर्किने गर्छन् । पुँजीवादको सबैभन्दा ठूलो असफलता यही सामाजिक न्याय र समानता कायम गर्न नसक्नु हो । पुँजीवादीका तुलनामा आर्थिक विकास गर्न र विज्ञान–प्रविधिको र अझ त्यसमा पनि सूचना तथा सञ्चारको विकास गर्नमा समाजवाद असफल रहे पनि सामाजिक न्याय गर्नमा समाजवादलाई ठूलो सफलता मिलेको देखिन्छ । त्यसैले शान्तिपूर्ण भूमण्डलीकरण तब मात्र सम्भव हुनेछ जब विश्वमा समाजवाद लागू हुनेछ । भोलिको विश्वलाई समाजवादको युगीन अवस्थाले पनि निर्धारण गर्नेछ । तदनुरूप विश्वसाहित्यमा प्रभाव पर्ने कुराहरू पनि सम्झनुपर्दछ ।
दुई
एक्काइसौँ शताब्दीको नेपाली साहित्य कस्तो होला ? भन्ने कुरालाई बीसौँ शताब्दीको र अझ त्यसभन्दा पूर्वको सिङ्गो नेपाली साहित्यको इतिहासका साक्ष्यमा हेर्नुपर्ने हुन्छ । सुवानन्ददासदेखि भानुभक्तसम्मको नेपाली साहित्य अत्यन्त सुस्त गतिमा विकसित भएको छ भने मोतीरामदेखि लेखनाथसम्मको नेपाली साहित्य तुलनात्मक रूपमा फैलिएको, विधागत सचेततातर्फ मोडिएको र विषयविविधतातर्फ आकर्षित भएको देखिन्छ । गुणात्मक, सङ्ख्यात्मक र बौद्धिक दृष्टिले पनि तथा समयावधिको सङ्क्षिप्तताभित्रै प्राप्तिगत विस्तृतताका दृष्टिले पनि प्राथमिक कालभन्दा माध्यमिक कालको नेपाली साहित्य विकसित र विस्तारित भएको देखिन्छ । लेखनाथपछि सम, देवकोटा, रिमाल, भूपि, पारिजात आदिदेखि यस बीसौँ शताब्दीको अन्त्यसम्मको नेपाली साहित्यलाई हेर्दा यसले चोतर्फी र प्रतिदशक गुणात्मक फड्को मारेर आफ्नो विकास गरेको छ । बीसौँ शताब्दीमा नेपाली साहित्यले केही माध्यमिक कालको र त्यस समयपछिको भन्ने मानिएको सम्पूर्ण आधुनिक कालको यात्रा गरेको छ । यस अवधिमा विश्वसाहित्यका प्रभावशाली विधा, आयाम, मूलप्रवृत्ति, वाद र साहित्यिक प्रयोगहरूको प्रभाव नेपाली साहित्यले ग्रहण गर्यो र ती प्रभावलाई आफूमा समाहित गर्ने प्रयत्न पनि गर्यो । केही विधाका केही रचनामा नेपाली साहित्यले विश्वस्तरमा विकास पाए पनि सम्पूर्णमा हेर्दा नेपाली साहित्यको स्थिति विश्वस्तरका सापेक्षतामा कमजोर नै रहेको देखिन्छ ।
बीसौँ शताब्दीमा विश्वसाहित्य घोर निराशावादीदेखि उत्तिकै सामजवादी पनि रह्यो । एकातिर विश्वयुद्धको बीभत्सता, कुरूपता र विध्वंसले क्षत–विक्षत भएको विश्वमनको नैराश्यले यस शताब्दीमा घोर निराशा, चरम विसङ्गति र मृत्यून्मुखी चेतनाका भावहरूको अभिव्यक्ति दियो भने अर्कातिर समाजवादी क्रान्तिको सफलताका लागि र प्राप्त सफलताको रक्षाका लागि उत्साह, साहस र निर्माणका रचनाहरू पनि प्रशस्त रचिए । परम्परादेखि चल्दै आएका प्रणय, अध्यात्म, अतिकाल्पनिकता आदिका रचनाहरूको यात्रा पनि आफ्नै ढङ्गमा चलि नै रह्यो । बीसौँ शताब्दीको साहित्य विस्तारित र बृहत् संसारतर्फ फैलियो तर यसको आयाम (आकार) भने सङ्कुचित र सङ्क्षिप्त बन्दै आयो । विज्ञान र प्रविधिको अभूतपूर्व विकासका कारण तथा मान्छेको बेफुर्सती र थोरैमा धेरै पाउन चाहने रुचिका कारण पनि यस्तो भएको हो । नेपाली साहित्यका कुरा गर्दा बीसौँ शताब्दीमै पनि विश्वयुद्धको बीभत्सता नेपाली साहित्यको केन्द्रबिन्दुमा रहेन । नेपाली साहित्यमा परिष्कारवादी, आदर्शवादी, स्वच्छन्दतावादी, प्रयोगवादी, विसङ्गतिवादी, अस्तित्ववादी, प्रगतिवादीजस्ता अनेक विचारधाराका रचनाहरू सामान्य रूपमा तल–माथि हुँदै अगाडि बढेका देखिन्छन् । एउटा सानो कालखण्डलाई मात्र विश्वयुद्धको विभीषिकाले छोएको छ र २०१७–१८ देखि २०२५–२६ सम्मको त्यस अवधिमा विशेष रूपमा यस्ता घोर निराशावादी रचनाहरू रचिएका छन् । नेपाली साहित्यका सन्दर्भमा कुुरा गर्ने हो भने बीसौँ शताब्दीको पछिल्लो चरणमा त प्रगतिवादी साहित्यको द्रुत विकास भएको र यसले बलियो जग पनि बनाएको पाइन्छ । नेपालको राजनैतिक अस्तव्यस्तता, आर्थिक रूपमा यसलाई सहन बाध्य पारिएको औपनिवेशिकता, भारतीय हैकमवादबाट पीडित नेपाली मानसिकता र विद्रोही मनोनिर्माण, व्यापकरूपमा व्याप्त गरिबी, वर्गीय विभेद, अशिक्षा, बेरोजगारी, अजिङ्गरसरह फस्टाएको भ्रष्टाचार र शरीरभरि गाडिएको खिलझैँ पीडादायक प्रशासनतन्त्र आदि दुर्भाग्यपूर्ण राष्ट्रिय स्थिति यथावत् चलिरहेकाले पनि नेपाली साहित्यमा प्रगतिवादी रचनाको आवश्यकता बढ्दै आयो । इमानदार र राष्ट्रप्रति बफादार स्रष्टाहरूले प्रगतिवादी चेतनासहित साहित्यको मर्म र अपरिहार्यतालाई आत्मसात् गरेर लेखे । त्यसैको परिणामस्वरूप बीसौँ शताब्दीको अन्तिम दशकमा नेपाली साहित्यको केन्द्रमा प्रगतिवादी साहित्य रह्यो । एक्काइसौँ शताब्दीको नेपाली साहित्यको प्रारम्भिक स्वरूपका बारेमा अनुमान गर्न बीसौँ शताब्दीको पछिल्लो यसै यथार्थले सघाउँछ ।
बीसौँ शताब्दीको विश्वसाहित्यलाई हेर्दा सम्पूर्ण साहित्यको मूल केन्द्रबिन्दुमा अर्थ र यौन रहेको पाइन्छ । पेटको भोक तथा आर्थिक समानता र सामाजिक न्यायका पक्षमा लेखिएका रचनाहरूको केन्द्रमा अर्थ रह्यो भने विलास र विकृति, शोषण र छाडापन, नैराश्य र निस्सारता आदिका पक्षमा लेखिएका साहित्यको केन्द्रमा यौन रह्यो ।
नेपाली साहित्यमा पनि यी दुई कुरा नै केन्द्रबिन्दुमा रहेका देखिन्छन् । नेपालका तथाकथित बौद्धिक र प्रयोगवादीहरू क्लियोपाट्राको सौन्दर्य र लिलिपुटको पुड्काइ अनि सिसिफसको घोर बीभत्सतामा अल्मलिइरहे । प्रचारबाजीमा अगाडि रहेका कारण हल्लामा उनीहरू नै आधुनिक स्रष्टा भनिए तर यथार्थमा हेर्दा उनीहरू प्राचीनताकै (नैराश्य, बीभत्सता, यथास्थितिवादकै) दास बनिरहे । उनीहरूले जीवनसौन्दर्यको उच्चताको महिमाबोध गर्न सकेनन् र रोचक कुरा त के रह्यो भने जीवन व्यर्थ छ भनी साहित्य लेख्ने उनीहरू नै अन्य स्रष्टाभन्दा बढी भोगीविलासी जीवन बिताउन र पद र प्रतिष्ठा पाउनका लागि मरिमेटिरहे । यिनीहरूको जीवन र कलमबीचको यो ढोँग रमाइलो देखिन्छ । यिनीहरूले बौद्धिक रचनाको नाममा असल पाठकमाथि शोषण गरिरहे । यसरी यिनीहरूको वास्तविक स्वरूपको उद्घाटन गर्दा प्रमाणका लागि म एक बौद्धिक (नेपालमा एम.ए.पास गरेका, शिक्षक, प्राध्यापकहरू पनि बौद्धिक वर्गमा पर्छन्) पाठकको प्रतिक्रिया जस्ताको तस्तै प्रस्तुत गर्नु उचित ठान्छु । पाटनको रातो बङ्गला भन्ने स्कुलमा कला (चित्रकला) र विज्ञान विषय बढाउने शिक्षक पुण्यशील गौतमले एकदिन मसँग भने– “ज्ञवाली सर ! तपाईं पनि कवि मान्छे । तपाईं रिसाउनुहुन्न भने म यौटा कुरा भनूँ ?” मैले छक्क पर्दै सोधेँ– “यस्तो के कुरा छ र मैले रिसाउनुपर्ने ? भन्नुस् न !” उनले कान्तिपुर पत्रिका पल्टाए र त्यहाँ छापिएको एउटा ‘बौद्धिक’ कविता देखाउँदै भने, “बुझ्नुभो सर ! कविहरू शोषक हुन् ?” मलाई यस्तो वाक्य सुन्दा अनौठो लाग्यो र सोधेँ, “किन ?” उनले भने– “यस्ता वाहियात कविता पनि लेख्नु ! यस कविले मेरो शोषण गर्यो । मैले पनि नेपाली पढेको छु, नेपाली नै बोल्छु, नेपाली भाषालाई बुझ्छु तर यो कविता पढ्दा मैले फुट्टिफाइँ केही बुझिनँ । यस कविताले मेरो समयको शोषण गर्यो र मेरो टाउको दुखाएको हुनाले मेरो मस्तिष्कको शोषण गर्यो । त्यसैले कवि शोषक हुन् ।” यसरी बीसौँ शताब्दीको नेपाली साहित्यमा एउटा वर्ग तथाकथित बौद्धिकताको अर्थहीन प्रलाप गर्दै र आफूलाई उन्नत र आधुनिक कवि भन्दै आत्मरतिमा डुबिरह्यो र आज पनि त्यस्ताहरूको कमी छैन ।
अर्कातिर यस शताब्दीमा जनचेतनाको विकासका लागि, जनअधिकार, सामाजिक न्याय र समानताका लागि सोद्देश्यपूर्ण रचनाहरू भइरहे । यस्ता रचनाहरूमध्ये प्रगतिवादी रचनाले साहित्यको कलामूल्यलाई आवश्यकताकै अनुपातमा बढी जोड दिन नसके पनि मानवमूल्यको सुरक्षा र संवद्र्धनका लागि इमानदारीपूर्वक प्रयत्नहरू गरे । तर हल्लामा बौद्धिक भनेर प्रचार गरिएका तथाकथित बौद्धिकहरूले यस्ता रचनाहरूमाथि सतहीपनको आरोप लगाइरहे, साहित्या राजनीति गरेको आरोप लगाइरहे । तथापि प्रगतिवादी साहित्यकारहरू विषाक्त मधुर रस पिलाउनमा भन्दा कमै स्वादिलो भए पनि स्वास्थ्यवर्धक पोषकरस पिलाउनमा लागिरहे । अर्थ र यौनको यिनै दुईध्रुवीय केन्द्रीयतामा नै बीसौँ शताब्दीको नेपाली साहित्य तयार भएको देखिन्छ । एक्काइसौँ शताब्दीको नेपाली साहित्य बीसौँ शताब्दीका यिनै प्राप्ति र अप्राप्तिका पृष्ठभूमिमा खडा हुनेछ र जसरी बीसौँ शताब्दीको नेपाली साहित्यले क्रमश: विधागत प्रयोगमा नयाँ सिँढीहरू गुणात्मक ढङ्गले चढ्यो, त्यसरी नै एक्काइसौँ शताब्दीको नेपाली साहित्यले पनि क्रमिक विकास पाउनेछ, तदनुरूप नै त्यस युगको प्राक्कल्पना गर्न सकिन्छ ।
तीन (ग)
एक्काइसौँ शताब्दी कुनै अनौठो नाम होइन, निश्चित समयावधिको नाम हो । वस्तुत: समय अविभाज्य छ । दिन, हप्ता, महिना, वर्ष, दशक, शताब्दी भन्नु मानवीय व्यवहारका लागि गरिएका विभाजन मात्र हुन् । समय त अपरिवर्तनीय छ । परिवर्तन त मौसमको हुन्छ, ऋतुको हुन्छ, मान्छे र मानवप्रवृत्तिको हुन्छ अर्थात् परिवर्तन प्रकृति र प्राकृतिक/अप्राकृतिकको मात्र हुन्छ । त्यसरी नै ज्ञानविज्ञान र प्रविधिको विकासका साथ मानवचेतना, मानवधारणा र मानवसभ्यताको परिवर्तन सापेक्षतामा विकसित हुनेछ, नेपालीहरूले भौतिक उन्नतिका दिशामा गर्ने प्रगतिअनुरूप नै नेपाली साहित्यमाथि त्यसको प्रभाव पर्नेछ ।
आजको सन्दर्भमा भन्दा नेपालको भौतिक विकास धेरै कम छ । अहिले नेपालले विगतका शताब्दीहरूमा युरोपले गरेको भौतिक विकासबराबरको उन्नति पनि गर्न सकेको छैन । त्यसैले पनि एक्काइसौँ शताब्दी नेपालका लागि चमत्कारपूर्ण हुनेछैन तर सञ्चारमाध्यमले भने नेपालका डाँडाकाँडा ढाक्नेछन् र सञ्चारमाध्यमद्वारा प्राप्त गर्न सकिने ज्ञानविज्ञानको जानकारी नेपाल र नेपालीहरूले पनि सहजै प्राप्त गर्न सक्नेछन् । त्यसको प्रभाव भने अवश्य नै नेपाली साहित्यमा पर्नेछ र नेपाली साहित्यमा तदनुकूल रूपान्तरण हुँदै जानेछ ।
एक्काइसौँ शताब्दीका कुरा गर्दा मलाई २०४६ सालको सम्झना आउँछ र कस्तो लाग्छ भने एक्काइसौँ शताब्दीको नेपाली साहित्य र अन्य क्षेत्रबारे जुन उत्साह र आशापूर्वक चर्चा गरिँदै छ, त्यो पनि लगभग त्यस्तै हो । जस्तो कि २०४६ सालको क्रान्ति सम्पन्न हुनासाथ सर्वसाधारण नेपालीहरूले द्रुत गतिमा देशविकासको अपेक्षा गरेका थिए तर २०४६ सालपछिको पहिलो दशक अत्यन्त निराशाजनक रूपमा बितिसकेको छ । चलिरहेका दिनहरूको चाल पनि लगभग त्यस्तै नै छ । त्यसैले स्वाभाविक रूपमा नेपाली साहित्यको एक्काइसौँ शताब्दीको पूर्वाद्र्ध आधारभूत आवश्यकताको पूर्तिसम्बन्धी संवेदनाबाट अलग्गिनेछैन र राष्ट्रको विकास र राष्ट्रिय राजनीतिको सापेक्षतामा नै रचिनेछ । मन्दगतिमा भइरहेको राष्ट्रविकास र नेपालीहरूको चेतनामा आइरहेको शैक्षिक तथा नवीन परिवर्तनको चर्चा गर्दा म मेरै परिवारको, मेरा हजुरबुबाको समय र अहिले मेरो समयका बीचको परिवर्तनको तुलना गर्छु ।
करिब २०–२२ वर्षपूर्व जब मेरा हजुरबुबासँग म थिएँ, तब मैले चिया खानपूर्व नुहाउनुपथ्र्यो, ननुहाई अन्य कुरा खाने त कुरै थिएन । त्यतिमात्र होइन, मेरा ठूला दाजुले कैँचीले कपाल काटेबापत र गोलभेँडा खाएबापत गौदान गर्नुपरेको थियो (त्यतिबेला छुराले वा पत्ताले कपाल खौरनुपथ्र्यो) । खाने बेलामा सम्पूर्णत: चोखो लुगा फेर्नुपर्ने र जाडोमा पनि लुगा फुकालेर नाङ्गैजस्तो बनी खानुपर्ने बाध्यता थियो तर अहिले हाम्रो सोही परिवारसित र त्यस्तै गाउँलेहरूबीच हामी जुत्ता लगाएरै खान्छौँ, ननुहाई पनि खान्छौँ… । युगानुकूलको यस परिवर्तनलाई मेरो घर र गाउँमा अहिले सामान्य ढङ्गले लिइन्छ–स्विकारिन्छ । यसरी विकासले क्रमश: गति लिने र मन्दगतिमा चेतनाको रूपान्तरण हुँदै जाने क्रम त चलि नै रहनेछ तर नेपालमा द्रुतविकासको सम्भावना त्यति धेरै छैन– कम्तीमा आगामी एक दशकमा ।
नेपाल र नेपाली साहित्य विश्वका सापेक्षतामा पछि पर्नुको मूल कारण नेपालीहरूमा आफ्नो देश र नेपाली हुनुको मौलिक अस्तित्वप्रतिको संवेदनशीलतामा कमी हुनु हो । यसै सन्दर्भमा ‘हिमाल’ पाक्षिकले प्रकाशित गरेको एउटा खबरमा नेपालीसित बिहे गरी पछुताएकी एउटी चिनियाँ महिलाको अन्तर्वार्ता छ, जुन उल्लेखनीय छ । ऊ खासाको व्यापारमा लागेको तामाङसित प्रेममा फँसी, उसैसित बिहे गरेर नेपालमा आएर व्यापार गर्न थाली । अहिले उसले नै चलाएको होटलमा अन्य देशका र चीनका पर्यटकहरू आउँछन् अनि ऊ र उसको लोग्नेकै अगाडि नेपाल र नेपालीको पछौटेपनको हाँसो उडाउँछन् । ऊ भन्छे– “म नेपाली होइन, तर अरू देशका मान्छेले नेपालको हाँसो उडाउँदा मलाई दु:ख लाग्छ तर मेरो लोग्ने जो नेपाली हो, उसलाई त्यस्ता उपहासले छुँदैन, म छक्क पर्छु । नेपालीको अपमान हुँदा म विदेशीलाई दुख्छ तर नेपालीलाई किन नदुखेको होला ?” यी मार्मिक पङ्क्ति हाम्रो कमजोर संवेदनशीलता र विदेशी दास मनोवृत्तिका टड्कारा प्रतीक हुन् जस्तो मलाई लाग्छ । त्यस्तै एउटा विदेशी नागरिकले एकपल्ट मलाई भनेको सम्झन्छु– “तपाईं रिसाउनु हुन्न भने एउटा कुरा भन्छु, नेपाल अभैm अठारौँ शताब्दीमा छ ।” यी प्रसङ्गहरू हाम्रो वर्तमान नेपालको यथार्थलाई विश्वसापेक्षतामा चिनाउन पर्याप्त छन् जस्तो मलाई लाग्छ । त्यसैले एक्काइसौँ शताब्दीको नेपाली साहित्य विश्वसाहित्यको उचाइमा पुग्न प्रयत्नरत रहे पनि तुलनात्मक रूपमा कमजोर नै हुनेछ । आज काठमाडौँ र वाशिङ्टनका बीच जुन अन्तर छ, झन्डै सोही अन्तर हुम्ला–जुम्ला र काठमाडौँका बीचमा छ । नेपाल एकैसाथ अतिप्राचीन र अत्याधुनिक संसारका दुई रूप लिएर हिँडिरहेको छ । त्यसैले नेपाली साहित्यको विकासमा यी दुई स्वरूप यथावत् यात्रारत रहनेछन् । एकातिर विश्वसाहित्यका अत्याधुनिक प्राप्तितर्फ नेपाली साहित्य उन्मुख हुनेछ भने अर्कातिर लोकलय, शास्त्रीय छन्द, गजल र गीतको यात्रा पनि चलि नै रहनेछ ।
एक्काइसौँ शताब्दीको नेपाली साहित्यको प्राक्कल्पना गर्दा एउटा पक्षमा निकै फरक आउने अनुमान हुन्छ, त्यो हो– पेटको भोकको कवितामा क्रमिक ह्रास । एक्काइसौँ शताब्दीको उत्तराद्र्धसम्ममा नेपालको आर्थिक विकासमा निश्चय नै उल्लेखनीय वृद्धि हुनेछ (यदि तेस्रो विश्वयुद्ध भएन वा नेपालमा गृहयुद्ध मच्चिएन वा त्यस्तै अप्रत्याशित विपत्ति आइलागेन भने) आर्थिक विकाससँगै प्रतिव्यक्ति आय बढ्नेछ र अधिकांश मानिस खान–लाउन पुग्ने अवस्थामा पुग्नेछन् । धेरैजसोका गाँस, बास, कपाससम्बन्धी आधारभूत आवश्यकता पूरा हुनेछन् तर विज्ञान–प्रविधिको विकासले ल्याएको नयाँ इच्छा र सुविधाजनक जिजीविषाका लागि भने द्वन्द्व बढ्नेछ । यस्तो स्थितिमा एक्काइसौँ शताब्दीको उत्तरार्धमा पेटको भोकका साहित्य क्रमश: घट्नेछन् तर एक्काइसौँ शताब्दीको पूर्वाद्र्धमा भने यसखालको साहित्य पनि प्रशस्त रचिने नै देखिन्छ ।
साहित्यलाई बदल्ने मान्छेले नै हो† समयले होइन । समयको जन्मदाता र युगको रूपान्तरणकारी शक्ति पनि मान्छे नै हो । त्यसैले समयले साहित्यलाई बदल्ने होइन† बरु मान्छेले नै समयक्रममा सभ्यता, संस्कृति र चैतन्य बदल्ने हो । त्यस्तो परिवर्तन मान्छेको प्रतिभाशक्ति, अनुभव, ज्ञान, अनुमान र कल्पनासामथ्र्यबाट हुन्छ । त्यसैले पनि एक्काइसौँ शताब्दीको नेपाली साहित्यमा कुनै चमत्कारपूर्ण परिवर्तन हुनेछैन । हाम्रो देश, हाम्रो समाज, हाम्रा स्रष्टा र हाम्रा प्रवृत्ति यिनै हुन् र यसै परम्परामा नै नयाँ प्रतिभा आउने हुन् । त्यसैले हिजो र आजको नेपाली कविता हिजो र आजका नेपालीहरूअनुरूपको भएजस्तै भोलिको नेपाली कविता भोलिको नेपाल र भोलिका नेपालीहरूअनुरूपको हुनेछ ।
आज नै पनि मान्छे बेफुर्सती बनिसकेको छ । बेफुर्सती र भौतिक विकासको गतिसँगै मान्छेको संवेदनशीलतामा ह्रास आउँदै छ र मान्छे व्यक्तिवादी बन्दै छ । अहिलेको पुँजीवादले विश्वभरि छरेको सबैभन्दा डरलाग्दो कुरा के हो भने मान्छेलाई यसले चरम व्यक्तिवादी बनायो र व्यक्तिवादमा उसको आदतकै विकास गर्यो । समाजवादीहरुका लागि यो सबैभन्दा डरलाग्दो चुनौती हो किनभने के उनीहरू यो चुनौती चिर्न र मान्छेभित्रको व्यक्तिवाद घटाएर समाजवादी चेतना भर्न सक्छन् ? आगामी दिनहरूमा मान्छेको व्यक्तिवादी प्रवृत्तिमा अझ बढी विकास हुने प्रबल सम्भावना छ । त्यस्तै आगामी पारिवारिक सङ्क्षेपीकरण र विखण्डनसमेत बढ्ने सम्भावना छ । त्यस्तो स्थितिमा र हत्या–हिंसा आदि कुराको बढोत्तरीका कारणले पनि वर्तमानमा रहेको संवेदनशीलतामा अभैm ह्रास आउनेछ । त्यसैले एक्काइसौँ शताब्दीको नेपाली साहित्यमा हृदयपक्षको भन्दा मस्तिष्कपक्षको प्रबलता रहने सम्भावना छ ।
साहित्यको मूल र गाँठी कुरा भनेकै संवेग हो† मानवीय संवेदना हो । यो नै साहित्यको आधारभूमि भएकाले यसको मृत्यु हुनु साहित्यकै मृत्यु हुनु हो, साहित्य–मानवको मृत्यु हुनु हो । कतै मस्तिष्कतŒव प्रबल भएर संवेदनपक्ष हराउँदै जानाले साहित्यकै मृत्यु त हुन्न ? टेलिभिजन, इन्टरनेट आदिका कारणले पनि साहित्यको मृत्यु हुन्छ कि ? यस्तो अनुमान पनि गर्न थालिएको छ । तर मेरो बुझाइमा अनुमान किन गर्न सकिन्न भने संवेदनशीलता कमजोर भए पनि संवेग तŒव समाप्त हुनु सम्भव छैन । संवेग तŒव भनेको आधारभूत मानवप्रकृति हो । माया, शोक, ईष्र्या, यौन, लोभलालच, अहम्, महŒवाकाङ्क्षा, चिन्ता, हर्ष र विस्मातजस्ता मानव–प्रकृति नै संवेग भएकाले र यी तŒव मानवबाट समाप्त हुनु असम्भव भएकाले संवेगकेन्द्रित साहित्य सदैव जीवित नै रहनेछ । संवेगतŒव मानवका शाश्वत पक्ष हुन् । मानवअस्तित्व रहेसम्म यिनको उपस्थिति रहन्छ । संवेगतŒवको मृत्यु नहुने भएकाले साहित्यको पनि मृत्यु हुँदैन । बरु साहित्यकारले भिडियो, अडियो र इन्टरनेटका चुनौतीहरूसँग सङ्घर्ष गर्नुपर्नेछ र आफ्नो अस्तित्वरक्षाका लागि युगानुकूल नयाँ–नयाँ प्रयत्नहरू गर्नुपर्नेछ । यिनै सम्भावित भावी नेपाल र भावी विश्वका सापेक्षतामा एक्काइसौँ नेपाली साहित्यसम्बन्धी निम्नलिखित प्राक्कल्पना गरिएको छ :
१) नेपाली साहित्य विधागत उपविधाहरूको विस्तारतर्फ यात्रारत रहनेछ । विधामिश्रणको प्रयोगात्मक साहित्यका कारणले साहित्यलाई प्रमुख चार विधाहरूमध्ये कुन हो भनेर छुट्ट्याउन कठिन हुनेछ । यसका केही अभिलक्षणहरू अहिले नै देखापरेका छन् ।
२) नेपाली साहित्यमा नारीस्रष्टाहरूले बलियो जग हालिसकेका छन् । त्यसैले एक्काइसौँ शताब्दीको पूर्वाद्र्धमा नारी साहित्यकारहरूको भरपर्दो उपस्थिति बढ्नेछ भने उत्तराद्र्धमा पुरुष स्रष्टाहरूकै हाराहारीमा उनीहरूको सक्रियता र गुणात्मक उपस्थिति बढ्नेछ । यो उत्तराद्र्धको युग नारीस्रष्टाहरूको युग बन्ने सम्भावना छ । बीसौँ शताब्दीमा नारीसमस्या र नारीसंवेदनाका बारेमा पुरुषद्वारा नै बढी रचनाहरू गरिएका छन् । खासगरी सासूबुहारीका समस्या, लैङ्गिक उत्पीडन, अशिक्षा, गरिबी, कानुनी पक्षपात, सामाजिक विसङ्गति र सामन्ती शोषण आदिका कारण उत्पन्न नारीसमस्याहरू बीसौँ शताब्दीमा मूल नारीसमस्या रहे र तिनै समस्यामाथि केन्द्रित रचनाहरू रचिए तर एक्काइसौँ शताब्दीमा नारीशिक्षाको तीव्र विकास हुनेछ र शिक्षित–पठित नारीहरूको सबल उपस्थिति बढ्दै जानेछ । तब नारीहरूका पक्षमा कानुन, समाज र स्वयम् नारीहरू अत्यन्त सचेत र संवेदनशील बन्नेछन् । त्यस्तो परिस्थितिमा अशिक्षा, गरिबी आदिका कारण हुने चेलीबेटी बेचबिखनदेखि घरभित्र हुने शोषणहरूको क्रम धेरै मात्रामा घट्नेछ भने नारीका हकहितको चेतना बढ्नाले नारीहरूको अवस्था सुध्रनेछ । स्वाभाविक रूपमा त्यतिबेला चेलीबेटी बेचविखन वा घरेलु हिंसामा पर्ने नारी र वेदनासँग जोडिएका यस प्रकृतिका (बीसौँ शताब्दीका जस्ता) रचनाहरूको सिर्जनामा कमी हुँदै जानेछ र नारीपुरुषार्थ तथा नारीसञ्चेतनाका रचनाहरू बढ्नेछन् ।
३) मान्छे अत्यन्त व्यस्त हुनेछन् । तब व्यस्तताअनुकूल आस्वादन गर्न सकिने रचनाहरूको माग बढ्नेछ र त्यस्तै किसिमका रचनाहरू बढ्नेछन् । मागअनुसार साहित्यमा सङ्क्षिप्तताभित्र विस्तृतताको खोजी हुनेछ अनि सङ्क्षिप्त शैलीको तीव्र विकास हुनेछ । थोरैमा धेरै भन्नुपर्ने बाध्यता हुनाले साहित्यकारहरू त्यस्तै बिम्ब, प्रतीक र अलङ्कारहरूको खोजीमा लाग्नेछन् । हाइकु, लघुकथा लघुउपन्यास, लघुनाटक, लघुनिबन्ध, लघुकाव्य जस्ता छोटो आकारप्रकारका रचनाहरूको सङ्ख्या बढ्नेछ । सूत्रशैलीका सङ्क्षिप्त रचनाहरूको लोकप्रियता बढ्नेछ । त्यसमा महान् साधक मात्र बृहत् वा ठूलो आकारका र दीर्घजीवनक्रम भएका रचनाहरूमा लाग्नेछन् जो त्याग, समर्पण र साहित्यका लागि व्यक्ति स्वार्थभन्दा माथि उड्ने हैसियत राख्नेछन् ।
४) बौद्धिक साहित्यको लोकप्रियता बढ्नेछ । जनता शिक्षित, सचेत र विश्वसभ्यतासँग परिचित हुने क्रम बढ्नेछ । यस्तो स्थितिमा शिक्षित पाठकहरूको आधिक्य हुनेछ र उनीहरूको बौद्धिक स्तर उठेको हुनेछ । त्यस अवस्थामा पाठकहरूले बौद्धिक चमत्कारयुक्त रचनाहरू मन पराउनेछन् । तर, यहीँनिर के कुरामा स्पष्ट हुनु जरुरी छ भने घन्टौँ समय खियाएर मात्र बुझ्नुपर्ने गरी लेखिएका भनिने उपबुजु्रकहरूको रचनाहरू निकम्मा मानिने छन् । एउटा रचना बुझ्नका लागि प्राविधिक/पारिभाषिक शब्दकोश पल्टाउनुपर्ने, अन्य पुस्तकको सहायता लिनुपर्ने, टाउको दुख्ने गरी मस्तिष्क खियाउनुपर्ने किसिमका असहज परिस्थिति खडा गर्ने साहित्यिक रचना र साहित्यकार दुत्कारिनेछन् । त्यस युगको बौद्धिकता, सरलता अनि त्यस कालको सरलत र बौद्धिकतामा एकाकार हुनुपर्ने पाठकको माग हुनेछ । त्यसैले बौद्धिकताको नाममा दुर्बोध्य रचना र सरलताको नाममा कोरा भावविचार मात्र भएको रचना लोकप्रिय हुनेछैनन् । बौद्धिक खुराकलाई सरल र सुबोध्य बिम्ब–प्रतीकात्मक बनाई रचिएका रचनाहरू लोकप्रिय बन्नेछन् । साहित्यकारका लागि बौद्धिक, कलात्मक, सरल–सहज र सम्पे्रषणीय रचना गर्नु मुख्य चुनौती हुनेछ ।
५) साहित्य इन्टरनेटमा पसिसकेको छ, अनलाइनमा बसिसकेको छ र भिडियोलाइज हुन सुरु भइसकेको छ । यो प्रारम्भ एक्काइसौँ शताब्दीमा दु्रत गतिमा विकसित हुनेछ । त्यस्तो स्थितिमा नेपाली साहित्यलाई पनि इन्टरनेट, भिडियो–अडियो–टेलिभिजनसम्म पुर्याउनुपर्नेछ । तर, आधुनिक दर्शक–श्रोताहरूलाई रुचिपूर्ण नपारी गरिएको कुनै पनि प्रयास सफल हुनु सम्भव छैन, त्यसैले कविताप्रस्तुति वा अन्य साहित्यको प्रस्तुति दिँदा सङ्गीत, चित्र र दृश्यहरूको सहायता लिनुपर्नेछ । ब्रह्माण्डमा लाखौँ ग्रहहरू छन् । के यति ठूलो ब्रह्माण्डमा पृथ्वीमात्रै जीवनयुक्त होला ? सम्भावनामा अन्य पनि छन् । यद्यपि त्यस्तो अध्ययनका लागि पृथ्वीवासीलाई सबैभन्दा नजिकको अध्ययनआधार भनेको मङ्गलग्रह नै हो । त्यसबारेमा अध्ययन भइरहेको छ र नयाँ–नयाँ तथ्यहरूको उद्घाटन पनि भइरहेको छ तापनि जिज्ञासु मान्छे त्यतिमै सन्तुष्ट हुनेछैन र अन्य खोजी जारी रहने नै छ । विज्ञानप्रतिको आकर्षण र वैज्ञानिक प्राप्तिका कारण बढ्दो विश्वासकै कारण विज्ञानसाहित्यको जन्म भएको हो । एक्काइसौँ शताब्दीमा विज्ञानसाहित्यको विकास र प्रसार दुवै हुनेछ । तब विज्ञानसाहित्यको एउटा पाटो अन्तरिक्षसाहित्य–ब्रह्माण्डसाहित्य हुनेछ र नेपाली साहित्यमा पनि यसको प्रभाव पर्नेछ† प्रयोग हुनेछ । त्यस्तो साहित्यले पाठकका आँखामा आँसु निकाल्न लगाउनेछैन, बरु विस्मय ल्याउनेछ र उत्साह बढाउनेछ । त्यसले अद्भुतरसको साहित्यका रूपमा विशेष स्थान पाउनेछ । इन्टरनेटमा विश्वसाहित्यको समावेशिताले नेपाली साहित्यमा थप के गर्ने सम्भावना छ भने चोर साहित्यकारहरू सङ्कटमा पर्नेछन् । इन्टरनेटका पाठक बढेपछि विश्वमा प्रयुक्त बिम्ब, प्रतीक, प्रयोगविधि र प्रयुक्त विषयसँग उनीहरू सहजै परिचित हुनेछन् र सर्वसुलभ इन्टरनेटसेवाले गर्दा तिनै विदेशी साहित्यका बिम्ब जस्ताको तस्तै वा अलिकति फरक पारी चोर्ने र आफूलाई आधुनिक कवि भनाई अहङ्कार गर्ने चोरकवि (चोर साहित्यकार) हरूको पहिचान हुनेछ । यस्तो स्थितिमा तथाकथित चोर प्रयोक्ताहरू जो राष्ट्र, माटो र नागरिक हुनुको दायित्वबोध नगरी दुई–चार शताब्दीपछिका लागि रचना गर्ने दम्भ गर्दै एक–दुई शताब्दीपहिले युरोपियनहरूले गरेका प्रयोग नेपाली पाठकलाई पढ्न बाध्य पारिरहनेछन्, तिनीहरूको भन्डाफोर हुनेछ । यसबाट नेपाली साहित्यमा स्वस्थ र मौलिक सिर्जनाको उचित विकास हुनेछ । यस्तो हुन सक्यो भने नेपाली साहित्य उपबुजु्रक र चोर साहित्यकारहरूको तथाकथित बौद्धिक आतङ्कबाट मुक्त हुनेछ ।
६) एक्काइसौँ शताब्दीका लेखकले पाठकको सङ्कट भोग्नुपर्ने सम्भावना छ । यान्त्रिकीकरण र बेफुर्सतीका कारण उत्पन्न परिस्थितिले यस्तो अवस्था निम्त्याउनेछ । त्यस्तो स्थितिमा शक्तिशाली बिम्ब–प्रतीक दिन सक्ने, सहज सम्पे्रषण गर्न पनि सक्ने र प्रचार गर्न पनि सक्षम कविहरूका कविताहरू फस्टिनेछन् । आफूलाई बढी प्रयोगवादी र तथाकथित बौद्धिक बनाउन खोज्नेहरू पाठकबाट उपेक्षित हुनेछन् तर आफ्नो कमजोरी थाहा नपाउने, पाठक मनोविज्ञान बुझ्न नसक्ने स्रष्टाहरू उल्टै पाठक र समालोचकमाथि बौद्धिक दरिद्रताको तुच्छ आरोप लगाउँदै आत्मरतिमा डुब्नेछन् र आ–आफ्नै दुई–चार जनाको गुटमा हराउनेछन् । पाठकहृदय छुन नसक्ने तथा समालोचकको मस्तिष्कलाई सक्रिय पार्न नसक्ने त्यस्ता स्रष्टाहरू उल्टै पाठकहरू नै बौद्धिक हुनुपर्ने, जनतालाई बौद्धिक बनाउने जिम्मेवारी आफ्नो नभएको, आफ्नो कविता बुझ्ने समालोचकको अभाव भएको भन्दै कुर्लिरहनेछन् र रसविहीन सिर्जनासँगै सुक्दै पनि जानेछन् । तर, उनीहरूबाटै केही यस्ता समालोचक पनि जन्मनेछन् जसले अर्थहीन त्यस्ता प्रलाप मात्र गरिएका अभिव्यक्तिहरूको प्रशंसा गर्दै समीक्षा लेख्नेछन् । उनीहरू अमिल्दा बिम्ब–प्रतीकहरूको अर्थ जबरजस्ती महान् तात्पर्यमा गर्नेछन् । ती बिचरा समालोचकहरू इमानदार र मानवीय मूल्य, उत्थान र प्रगतिका पक्षमा समालोचना गर्नेहरूमाथि ‘मूर्ख, नपढेका, नबुझेका समालोचकहरू’ भनी रोस प्रकट गर्दै आफूलाई पाठकले तिरस्कार गरेको पीडा राम्रा समालोचकमाथि खन्याउनेछन् तर तिनीहरूको मृत्यु तिनै आरोपसँग हुनेछ, तिनीहरूकै सम्पे्रषणहीनताका कारण हुनेछ ।
७) यतिखेर नेपाली साहित्यमा यात्रासाहित्य–नियात्राको विकास हुन थालेको छ । नेपाली स्रष्टाहरू पनि विभिन्न देश–विदेशमा भ्रमण गर्ने अवसर पाउँदै छन् । त्यसैले एक्काइसौँ शताब्दीमा यात्रा–नियात्रा साहित्यको ठूलो विस्तार हुने सम्भावना छ । बीसौँ शताब्दीको यात्रासाहित्य मूलत: भूगोलवर्णन र अनुभूतिवर्णनमा बढी केन्द्रित रह्यो तर एक्काइसौँ शताब्दीमा यसले यात्रासाहित्यको मूल स्वरूपसमेत प्राप्त गर्नेछ । यात्रासाहित्यको मूल स्वरूप र मर्म भनेको भूगोलवर्णन र देश–विदेश घुम्दा आफूले गरेका अनुभवको वर्णन गर्न मात्र होइन । यात्रासाहित्यले तब मात्र उचाइ प्राप्त गर्छ, जब त्यसले यात्रा गरिएका ठाउँहरूको जनजीवन, जीवनपद्धति, चरित्र, ऐतिहासिकता, सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक, नैतिक पक्षहरूको सूक्ष्म अध्ययन, विश्लेषण र मूल्याङ्कन पनि प्रस्तुत गर्न सक्छ र त्यस्तो यथार्थका वैज्ञानिक कारणहरूसमेतको खोजी, विश्लेषण तथा मूल्याङ्कन गर्न सक्छ । एक्काइसौँ शताब्दीका यात्रासाहित्यकारहरूले यस मूल स्वरूपतर्फ पक्कै ध्यान दिनेछन् भन्ने आशा गरौँ ।
८) बीसौँ शताब्दीमा नेपाली साहित्यकारहरूले गर्न नसकेको तर गर्नै पर्ने काम अनुवादरूपान्तरणको रह्यो । यद्यपि विश्वसाहित्यका केही प्रसिद्ध कृतिहरू अनुवाद नगरिएका होइनन् तर ती प्रयत्न अत्यन्त कम र अपुग नै रहे । अङ्ग्रेजी नजान्ने तर अत्यन्त प्रतिभाशाली नेपाली स्रष्टाहरू विश्वसाहित्यका मूल स्वरूपलाई विस्तारमा बुझ्ने क्रममा सङ्कटग्रस्त रहे जसबाट नेपाली साहित्यसिर्जनालाई पनि घाटा भयो तर एक्काइसौँ शताब्दीमा अनुवादसाहित्यको प्रशस्त विकास हुनेछ । विश्वसाहित्यका महŒवपूर्ण कृतिहरू नेपाली भाषामा अनुवाद गरिनेछन् र नेपाली भाषाका महŒवपूर्ण केही कृतिहरू पनि क्रमश: अङ्गे्रजी तथा अन्य विदेशी भाषामा अनुवादित हुनेछन् । यसबाट नेपाली स्रष्टाहरूले विश्वसाहित्यको स्वरूप र स्तर थप मात्रामा बुझ्दै जानेछन् भने नेपाली साहित्य पनि विश्वमा परिचित र विस्तारित हुँदै जानेछ । यसबाट नेपाली साहित्यको विकासमा ठूलो सहयोग पुग्नेछ र अन्य भाषाका साहित्यसँग नेपाली साहित्यको तुलनात्मक अध्ययन पनि बढ्नेछ ।
९) एक्काइसौँ शताब्दीको नेपाली साहित्यमा साहित्यिक नियमहरूको घेरा तोड्ने क्रम बढ्ने सम्भावना छ । व्यक्तिवादी र प्रयोगधर्मी प्रवृत्ति बढ्दै जाँदा स्वतन्त्रताको नाममा पूर्ण स्वतन्त्रताको माग हावी हुने सम्भावना पनि छ । यस्तो भयो भने साहित्यिक क्षेत्रमा अराजकताले ठाउँ ओगट्ने सम्भावना छ । तब केही साहित्यकारहरूबाट छाडा सिर्जना हुनेछन् र अनौपचारिक सिर्जनाको क्रम बढ्नेछ । अनौपचारिकता र नियमरहितताको असर साहित्यका सबै विधाहरूमा पर्ने सम्भावना छ । तापनि कविताको छन्दशैलीमा यसको सबैभन्दा ठूलो असर पर्ने देखिन्छ किनकि छन्दमा कविता लेख्नु अत्यन्त जटिल काम हो । गद्यकविता लेख्नुपर्यो भने भावतीव्रता र सामान्य लयचेतना भएको व्यक्तिले सहजै सिर्जना गर्न सक्छ र ऊसँग भाषाको विपुलता र शब्दको शक्ति पनि छ भने त्यो कविता राम्रो पनि बन्नेछ तर शास्त्रीय छन्दमा कविता लेख्नु त्यति सजिलो छैन । त्यसका लागि भाव र लयचेतना मात्रले पुग्दैन, भाषाज्ञान भएर पनि पुग्दैन, छन्दज्ञानसमेत चाहिन्छ र छन्दज्ञान भएर पनि पुग्दैन, अत्यन्त ठूलो शब्दभण्डार चाहिन्छ जसमा पर्यायवाची शब्दहरूको व्यापक ज्ञानको आवश्यकता पर्दछ । प्रतिभा, शब्दभण्डार, शास्त्रज्ञान भएर पनि पुग्दैन किनकि छन्द मिलाएर शब्द जोड्दैमा राम्रो छन्द–कविता बन्दैन । राम्रो छन्द–कविता तब मात्र लेख्न सकिन्छ जब प्रतिभाले कठिन साधना धैर्यपूर्वक गर्छ । त्यसैले नै सुरु–सुरुमा छन्दमा लेख्ने वा बीचमा छन्दमा लेख्ने केही कविहरू छन्द–साधनाको कठिन यात्रा गर्न नसकी डराएर गद्य–कवितातर्फ पलायन भएका छन् । छन्द–नियमलाई नपछ्याए स्वरूपगत विसङ्गति बढ्ने, जबरजस्ती पछ्याएर लेख्दा भाव र कथ्यलाई समेट्न कठिनाइ हुने र जेनतेन भाव र कथ्य अटाई छन्द पनि मिलाउन सकियो भने पनि कलात्मक उच्चता प्रदान गर्न कठिन हुने हुँदा साधारण प्रतिभाले छन्दमा राम्रो कविता लेख्नु भनेको दुस्साध्य नै छ अर्थात् कठिन साधना र उच्च प्रतिभाबाट मात्र उच्चस्तरको छन्द–कविता लेखिनु सम्भव भएकाले आगामी शताब्दीको बेफुर्सती मान्छेलाई त्यस्तो कठिन र उच्च साधनामा लाग्न कठिन नै हुनेछ । त्यसैले कमै मात्र विशिष्ट साधकहरू अनि केही छन्दलय चेतनाका प्रशंसक र जिज्ञासुहरू मात्र छन्दकविताको साधनामा लाग्नेछन् । लोकछन्द, गीत, गजलजस्ता छन्दका सरल उपविधाहरू भने प्रशस्त नै रचिनेछन् । नेपाली छन्द–कविताबारे यसो भनिरहँदा के कुरा बिर्सन सकिन्न भने बीसौँ शताब्दीको अन्तिम दशक छन्द–कविताको पुनर्जागरण र छन्दप्रयोगमुखी रचनाको युग रह्यो । यस सानो अवधिभित्र मात्रै एक दर्जनजति महाकाव्य, दुई दर्जनभन्दा बढी खण्डकाव्य र सयौँका सङ्ख्यामा छन्द–कविताहरू जन्मे र अनेक छन्द–कविता–सङ्ग्रहहरू प्रकाशित भए । अझ रमाइलो पक्ष के छ भने युवापुस्ताका केही शक्तिशाली स्रष्टाहरू पनि यसतर्फ साधनारत देखिए । उनीहरूलाई पछ्याउँदै केही नवोदित कवि–कवयित्रीहरूसमेत छन्द–साधनातर्फ मोडिएका छन् । त्यसैले एक्काइसौँ शताब्दीको पूर्वाद्र्धमा भने छन्द–कविताको सबल यात्रा चलिरहने सम्भावना छँदै छ तर उत्तराद्र्धका बारेमा यसै भन्न कठिन छ ।
१०) एक्काइसौँ शताब्दीको नेपाली साहित्यको कुरा गर्दा वर्तमानमा सञ्चालित ‘जनयुद्ध’ र त्यसको सम्भावित विकास वा ह्रासलाई पनि सम्झनुपर्छ । यस युद्धको विकास जुन तीव्र गतिमा भइरहेको छ, त्यसको उत्कर्ष कसरी हुने हो र समापन कहाँनिर र कहिले हुने हो ? भन्न कठिन छ । तर, यसबाट नेपाली साहित्यमा प्रभाव पर्न थालिसकेको छ र अभैm प्रभाव परिरहनेछ । माओवादी युद्धको पक्षमा र विपक्षमा अहिले नै पनि प्रशस्त साहित्यिक रचनाहरू प्रकाशित भइरहेका छन् भने यो क्रम बढ्दो नै छ । त्यसैले यसको विकासले आगामी नेपाली साहित्यमा के कस्तो प्रभाव पर्नेछ भन्ने कुराको अनुमान पनि गर्नुपर्छ । माओवादी जनयुद्धको मूल कारण नेपालमा व्याप्त गरिबी, असमानता, शोषण, भ्रष्टाचार र नेताहरूको स्वार्थी र नातावाद, कृपावादी चरित्र र मूलत: वर्गीय उत्पीडन नै हो । जनताको काँधमा चढी जनतामाथि नै दिसा–पिसाब गर्दै जनताको हित गरेँ भन्ने घिनलाग्दा राजनेताहरू तथा बौलाहातन्त्र र अराजक छाडातन्त्रका रूपमा विकसित जनतामारा पुँजीवादी प्रजातन्त्र वर्तमान नेपालको केन्द्रीय राजनीति बनेको छ । यो स्थिति माओवादी जनयुद्धका लागि अनुकूल पनि छ र यदि यही स्थिति रहिरहने हो भने यस युद्धले विस्तार र विकास पाउनु पनि अनिवार्य छ । तर, यसो भनिरहँदा के पनि बिर्सन सकिन्न भन्ने जनयुद्धको तौरतरिकामा देखा परेका केही अस्वस्थ प्रवृत्तिहरू बिस्तारै नेतृत्वको हातबाट फुत्केर देखा पर्दै छन् । ती गतिविधिहरू जनयुद्ध र प्रजातन्त्र दुवै मिल्काउन चाहने षड्यन्त्रकारी तथा अन्य लुटेरा र हत्याराहरूलाई बदमासी गर्ने मौकाका रूपमा पनि आधार बन्न पुगेका छन् । प्रत्येक क्षेत्रमा विभिन्न पार्टीका र पार्टीराजनीतिका क्रियाकलाप तथा तल्लो स्तरको हस्तक्षेप र वर्तमानको अराजक र नीतिहीन शैक्षिक अवस्था तथा भ्रष्ट प्रशासन र असन्तुलित उदारीकरण यसरी नै रहिरहने हो भने जनयुद्धले निर्णायक मोड लिने सम्भावना ज्यादा छ । तब नेपाली साहित्यले पनि नयाँ मोड लिने नै छ । र, जनसाहित्यको विकास नयाँ तरिकाबाट हुनेछ ।
११) बीसौँ शताब्दीको नेपाली साहित्यको विकासलाई हेर्दा पछिल्लो अवधिमा प्रगतिवादी साहित्यले क्रमश: विकास पाएको छ । २००७ सालपछि विस्तारित हुन सुरु गरेको प्रगतिशील साहित्य २०३० पछि विकसित भई प्रगतिवादी साहित्यका रूपमा विकसित हुँदै आयो । बीसौँ शताब्दीको अन्त्यसम्ममा त प्रगतिवादी साहित्यले अत्यन्त शक्तिशाली कवि, कथाकार, नाटककार, निबन्धकार, उपन्यासकार तथा समालोचकहरू प्राप्त गरेको छ । नेपाली साहित्यमा प्रगतिवादी साहित्यको यो जग मात्र हो । एक्काइसौँ शताब्दीमा यसले विकास र उत्कर्ष प्राप्त गर्नेछ । अझ यतिखेर प्रगतिवादी साहित्यतर्फ जे–जस्ता स्रष्टाहरू र जे–जस्ता अभिलाषाहरू देखिँदै छन्, तिनलाई हेर्दा एक्काइसौँ शताब्दीको पूर्वाद्र्धमा नेपाली साहित्यको नेतृत्वमा प्रगतिवादी साहित्य रहने देखिन्छ अर्थात् व्यक्तिकेन्द्रित नेतृत्वले सामूहिक नेतृत्व प्राप्त गर्नेछ र सामूहिक नेतृत्व मान्छेप्रति, जनताप्रति, जनपक्षीय उद्देश्यप्रति जिम्मेवार हुनेछ । तर, बीसौँ शताब्दीको प्रगतिवादी साहित्यमा केही खट्किँदा पक्षहरू रहे । माक्र्सवादको नाममा साहित्यिक सिर्जनशीलता र व्यक्तिप्रतिभाको महŒवलाई कम महŒव दिने अमाक्र्सवादी प्रवृत्तिले ठाउँ पायो । तर, एक्काइसौँ शताब्दीको प्रगतिवादी साहित्य उत्तिकै सिर्जनशील र प्रयोगधर्मी हुनेछ । राजनीतिको महŒव बुझ्ने नाममा यो अनावश्यक बन्धनहरूमा जकडिनेछैन । बीसौँ शताब्दीको प्रगतिवादी साहित्यको अधिकांश भाग ‘फटाहा मासौँ र मजदुर तथा किसानवर्गलाई उठाऔँ’ मा केन्द्रित रह्यो । ठाडो प्रस्तुतीकरण र यान्त्रिकीकरणले अनावश्यक ठाउँ पाइरहे । नायकलाई रामै्र–राम्रो र खलनायकलाई नराम्रै–नराम्रो चरित्रका रूपमा प्रस्तुत गर्ने गलत प्रवृत्ति हावी रह्यो । नायक र खलनायकको द्वन्द्व र खलनायकको अन्त्य देखाउनमा नै साहित्ययात्राको शैलीशिल्प र संयोजन केन्द्रित रह्यो । कथा, उपन्यास आदि पढ्न सुरु गरेको केही क्षणमै त्यसको समापन यसरी हुनेछ भन्ने पूर्वानुमान हुने किसिमका रचनाहरूकै आधिक्य रह्यो । यस्तो एउटै किसिमको उस्तै लाग्ने शैलीमा रच्ने प्रविधिका कारण प्रगतिवादी साहित्यमा कलात्मक चमत्कृतिको मूल मर्म कमजोर बन्यो । यो केवल पेटको भोक र त्यसका कारण अनि त्यसबाट उत्पन्न परिणाममा बढी एककेन्द्री बन्यो । भिन्न–भिन्न आस्वादनका पिपासु पाठकलाई यो एकरसताले बेला बेलामा वाक्क पनि पार्यो । भोकले आकर्षित गरेजस्तै आकर्षित गर्ने यौनको मूल मर्मविश्लेषणमा यस शताब्दीको प्रगतिवादी साहित्य कम सचेत देखियो भने प्रणय र मनोविज्ञानपक्षमा पनि यसले कमै रुचि देखायो । यसले गर्दा साहित्यिक विविधताको प्राप्तिमा प्रगतिवादी साहित्य तुलनात्मक रूपमा पछि पर्यो । अन्तर्वस्तु र रूप दुवै पक्षमा सन्तुलन कायम गर्न नसक्नाले नै त्यस्तो स्थिति सिर्जना भएको हो । तापनि बीसौँ शताब्दीको अन्त्यसम्ममा प्रगतिवादी साहित्यले बलियो जग तयार गरिसकेको छ । त्यसैले एक्काइसौँ शताब्दीमा प्रगतिवादी साहित्यले अन्तर्वस्तु र रूप (कला) दुवै पक्षमा सन्तुलन कायम गर्नेछ र समाजविश्लेषणका साथै व्यक्तिमनोलोक वा व्यक्तिमनोविज्ञानमा पनि ध्यान दिनेछ र मानवीय मूल प्रवृत्ति मानिने यौन, प्रणयजस्ता महŒवपूर्ण पक्षमा पनि उत्तिकै ध्यान पुर्याउनेछ ।
१२) नेपाली साहित्यको स्रष्टापक्ष (समालोचना) लाई एक्काइसौँ शताब्दी सर्वाधिक चुनौतीपूर्ण हुनेछ । त्यस अवधिमा साहित्यकार बन्ने रहर गर्ने र मौसमी कविहरू अभैm बढ्नेछन् । आर्थिक विकासका कारण विनासाधना रहर पुर्याउन मात्र र समाजमा चिनिनका लागि मात्र लेख्ने स्रष्टाहरूको हुल बढ्नेछ । त्यस्तो स्थितिमा राम्रा कविताको सङ्ख्याभन्दा भारेभुरे स्रष्टाहरूको सङ्ख्या बढ्नेछ । जताततै जथाभावी रचनाहरू प्रकाशित हुने क्रम बढ्नाले ती समग्र रचनाहरूको अध्ययन गर्ने त कुरै छाडौँ, जानकारी पाउने कुरा पनि असम्भवप्राय: हुनेछ । यस्तो स्थितिमा समग्र नेपाली साहित्यको अध्ययन, विश्लेषण र मूल्याङ्कनको काम अत्यधिक मात्रामा जटिल र चुनौतीपूर्ण बन्ने निश्चित छ । यसबाट पनि समालोचकहरूको कार्य झन् कठिन बन्नेछ ।
दोस्रो कुरा एक्काइसौँ शताब्दीमा शिक्षित पाठकहरू बढ्नेछन् र उनीहरूको बौद्धिक र शिक्षित मस्तिष्कलाई खुराक प्रदान गर्न स्रष्टाहरूले अध्ययन बढाउनुपर्नेछ भने उत्तिकै प्रयोगशीलता र नवनिर्माणशीलताका लागि साधना गर्नुपर्नेछ । त्यसैले स्रष्टाहरू बढी अध्ययनशील र बढी प्रयोगधर्मी हुनेछन् भने ज्ञानविज्ञानका अनेक पाटाहरूसित परिचित र उत्तिकै कल्पनाशील पनि हुनेछन् । त्यस्ता उच्च मस्तिष्कवान् अध्ययनशील स्रष्टाका रचनाको मूल भेउ पाउन समालोचक पनि उत्तिकै अध्ययनशील, प्रयोगबोद्धा र सूक्ष्म द्रष्टा बन्नुर्पेछ । त्यसैले पनि समालोचना झन् चुनौतीपूर्ण हुनेछ तर समालोचनाले पनि बहुकोणीय अध्ययन–विश्लेषणको यात्रा गर्न थालिसकेकाले त्यस्तो चुनौतीको सामना गर्न तत्पर समालोचकहरू जन्मने नै छन् ।
एक्काइसौँ शताब्दीको नेपाली समालोचना नेपाली लोकसाहित्यको अध्ययन–अनुसन्धानका लागि वरदान साबित हुनेछ । त्यसको अभिलक्षण हालसालै सूचित भएको छ । लोकसाहित्यको अध्ययनतर्फ २०१३ सालदेखि नै सत्यमोहन जोशी, धर्मराज थापा, चूडामणि बन्धु आदिको योगदान देखिन्छ तापनि यसले वैज्ञानिक विश्लेषणको गतिलो प्रारम्भ गरिसकेको थिएन । हालसालै कृष्णप्रसाद पराजुलीको ‘नेपाली लोकगीतको आलोक’ र जीवेन्द्रदेव गिरीको ‘लोकसाहित्यको अवलोकन’ नामक दुई ग्रन्थहरू प्रकाशमा आएका छन् । यी ग्रन्थहरूले वस्तुपरक अध्ययनतर्फ जोड दिएको देखिन्छ भने लोकसाहित्यको वैज्ञानिक र इतिहासपरक अध्ययनका लागि जीवेन्द्रदेव गिरीको ग्रन्थले ऐतिहासिक प्रारम्भ गरेको देखिन्छ । लोकसाहित्यलाई केवल भूगोलका गीत, कथा र पछौटेपनका व्यक्तिले उपयोग गर्ने रचनाका रूपमा हेरिँदै आएको अवस्थामा अब लोकसाहित्यका साक्ष्यहरूमा रहेको इतिहास, शैक्षिक, राजनैतिक, धार्मिक, सांस्कृतिक अवस्था भौगोलिक जानकारी, जीवनपद्धतिको अप्ठेरासप्ठेराहरू, तत्कालीन अवस्थाको जनजीवनमाथि परेको प्रभाव आदि कुराहरूको अध्ययन गर्ने काम प्रारम्भ भएको छ भने प्रगतिशील दृष्टिकोणबाट तात्कालिक समाजविज्ञान र मनोविज्ञानको विश्वासलाग्दो उद्घाटन गर्ने प्रवृत्तिका पनि प्रारम्भ भएको छ । त्यसैले आगामी दिनहरूमा नेपाली लोकसाहित्यका बारेमा अत्यन्त सार्थक समालोचना हुने कुरामा विश्वास गर्न सकिन्छ ।
१३) नेपाली साहित्यको कुरा गर्दा साहित्यिक अभिव्यक्तिको माध्यम भाषाका बारेमा पनि ध्यान दिनुपर्छ । भाषाको स्वरूप निरन्तर परिवर्तनशील हुन्छ तापनि व्यावहारिक एकरूपता र सहजताका लागि मानक भाषाको अपेक्षा गरिन्छ । नेपाली भाषाले अभैm पनि चित्तबुझ्दो मानकीकरण पाएको छैन । आफ्नो ज्ञानलाई मात्र सर्वोच्च ठान्ने अहङ्कारले छोपिएका नेपाली भाषाविज्ञहरूको दम्भ र घमन्डले गर्दा पनि यसो भएको हो भन्ने संस्कृत तथा अङ्ग्रेजी भाषाका अन्धभक्तहरूको दासमनोवृत्तिका कारण पनि यसो भएको हो । अहिलेसम्म नेपाली भाषाको अध्ययन कि त संस्कृत भाषाको आधारमा, कि त अङ्गे्रजी भाषाको आधारमा गर्न खोजिएको छ । नेपाली भाषाकै मूल प्रवृत्तिको केन्द्रीयतामा रही यसको मानकीकरण गर्न सकिएको छैन । त्यसैले वर्णविन्यासदेखि वाक्यविज्ञानसम्म नै अन्योलहरू यथावत् छन् । अङ्ग्रेजी दासता चाट्दा गर्व गर्ने केही प्राध्यापकहरूले एकपटक प्राध्यापक सङ्घको कार्यक्रममा (जसमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रमुख आतिथ्य ग्रहण गरेका थिए) नेपाली भाषाको गर्नसम्म अपमान गर्दै एउटा सानो विज्ञप्तिमा दर्जनौँ भाषिक त्रुटि प्रस्तुत गरे । जब गोरखापत्रमार्फत ती प्राध्यापकहरूलाई आफ्नो भाषाप्रतिको ज्ञान र दायित्वमा सचेत हुन अनुरोध गरियो तब उल्टै निर्लज्ज ढङ्गले प्राध्यापक सङ्घले गोरखापत्र र सुझावदाताको अमर्यादित प्रतिकार गर्यो, त्यो पनि आम प्राध्यापकहरूको सहमति नलिइकन । अङ्गे्रजी भाषालाई शुद्ध बोल्नुपर्छ र शुद्ध नै लेख्नुपर्छ भन्दै सिकाउने यी प्राध्यापकहरूले आफ्नो राष्ट्रभाषाप्रति देखाएको कृतघ्नताको जति आलोचना गरे पनि कम हुन्छ । आफ्नो अज्ञानता र गैरजिम्मेवारीको दीर्घकालीन असर के होला भन्ने नबुझ्ने यस्तै यस्ता उपबुज्रुक नेपालीहरूका कारण नेपाली भाषामाथि विदेशी भाषाको डरलाग्दो अतिक्रमण बढी नै रहेको छ । यस्तो स्थितिमा नेपाली भाषा र नेपालको अस्तित्वप्रति संवेदनशील हुने भाषासाहित्यका स्रष्टाहरूका निम्ति एक्काइसौँ शताब्दी झन् चुनौतीपूर्ण हुनेछ । यस्तो चुनौती स्वीकार गर्दै जिम्मेवार स्रष्टाहरूले भाषाको मानकीकरणको प्रयास गर्नेछन् र साहित्यमा त्यसको सकारात्मक प्रभाव पर्नेछ भन्ने आशा गरौँ । यदि त्यस्तो भएन भने विदेशी साहित्यका बिम्बचोर साहित्यकार र नेपालीसँग नेपालीमा कुरा गर्दा पनि आधा अङ्गे्रजी मिसाउँदै र नेपाली भाषिक उच्चारण बङ्ग्याउँदै बोल्ने अङ्ग्रेजदासहरूले नेपाली भाषालाई क्षत–विक्षत र कुरूप पार्दै लग्नेछन् र नेपाली साहित्यमा त्यसको पनि असर परिछाड्नेछ ।
निष्कर्ष
बीसौँ शताब्दीको नेपाली साहित्यिक अवस्थाको साक्ष्यमा एक्काइसौँ शताब्दीको नेपाली साहित्यबारे अनुमान गरिएको यस प्राक्कल्पनाको अन्त्यमा एउटा नेपाली नागरिक र नेपाली भाषासाहित्यलाई माया गर्ने साधारण पाठक भएको नाताले नेपाली साहित्यका स्रष्टाद्रष्टाहरूसँग केही अनुरोध गरूँ गरूँ लाग्यो — नेपाली भाषासाहित्यप्रति के हाम्रै दायित्व छ, होइन र ? हो भने–
बीसौँ शताब्दीमा हाम्रा स्रष्टाहरूमध्ये केही रूपतर्फ केन्द्रित रहे भने केही अन्तर्वस्तुतर्फ केन्द्रित रहे । एक्काइसौँ शताब्दीका स्रष्टाहरू आत्मरतिबाट मुक्त हुनुपर्छ र पाठकका रुचि बुझ्ने तथा तिनीहरूको चेतनालाई युगानुकूल तुल्याउन पाठकको रुचिमा उचित र आवश्यक परिष्कार गर्ने कुरामा ध्यान दिनुपर्छ ।
बीसौँ शताब्दीमा ‘हामी कुनै उद्देश्यले लेख्दैनौँ, मनमा भाव उठ्छ अनि लेखिहाल्छौँ’ भन्दै सामाजिक दायित्वबाट टाढा रहने ढोँगी स्रष्टाहरू पनि माथ्लो दर्जाका साहित्यकारका रूपमा राखिए तर एक्काइसौँ शताब्दीका स्रष्टाहरूले धर्ती, पाठक, राष्ट्र र मानवमूल्यको स्वस्थ उच्चताका साथ उत्तरदायित्वबोधका साथ रचना गर्नुपर्छ ।
मानव र मानवसमाज एक–अर्काका पूरक हुन् । यसतर्फ कम ध्यान दिई बीसौँ शताब्दीका स्रष्टाहरूले कि त समाजपरक, कि त व्यक्तिपरक रचना बढी मात्रामा गरे । हामीले व्यक्ति र समाज दुवैको संयोजन गर्दै लेख्ने गर्नुपर्छ ।
बीसौँ शताब्दीमा स्रष्टाको मनोविज्ञान बुझेर लेख्ने समीक्षकले पाठकको मनोविज्ञानको उपेक्षा गरे भने पाठकको मनोविज्ञान बुझ्ने समालोचकले स्रष्टाको मनोविज्ञानतर्फ बेवास्ता गरे । हामीले पाठक, स्रष्टा र समाजको संयुक्त मनोविज्ञान बुझेर लेख्नुपर्छ ।
हामीले एक्काइसौँ शताब्दीमा साहित्यको रचना र समीक्षा गर्दा समाज र मानवमूल्यको अध्ययन, विश्लेषण र मूल्याङ्कनमा विशेष जोड दिनुपर्छ र त्यसो गर्नका लागि हालसम्म प्राप्त पद्धतिहरू हेर्दा समाजवादपरक यर्थाथवादी रचनाधर्मिता सर्वाधिक महŒवपूर्ण देखिन्छ । त्यसैले त्यसतर्फ विशेष ध्यान पुर्याउनुपर्छ ।
यसो भन्नासाथ वादका कुरा आए । वादका कुरा आउनासाथ कतिपय स्वयम्मा आतङ्कित र हताश व्यक्तिहरूलाई एलर्जी नै हुन्छ । किन त्यस्तो हुन्छ ? अनौठो छ । लाग्छ– तिनीहरूले कुनै साहित्यिक अपराध गरेको हुनुपर्छ र तिनीहरूलाई वादले तिनको अपराध उदाङ्गो पारिदिने हो कि भन्ने पीर छ । मानवचिन्तनका विविधतालाई बुझ्न नसक्ने त्यस्ता तथाकथित वादहीन र वादमा साहित्य रचिन्न भन्नेहरूको बौद्धिक तह र तिनीहरूको चेतनाको स्तर देख्दा तिनीहरूप्रति टीठ लागेर आउँछ । हामीले बुझ्ने वा बुझ्नुपर्ने कुरा के हो त ? वाद भनेको वास्तवमा विचार हो । मान्छे भन्नु पनि विचार नै त हो । भाव त मानवेतर प्राणीहरूमा पनि हुन्छ तर तिनीहरूसँग विचार हुँदैन, त्यसैले तिनीहरू पशु भए† मान्छे भएनन् । ती पशुहरूले पनि माया, रिस, लालच, क्रोध, यौन, भोक, निद्रा आदि भावसँगको अनुभूति गर्छन् । त्यस्ता सुख–दु:खका अनुभूति गर्नुले मात्र मान्छे अन्य प्राणीबाट अलग देखिएको होइन । ऊ किन छुट्टै र महान् छ, भने उसले ब्रह्माण्ड, प्रकृति, मान्छे, मनोभाव र जीवनपद्धतिका प्राप्ति–अप्राप्ति, समस्या र समाधान आदिका बारेमा सोचविचार गर्छ† चिन्तन गर्छ । यसरी गरिने विचार वा चिन्तन नै वाद हो । यसरी विचार गर्न नहुने कुरा साहित्यमा हुनै सक्दैन । त्यसैले वादविनाको साहित्य हुन्छ भन्नु हास्यास्पद कुरा हो, पटमूर्खता र महाअज्ञानता हो, उपबुज्रुक्याइँ हो । प्रश्न त के मात्रै हो भने मानवजीवनका लागि कुन वाद सर्वाधिक उपयुक्त छ र कुन वाद सबैभन्दा बढी मानवमूल्यको छ । यस दृष्टिकोणले हेर्दा प्रकृति र जीवनका बारेमा यथार्थपरक चिन्तन, वस्तुपरक विश्लेषण र न्यायपरक मूल्याङ्कन गर्दै समाज र मानवजीवनलाई अनि मानवचेतनालाई स्वस्थ, स्वच्छ, स्पष्ट, सुसंस्कृत, गतिशील, सभ्य, समतामूलक र न्यायपूर्ण जीवनतर्फ जुन वादले लैजान्छ, त्यसैतर्फ नै हाम्रो लगाव र योगदान हुनुपर्छ भन्ने मलाई लाग्छ ।
अन्त्यमा
फेरि एकपटक दोहोर्याउँछु– एक्काइसौँ शताब्दीको नेपाली साहित्य एक्काइसौँ शताब्दीको नेपाली समाज, त्यस समयको नेपाली जीवनस्थिति र जीवनपद्धति, त्यस युगको नेपाली राजनीति र आर्थिक स्थिति, त्यस युगको नेपाली सभ्यता र विकास जेजस्तो हुनेछ, त्यसैअनुरूपको नै हुनेछ† कुनै अलौकिक वा अनोठो चमत्कारपूर्ण हुनेछैन† निश्चितरूपमा परम्पराकै विकासक्रमको सापेक्षतामा तदनुकूलको युगसापेक्ष साहित्य नै हुनेछ ।
ि